अध्ययनसार

प्रस्तुत अध्ययन वैदिक र लौकिक भाषिक चिन्तनको तुलनात्मक अध्ययनमा केन्द्रित छ । पूर्वीय भाषिक चिन्तन परम्पराको सुरुवात वैदिक कालबाट भएको देखिन्छ । वैदिक भाषिक चिन्तन परम्परामा वेदको भूमिका उल्लेख्य देखिन्छ । वैदिक कालमै ब्राह्मण, आरण्यक, उपनिषद्, प्रातिशाख्यका साथै वेदाङ्गको भूमिका पनि महत्त्वपूर्ण रहेको छ । पूर्वीय संस्कृत वाङ्मय परम्परामा लौकिक काल भनेर रामायणको रचनाकालभन्दा पछिको समयलाई मानिन्छ । लौकिक युगमा भाषा व्याकरणका साथै दर्शन, न्याय, मीमांसा, साहित्यशास्त्र आदि क्षेत्रमा भाषिक चिन्तन मनन भएको पाइन्छ । गुणात्मक ढाँचामा रहेको प्रस्तुत अध्ययन वर्णनात्मक तथा विश्लेषणात्ममक विधि अपनाई तयार पारिएको छ । सामग्री सङ्कलनमा पुस्तकालयीय सामग्रीको उपयोग गरिएको छ । वैदिक र लौकिक वाङ्मयमा भाषाका बारेमा गहन चिन्तनमनन भएको पाइन्छ । भाषिक चिन्तन परम्परामा लौकिक युग अलि विकसित र समृद्ध भए पनि वैदिक युग स्तरीयताका दृष्टिले उत्कृष्ट रहेको छ । तसर्थ वैदिक र लौकिक वाङ्मयका भाषिक चिन्तनमा संस्कृत भाषाको उत्पत्ति र विकासका साथ विस्तार गर्ने कुरामा पनि अहम् भूमिका रहेको पाइन्छ । यी विविध सन्दर्भका आधारमा वैदिक र लौकिक भाषिक चिन्तनको प्रभाव आधुनिक भाषाविज्ञानमा पनि उच्च रहेको देखिन्छ ।

वीरेन्द्रकुमार बुढा

प्रमुख शब्दावली- वैदिक, लौकिक, वेद, वाक्, निरुक्त, निघण्टु, प्रातिशाख्य, ब्राह्मण, आरण्यक, वेदाङ्ग ।

. विषय प्रवेश

भाषा मानव समुदायका अनुभव र अनुभूतिहरू सम्प्रेषण गर्ने सशक्त माध्यम हो । यसलाई मानव मात्रको विशिष्ट सम्पदा मानिन्छ । समय, समाज र सभ्यताका सम्पूर्ण कुराहरूलाई वहन गर्ने, हस्तान्तरण तथा पुस्तान्तरण गर्ने सामर्थ्य भाषामा हुन्छ । भाषामा अन्तर्निहित यही सामर्थ्यका कारण भाषालाई व्यवस्थित बनाउन अनेक चिन्तन तथा प्रयासहरू भएका छन् । पूर्वीय तथा पाश्चात्य मनीषीहरूले अथक प्रयास गरेका छन् र धेरै योगदान पुर्‍याएका छन् । भाषाका ध्वनि, वर्ण, रूप, वाक्य, अर्थ जस्ता भाषिक पक्षका सम्बन्धमा वैज्ञानिक अध्ययन र चिन्तन गरी सैद्धान्तिक क्षेत्रमा योगदान गरिएका छन् । यसका अतिरिक्त कालक्रमिक भाषिक अध्ययन समकालिक, भाषान्तरिक तथा अन्तर्भाषिक निरन्तर अध्ययन चिन्तन भएका छन् (वास्तोला, २०७६)।

मानव समाजको अस्तित्वदेखि नै भाषाको प्रयोग भए तापनि भाषाका विषयमा धेरैपछि मात्र चिन्तन मनन हुन थाल्यो । संस्कृत तथा ग्रीक-ल्याटिन भाषाका वाङ्मयमा उपलब्ध भाषिक चिन्तनका प्राचीनतम ग्रन्थहरू आफ्ना समयका महत्त्वपूर्ण सिद्धान्तका साथै भाषिक विश्लेषणका विधिका रूपमा पनि थिए । भाषालाई अध्ययन गर्ने यस्तै खालका परम्परागत विधिलाई विगतमा भाषा अध्ययनको शास्त्रीय परम्पराको अभिन्न अङ्गका रूपमा लिने काम गरिन्थ्यो । परम्परागत रूपमा भएका कतिपय भाषिक अध्ययनहरू तुलनात्मक दृष्टिले हेर्दा पछिल्ला कालखण्डमा केही अनुमानित तथ्य र सन्दर्भहरूको व्याख्याहरूमा पनि हुन पुगे ।

पूर्वमा संस्कृतको भाषिक चिन्तन ई.पू. १५०० तिरदेखि रहेको निरन्तर विकासक्रमलाई हेर्दा वैदिक युगदेखि नै वेदका छ अङ्गहरूमध्ये शिक्षा, कल्प, ज्योतिष, निरुक्त, छन्द र व्याकरणमा अध्ययन भएको पाइन्छ । समयक्रममा पाणिनिपूर्वका अध्येताहरूले व्यवस्थित व्याकरणको अध्ययनमा जोड दिए पनि व्याकरणको सारपूर्ण रूपमा व्याकरणको गहिराइको अध्ययन गर्न सकिरहेका थिएनन् तर ई.पू ५०० शताब्दीमा देखा परेका पाणिनिको उदयपछि संस्कृत व्याकरणको व्यवस्थित उचाइ अत्यन्त माथि उठ्यो । यसै उचाइका आधारमा टेकेर अगाडि बढेका ई.पू. ४५० तिरका कात्यायन तथा ई.पू. तेस्रो शताब्दीतिरका पतञ्जलिले पूर्वीय भाषिक चिन्तन परम्परामा महत्त्वपूर्ण भूमिका खेले (चालिसे, २०७५) । पूर्वमा झैँ पाश्चात्य जगत्‌मा भाषिक चिन्तन वा व्याकरण ज्ञान छुट्टै विषयका रूपमा आएन । पाश्चात्य जगत्‌मा भाषाको चिन्तन ग्रीसेलीहरूले फिलोसोफियाका रूपमा दर्शन र तत्त्वज्ञानको स्रोतको अर्थमा व्याकरणलाई हेर्ने काम गरे भने ल्याटिनेलीहरूले भाषाका वाङ्मय-ग्रन्थहरूको माध्यमबाट भाषा अध्ययनको भूमिका खेले । पूर्वमा पाणिनि, कात्यायन तथा पतञ्जलिले गरेको ध्वनि, वर्ण, वार्तिक तथा भाष्यहरूका बारेमा चिन्तनमनन एवं पाश्चात्यमा प्लेटो (ई.पू.४२७-३४७) तथा एरिस्टोटल (ई.पू.३८४-३२२) ले चलाएको प्राचीन भाषिक अध्ययन शैली पछिल्ला कालमा आएपछि भाषाशास्त्रका रूपमा भाषा अध्ययनको एउटा सैद्धान्तिक मान्यताका अर्थमा बुझ्न र व्याख्या गर्न थालियो ।

