१. विषय प्रवेश
अनुसन्धानका क्षेत्रमा शोध प्रतिवेदनको विशिष्ट भूमिका रहने गर्दछ । यसलाई अनुसन्धान प्रतिवेदन, शोध प्रतिवेदन, शोधप्रबन्ध वा थेसिस भन्ने गरिन्छ । शोधकार्य गर्दा अगाडिका सम्पूर्ण कामहरू सम्पन्न गरी अन्तिम प्रतिवेदन तयार गरिन्छ त्यही नै शोध प्रतिवेदन हो । शोधपत्र, अनुसन्धान प्रतिवेदन वा थेसिस लेखन प्राविधिक कार्य भएको हुँदा यसका लागि निर्धारित अङ्गहरूको व्यवस्थापन, सैद्धान्तिक ढाँचाअनुसारको बाह्य तथा आन्तरिक सङ्गठन र समग्र तत्त्वहरूको सचेत पालना अनिवार्य मानिन्छ । अनुसन्धान तह पूरा गर्ने, उपाधि हासिल गर्ने, परियोजना पूरा गर्ने वा व्यावसायिक वृद्धि गर्ने आदि विभिन्न उद्देश्यले गरिने कुराको चर्चा अगाडि नै भइसकेको छ । ती जुनसुकै प्रयोजनका लागि गरिने अनुसन्धानमा पनि अन्तिम प्रतिवेदन लेख्नै पर्छ । त्यो प्रतिवेदन लेख्दा विषयक्षेत्र, अनुसन्धानको उद्देश्य, अनुसन्धानको प्रकृति, तह आदिका कारण समग्र सङ्गठन वा ढाँचामा तात्त्विक रूपमा थोरै भिन्नता देखिन सक्छ तापनि समग्रमा त्यति ठुलो फरक देखिँदैन । स्नातक तहमा ५० पूर्णाङ्कका लागि गरिने लघुअनुसन्धान, स्नातकोत्तर तहमा १०० पूर्णाङ्कका लागि गरिने अनुसन्धान र विद्यावारिधि उपाधि प्राप्त गर्नका लागि गरिने विशेष अनुसन्धान आदि र नेपाल प्रज्ञा–प्रतिष्ठान जस्ता प्राज्ञिक निकायहरूले विशेष परियोजनाअन्तर्गत रहेर गराउने अनुसन्धान वा कुनै औद्योगिक क्षेत्रको स्तरोन्नति आदिका लागि गराउने अनुसन्धान आदि सबैका लागि शोधकार्य गर्न आवश्यक नियमहरूको पालना अनिवार्य मानिन्छ र अन्तिम प्रतिवेदन बुझाएर मूल्याङ्कन गरी पूर्णरूपमा स्वीकृत नभएसम्म त्यसका बारेमा संशोधन वा परिमार्जन गर्ने कार्य भइरहन्छ । त्यसैले यस लेखमा अनुसन्धानका लागि आवश्यक चरणहरू के के हुन्छन् ? शोधप्रबन्धको पहिलो मुखपृष्ठदेखि अन्तिम पृष्ठसम्मका आवश्यक अङ्गहरू के के हुन् र शोधप्रबन्धको समग्र ढाँचा कस्तो हुन्छ भन्ने बारेमा केही सैद्धान्तिक र केही व्यावहारिक जानकारी प्रस्तुत गरिएको छ ।
२. अनुसन्धान र शोध प्रतिवेदनको सम्बन्ध
