
ओशोको आत्मकथाः स्वर्णिम बालापन
सत्र ५ः हजुरआमाको मन्त्रदान
म मेरा हजुरबाको मृत्युका बारेमा म कुरा गरिरहेको थिएँ, है ? मलाई भर्खरै याद आयो, उहाँ कहिल्यै कुनै दन्त चिकित्सककहाँ जानु भएन । आवश्यकै परेन । कति सौभाग्यशाली मानिस ! जब उहाँको मृत्यु भयो, उहाँका सबै दाँत ठीक थिए । मलाई हेर ! जब तिमीहरू मेरो दाँत जाँचिरहेका थियौ, तिमीले भनेको सुनेँ– एउटा दाँत छैन । शायद यसैले म कठोर छु । बत्तीसको ठाउँमा एकतीस वटा मात्र छ । शायद यसैले म दया नगरी चोट पुर्याउँछु ।
बालापनमा म आफ्ना मावलीका हजुरबासँग बस्थेँ । अनेक बदमासीका बाबजुद म सजाय पाउनबाट जोगिन्थेँ, म सुरक्षित थिएँ त्यहाँ । उहाँले कहिल्यै पनि यो नगर, त्यो नगर भन्नु भएन । बरू उहाँले आफ्नो सबैभन्दा आज्ञाकारी नोकर भुरालाई मेरो सेवा, सुरक्षाका लागि खटाउनु भएको थियो । भुरा आफूसँग सधैँ एउटा ज्यादै पुरानो बन्दुक बोकी हिँड्थ्यो र केही दुरी राखेर सँगसँगै हिँड्थ्यो । गाउँका मानिसहरूलाई डराउनका लागि यति नै पर्याप्त थियो । मलाई आफ्नो मनमनी गर्न यति भए पुग्थ्यो ।
तिमीले सोच्न सक्ने जेसुकै बदमासी म गर्थें । भैँसीमाथि उल्टो चढ्थेँ, भुरा भैँसीको पछिपछि हिँड्थ्यो । धेरै समयपछि मैले भैँसीमा उल्टो बसिरहेको लाओ त्सुको मूर्ति देखेँ । त्यो बेला म यति चर्को स्वरमा हाँसेँ कि म्युजियमको निर्देशक दौडँदै आयो र सोध्यो, ‘के भयो ?’ किनभने हाँस्दाहाँस्दा मेरो पेट दुखेको थियो र पेट पक्डेर भुइँमा थचक्क बसेको थिएँ म । उनले सोधे, ‘पेट दुख्यो ?’
मैले भनेँ, ‘केही भएको छैन । दुःख नदेऊ, मलाई धेरै नहँसाऊ । नत्र त हाँस्दाहाँस्दा आँखाबाट आँशु आउनेछ । मलाई एक्लै छाडिदेऊ । मलाई केही भएको छैन । मलाई मेरो बालापनको याद आयो । म यसरी नै भैँसीमा उल्टो गरी चढ्ने गर्थें । त्यै सम्झेर हाँसेको हुँ ।’
विशेषगरी मेरो गाउँमा र पूरै भारतमा कोही पनि भैँसीमाथि चढ्दैन तर चिनियाँहरू अद्भुत नै हुन् । यो लोओ त्सु त झनै अद्भुत । परमात्मालाई थाहा होला, मलाई किन उल्टो गरी भैँसी चढ्नु परेको हो ! कहिलेकाहीँ सोच्छु, शायद मलाई बेतुकका कुरा सधैँ मन पर्थे कि !
बालापनका ती दिन, मैले फेरि बाँच्न पाउँथेँ भने म दोहोर्याएर जन्म लिन तयार हुँदो हुँ । तिमीलाई त थाहै छ र मलाई पनि थाहा छ, केही पनि कुरा पुनरुक्त गर्न सकिन्न । त्यसैले म दोहोर्याएर जन्म लिन तयार हुन्छु भनिरहेको छु, नत्र त चाहे जतिसुकै सुन्दर भए पनि को जन्मन चाहन्छ र ?
म गलत नक्षत्रमा जन्मिएको थिएँ । यतिबेला मलाई दुःख लाग्छ, मैले त्यो बेला ठूलो ज्योतिषीलाई सोध्न बिर्सिएँ– म किन त्यत्ति बदमास थिएँ ?