यसै प्रचलनमा संरचित तथा व्यवस्थित भएर आएका भाषाका अनुसन्धान तथा खोज र दस्ताबेजीकरणका मान्यताहरूलाई भाषाशास्त्र समेत भन्न थालियो । यसपछिका पछिल्ला अध्ययनहरू परम्परागत तथ्य र ढाँचाका आधारमा रहे भने अर्कातर्फ रूढ बन्दै अनुमानित तथ्याङ्कका आधारका परम्परित केही व्याख्याहरू पनि रहे । पछिल्ला समयहरूमा यसलाई पनि भाषाशास्त्रको एउटा परम्परित शास्त्रीय परिधिभित्र राखियो । यस अध्ययनमा उपर्युक्त पृष्ठभूमिमा आधारित भएर पूर्वीय भाषिक चिन्तनका वैदिक तथा लौकिक भाषिक चिन्तनको चर्चा गर्ने प्रयास गरिएको छ ।

. समस्याकथन/ प्राज्ञिक प्रश्न

संस्कृत तथा ग्रीक-ल्याटिन भाषाका वाङ्मयमा उपलब्ध भाषिक चिन्तनका प्राचीनतम ग्रन्थहरू आफ्ना समयका महत्त्वपूर्ण सिद्धान्तका साथै भाषिक विश्लेषणका विधिका रूपमा पनि थिए । भाषालाई अध्ययन गर्ने यस्तै खालका परम्परागत विधिलाई विगतमा भाषा अध्ययनको शास्त्रीय परम्पराको अभिन्न अङ्गका रूपमा लिने काम गरिन्थ्यो । परम्परागत रूपमा भएका कतिपय भाषिक अध्ययनहरू तुलनात्मक दृष्टिले हेर्दा पछिल्ला कालखण्डमा केही अनुमानित तथ्य र सन्दर्भहरूको व्याख्याहरूमा पनि हुन पुगे । यिनै आधारलाई हेर्दा भाषाका बारे चिन्तन मनन वैदिक कालदेखि नै भएको देखिन्छ । तसर्थ यस अध्ययनमा  वैदिक तथा लौकिक वाङ्मयमा भएको भाषिक चिन्तनलाई प्रमुख समस्याका  रूपमा लिई अध्ययनकार्य गरिएको छ । प्रस्तुत अध्ययन निम्न समस्यामा केन्द्रित रहेको छ-

  • वैदिक र लौकिक वाङ्मयको भाषिक चिन्तन के कस्तो छ ?
  • वैदिक र लौकिक भाषिक चिन्तनबीच के कस्ता समानता र भिन्नता रहेका छन् ?

. अध्ययनको उद्देश्य

यो अध्ययन निम्न उद्देश्यहरूमा केन्द्रित रहेको छ-

  • वैदिक र लौकिक वाङ्मयको भाषिक चिन्तनको परिचय दिनु,
  • वैदिक र लौकिक भाषिक चिन्तनबीच रहेका समानता र भिन्नता पहिल्याउनु,

. अध्ययनविधि

यो अध्ययन गुणात्मक ढाँचा र वर्णनात्मक विधिमा आधारित छ । अध्ययनका क्रममा तथ्याङ्क सङ्कलन गर्न पुस्तकालय अध्ययन विधि र पाठपत्रलाई उपयोग गरिएको छ । यस विषयमा लेखिएका पाठ्यपुस्तक, इन्टरनेटबाट खोजिएका पाठ्यसामग्री तथा श्रव्यदृश्य सामग्रीको उपयोग गरी अध्ययन कार्य गरिएको छ । व्याख्या विश्लेषण गर्न निगमनात्मक विधि र तार्किक प्रक्रियाको उपयोग गरिएको छ ।

. अध्ययनको सीमाङ्कन

यो अध्ययन पूर्वीय भाषिक चिन्तनहरू वैदिक भाषिक चिन्तन र लौकिक भाषिक चिन्तनको अध्ययन  हो । यस अध्ययनलाई निम्नानुसार सीमाङ्कन गरी अध्ययन गरिएको छ-

  • यस अध्ययनलाई पूर्वीय भाषिक चिन्तनहरू वैदिक र लौकिक भाषिक चिन्तनको अध्ययनमा सीमित गरिएको छ ।
  • यस अध्ययनमा वैदिक र लौकिक भाषिक चिन्तनको अध्ययन गरी तिनीहरूबीच रहेका समानता र भिन्नता पहिल्याउने प्रयास गरिनेछ त्यसकारण यो अध्ययन पूर्वीय वैदिक चिन्तन र लौकिक चिन्तनमा मात्र आधारित रहनेछ ।

ग. यस अध्ययनमा पाश्चात्य दर्शनका भाषिक चिन्तनबारे अध्ययन गरिने छैन ।

. अध्ययनको औचित्य

यस अध्ययनमा पूर्वीय दर्शनमा भाषालाई कुन रूपमा लिइएको छ । यसको अवस्था के कस्तो छ? भन्ने बारेमा चर्चा गरिने छ । तसर्थ भाषाको अध्ययन गर्न चाहने अनुसन्धाता, भाषाका शिक्षक, विद्यार्थी जो कोहीलाई पनि यो सहयोगी सामग्री बन्न सक्ने भएकाले यो अध्ययन औचित्यपूर्ण छ ।

