जीवनलाई बुझ्ने धेरै पक्षहरू हुन सक्छन् । कसैले लघुस्तरमा अनि कसैले दीर्घ र गोलाकार रूपमा पनि बुझेका हुन सक्छन् । प्रश्न भनेको जीवन बाँच्नुका दिनहरू मात्र गन्दै बस्ने कि जीवनमा कार्य निष्पादनलाई महत्त्वका साथ सामाजिक विकास प्रक्रियालाई अग्रगमनतिर लैजाने । हामी सर्जकहरू समाजका विसङ्गतिहरूलाई औँल्याउँछौँ, समाजलाई विकासतर्फ लैजाने कुराहरू गर्छौँ, राजनीतिक पक्षबाट आएका कतिपय नीतिहीन सोच, वक्तव्यहरूको प्रतिवाद गर्दै कलम उठाउँछौँ अनि समाजका केही गरिगएका व्यक्तिहरूको कर्मलाई समाजसामु उजागार गर्ने कार्य गर्दछौँ अनि समाज हितमा कटिबद्ध व्यक्तिहरू जो ओझेलमा परेका छन्, किनारीकृत बनिरहेका छन् उनीहरूलाई समाज सम्मुख ल्याउने व्यवस्था गर्छौँ । यसका साथै सङ्घसंस्थाका कार्यहरूलाई अघि बढाउँछौँ तब लग्छ तपाईँ-हामी केही गर्ने प्रयासमा लागिपरेका छौँ ।
परलोकको भ्रमण गरी कुनै व्यक्ति फर्किआएको कसैलाई थाहा छैन तर यही लोकमा गरेका कार्यहरू नै आफ्नो भाषा र जातिका निम्ति अघि बढ्ने पाइलाहरू हुन् अनि त्यसैलाई अनुसरण गर्दै हाम्रो आउँदो पिँढीले क्रमागत हिसाबमा कदम बढाउने गर्छ । रगतको साइनोले समाजका निम्ति कुनै लछारपाटो लाउनेवाला छैन, जात-थर खोज्दै हिँड्नेहरूले समाज विकासमा कुनै भूमिका निर्वाह गर्न सक्दैनन्, जातिबाट जातगोष्ठीमा भँगालिँदै गइरहेको आजको समाजलाई जोड्ने सेतु साहित्य नै हो भन्ने कुरा तपाईँ हामीलाई राम्रोसँग थाहा छ ।
आफ्नो सन्तान सबैलाई सुन्दर नै लाग्छ तर त्यो सन्तानले समाजका निम्ति कुनै काम लाग्ने काम गरेको पनि हुनुपऱ्यो । त्यतापट्टि हाम्रो नजर पुग्नै नसक्नुको पछाडिको कारण के हो भनी खोज्ने समय आएको बोध हुँदै छ । सामाजिक सञ्जालको युग सुरु भइसकेपछि आफ्ना कुराहरू, आफ्ना तिक्तता, आवेगहरू, आफ्नै मपाईँका कुराहरूले सामाजिक सञ्जाल भरिएको देख्दा लाग्छ इमानदार सर्जकहरूको अब कुनै काम छैन ।
अब हामी अरूका कुराहरू नसुन्ने, अरूका पुस्तकहरू नपढ्ने, केही पुस्तकहरूको समालोचना-आलोचना नगर्ने अनि आफ्नो आलोचना पनि नसुन्ने स्थितिमा पुगिसकेका छौँ । भाषा मान्यताका निम्ति गरिएका आन्दोलनहरू भाड में जाए, आज हामी उभिएको जाति र भाषाका निम्ति जति पनि योद्धाहरूले आफूलाई समर्पण गरे, त्यो उनीहरूले गर्नु नै पर्ने