कुनै पनि उपन्यास वा किताब प्रकाशन हुनुअघि त्यसमा बिग्रेका हिज्जे मिलाउन वा अन्तिम प्रिन्टका लागि प्रेसमा पुर्याउनुअघि एक चरण सम्पादक वा लेखक वा अरु कसैलाई हेर्न किताब बनाएर दिइन्छ । त्यो किताब बजारमा आउने किताबजस्तै ठ्याक्कै हुन्छ । यस्तो प्रतिलाई एडभान्स्ड रिडिङ कपी (एआरसी) भन्ने गरिन्छ । यतिबेला बेलायती उपन्यासकार स्याली रुनीको ‘ब्युटिफुल वर्ल्ड, ह्वेयर आर यु’ उपन्यासको त्यस्तै प्रुफ हेरिएको एआरसी कपी सामाजिक सञ्जालमा बिक्रीका लागि राख्दा २०९ डलरमा बिक्री भएको छ ।
उनको सो उपन्यास सन् २०२२ को मे महिनामा बजारमा आउँदैछ । स्यालीको यसअघि निस्किएको उपन्यास नर्मल पिपल निकै रूचाइएको र पुरस्कृत उपन्यास थियो ।
पछिल्लो समय पुस्तक बजारमा पठाउनुअघि निकालिने सीमित एडभान्स्ड रिडिङ कपी (एआरसी) थन्क्याएर राख्नुको साटो सामाजिक सञ्जालमा बिक्री गर्ने क्रम बढ्न थालेको छ । स्याली रुनी मात्र यस्ती लेखिका होइनन् । तर उनको यो नयाँ उपन्यास कुर्न नसक्नेले बढीमा २० डलर पर्ने उपन्यासलाई २०० डलरभन्दा बढीमा किनेका छन् । किन्ने व्यक्ति को हो भनी खुलाइएको छैन ।
त्यसो त एआरसी कपी बिक्री हुने स्याली मात्र एक्ली लेखिका होइनन् । जोनाथन फ्रान्जेनको ‘क्रसरोड’ नामक उपन्यास पनि एआरसी बिक्री हुने सूचीमा परेको छ । सन् २०२२ को अक्टोबरमा बजारमा ल्याउने तयारी गरिएको सो उपन्यास इबे नामक वेबसाइटमा बिक्रीका लागि राखिँदा १२४ डलर तिर्नेहरू देखिए ।
विकसित मुलुकमा आफूलाई मनपर्ने लेखकका (दुर्लभ) पुस्तकहरू बढी मोल तिरेर संकलन गर्ने चलन नयाँ होइन । जेके रोलिङको ‘ह्यारी पोटर एन्ड द फिलोसफर्स स्टोन’को प्रुफ हेरिएको कपी ३० हजार पाउन्डभन्दा बढीमा बिक्री भएको थियो । यो सूचीमा अर्नेस्ट हेमिङवे अथवा जोन स्टेनबेक पनि पर्छन् ।
तर पछिल्लो समय एडभान्स्ड रिडिङ कपी (एआरसी) किन्नेहरुको संख्या बढ्न थालेको छ । खासगरी पछिल्लो समय ब्लगर तथा इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा प्रभावशाली पुस्ताले यस्ता एआरसीलाई आफ्नो प्रचारका लागि उपयोग गर्ने गरेका छन् ।
यस्तो किन भइरहेको छ त ? स्क्राइब प्रकाशनका एडम होवार्ड भन्छन्, ‘अचेल आफूलाई विशेष देखाउने चलन व्यापक हुन थालेको छ । बजारमा पाइनुअघि नै कुनै पुस्तक हात पर्दा सामाजिक सञ्जालमा लाइक र लभ रियाक्टको बाढी नै आउने हुनाले यस्ता कुरामा प्रभावशाली पुस्ताले आफ्नो हैसियत देखाउन बढी मोलमा किन्ने गरेका छन् ।’
उनको आश्चर्य चाहिँ, ‘अबका केही महिनामा बजारमा आइहाल्ने रुनीको उपन्यासका लागि त्यत्तिका रुपैयाँ हाल्नु भनेको प्रशंसकहरूको पागलपन नै हो ।’
