छैठौ रात

धनी र गरिबका सपना कहिल्यै समान हुँदैनन्‌, हुन्छन्‌ र ?

हेर्नुस्‌ त, जीवनभरि गरिबको सपना मजाले खान पुगोस्‌ र धनीहरू जस्तै देखिन सकियोस्‌ भन्ने नै हुन्छ । अनि धनीले के सपना देख्छन त ?

शरीरको तौल घटाएर गरिबजस्तै देखिने !

प्रत्येक साँझ बकिङ्घम टावर ‘बी’ ब्लकको कम्पाउण्ड व्यायामशाला हुन्छ | मोटा भुँडे पुरुषहरू र अझै बढी मोटा र भ्यात्ले महिलाहरू काखीबाट तरर पसिना चुहाउँदै साँझको व्यायाम गरिरहेका हुन्छन्‌ ।

हेर्नुस्‌ त राति अबेरसम्मको पार्टीमा चबाउने र पिउने गर्दा दिल्लीका मानिसहरु मोटाउँदै छन्‌ । त्यसैले तौल घटाउन हिँड्छन्‌ ।

मान्छे हिँड्ने ठाउँ कहाँ हो ? हिँड्नुपर्ने घरबाहिर हो- नदीको किनार पार्कभित्र र जङ्गल वरिपरि ।

तर दिल्लीका धनीहरूले गुरगाँवको बस्ती विकास गर्दा आफ्नो प्रतिभा देखाउँदै पार्क, बगैँचा, खेलमैदान जस्ता एउटा पनि खुल्ला ठाउँ नराखी घर, पसल, होटेल र मलले भरेका छन्‌ । बाहिर सडकपेटी छ, तर त्यो गरिबहरू बस्ने आश्रय हो | त्यसैले कसैलाई हिँड्न मन लाग्यो भने पनि, आफ्नै घरको पर्खालभित्र हिँड्नुपर्छ ।

अनि जब अपार्टमेन्ट ब्लकको कम्पाउन्डभित्र उनीहरू हिँड्छन, मोटेहरूले तिनका दुब्ला नोकरहरू जो प्रायः ड्राइभर नै हुन्छन्‌ -लाई हातमा पानीको बोतल र पसिना पुछ्ने तौलिया लिएर विभिन्न ठाउँमा उभ्याएका हुन्छन्‌ । प्रत्येक पटक घरको फन्को मारेपछि तिनको छेउमा उभिन्छन्‌, बोतल समात्छन्‌, पानी खान्छन्‌, तौलियाले पसिना पुछेर फेरि दोस्रो फन्को मार्न जान्छन्‌ ।

दुबीओठे आफ्नो मालिकको पानीको बोतल र पसिनाले भिजेको तौलिया हातमा लिएर कम्पाउन्डको एउटा कुनामा उभिरहेको थियो । ऊ घरिघरि मतिर फर्केर आँखा झिम्क्याउँथ्यो । उसको मालिक फलामको व्यापारी थियो । जसको तालु २ हप्ता अघिसम्म खुइलो थियो तर आज गजबको कालो नक्कली कपाल हल्लाउँदै थियो । त्यही कपाल राख्न र बेलायत गएको थियो । आजभोलि बाँदरहरूको वृत्तमा छलफलको विषय नै त्यो नक्कली कपाल भएको थियो । अरू ड्राइभरहरूले दुबीओठेलाई दस रूपियाँ दिएर उही पुरानै पारामा झ्याप्प ब्रेक हानेर वा खाल्टोमा तीव्र गतिमा गाडी चलाएर त्यसको नक्कली कपाल कम्तीमा एकपालि उछिट्याइदिनलाई उक्साइरहेका थिए ।

बाँदर वृत्तमा प्रत्येक साँझ आआफ्ना मालिकका गोप्य कुरा खोलेर चिरफार गरिन्थ्यो । कसैले विषय प्रसङ्ग मोडेर अन्त जान खोजे उसले मसँग त्यसको मूल्य चुकाउनुपर्थ्यो । अशोकजीको व्यत्तिगत जिवनको बारेमा म कसैलार्इ हस्तक्षेप गर्न दिन्नथेँ ।

म दुबीओठे भन्दा अलिकति पर मेरो मालिकको भिजेको तौलिया काँधमा र हातमा पानीको बोतल लिएर उभिएको थिएँ ।

अशोकको फन्को मार्ने काम सकिन लागेको थियो । मतिर उनको पसिनाको गन्ध आइरहेको थियो | यो उनको तेस्रो फन्को थियो । उनले बोतल लिए र रित्याए अनुहार पुछे र मेरो काँधमा ओढाइदिए ।

“बलराम मेरो सकियो । तौलिया र बोतल लिएर माथि आउनू ल ?”