म बदमासी नगरी बस्नै सक्तिन थिएँ । त्यही नै शायद मेरो पोषण थियो ।
म मेरा बूढा भएका हजुरबालाई र मेरा बदमासीका कारण उहाँले महसुस गर्ने पीडालाई म बुझ्छु । दिनभरि गद्दीमा बसेर उहाँले आफ्ना ग्राहकलाई कम र मेराबारे गुनासो गर्नेहरूलाई बढी सुन्नुपर्थ्यो । गुनासोकर्ताहरूलाई उहाँ भन्नुहुन्थ्यो, ‘उसले जे नोक्सान गरेको छ, म त्यसको भर्पाइ गर्न तयार छु तर म उसलाई सजाय चाहिँ दिन सक्दिनँ । यो कुरा चैँ बुझ्नुस् ।’
उहाँको त्यो धैर्य, मजस्तो बदमास बालकका साथ… शायद म पनि सहन सक्तिनँ होला । यदि त्यस्तो बालक मलाई दिइएको हुन्थ्यो र वर्षौंसम्म मसँग बस्थ्यो भने… हे भगवान् !… केही मिनेटका लागि पनि म सहन सक्तिन थिएँ होला… म त उसलाई घरैबाट निकाल्थेँ होला ।
शायद ती वर्ष मेरा हजुरबाका लागि चमत्कारी साबित भए होलान् । त्यो असीम धैर्यको परिणामका कारण उहाँ मौन हुँदै जानुभयो । मैले उहाँको मौनता हरेक दिन बढ्दै जान थालेको देखेँ । कहिलेकाहीँ म भन्थेँ, ‘हजुरबा, तपाईं मेरो बदमासीका लागि दण्ड दिन सक्नुहुन्छ । तपाईं यति सहनशील भइरहनु आवश्यक छैन ।’ र, तिमीहरूलाई विश्वासै नलाग्ला, उहाँ रुन थाल्नुहुन्थ्यो । उहाँका आँखामा आँशु आउँथे र भन्नुहुन्थ्यो, ‘म आफैँलाई सजाय दिन सकूँला, तिमीलाई सक्तिनँ । खै के साजय दिनु ? म सक्तिनँ ।’
एक क्षणका लागि पनि मैले उहाँका आँखामा मप्रति रिसको छायाँसम्म देखिनँ । मैले ती सबै बदमासी गरेँ, जुन हजारौँ बच्चाले गर्न सक्थे । बिहानदेखि, नास्ता खानुअघिदेखि राति अबेरसम्म मलाई खाली उटपट्याङ नै गर्न मन लाग्थ्यो । कहिलेकाहीँ त म बिहान तीन बजे घर आइपुग्थेँ । उहाँ पनि कस्तो हुनुहुन्थ्यो, अजिब ! उहाँले कहिल्यै पनि किन ढिला आयौ, बच्चाले यति ढिला गर्नु हुन्न । यो पनि आउने समय हो ? भन्नु भएन । एक पटक पनि भन्नु भएन । सत्य त केसम्म हो भने नाति कति बजे आयो भनेर भित्तामा टाँगिएको घडीतिर पनि हेर्नु हुन्थेन ।
यसरी मैले धार्मिकता सिकेँ । उहाँले कहिल्यै मलाई आफूसँग मन्दिर लैजानु भएन । हुन त म त्यो मन्दिर जान्थेँ तर बन्द भएपछि मात्र, त्यहाँका प्रिज्म चोर्नका लागि । त्यो मन्दिरमा प्रिज्मले बनेको बडो सुन्दर फानूस (बत्ती) लगाइएको थियो । अलिअलि गरेर मैले ती सारा प्रिज्म चोरेँ । जब मैले हजुरबालाई प्रिज्म चोरेको सुनाएँ, उहाँले भन्नुभयो, ‘के भयो त ? मैले नै त्यो फानूस दान गरेको थिएँ । म अर्को पनि दिन सकिहाल्छु नि ! तिमीले चोरेका होइनौ । त्यो त तिम्रै हजुरबाको सम्पत्ति हो । मैले नै त्यो मन्दिर बनाइदिएको हुँ ।’
पुजारीले पनि गुनासो गर्न छाडेको थियो । गरेर के फाइदा ? ऊ जाबो हजुरबाको नोकर त हो !
