आज यो महाभारत पहाड मलिनो छ ! हल्का कालो बादलको मजेत्रो ओडेको यो पर्वत मजस्तै थकित, उदास र हतास देखिन्छ ! म सोच्छु त्यति फरक छैनन् हाम्रा कथाहरूमा – विक्षिप्त सपनाहरूका, घात र प्रतिघातका अनि धोका र तिरस्कारका ! अचेल मैजस्तो लाग्छ मलाई यो महाभारत पनि !

हरेक वर्ष आज हामी लिभिङ टुगेदरमा बस्न थालेको यो दिनले मेरो जिन्दगीमा नमिठो विरक्ति लिएर आउने गर्दछ । आज पनि यो त्यसरी नै आएको छ र खाटा बस्न खोजेका धेरै घाउहरू कोट्याइदिएको छ ! यति बेला म तिनै घाउको असह्य पीडाले विक्षिप्त छु र सधैँ यस्तै हुने गरेकी छु । कहिलेकाहीँ आफ्नै जीवन देखेर अत्यास लाग्छ र सोच्छु कि यो असीम वेदनाको अन्त्य कहाँ छ ! यो जिन्दगीभित्रै छ कि यसभन्दा पर कतै छ !

कोठामा एक्लै बसिरहेकी छु । भावनाहरू बेलगाम भइरहेछन् । भित्र निसास्सिएजस्तो महसुस हुन्छ र बाहिर बरन्डामा निस्किन्छु । केही बेर गमलाका फूलहरू र बोटबिरुवालाई सुमसुम्याउछु । प्रचण्ड घामले फूलहरू सबै ओइलिएका छन्, ढकमक्क फुलेको रातो गुलाबका पातहरू पनि झरेर भेट्नो मात्रै बाँकी छ । निकै बेरसम्म त्यो निष्प्राण र सौन्दर्यविहीन गुलाफको अवशेष हेरेर टोलाउँछु ।

पछाडिबाट छोरी अकस्मात् आएर कम्मर समाउँछे । म मेरो व्यथित मनबाट एउटा कृत्रिम हाँसो फिँजाएर उसलाई अँगाल्छु । ऊ मेरो हातको मोबाइल लिन्छे । एकछिन चलाउँछे र फन्किँदै भन्छे, “ममी मोबाइलको गेम त छैन नि ! किन डिलिट गर्नुभएको ?”

म बर्सौँदेखि मनमा गाँठो परेका कुण्ठाहरू उसमाथि थोपरिदिन्छु र भन्छु, “समयले धेरै कुरा डिलिट गर्दो रहेछ छोरी !”

अनि मनमनै सोच्छु जिन्दगीका पीडाहरू पनि यसरी नै डिलिट भइदिए पनि हुन्थ्यो नि ! निकै बेर अघिदेखि रुझेका आँखाहरू ओसिलै थिए र पनि म छोरीलाई केही खेल्ने दिन्छु र फेरि आफ्नै भावुकतामा हराउँछु ।

यति बेला सुदूर अतीतदेखिका यादहरू असरल्ल भएका छन् र म तिनमै छताछुल्ल पोखिन्छु ।

सानैमा आमाबाबु गुमाउनुपरेको पीडाले अक्सर खिन्न हुन्छु तर पनि दाजुभाउजूको मायाँमा बितेका सुखसयलपूर्ण बाल्यकाल सम्झेर दङ्ग पर्छु । जीवनयात्राका यिनै सुखद पदचापहरू, घातैघातले भरिएको प्रेम जीवन र लोग्नेविहीन आमा भएर कठोर सङ्घर्षमा बिताएका दिनहरू, यी फरक-फरक रङका अनुभूतिहरू बेहिसाब उर्लिएर आउँछन् र यिनै बिस्मित भावहरूमा निकै बेर हराउँछु । जिन्दगी मध्यरातको शून्यता मुटु चिर्ने गरी बजेको बाँसुरीको विरही धुनजस्तो लाग्छ । अचानक बाहिर गाडीको हर्न बज्छ र झसङ्ग हुन्छु । त्यसपछि हतार-हतार छोरीलाई घरभेटी आमाको जिम्मा लगाएर नाइट डिउटी जान्छु ।

अस्पताल पुगेर डिउटी बुझ्छु र डिउटी बुझाउने बहिनीले भन्छिन्, अरू सबै नर्मल नै छन् तर एउटा रेफर भएर आएको बिरामी छ अलि सिरियस छ । फाइल पल्टाएँ, फोक्सोको क्यान्सर, नाम-ठेगाना कुमारविक्रम महत, नवलपरासी !