थियो गरे त्यसका निम्ति हामीले उनीहरूको गाथा गाउन के आवश्यक छ भन्ने स्थितिमा हामी पुगिसकेका छौँ । फेसबुकका वाल (भित्ता) हरूमा अरूले पढून् कि नपढून् तर हामी हाम्रा निजी कुराहरू, बकवासहरू, अरूलाई जबरजस्ती खिच्न लगाएका फोटाहरू जतिसक्दो पोस्ट गर्ने अनि कुनै लाइक-कमेन्ट नआएमा रिसाएर फेरि समाजलाई तथानाम भन्नेहरू पनि हामी नै हौँ ।
मेरो समाजप्रतिको दायित्व के हो, म यदि सिर्जना गर्दै छु भने त्यो सिर्जना कसका निम्ति हो आदि आदि कुराहरू अब संवेदनाबाहिर भइसकेको समाजमा आज हामी बाँचिरहेका छौँ । अब कसैलाई कसैबाट ज्ञानको आवश्यकता छैन । मानौँ, सबै जना ज्ञानी मात्र होइन महाज्ञानी बनिसकेका छन्, रामायण र महाभारतका रचयिताहरू भन्दा माथिल्लो तहमा पुगिसकेका छन् । त्यसो हो भने यिनै कुराहरूलाई समाज अग्रगमनतर्फ बढिरहेको ठान्ने त! यसो भन्नुको तात्पर्य सबै जना माथि भनिएझैँ छन् होइन । केही प्रतिबद्ध व्यक्तिहरू पनि छन्, जसको छत्रछायामा समाज उभिएको छ । म भन्न खोजिरहेको छु हामी हाम्रा सर्जकहरूको आलोचना गर्न किन हिचकिचाउँछौँ अथवा भनौँ हामी आलोचना पचाउनमा किन पछि हटिरहेका छौँ । के आलोचनाले मान्छेको सोचलाई बिर्को लगाइदिन्छ ? अथवा नकारात्मक सोच मात्र उब्जाइदिन्छ ? मलाई त्यस्तो लाग्दैन ।
ठिकै छ हामी विभिन्न वादमा विभाजित छौँ । यसको अर्थ अर्काले अपनाएको वाद आधारित रचनाको मूल्याङ्कन अथवा आलोचना गर्नु के वाहियत नै हो त! कि त्यसको अधिकार नै छैन! मूल्याङ्कन गर्नु भनेको केवल प्रशंसा गर्नुमात्र हो भन्ने कुरामा मेरो विमति छ, अनि आलोचना गर्नु भनेको केवल त्रुटिहरूको थाक लगाएर उसलाई कुनै पनि स्थितिमा उठ्नै नदिनु पनि होइन । हामी दुवै कुराहरूलाई समानान्तर रूपमा हेर्न सक्छौँ कुनै पूर्वाग्रह नराखी ।
आजभन्दा लगभग दुई दशकअघिसम्म स्वस्थ आलोचना हुने गर्थ्यो । जुन सर्जकको कृतिमाथि स्वस्थ आलोचना हुने गर्थ्यो ऊ सर्जक पछि अझ बलवान् बन्दै समाजमा उभिन्थ्यो । त्यसैकारण होला हामी भारतमै एकताका प्रतीक पनि थियौँ । त्यही शक्तिको आधारमा हामीले भाषा मान्यताको आन्दोलनलाई पनि सफल बनायौँ । लगभग ३० वर्षपछि हामी त्यो शक्तिमा छैनौँ त्यसैकारण हामी भारतमै कमजोर जातिका रूपमा पनि परिभाषित भइरहेका छौँ । आज यी कुराहरूलाई कसले मान्ने?