. वैदिक वाङ्मयमा भाषिक चिन्तन

भाषिक सिद्धान्त र व्याकरणको ऐतिहासिक विकासक्रम हेर्दा संस्कृतको भाषिक चिन्तन ई. पू. १५०० तिरदेखि निरन्तर विकसित भइरहेको र वैदिक युगमा नै भाषाबारे व्यवस्थित चिन्तनको विकास वैदिक संहिताहरू, आरण्यक र उपनिषद्‌हरूमा गम्भीर रूपमा भएको देखिन्छ (बन्धु, २०७०, पृ. ९) । पूर्व वैदिक युगका रचना भनेका वैदिक संहिता हुन् । संहिता भनेका मन्त्रहरू हुन् । यस्ता मन्त्रहरू श्रुति परम्पराबाट विकसित भएको मानिन्छ । सुरुमा वेद एउटै थियो र पछि तिनीहरूको विधा विभाजन गरियो, ऋचा, यजु र साम गरेर । यसो गर्दा केही मन्त्रहरू बाँकी रहे र तिनै बाँकी रहेका मन्त्रहरू नै अथर्ववेदका रूपमा सङ्ग्रहित भए (शर्मा, २०६३ पृ. ७-८) । संस्कृतको विद् धातुबाट बनेको वेद शब्दको अर्थ ज्ञानराशि हुन्छ । यही ज्ञानराशिको सङ्ग्रहलाई संहिता भनिन्छ । संस्कृत वाङ्मयको इतिहासमा वेद वा संहिता काल सर्वप्राचीन मानिन्छ । यस कालका मन्त्रहरू ऋक्, यजुः, साम तथा अथर्व गरी चार भागमा विभाजित छन् । प्रत्येक संहिताका ब्राह्मण, आरण्यक र उपनिषद्‌हरू उपलब्ध छन् । विभिन्न गुरुकुलहरूमा भिन्न भिन्न रूपले पठनपाठन हुने भएकाले वेदका अनेक शाखाहरू छन् । यी शाखाका आआफ्नै ब्राह्मण आदि ग्रन्थहरू छन् (पोखरेल, २०७६)। पतञ्जलिको महाभाष्यमा ऋग्वेदका २१, सामवेदका १०००, यजुर्वेदका १०१ तथा अथर्ववेदका ९ शाखाहरू रहेको बताइएको छ । ऋग्वेद ऋचाहरूको सङ्ग्रह हो । यो आकारप्रकार व्यापकताका दृष्टिले सबभन्दा ठुलो र सर्वप्राचीन मानिन्छ । सामवेदका पूर्वार्चिक र उत्तरार्चिक दुई भाग छन् । जसमा सबै मन्त्रहरू सङ्गीतका सातै स्वरको उपयोग गरिन्छ । यजुर्वेदका दुई भेद छन् शुक्ल र कृष्ण । अथर्ववेदमा अभिचारमन्त्र (मारण, मोहन आदि) सङ्ग्रहित छन् तथा यो बीस काण्डमा विभक्त छ । वेदका छ अङ्गगहरू (शिक्षा, कल्प, ज्योतिष, निरुक्त, छन्द र व्याकरण) मा चार अङ्ग (ज्योतिष र कल्प बाहेक) अरू सबै अङ्गहरू भाषासँग नै सम्बद्ध छन् र यसबाट वैदिक युगमा भएको भाषिक चिन्तनको व्यापकता र गहनता स्पष्ट हुन्छ (बन्धु, २०७०, पृ. ९)। चार वेदमा सबैभन्दा पुरानो वेद ऋग्वेद मानिन्छ । भाषाको उत्पत्तिको स्वरूप ऋग्वेदको ‘चत्त्वारि वाक् परिमिता पदानि’ मा नै प्रस्ट उल्लेख गरिएको छ (शर्मा, २०६३, पृ १९)। वाणी चार प्रकारका छन् । मनलाई वशमा राख्न सक्ने ब्राह्मणहरू वाणीका चारै प्रकारलाई जान्दछन् । वाणीका तीन तह गुहामा छन् तिनले अर्थ स्पष्ट बुझाउँदैनन् । वाणीको चौथो तह मनुष्य बोल्दछन् (आचार्य, २०७२, पृ २२) । भाषासम्बन्धी चिन्तन वैदिक सूक्तहरूमा पाइन्छ यी सूक्तहरूमा पाइने शब्दहरूको व्युत्पत्तिको चर्चा प्रासङ्गिक देखिन्छ । त्यस बेला उच्चारणप्रक्रियामा विशेष ध्यान दिइन्थ्यो । पदपाठ गर्दा वैदिक सूक्तका पदहरूलाई छुट्याई तिनको स्वराघातयुक्त उच्चारणमा विचार गरिन्थ्यो । वैदिक सूक्तहरूको उच्चारणको शुद्धताको निर्णय गर्ने विभिन्न शाखाहरू थिए । यिनका संहितापाठ र पदपाठसम्बन्धी कुराहरू प्रातिशाख्य ग्रन्थहरूमा उपलब्ध छन् । त्यसैगरी वैदिक भाषाको अध्ययनका क्रममा निघण्टुहरू तयार भएको उल्लेख पाइन्छ । (बन्धु, २०७०,पृ. १०)

वेदमा अनेक स्थानमा वाक्तत्त्व, भाषाको उत्पत्ति, व्याकरण, छन्दको विश्लेषण वाणीका भेदहरू, मनस्तत्त्व तथा वाक्‌सम्बन्धी अक्षर, पद आदिको चर्चा गरिएको पाइन्छ । जस्तैः

अक्षर विभक्तिको धारणा- अक्षरद्वारा नै सात प्रकारका वाणीको निर्माण हुन्छ (अथर्व, ९-१०-२) । सात प्रकारका वाणी भन्नाले सात विभक्तिलाई लक्षित गरिएको बुझिन्छ ।

भाषाको व्यापकता- ऋग्वेदमा जहाँसम्म ब्रह्म पुगेको छ त्यहाँसम्म वाणीको व्यापकता छ भनिएको पाइन्छ (ऋक् १०-११४-२१) । यसैगरी अथर्ववेद(९-१०-२१) मा के भनिएको छ भने समुद्रको जल वायुमा परिणत भई संसारलाई सिञ्चन गरेजस्तै हजारौँ अक्षरका समूहहरू जगत्‌मा व्यापक भई सबैको कल्याण गर्दछन् । यसरी वेदले भाषालाई व्यापक मानेको पाइन्छ । यसको कारण मानिसको व्यापकता हो । जहाँ-जहाँ मानिसहरू हुन्छन् त्यहाँ-त्यहाँ भाषा हुनाले यो व्यापक हुन्छ ।

वाक्तत्त्वको सर्वोत्कृष्टता- अथर्ववेदमा नै वाणीको क्षेत्र सर्वोत्कृष्ट विशाल छ भनिएको छ । यसबाट पनि मान्छेलाई अरू प्राणीभन्दा श्रेष्ठ बनाउने भाषा नै हो भन्ने बुझिन्छ ।

चतुर्विध वाक् ऋग्वेदमा चार प्रकारका वाणीका पदहरू भएको उल्लेख छ (ऋक् १-१६७-४५) । यहाँ चार प्रकारका वाणीको अर्थ नाम, आख्यात, उपसर्ग, निपात भनिएको छ भने कसैकसैले परा, पश्यन्ती, मध्यमा र वैखरी गरी वाणीका चार अवस्थाको सङ्केत गरेको पाइन्छ ।

