४ वैशाख २०७७ (१६ अप्रिल २०२०)

१३ चैत्र २०७६ देखि कोरोना डायरी रच्न थालेको । आज २१ औँ दिन भयो । पुरानो तेराखले उपहार दिएको डायरी सकिएर आज यो डायरी नं. २ मा लेख्न थालेको छु । सानो डिमाइ साइजको कालो डायरी छ । यो डायरी एकता बुक्सको नववर्षको उपहार हो ।

आज ठिकै समयमा ब्यूँझेँ । बिहान धेरै अघि ब्यूँझेको शरीरलाई फकाएँ— एकछिन सुत यो दिनमा ज्यदा लोलाउँछ किनभने घडी हेर्दा २ः२० मात्र भएको थियो । अनि पल्टाएँ यसलाई र झ्याप्प निद्राको सिरक भित्र पसेँ । जाडो समाप्त भएको वैशाख आरम्भमा एकपल्ट ता सिरक फ्याँकौँ कि जस्तो पनि भएको थियो ।

बेलुका सुत्ने बेलामा पल्टेर सर्वत्र अन्धकार पारेपछि एउटा सपनाको विम्बले मन भरिन थालेको थियो । तर अलिक आलस्यले जित्यो र जुरुक्क उठौँ भन्दाभन्दै कति सुखकर निद्राले छोप्यो थाहै पाइनँ । बिहान उठेर सम्झिन खोज्दा त्यो सारा सपना जस्तो भएको थियो । हिजो ज्ञान बहादुरजीसँग मायिक यथार्थवादबारे छोटो चर्चा भो, कुरा त्यस्तै हो ।

मानिस चौबीसै घण्टा सजग र सक्रिय छ । कोही चिन्तामा पीरमा, कोही मन बहलाउने अरुलाई बुझाउने, कर्ममा आफ्नो ज्ञान बाँड्नेमा छन् कोही । नेट खुलेको छ । सबै जना अन लाइनमा देख्छु । रातदिन सुतेको छैन सर्वत्र जाग्रत छ । भय मात्र छैन, यो समय कसरी कटाउँ भन्ने चिन्ता पनि । स्रष्टाहरु धेरै जसो दह्रो मनोबल भएकाहरु केही गर्दैछन्, कोही काम्नेहरु कलम कापी विसाएर काम्ने पनि छन् । गाउँमा मकै छर्न थाले, काँक्रा फर्सी रोप्न थाले, बर्खे धान रोप्तै छन्, गहुँ काट्तै छन्, दूध दुहुँदै छन्, रोड सफा गर्दैछन् घरमा बस्ने वर्ग बेग्लैछ, गोरेटामा, खेतबारीमा, सडकमा जीवन बेग्लै छ।

बिहानै ऋचा छोरीले डीसीबाट लेखिन्— हिजो व्यस्त थिएँ प्रेसिडेन्टलाई लेख्नु थियो, भाषा मिलाएँ । त्यो स्वीकृत भयो थोरै संशोधन पश्चात् आज ढुक्क छु । किन यति चाँडै उठ्नु भो बुबा ?

मैले भने — यो समय अमूल्य छ । शरीर ता जति खाए पनि जति सुताए पनि तृप्त छैन नानी । यसलाई थोर घाँस पराल दिएर अरु ज्यादा जोत्नुपर्छ । समय सकिएपछि ता चल्दैन नानी । चिन्ता नगर्नू हाम्रा पिताजी बारम्बार भन्नुहुन्थ्यो— स रक्षति रक्षित योही गर्भे अर्थात् तिनैले हाम्रो रक्षा गर्नेछन् जसले गर्भमा बचाएर ल्याए । अनि मैले छोरीलाई आफ्नो उपलब्धी सुनाउन खोजेँ यस्तो सकारात्मक एक कविता छ, आरम्भको एण्ड पीपल स्टेइड हौम भन्ने । त्यसको हिजै अनुवाद गरेँ नेपालीमा नानी । अनि किटी ओमाराको त्यो कविता कविता छोरीलाई फेरि सुनाएँ ।

