
१. मुक्तकको परिचय
मुक्तक कविता विधाको लघुतम प्रकार हो । संस्कृत स्रोतबाट आएको ‘मुक्तक’ शब्दको निर्माण ‘मुक्त’ शब्दमा ‘कन्’ प्रत्यय लागेर भएको छ । ‘मुक्त’ अर्थात् स्वतन्त्र भन्ने अर्थ दिने यस शब्दमा लाग्न आउने ‘कन्’ प्रत्ययबाट बनेको ‘मुक्तक’ शब्दको अर्थ स्वयं आफैँमा पूर्ण एक पृथक्कृत श्लोक भन्ने बुझिन्छ ।
संस्कृत काव्यशास्त्रले कविताका आयामगत भेदको सुस्पष्ट वर्गीकरण गरिदिएको छ । समग्र कविता प्रबन्धकाव्य र मुक्तकाव्य गरी दुई भागमा विभाजित छन् । प्रबन्ध काव्य भन्नाले बन्धित अर्थात् बााधिएका अर्थात् स्वयंमा पुस्तकाकारका रूपमा बन्धित अर्थात् ग्रन्थित काव्य भन्ने बुझिन्छ । खण्डकाव्य र महाकाव्य पुस्तकाकारका रूपमा बन्ध काव्य हुन् । मुक्तकाव्य भन्नाले त्यस्ता काव्यलाई बुझिन्छ जो एउटै रचनामा पुस्तकाकारका रूपमा बन्धित हुन सक्दैनन् । मुक्तकाव्य (अप्रबन्धकाव्य) अन्तर्गत एक श्लोकको कवितालाई मुक्तक, दुई श्लोकलाई युग्मक, तिन श्लोकलाई विशेषक, चार श्लोकलाई कलापक, पाँच श्लोकलाई कुलक आदिका नामबाट वर्गीकृत गरिएको छ । यसरी मुक्तकाव्यमा पर्ने एक श्लोकी कविता मुक्तक हो भने यसबाहेक दुई वा दुईभन्दा बढी अन्य सबै कविता फुटकर कविताअन्तर्गत पर्दछन् ।

मोतीराम चौधरी ‘रत्न’
मुक्तक, चतुष्पदीय (चार हरफको), आफैँमा स्वतन्त्र र अर्थ दिने पद्यात्मक रचना हो । मुक्तकमा पहिलो, दोस्रो र चैाथो हरफ अनुप्रासयुक्त र तेस्रो हरफ स्वतन्त्र हुन्छ । हरफको पछिल्तिर हुने, उस्तै सुनिने शब्द/अंश लाई अनुप्रास भनिन्छ । मुक्तकका पहिलो हरफले विषयको उठान गर्छ । दोस्रो हरफले उठानलाई थप समर्थन गर्छ । समग्रमा, सुरुका दुई हरफले पृष्ठभूमि तयार पार्छ । तेस्रो हरफ स्वतन्त्र हुन्छ र यो हरफले चौथो हरफमा मार/झट्का हान्न उपयुक्त वातावरण तयार पार्छ । चौथो हरफ वजनदार र झट्का दिने खालको हुन्छ । मुक्तक पढ्दा सररर, बहाउसँगै पढ्न सकिने हुनुपर्छ ।
१.१ विद्वान्हरूका अनुसार मुक्तकको परिभाषा
मुक्तक शब्दले दिने अर्थका सन्दर्भमा विभिन्न नेपाली शब्दकोशहरूले आआफ्नै ढङ्गले परिभाषित गरेका छन् । संस्कृतबाट आएको मुक्तक परम्परालाई संस्कृत काव्यशास्त्रबाट नै परिभाषित गर्ने काम भएको छ ।
नेपाली बृहत् शब्दकोशका अनुसार कथासूत्रमा आबद्ध नभएको, हृदयको भावलाई प्रतिबिम्बित गर्ने प्रभावकारी निरपेक्ष स्वतन्त्र कविता मुक्तक हो भनेर बताइएको छ ।
नेपाली सङ्क्षिप्त शब्दकोशमा कथा सूत्रमा नउनिएको परस्पर क्रमिक सम्बन्ध नभएको, कुनै एउटा भावलाई पूर्ण रूपले बुझाउने पद्य वा कविता भनेर मुक्तकको परिभाषा दिइएको छ भने भावना प्रधान कविताहरूको सागालो भनेर मुक्तक काव्यलाई परिभाषित गरिएको छ ।