भाषिक तत्त्वको विश्लेषण- ऋग्वेदमा भनिएको छ वाणीका चार सिङ छन्, तीन खुट्टा छन्, दुई टाउका छन्, सात हात छन्, तीन ठाउँमा बाँधिएको वृषभ ठुलो शब्द गर्दछ, त्यो महान् देव मनुष्यहरूमा प्रवेश गरेको छ (ऋक् ४-५८-३) । यहाँ चार सिङको तात्पर्य नाम, आख्यात, उपसर्ग र निपात, तीन खुट्टाको अर्थ भूत, भविष्यत् र वर्तमान गरी तीन काल, दुई टाउकाको अर्थ शब्दका दुई भेद नित्य र अनित्य, सात हातको तात्पर्य सात विभक्तिहरू, तीन ठाउँमा बाँधिएको भन्नाले छाती, कण्ठ र शिर भन्ने एक अर्थ गरिएको छ भने अर्को अर्थमा एकवचन, दुई वचन र बहुवचन अथवा प्रथमपुरुष, मध्यमपुरुष र उत्तमपुरुष भनिएको छ । महान् भनेको वाणी हो । यसरी ऋग्वेद कालमै भाषाको विश्लेषण हुन थालेको पाइन्छ ।

अक्षर ज्ञानको महत्त्व- ऋग्वेदमा अक्षरको ज्ञानद्वारा ऋचाको ज्ञान हुन्छ । ऋचाको ज्ञानद्वारा व्यक्ति उच्च स्थान प्राप्त गर्छ । देवता पनि उसप्रति आश्रित हुन्छन् । जसले यो ज्ञान थाहा पाउँदैन, त्यसले ऋचाबाट के फाइदा पाउन सक्छ (ऋक् १-१६४-३९) । यसरी अक्षर अर्थात् उच्चारण खण्डका ज्ञानलाई वेदले महत्त्व दिएको देखिन्छ ।

ऋग्वेदमै अर्को एक सूक्तमा पहिलेका पुर्खाहरूले पदको ज्ञान गरी हामीलाई नासोका रूपमा ती पदहरू प्रदान गरेका हुन् (ऋक् १-६२-२) । यसबाट आधुनिक भाषाविज्ञानको भाषा यादृच्छिक वा परम्परित हुन्छ भन्ने मान्यता वेदमा स्थापित देखिन्छ ।

व्याकरणको प्रारम्भ- यजुर्वेदअनुसार प्रजापतिले रूपलाई देखेर सत्य र असत्य अथवा प्रकृति र प्रत्ययका रूपमा विभाजन गरे ।

भाषाको आरम्भ- ऋग्वेदमा वृहस्पतिलाई भाषाको प्रारम्भक भनिएको छ । वृहस्पति सर्वप्रथम पदार्थहरूको नामकरण गर्दछन् । यो उनको शिक्षासम्बन्धी प्रथम खुड्किलो हो ।

वाक्तत्त्वको सूक्ष्मता- ऋग्वेदमा कोही व्यक्ति वाणीलाई देखेर वा सुनेर पनि बुझ्ने प्रयत्न गर्दैनन् जसले बुझ्न चाहन्छन् तिनीहरूलाई वाणीकी देवी सरस्वती कृपा गर्दछिन् भनिएको छ । यसरी भाषामा भौतिक ध्वनि मात्र नभएर सूक्ष्म अर्थ पनि हुन्छ भन्ने सङ्केत वेदमा पाइन्छ ।

वैदिक कालसँगै उत्तर वैदिककालीन रचनाहरूमा पनि भाषिक चिन्तन मनन व्यक्त भएको पाइन्छ । त्यस्ता उत्तर वैदिककालीन रचनाहरूमा ब्राह्मण ग्रन्थ, आरण्यक, उपनिषद् ग्रन्थहरू पर्दछन् ।

ब्राह्मण कालमा भाषिक चिन्तन-

ब्राह्मण ग्रन्धसम्म आइपुग्दा भाषाशास्त्रीय चिन्तनमा पर्याप्त विकास भएको पाइन्छ । युगयुगमा अनेक पारिभाषिक शब्दहरू विकसित भए जसको प्रयोग पाणिनीय व्याकरणमा भएको छ । मैत्रायणी संहितामा विभक्ति संज्ञाको उल्लेख पाइन्छ र यसको सङ्ख्या ६ बताइएको छ (मैत्रायणी संहिता १-७-३) ।

.१ आरण्यक कालमा भाषिक चिन्तन-

वैदिक साहित्यमा ऋग्वेदसँग सम्बद्ध दुई आरण्यक दुई छन् ऐतेरेय र शाङ्खायन आरण्यक । ऐतेरेय आरण्यक ऐतेरेय ब्राह्मणको परिशिष्ट भाग यसअन्तर्गत पाँच आरण्यक छन् । तेस्रो भेदमा संहिता, पद, क्रमपाठ, स्वर, व्यञ्जन आदिको चर्चा छ ।

.२ उपनिषद् कालमा भाषिक चिन्तन-

उपनिषद्मा परब्रह्म चिन्तन तथा आत्मा र मोक्षसम्बन्धी चर्चा गरिएको पाइन्छ । अक्षर ब्रह्मबाट यो विश्वको उत्पत्ति हुन्छ (मुण्डकोपनिषद् १/७) । जसलाई वाणीद्वारा बताउन सकिँदैन, जसले वाणीलाई उत्पत्ति गर्दछ त्यही ब्रह्म हो (केनोपनिषद् १/४) । अनन्त अक्षर ब्रह्मका विद्या र अविद्या गरी दुई रूप छन् (श्वेताश्वेतरोपनिषद् ५/१) ।

वैदिक भाषिक चिन्तन परम्पराको चर्चा गर्दा वेदाङ्गहरूको भूमिका पनि उल्लेखनीय देखिन्छ । वेदाङ्गहरू शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिष गरी ६ प्रकारका छन् । पाणिनीय शिक्षामा छन्द वेदका पाउ हुन्, कल्प भनेका हात हुन्, ज्योतिष भनेको आँखा हो, निरुक्त भनेको कान हो, शिक्षा भनेको नाक हो र व्याकरण चाहि मुख हो (शर्मा, २०६३, पृ ५४) । उल्लिखित वेदाङ्गमध्ये कल्प र ज्योतिषमा बाहेक अन्यमा भाषिक चिन्तन गरिएको हो । कल्प कर्मकाण्डसँग सम्बन्धित छ भने ज्योतिष याज्ञिक कर्म गर्ने समय र मुहूर्तसँग सम्बन्धित छन् ।

