साहित्यमा लेख्ने धेरै छन् कविता । निस्कन्छन् पुस्तक पनि धेरै कविताकै । कविता नै बनेको छ सिर्जनाको प्रारम्भबिन्दु । चिनिन्छन् पनि कविताबाटै धेरै । भए पनि धेरै जना कवि । कविताको उन्नयन गर्ने भने छन् धेरै कम । धेरै नै कम । नाम छन् थोरै जसले उचालेको छ कवितालाई । उठाएको छ माथि । जुरुक्कै उचाल्ने भने हुनुहुन्छ सिद्धिचरण श्रेष्ठ । देखिने गरी सबैलाई । थोरैमध्ये पनि पर्नुहुन्छ थोरैमा सिद्धिचरण ।

कोरेर कविता बनाउनुभो उज्यालो क्षेत्रलाई नै । बनेको होइन त्यत्तिकै युगकवि उहाँ । होइन कुनै पद पहिले तयार पारेको । होइन दिएको राजा र सरकारले पनि । दिएका हुन् जनताले उपाधि स्वस्फूर्त । भएन पढाइ पनि खासै प्रमाणपत्रको कविजीको । देख्नु भएन एसएलसी पनि । दिलाउनुभो प्रमाणपत्र भने सानादेखि विश्वविद्यालयसम्मलाई । छन् विद्यावारिधि गर्नेहरू पनि धेरै कवितामा । बन्नुभएको छ विम्बजस्तै कवितामा । बन्नुभएको छ खम्बा नै नेपाली कविताको । कविता हुनु नेपालीमा र सिद्धिचरण नहुनु हुन्छ असम्भव । सिद्धिचरण हुनु र कविता नहुनु कुरै भएन सम्भव ।

श्रीओम श्रेष्ठ ‘रोदन’

गर्नुभाथ्यो साधना साठी वर्षभन्दा बढी । हुनुहुन्न मात्र कवि । सर्वोच्चता भने छ कवितामा नै । भए पनि मिल्दैन भन्न कवि मात्र । हुँदैन न्याय अरू विधालाई । बन्दैन पूर्ण सिद्धिचरण आफैँ पनि । छन् लेखिएका धेरै विधामा । छन् हैसियतमा नै सबै । मिल्दैन पन्छाउन कुनै पनि । मूल्य छन् सबैमा त्यत्तिकै । दर्शन छन् गहिरा-गहिरा जीवनका । भएरै पनि परेका छन् ओझेलमा अरू । छेउ लगाएको छ उज्यालो कविताले नै ।

लेख्नुभएको छ निबन्ध । छापिएका छन् एकाङ्की र कथाहरू पनि । जीवन्त छन् यात्रासंस्मरण । भेटिएको छ लघुकथा पनि । प्रिय छन् बालकविता । कुरै भएन खण्डकाव्यको ।

होइन सिर्जनामा मात्र सिद्धिचरण । व्यक्तित्व छ त्यस्तै पत्रकारितामा पनि । प्रधानसम्पादक पहिलो हो नेपालको इतिहासमा । पहिलो नै हो अखवार पनि नेपालको । निकाल्नुभएको थियो ‘आवाज’ दैनिक पत्रिका । नम्बर पनि एक नै हो दर्ता । दुई नम्बरको भएको गोरखापत्र त्यही भएर । निस्कियो तीन वर्षसम्म । बनायो इतिहास पहिलो नै नेपालको । काम त गर्नुभो सम्पादकीय गोरखापत्रमा नै । प्रमुख सल्लाहकार बन्नुभो ‘नेपाली आवाज’को । अध्यक्ष हुनुहुन्थ्यो सम्पादक मण्डल ‘रत्नश्री’ पत्रिकाको पनि ।

स्वच्छन्दवादी भावधारा जन्माउने पनि सिद्धिचरण नै । क्रान्तिको विगुल फुक्ने पनि सिद्धिचरण नै । चेतनाको भावना जागृत गराउने कवि पनि उहाँ । शान्तिको सन्देश फैलाउने कवि पनि उहाँ नै । गर्नुभो जेजे सबै कविता नै भएर ।