हजुरबा हरेक बिहानी मन्दिर जानु हुन्थ्यो, तर पनि उहाँले कहिल्यै पनि ‘मसँग मन्दिर हिँड’ भन्नुभएन । उहाँले कहिल्यै कुनै सिद्धान्त मेरो दिमागमा हाल्नुभएन । यो निकै ठूलो कुरा हो, कुनै सिद्धान्त नथोपर्नु भनेको ठूलो कुरा हो । एउटा असहाय बालकलाई जबरजस्ती आफ्ना मान्यताप्रति नममस्तक पार्नु निकै सहज कुरा हो तर उहाँ त्यो प्रलोभनमा पर्नु भएन… म यसलाई सबैभन्दा ठूलो प्रलोभन नै भन्छु । जब तिमी आफू कुनै किसिमले केहीमा निर्भर भएको देख्छौ, त्यस्तै शिक्षा दिन थाल्छौ । उहाँले मलाई कहिल्यै ‘तिमी जैन हौ’ भन्नु भएन ।
मलाई राम्रोसँग याद छ, एक पटक जनगणना भइरहेको थियो । जनगणनाका एक अधिकारी हाम्रो घरमा आए । उनले धेरै कुरा सोधे । उनले हजुरबाको धर्मका बारेमा सोधे । उहाँले आफ्नो धर्म जैन भएको बताउनुभयो । त्यसपछि हजुरआमाको धर्मका बारेमा सोधे, हजुरबाले भन्नुभयो, ‘तपाईं उनैलाई सोध्नुहोस् । धर्म व्यक्तिगत कुरा हो । मैले कहिल्यै पनि उनलाई उनको धर्मका बारेमा सोधिनँ ।’ क्या मानिस थिए !
मेरी हजुरआमाले भन्नुभयो, ‘म कुनै पनि धर्ममा विश्वास गर्दिनँ । सबै धर्म मलाई उत्तिकै मूर्खतापूर्ण लाग्छन् ।’ ती अधिकारी छक्क परे । म पनि हैरान भएँ । उहाँ कुनै धर्ममा विश्वास गर्नु हुन्न । कुनै पनि धर्ममा रत्ति विश्वास नगर्ने स्त्री भारतमा खोज्नु असम्भव छ तर उहाँ त खजुराहोमा जन्मनुभएको थियो, शायद तान्त्रिकहरूको परिवारमा जन्मनु भएको थियो, जो कुनै पनि धर्ममा विश्वास गर्दैनथे । उनीहरू ध्यान गर्थे, तर कुनै पनि धर्ममा उनीहरू विश्वास गर्दैनथे ।
पश्चिमा मुलुकका मानिसहरूलाई यो कुरा ज्यादै असंगत लाग्छः बिना धर्मको पनि ध्यान हुन्छ ? सत्य त के हो भने तिमी कुनै पनि धर्ममा विश्वास गर्छौ भने ध्यान गर्न सक्तैनौ । धर्म ध्यानको बाधा हो । ध्यानका लागि कुनै परमात्मा, कुनै स्वर्ग या नर्क, कुनै दण्डको डर या सुखको लोभजस्ता कुरा चाहिँदैन । ध्यानको मनसँग कुनै लेनादेना छैन । ध्यान मनभन्दा परको कुरा हो । धर्म केवल मन हो, मनभित्रको कुरा हो ।
हजुरआमा कहिल्यै मन्दिर जानु भएन तर उहाँले मलाई एउटा मन्त्र चाहिँ सिकाउनुभएको थियो । आज म पहिलो पटक तिमीहरूलाई त्यो मन्त्रका बारेमा बताउँछु । त्यो जैन मन्त्र हो तर त्यसको सम्बन्ध केवल जैनहरूसँग मात्र सम्बन्धित छैन । यो त केवल एउटा संयोग नै हो, त्यो मन्त्र जैन धर्मसँग सम्बन्धित रह्यो…
नमो अरिहंताणं नमो नामो ।
नमो सिद्धाणं नमो नमो ।
नमो उवज्झायाणं नमो नमो ।
नमो लोए सव्वसाहूणं नमो नमो ।
एसो पंच नमुक्कारो
ओम् शान्तिः शान्तिः शान्तिः…
यो मन्त्र बहुतै सुन्दर छ । यसलाई अनुवाद गर्नु कठिन छ तर म पूरा प्रयास गर्नेछु । शुरुमा मन्त्रको यसको मौलिक सौन्दर्यमा सुनः
नमो अरिहंताणं नमो नमो
नमो सिद्धाणं नमो नमो
नमो उवज्झायाणं नमो नमो
एसो पंच नमुक्कारो, सव्वपावप्पणासणो ।
मंगलाणं च सव्वेसिं, पढमं हवइ मंगल ।।
अरिहंते शरणं पवज्जामि
सिद्धे शरणं पवज्जामि