“हस्‌ हजूर ।” भन्दै उनी अपार्टमेन्ट भित्र गएको हेरेँ |

उनी हप्तामा एक वा दुई पटकमात्र हिँड्थे, तर यो उनको प्रत्येक साँझको रमझम र ख्वाइलार्इ पुग्ने व्यायाम थिएन । सेतो पसिनाले भिजेको टिसर्टभित्र उनको भुँडी बाहिर ह्वात्त निस्केको देखेँ । आजभोलि उनी घिनलाग्दा देखिन्थे ।

तल कार पार्कमा जानुअघि मैले दुबीओठेलाई इसारा गरेँ | १० मिनेटपछि फलाम व्यापारीको पसिनाको गन्ध आयो र पदचाप सुनियो | दुबीओठे पनि तल आएको थियो | मैले उसलाई मेरो कारछेउ बोलाएँ । मलाई यो संसारमा सबैभन्दा सुरक्षित यही ठाउँ लाग्थ्यो ।

“ए पाखे के हो भन्‌ त ? अर्को पत्रिका चाहियो कि के हो ?”

“पत्रिका होइन । अरू नै कुरा हो ।”

पिठ्युँको बल तल झरें र टायरको छेउमा टुक्रुक्क बसेँ । टायरका गोटीहरू नङले कोट्याएँ । र पनि मेरो छेउमा टुक्रुक्क बस्यो ।

उसलाई मैले नाडीमा लकेट जस्तै बेरिराखेको सुनौला रङ्को कपालको त्यान्द्रो देखाएँ । उसले मेरो नाडी समातेर नाकै छेउ लगेर हेर्दै त्यान्द्रोलाई औँलाले छाम्दै सुँघ्यो र हात छोडिदियो ।

“ठिक छ केही छैन,” उसले आँखा झिम्क्यायो । तेरो मालिक माथि एक्लै होला नि फेरि ?”

“उसको कुरा नगर !” मैले उसको घाँटी अँठ्याएँ ! उसले मेरो हात पन्छायो ।

“बौलाएको छस्‌ कि के हो ? सासै फेर्न गाह्रो भो ! ”

टायरको गोटी खेलाउँदै मैले सोधेँ, “कति पैसा लाग्ला हँ”

” कस्तो खालको हो, उच्च कि निम्न ? कुमारी हो कि सिल तोडिएको कि नतोडिएको ? धेरै कुरामा भर पर्छ । उसले भन्यो ।

“पैसा जति लागोस्‌ मलाई मतलब छैन । मात्र त्यसको सेम्पुको विज्ञापनमा जस्तै सुनौला कपाल हुनुपर्यो । ”

“सस्तोमा दस वा बाह्र हजार पर्छ ?”

“त्यो त हदै भयो । उसले चारहजार सात सय भन्दा बढी दिन सक्दैन ।”

“छ हजार पाँचसय पर्छ पाखे । कम्तीमा पनि यति पर्छ । गोरो छालालाई कदर गर्नै पर्छ ।”

“ल ठीक छ । हुन्छ ।”

“पाखे, उनलाई यो कहिले चाहिन्छ त ?”

“म पछि भनुँला । छिट्टै हुन सक्छ ।र अर्को कुरा के मलाई यौटा कुरा बुझ्नु छ।”

टायरमा अनुहार टेकाएर लामो सास लिँदै टायरको बास्ना सुँघे ! बल आओस्‌ भनेर ।

“ड्राइभरले मालिकलाई ठग्ने कतिवटा उपाय छन्‌, थाहा छ ?”