बिहेपश्चात् निकै लामो समय जन्मथलो पुग्न सकिनँ । कारण कार्यव्यस्तता एवम् जन्मदिने आमाबुबा तराई झरिसक्नुभएको हुनाले या  समय व्यवस्थापन गर्न नजानेर पनि हुन सक्छ यतै सहरको भिडमा अलमलिरहेकी थिएँ अथवा भनौँ जन्मघर पुग्न सकेकी थिइनँ । कौतुहल अनेकौँ सलबलाइरहन्थे ; कस्तो भयो होला म जन्मेको गाउँ? कस्ता भए होलान् साथीसँगी ? कसरी बग्दै होला हुँगा नदि? कसरी झर्दै होलान् मानेखोला र लिखखोलाका झरनाहरू? कस्तो भाका हाल्दै होला रोगखोला वारिपारि न्याउलीचरी? मावदीको खस्रुको बोट बूढो भयो कि उस्तै छ? गुदरदाना र काफल फल्छन् कि फल्दैनन् अचेल? बतपुरको डाँडो उजाडियो कि रसिलै छ अझै? ओथेप्लाको ओखर, बानेको बरको रुख ढल्यो कि ठाडै छ खै? खिरौँलेको खोल्मे लिन जान्छन् कि जाँदैनन् कोही? तल्लाघरे कान्छादाजुले साँझ परेपछि दलानको खाटमा बसेर बजाउनुहुने मुरली बज्छ कि बज्दैन आजभोलि ? अर्मपर्म कसरी चल्दै छ होला……….? यस्तै यस्तै यादहरू उर्लिएर आउँदा छाती भारी भइबस्थ्यो ।

डा. रेणुका सोलु

अचेल शिवटार बजार कसरी भरिँदो हो? मिठाइका दाना साटासाट गरेर खान्छन् कि खाँदैनन् होला अहिले? साँच्चै कति मीठो त्यो मिठाई ? मिठाई  हो कि प्रेम हो त्यति गुलियो ? सबै गुलियो त्यस्तै मीठो हुन्छ र? कि खास मान्छेले दिएको खास  मिठाई मात्र मीठो हुन्छ हँ?  सम्झँदा अझै गुलियो रसाउँथ्यो  त्यो बजार । यस्तै-यस्तै हजारौँ यादहरूले सताइरहेकै बेला प्रिय भदै तुलसाले दसैँमा जसरी नि घर आउन आग्रह गरिन् । उनी मेरी साइनोले भदै भए नि कारोबारले कहिले नजिकको साथी लाग्ने कहिले अभिभावकझैँ लाग्ने, समग्रमा सबैभन्दा विश्वासिलो अनि भरपर्दो आफन्त हुन् लागिरहने हृदयकी मान्छे हुन् । विचारको तह, भावनाको गहिराइ उस्तै दुरुस्तै भएर पनि होला मेरा लागि उनी एक्ली बृहस्पति लाग्छिन् । आजीवन यस्तै लागिरहन पाओस् भनेर कामना पनि गरिरहन्छु ।

तुलसा भदैको आग्रह र मेरो रहरका कारण जब म जन्मगाउँ पुगेँ, त्यहाँ धेरै कुरा बिराना लाग्न थाले । के-के अनौठो जस्तो खै कस्तो कस्तो …! आफन्तको प्रेम, सद्भाव, शुभेच्छा चाहिँ ओइरो लाग्ने अझै पुरानै चलन मायाँको, सद्भावको, सत्कारको । प्रेमको परिभाषा, अर्थ अनि मूल्यबोध गर्न अनि प्रेम सिकाउन एकचोटि यो सहर जुरुक्कै उठाएर गाउँमा पुर्‍याउन मन लाग्यो । यो आत्मीयता देखेर सहरका कङ्क्रिटभित्रका मनहरू पग्लिन्थे कि त कतै भनेर सोचिरहेँ ।