“हो बुबा कति राम्रो छ मलाई थाहा छ”, भन्दै शुरुका चार पाँच लाइन अंग्रेजीमै कण्ठ सुनाइन । म छक्क परेँ, तृप्त भएँ । आफूसित आफ्नै परिवारमा यस्तो साहित्यिक/बौद्धिक वार्ता गर्ने सचेत छोरी हुनु हाम्रो कत्रो सौभाग्य । तर यो कुरा उनलाई सुनाइनँ । अनि कविता वाचन गरेर सुनाएँ । चारवटा शब्दमा अझै जोड दिएँ— अनभिज्ञतापूर्वक, खतरापूर्ण, बुद्धिहीन, अर्थशून्य अनि हृदयशून्य भै बाँच्ने (कोरोना डायरी २३ मा हेर्नुहोला) ।

छोरी कति खुसी भइन्, उता न्यूयोर्कमा आठ बज्नै लाग्यो । यता उज्यालो फाट्यो आज बल्ल पहिलोपल्ट एभोकाडो (ठेकी फल) को वृक्षमा कोइलीले गाएको सुनेँ नत्र यो सारा वसन्त कुखुरा र परेवाले धानेका रहेछन्, म छक्क पर्दैछु, सधैँ त्यसरी गुञ्जायमान हुन्थ्यो ।

अनि फलाहारीजीको फोन आयो । मन अलिक काँत्रिएको उदास बन्दै गएको । उहाँका शब्दमा मन कसोकसो अमिलो बन्दैछ । मैले फेरि तिनै शब्द बोलेँ जुन छोरीसँग बोलेको त्यही कविता पनि सुनाएँ र भने तपाईं सबै ज्ञान भएको व्यक्ति दृढ भएर बस्नोस् । कुनै कुराको चिन्ता नलिनोस्, यता म छु, मलाई हेर्नुहोस् ।

त्यसपछि काम पक्रेँ । यो नयाँ डायरीको दुई–चार पृष्ठ अघि बढाउनुछ । गर्दै थिएँ, आजको योजना बनाउँदै थिएँ मनमा लाग्यो— आज यति दिन व्यतीत भए । एक उपन्यासकै कथा थाल्नु थियो । कोरोना यति लामो हुन्छ भन्ने अनुमान गर्न सकिएन फेरि १५ दिन थपियो । भारतमा अझ लामो छ १४ अप्रिलसम्म अर्थात् हाम्रोे वैशाखको अन्तिम ।

अझै पनि म यस डायरीलाई उपन्यासमा परिणत गर्न सक्छु । यसैबेला गौँडाकोटबाट भाइ डा. मतीप्रसाद ढकालले एउटा भाइरल पठाए— वैदिक साहित्यको स्वरुप (पुस्तक परिचय) लेखक डा. ऋषिराम रोग्मी ।

भाइ जागै रहेछन् भनी फोन गरेँ । एकछिन संवाद चलायौँ । उनले भने— दाजु यतिखेर तीन लाख शब्दको ग्रन्थ प्रुफ पढ्दै छु । अलिक दाहिने हात गल्छ, बिसाउनुपर्छ बेलाबेला बिस्तारै हुन्छ । तर यिनले केही अघि दुई कार्य गरिसिध्याएका छन्— भारती गौतमका लेखहरुको संकलन विगत र बाडुली अनि केदार संकेतको आख्यान अफगानी रणमैदान । राम्ररी भाषा शुद्ध पार्छन् व्याकरणका विद्वान् लेखक भाइ । फेरि मेलै एक प्रस्ताव राखेँ— भाइ, मेरो एक निबन्ध संग्रह छ, त्यो पनि हेरिदिनुपर्‍यो कसो होला ?

दाजु, यो तीनलाख शब्दको सकेपछि त्यो गरौँला के कत्रो होला ?

तेह्र–चौधवटा निबन्ध छन् भाइ प्रकाशन तयारी गर्नुछ ।

उसोभए चालीस पछास हजार शब्द होलान् त्यस्तै वा अझ कम्ती ।

मनमनै हिसाब गरेँ— लामो निबन्ध दुईदेखि तीन हजारको हुन्छ । मेरा पन्ध्र पुगे पनि पैतालीस हजार हुन्छ । अहिलेका कम्प्युटर प्रयोक्ताले यति पृष्ठ भन्न छोडेर यति शब्द भन्न सक्ने भए । अझ वैज्ञानिक भएन “ यति किलोवाइट छ, दाजु” भन्नुपर्ने ।

दुईपल्ट दवाइ चिया पिएँ । अनि भाइ ईश्वरीको फोन आयो— दाजु दर्शन गरेँ ।

यो राति नै आशीर्वाद भाइ, कता हो ?