नेपाली शब्दसागरले पूर्वीय काव्यशास्त्रअनुसार समास नरहेको गद्य, कथा सूत्रमा आबद्ध नभईकन हृदयगत भावलाई स्वतन्त्र रूपले अभिव्यक्त गर्ने गद्य कविता भनेर मुक्तकको परिभाषा दिएको छ ।
संस्कृत–नेपाली बृहत् शब्दकोश अनुसार एकै पद्यमा पूरा हुने काव्यलाई मुक्तक भनेर अर्थ्याइएको छ ।
प्रयोगात्मक नेपाली शब्दकोशमा पूर्वीय काव्यशास्त्रअनुसार एक श्लोकमा लेखिएको स्वयंमा पूर्ण कविता, पद्य वा गद्यमा लेखिएको छोटो र मार्मिक कविता भनेर मुक्तकलाई परिभाषित गरिएको छ ।
राष्ट्रिय नेपाली शब्दकोशमा प्रायः चारै चरणको कुनै विषयमा लेखिएको स्वतः सम्पूर्ण रचना वा चारै चरणमा पूरा हुने विषयलाई मुक्तक भनेर अर्थ्याइएको छ ।
मुक्तक कविताका बारेमा पहिलो चर्चा गर्ने ग्रन्थ अग्निपुराण (ई. नवौँ शताब्दी) हो । यस ग्रन्थअनुसार सहृदयलाई चमत्कृत गर्ने आफैँमा पूर्ण एक श्लोकी कवितालाई मुक्तक भनेर भनिएको छ ।
दण्डीले मुक्तक, कुलक, कोश र सङ्घातलाई सर्गबन्ध (महाकाव्य) कै अंशका रूपमा लिएका छन् ।
वामनले मुक्तककाव्यमा चारूताको अभाव हुने बताएका छन् । यसैले प्रबन्धकाव्यका तुलनामा उनले यसलाई हीनकोटीको रचना बताएका छन् ।
वासुदेव त्रिपाठीले नेपाली मुक्तक लोक–पद्य, स्तुति, सूक्ति, गीत, सायरी र मुक्तक कविताका दुई वा चार हरफे (सायद जापानी हाइकु शैलीमा तीन हरफे पनि) स्वरूपमा झल्कने गरेको बताएका छन् ।
मोहनराज शर्माका अनुसार मुक्तक नेपाली भाषाको लघुतम काव्यात्मक संरचना हो । लघुतम भए पनि यो स्वयंमा पूर्णकृति र स्वायत्त एकाइका रूपमा सिद्ध सिर्जना हुन्छ ।
यस प्रकार नेपाली शब्दकोश, संस्कृत साहित्यशास्त्र तथा नेपाली विद्वान्हरूले मुक्तक कविताका बारेमा दिएका सम्पूर्ण मतहरूको विश्लेषणबाट मुक्तक भन्नाले निम्न प्रवृत्ति भएको कवितालाई बुझिन्छ :
क) मुक्तककविता एक श्लोकी हुन्छ ।
ख) यो पूर्वापरप्रसङ्गरहित हुन्छ ।
ग) यो आफैँमा पूर्ण हुन्छ ।
घ) यसमा हृदयलाई चमत्कृत गर्ने क्षमता हुन्छ ।
ङ) यो अनिबद्ध काव्य हो ।
च) यसमा रसउद्बोधको क्षमता हुन्छ ।
१.२ थारू मुक्तकका प्रकार
कविता विधाअन्तर्गत मुक्तक कवितालाई अन्य कविताबाट खुट्याउने वा छुट्याउने प्रमुख आधार पङ्क्तिगत योजना नै हो । पङ्क्तिगत सिमानामा मुक्तक कवितालाई बाँध्न सकिएन भने अन्य आकारका कविताबाट यसलाई भिन्न तुल्याउन सकिन्न । मुक्तक कविताका पङ्क्तिले निश्चित चरण पार गरिसकेपछि तिनले फुटकर कविताको स्वरूप प्राप्त गर्दछन् । मुक्तकको न्यूनतम चरण दुई पङ्क्ति हो भने अधिकतम चरण सात पङ्क्तिसम्म हो ।
मुक्तक कविताका सन्दर्भमा सात पङ्क्तिको सिमाना पार भयो भने यसले युग्मकको आकार लिन सुरु गर्छ । संस्कृतमा एक श्लोकी कवितालाई मुक्तक र दुई श्लोकीलाई युग्मक भनेर तोकेको अवस्थामा नेपाली मुक्तकलाई पनि सात पङ्क्तिभन्दा माथि लैजान मिल्दैन । पङ्क्तिगत आधारमा थारू मुक्तकलाई यस प्रकार वर्गीकरण गर्न सकिन्छ :