सिद्ध हुनुभो राष्ट्रवादी । क्रान्तिकारी पनि त्यति नै । पचेन कविता शासकलाई । लेखेरै एउटा कविता पर्नुभो जेल अठार वर्ष । गरियो सर्वस्वहरण पनि । प्रमाणित गरिदयो शासकले कविताको शक्ति र सामर्थ्यलाई । लामो पनि होइन धेरै ‘वर्षा’ कविता । अपराध गरेछ कत्रो ‘वर्षा’ले । सर्वस्व पनि जाने, जेल पनि अठार वर्षको ।

भने कसैले वर्डसवर्थ । कसैले नेपाली सेली पनि । दिए अरू पनि विशेषण । उपयोग हो प्रजातन्त्रको । पाइन्छ दिन र भन्न जे पनि । दिएका छन् अनेकले अनेक । होइनन् सिद्धिचरण कोही पनि  । सिद्धिचरण, हुन् सिद्धिचरण मात्रै । भनून् अरूले बरु विदेशीले आफ्ना कविलाई सिद्धिचरणजस्तो नेपालको ।

पर्नुभाथ्यो सन्तान्नब्बे सालको काण्डमा जेल । परे पनि बन्धनमा । बस्नुभएन चुप लागेर । रोक्नु भएन गति सिर्जनामा । लेख्नुभो आफैँ । सिकाउनुभो अरूलाई पनि । भए केही प्रेरणा पाउने जेलभित्रै । बने कवि पनि केही । भन्छन् केही चेतना जागृत भएकै सिद्धिचरणको कविताबाट । विद्रोह गरेकै काजीदाइको कविताबाट ।

मात्र बीस हरफको छ कविता ‘वर्षा’ । हरफ एक बराबर झन्डै जेल एक वर्षको । अपमान हो यो कविको हुनसम्मको । सम्मान पनि हो हुनसम्मकै कविताको । लेखिएको थियो नेपाल भाषामा । अनुवाद गरियो पछि नेपालीमा । थियो कविता ‘नेपाली बिहार’ सङ्ग्रहमा । निकालेका थिए फत्तेबहादुर सिंहले पन्चान्नब्बे सालमा ।

नेता नेपालका गणेशमान सर्वमान्य । भन्छन् गणेशमान नै- गणेशमानलाई गणेशमान बनाउने सिद्धिचरण दाइ नै हो । कविता कोर्ने प्रेरणा कविजीबाट पाएँ भन्छन् व्यथित केदारमान । पथप्रदर्शक भन्छन् कविजीलाई जनकवि केशरी धर्मराज थापा । हुर्केँ काखमै भन्छन् विजय मल्ल । पढेर कविता -सङ्कट पर्दछ मान्छेलाई, ढुङ्गालाई के पर्दछ ? आत्महत्या गर्नबाट जोगिएका थिए रे कवि वासुशशी । लेखेपछि कविता सुनाएर सच्याउँथे कविजीबाटै राष्ट्रकवि माधव घिमिरे । छन् अरू पनि कति-कति ? प्रतिष्ठित छन् नाम धेरै-धेरै । बनेको छ बलियो इतिहास । कखरा नै नबुझ्ने कविताका धर्मरत्न यमि, हरिकृष्ण श्रेष्ठहरू रमाएका थिए काव्यस्वादमा र सिर्जनामा पनि ।

हुनुभएको त्यत्तिकै होइन युगकवि । उठाएर परम्पराबाट पुर्‍याउनुभएको थियो नयाँ युगमा कवितालाई । गर्नुहुन्थ्यो प्रतिनिधित्व र नेतृत्व पनि युगकै । आवाज थियो बुलन्द कविता नै युगको । थियो विश्वास पनि युगकै । पुकारिइएको थियो युगकवि त्यसैले । पाउनुभाथ्यो ‘कविरत्न’ उपाधि नेपाल भाषामा पनि ।

थियो एकाग्रता र प्रतिबद्धता पनि कविजीमा । स्वरूपले हुनुहुन्थ्यो दुब्लोपातलो । शक्ति थियो हल्लाउने मै हुँ भन्नेलाई पनि । हुन्थ्यो टोपी भादगाउँले शिरमा । दौरासुरुवाल शरीरमा । पावरको चस्मा आँखामा । फरफर चलिरहने ओठहरू । चलिरहन्थे त्यस्तै हातका औँलाहरू । समाउने लठ्ठी हातमा । बोल्नुहुन्थ्यो लयमा बिस्तारै ।