पढेर झसङ्ग भएँ, मनमा चिसो पस्यो । दौडिएर बेडमा हेर्न पुगेँ । त्यो बिरामी हाम्रै साथी कुमार नै थियो । अत्यन्त सहृदयी साथी । हाम्रा अनिगिन्ती मिलनहरूको संयोग जुटाइदिने, आत्मीय कुमार !

धेरै लामो अन्तरालपछिको भेट, त्यो पनि मृत्युशय्यामा ! अचानक मेरो मुख सुकेर आयो । तैपनि बडो कष्टले उसलाई बोलाएँ, “कुमार ? कस्तो छ तिमीलाई ?”

उसले मलाई निर्मिमेष हेऱ्यो मात्र । अस्थिपन्जर बनिसकेको उसको मुहार त भावहीन थियो तर उसका आँखाबाट आँसु बग्न थाल्यो । म मर्माहत हुँदै उसलाई सान्त्वना दिएँ, “कुमार तिमीलाई ठिक हुन्छ । चिन्ता नगर ।” सायद उसले हार मानिसकेको थियो, जीवनसँग ! त्यसैले मेरो भनाइले उसको अनुहारमा कुनै परिवर्तन आएन ।

ऊ बिस्तारै बोल्न थाल्यो, “माफ गर मालती ! म पनि तिमीमाथिको यो घोर अत्याचारको दोषी हुँ…,” ऊ अझै बोल्दै गयो, “कति काँतर र स्वार्थी रहेछ माधव ! तिम्रो जिन्दगीमा आगो लगाइदियो र आफू सुटुक्क भाग्यो ।”

म विक्षिप्त हुँदै सुन्दै गएँ र एउटा लामो सुस्केरा लिएर भनेँ, “दोष कसैको होइन कुमार । लेख्नेले त्यस्तै भाग्य लेखिदियो । पारिजात भएर फुलेपछि आधारातमा त झर्नैपर्छ नि ! के भएको छ र एउटा मिठो सपना टुटेको न .. हो ।”

ऊ अझै सकसले बोल्दै गयो, “सुख त कहाँ पायो र उसले पनि ! बाल बच्चा भएनन् । श्रीमतीले छोडेर हिँडी । एउटा गुमनाम जिन्दगी बाँचेको छ ऊ अमेरिकामा !”… बोल्दाबोल्दै उसको सास बढ्न थाल्यो । उसको अवस्था नाजुक हुँदै गयो र मैले नै उसलाई सम्झाउँदै बेडमा सुताएँ । त्यसपछि म असीम वेदनाले आक्रान्त हुँदै घर फर्केँ !

घरमा आइपुगेपछि कुमारसँग जोडिएका मेरा मिठा सम्झनाहरूमा डुबेँ र फेरि उसको यो दयनीय हालत सम्झेर धेरै दुःखी पनि भएँ । कपडा फेरिसकेपछि पुनः आफ्नै जिन्दगीलाई फर्केर हेरेँ । म दलित भएर जन्मिनुमा मेरो कसुर केलाएँ । माधवसँगको लिभिङ्ग टुगेदर, गर्भवती हुँदाको दयनीय अवस्था र छोरी जन्मेपछि एक्लै कठोर सङ्घर्षमा बिताएका दिनहरू सम्झे, मलाई चरित्रहीन देख्ने समाज, मेरा लागि सबै ढोका बन्द गर्ने आफन्तहरू र नदीको बीच भुमरीमा अलपत्र पारेर भाग्ने प्रेमीलाई सम्झे । जिन्दगी न्याउलीको एकोहोरो रोदनजस्तो लाग्यो । भिजेका आँखा पुछ्दै बाहिर हेरेँ । ठाउँठाउँमा पहिरोले कुरूप बनाएको महाभारत देखेँ ।

केही छिनपछि छोरी उठेर आई र मेरो तन्द्रा भङ्ग गरी, “ममी ममी आज मैले बाबालाई देखेँ नि !”