होवार्ड भन्छन्, ‘यस्तो चाहिँ यसअघि देखिएको थिएन ।’
सामाजिक सञ्जालमा गेलीब्राग ह्यासट्यागमा स्यालीको उपन्यासको चर्चा भइरहेको छ । प्रिन्टिङ प्रेसमा काठको छापालाई गेली भनिन्छ । उहिले अत्याधुनिक प्रिन्टिङ प्रेसको चलन नहुँदा काठको छापा बनाई पुस्तक प्रकाशन गरिन्थ्यो ।
‘किताब आउन महिनौँ बाँकी रहँदा जब कसैले त्यसको प्रिन्टेड कपी सामाजिक सञ्जालमा हाल्छ, अरुको ईर्ष्या हेर्न लायक हुन्छ,’ बेलायतस्थित ब्रिस्टोल शहरका किताब व्यापारी तथा ब्लगर डन बसेट भन्छन्, ‘ब्लगर हुनुको नाताले यस्ता छापा पुस्तकहरु बेलाबेलामा मैले हात पारिरहेको हुन्छु र मलाई ‘गेली’का ठेली पाइन्छन् कि भनी सोधिरहेका हुन्छन् ।’
एआरसी किताबहरू बेचविखन गर्न भने पाइँदैन । त्यस्ता किताबमा स्पष्ट रुपमा ‘बिक्रीका लागि होइन’ भन्ने लेखिएकै हुन्छ । यस्ता किताबमाथि प्रकाशकको कानुनी अधिकार हुन्छ । यसको अर्थ, प्राविधिक रुपमा एआरसी किताबहरूलाई जुनसुकै बेला प्रकाशकले फिर्ता माग्न सक्छ । तर यस्तो झिनामसिना काममा प्रायः प्रकाशकहरू हात हाल्न चाहँदैनन् । त्यसै पनि एआरसी किताबहरूको माग पछिल्लो समय मात्र बढेको हो । यसअघि यस्ता किताबहरू कामै नलाग्ने मानिन्थ्यो । हुन पनि घरमा कसले चाहिँ प्रुफ मिस्टेक भएको वा बिग्रिएको किताब राख्न चाहला र ?
तर अमाजन डटकमले भने यस्ता किताबहरुप्रति वक्र दृष्टि लगाउने गर्छ । अमाजनले कतै प्रिन्टमा नभएका वा नभेटिने किताबहरूलाई मात्र विशेष रुपमा बेच्ने गर्छ । यदि कसैले बिक्रीका लागि होइन भन्ने लेखिएका किताबहरु बेच्न खोज्यो भने त्यसलाई प्रतिबन्ध लगाउने मात्र होइन, जरिवाना नै तिराउँछ । इबेले भने यस्ता कुरामा ध्यान दिँदैन । उसकहाँ जसले जे बेचे पनि हुन्छ । (कतिले त शरीर नै बेच्छु भनेर राखिरहेका हुन्छन् ।)
खासगरी बेलायतमा भन्दा अमेरिकामा यस्ता कुरालाई त्यति महत्त्व दिइँदैन । अमेरिकामा एकै जना मानिसले धेरै एआरसी किताबहरू बेच्ने गरेको समेत पाइएको छ ।
प्रकाशन गृह स्क्राइबका होवार्ड भन्छन्, ‘तपाईंको किताब गज्जबको हुनुपर्छ । डिजाइन पनि त्यत्तिकै आकर्षक हुनुपर्छ । त्यसपछि त मान्छेले हेर्दैको रहरलाग्दो किताबलाई छोउँछोउँ गरिहाल्छन् नि ! यस्तोमा उनीहरुले हात पारेका सीमित किताबलाई बढी दाममा बेचून् कि जेसुकै गरुन् उनीहरुको कुरा हो । तर त्यसले त किताबकै चर्चा हुन्छ, किताबकै भाउ बढ्छ । यसले प्रकाशक र लेखक दुवैलाई फाइदा हुन्छ । त्यसैले कुनै एउटा वा दुइटा किताबको एआरसीप्रति प्रकाशकले ईष्र्या गर्नु आवश्यक छैन ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।