म दिनहुँ जसो यसै बाटाबाट ओहोरदोहोर गर्छु । उनीसित दिनै भेट हुन्छ । म उनलाई आदरका साथ नमस्कार गर्छु तर उनी हात नउठाई मुखले मात्र नमस्कारको प्रत्युत्तर फर्काउँछन् । अरू साथीले नमस्कार गर्दा पनि यिनी त्यसै गर्दा रहेछन् । अरूले दुई हात जोडेर गरेको नमस्कारलाई हात जोडेरै फर्काउनु मानवीय शिष्टाचारभित्रको कुरा हो तर अरूले आदरपूर्वक गरेको नमस्कार नफर्काउने मनुवालाई तपाईँ के भन्नुहुन्छ ?

मैले चाहिँ अर्काको नमस्कार सित्तैमा खाइदिने मानिसलाई एक किसिम भ्रष्टाचारीभित्र दर्जा गरेको छु । अर्काको धन खाने र घुस खाने मान्छेमात्र भ्रष्टाचारी हुँदैन । अर्काले आदर श्रद्धासहित टक्र्याएको नमस्कार शिष्टपूर्वकवश नफर्काएर काँचै खाइदिने मानिसको आचार भ्रष्टभित्रै पर्छ । त्यसैले यिनलाई भ्रष्टाचारी भनेको हुँ ।

सित्तैमा अर्काको नमस्कार खाने मान्छेले श्रद्धाको मूल्य जानेका हुँदैनन् । सम्मानको कदर बुझेका हुँदैनन् । उनीहरूलाई मान दिएपछि मान फर्काउनुपर्छ भन्ने सामान्य चेतनाको ख्याल रहन्न । मानवीय शिष्टताउपर विष्ठा बर्साउनु उनीहरूको सनातनी स्वभाव हो । कसैले सम्मानस्वरूप टक्र्याएको नमस्कार तत्क्षण निज व्यक्तिलाई नै फिर्ता गर्नु सभ्यताको निशानी मात्र होइन, मानवीय शिष्टताको चिनारी पनि हो ।

पुण्य कार्की

अक्सर नमस्कार खाने मान्छे लिनमात्र जान्दछन्, दिन जान्दैनन् । अर्काको पैँचो फर्काउन जान्दैनन् । काढ्न जान्दछन् तिर्न जान्दैनन् । सित्तैमा नमस्कार खाइदिने मान्छेहरू जीवनका अन्य विधामा पनि कन्जुस नै रहन्छन् कि भन्ने मेरो अनुमान छ । मानिसले दिएको नमस्कार त सित्तै खाइदिन्छन् भने अरू चिज सित्तैमा नखालान् भन्ने कुरामा विश्वास छैन ।

यस्ता मानिस श्रद्धाले झुकेका शिरभन्दा अहङ्कारले फुलेका पेट सुमसुम्याएर बसेका हुन्छन् । मैले सहजै नमस्कार फिर्ता गरेँ भने; म त सानो भइहाल्छु नि, म त हलुका भइहाल्छु नि, म त विशिष्ट ओहोदाबाट सामान्य तलमा झरिहाल्छु नि भन्ने त्रासले छोपेको हुन्छ । उच्चताभासको ग्रन्थी फुलेर म भनेको मै हुँ भन्ने भावले किचेको हुन्छ । म अरूभन्दा छुट्टै केही हुँ, ऐरेजैरे नत्थु खैरेको जावो नमस्कार सजिलै फर्काउने मान्छे हुँ म, को भावमा तैरेको मात्र होइन डुबेको हुन्छ । डुबेको मात्र होइन, त्यसकै तरल प्रवाहमा बगेको हुन्छ । त्यसैले यस्ता मानिसका केही कठिनाइहरू छन् । केही अप्ठ्याराहरू हुन्छन् । ती मनोविज्ञानका जटिल संरचनामा जेलिएका हुन्छन् । उनीहरूलाई अहंको काँचो वायुले छोएपछि टेरीबाट अटेरी बनेका हुन्छन् । सित्तैमा नमस्कार पचाइदिन सक्ने जब्बर मनुवाको कोटिमा चढेका हुन्छन् ।

नमस्कार त्यस्तो चिज होइन, जो अरूबाट लिएर चिरकाल राख्न सकियोस् र पछि अरूलाई बुझाउन पाइयोस् । यो त पाएको क्षणै तुरुन्तै फिर्ता गर्ने चिज हो । एकोहोरो खाइदिने मात्र होइन फिर्ता दिने चिज पनि हो । लिन चाहिँ लिइराख्ने फिर्ता गर्न चाहिँ भुल्दाखेरि उसलाई नमस्कारको कर्जा कति भइसक्छ ? कहिले हिसाबकिताब गरेको छ ?