१. दुई पङ्क्तिका उखान, लोकगीतका स्थायी, चड्का, सायरी मुक्तक
स्रोतगत आधारमा पनि थारू मुक्तक परम्परामा देखा परेका मुक्तकको वर्गीकरण गर्न सकिन्छ । थारू मुक्तकको भण्डारमा आफ्नै मौलिक स्रोत अन्तर्गतका लोकपरम्परा र संस्कृतबाट तथा आगन्तुक स्रोतअन्तर्गत विभिन्न विदेशी भाषाबाट विविध शैलीका मुक्तक भित्रिएका छन् । थारू मुक्तक कविताका रूपमा विकसित नेपाली मुक्तकहरू निम्न स्रोतबाट आएका हुन् :
(क) मौलिक स्रोत
१. लोकधाराको स्रोत— उखान, झ्याउरे, सेलो,
२. संस्कृत स्रोत— द्विपदी, चतुष्पदी
(ख) आगन्तुक स्रोत
१. हिन्दी स्रोत— दोहा, चौपई, चौपाई, छप्पय, कुण्डली
२. फारसी उर्दू स्रोत— रुबाई, सायरी
३. अङ्ग्रेजी स्रोत— गद्य मुक्तकहरू
४. जापानी स्रोत — हाइकु, ताङ्का, सदोका
१.३ मुक्तकको संरचना
मुक्तक कविता एक भाषिक संरचना हो जो लघुतम आकारमा रचिन्छ । मुक्तकमा दुईदेखि बढीमा सात पाउ वा चरणका सम अथवा विषम आवृत्तिको बद्ध वा मुक्त लय ढाँचाका संरचनामा कुनै खास कथ्यको कथन गरिन्छ । दुई–चार वा पाँच–सात चरण वा हरफद्वारा निर्मित अत्यन्त छोटो भाषिक रूप संरचना नै मुक्तकको संरचनागत परिचय हो ।
मुक्तकको संरचना भन्नाले उक्ति–संरचना, पङ्क्ति/चरण वितरणगत संरचना, स्रोतगत संरचना तथा प्रस्तुतिगत उठान, विस्तार र बैठानको सङ्गठनसँग सम्बन्धित संरचना भन्ने बुझिन्छ ।
कविनिबद्ध उक्ति वा प्रथमपुरुषीय उक्ति र कविनिबद्ध पात्रोक्ति (कविनिबद्धवक्तृ प्रौढोक्ति) का दुई पद्धतिमध्ये कुनै एक पद्धतिको उपयोग गरेर वा यी दुवै थरी उक्ति पद्धतिको मिश्रणद्वारा मुक्तक रचिएको हुन्छ । लघुतम आकारमा रचिने मुक्तकमा भने कविउक्ति वा प्रगीतात्मक उक्तिकै पद्धतिको प्रधानता रहन्छ ।
चरणगत संरचनाका दृष्टिले नेपाली मुक्तकहरू दुईदेखि सात चरण/पङ्क्तिसम्मका विस्तारमा फैलिएका छन् ।
स्रोत संरचनाका दृष्टिले संस्कृतबाट आएका द्विपदी, त्रिपदी र चतुष्पदी शैलीका मुक्तकहरू नेपालीमा पाइन्छन् ।
उर्दू र फारसी स्रोतबाट आएका चार चरणका रुबाई तथा दुई चरणका सायरी मुक्तकहरू पनि पाइन्छन् ।
जापानीका तीन चरणयुक्त हाइकु, पाँच चरणयुक्त ताङ्का र सेदोकाका संरचनामा नेपाली मुक्तकहरू लेखिएका छन् ।
हिन्दीमा प्रचलित दोहा, कुण्डलिनीजस्ता संरचनामा पनि नेपाली मुक्तक रहेका छन् ।
अङ्ग्रेजीमा पाइने मुक्त गद्य लयका कविताहरूको प्रभाव फुटकर कवितामा परेझैँ मुक्तक कविताहरूमा पनि परेको छ । मुक्त गद्य लयका दुईदेखि सात चरणसम्मको विस्तारमा रहेका कवितालाई पनि मुक्तक कविताका रूपमा स्वीकार गर्न सकिन्छ ।
नेपाली लोकधाराका उखान, झ्याँगा, लोकगीतका स्वतन्त्र स्थायी र अन्तरा, रोइला आदि पनि नेपाली मुक्तकका संरचनागत प्रकार हुन् । वेधक, सघन र सूत्रात्मक कथनका रूपमा रहनु नै मुक्तकको संरचनागत पहिचान हो ।