म झसङ्ग भएँ । ऊ भन्दै गई, “सपनामा हामी तीन जना घुम्न गएको, कत्ति रमाइलो भयो ! बाबा कहिले आउनुहुन्छ ?”

म उसको सपनासँग स्तब्ध भएँ र पनि बिस्तारै भनेँ, “आउनुहुन्छ छोरी… कुनै दिन…।”

“आ … ममी तपाईँ सधैँ आउनुहुन्छ मात्रै भन्नुहुन्छ तर कहिले आउनु हुन्न !” म निःशब्द भएँ । छोरीको सपना र माधवको फोटोको साइनोमा निकै बेर अल्झिएँ र मनमनै सोचेँ, सपनाजस्तै विपना पनि राम्रा हुने भए कस्तो राम्रो हुन्थ्यो होला !

त्यसपछि मैले हिजाका हाम्रा ती प्रेमिल सम्झनाहरूलाई रोक्न सकिनँ र सम्झेँ- एक दिन माधव र म दोलालघाट घुम्न गएका थियौँ । हामी इन्द्रावती नदीको किनारामा बस्यौँ र तिलस्मी सपनाका क्यानभासमा चाहनाका रङ्गहरू भर्दै गयौँ । भावनाहरू बहकिँदै गए र हामी पनि बेलागाम भयौँ । त्यसपछि एकैसाथ सगरमाथाको चुचुरामा पुग्यौँ र पारिपट्टिको क्षितजसम्म भावी जिन्दगीका आयामहहरू खोजिरह्यौँ । त्यस दिनको अपूर्व मिलनपछि हाम्रा अक्षत यौवनका कुनै कौतुहलता र जिज्ञासाहरू बाँकी रहेनन् ।

त्यसैगरी कलेजका दिनहरू बित्दै गए । म उसको प्रेममा चुर्लुम्मै भएँ र मेरो सपना, बिपना र कल्पना ऊ मात्रै हुन थाल्यो । हामी एकार्काको कोठामा आउने-जाने र घण्टौँसम्म बस्ने गर्न थाल्यौँ । हामी भावनामा यति गहिरियौँ कि अर्को छुट्टै कोठा लिएर सँगै लिभिङ्ग टुगेदर भएर बस्न थाल्यौँ र घर, परिवार सबैसँग नाता तोड्यौँ ।

अहिले त्यो कलिलो उमेरको गम्भीर निर्णय सम्झेर म पुनः झसङ्ग भएँ र छोरीलाई सुमसुम्याउँदै, उसलाई खाजा दिएर बाहिर पठाएँ र झ्यालबाट हेरेँ । सधैँ क्षितिजमा सधैँ देखिने महाभारत आज देखिएको छैन । कालो बादल ढपक्क ढाकेको छ । लाग्छ आज ऊ पनि मजस्तै नमिठा यादहरूले व्यथित छ ।

म फेरि ओछ्यानमा पल्टिएर र फेरि तिनै सम्झनाहरूमै रुमल्लिएँ । यसै क्रममा एकदिन मैले अन्तरात्माको आवाज सुनेँ र मलाई ऐँठनजस्तो भयो । माधवलाई हत्तपत्त सोधिहालेँ, “हाम्रो यो सम्बन्धको परिभाषा के हो माधव ? ”

ऊ मौन रह्यो र मैले नै फेरि सोधेँ, “भोलि समाजले पनि यही प्रश्न गर्छ नि होइन ?”