कन्जुसीका थरी-थरी रूप हुन्छन् । यो एक आयाममा मात्रै पोखिँदैन अनेक आयाम पोखिन्छ । कोही हाँस्न कन्जुसी गर्ने मान्छेहरू छन् । कोही नाँच्न कन्जुसी गर्ने मान्छे छन् । कोही हात मिलाउन कन्जुसी गर्ने मान्छेहरू छन् । कोही आवश्यकीय कुरा पनि मुखबाट ओकल्न कन्जुसी गर्ने छन् । कोही मुस्कान निकाल्न कन्जुसी गर्ने छन् त कोही शब्द निकाल्न कन्जुसी गर्ने छन् । शरीरशास्त्रीहरू भन्छन्- कन्जुसी मान्छेलाई नै अक्सर पेटको कब्जियत हुन्छ अरे । सबै कुराको कन्जुसी गर्दागर्दै पेटको कब्ज खलाँस गर्न पनि कन्जुसी नै गर्छ र कब्जियतको रोगी बन्छ । अर्काले दिएको नमस्कार फिर्ता गर्न आनाकानी गर्ने मनुवालाई पनि कन्जुसीकै एक श्रेणीमा राख्नु उचित होला ।

कन्जुसभित्रको पनि सबैभन्दा कन्जुसलाई मक्खीचुस भनिन्छ क्यारे । मक्खी भनेको झिँगा हो । झिँगाको खुट्टा चुस्ने कन्जुसलाई मक्खीचुस भनिन्छ । मक्खीचुसको खानाको भागमा, अर्थात् दालमा दूधमा या महीमा झिँगो बस्यो भने त्यसलाई समातेर त्यसको खुट्टामा लागेको रस चुस्ने र त्यसपछि मात्र झिँगालाई छोडिदिने स्वभाव हुन्छ । मान्छे ठिकठिकै खालको कन्जुस त बनोस् तर मक्खीचुस चाहिँ नबनिहालोस् भन्ने पुकारा हो ।

फेरि हाँसो-मुस्कान र नमस्कार जस्ता चिज जति बाँड्यो, जति अरूलाई दान दियो, त्यति फैलिँदै फुक्दै जाने चिज हुन् । यसलाई वितरण गर्‍यो त्यति बढ्दै जान्छ । फेरि यी चिज विनापैसा, विनाआर्थिक लगानी विस्तार गर्न सकिने चिज हुन् । यसलाई आफैँभित्र सङ्कुचन गर्नुमा कुनै फाइदा छैन ।

मार्कण्डेय पुराणका रचयिता मार्कण्डेय ऋषिको विषयमा सुनेको छु । उनी सिर्फ सोह्र वर्षको अल्पायु लिएर जन्मेका थिए । उनी मृकण्डु नामका ऋषिका छोरा थिए । यिनी जन्मँदै बाआमालाई थाहा थियो; छोरो सोह्रवर्ष मात्र बाँच्छ भन्ने कुरो । शिवले उनलाई रोजाएकै थिए अरे; लामो आयुको मन्द बुद्धिवाला सन्तान चाहन्छौ कि तीक्ष्ण बुद्धिको छोटो आयुवाला सन्तान चाहन्छौ । मृकन्डुले बरु छोटो आयुकै होस् तर तीक्ष्ण प्रतिभाशाली छोरो होस् भन्ने चाहे ।

छोरो जन्म्यो । पन्ध्र वर्षसम्मको समय त शिक्षादीक्षामा बित्यो । सोह्र पुगेपछि छोराको मृत्यु हुनेवाला थियो । बाबुआमा घोर उदासीमा परे । चिन्ताले दिनदिनै गाल्दै लग्यो । बाबुआमालाई चिन्ता गर्नुको कारण सोधे, उनीहरूले बताइदिए तेरो मृत्यु नजिक आइरहेका छ, हामी कसरी आनन्दमा रहन सक्छौँ र ?

आफ्नो आयु सकिन लागेकामा पीर चिन्ता नगरी उनी घनाजङ्गलमा घोर तपस्या गर्न थाले । शिवलिङ्गको प्रतिमासामु ध्यानमा लीन रहे र उनलाई कालले लैजान सकेन । उल्टो शिवबाट चिरञ्जीवी रहने वरदान पाए ।

फेरि मिथकले अर्को कुरा पनि भन्छ; जन्मिँदै अल्पायु लिएर आएको छोरालाई  मृकन्डुले भने कि सबै-सबै अब नमस्कार गर्दै हिँड्नू, ढोग्दै हिँड्नू । त्यसपछि ढुङ्गोमाटो, जीवजन्तु, जनावर आदि सबैसबै चिजलाई ढोग्दै हिँडे । एकदिन बाटामा नारदलाई ढोगे, उनले चिरञ्जीवी भएस् भनी आशिष् दिए । त्यस समयमा ब्रह्मलाई पनि ढोगे । उनले पनि त्यही आशिष् दिए । उसको आयु त केही दिनका लागि मात्र थियो तर चिरञ्जीवी भएस् को आशिष् दिए । आखिरमा ऋषिगणको आप्तवचन झुटो हुन दिनुहुन्न भनेर आफ्नो आयु कटौती गरेर उसलाई आयु थपिदिए र चिरञ्जीवी बनाए ।