सर्जकहरूले लेखेका कुराहरूको जति आलोचना-समालोचना हुन सक्छ त्यति नै सर्जकका साथसाथै समाजको पृष्ठभूमि पनि दह्रिलो बन्दै जान्छ भन्ने मेरो मान्यता हो । समाजमा कुनै पनि कृति सिर्जना हुन्छ भने त्यसको कठोर आलोचना हुनुपर्छ अनि सङ्घसंस्थाहरूले गरिआएका कार्यहरू उचित छन् भने त्यसको पनि खुलेर प्रशंसा हुनुपर्छ । जसले जे काम गर्छ उसले गरेको कार्यले उसलाई मात्र उठाउँदैन, त्यो समाजलाई पनि उठाउँछ भन्ने कुराको बोध गर्न सक्नुपर्छ ।
सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीले आफ्नो समयभरि आफ्ना अघि उभिएको पार्टी होस् वा व्यक्तिको आलोचना गरिरहे, त्यसैको परिणामस्वरूप सिक्किमको विकास नभएको पनि होइन । विकासको ढाँचा आआफ्नो स्तरको थियो होला त्यो अलग कुरा हो । एन. बी. स्व. भण्डारीको पनि बोली, कार्य आदिको आलोचना कतिपय स्थितिमा नभएको होइन, हुने गर्थ्यो । सिक्किमका पूर्व सरकारका मुख्यमन्त्री तथा नेता पवन चामलिङको पनि आलोचना नभएको होइन । यसै गरी दार्जीलिङमा सुवास घिसिङको, पारसमणि प्रधान, रतनलाल ब्राह्मण, गणेशलाल सुब्बा, बद्रीनारायण प्रधान, डा. इन्द्रबहादुर राई, गुमानसिंह चामलिङ, लक्खीदेवी सुन्दास, कमला साङ्कृत्यायन, डा. जश योञ्जन प्यास, पद्मश्री सानु लामा, पद्मश्री केदार गुरुङ, डा. हर्कबहादुर छेत्री, भीम दाहाल आदि आदिको पनि घोर आलोचना भएकै हो तर यी व्यक्तिहरूद्वारा आलोचनाकर्ताहरूलाई लाखेस भनेको सुनिएन । यी कुराहरू म सामाजिक तथा साहित्येतर सन्दर्भमा उठाइरहेको छु, राजनीतिक स्तरमा धेरै पक्षविपक्षका आआफ्ना कुराहरू होलान्, तिनीहरू यस लेखमा सरोकारीय विषय होइनन् । एन. बी. भण्डारी, पवन चामलिङ, सुवास घिसिङ, रतनलाल ब्राह्मण, गणेशलाल सुब्बाहरू राजनीतिक व्यक्तित्वहरू हुँदाहुँदै पनि साहित्यमा अब्बल सर्जकका रूपमा नाम लिन सकिने व्यक्तिहरू हुन् ।
सिक्किम निर्माणका एक सबल व्यक्तित्व मानिने पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको १६ जुलाई, २०१७-मा देहावसान भइसकेपछि भण्डारी परिवारको पहलमा अर्चना प्रकाशनबाट अटल भण्डारी (नरबहादुर भण्डारी स्मृतिग्रन्थ) १६ जुलाई, २०१९-को दिन सिक्किमका मुख्यमन्त्री पी. एस. गोले, राज्यका राज्यपाल गङ्गाप्रसाद, सिक्किम विधानसभाका अध्यक्ष एल. बी. दास लगायत भारतका विभिन्न प्रान्तका लगभग ७० जना वरिष्ठ सर्जकहरूको गरिमामय उपस्थितिमा भव्यताका साथ सार्वजनिक गरियो । लगभग सबै स्रष्टाहरूलाई भव्य सम्मानका साथ ग्रन्थ हस्तान्तरण पनि गरियो । उक्त कार्यक्रममा राज्यका सम्मानित व्यक्तित्वहरूको पनि उत्तिकै बाक्लो उपस्थिति रहेकै थियो । ग्रन्थको कार्य थालनी गर्दा सिक्किमका अधिकांश स्रष्टाहरूसँग रचनाका निम्ति विनम्र अनुरोध पनि गरियो तर अधिकांश स्थानबाट बैरङ्ग फर्किनुपऱ्यो, त्यतिसम्म पनि ठीकै थियो अनि