साहू शरणं पवज्जामि
नमो अरिहंताणं नमो नमो
नमो सिद्धाणं नमो नमो
नमो सिद्धाणं नमो नमो
नमो उवज्झायाणं नमो नमो
ओम् शान्तिः शान्तिः शान्तिः…
अब म अनुवाद गर्ने प्रयास गर्छुः
‘म अरिहन्तहरूको चरणमा शिर निहुर्याउँछु…’ जैन धर्ममा अरिहन्त भनेको बौद्ध धर्ममा बोधिसत्वलाई भनेजस्तै हो, जसले परम सत्यलाई पाइसकेका छन्, जसले अरु कसैको चिन्ता गर्दैन । ऊ आफ्नो घर पुगिसकेको छ र संसारको चिन्ता गर्दैन । ऊ आफ्नो घर पुगिसक्यो र संसारका प्रति विरक्त छ । उसले कुनै धर्म बनाउँँदैन, उसले कुनै उपदेश पनि दिँदैन, ऊ कुनै घोषणा पनि गर्दैन । निश्चित नै सबैभन्दा पहिले उसलाई सम्झनु पर्छ । सबैभन्दा पहिले ती सबैप्रति नमन छ, जसले स्वयंलाई जाने र चुप बसे । पहिलो आदर शब्दका लागि होइन, बरु मौनताका लागि, अरुको सेवाका लागि होइन, बरु स्वयंलाई चिन्नेका लागि शिर झुकाएर अभिवादन । कसैको सेवा भयो कि भएन, त्यो प्राथमिक कुरा होइन, त्यो गौण हो । प्राथमिक त उसले आफूलाई चिन्यो । र, यो संसारमा आफैँलाई चिन्नु ज्यादै गाह्रो कुरा हो ।
आज बिहान मैले गुडियालाई क्यालिफोर्नियाको एउटा कार-स्टिकर दिएँ, जसमा लेखिएको थियो, ‘चेतावनी ! म काल्पनिक मानिसहरूका लागि ब्रेक लगाउँछु ।’
यसलाई हरेक कारमा टाँसिदिनुपर्छ । कारमा मात्र होइन, बरु हरेक मानिसको ढाडमा टाँसिदिनुपर्छ । मानिसहरू कल्पनामा बाँचिरहेका छन्, त्यही नै उनीहरूको जीवन हो, एउटा कल्पना मात्र हो । उनीहरू भुतका लागि ब्रेक लगाइरहेका छन्, जो कतै कहीँ पनि छैनन् । शायद होली घोस्ट (पवित्र आत्मा) ? तर यसले के फरक पार्छ र ? घोस्ट होली होस् कि अनहोली ? वास्तवमा त्यो हुँदैन नै !
अनि, कस्तो बेवकुफी ! बेवकुफीको हद त के हो भने ईसाई त्रिमूर्तिमा होली घोस्टलाई पनि सम्मिलित गरिएको छः परमात्मा, उनको छोरो र होली घोस्ट ! स्त्रीबाट बच्नका लागि उनीहरूले होली घोस्टलाई त्यहाँ राखेका छन् । कति अपवित्रता ! त्यहाँ तिमीले चलख्याइँ देख्यौ ? उनीहरूले आमालाई राख्न सकेनन्, आमालाई हटाएर बरु होली घोस्टलाई त्यहाँ राखे । यस होली घोस्टले पूरै ईसाई मतलाई बर्बाद गरेको छ किनभने एकदम शुरुवातबाट नै, आधारभूत रुपमा नै यो झूट र भ्रममा आधारित छ ।
क्यालिफोर्नियाका मानिसहरूलाई त क्षमा गर्न सकिन्छ तर यो होली घोस्टजस्तो घृणित व्यक्तिलाई त्रिमूर्तिमा सामेल गराउनका लागि ईसाईहरूलाई क्षमा गर्न भने सकिँदैन । र, यो पवित्र आत्माले विचरी मेरीलाई गर्भवती बनाउने अपवित्र काम गर्यो । होली घोस्टले विचरो सिकर्मीकी पत्नी मेरीलाई गर्भवती बनायो ! वाह, महान् पवित्रता !
एउटा कुरा त निश्चित छ, क्रिस्चियन समाज स्त्रीबाट पूर्ण रुपमा बच्नका लागि उसले स्त्रीलाई पूर्ण रुपमा मेटाउने प्रयास गरिरह्यो । उनीहरूले एउटा परिवारसम्म बनाइदिए ।
कुनै बालिकाले परिवारको चित्र बनाई भने के बनाउँछे– पिता, पुत्र र पवित्र आत्मा । तिमीले त्यो चित्र हेर्यौ भने यो के मूर्खता हो भन्दैनौ ? आमा चैँ खोई त भन्दैनौ ?