शोध, अनुसन्धान, खोज, अन्वेषण, गवेषण, रिसर्च आदि जे भने पनि एउटै कुरा हो भन्ने सन्दर्भमा अघिल्ला भागहरूमा नै विस्तृत चर्चा गरिएको छ । तिनै शोध, खोज वा अनुसन्धान गरिसकेपछि, नयाँ कुराको प्राप्ति भइसकेपछि, नयाँ कुराको आविष्कार भइसकेपछि, नयाँ ज्ञान पत्ता लगाइसकेपछि अथवा पटक पटकको प्रयासबाट कुनै नयाँ तथ्य फेला परिसकेपछि त्यसलाई सम्बन्धित निकायसम्म पु¥याउनका लागि अथवा बाहिर ल्याउनका लागि लिखित रूपमा तयार पारिने प्रतिवेदन नै शोध प्रतिवेदन हो । यसलाई शोधपत्र वा शोधप्रबन्ध पनि भनिन्छ । ‘शोध’ वा ‘अनुसन्धान’लाई अङ्ग्रेजीमा ‘रि–सर्च’ (Research) भनिन्छ भने ‘शोधपत्र’, ‘शोधप्रबन्ध’, ‘शोध प्रतिवेदन’ वा ‘अनुसन्धान प्रतिवेदन’लाई अङ्ग्रेजीमा ‘थेसिस’ (Thesis) अथवा ‘रि–सर्च रिपोर्ट’ (Research Report) भनिन्छ ।
शोध प्रतिवेदन नयाँ ज्ञानको खोजी गर्दा गरिएका प्रयासहरू र प्राप्त निष्कर्षको समग्र प्रस्तुति हो । यसले निर्धारित समस्याको समाधान गर्न के कस्ता कार्यहरू गरिएछन् र कस्तो प्राप्ति भएछ भन्ने कुराको आद्योपान्त जानकारी दिने काम गर्दछ । साथै शोधार्थीले नयाँ ज्ञानको प्राप्तिमा होस् वा ज्ञानको अभिवृद्धिमा होस् के कस्ता तथ्यहरू, सन्दर्भसामग्री र आवश्यक स्रोत र साधनहरूको प्रयोग गरेको रहेछ र त्यसलाई कत्तिको औपचारिक, वैज्ञानिक र गहन विश्लेषण गरेर उपयोगी निष्कर्ष निकालेको रहेछ भन्ने कुराको स्पष्ट चित्र शोध प्रतिवेदनमा देखिने हुनाले अनुसन्धान र शोध प्रतिवेदन एकअर्काका पूरक मानिन्छन् । अनुसन्धान नगरी प्रतिवेदन लेखन सम्भव छैन र प्रतिवेदन नबुझाई अनुसन्धान कार्यले पूर्णता पाएको मानिँदैन त्यसैले यी दुईका बिचमा अन्योन्याश्रित सम्बन्ध रहेको देखिन्छ ।
३. अनुसन्धानका चरणहरू
अनुसन्धान कार्य हतारमा हुँदैन र शोध प्रतिवेदन लेखनभन्दा अगाडि नै धेरै कामहरू सम्पन्न भइसकेको हुनुपर्छ । ती सबै कामहरू अत्यन्त व्यवस्थित, जिम्मेवारीपूर्ण र प्राज्ञिक दायित्वबोधका साथ सम्पन्न गरिन्छन् । अनुसन्धान गर्दा निम्नलिखित चारओटा चरणहरू पूरा गरेर मात्र प्रतिवेदन लेखनको चरणमा पुगिन्छ । ती चरणहरू र त्यसअन्तर्गत गरिने कार्यहरू निम्नलिखित छन्—
चरण १: समस्या चयन
यो सबैभन्दा पहिलो चरण हो । यस चरणमा शोधकार्यका लागि आवश्यक विषयक्षेत्र, शोधशीर्षक र समस्याको छनोट गरिन्छ । शोधकार्यमा समस्या भनेको अनुसन्धान गर्न लागिएको मूल विषय हो ।
चरण २: शोधप्रस्ताव लेखन
शोध समस्याको छनोट भइसकेपछि दोस्रो चरणमा शोधप्रस्ताव लेख्नुपर्छ । शोधप्रस्ताव शोधकार्यका लागि गरिने प्रारम्भिक मार्गनिर्माण हो । यसमा शोधकार्यका लागि प्रारम्भिक रूपरेखा निर्माण गरी अघिल्लो यात्राका लागि मार्गनिर्देश गरिन्छ ।
चरण ३: सामग्री सङ्कलन