त्यसपछि ऊ गम्भीर हुँदै भन्यो, “हेर मालती, हाम्रो समाजको पुरातन मान्यता, विश्वास, संस्कार र जातीय विभेद पनि अझै पनि त्यत्तिकै गहिरो छ । मेरो बुबा नाम कहलिएका पण्डित ! के उनले आफ्नो छोराको बिहे एउटी दलित केटीसँग गर्न तयार हुन्छन् ? के समाजले बाहुनको छोरा र दमाईकी छोरीको विवाह स्विकार्छ ? मालती, धैर्य गर । त्यसभन्दा बढी विश्वास गर । म बिस्तारै सबैलाई सम्झाउनेछु र सबै कुरा मिल्दै जानेछन् ..? यति कुरा गरेपछि विस्मित भावमा हामी दुवै किचेनतिर लाग्यौँ ।

उसका ती शब्दले मलाई हाम्रो प्रणययात्राको गहिरो भङ्गालाको अनुभूत गरायो । म रातभर निदाउन सकिनँ तर जिन्दगी अप्ठेरो मोडमा थियो कि न अगाडि बढ्न सजिलो थियो र न पछाडि फर्कन । त्यसपछिका दिनमा पनि यिनै प्रश्नहरू उठिरहे र ऊ मलाई हरेक पटक फकाउँदै गयो । एक वर्षसम्म हामीले घर, परिवार, समाज सबैलाई ढाँट्यौँ र सबैसँग टाढिएर एउटा अवैध सम्बन्धमा बाँचिरह्यौँ ।

यसैबीच उसलाई डिभीको अन्तिम पत्र आयो । यता म तेस्रोपटक गर्भवती भएँ । अघिल्ला दुई गर्भपतनले मलाई गहिरो अपराधबोध भइसकेको थियो । त्यसैले यसपटक मैले गर्भपतन गर्न मानिनँ र केही नलागेपछि उसले मलाई सम्झाउन थाल्यो, “हेर, अब हामी छिट्टै यो समाजको सङ्कीर्णता र जातीय विभेदको पीडाबाट मुक्त हुन्छौँ । म अमेरिका जान्छु र एक दुई महिनामै दुई जनाको व्यवस्था मिलाएर आउँछु । तिमीलाई पनि लिएर जान्छु । हाम्रो बच्चा अमेरिकामै जन्मिनेछ । त्यहाँ हामीलाई कसैले प्रश्न गर्ने छैन ।”

उसप्रतिको विश्वास र भरोसामा म सजिलै आश्वस्त भएँ र आफैँले उसलाई बिदा गरेँ तर त्यसपछि उसले आजसम्म मेरो खोजीसमेत गरेन । यता मलाई दिनदिनै बाँच्न गाह्रो भयो । त्यसैले पढाइ बीचमै छोडेर अस्पतालमा जागिर खान थालेँ ।

बाहिर फेरि गाडीको हर्नको आवाजले म झसङ्ग भएँ र हतार-हतार अफिस गएँ । आज आइसियूमा नयाँ बिरामी रामप्रसाद बिडारी आउनुभएको थियो र उहाँ करिब ७०/७५ वर्षको हुनुहुन्थ्यो र उहाँमा आफूलाई क्यान्सर भएको शङ्का थियो । मर्ने चिन्ताले उहाँले अनेक प्रश्न सोध्दै हुनुहुन्थ्यो । अस्पतालका सबै साथीहरू परपर भाग्न खोज्थे तर म उहाँको कुरा राम्रोसँग सुन्थेँ र सान्त्वनाका शब्दहरू मिल्ने गरी जबाफ पनि दिन्थेँ । खाना खान मद्दत गर्थेँ र सरसफाइ पनि गरिदिन्थेँ । मेरो व्यवहार देखेर उहाँ पनि मसँग खुसी भएजस्तो लाग्थ्यो ।