‘शिक्षा‘मा स्वरगत उच्चारणप्रकारको निर्देश छ । वैदिक स्वरको भिन्नताले उच्चारणमा फरक पार्दछ । स्वरको भिन्नताबाट हुने उच्चारण त्रुटिले इन्द्रको शत्रु वृत्रासुरको नाश भएको कुरा पतञ्जलिले महाभाष्यमा उल्लेख गरेका छन् (पोखरेल, २०७६)। यो ग्रन्थमा उदात्त, अनुदात्त, स्वरितजस्ता स्वरको उच्चारण नियमका बारेमा पनि उल्लेख पाइन्छ । ‘व्याकरण’मा शब्दहरूको व्युत्पत्तिसहित अर्थबोधका लागि व्याकरण चाहिन्छ भन्ने कुरा उल्लेख छ । पाणिनिले व्याकरणलाई वेदको मुख भनेका छन् । वेदको मुख भन्नुको अर्थ शुद्ध उच्चारणको अपेक्षा हो । ‘वेदको रक्षा गर्नु र वैदिक शब्दहरूको उचित अर्थलाई प्रकाश पार्नु’ (भट्टराई, २०७४, पृ ६५) व्याकरणको मुख्य प्रयोजन मानिन्छ ।

निरुक्तमा शब्दहरूको व्युत्पत्तिका साथै अर्थ निर्धारण गरिएको पाइन्छ । खासमा निरुक्त शब्दकोशको टीका हो । वेदका कठिन शब्दहरूको सङ्कलन निघण्टुमा गरिएको छ भने त्यस्तो कठिन शब्दहरूको व्याख्या विश्लेषण वा टीका निरुक्तमा गरिएको छ । व्याख्या विश्लेषण गर्ने क्रममा शब्दको मूल रूपको ज्ञान गराउने, प्रकृति प्रत्ययको जानकारी गराउने, धातु र प्रत्ययको अर्थ विवेचना गर्ने तथा समानार्थक र अनेकार्थक शब्दको विवेचना गर्ने काम गरिएको छ (आचार्य, २०७२, पृ २५) । यास्क प्रथम निरुक्तकार हुन् । उनको निरुक्तमा चौध अध्याय रहेका छन् । यसमा मूलतः शब्दको व्युत्पत्ति र अर्थनिर्धारण गरिएको छ ।

छन्दले वैदिक र लौकिक छन्दका बारेमा जानकारी दिन्छ । वेदका अधिकांश मन्त्रहरू छन्दोबद्ध छन् । वैदिक छन्दहरू गायत्री, त्रिष्टुप्, जगती, पङ्क्ति आदि रहेका छन् । पिङ्गलको छन्दसूत्रमा वैदिक र लौकिक छन्दका बारेमा उल्लेख भएको पाइन्छ (भण्डारी र पोखरेल, २०७६) ।

.३ प्रातिशाख्य र शिक्षामा भाषिक चिन्तन-

शिक्षाग्रन्थहरू भन्दा प्रातिशाख्यलाई पुरानो मानिन्छ । उपलब्ध जानकारीअनुसार अहिलेसम्म पाइने ध्वनिविज्ञानको सबभन्दा पुरानो ग्रन्थ ऋग्वेद प्रातिशाख्य हो । प्रातिशाख्य र शिक्षाग्रन्थ दुवैमा ध्वनिसम्बन्धी विस्तृत चर्चा पाइन्छ । यी दुईमा भिन्नता पनि छ । प्रातिशाख्य नामअनुसार कुनै एउटा वेदका शाखासँग सम्बन्धित हुन्छ । यसले त्यसका भाषिक उच्चारण प्रक्रियाको अध्ययन गर्दछ भने शिक्षाग्रन्थले चाहिँ सामान्य उच्चारण प्रक्रिया वा वेदविशिष्ट ध्वनिको अध्ययन गर्दछ । शिक्षाको अर्थ हुन्छ- स्वर र व्यञ्जन आदिको उच्चारणसम्बन्धी शिक्षा वा ज्ञान । उनीहरूका विचारमा दुवैको प्रतिपाद्य विषय भाषिक ध्वनि नै हो । यसकारण उदात्त, अनुदात्त, स्वरित एवम् ह्रस्व, दीर्घ, प्लुत आदिको उच्चारण कसरी गरिन्छ भन्ने बताउनु नै प्रातिशाख्य र शिक्षा ग्रन्थको मुख्य उद्देश्य रहेको देखिन्छ (भण्डारी र पोखरेल, २०७६)  । यसर्थ यहाँ प्रातिशाख्य पनि शिक्षा ग्रन्थभित्रै समेटिएको छ ।

.४ निरुक्त र निघण्टुमा भाषिक चिन्तन-

यास्कलाई वैदिक कालका अन्तिम भाषाचिन्तकका रूपमा लिने गरिन्छ । यास्कका निरुक्तको आधार ग्रन्थ उनी आफैँले तयार पारेको निघण्टु हो । निरुक्तमा नैघण्टुक, नैगम र दैवत तीन काण्ड (खण्ड) र १२ अध्याय छन् । निरुक्तको प्रथम अध्यायमा भाषासम्बन्धी चिन्तन र निर्वचन सिद्धान्त प्रस्तुत छ । निरुक्त व्युत्पत्तिविज्ञानको प्रारम्भिक ग्रन्थ हो । यसमा यौगिक र रूढ शब्दको विवेचन शास्त्रीय ढङ्गले गरिएको छ (भण्डारी र पोखरेल, २०७६) । यसरी निरुक्त चिन्तन र व्युत्पत्तिशास्त्रको एक प्रमुख ग्रन्थका रूपमा देखिएको छ । यसकारण यास्क प्रथम व्युत्पत्तिशास्त्रका रूपमा स्थापित छन् । त्यस्तै निघण्टु भनेको कठिन वैदिक शब्दहरूको वर्गीकृत कोश हो । निघण्टुहरू बीसओटा भएको पाइन्छ । निघण्टुमा शब्दको सङ्ग्रह मात्र छ व्युत्पत्ति छैन । यसरी वैदिक भाषाका शब्दकोशका रूपमा निघण्टुहरू रहेका छन् ।

यसरी वैदिक कालमा वाणीको उत्पत्तिदेखि त्यसको प्रयोग, वाक् शक्ति र वैदिक भाषाका विभिन्न पक्षहरूजस्तै उच्चारण व्यवस्था, व्याकरण व्यवस्था, शब्दार्थ आदिका बारेमा चिन्तन मनन भएको देखिन्छ ।