शोधप्रस्ताव लेखन र स्वीकृतिको प्रक्रिया पूरा भएपछि तेस्रो चरणमा शोधकार्यका लागि आवश्यक सामग्रीहरूको सङ्कलन कार्य गरिन्छ । सुरुमा आवश्यक हुन सक्ने सम्भावना भएका सबै सामग्रीहरू भेला पार्ने काम गरिन्छ ।
चरण ४: सामग्रीको अध्ययन तथा विश्लेषण
तेस्रो चरणमा भेला पारिएका सम्पूर्ण सामग्रीहरूको चौथो चरणमा व्यापक अध्ययन, सङ्गठन, वर्गीकरण, विश्लेषण, व्याख्या, सामान्यीकरण र मूल्याङ्कन गरिन्छ । यस चरणमा आइपुगेपछि मात्र कुन सामग्रीको के महत्त्व र उपयोगिता छ भन्ने कुरा थाहा पाइन्छ । अघिल्लो चरणमा आवश्यक छन् कि भनी भेला पारिएका कतिपय सामग्रीहरूलाई यस चरणमा आएर छानबिन गरी फ्याँक्ने काम गरिन्छ र आवश्यक सामग्रीहरूमध्येमा पनि कुन तहको सामग्री हो ? त्यसको वर्गीकरण र व्यवस्थापन गरिन्छ ।
चरण ५: प्रतिवेदन लेखन
अब मात्र शोध प्रतिवेदन लेख्ने समय आउँछ । पूर्वनिर्धारित सामग्रीहरूका आधारमा अब औपचारिक रूपमा प्रतिवेदन लेखन कार्य सम्पन्न गरिन्छ । त्यसैलाई शोधप्रबन्ध वा शोध प्रतिवेदन भनिएको हो । प्रस्तुत शोध प्रतिवेदन निर्माण गर्दा त्यसका लागि आवश्यक सबै अङ्गहरूको पालना हुनु अनिवार्य मानिन्छ र त्यो शोधप्रबन्ध निर्धारित ढाँचा अथवा सङ्गठनभन्दा बाहिर जानु हुँदैन ।
४. शोध प्रतिवेदनको ढाँचा वा सङ्गठन
शोध प्रतिवेदनको पहिलो पृष्ठदेखि अन्तिम पृष्ठसम्मको बाह्य तथा आन्तरिक बनोटलाई त्यसको ढाँचा वा सङ्गठन भन्ने गरिन्छ । त्यसका मूलतः तीन भाग हुन्छन् । तिनलाई एकै ठाउँमा यसरी राखेर हेर्न सकिन्छ—
१. प्रारम्भिक भाग
(क) मुखपृष्ठ
(ख) स्वीकृति पत्र
(ग) प्रतिबद्धता पत्र
(घ) भूमिका वा कृतज्ञता ज्ञापन
(ङ) विषयसूची
(च) तालिका वा चित्रसूची
(छ) चिह्न प्रयोग र सङ्क्षेपीकरण
२. मूलपाठ
(क) परिचय
(ख) अध्यायहरू
(ग) सारांश वा निष्कर्ष
३. सन्दर्भसामग्री भाग
(क) सन्दर्भसामग्री सूची
(ख) परिशिष्ट
(ग) अनुक्रमणिका
एउटा शोध प्रतिवेदनलाई बाह्य रूपबाट हेर्दा यस्तो देखिन्छ तर यी भाग, शीर्षक र उपशीर्षकहरूसँग सम्बन्धित रहेर काम थर्न थाल्दा तिनको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा शोधार्थी स्पष्ट हुनु जरुरी छ । तिनलाई यहाँ छुट्टाछुट्टै राखेर विस्तृत रूपमा प्रस्तुत गरिएको छ ।
१. प्रारम्भिक भाग