पर खोलाको डिलसम्म पुगेर आएँ । मकै एकदम राम्रा छन् । दाजुको इमो छैन होला— म फोटो खिचेर पठाउने थिएँ ।

छैन भाइ मेरो मोबाइलबाटै कसैले फुकालिदिएछ ।

अनि उसले टिमटिमे माइला माओली भाइ हरिकोे फोन नं. पठायो ९८४२१०१३०१ अनि मैले तत्कालै फोन गरेँ— हाम्री जेठी माइजूलाई कस्तो छ नि भाइ यो संकटमा ?

आजदेखि राम्रो भो दाजु, आमा फिर्नुभो । जोराले छोडो, अकिलति माड खाइयो अनि जंगल पनि लाग्यो ।

लौ अब ढुक्क भयौँ भाइ खबर गर्दै गरौँला ।

त्यसपछि निबन्धको संख्या के कति रहेछ भनी ल्यापटप खोलेर सुनिश्चित गरेँ—
१. आज आफ्नै उत्सव मनाउँछु
२. असारे झरीको एक साँझ
३. शताब्दी महोत्सवको अन्त्यमा वागीश्वरीको सम्झना
४. अन्त्यमा बटौलीको बास
५. बुद्धवाणी सुनेपछि सत्यमाथि एक चिन्तन
६. त्यो आनन्दभूमिमा बितेका दुई दिन दुई रात
७. अनन्त उज्यालोतिर पस्ने दैलाका सामू
८. वाइपास सर्जरीको दिल्ली डायरी
९. डेन्मार्क यात्राः एक पूर्व कल्पना
१०. सबै धाँजा परेको छ यहाँ
११. धु्रवचन्द्र गौतमसित एक बिहान
१२. प्राण लिएपछिका शब्दहरु
१३. नेपाली साहित्यमा सिर्जना को धरातल
१४. २०१५ को नोबेल पुरस्कार र स्रष्टाको मौनता
१५. सम्पूर्ण जीवनभरि बल्ने एकै बत्ती ः पुस्तकालय
१६. महाभूकम्पले महाशन्यमा लडाएको यो मन
१७. सिर्जनाको उद्देश्य र निर्भ्रान्त स्रष्टा
१८. सम्झनाको तरेलीमा एक अमर स्रष्टा

मिलाउँदा यस्तै २० पुग्लान, अनुमानित २०० पृष्ट हुन जाला, अनुमानित ६० हजार शब्द त्यसमा कति केवी, कति क्यारेक्टर ।

आजको दिन म अर्कै कर्ममा अर्पण गर्न चाहन्छु— कति सकिन्छ मेरो श्रीलङ्का यात्राको शुद्ध।शुद्धीमा समर्पित हुन चाहन्छु । यतिबेला आठ बज्यो सेवा अंजनाको ब्रेकफाष्टमा झर्ने बेला भयो भन्ठानी म पनि झरेँ ।
आज अलिक नौलो ब्रेकफाष्ट तयार भएछ जसको नाम छ फापरको फ्याप्लो । त्यो लिएर आइपुग्दा सिक्किमका अमर बानियाँ लोहोरोको मेसेन्जर आयो अर्काे एक मेसेज पनि थियो ।

दोस्रो विश्वयुद्धपछि संसारका कुना कुनामा विज्ञान र प्रविधिको आविष्कारको प्रभाव फैलियो । त्यसैगरी यो कोरोना काल समाप्त भइसक्ता नेपालका असी प्रतिशत पाका, असाक्षर, जेष्ठ नागरिक सबैले भाइबर, मेसेञ्जर, भिडियो कल सबै चलाउन सिक्ने छन् । सिलिगुडीका मुक्ति बरालले हिजो सिकाएका लोहोराले आज यस्तो हर्ष प्रकट गरे । तीनचार दिनदेखि ७८ वर्ष पुगेका रामबहादुर पहाडीले पनि मेसेन्जरमै दोहोरो गर्न थालेका छन् । यी प्रतिनिधि पात्र हुन् । जगत् यसरी बदलिरहेको छ ।