नमस्कार गर्दा सानो भइन्छ भन्नेहरूलाई मार्कण्डेय एक शिक्षा हुन् । हात जोड्न कन्जुस गर्नेहरूले मार्कण्डेयको कथा पढे जाती हुने थियो । जसरी उनले बाटो, घाटो, चौबाटो, घर, जङ्गल जहाँ जसलाई भेटे; तिनलाई हृदयबाट नमन टक्र्याउँदै हिँडे, त्यसरी नै हामीमा पनि सकल सजीव संसारलाई नमन गर्ने चेतना आएदेखि कति राम्रो हुन्थ्यो होला । त्यही नमस्कारको शक्तिले उनलाई चिरायु बनाएको कुरा उल्लेख छ । सबै जीवप्रतिको अपार श्रद्धा र भक्तिको कारण कालजयी बनेको कुरा कथाले बताउँछ र संस्कृत वाङ्मयमा मार्कण्डेय पुराण दुर्गासप्तशति लगायतका अनेक ग्रन्थहरू उनले रचना गरे ।

मृकण्डुपुत्र मार्कण्डेयको नमस्कार अहङ्कार विसर्जनको साष्टाङ्ग दण्डवत् थियो । सबै कीटपतङ्ग जन्तुजनावरको आत्माप्रतिको समादर भाव थियो ।

अहङ्कारको विसर्जनले दीर्घायु मिल्ने कुरा उनको जीवनले प्रमाणित गर्‍यो । अहङ्कारको विसजर्नबाट अमरत्व पाइने कुरा उनको जीवनले देखायो । भलै यो वास्तविक कुरा होस् या प्रतीकात्मक विषयमात्र किन नहोस्, हामीलाई अहिले पनि प्रेरित गर्ने शिक्षा दिइरहेको छ ।

तर यहाँ नमस्कार सित्तैमा खाइदिनेहरूले यसलाई आफ्नो अहम् विसर्जनको मौकाका रूपमा बुझ्दैनन् र त्यसलाई सदुपयोग गर्दैनन् । उसले त सोच्छ- नमस्कार पाउने म मालिक हुँ, नमस्कार गर्ने त्यो दास हो । दासको नमन लिनेमात्र हो, फिर्ता दिने होइन । आफूलाई नमस्कारको चाकरी बुझाइरहेको अर्थमा उसले विवेचना गर्छ । यो त समान दूरी र तहका दुई आत्माबीचको अभिवादन हो भन्ने ठान्दैन ।

एक व्यक्तिको आत्माले अर्को व्यक्तिको आत्मालाई गरेको अभिन्दनलाई सोही रूपमा ग्रहण गर्ने र आफूले पनि तत्काल अभिनन्दन टक्र्याउनुपर्ने हो तर त्यस ठाउँमा यसले मलाई मानिराखेको छ, मलाई ढोगी राखेको छ, मानौँ म देवता हुँ ऊ भक्त हो, यस्तो चिन्तन पालेपछि ऊ मनुष्यको श्रेणीबाट एक तह तल गिर्दछ । कृतज्ञता ज्ञापनको सनातनी सामाजिक कलालाई उसले भुल्दछ ।

नमस्कार पूर्वीय संस्कृतिको एक अनमोल वरदान हो । अहिले विज्ञान र योगशास्त्रले यसका उपादेयता र फाइदाहरूलाई खोज गरिराखेको छ । यो आफैँमा यस्तो यौगिक क्रिया रहेछ; यसले हृदयचक्र आज्ञाचक्र सक्रिय बन्ने मात्र होइनन् मनमा अखण्ड शान्ति र चित्तमा प्रसन्नता समेत अभिर्भाव गराउँदो रहेछ । अहिलेको मनोविज्ञानले पनि नमस्कार गर्ने संस्कार संस्कृतिबाट थुप्रै लाभका पक्षहरू देखाएको छ । मानिसभित्रको क्रोध र अहङ्कारलाई शिथिलीकरण गर्नमा नमस्कारको ठूलो हात रहन्छ अरे ।

मनोविज्ञानको यो तथ्य थाहा पाएपछि कतिपय क्षण, कतिपय अग्रजहरूलाई नमन टक्र्याउन निधारसम्म उठ्न गाह्रो मानिरहेका मेरा हातहरू नमस्कार गर्न सकसकिरहेका छन् । भेटेजति सबैलाई नमस्कार गर्न आतुर बनिरहेको छु । अब त दिएको नमस्कार फिर्ता गरोस् या नगरोस् यो उसको कुरा भो, आफ्नो तर्फबाट जति सकिन्छ, नमस्कार गर्न हरदम जोरी खोजिरहेछु ।

अतीतकालमा मैले पनि भूलवश कतिका नमस्कारहरू हात नउठाएर सित्तैमा खाएँ होला, पचाएँ होला, त्यसप्रति मलाई भारी खेद छ, मनमा खिन्नता भाव छ, पश्चात्ताप र क्षमायाचना छ । अबका दिनमा सचेत अवस्थामा रहुन्जेल कसैको एउटा पनि नमस्कार सित्तैमा खानु नपरोस् यही छ प्रार्थना ।

समाप्त ।।