मुक्तक लेख्दा सकेसम्म कम भन्दा कम शब्द प्रयोग हुनु राम्रो मानिन्छ । कुनै हरफ लामो, कुनै छोटो पनि त्यति राम्रो मानिँदैन । सकेसम्म सबै हरफहरू एकै लम्बाइका होऊन्, सिङ्गो मुक्तकलाई झट्ट हेर्दा चिटिक्क मिलेको आयतकार देखियोस् । चार हरफको र अनुप्रास मिल्दैमा उक्त रचना मुक्तक हुन सक्दैन । मुक्तकले भाव र गहिराइको माग राख्दछ । एउटा मुक्तकले कुनै एक विषयमा बोलेको हुन्छ ।
नियम र मुक्तक राम्रो बनाउने तत्वहरूलाई उदाहारणमा हेरौँ :-
मुक्तक- १ ( लेखक: भूपि शेरचन )
प्रत्येक पहेँलो धातुलाई सुनको गजुर भन्न मन लाग्छ ( उठान)
प्रत्येक रङ्गीन चरालाई बनको मजुर भन्न मन लाग्छ ( समर्थन, पृष्ठभूमि तयार भयो अब )
चाकडी गर्दा गर्दा यस्तो बानी परिसक्यो अब त (स्वतन्त्र हरफ , मार हान्न ठिक्क)
बाटामा कुनै गधा देखे पनि हजुर भन्न मन लाग्छ । ( मार हान्ने हरफ )
माथिको मुक्तकमा हरफ १, २ र ४ का पछिल्ला तीन शब्दहरू ‘अनुप्रास’ हुन् । यो मुक्तकले “चाकडी प्रवृत्ति” का बारेमा बोलेको छ, व्यङ्ग्यात्मक भाषामा ।
मुक्तक-२ (लेखक: डा. कृष्णराज सर्वहरी, थारू मुक्तकसङ्ग्रह, ‘मनके बह’ बाट)
किटाब उह खालि गाटा फेरजिठा ।(पृष्ठभूमि वा उठान)
मनै उह खालि नाटा फेरजिठा (पृष्ठभूमिको लागि थप समर्थन)
महँगीके जवानम कसिक जिना हो? (स्वतन्त्र हरफ जसले लक्ष्यभेदन गर्छ)
बैङ्क उह ख़ालि खाटा फेरजिठा (लक्ष्यभेदनको परिणाम, प्रभाव दिन्छ)।
मुक्तकः३ (लेखक: छविलाल कोपिला, फेसबुकबाट)
हेरेर चिन्नै गाह्रो यो हो कि त्यो हो, कुन हो सुकुम्बासी (पृष्ठभूमि वा उठान)
दिनहुँ निस्किने जुलुस हेर्दा, लाग्छ सुन हो सुकुम्बासी (पृष्ठभूमिको लागि थप समर्थन)
गरिबको पिठ्युँ टेकेर शासकहरूले सधैँ भ्रम बाँड्छन्? (स्वतन्त्र हरफ जसले लक्ष्यभेदन गर्छ)
यता सडकमा खुन पोखिन्छ लाग्छ खुन हो सुकुम्बासी (लक्ष्यभेदनको परिणाम, प्रभाव दिन्छ)
मुक्तकः ४ (लेखक: मोती रत्न, थारू मुक्तकसङ्ग्रह, ‘डूटिया’ बाट)
खाली हाट आइल रही, खाली हाट जैबी ।(पृष्ठभूमि वा उठान)
आङ्ग ढक्ना लुग्रा पुगी, ढेर रही माट जैबी ।(पृष्ठभूमिको लागि थप समर्थन)
काम करे कालु कठाँ, मकै खाने भालु कटी, (स्वतन्त्र हरफ जसले लक्ष्यभेदन गर्छ)
मेहनटके कमारी मिठ रहठ,कु-के लाट पैबी । (लक्ष्यभेदनको परिणाम, प्रभाव दिन्छ)
मुक्तकः५ (लेखक: सागर कुश्मी, ‘मनके बह’ बाट)
यि जिन्गी कलमके आरमे बा (पृष्ठभूमि वा उठान)
अभावै अभावके ढारमे बा (पृष्ठभूमिको लागि थप समर्थन)
कैसिक पार लगाऊ जिन्गीहे (स्वतन्त्र हरफ जसले लक्ष्यभेदन गर्छ)
फुटके आज पूरा’ डरारमे बा (लक्ष्यभेदनको परिणाम, प्रभाव दिन्छ)
मुक्तकः६ (लेखक: पुनाराम कार्याबरिक्का, “मनके बह”बाट)