यो शोध प्रतिवेदनको सुरुको भाग हो । यसमा अनुसन्धान प्रतिवेदनसँग सम्बन्धित प्राविधिक कुराहरू मात्र राखिन्छन् । यिनलाई शोधप्रबन्धको मूल भागभन्दा अगाडि नै मूल पृष्ठसङ्ख्याभन्दा भिन्नै क, ख, ग आदि सङ्केतमा राखिन्छ । यस भागमा निम्नलिखित कुराहरू पर्दछन् र तिनलाई यसरी व्यवस्थापन गर्नुपर्छ—
(क) मुखपृष्ठ
यो शोधप्रबन्धको पहिलो पृष्ठ हो । शोधप्रबन्धको अन्तिम मूल्याङ्कन कार्य सम्पन्न भइसकेपछि यसैलाई कालो गातामाथि सुनौलो अक्षरमा लेखी बाहिरी आवरण तयार गरिन्छ अनि त्यसको ठिक भित्रपट्टिको पहिलो पृष्ठमा पनि यही विवरण रहन्छ । यसमा सबैभन्दा माथि अनुसन्धानको शीर्षक, त्यसमुनि अलि तल अनुसन्धानको प्रयोजन र त्यसको केही तल शोधप्रबन्ध लेखिन्छ अनि पृष्ठको तल्लो भागमा शोधार्थी लेखेर नाम, तह वा उपाधि दर्ता नं, विश्वविद्यालय दर्ता नं र प्रस्तुत मिति उल्लेख गरिन्छ ।
(ख) स्वीकृति पत्र
यो शोधार्थीको शोधकार्यप्रति निर्देशक, सहनिर्देशक तथा विशेषज्ञहरूको स्वीकृति पत्र हो । यसमा पनि तह र अनुसन्धानको प्रकृतिअनुसार केही भिन्नताहरू देखिन्छन् । स्नातक र स्नातकोत्तर तहका शोधपत्रहरूमा निर्देशकको स्वीकृति भएपछि पुग्छ तर विद्यावारिधिको शोधप्रबन्धका लागि सुरुमा शोधप्रबन्ध समितिको सिफारिस पत्र राखिन्छ । निर्देशकहरूको सङ्ख्या र भूमिका पनि विश्वविद्यालय र अनुसन्धान केन्द्रअनुसार केही फरक हुन सक्छ । त्रिभुवन विश्वविद्यालयमा विद्यावारिधिका लागि निर्देशक र सहनिर्देशक दुई जना हुन्छन् र तिनको एउटै स्वीकृति पत्र राखिन्छ तर नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रमा एक जना शोधनिर्देशक र दुई जना शोध विशेषज्ञहरू हुने गर्दछन् । यस ठाउँमा शोधनिर्देशकको स्वीकृति पत्र एउटा र शोधविशेषज्ञहरू दुई जनाको मन्तव्य दुइटा छुट्टाछुट्टै राख्ने गरिन्छ । यसमा शोधनिर्देशक, सहनिर्देशक वा विशेषज्ञहरूले प्रस्तुत शोधकार्यप्रति आफू सन्तुष्ट रहेको जानकारी गराउँदै शोधप्रबन्ध मूल्याङ्कनका लागि स्वीकृति प्रदान गरिएको बेहोरा उल्लेख गरिन्छ ।
(ग) प्रतिबद्धता पत्र
स्वीकृति पत्रपछि प्रतिबद्धता पत्र राखिन्छ । यसमा शोधार्थीले आफ्नो शोधकार्य मौलिक भएको, कतैबाट प्रभावित नरहेको, यसलाई यसभन्दा अगाडि आंशिक वा पूर्ण रूपमा कतै प्रयोग नगरिएको वा पूर्वप्रकाशन नभएको आदि कुराको उल्लेखका साथ आफ्नो शोधकार्यप्रतिको प्रतिबद्धता व्यक्त गर्दछ । यसका अन्त्यमा शोधार्थीको नाम उल्लेख गरिन्छ । (स्नातक र स्नातकोत्तर तहका शोधपत्रमा यसको उल्लेख आवश्यक छैन ।)
(घ) भूमिका वा कृतज्ञता ज्ञापन