. लौकिक वाङ्मयमा भाषिक चिन्तन

लौकिक संस्कृतको भाषिक चिन्तनबारे चर्चा गर्दा संस्कृत वाङ्मयको विशाल शब्दभण्डारलाई बिर्सन सकिन्न । संस्कृत वाङ्मयको परवर्ती युगमा पाणिनिजस्ता महान् वैयाकरणको योगदानबाट संस्कृत भाषाको मानक रूप स्थिर भएपछि संस्कृत वाङ्मयको विकास र विस्तार भयो (बन्धु, २०७०, पृ. १३)। पूर्वीय संस्कृत वाङ्मय परम्परामा लौकिक काल भनेर महाभारत रामायणको रचनाकालभन्दा पछिको समयलाई मानिन्छ । यिनै कृतिले वैदिक युगको अन्त्य गर्दै लौकिक युगको आमन्त्रण गरेका हुन् । वैदिक वा शास्त्रीय संस्कृतको परवर्ती युगमा पाणिनिभन्दा पूर्व महान् चिन्तकहरूको योगदान देखिन्छ । खासगरी यास्क र पाणिनिका बीचको अवधिदेखि लौकिक वाङ्मयमा भाषिक चिन्तन हुन थालेको मान्यता भेटिन्छ (न्यौपाने र घिमिरे, २०७०, पृ. १९) । लौकिक युगमा भाषा व्याकरणका अतिरिक्त दर्शन, न्याय, मीमांसा, साहित्यशास्त्र आदिआदि क्षेत्रमा भाषिक चिन्तन भएको पाइन्छ । लौकिक युगमा ‘पाणिनिजस्ता महान् वैयाकरणको योगदानबाट संस्कृत भाषाको मानक रूप स्थिर भएपछि संस्कृत वाङ्मयको विकास र विस्तार भयो’ (बन्धु २०७०, पृ. १३) । यो व्याकरण मानवमेधाको महान् स्मारकमा एक हो । आजसम्म कुनै पनि भाषाको यति पूर्ण व्याकरण बनेको छैन भनी पाणिनिको व्याकरणका सम्बन्धमा पाश्चात्य भाषाविद् ब्लुमफिल्डले गरेको टिप्पणीले लौकिक वाङ्मयमा विकसित समृद्ध भाषिक चिन्तन परम्परालाई चित्रित गर्दछ । पाणिनि, कात्यायन र पतञ्जलिलाई संस्कृत व्याकरणका मुनित्रय भनिन्छ (बन्धु २०७०,पृ. १३) । यी तीन मुनिहरूलाई आधार बनाएर लौकिक संस्कृत युगको भाषिक चिन्तन र व्याकरण परम्परालाई पूर्व पाणिनि युग, पाणिनि युग र उत्तर पाणिनि युग भनेर तीन चरणमा छुट्यार चर्चा गर्न सकिन्छ-

.१ पूर्व पाणिनि युग

यास्कपछि र पाणिनिभन्दा अघिको समय नै पूर्व पाणिनि युग हो (बन्धु, २०७०, पृ. १४ )। यस युगमा एकातिर वैदिक भाषाको अध्ययनको परम्परा जीवित नै थियो भने अर्कातिर लौकिक भाषाको अध्ययनको क्रम सुरु भइसकेको थियो । यस युगमा विभिन्न सम्प्रदायहरू देखा परेका छन् । त्यस्ता सम्प्रदायहरूमा ऐन्द्र, शाकटायन, आपिशालि, शाकल्य, काशकृत्शन, गार्ग्य, गालव, काश्यप लगायतका सम्प्रदायहरू मुख्य हुन् (भण्डारी र पोखरेल, २०७६) । ऐन्द्र सम्प्रदायमा प्रकृति प्रत्यय विभाजनको चर्चा पाइन्छ । देवताका राजा इन्द्रले सजिलाका लागि प्रकृति र प्रत्यय विभाजन गरेका थिए भन्ने कुरा यसमा उल्लेख छ । शाकटायन समस्त प्रातिपदिक धातुबाट व्युत्पन्न भएको विचार राख्ने विद्वान् मानिन्छन् । वाजसनेय प्रातिशाख्य र ऋक् प्रातिशाख्यमा पनि यिनको चर्चा छ । आपिशालिले व्याकरण ग्रन्थका साथै धातुपाठ, गणपाठ, उणादि सूत्र, आपिशालि शिक्षा, अक्षरतन्त्र जस्ता ग्रन्थमा व्याकरणको चर्चा गरेको पाइन्छ । यस्तै शाकल्य ऋग्वेदका पदपाठका रचनाकार मानिन्छन् । गार्ग्यलाई यास्कले शब्दमूलवादी आचार्यका रूपमा र उपसर्ग अर्थका द्योतक मात्र नभई अर्थका प्रकाशक पनि हुन् भन्ने आचार्यको रूपमा चर्चा गरेका छन् (आचार्य, २०७२, पृ. ३४) । उनी धातु र प्रत्यय स्पष्टसँग छुट्टिने शब्दलाई मात्र धातुज् मान्दथे । गालव ध्वनिवैज्ञानिक हुन् । पाणिनिले अष्टाध्यायीका दुई सूत्रमा काश्यपका मत उल्लेख गरेका छन् । त्यसैगरी अष्टाध्यायीमा स्फोटायन, चाक्रवर्मण र सेनकको चर्चा गरेको पनि देखिन्छ ।

यसप्रकार पाणिनि पूर्व भाषिक ध्वनिको उच्चारण प्रक्रिया र तिनमा भएका भिन्नताको निरूपण, प्रकृति र प्रत्ययका रूपमा शब्दको विश्लेषण, भाषिक विश्लेषण गर्ने शैलीको प्रारम्भ, शब्दार्थ सम्बन्ध र स्फोटका माध्यमबाट भाषासम्बन्धी दार्शनिक चिन्तनको प्रारम्भ हुनका साथै पदपाठ, धातुपाठ, उणादि पाठ, गठापाठ आदिको रचना भएको पाइन्छ ।