छैन बिर्सेको अहिले पनि । भूत नै चढ्यो कवितामा त्यस बेला मलाई । जम्मा गरेँ कविता सात-सातवटा सात जनाबाटै । खोजेँ भूमिका लेखाउन पनि सातै जनाबाट । ‘सरगम’ थियो सङ्ग्रहको नाम । कुरा हो पैँतालीस सालको । चिनजान थिएन कसैसँग । थिएन केही पनि न सम्पर्कले न सिर्जनाले । खोज्दै सोध्दै पुगेँ घर-घर । मोहन कोइराला, रमेश विकल, मञ्जुल, चेतन कार्की, किशोर पहाडी, …….. । पुगेको थिएँ ओमबहाल पनि । पत्ता लगाएर घर सिद्धिचरणको । भएपछि भेट, गरेपछि कुरा । कविघर ओमबहाल पुग्दा लाग्याथ्यो मन्दिर पुगेजस्तो । श्रद्धा गरेँ हुनसम्मको मनले । गर्न थालेपछि कुराकानी गर्न थाल्नुभो मायाँ पनि । गरिदिनुभो प्रोत्साहन लेखेर शुभकामना ।

लिएँ अन्तर्वार्ता पनि कविजीको । पृष्ठ भरिने गरी ‘नयाँमार्ग’ साप्ताहिकमा । शीर्षक थियो ‘आत्मनिर्णय गर्ने रहर लागिरहेछ ।’ कल्पना, धन र प्रेममा भन्दा बढी सुख आत्मनिर्णय र आत्मसन्तुष्टिमा हुने भन्नुभाथ्यो कविजीले । वर्ष थियो छयालीसको वैशाखमा । भन्नुभाथ्यो बिस्तारै सानो स्वरमा देवकोटाको ‘मुनामदन’ जस्तै ‘मेरो प्रतिविम्ब’ हो मेरो ।

उद्देश्य थियो भूमिका लेखाउने । थालेँ जान दैनिकजस्तै कविघर । गर्थेँ काम त्यस बेला नेपाल बैङ्कको धर्मपथमा । पुग्थेँ अफिस नबज्दै दश । गरेपछि हाजिर जान्थेँ कविजीकहाँ ।

उक्लेर काठका भर्‍याङ पस्दथेँ कविकोठामा । झ्याल थियो उज्यालो आउने दक्षिणपट्टि । बसिरहनुहुन्थ्यो कविजी एक्लै । सुत्ने खाटका माथि हुन्थे केही पुस्तक । फैलिएका हुन्थे धेरै किताब । कापीका पानामा हुन्थे केही लेखिएका पनि । पढिरहनुहुन्थ्यो कहिले पत्रिका । कहिले किताब पनि । लेखिरहनुहुन्थ्यो कहिले । तानिरहनुहुन्थ्यो तमाखु ट्वारट्वार पारेर कहिले ।

कुरा गर्थेँ सुरुमा अलिअलि । फर्कन्थे अफिसमा भेटघाटपछि । भन्नुभो एक दिन पढेर सुनाउन हातमा लिइरहेको किताब । सुनाएँ मन लगाएर । गर्थेँ त्यस बेला अलिअलि नाटक रङ्गमञ्चमा । सुनाएको थिएँ मिलाएर नै सकेसम्म । पल्किनुभो त्यसपछि पढाउन मलाई कविजी । बन्यो काम नै गएपछि कविघर सुनाउने पढेर किताब । राख्नुहुन्थ्यो चिनो लगाएर किताब । बिर्सनु भएन पढाउन कुनै दिन । हुन्थ्यो कहिले कविता । कथा कहिले, नाटक र निबन्ध पनि । पढ्थेँ जे दिनुभए पनि कविजीले ।

निदाउनुहुन्थ्यो सुन्दासुन्दै कति बेला । हुन्थेन थाहा मलाई । पढिरहन्थेँ एक्लै आफैँ । थाहा पाएपछि रोक्थेँ पढ्न र निस्कन्थेँ कोठाबाट । बिरामी पर्नुभो एकपटक कविजी । पर्नुभो अस्पतालमा नै केही दिन । जानुभो त्यसपछि आराम गर्न सानेपा । छोरीको जस्तो लाग्छ घर । बोलाउन लगाउनुभो त्यहीँ पनि । गएँ केहीपटक त्यहाँ पनि । दिनुभो शुभकामना ‘सरगम’लाई । चैत बाह्र गते थियो छयालीसको । लेखेर ठेगाना सानेपाकै ।