पस्ना बेच्नु पानी बेच्नु (पृष्ठभूमि वा उठान)
कठा ओ कहानी बेच्नु (पृष्ठभूमिको लागि थप समर्थन)
अनपढ गवार मनै मै ट (स्वतन्त्र हरफ जसले लक्ष्यभेदन गर्छ)
बाध्यताले जवानी बेच्नु (लक्ष्यभेदनको परिणाम, प्रभाव दिन्छ)
मुक्तकः७ (लेखक: सत्यनारायण दहित, “झिर्खी”बाट)
जोन माटीमे मोर झोप्री टोहान मकान बा (पृष्ठभूमि वा उठान)
ओम्ने टोहार नाही मोर पुर्खनके बलिडान बा (पृष्ठभूमिको लागि थप समर्थन)
नै पत्यैबो टे जाँचके हेरो प्रयोगसालामे, (स्वतन्त्र हरफ जसले लक्ष्यभेदन गर्छ)
मोर नस-नसमे औंलोसे लरल प्रमाण बा (लक्ष्य भेदनको परिणाम, प्रभाव दिन्छ)
मुक्तकः८ (लेखक: अङ्कर अन्जान यात्री, “फेसबुक”बाट)
बिहानबेलुका भट्टीभित्र, पिउनेहरूलाई (पृष्ठभूमि वा उठान)
टालटुल गर्दै यो मन फेरि, सिउनेहरूलाई (पृष्ठभूमिको लागि थप समर्थन)
थाहा हुन्छ ऊबाट, छुट्टिनुको हरेक पीडा (स्वतन्त्र हरफ जसले लक्ष्यभेदन गर्छ)
उसकै यादमा यो जिन्दगी, जिउनेहरूलाई (लक्ष्यभेदनको परिणाम, प्रभाव दिन्छ)
२. थारू मुक्तकको इतिहास
मानबहादुर पन्ना, बालगोबिन्द/ सुमन चौधरी लगायत केहीले कवितासङ्ग्रहभित्र मुक्तक पनि समावेश गरेका छन् तर छुट्टै मुक्तकसङ्ग्रह निकाल्ने पहिलो थारू मुक्तककार डा. कृष्णराज सर्वहारी हुन् । उहाँको मुक्तकसङ्ग्रह “दोसर घर जाईबेर” (२०५६) जुनुवुनु प्रकाशन, चैलाही-६, दाङ्गदेउखुरी प्रकाशित छ । यो सङ्ग्रहमा प्राय: मायाँप्रीतिको वर्णन बढी पाइन्छ । कैलालीका स्रष्टा टीकाराम चौधरीको “आग्रह” २०६३ र सागर कुश्मी “सङ्गत” को “आशके सागर” २०६९ प्रकाशित छ । २०७० सालमा सुन्दर चौधरीको “प्रकृतिके अनुराग”, २०७१ सालमा थारू भाषा तथा साहित्य संरक्षण मञ्चद्वारा प्रकाशित “समयका डोबहरू” थारू/नेपाली संयुक्त मुक्तकसङ्ग्रह छविलाल कोपिला, गुरुप्रसाद बुलबुल र रामप्रसाद अन्धकारको लेखनमा प्रकाशित भयो । २०७१ मा हिरालाल सत्गौवाको “पैँनस्टोपी” र २०७३ मा अङ्कर अन्जान सहयात्री लगायतको “हल्कोरा” संयुक्त मुक्तकसङ्ग्रह, २०७४ सालमा सत्यनारायण दहितको “झिर्खी” प्रकाशित भयो। २०७५ असारमा ४६ जना स्रष्टाहरूको मुक्तकसङ्ग्रह “मनके बहर” पुनाराम करियाबरीर्काको सम्पादनमा र २०७५ चैत्रमा १० जना स्रष्टाहरूको सङ्ग्रह “डुटिया” मोती रत्नको संयोजनमा प्रकाशित भयो । २०७७ मा मोती रत्नको “छत्री” प्रकाशित भयो ।
समीक्षा- थारू मुक्तकमा नेपाली भाषाको प्रभाव
थारू भाषामा आधा दशक यता युवा साहित्यकारहरूले मुक्तक विधा भित्र्याएका छन् तर मुक्तक लेख्ने आधार नेपाली भएकोले रदिफ, काफिया मिलाउन जबरजस्ती नेपाली शब्द अप्ठ्यारो ढङ्गले पस्किदै छन् ।
डा.कृष्णराज सर्वहरी, थारू मुक्तकसङ्ग्रह, ‘मनके बह’को पङ्क्ति हेरौँ-
किटाब उह खालि गाटा फेरजिठा ।
मनै उह खालि नाटा फेरजिठा
महँगीके जवानम कसिक जिना हो?