.२ पाणिनि युग

पाणिनिको समयबारे मतभेद भए पनि यिनलाई भण्डारकर ई. पू. पाँचौ शताब्दीका मान्दछन् र आमाको नाम दाक्षी भएकाले दाक्षीपुत्र र शालातुर ठाउँका भएकाले शालातुरीय पनि भनिन्छ (बन्धु,२०७०, पृ. १४) । यस युगका केन्द्र भनेका पाणिनि नै हुन् । उनले लौकिक संस्कृतलाई आधार मानेर अष्टाध्यायीको रचना गरे (श्रेष्ठ, २०६५, पृ. १९) । यही व्याकरणबाट लौकिक भाषाले स्थिरता प्राप्त गऱ्यो । उनको यो अष्टाध्यायी नामक व्याकरण ग्रन्थ निकै प्रसिद्ध र बहुमान्य छ । यसमा वैदिक र लौकिक संस्कृतका शुद्धिगत नियमहरू उदाहरणसहित दिइएको छ (शर्मा, २०६३, पृ. ५५) । यसैका आधारमा रचिएका लघुसिद्धान्तकौमुदी र सिद्धान्तकौमुदी आज पनि पठनपाठन हुँदै आएका छन् । अष्टाध्यायीमा आठ अध्याय र प्रत्येक अध्यायमा चार पाउ छन् र जम्मा ३९९५ सूत्रहरू छन् (बन्धु,२०७०, पृ. १२) । यी सूत्रहरू बीजगणितका सूत्रजस्तै सङ्क्षिप्त, सारगर्भित र असन्दिग्ध छन् । अष्टाध्यायीको पहिलो र दोस्रो अध्यायमा पदहरूको सङ्कलन, तेस्रो, चौथो र पाँचौ अध्यायमा प्रकृति प्रत्यय विभाजन र छैटौँ, सातौँ र आठौँ अध्यायमा आगम, आदेश आदि सन्धि प्रक्रियाद्वारा गरिने शब्दनिर्माणका बारेमा विस्तृत रूपमा उल्लेख गरिएको छ ।

त्रिमुनिमध्येका अर्का आचार्य कात्यायन हुन् । उनले अष्टाध्यायीका आधारमा वार्तिक रचना गरेका छन् । वार्तिक भनेका सूत्रको प्रयोजन, सन्देह, निर्णय, विशेष व्याख्या, गुरुलाघवविचार, कुनै अंशको त्याग र कुनै अंशको थपमध्ये कुनै एक हो (आचार्य, २०७२, पृ. ४०) । उनले यस्ता वार्तिकहरू पाणिनिका सूत्रहरूमा संशोधन र परिवर्द्धन गर्नका लागि लेखेको मानिन्छ । यस्ता वार्तिकहरूले अष्टाध्यायीका सूत्रहरूलाई बुझ्न सघाउँछन् । वार्तिककार कात्यायनको समय ईशापूर्व ४५० देखि ३०० सम्मको मानिन्छ । यिनले लोकव्यवहारबाट निर्धारित हुने र यस्तो अर्थ मुख्य अर्थ हो भनेका छन् ।

त्रिमुनिमध्येकै अर्का विद्वान् पतञ्जलि हुन् । उनले महाभाष्यको रचना गरेका छन् । यसमा उनले अष्टाध्यायीका बारेमा कात्यायनले उठाएका प्रश्नहरूको जबाफ दिएका छन् । यसमा सरल र स्पष्ट किसिमले भाषिक चिन्तन प्रस्तुत गरिएको छ । पतञ्जलिको जन्म ईशापूर्व तेस्रोदेखि पहिलो शताब्दीका बीच भएको मानिन्छ ।

.३ उत्तरपाणिनि युग

लौकिक संस्कृत परम्परामा त्रिमुनि पछिको युग उत्तरपाणिनि युग  हो । त्रिमुनिको युगपछि पनि पाणिनि सम्प्रदायमा महत्त्वपूर्ण कार्यहरू भए । विशेष गरी त्रिमुनिको परम्परालाई जीवित राख्न धेरै विद्वान्‌हरूले योगदान गरे । यिनमा भर्तृहरि, कैयट र नागेशजस्ता चिन्तकहरू अनि जयादित्य, वामन तथा भट्टोजिदीक्षित जस्ता वृत्तिकार र व्याख्याताहरूको योगदान अत्यन्त महत्त्वपूर्ण देखिन्छ (बन्धु,२०७०, पृ. ११) । अष्टाध्यायी, वार्तिक ग्रन्थ, महाभाष्य लगायतका रचनामै टेकेर उत्तरपाणिनि युगको विकासयात्रा अगाडि बढेको देखिन्छ । यिनमा थप व्याख्या, विवेचना गरेर विभिन्न विद्वान्‌हरूले पाणिनीय व्याकरण परम्परा समृद्ध बनाई जीवित तुल्याउन योगदान दिएका छन् । यस समयमा पाणिनिको अष्टाध्यायी पतञ्जलिको महाभाष्य जस्ता कृतिहरूको व्याख्याका निम्ति टीका, वृत्ति, कौमुदी जस्ता प्रक्रियापरक एवम् वाक्यपदीय दार्शनिक ग्रन्थहरू रचिएको देखिन्छ । यस्ता ग्रन्थहरू रच्ने विद्वान्‌हरूमा भर्तृहरि, कैयट, नागेश, जयादित्य, वामन, भट्टोजि दीक्षित आदि रहेका छन् ।

भर्तृहरिको वाक्यपदीय र महाभाष्यदीपि, कैयटको महाभाष्य प्रदीप, वृतिकारहरू जयादित्य र वामनको काशिका, भट्टोजि दीक्षितको सिद्धान्तकौमुदी यस्ता रचनाहरू हुन् । यस्ता रचनाहरू दार्शनिक र प्रक्रियापरक प्रकृतिका छन् । यिनकै प्रभावमा उत्तरवर्ती चरणमा विकसित पाली, प्राकृत र अपभ्रंश भाषाहरूमा व्याकरण ग्रन्थहरू रचना भएको देखिन्छ । नेपाली व्याकरण परम्परा पनि संस्कृत व्याकरण परम्पराबाट नै प्रभावित रहेको देखिन्छ ।

. वैदिक वाङ्मय र लौकिक वाङ्मय भाषिक चिन्तनको तुलना

वैदिक संस्कृत युगमा भाषाको उत्पत्ति, प्रकार, वाणीको सर्वोत्कृष्टता, अक्षर, पदलगायत व्याकरणको विषयमा समेत चिन्तनमनन भएको पाइन्छ । वैदिक युगमा भाषाको निर्वचन, शब्दार्थ सम्बन्ध, व्युत्पत्ति, अर्थ आदिका बारेमा चिन्तन भएको छ । यस्तै मानव भाषाका बारेमा पनि त्यो युगमा चिन्तन भएको देखिन्छ । व्यवहारका लागि मानव भाषा स्वतः प्राप्त गरेको मान्यता यस युगमा विकास भएको देखिन्छ । त्यस्तै वेदाङ्गहरूले पनि भाषाको उच्चारण, शब्द, व्युत्पत्ति, छन्दोबद्धता आदिका बारेमा चिन्तनमनन गरेको पाइन्छ । यसका साथसाथै मानवमा भाषाको आविष्कार पूर्वीय देन भएको कुरा वैदिक युगमा गरिएको पाइन्छ ।