रातिको डिउटी सकेर बिहान ७ बजेतिर घर आएँ र सुतिरहेकी छोरीलाई उठाएँ । घरको सरसफाइ सकेर खाना बनाएर र खाना खुवाएर छोरीलाई स्कुल पठाएँ । त्यसपछि एकछिन आराम गरौँ भनेर पल्टिएँ तर निदाउन सकिनँ । एकैछिन कुमारले भनेको कुरा सम्झिएँ, “बालबच्चा भएनन्, श्रीमतीले छोडेर हिँडी । एउटा गुमनाम जिन्दगी बाँचेको छ ऊ अमेरिकामा !”…कता-कता मनमा नरमाइलो भएजस्तो लाग्यो र उसको जीवनको त्यो पाटासँग मैले आफूलाई पनि जोडेर हेरेँ तर कतै केही देखिनँ ।

एल्बम पल्टाएँ, माधवको फोटो हेरेँ र एक्लै बरबराउँदै गएँ, “कति क्रूर रहेछौ तिमी ! मलाई काखमा राखेर तिमीले छुरी रोप्यौ । तिमीले गर्दा मलाई समाजले रन्डी बनायो, वेश्या बनायो र चरित्रहीन बनायो । म हरेक दिन मरेँ तर पनि मैले तिम्रो भ्रूणलाई जीवन दिएरै छोडेँ । उसलाई नाम दिएँ, टेक्ने जमिन र फैलने आकाश देखाएँ । कुनै दिन तिमी पनि कहिल्यै तिरस्कृत भयौ भने आफ्नो लाचार बुढेसकाल लिएर आउनू । तिमीले तुहाइदिन खोजेकी तिम्री छोरीले पनि असाध्यै मायाँ गर्छे र उसैले सम्झाउने छ तिमीलाई कि मायाँको कुनै जात हुँदैन, कुनै धर्म हुँदैन, कोही अछुत हुँदैन र कोही दलित हुँदैन ।

आज आकाशमा चारैतिर कालो बदल मडारिएको छ । हावा जोडले चलिरहेको छ र मेघ गर्जिरहेको छ । घरिघरि बिजुली चम्किँदा आकाश ठाउँठाउँबाट चिरा परेजस्तो देखिन्छ । यस्तो लाग्छ, आज मजस्तै यो प्रकृति पनि बौलाएको छ र केही अनिष्ट हुनेवाला छ । झल्याँस्स छोरीलाई सम्झेँ, अत्यास लागेर आयो । फेरि घरभेटी आमालाई फोन गरेर र छोरीलाई साथै राख्न अनुरोध गरेँ ।

आज मन अलि उदास नै थियो तैपनि अफिसको काममा गएँ । पहिला कुमारको हालचाल बुझेँ । केमो चढाएपछि उसमा हल्का सुधार भएको देखेर खुसी लाग्यो । त्यसपछि उही बुढो बिरामीलाई हेर्न गएँ । उहाँको पेटको अपरेसन भएर भर्खर मात्र होसमा आउनुभएको रहेछ । मलाई देख्नासाथ उहाँको अनुहारमा हल्का चमक देखियो । हातको इसाराले बोलाउनुभयो । म गएँ । उहाँलाई दुई-चार चम्चा पानी पिलाएँ । केही बेरपछि फेरि डाक्टरको निर्देशनानुसार कालो चिया पिउन दिएँ । पछि पनि उहाँ खाना खान सक्नु हुन्नथ्यो । म आफैँले खाना खुवाइदिन थालेँ । उहाँ पनि मलाई छोरीको व्यवहार देखाउनुहुन्थ्यो । सोच्थेँ, मेरो पनि बुबा र आमा भइदिएका भए ! त्यसपछि मन खिन्न हुन्थ्यो ।

केही दिनमा नै बिरामी रामप्रसाद बुबा बेडमा उठेर बस्नुभएको रहेछ ! उहाँको स्वास्थ्यमा सुधार आएको देखेर खुसी लाग्यो । आज छोरीलाई पनि मैले सँगै लगेकी थिएँ । छोरीले पनि नमस्ते गरी । उहाँ मुस्कुराउनुभयो । डाक्टरले लेखिदिएअनुसार जुस पनि पिलाएँ । अलि गम्भीर भएर उहाँले भन्नुभयो, “नानी यत्तिका दिन भयो । तिम्रो घरपरिवार केही सोधेको छैन ।”

मैले जबाफ दिएँ, “मेरो घर दाङ हो । परिवार भन्नु आमाछोरी मात्रै हो बुबा ।”

“अनि तिम्रो श्रीमान् ?”