बैङ्क उह ख़ालि खाटा फेरजिठा
“गाटा, नाटा” शब्द प्रयोग भएको छ जब कि थारू भाषामा “खोल, नाट” भनिन्छ, जसलाई “खोल, बोल, मोल” गरी अनुप्रास मिलाउन सकिन्थ्यो ।
अर्का मुक्तककार सागर कुश्मीको “मनके बह” संयुक्त मुक्तक सङ्ग्रहमा सङ्ग्रहित मुक्तक हेरौँ –
जिन्गिक डगर बडलके नेगटुँ
नेंगना सफर बडलके नेगटुँ
सफलटाके शिखर चुमम जरुर
टब टे रहर बडलके नेगटुँ
यहाँ नेपाली शब्द “शिखर चुमम” प्रयोग भएको देखिन्छ जसलाई थारू भाषामा “पर्बटुवा पुगम” प्रयोग गर्न सकिन्थ्यो ।
त्यस्तै अर्का मुक्तककार गुरु प्रसाद बुलबुलको “मनके बह” संयुक्त मुक्तक सङ्ग्रहमा सङ्ग्रहित मुक्तक हेरौँ-
हसाइ मुहार जहानके किसानके संघरियो
बनाइ बखारी ढानके किसानके संघरियो
उन्नत बिउ बिजन लगाइ, आयस्टर बर्हाई
चौंर्ही खोड्ढु सोपानके किसानके संघरियो
प्रस्तुत मुक्तकमा “उन्नट बिउ बिजन” नेपाली शब्द जसको थारू अर्थ “बिकासी बिया” र “आयस्तर” जसलाई “आयस्टर” र “सोपान” प्रयोग गरी थारूकरण गर्न खोजिएको छ ।
त्यस्तै अर्का मुक्तककार लाहुराम “जहर”को “मनके बह” संयुक्त मुक्तक सङ्ग्रहमा सङ्ग्रहित मुक्तक हेरौँ-
हसाइ मुहार जहानके किसानके संघरियो
बनाइ बखारी ढानके किसानके संघरियो
यसरी अनुप्रास मिलाउने निहुँमा थारू मुक्तककारहरू थारू भाषालाई कृत्रिम बनाइरहेको देखिन्छ । थारू भाषाको उखान-टुक्का, लोकगीतको सामान्य अंश मात्र अध्धयन गरियो भने गजबको थारू भाषामा मुक्तक लेख्न सकिन्छ तर त्यस तर्फ मुक्तककारहरूको ध्यान जानु जरुरी छ ।
३. थारू मुक्तकका प्रवृत्ति
थारू मुक्तकलाई विश्लेषण गर्दा थारू मुक्तक भन्नाले निम्न लिखित प्रवृत्तिका छन् :
(१) यो सङ्क्षिप्त आकारको हुन्छ ।
(२) यो एक अनुच्छेद (कवितामा एक श्लोक) मा रहने काव्यात्मक अभिव्यक्ति हो ।
(३) यो पूर्वापर प्रसङ्ग निरपेक्ष हुन्छ ।
(४) यो एक आवृत्तिको हुन्छ ।
(५) यो आफैँमा पूर्ण हुन्छ ।
(६) यो खिरिलो, चोटिलो र सहजबोध्य हुन्छ ।
(७) यसमा भाव र विचारलाई विस्तार गरिरहने अवसर हुन्न ।
(८) यो प्रभावकारी, मितव्ययी र सारगर्भित हुन्छ ।
(९) यो वस्तुस्थितिलाई टपक्क टिपेर व्यक्त गर्न समर्थ छ ।
(१०) यो कम समयमा पढिभ्याइन्छ ।
(११) यो भावप्रधान हुन्छ ।
(१२) यसमा पुनरावृत्तिको अवसर कम हुन्छ ।
(१३) यसमा मनका कुरा भनिसक्नाको हतारो हुन्छ ।
(१४) यसमा कथनगत सूत्रात्मकता पाइन्छ ।
(१५) यसमा अभिव्यक्तिगत मार्मिकता पाइन्छ ।
(१६) यसको भाषा सुगठित हुन्छ ।