त्यति वेला यातायातको सुविधा सदरमुकामसम्म मात्र थियो । त्यो पनि कच्ची बाटो भिरैभिरको यात्रा अत्यन्तै जोखिम भन्ने सुनेको हुनाले हवाइजहाजकै यात्राबाट फाप्लु झरेँ । घर पुग्दा निक्कै रात ढल्किसकेको थियो । उज्यालो हुनासाथै भाउजुले प्रेमले दिनुभएको तातो दूध पिएर बखपलम स्कुल गएँ, जहाँ मैले कखरा सिकेकी थिएँ । स्कुलको प्राङ्गणमा बरपीपलको रुख अनि हामीले गट्टा खेलेको चौतारो सुमसुम्याउन कम्ता आतुर थिएन मन । बखपलम प्रा.वि. अब मा.वि. भएर अलि पर भवन बनाएर सरिसकेछ । त्यो पुरानो भवनमा पूरै लेउ लागेको, झार उम्रिएको, कक्षाकोठाको भित्तो भत्किएलाझैँ भएको , बरपीपलको रुख पनि यसै वृद्धजस्ता देखिएका, स्याहार नपाएर होला कि उमेर पुगेर होला भन्दै नियालिरहेँ ।  यो चौतारो, यी बरपीपल अनि यो स्कुलको भवनसँग मेरो बाल्यकाल मात्र जोडिएको थिएन, मेरा हजुरबुबा कर्णबहादुर बस्नेत र बुबा उजिरबहदुर बस्नेतको योगदान समेत जोडिएको थियो । हजुरबुबाले शिक्षाको ज्योति बाल्न सुरुवात गर्नुपर्छ भनेर आफ्नै जग्गा र काठ निःशुल्क दिएर स्थापना भएको स्कुल अनि निकै लामो समय बुबा अध्यक्ष भएर सेवा गर्नुभएको स्कुल साथै उहाँहरूले नै बनाउनुभएको चौतारो र रोप्नुभएको बरपीपल …..यस्तै प्रसङ्गले तानिरह्यो मलाई धेरै बेरसम्म ।

उठ्नै मन लागेन र चौतारीमा बसिरहेँ । तलतिरको बाटोबाट बिमाने दमाई काका आउनुभयो । मलाई देखेर निकै बेर भक्कानिनुभयो । “अध्यक्ष बा कस्ता हुनुभयो होला नि ठूल्नानी, अब कहिल्यै भेट हुँदैन होला, अन्याय परेकालाई नडराई बोलिदिने हामी गरिबका लागि भगवान् नै हुनुहुन्थ्यो, सिङ्गै गाउँ शून्य बनाएर लानुभो बुबाआमालाई, हामी त टुहुराजस्ता भयौँ, हाम्रो त अब बोलिदिने मान्छे कोही छैन ….” यस्तै केके बिलौना गर्दै निकै बेर रुनुभयो । टोपीले एकसरो आँसु लतारेर काका मास्तिर लाग्नुभयो । म निःशब्द टोलाइरहेँ । आँसु मात्र बगाउनुभएन काकाले, कर्म कस्तो गर्छन् मान्छेले त्यसैगरी सम्झन्छन् सम्झनेले भन्ने गहिरो पाठ समेत सिकाउनुभयो । हामी सानो छँदा कट्टु सिलाइदिनू न काका भनेर कपडा दिएको, “छोरीमान्छेले नि कट्टु लाउँछन् त ए लोदर के सुन्नुपरेको” भनेर गाउँभरि हल्ला गर्दै हिँड्ने बिमाने काका आज बुबाको मायाँले कति नमिठो रुनुभयो । यो प्रेम भन्ने चिज पनि कस्तो अजिबको ! कतै रुवाउँछ, कतै हँसाउँछ अचम्मको जिनिस यो भनेर निकैबेर काकालाई हेरिरहेँ ।

प्रेमको लीला नबुझेर म अन्योलमा बसिरहेकी थिएँ । वरपर घरका भाउजूबुहारीहरू आउनुभयो । “नानी कति वर्षमा पो आउनुभयो नि माइतीगाउँ ? आमाबाबा नभए नि माइतीगाउँ सम्झेर आउनुभयो कति खुसी भयौँ हामी । बसाइ कति छ नानी? कहिले फर्किने? यसैगरी प्रश्नहरू ओइरो लागिरहँदा एक जना भाउजूले छेवैमा आएर भन्नुभयो, “बल्लबल्ल माइतीगाउँ आउनुभएको नानी किन यहाँ चिसोमा बस्नुभएको, हिँड्नू न हाम्रो घरमा जाऊँ, भर्खर दूध दुहेर आएकी अलिकति चामल हालेर पकाउँछु, एकगाँस खानुपर्छ, फेरि कुन दिन हिनिहाल्नुहुन्छ अनि हाम्रो पालै आउँदैन….।”