आमा बिनाको बुवा कसरी हुन्छ ? आमा बिनाको छोरो कसरी हुन्छ ? एउटा सानो बच्चाले पनि तिम्रो तर्क बुझ्न सक्छ तर ईशाई धर्मशास्त्रीले बुझ्दैनन् किनभने उनीहरू बालक होइनन् । उनीहरू त मन्दबुद्धिको बालक हुन् । उसको दिमागमा केही गडबड छ, विशेषगरी बायाँतिरको उसको दमाग या त खाली छ या त त्यसमा फोहोर भरिएको छ । शायद धार्मिक फोहोर, बाइबल– छोटकरीमा भन्ने हो भने होली घोस्ट !
म त्यस्तो मानिसको विरोधमा छु । मलाई स्पष्टसँग भन्न देओः मैले उसलाई भेटेँ भने– म तिमीहरूलाई अहिले नै भन्दिन्छु, हुन त म अहिंसक व्यक्ति हुँ र पनि त्यो होली घोस्टलाई फेला पारेँ भने उसलाई मारिनैदिनेछु । आफैँलाई बरु सम्झाउनेछु, कम्तीमा अहिलेका लागि भाडमा जाओस् अहिंसा । त्यो होली घोस्टलाई मार । पछि देखा जाएगा ! पछि बरु फेरि अहिंसक होऔँला, क्यै छैन । बरु होली घोस्टको ठाउँमा कुनै स्त्रीलाई राख्नेछु । त्यसपछि ईशाई मत तुरुन्त ब्युँतनेछ, होशमा आउनेछ ।
क्यालिफोर्नियाको एउटा अर्को कार स्टिकर मैले गुडियालाई राख्न दिएको दिएँ । त्यसमा लेखिएको छः ‘संसारको सबैभन्दा राम्रो काम शायद स्त्रीले नै गर्न सक्छन् ।’
शायद नभनौँ, निश्चय नै स्त्रीहरूले गर्न सक्छन् । स्त्री त्यो होली कम्पनीको तेस्रो पार्टनर हुन सक्छे । स्त्री बिना त्यो ठाउँ बडो मरुस्थल नै हुनेछ । पिता, पुत्र र होली घोस्टको ठाउँ मरुस्थल नै हुनेछ ।
जैन ‘अरिहन्त’ त्यस्ता व्यक्तिलाई भनिन्छ, जसले आफैँलाई पाएको होस् । आफ्नो त्यो आत्म–उपलब्धिको सौन्दर्यमा यति चुर्लम्म डुबेको हुन्छ, यति हराएको हुन्छ कि उसले सारा संसारलाई नै बिर्सन्छ । अरिहन्त शब्दको अर्थ होः जसले शत्रुलाई मार्यो । र, शत्रु चाहिँ अहंकार हो । मन्त्रको पहिलो भागको अर्थ होः जसले आफैँलाई पाएको छ, म उसको चरणमा निहुरिन्छु ।
दोस्रो भाग छः ‘नमो सिद्धाणं नमो नमो ।’
यो मन्त्र संस्कृतमा छैन, प्राकृतमा छ । प्राकृत जैनहरूको भाषा हो । यो संस्कृतभन्दा पनि प्राचीन भाषा हो । संस्कृतको अर्थ परिष्कृत हो । संस्कृत वा परिष्कृत शब्दबाट नै तिमीहरूले बुझिसक्यौ, यसभन्दा पहिले पनि केही थियो होला, नत्र त केलाई परिष्कृत भन्थ्यौ ? प्राकृतको अर्थ हो, बिना परिष्कारको, स्वाभाविक, नसमुरिएको । जैनहरूले भन्ने गरेको भनाइ बिल्कुल ठीक हो, उनीहरूको भाषा संसारकै प्राचीन भाषा हो । उनीहरूको धर्म पनि अति प्राचीन हो ।
हिन्दुहरूको ग्रन्थ ऋग्वेदमा जैनहरूका प्रथम तीर्थंकर आदिनाथका बारेमा उल्लेख पाइन्छ । यसको अर्थ त ऋग्वेदभन्दा पनि प्राचीन जैन धर्म थियो । ऋग्वेद संसारकै सबैभन्दा प्राचीन पुस्तक हो । र, यसमा जैन तीर्थंकरको उल्लेख यति आदरका साथ गरिएको छ कि जसले पनि ऋग्वेद लेख्यो, आदिनाथ उसको समकालीन हुनै सक्तैनन् ।
समकालीन गुरुलाई चिन्न बडो गाह्रो हुन्छ । उसको भाग्यमा निन्दा नै लेखिएको हुन्छ, चारैतिरबाट अनेक किसिमका निन्दा गरिन्छ । उसले आदर पाउँदैन । ऊ आदरयोग्य व्यक्ति हुँदैन । उसलाई क्षमा गर्न मानिसहरूलाई समय लाग्छ । उसलाई क्षमा गर्न मानिसलाई हजारौँ वर्ष लाग्छ । अनि मात्र उसलाई मानिसले आदर दिन सक्छन् । जब उनीहरू उसको निन्दा गर्ने अपराधभावबाट मुक्त हुन्छन्, उनीहरूले आदर गर्न थाल्छन्, उसलाई पूजा गर्न थाल्छन् ।
मन्त्र प्राकृतमा छ, अपरिष्कृत एवं अनगढ ।
अर्को पंक्ति छः ‘नमो सिद्धाणं नमो नमो ।’
आफ्नो स्वभावमा पुगेका उनलाई टाउको निहुर्याएर नमस्कार गर्छु ।
उसो भए पहिलो र दोस्रोमा के फरक छ त ?