‘सत्यको साक्षात्कार गर्नु भनेको स्वर अथवा सुर मिल्नु हो । जब हामी कुनै विचारलाई सत्य र सुर मिलाई व्यक्त गर्छौँ तब सत्यको साक्षात्कार हुन्छ, पानी सृष्टिको गुप्त खजाना खुल्छ । जीवनको हरेक क्षेत्रमा ‘सरगम’ बनी हिँड्नसक्नुमा नै सफलता मिल्छ । यी नवोदित कविहरूले निकालेको ‘सरगम’ले पनि सत्यको उद्घाटन गर्दै जान सकोस्, यही मेरो शुभकामना छ ।’

जन्मनुभो कविजी ओखलढुङ्गामा । जेठ नौ गतेको साइत थियो उन्नाइस सय उनन्सत्तरी सालको । त्याग्नुभो देह पनि जेठमै बाइस गते साल उनन्पचास । बिताउनुभो सहरमा नै जीवन धेरै । सक्नु भएन जन्मेको ठाउँलाई बिर्सन । लेख्नुभो कविता ‘मेरो प्यारो ओखलढुङ्गा’ । चर्चित भयो हुनसम्मको गीत बनेर । पुगेँ संयोगले ओखलढुङ्गा । काम थियो बनाउने वृत्तचित्र । चल्यो जाँगर म्युजिक भिडियो बनाउने । जुटाउन थालेँ दृश्य गीतअनुसारको । थियो त्यति बेला आफ्नै कम्पनी अडियो र भिडियोको । राख्यौँ सकेजतिको दृश्य मेरो प्यारो ओखलढुङ्गा गीतमा । साल उनन्साठीजस्तो लाग्छ । प्रसारण भएथ्यो नसिद्धिँदै माओवादी द्वन्द्व । बनेको म्युजिक भिडियो र प्रसारण भएको पनि पहिलो नै हो त्यो गीतको ।

देखाउनुभाथ्यो प्रतिभा कविजीले बालकैमा । सुन्नुहुन्थ्यो कविजीले, पढेको आमाले भानुभक्तको रामायण । जगाएको थियो रुचि साहित्यमा ऋद्धिबहादुर मल्लको सङ्गतले । मान्नुहुन्छ कविजी साहित्यिक गुरु ‘शारदा’का ऋद्धिबहादुरलाई नै ।

गएपछि भुईँचालो नब्बे सालको । बनाएको थियो कवि भुईँचालोले उहाँलाई । भन्नुहुन्थ्यो त्यस्तै,  ‘नब्बे सालको बीभत्सरूप देखेर कवि भएँ ।’ लेख्नुभो कविता ‘भुईँचालो’ नै पहिलोपटक । छापियो तुरुन्तै गोरखापत्रमा । हुनुहुन्थ्यो पिताजी नै साहित्यकार विष्णुचरण श्रेष्ठ । मौलिक उपन्यास लेख्ने ‘सुमति’ पहिलो नेपालकै । थामेको हो बिँडो बाउकै । थामिरहेको छ छोरा रविचरणले पनि अहिले ।

कविता महोत्सव गर्न प्रज्ञामा उत्प्रेरित गर्ने कविजी नै । ‘कविता’ पत्रिका प्रज्ञाको सम्पादक पनि कविजी नै पहिलो । सम्पादक ‘ऋतु’ नेपाल भाषाको पत्रिकामा पनि । अध्यक्ष नेपाली शिक्षा परिषद्को । संस्थापक अध्यक्ष त्रिभुवन स्मारक समितिको । छन् यस्तै अरू दुई दर्जनजति नै ।

सत्य रहेछ कविजीले लेख्नुभाको । हुँदैन रहेछ शान्ति क्रान्तिविना कहिल्यै । उदाहरण बनेको छ पटक-पटक । बनिरहेको छ अहिले पनि । शाश्वत रहेछ कविता कविजीको । भयो हिजो पनि त्यस्तै । भइरहेको छ आज पनि यस्तै । हुनेछ भोलि पनि त्यस्तै । मूल्य यसरी नै बढ्ने रहेछ कविताको । भएको त्यत्रो सजाय त्यसैले रहेछ । सबैका लागि बनेको छ कविता कालजयी । सधैँका लागि त्यही कविता । सूत्रजस्तै बनेको छ कविजीको कविता ।