म झसङ्ग भएँ । म जन्मिँदा सँगै जन्मिएको साल यतै कतै गाडिएको छ । मैले ढाड पिल्सिउन्जेल, थाप्लो पोलुन्जेल ढुङ्गाको भारी  बोकेर बनाएको घर मतान भत्किएको छैन तर मेरो भन्ने भावना  नै सबै भत्किएछ । मैले रोपेका सुन्तलाका बोटमा थेगी नसक्नु फलेका छन् सुन्तला तर मेरा भन्ने साइनो सबै झरिसकेछन् टिप्नै नमिल्ने गरी । मैले रोपेका सल्लाका बोट बडेमानका भएछन् बढेर तर तीसँगको मेरो सामीप्य घटेर नाम निसानै हराएछ । अरूको त के कुरा गर्नु मेरो सिङ्गो यौवन यतै नाचिरहेको छ कतै, त्यो उमेर यतै छोडेर हिँडेकी हुँ म, मेरा रहरका पैतालाका डोब अझै यतै छन् ।  दुई दशक यो माटामा बगाएको पसिना उम्रेर, फुलेर यो चौतारो, ती भिरपाखा र यी गल्लीहरूमा मगमगाउनुपर्थ्यो ! कसरी सड्यो, गल्यो र अस्तित्वविहीन भयो? म सोचिरहेँ; मेरा सबै आफन्त यतै छन् । यो म जन्मेको मेरो पनि गाउँ हो । कसरी आज सबै जना एकै स्वरमा भन्दै छन् यो तेरो गाउँ होइन तेरो माइती गाउँ हो “मात्र माइतीगाउँ” । के छोरीको जन्मनाता यति सजिलै  निमिट्यान्न्नै हुन्छ? कति कमजोर रहेछ यो नातासम्बन्ध? म झनै धरमरिएँ ।

बालखैमा मुग्लान पसेको छोरो जो जन्मदाताका लागि कर्तव्यका नाममा सिन्को भाँच्दैन अनि संसार डुलेर कपाल तिलचामल भएपछि, दाँत झरेपछि फर्किन्छ र पनि उसको आफ्नै गाउँ, आफ्नै घर, आफ्नै थर हकवाला सबै ऊ नै हुने, छोरीले सन्तान हुनुको कर्तव्य निर्वाह गर्दागर्दै पनि किन पराईमात्र हुने ? म को हुँ? के हो मेरो पहिचान? प्रश्नमाथि प्रश्न थुपारिन थाले । मन अमिलो भैरह्यो ।

अलि तल दुवै हातमा बेसी डोहोऱ्याउँदै हुँगा खोला एकतमासले बगिरहेको थियो । पहिलेकै जस्तो आफ्नै गति, आफ्नै लयमा स्वतन्त्र बगिरहेको हुँगालाई नियालिरहेँ । यो हुँगा कहाँ जन्मिएर, कर्म गर्दै कहाँ कहाँ पुग्छ फेरि पनि उही नाम, उही पहिचान अनि उही अस्तित्व छ । यसलाई आजसम्म प्यास मेटाउन कति यात्रीले पिए होलान् तर पनि कहिल्यै जुठो नकहलिएको, सधैँ चोखो अनि पवित्र छ हुँगा । मैले छोरी भएर कर्म गर्दै जाँदा मेरा पदचाप मेरा रहेनन् । मेरो आँगन मेरो रहेन । मेरो पहिचान मेरो रहेन । म यो माटाकै रहिनँ । मेरो अस्तित्व नै बदलियो । सबै मेरा लागि पराई भए । म सबैका लागि सधैँका लागि पाहुना भएँ । पाहुना त एकदिन र एकछिन पो चिज हुन्छ, धेरै दिन बस्यो भने विष मानिन्छ; सकस हुन्छ सबैलाई । म अब छिट्टै फर्किनुपर्छ किनकि सबैले मलाई माइतीगाउँ आएकी पाहुना भन्दै छन्, कोही भन्दै छैनन् कि नानी जन्मघर आयौ नि भनेर । खिर्रोको चोपजस्तै लाग्ने पाहुना शब्दको वाणी, कति टर्रो, कति विरक्त लाग्यो लाग्यो । एकचोटि त हामफाल्दै हुँगाछेउ गएर चिच्याएर सोध्न मन लाग्यो, “ए हुँगा! मलाई चिनिस्? म राधा! हुँगापारि घाँसदाउरा गर्दा तँलाई पिएर प्यास मेटाउने अनि सुन्दर जीवनको गीत गाएर बनपाखा घन्काउने म उही राधा” हुँगा कञ्चन बगिरहेको थियो । सायद आफ्नै भाकामा भन्दै थियो “मैले मात्र चिनेर के गर्नु ! तेरा रगतका भनिएका नाताले नै पाहुना भनिसके, कहिले फर्किने भनेर सोधिसके,  हिम्मत गर् अनि आइज राधा, सँगै बगौँ, संसार पुगौँ तर कहिल्यै नतुऱ्याऔँ आफू हुनुको पहिचान ।” सोच्दासोच्दै  कता-कता हुँगामै समाहित हुन मन लाग्यो । फेरि हुँगामाथिका हरिया डाँडैडाँडा आँखा डुलाउँदै लामो सास फेरेँ, मनलाई सम्हालेँ र गजलको एउटा शेर कोरेँ-

हुँगा तिमी यहीँ रह्यौ हराइरहेँ म त

एकै धर्को सिन्दूरले पराई भएँ म त ।