अरिहन्त कहिल्यै पनि पछाडि फर्केर हेर्दैनन् । कहिल्यै कुनै प्रकारको सुविधाको चिन्ता गर्दैनन् । क्रिस्चियन सेवा या कुनै अन्य सेवा । तर सिद्ध पुरुष कहिलेकाहीँ डुब्दै गरेको मानवता बचाउनका लागि आफ्नो हात दिन्छन् । तर कहिलेकाहीँ मात्र त्यस्तो हुन्छ, सधैँ हुँदैन । यो कुनै अनिवार्यता होइन, जरुरी कुरा होइन । यो त उसको चयन हो कि ऊ यस्तो गर्न चाहन्छ कि चाहँदैन ।
त्यसैले तेस्रो पंक्ति छः ‘नमो आयरियाणं नमो नमो ।’
म आचार्यहरू, गुरुहरूको चरणमा शिर निहुर्याउँछु ।
उनीहरूले पनि त्यही अवस्था पाएका छन् तर उनीहरू संसारतिर फर्किएका छन् । उनीहरू संसारलाई सेवा गर्छन् । उनीहरू संसारमा त छन् तर संसारका होइनन्… र पनि संसारमै बस्छन् ।
चौथो पंक्ति छः ‘नमो उवज्झायाणं नमो नमो ।’
म उपाध्यायहरू, शिक्षकहरूको चरणमा शिर निहुर्याउँछु ।
शिक्षक र गुरुको सूक्ष्म फरक के हो भन्ने तिमीलाई थाहा छ । गुरुले थाहा पाएको छ र जसले थाहा पाएको छ, उसले अरुलाई पनि बाँड्छ । शिक्षकले चाहिँ थाहा पाएकाहरूबाट प्राप्त गरेको छ र उसले संसारलाई जे पाएको छ ठीक त्यही दिन्छ तर उसले स्वयं जानेको चाहिँ छैन ।
यो मन्त्रको रचनाकार वास्तवमै अद्भुत छ । ऊ तिनको चरणमा पनि शिर निहुर्याउँछ, जसले आफूलाई चिनेको छैन तर कमसेकम सद्गुरुहरूको सन्देश मानिसहरूसम्म त पुर्याएको छ !