जोडिनुभो सत्र सालपछि राजासँग । बन्नुभो सम्माननीय दुईपटक । सदस्य राजसभा स्थायी समितिको । माध्यम हो कविताकै । शक्ति हो कविताको नै । राख्नुभो कविजीकै दुई कविता राजा त्रिभुवनले निजी शुभकामना कार्डमा । देखाउँछ यसले शक्ति नै कविताको । सम्मान हो कविताको र कविको पनि ।

सक्नुहुन्थ्यो जीवन्त बनाउन प्रेमलाई कविताले । उतार्न सक्ने प्रकृतिलाई सजिलै कवितामा । भर्न सक्ने बारुद शब्द-शब्दमा । विद्रोहका संवाहक पनि कविता नै । शान्तिका सेता परेवा उडाउने पनि कवितामै । धैर्य, सान्त्वना, प्रेरणा, प्रेम, जागरण जे भने पनि कविता नै हो कविजीको । हतियार भने पनि । शक्ति भने पनि । माध्यम भने पनि ।

परिकल्पना गर्नुभाथ्यो राष्ट्रियगानको । मानिएको थियो रे गान कविजीकै । वर्ष थियो पाँच सालको ।

हिमगिरिमण्डित

सुगन्धशोभित

जयजय आमा नेपाल

भएको त्यत्तिकै होइन कविजीको सुनाम । बनेको होइन त्यत्तिकै व्यापक । सम्झँदैनन् त्यसै त्यसै आजका मान्छे । सम्झन्छन् बिर्सनै नमिल्ने भएपछि । बनेका होइनन् त्यत्तिकै कविजीका शालिक ठाउँठाउँमा । प्रकाशन भएको छ हुलाकटिकट । नामकरण भएको छ सिद्धिचरण राजमार्ग । विद्यालयहरू छन् त्यत्तिकै युगकवि सिद्धिचरणको नाममा । सङ्ग्रहालय बनेको छ । पुस्तकालय पनि कविनाममै । पुरस्कार छ, प्रतिष्ठान छ युगकविकै नाममा ।

लेख्नुभाथ्यो अन्तिम लेख ‘नमस्कार’ । माग्नुभाथ्यो बिदा लेखबाटै । रहन्न केही दिन केही महिनापछि यो संसारमा भनेर । लेख्नुभा छ ‘मैले जन्म लिएको अठहत्तर वर्ष आठ महिना भइसक्यो । यो जन्ममा जे असल र भूल गरेँ ती सबलाई यहीँ छाडेर अब चाँडै यस धरतीबाट बिदा लिन लागिरहेको छु ।’

ज्ञान भएछ मृत्युदिनको कविजीलाई । लेखेरै कविता गर्नुभो काम अथाह । भएन सन्तोष त्यही पनि । गुनासो छ आफैँसँग गर्न सकिनँ गर्नुपर्ने जति भनेर । आइसक्दा पनि मृत्युचेत । मानिरहनुभो बाँकी नै भएको जिम्मेवारी अझै । महत्ता हो कविजीको यही । भन्नु भएन गरेँ यति-यति भनेर । पाठ हो अरूका लागि । उदाहरण बन्नुभो आफैँ । बन्नुभो त्यसैले युगकै कवि । भए पनि थर श्रेष्ठ कविजीको । बन्नुभो श्रेष्ठ नै कवितामा । आदर्शमा र योगदानमा पनि ।

रहेसम्म अक्षर नेपाल र नेपालीमा । पढिरहनेछन् कविता अनवरत । पुस्तान्तर भए पनि जति नै । घुमिरहुन्जेल पृथ्वीमा गुन्जिरहने छ कविता कविकै । बजिरहनेछ गीत सिद्धिचरणकै ।

खोजिन्छ जब शान्ति, सम्झिने छ कविता क्रान्तिको । पुगे पनि जुनै देश नेपाली गाइरहन्छन् कविजीकै कविता । हुन्छन् जहाँ नेपाली सम्झिरहनेछन् सिद्धिचरण त्यहीँ ।