एक महीना जति पछि उस्त – खोपेर्काया भन्ने एउटा गाउँनजीकै त्रोफिमको सैन्यदलको काजाक सैनिक टुकडीसंग भिडन्त पर्यो । साँझ पर्ने आँट्दा गोली हानाहान शुरू भएको थियो। धावा शरू गरिँदा झमक्क साँझ परिसकेको थियो। बीचै बाटोमा त्रोफिम आफ्नो सैन्यदलबाट निकै पछाडि पर्यो न कोर्राको मार, न त लगामको झट्काले नै घोडीलाई छिटो दौडाउन सकियो , यद्यपि लगामको झट्काले गर्दा उसको ओंठ चिरिएर रगत बग्न थालिसकेको थियो। टाउको माथि उचालेर जोडले हिनहिनाउँदै त्यो घोडी एक ठाउमा उभिएर त्यतिन्जेलसम्म उफ्रि मात्र रहन्थी जबसम्म उसको बछेडो पुच्छर हल्लाउँदै दौडेर उसको बगलमा आइपुग्दैनथ्यो। । त्रोफिम रीसले चूर भयो। उ घोडाबाट तल ओर्लियो , तरवार म्यान- भित्र घुसार्यो र झट्कारेर बन्दूक काँधबाट झिक्यो । सैन्य-दलको दायाँ भागमा शत्नुसंग जम्काभेट भइसकेको थियो । ढिस्कोनेर घोडचढीहरू कहिले यता त कहिले उता गर्दै थिए, मानौं बतासले उनीहरूलाई हल्लाइरहेको होस् ! भयंकर निस्तब्धतामा काटमार भह्ररहेको थियो। खालि घोडाका टापहेरुमनि जमीन थर्किरहेको थियो । त्रोफिमले लडाइँ चलि-रहेको ठाउँतिर एक नजर दौडायो र हतपतसंग बछेडोको चिल्लो टाउकोतिर निशाना लगायो। हतपतले गर्दा हात हल्लिएर हो वा अरू नै कुनै कारणले हो, निशाना ठीक ठाउँमा लागेन र गोली चलेपछि घोडाको बछेडो रमाउँदै उफ्रेर आफ्नो टापले भुइँमा ठोक्न थाल्यो र तिक्खर स्वरमा हिनहिनाउन लाग्यो । टापले भुइँ खोस्रेर उ धूलो पनि उडाइ-रहेको थियो । त्यसपछि उ केही पर गएर टक्क अडियो । त्रोफिमले त्यस खैरो बछेडोमाथि साधारण गोली मात्न होइन, रातो तामाको टुप्पो भएको कवचभेदक गोली समेत चलायो जुन गोलीगट्ठा राख्ने बाकसबाट गोलीको टोटा झिक्दा अचानक उसको हातमा परेको थियो । तर यसले पनि बछेडोको एउटा रौंसम्म पनि झरेन । अनि अश्लील गाली बड्बडाएर त्रोफिम आफ्नो घोडीमाथि सबार भयो र वेगसित त्यसै ठाउँतिर घोडा तुरून्तै दौडायो जहाँ तीन जना लाल सैनिकहरूसहित् सैन्यदलका कम्याण्डरलाई रातापीरा अनुहार भएका सनातनधर्मी दाह्वीवाल काजाकहरूले ढिस्कोतिर च्याप्दै लगिरहेका थिए ।
त्यस रात सैन्यदलका कम्याण्डर स्तपीमैदानमा एउटा सानो खोल्सोनेरै बास बसो। चुरोट पनि उतिसारो खाइएन । घोडा- हरूबाट काँठी पनि झिकिएको थिएन । दोन नदीतर्फ पठाइएको रमनले नदीको जंघारनेरै शत्रुको ठूलो दल एकत्रित भएको खबर ल्याएको थियो।
त्रोफिम आफ्नो बरसातीमुनि नांगो गोडा घुसारेर पल्टिरहेको थियो र तन्द्रामा बितेको दिनको घटना एक एक गरी सम्झँदै थियो। उसका आँखा अगाडि झल्झल्ती आइरहेका थिए- ढिस्कोमा उफ्रिरहेका सैन्यदलका कम्याण्डर, तरबार उजाएर कमिसारमाथि जाइलाग्ने छ्याकटे सनातनधर्मी काजाक, रगतपच्छे भएर भुइँमा लडिरहेको एउटा दुब्लोपातलो काजाक केटो, रगत लथपथिएर कालो दाग देखिने कसैको घोडाको काँठी, घोडाको बछेडो…।
बिहानको झिसमिसेमा नै सैन्यदलका कम्याण्डर त्रोफिमनेर आए र उसको बगलनेरैं बसे।
“सुतेकै छौ, त्रोफिम ? ”
“उँघ्दै छु !”
मधुरो हुँदै गइरहेका ताराहरूतर्फ चियाएर ताक्दै सैन्यदलका कम्याण्डरले भने-
“आफ्नो बछेडोलाई गोली ठोकेर मारिदेऊ ! लडाइँमा त्यसले जात्रा मात्र गर्छ। त्यसमा नजर पर्नासाथ हात नै काम्न थाल्छ… .। तरवार चलाउने नै ह्याउ हुँदैन। कारण के त भने’ त्यसले घरको सम्झना गराउँछ। थाहा भएकै कुरा हो, लडाइँको बेला घरको पीर मानेर काम चल्दैन । ढुंगा जस्तो कठोर मुटु समेत पग्लेर थिलथिलो बन्दछ… । देखिहाल्यौ , धावाको बीचमा परेर पनि त्यस चुलबुले शैतानलाई चाहिँ केही पनि भएन ! ”
सैन्यदलका कम्याण्डर एक छिन चूप लागे र विचारमग्न भएर मुस्कुराए। तर त्रोफिमले त्यो मुस्कान देखेन ।
“बुझ्यौ, त्रोफिम ! यसको पुच्छर नै गजबको छ… । पुच्छर हावामा हल्लाउँदै उफ्रन्छ। पक्का हो, फ्याउरोको जस्तो छ यसको पुच्छर . . . । निकै राम्रो छ यसको पुच्छर ! . , ” कम्याण्डरले भने।
त्रोफिमले कुनै उत्तर दिएन। उसले आफ्नो ज्याकेटले टाउको छोप्यो, शीतको, चिसोले अलि अलि काम्दै छिटै नै निदाइहाल्यो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

लेभ तोल्सस्तोइका विश्व-प्रसिद्ध उत्कृष्ट कथाहरूः खोल्स्तोमे- एक घोडाको कथा २