पाँचौँ पंक्ति ती सबैभन्दा महत्त्वपूर्ण छ । तिनको सम्पर्कमा म आफ्नो जीवनमा कहिल्यै आएको हुँदो हुँ । यो बडो अद्भुत कुरा छ । जब म सानो बालक थिएँ, त्यो बेला मेरी हजुरआमाले यो मन्त्र मलाई सिकाउनु भएको थियो । जब म तिमीलाई यसको अर्थ बुझाउँछु, तिमीले यसको सौन्दर्य देख्नेछौ । उहाँले नै मलाई यो दिने क्षमता राख्नुहुन्थ्यो । यद्यपि सबै जैनले यसलाई आफ्ना मन्दिरहरूमा दोहोर्याउँछन् । म अरु कसैलाई चिन्दिनँ, जसले यस्तो घोषणा गर्ने साहस गरेको होस् । दोहोर्याउनु एउटा कुरा हो र आफ्ना कुनै प्रिय व्यक्तिको जीवनमा यसलाई हुबहु बाँच्नु अर्को कुरा हो ।
‘नमो लोए सव्वसाहूणं नमो नमो ।’
म ती सबै मानिसहरूको चरणमा शिर निहुर्याउँछु, जसले स्वयंलाई चिनेका छन् ।
बिना कुनै भेदभाव, चाहे त्यो हिन्दु होस्, जैन होस्, बौद्ध होस्, ईसाई होस्, चाहे मुसलमान होस्, उनीहरूप्रति चरणमा शिर निहुर्याउँछु । मन्त्र भन्छ, म उनीहरू सबैको गोडामा शिर निहुर्याउँछु, जसले आफैँलाई जानेको छ, आफैँलाई चिनेको छ ।
मलाई थाहा भएसम्म, यो एक मात्र र यही मात्र मन्त्र हो, जो पूर्णतः धर्म निरपेक्ष छ ।
पहिलो चार भाग पाँचौँभन्दा फरक छैन, ती सबै यसैमा समाहित छन् । तर यसमा एउटा विस्तार छ, जुन तिनमा छैन । यो पाँचौँ पंक्ति सबै मन्दिर र सबै चर्चमा लेखिनु पर्छ । यो भनाइ कसको हो भन्ने थाहा नपाइकनै लेखिनुपर्छ किनभने यसले भन्छ, ‘म ती सबै चरणहरूप्रति शिर निहुर्याउँछु, जसले उसलाई चिनेको छ ।’ यसले ‘परमात्मालाई चिनेको छ’ भन्दैन कतिसम्म भने ‘उसलाई’ पनि छाड्न सकिन्छ । मैले त ‘उसलाई’ अनुवाद गर्दा राखेको मात्र हुँ । मूलमा त यसको अर्थ हुन्छ, ‘उसको चरणमा शिर निहुर्याउँछु, जसले जानेको छ ।’ यसमा ‘उसले’ छैन । ‘उसलाई’ त मैले राखेको हुँ ताकि तिम्रो भाषागत आवश्यकता पूरा होस् । नत्र त कसैले न कसैले सोधिहाल्ला, ‘जान्यो ? के जान्यो ? जान्ने विषय के हो ?’
जान्ने कुनै विषय होइन, जान्ने कुरा केही छैन, केवल जान्ने व्यक्ति मात्र छ ।
यो मन्त्र एकमात्र धार्मिक कुरा थियो । यदि तिमीले यसलाई धार्मिक भन्न चाहन्छौ भने भन । यो मन्त्र मलाई मेरी हजुरआमाले दिनुभएको थियो । त्यो पनि मेरो हजुरबाले होइन, हजुरआमाले दिनुभएको थियो किनभने एक रात मैले उहाँलाई सोधेँ ।… एक रात उहाँले भन्नुभयो, ‘तिमी निदाएका छैनौ जस्तो छ । निद्रा लागेको छैन ? भोलि के गडबड गर्ने भनेर सोचिरहेका छौ कि क्या हो ?’
मैले भनेँ, ‘होइन । तर मेरो मनमा खै किन हो एउटा प्रश्न उठिरहेको छ । सबैको कुनै न कुनै धर्म छ । जब कसैले मलाई मेरो धर्म के हो भनेर सोधे भने म ‘खै’ भनेर काँध उचाल्छु । काँध उचाल्नु त कुनै धर्म होइन । मैले के भन्नुपर्छ, भन्नुस्त ।’
उहाँले भन्नुभयो, ‘म आफैँ कुनै धर्मलाई मान्दिनँ तर मलाई यो मन्त्र ज्यादै प्रिय छ । त्यसैले म तिमीलाई सुनाउन सक्छु । यो परम्परागत जैन मन्त्र भएकाले होइन, बरु यस मन्त्रमा मैले देखेको र अनुभव गरेको सौन्दर्यका कारणले । मैले यसलाई लाखौँ पटक दोहोर्याएँ र सधैँ मैले ज्यादै शान्ति पाएँ… ती सबैलाई म प्रणाम गर्छु, जसले जानेका छन् भन्ने भाव मलाई सुन्दर लाग्छ । यो म तिमीलाई मन्त्र दान गर्न सक्छु । योभन्दा बढी मेरा लागि सम्भव छैन ।’