मैले जबाफ दिएँ, “यो नानी पेटमै हुँदा विदेश जानुभएको, फर्किनुभएको छैन ।”

“कस्तो निष्ठुरी त ! किन नआएको होला ?”

“खोइ बुबा, उतै रमाइलो भयो होला नि !” मेरो उत्तरले उहाँमा विस्मित भाव देखियो तर केही बोल्नु भएन । म पनि अरू नै काममा लागेँ ।

केही बेरपछि उहाँले मलाई फेरि बोलाउनुभयो र म गएँ । “नानी, तिम्रो कुरा सुनेर मलाई ज्यादै नरमाइलो लाग्यो । तिमीहरूको बिहे घरबाटै भएको हो त ?” उहाँको प्रश्नले मलाई विचलित पाऱ्यो र म मौन रहेँ, फेरि उहाँले नै भन्नुभयो, “भन छोरी ! तिम्रो केही दुःख भए आफ्नै बुबा सम्झेर भन ।”

उहाँका शब्दहरूमा मैले असीम मायाँको अनुभूत गरेँ र थाहै नभई मेरा आँखा टिलपिलाए ।

यसैबीच छोरीले मसँग मोबाइल मागी र पर गएर खेलाउन थाली । मैले आँसु पुछ्दै भनेँ, “के भन्नु बुबा ! ऊ बाहुनको छोरो र म दमिनी ! तल्लो जातको मान्छेले माथिल्लो जातको मान्छेसँग सपना पनि देख्न नहुने रैछ । नपुग्ने सपना देखेँ र त्यही टुट्यो बुबा… ।”

एकाएक उहाँको अनुहारमा पीडा देखियो र निकै बेर मौन रहनुभयो र भन्नुभयो, “हो छोरी, निर्दयी छौँ हामी ! थाहा छैन, जातीय विभेदले तिमीजस्ता कति निर्दोष छोरीहरू मर्दै बाँचेका छन् । कति मरिसके र अझै कति मर्दै जानेछन् । मलाई यो मृत्युशय्याबाट गहिरो आत्मबोध भयो । आखिर ती सबै मिथ्या पो रहेछन् । नीति, नियम र परम्परा त बाँच्न र बचाउनका लागि पो हुनुपर्छ ! हाम्रो समाज त बदलिन खोजेको देखिन्छ तर अझै पनि दृष्टि भने उही नै छ । छोरी तिमी त्यसैको सिकार भयौ ।”

उहाँका कुरा सुनेर मेरा आँखाहरू निथ्रुक्क भए र भावनामा छताछुल्ल पोखिए ।

बुबा अझै बोल्न खोज्दै हुनुहुन्थ्यो तर छोरी अकस्मात् “बाबा” भन्दै चिच्याई र हाम्रो ध्यान त्यतै खिचियो । ऊ दौडिएर गई र ढोकामा उभिएको मान्छेलाई झ्याप्पै समाई । हामी दुवै अवाक् भयौँ । आश्चर्य र ग्लानिमिश्रित भावमा खडा भएको त्यो मान्छे माधव नै थियो । उसले छोरीलाई समायो र कौतुहलपूर्ण नजरले मलाई हेऱ्यो र मैले पनि दुःख, पीडा र सिकायतको भावले उसलाई हेरिरहेँ । बुबाले आश्चर्यचकित भएर “माधव !” मात्र भन्न सक्नुभयो र माधवको हात समाएर भित्र आएकी मेरी छोरीलाई निकै बेर स्नेहले अँगाल्नुभयो । माधव र म दुवै निथ्रुक्क भिजेका नजर लिएर एकअर्कालाई हेरिरह्यौँ ।