(१७) विषयगत दृष्टिले यो असीमित हुन्छ ।
(१८) यसमा शैलीगत विशिष्टता पाइन्छ ।
(१९) अनुप्रास योजनाले यो चित्ताकर्षक हुन पुगेको हुन्छ ।
(२०) यो लयात्मक हुन्छ ।
(२१) यसमा भाव वा विचारको खण्डचित्र हुन्छ ।
(२२) थारू मुक्तकहरू नेपाली लोकपद्य, संस्कृतका द्विपदी–चतुष्पदी तथा विदेशी छन्दगत शैलीबाट प्रभावित छन् ।
यस प्रकार विभिन्न मतहरूको अध्ययनबाट पूर्वापर सन्दर्भ निरपेक्ष एक काव्यात्मक अनुच्छेदमा रहने एकल आवृत्तिमय कलात्मक बान्कीको पूर्ण तथा हृदयस्पर्शी लघुतम कवितालाई मुक्तक भनिन्छ ।
४. निष्कर्ष
यसरी मुक्तक भनेको कविता विधाको सबैभन्दा सानो आयामको पूर्ण कविता हो । यो पूर्वापर प्रसङ्ग निरपेक्ष हुन्छ । मुक्तकमा हृदयलाई चमत्कृत बनाउने क्षमता हुन्छ । मुक्तक कविता एकल आवृत्तिमा वर्तुल भएको ढाँचाबाट अभिव्यक्त भएको हुन्छ भने सङ्क्षिप्त आयामका कारण यसमा एकभन्दा बढी विचार वा भावले विस्तार हुने अवसर पाउँदैन । आठ पङ्क्ति अर्थात् दुई श्लोकी कवितालाई संस्कृत काव्यशास्त्रीय परम्परामा युग्मक भनेर परिभाषित गरिएका सन्दर्भमा दुईदेखि सात पङ्क्तिसम्मको आयामका कवितालाई मात्र मुक्तक भन्नुपर्ने देखिन्छ । थारू साहित्यमा अझैसम्म दुई पङ्क्तिसम्मको मात्र मुक्तक लेखिएको पाइन्छ तर पूर्वापर सन्दर्भनिरपेक्ष एक काव्यात्मक अनुच्छेदमा रहने दुईदेखि सात पङ्क्तिसम्मको एकल आवृत्तिमय कलात्मक बान्कीको कुनै एक सानो कथ्य अर्थ, विचार वा भावको पूर्ण तथा हृदयस्पर्शी अभिव्यक्ति दिई रचिएको लघुतम कविता नै मुक्तक कविता हो । कविताका अन्य स्वरूपगत भेदहरूमा जस्तै यसमा पनि निश्चित संरचक घटकहरू हुने गर्दछन् । ती हुन्— विषय, संरचना, लय, भाषाशैली, बिम्बालङ्कार र प्रतीकप्रयोग ।
विभिन्न साहित्यिक कार्यक्रमहरूमा चटनीजस्तै मुक्तकको प्रयोग गर्ने र त्यसबाट प्रभावकारिता उत्पन्न गर्ने चलन नै अचेलका साहित्यिक जमघटहरूको आकर्षण हुने गरेको देखिन्छ । जनचेतना उठाउने र विरोध–विद्रोहका निम्ति आयोजना गरिने कार्यक्रमहरूमा समेत छोटोछरितो हुनाका कारण मुक्तकको प्रयोग गर्ने आम प्रचलन पनि देखा परेको छ । मुक्तकको लोकप्रियताकै कारण टिकट काटेर सशुल्क मुक्तक सुनाउने कार्यक्रमहरू देशका ठाउँ–ठाउँमा बेलाबखत आयोजना हुनुले पनि यसको प्रभावकारिता बढी टड्कारिएको छ तर थारू साहित्यको विकास यसरी हुन नसक्नु सबै थारू साहित्यकार र समुदायको कमीकमजोरी देखिन्छ । असङ्ख्य पत्रपत्रिकाहरूको प्रकाशन र विद्युतीय सञ्चार