दिनको समय अधिकांश आज मेरो श्रीलङ्का यात्रामै समर्पित गरेँ । अब अरु दुई दिन गर्दा सिध्याउँछु होला भन्ने छ । आजको व्यायाम ग¥यौँ आधिघण्टा तर कडा खालको रहेछ कति त गर्न नसकिने । नसकिनेमा हिँडेर पनि समय पूरा ग¥यौँ, सेवा त्यस्तो कडा गर्न पनि सक्छिन् ।

अनि एकछिन कोरोनाको ध्यानमा लागेँ । बाढी, युद्ध, भूकम्प, ज्वालामुखी जस्तो सर्वनाशक ता होइन यो तर पनि यो हामै्र रहरले विज्ञानको घोडा चढेर रातारात विश्वव्यापि बन्यो । त्यो डरलाग्दो कुरा बन्यो । जे पनि ग्लोबल छ, कुनै स्थानीय तहमा सीमित रहने कुरा छैन । औषधीको आविष्कार होस्, रोगको प्रसार होस्— बन डढेलो छ प्रत्येक बस्तु ।

यसको भयले ज्यादा कष्ट उत्पन्न गर्‍यो । प्रभावित अप्रभावित प्रत्येक देशमा उही छ स्थिति । मूल कारण ता यातायातको साधन हो । नत्र युरोपदेखि एसिया यो व्याधि यसरी फड्केर आउनु सम्भव थिएन । एकातिर यो अकल्पनीय प्रगति हो अर्कातिर सर्वनाशको सरल राजमार्ग पनि रहेछ ।

यो विश्वग्रामीकरण हामीले नै खोजेको हो, निम्त्याएको काल हो । विज्ञानको उन्नति पनि हाम्रै आह्वान हो । नराम्रो परिस्थिति उत्पन्न भएपछि कोही पश्चिमलाई धारे हात लगाउँछन्, कोही पूर्वलाई त्यो पनि केवल मूर्खता हो । आफ्ना महाभूल अर्कालाई खन्याएर जनतालाई ढाँट्ने जुक्ति मात्रै । सबै त मानवकै कर्म हुन् ।

आज कसलाई मन छैन महाशक्ति बन्न ? इरान, इराक, रुस, चाइना, जापान, भारत, कोरिया, बेलायत, फ्रान्स, अमेरिका— प्रत्येक डुक्रिँदै सिँगौरी खेलिरहेक साँढे हुन् । भेटे आन्द्राभुँडी उधिन्न तयार छन् अरुका । त्यो आणविक होडबाजीको तुलनामा यो कोरोना सानो कुरा हो । यो गलेर थाकेर थन्किएला भन्ने आशा छ ।

संकट र आपतकोे घडी आइलागेपछि मानिस दोधारमा, चिन्तामा र दुःखमा डुब्दै जान्छन्, आक्रोशित हुँदै जान्छन् । कवि कलाकारहरुको सिर्जना शक्ति पनि झन तीव्र हुँदै जाँदोरहेछ— युद्ध साहित्यको विशाल भण्डारले देखाउँछ । अझ अब त लेखन वाचन प्रकाशन कर्महरु अति सरल माध्यममा गइसके त्यसैले गर्दा नेपाली साहित्यको सिर्जना र विस्तार पनि थामिनसक्नु भएको छ । कोरोना विषयक सामान्य ज्ञानलाई नै लिएर कविता रचिँदैछन् । आज दिउँसो मझेरीमा प्रसारित एक दुई सुनेँ । अपराह्नमा सुनेका हिरा भट्टको विन्ती छ भित्रै बस एक दुन्दर रचना आएछ सरु गुरागाईंकोे सुरिलो स्वरमा ।

आज अत्यन्तै दुःखको समाचार आयो । कतारमा ६९ वटा शव बाकसमा छन् । उता दहासंस्कार गर्न दिएन, यता ल्याउन सकिएन भन्छ सर्कार । ती जनताको रेमिट्यान्स ल्याउन हुने तर तिनको शव ल्याइदिन सहयोग गर्नु पर्दैन ? सरकार भन्ने कुरा मूर्ख र धूर्तहरुको संगठन रहेछ ।