यतिबेला म भन्नसक्छु, उहाँ साँच्चिकै महान् हुनुहुन्थ्यो किनभने जहाँसम्म धर्मसँग सम्बन्ध छ, सबै झूटो बोलिरहेका छन् । ईशाई, यहुदी, जैन, मुसलमान, सबै झूटो बोलिरहेका छन् । उनीहरू सबै परमात्माको, स्वर्ग र नर्कको, देउताको र अन्य सबै किसिमको बकवास गरिरहेका छन् । खासमा भन्ने हो भने उनीहरूलाई केही पनि थाहा छैन । उहाँ महान् हुनुहुन्थ्यो । उहाँ जान्ने भएकाले होइन, बरु एउटा बालकसँग झूट बोल्न नसक्ने मन भएकाले ।
कसैले पनि झूटो बोल्नु हुँदैन, कम्तीमा बालबालिकासँग झूटो बोल्नु त झन् अक्षम्य हो । सदियौँदेखि बालबालिकाको शोषण गरिएको छ किनभने उनीहरू विश्वास गर्नका लागि तयार हुन्छन् । उनीहरूसँग तिमीले ज्यादै सजिलो गरी झूटो बोल्न सक्छौ र उनीहरूले तिम्रो विश्वास गर्छन् । तिमी पिता हौ, माता हौ भने तिमीहरूले भनेको सत्य हो भन्ने उनीहरू सोच्छन् । यसरी पूरै मनुष्यता भ्रष्टतामा बाँचिरहेको छ, गहिरो फोहोरमा, झूटको गहिरो फोहोरका बारेमा बालबालिकाहरूलाई बताइएको छ ।
हामीले एउटा काम गर्न सक्यौँ भने, एउटा सानो कामः हामीले बालबालिकासँग झूटो बोलेनौँ र उनीहरूका सामु आफ्नो अज्ञानता स्वीकार गर्यौँ भने हामी धार्मिक हुनेछौँ र हामीले उनीहरूलाई धर्मको बाटोमा ल्याउन सक्नेछौँ । बालबालिका त सरल हुन्छन् । उनीहरूमाथि आफ्नो तथाकथित ज्ञान नथोपरौँ । तर पहिले तिमी आफैँ सत्य र सरल त हुनुपर्यो नि । भलै यसले तिम्रो अहंकार ध्वस्त हुन्छ, र, यसले ध्वस्त बनाउँछ, यो त चकनाचुर बनाउने नै हो ।
मेरा हजुरबुवाले मलाई मन्दिर जान या उहाँका साथ हिँड्न कहिल्यै भन्नु भएन । म उहाँको पछिपछि जान्थेँ, धेरै पटक जान्थेँ तर उहाँ भन्नुहुन्थ्यो, ‘तिमीलाई मन्दिर जानु छ भने एक्लै जाऊ । मेरो पछि नलाग ।’
उहाँ कठोर व्यक्ति हुनुहुन्न थियो तर उहाँ यस कुरामा कडा हुनुहुन्थ्यो । मैले धेरै पटक उहाँलाई सोधेँ, ‘तपाईं आफ्नो केही अनुभव बताउनुस् न ।’ उहाँले सधैँ टार्नुभयो । जब गोरुगाडामा उहाँ मेरो काखमा अन्तिम श्वास लिइरहनुभएको थियो, उहाँले आफ्नो आँखा खोल्नुभयो र सोध्नुभयो, ‘कति बज्यो ?’
मैले भनेँ, ‘नौ बज्यो होला ।’
एक क्षणका लागि उहाँ चुप हुनुभयो र बोल्न थाल्नुभयोः
‘नमो अरिहंताणं नमो नमो ।
नमो सिद्धाणं नमो नमो ।
नमो उवज्झायाणं नमो नमो
नमो लोए सव्वसाहूणं नमो नमो
ओम् शान्तिः शान्तिः शान्तिः…’
यसको के अर्थ भयो त ? यसको अर्थ हो, ‘ओम्’– ध्वनिरहितको परम ध्वनि । र, उहाँ सूर्यको पहिलो किरणको रापमा शितको थोपाजस्तो लुप्त हुनुभयो ।
त्यहाँ केवल शान्ति छ, शान्ति छ, शान्ति छ… अब म यसमा प्रवेश गरिरहेको छु…
नमो अरिहंताणं नमो नमो…
म तिनको चरणमा जान्छु, जसले जानेका छन् ।
म तिनको चरणमा जान्छु, जो पुगेका छन् ।
म ती सबैको चरणमा जान्छु, जो गुरु हुन् ।
म सबै शिक्षकहरूको चरणमा पुग्छु ।
म बिना कुनै शर्त ती सबैका चरणमा जान्छु, जसले कुनै बेला केही जाने ।
ओम् शान्तिः शान्तिः शान्तिः



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