धेरैले आआफ्ना बाध्यताका कारण रचना दिन सकेनन् वा चाहेनन् त्यसमा हामी कसैको गुनासो छैन । आसाम, सिक्किम, दार्जीलिङ, खरसाङ, कालेबुङ, डुवर्स, मणिपुर, कार्बी आङलोङ, देहरादून, काठमाडौँ (नेपाल), सिलगढी आदि आदि स्थानबाट हामी भरिएकै थियौँ तर यी सबै कुरा हुँदाहुँदै पनि हाम्रा सर्जकहरू आआफ्ना गन्तव्यमा पुगेको पनि आज लगभग दुई वर्ष बितिसकेछ । सिक्किम सरकारले सोही दिन एन. बी. भण्डारीज्यूको जन्मदिन ५ अक्टोबरको दिनलाई राज्यमा बिदाको रूपमा घोषणा गरेको अनि मूर्ति स्थापना गर्ने घोषणा गरेको सुन्ने साक्षीहरू आज पनि धेरै छन् तर सबैभन्दा अचम्म र उदेक के देखिन्छ भने केही सीमित व्यक्ति छोडेर अधिकांश स्रष्टाहरूद्वारा अथवा अन्य आलोचकीय दृष्टि राख्नेहरूद्वारा पनि अटल भण्डारी ग्रन्थ सही थियो वा थिएन अथवा यस्ता यस्ता कुराहरू छोडिए, भण्डारीका कतिपय दह्रिला पक्षहरू ग्रन्थमा उत्रिन सकेनन् भन्नसमेत नसकेको स्थिति देखियो । प्रशंसा गर्नुपर्ने कुराहरू सो ग्रन्थमा थिएनन् होला अथवा कतिपय पूर्वाग्रहहरू पनि थिए होला ती कुराहरूलाई मानिलिऊँ तर समीक्षा, कठोर आलोचनाका निम्ति पनि कलम नउठ्नुको चित्र कस्तो होला । भण्डारीलाई के राजनीतिक व्यक्तित्वका रूपमा हेरिएको हो अथवा भण्डारीले आफ्नो समयभरि कुनै उल्लेखयोग्य कार्य नै गरेनन् त! भण्डारीको राजनीतिक व्यक्तित्वबाहेक उनको कुनै सामाजिक अस्तित्व थिएन त! उनी के सम्पादक, निबन्धकार, कथाकार वा आख्यानकार कहीँ पनि दह्रिन समर्थ थिएनन् । सबै जना सुतिरहेको अवस्था देख्दा यस्ता विविध प्रश्नहरू उब्जिनु स्वाभाविक हो ।
अझ मलाई के भन्न मन लाग्छ भने पवन चामलिङ सत्तामा रहिन्जेल उनको गुणगान गाउन नथाक्नेहरू, उनले थोत्रो कागजमा केही कोर्दा पनि त्यसमा दर्शन देख्नेहरूले आज उनका कृतिहरूमाथि किन कलम चलाउँदैनन् । उनका कविताका कृतिहरूमाथि किन दृष्टि जाँदैन । के राजनीतिक व्यक्तित्व हुँदा मात्र अथवा सत्तामा रहिरहँदा मात्र ऊ सर्जक हो अनि उसको गुणगान गाइरहने अनि सत्ताहीन भइसकेपछि सोही व्यक्तिका कृतिहरू, आलेखहरू, कविताहरू, निबन्धहरू समाजोपयोगी नहुने भए । सुवास घिसिङको मने उपन्यास पढेर कति जनाले आलोचकीय वा प्रशंसाका हरफहरू लेखेका छन्? एन. बी. भण्डारी, पवन चामलिङ, सुवास घिसिङहरूले सत्तामा नआईकनै साहित्य सिर्जना गर्थे, आआफ्ना अभिव्यक्ति समाज सम्मुख राख्थे अनि तिनै व्यक्तिहरू सत्तामा आएपछि घोर दर्शनशास्त्री, रामायण र महाभारतका सर्जकहरूभन्दा माथि हुनु अनि उनीहरूको सत्ता जानेबित्तिकै उनीहरूका कृतिहरू काम नलाग्ने पत्रु हुनु कत्रो विडम्बना । त्यसो हो भने आजका सर्जकहरूको लेखनधर्मिता के हो भन्ने प्रश्न उब्जिनु के नौलो कुरा हो!! आशा गरौँ अब हामी सबै जना सकारात्मक पहलका साथ अघि बढ्नेछौँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।