अफगानिस्तानका घुमन्ते पुस्तकालय


तालिबान अफगाननिस्तानको सत्तामा आएपछि त्यहाँका बालिका तथा महिलाहरुले औपचारिक शिक्षा पाउनबाट वञ्चित हुने डर बढिरहेका बेला पेन पाथ सिभिल सोसाइटी नामक गैरसरकारी संस्थाले भने उनीहरुको पढाइ नरोकियोस् भनेर मोटरसाइकलमा पुस्तक बोक्दै डुलुवा पुस्तकालय चलाउन थालेका छन् ।
अफगानिस्तानका दुई दाजुभाइ मतिउल्लाह र अत्ताउल्लाह वेसाले २३ सय जनाको सहयोगी जुटाएका छन् । जसको काम नै मोटरसाइकलभरि किताब बोकेर गाउँगाउँ जानु हो । गाउँगाउँमा उनीहरुले बालिका केन्द्रित पुस्तकहरु पढाउँछन् । उनीहरुको पुस्तकालयमा अधिकांश स्थानीय भाषा पास्तो र दारी भाषाका किताब नै भएकाले बालिकाहरुका लागि पढ्न अप्ठेरो भने छैन ।
पेन पाथले इतिहास, राजनीति र स्थानीय संस्कृतिमाथि लेखिएका पुस्तकहरु वितरण गरिरहेका छन् ।
अक्षर चिनेका बालिकाहरूका लागि भनेर पेन पाथले निकै पहिलादेखि यो अभियान चलाइरहेको थियो तर गाउँगाउँमा तालिबानको प्रभाव बढ्दै जान थालेपछि गएको मे महिनादेखि भने स्कुलहरु बन्द थिए । पढिरहेको स्कुल बन्द भएपछि पढ्ने चाह भएका बालिकाहरुका लागि भनेर पेन पाथले मोटरसाइकल लाइब्रेरी शुरु गरेको हो ।
अफगानिस्तानमा ६० प्रतिशत बालबालिका स्कुल जान पाउँदैनन् । प्राथमिक शिक्षापछि माथिको शिक्षा लिन तालिबानले प्रतिबन्ध लगाएको छ । यसका बाबजुद पनि अनौपचारिक शिक्षा नरोकियोस् भनेर पेन पाथले गाउँगाउँमा मोबाइल लाइब्रेरी शुरु गरेको जनाएको छ ।

मतिउल्लाह र अताउल्ला दाजुभाइले ११ वर्षयता चलाएको यस्तो अभियानमा देशभरि एक सय वटा बन्द भएका स्कुल खुलाएको दाबी गर्छन् ।
निरन्तरको गोली हानाहानमा गएको जनवरीदेखि अगस्तसम्म चार सय ६८ बालबालिकाले ज्यान गुमाइसकेका छन् । तालिबानको आतंकका कारण स्कुल पठाउन बन्द गरेपछि घरैमा स्कुल पुर्याउने अभिलाषाका साथ यी दाजुभाइले मोबाइल लाइब्रेरीको सोच निकालेका हुन् ।
‘स्कुल जान नपाए पनि हाम्रा पुस्तक उनीहरुको हातसम्म पुग्दा उनीहरुले ठूलो मुक्तिको महसुस गर्छन्,’ अभियन्ता मतिउल्लाह भन्छन्, ‘त्यसैले हामीले खतरा मोलेर भए पनि उनीहरुको हातमा पुस्तक पुर्याउने अभियान सञ्चालन गरिरहेका छौँ ।’
मतिउल्लाह र अताउल्लाहका बुवाले सन् २००२ मा निजी स्कुल खोलेका थिए । त्यसमा ९ सयभन्दा बढी बालबालिका अध्ययन गर्थे तर जब तालिबानहरु सत्तामा आए, उनीहरुको सो स्कुल बन्द भयो । आफ्नो अध्ययन बीचैमा रोक्नुको पीडा बुझेका यी दाजुभाइले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा वन बुक फर पिस नामक अभियान सञ्चालन गरे । यसबाट जम्मा भएका तीन लाख ४० हजार भन्दा बढी पुस्तकबाटै उनीहरुले मोबाइल लाइब्रेरी सञ्चालन गरिरहेका छन् ।

त्यसो त गएको महिना तालिबानले डुलुवा पुस्तकालयका एक सदस्यलाई गोली हानी हत्या गरेका थिए । त्यसको विरोध स्थानीय धार्मिक गुरुहरुले पनि गरेपछि उनीहरुलाई हाल अभियान सञ्चालनमा उति धेरै गाह्रो भने भएको छैन ।
यतिबेला अफगानिस्तानका केही भागमा केही समूह तालिबानविरुद्ध लडिरहेका छन् । यस्तोमा उनीहरुले आफ्नो अभियानलाई तालिबानको ठानेर गोली नठोकिदिऊन् भन्ने चिन्तामा छन् ।
(साउथ चाइना मोर्निङ पोस्ट डटकमबाट)