वैदिक युगजस्तो समृद्ध परम्परा लौकिक युगमा कायम रहन सकेन । लौकिक युग भाषाको संरचना पक्षमा बढी केन्द्रित भएको देखिन्छ । यस युगमा पाणिनिको अष्टाध्यायी र त्यसमै आधारित त्रिमुनिको सर्वोच्चता कायम रहेको छ । पाणिनिकै रचनामा आधारित रहेर कात्यायनले वार्तिकहरूको रचना तथा पतञ्जलिले महाभाष्यको रचना गरेका छन् । यिनै त्रिमुनिका रचनामा आधारित रहेर उत्तरपाणिनि युगमा विभिन्न व्याकरण ग्रन्थहरू र परवर्ती संस्कृत भाषिक परम्परा भएको देखिन्छ । तसर्थ वैदिक युग भाषाको सर्वाङ्ग व्याख्यामा र लौकिक युग भाषाको संरचना पक्षमा केन्द्रित भएको देखिन्छ । सङ्क्षेपमा उपर्युक्त भिन्नताहरू नै वैदिक र लौकिक भाषिक चिन्तनमा देखिन्छन् ।

१०. निष्कर्ष

पूर्वीय भाषिक परम्परालाई हेर्दा यसको नेतृत्व प्राचीन ऋषिमुनिहरूले गरेको पाइन्छ । वैदिक संहिता, ब्राह्मण ग्रन्थ, आरण्यक, प्रातिशाख्य, शिक्षा आदिलाई परम्परागत भाषिक सामग्री मानिन्छ । त्यस्ता ग्रन्थहरू उच्चारणसँग बढी सम्बन्धित छन् । निरुक्त, निघण्टु आदि त्यस बेलाका कोशीय सामग्री हुन् । पूर्वीय भाषिक चिन्तनका दृष्टिले पाणिनिलाई मुख्य मानिन्छ । वेदलाई संसारकै सर्वप्राचीन र विशाल आकारको रचना मानिन्छ । वेदमा सबैभन्दा पुरानो ऋग्वेद हो । ऋग्वेदबाटै भाषिक चिन्तन परम्परा सुरु भएको देखिन्छ । यसमा ‘चत्वारि वाक्’ को विषय उल्लेख गरिएको छ । यस्तै भाषिक उच्चारण परम्पराको विषय पनि ऋग्वेदबाटै सुरु भएको पाइन्छ । पछि गएर अथर्ववेदमा समेत भाषिक चिन्तन भएको पाइन्छ । वेदपछि क्रमशः ब्राह्मण ग्रन्थ, आरण्यक, उपनिषद्‌हरूको विकास भएको छ । तिनमा पनि भाषिक चिन्तनमनन भएको पाइन्छ । यसपछि विकास भएका वेदाङ्गहरूमा भाषिक उच्चारण, व्युत्पत्ति, छन्द आदिका बारेमा चिन्तनमनन भएको देखिन्छ । वैदिक कालमा वेदकै शब्दको निर्वचनका लागि निघण्टु तथा निरुक्तहरू पनि तयार भएका देखिन्छन् । यसरी वैदिक परम्परा भाषाको समग्र पक्षमा केन्द्रित भएको देखिन्छ ।

वैदिक कालपछि लौकिककालीन भाषिक चिन्तन सुरु हुन्छ । यस परम्परामा भाषिक संरचना अर्थात् व्याकरणमा बढी केन्द्रित भई भाषिक चिन्तनको विकास भएको छ । पाणिनिको अष्टाध्यायी लौकिक भाषिक चिन्तन परम्पराको सबैभन्दा प्रसिद्ध रचना हो । पाणिनिको अष्टाध्यायीमा वार्तिक र भाष्यहरू लेखिएका छन् । यिनमै आधारित भएर उत्तर पाणिनि युगमा विभिन्न व्याकरण ग्रन्थहरूको रचना भएको छ । पाणिनि र उत्तरपाणिनि युगमा विकसित भाषिक चिन्तनको प्रभाव प्राकृत र अपभ्रंश भाषामा समेत परेको देखिन्छ । तसर्थ वैदिक र लौकिक भाषिक चिन्तनको प्रभाव आधुनिक समयसम्म पनि उच्च रहेको देखिन्छ ।

 

सन्दर्भ सामग्री सूची

आचार्य, व्रतराज (२०७२). पूर्वीय र पाश्चात्य भाषिक चिन्तन. रत्न पुस्तक भण्डार ।

चालिसे, विदुर (२०७५, असोज). भाषावैज्ञानिक अध्ययन नै प्राचीन भाषिक पहिचानको मूलसूत्र,        परिवर्तन खबर, ।

ढकाल, मतिप्रसाद (२०७५).  संस्कृत व्याकरणको रूपरेखा.  आस्था आगम प्रकाशन ।

तिवारी, भोलानाथ (सन् १९८५). आधुनिक भाषाविज्ञान. वाराणिनी प्रकाशन ।

न्यौपाने, टङ्कप्रसाद (२०६९). पूर्वीय भाषिक चिन्तन परम्परा.  एजुकेसनल पब्लिकेसन एन्ड रिसर्च सेन्टर ।

न्यौपाने, टङ्कप्रसाद, भण्डारी, पारसमणि र न्यौपाने, दीपकप्रसाद (२०६८). भाषाविज्ञानका प्रमुख       सिद्धान्त.  विद्यार्थी पुस्तक भण्डार ।

न्यौपाने, महेश्वर र घिमिरे, दिनेश (२०७०).  भाषाविज्ञानका प्रमुख सिद्धान्त. सनलाइट पब्लिकेसन।

बन्धु, चूडामणि (२०७०). भाषाविज्ञानका सम्प्रदाय.  एकता बुक्स ।

भट्टराई, पद्मप्रसाद ( २०७४). पौरस्त्य दर्शन- एक चिनारी.  विद्यार्थी पुस्तक भण्डार ।

भण्डारी, पारसमणि र पौडेल, माधवप्रसाद (२०६५). साहित्यशास्त्र र नेपाली समालोचना.  विद्यार्थी       पुस्तक भण्डार ।

लम्साल, रामचन्द्र (२०६२). नेपाली भाषा र व्याकरण.  सनलाइट पब्लिकेसन ।

वास्तोला, हेमराज (२०७६, वैशाख). भाषिक चिन्तनमा ग्राइसको संवाद सहयोग सिद्धान्त. शिलापत्र पत्रिका ।

शर्मा, गोपीनाथ (२०६३). संस्कृत साहित्यको रूपरेखा.  अभिनव प्रकाशन ।

श्रेष्ठ, दयाराम र अन्य (२०६५). संस्कृत साहित्यको इतिहास.  विद्यार्थी पुस्तक भण्डार।