माध्यमहरूको विकास हुनुले पनि थारू मुक्तकको विकासमा ठूलो टेवा पुगेको देखिन्छ । यसै कालमा हवाइपत्रमा मुक्तकहरू प्रकाशन गरेर पनि मुक्तकको विकास र संवर्द्धनका लागि अभियानहरू सञ्चालन गरेको देखिन्छ । पछिल्लो दशकमा थारू मुक्तकमै केन्द्रित जनस्तरका संस्थाहरूको स्थापना गर्नु मुक्तकको ढुकुटी समृद्ध गर्नुपर्ने आवश्यक देखिन्छ ।
सन्दर्भ सामग्री
अधिकारी, हेमाङ्गराज, प्र.सम्पा., प्रयोगात्मक नेपाली शब्दकोश, काठमाडौँ : विद्यार्थी प्रकाशन प्रा.लि., २०६१ ।
आनन्दवर्द्धन, ध्वन्यालोक, दोस्रो संस्क., व्याख्या. विश्वेश्वर, सम्पा. नगेन्द्र, वाराणसी : ज्ञानमण्डल लिमिटेड, २०२८ ।
आप्टे, वामन शिवराम, हिन्दी संस्कृत कोश, दोस्रो संस्क., दिल्ली : मोतीलाल बनारसी दास, सन्. १९६९ ।
ज्ञवाली, सूर्यविक्रम, नेपाली सङ्क्षिप्त शब्दकोश, काठमाडौँ : नेराप्रप्र, २०४० ।
ढुङ्गाना, रामचन्द्र, सङ्क्षिप्त नेपाली कोश, चौथो संस्क., ललितपुर : साझा प्रकाशन, २०५२ ।
त्रिपाठी, वासुदेव, महाकवि देवकोटा र उनका महाकाव्यका सम्बन्धमा, महाकवि देवकोटा र उनका महाकाव्य, कुमार बहादुर जोशी, संशो., दोस्रो संस्क., ललितपुर : साझा प्रकाशन, २०४५ ।
दण्डी, काव्यादर्श, व्याख्या., रामचन्द्र मिश्र, वाराणसी : चौखम्बा विद्याभवन, २०१५ ।
पराजुली, कृष्णप्रसाद, नेपाली साहित्यकोश, ईश्वर बराल र अन्य (सम्पा.), काठमाडौँ : नेराप्रप्र, २०५५ ।
पाण्डेय, फणीन्द्रप्रसाद, संस्कृत–नेपाली बृहत् शब्दकोश, काठमाडौँ : महेन्द्र संस्कृत विश्वविद्यालय, २०५७ ।
पोखरेल बालकृष्ण, नेपाली बृहत् शब्दकोश, काठमाडौँ : नेराप्रप्र, २०४० ।
भट्टराई, हर्षनाथ, प्र.सम्पा., राष्ट्रिय नेपाली शब्दकोश, काठमाडौँ : एडुकेसनल पब्लिसिङ हाउस, २०६३ ।
वामन, काव्यालङ्कारसूत्रवृत्ति, व्याख्या. विश्वेश्वर, सम्पा. नगेन्द्र, दिल्ली : आत्माराम एन्ड सन्स, २०११ ।
वेदव्यास, अग्निपुराण, मुम्बई : खेमराज श्रीकृष्णदास, १९५८ ।
शर्मा, मोहनराज, समसामयिक नेपाली मुक्तक : पहिचानका केही बुँदाहरू, मधुपर्क (वर्ष १, अङ्क ६–७, २०३८) ।
शर्मा, वसन्तप्रकाश ‘नेपाल’, नेपाली शब्दसागर, काठमाडौँ : भाभा पुस्तक भण्डार, २०५७ ।
कृष्णराज सर्वहारी थारू साहित्यको इतिहास, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौँ २०७३।
मोती रत्न डूतीय मुक्तकसङ्ग्रह, कैलाली २०७५।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ फाल्गुन २०८२, शनिबार 