यता भारी कष्ट बढ्दै छ । त्यो स्वाभाविक छ । खासगरी यातायात बन्द भएकाले दशौँ दिनको पैदल यात्रा तय गरी घर पुग्ने प्रण गरेका नागरिकहरुलाई चोरबाटादेखि पनि फर्काएको खबर आएको छ । आजको कान्तिपुरको केही हेड न्यूज यस प्रकार छन्ः पीसीआरको दायरा घटदै, घर पुग्ने आत्तुरीले महकालीमा हेलिए, खाने चिज न जाने ठाउँ, खाडीका नेपाली फर्किन चाहे के गर्ने ? खाडीबाट कामदार ल्याउन सकिँदैन, राजधानीलाई नदुखेको सुदुरुपश्चिम, घर हिँड्नेको ताँतीले मन रुवाउँछ, मजदूर भन्छन्— सरकार घर पुर्‍याइदेऊ ।

सबै खबर समाचार, अनलाइन, पेपर, एफ एम, कोरोनाभय छ । यो विमार लागेमा यो गोली खाँदै गर्ने अथवा यो दबाइ घस्तै गर्ने भन्ने पनि छैन किनभने कुनै दबाइ छैन, कुनै गोली वा झोल छैन; पहिलो अनुभव भोग्दैछ देशले । सरकार आतसमा छ, मानिस पनि । दुःख कष्टमा सरकारले हेर्नुपर्दछ भन्ने जनधारणा छ तर आफूआफू जोगिनुपर्छ भन्ने सरकारको उर्दी आइसक्यो । त्यसै समयले टारेर रोग निको होला भन्ने छ ।

एउटा कुरा उल्लेख्य छ। कोरोनाको बारेमा हाम्रो ज्ञान सीमित छ । यसैबेला कोरोना सम्बन्धि प्रचार, उप–प्रचार र प्रविधिमा थामिनसक्नु विदेशी शब्द हुलेर नेपालीले बुझ्न नसक्ने बनाएका छन् । भूकम्पले एपिसेन्टर, म्याग्निच्यूड, शक, आफ्टर शक, रिक्टर स्केल आदि हुल्यो । पत्रकारले ती ल्याए प्रशासकले तिनमा छाप लगाए । यसपालि झन् खपिनसक्नु छ स्थिति । नेपाली भाषामै कोरोना प्रवेश गरेजस्तो लाग्छ । पुरानो एपिसेन्टर छँदैछ त्यसमा हट स्पट, पीपीइ, आरडीटी, टेष्ट किट, पीसिआर, क्वारेन्टाइन, अइसोलेशन, स्वाव टेस्टिङ, पोजिटिव्, निगेटिव, कन्ट्याक्ट ट्रेसिङ, लकडाउन— समाचारै नबुझिने भयो । डाक्टर पत्रकार र सरकारले मात्र बुझून । नेपाली भाषामा पस्यो ग्लोबल भाइरस । यही हो भाषा मास्ने ऐंजेरु ।

आज भरदिन म अध्ययनमा लागिरहेँ । मेरो श्रीलङ्का यात्राको सम्पादन अन्त्यमा पुर्‍याएँ— पहिलो भ्रमण । अरु धेरै पल्ट गर्नु पर्ला । त्यहाँ रे ब्राडबरीको अन्तर्वार्ता मात्र राख्न सकेँ अर्काे सकिनँ ।

भर्खरै ज्ञानबहादुरजीबाट फोन आयो— सुकरातको पाइला बारेको उहाँको लेख सकिन लाग्यो । अत्यन्तै गहिरो अध्ययन छ यसको गूढार्थ खोज्ने प्रयत्न छ । आज अरु कर्म भएनन् तर एक ठूलो काम भो । मेरो ल्यापटप भरिएको थियो उसको भाषामा कन्जष्टेड—न्यूयोर्कमा बसेरै ऋचाले साफ गरी । सेवाले नयाँ बीटरुट सूप बनाएकी । वास्तवमा त्यो रातो सलगमको झोल थियो ।