यो शोधार्थीले आफ्ना केही वैयक्तिक तथा शोधकार्यगत सन्दर्भहरूको उल्लेख गरी सहयोगीहरूलाई धन्यवाद दिने वा कृतज्ञता व्यक्त गर्ने ठाउँ हो । यसमा शोधार्थीबाट आफ्ना शोधनिर्देशक, सहनिर्देशक वा विशेषज्ञहरू र शोधकार्यका क्रममा प्रमुख सहयोगी भूमिका भएकाहरूलाई धन्यवाद तथा कृतज्ञता ज्ञापन गरिन्छ । यस क्रममा माथि उल्लेख भएका अतिरिक्त डिन, विभागीय प्रमुख, संस्था प्रमुख, पुस्तकालयहरू आदिको उल्लेख हुनु अनिवार्य मानिन्छ । यसमा अनावश्यक व्यक्तिगत सन्दर्भहरू र शोधकार्यका क्रममा कुनै भूमिका नै नभएका व्यक्तिहरूलाई समेटिरहनु पर्दैन । यसमा जसको उल्लेख नगर्दा अन्याय हुने गरीको सहयोग वा भूमिका रहेको छ त्यसको नाम भने छुट्नु हुँदैन । यो छोटो तर पूर्ण हुनुपर्छ । यसको अन्त्यमा शोधार्थीको नाम, हस्ताक्षर र मिति उल्लेख हुनुपर्छ ।
(ङ) विषयसूची
यहाँ शोधप्रबन्धभित्र रहेका विषयहरूको परिच्छेदगत शीर्षक तथा उपशीर्षक आदिको सूची दिइन्छ । मूल परिच्छेद, मूल शीर्षक, उपशीर्षक र उप उपशीर्षकसम्मलाई विषयसूचीमा समेट्न सकिन्छ त्यहाँभन्दा तलका टुक्रे शीर्षकहरूलाई यहाँ उल्लेख गरिरहनु पर्दैन ।
(च) तालिका वा चित्रसूची
प्रस्तुत शोधप्रबन्धभित्र कुनै तालिका वा चित्रहरूको प्रयोग भएको छ भने ती कहाँ कहाँ, कुन कुन शीर्षक र सन्दर्भमा प्रस्तुत गरिएका छन्, तिनको पृष्ठसङ्ख्यासमेतको उल्लेख गरी विषयसूची जस्तै तालिका वा चित्रसूची पनि अगाडि नै राख्नुपर्छ ।
(छ) सङ्क्षेपीकृत शब्द र चिह्नसूची
प्रस्तुत शोधप्रबन्धभित्र के कस्ता सङ्क्षिप्त शब्दहरू र के कस्ता चिह्नहरूको प्रयोग गरिएको छ ? ती सङ्क्षिप्त शब्दको पूरा रूप के हो र ती चिह्नहरूको अर्थ के हो ? तिनका बारेमा स्पष्ट उल्लेख गरी सङ्क्षिप्त शब्द र चिह्नहरूको सूची नै प्रस्तुत गर्नुपर्छ ।
उल्लिखित सातओटा कुराहरू शोधप्रबन्धको प्रारम्भिक भागमा राखिन्छन् । यिनको क्रम र लेखनविधि माथि चर्चा गरिएअनुसार नै हुने गर्दछ । यी नितान्त प्राविधिक कुराहरू हुन्, यिनको नियमानुसार पालना भएन भने शोधप्रबन्धको प्राविधिक पाटो कमजोर हुन्छ ।
२. मूलपाठ
यो शोधप्रबन्धका लागि प्रमुख भाग हो । यसमा शोधका सम्पूर्ण प्राज्ञिक कार्यहरू गर्ने गरिन्छ । विषयको परिचयदेखि लिएर सम्पूर्ण समस्याहरूको समाधानसहितको उपयुक्त निष्कर्षसम्मका सबै शोधकार्यहरू यही शीर्षकअन्तर्गत गरिन्छन् । यसका परिचय, अध्यायहरू र निष्कर्ष गरी तीन खण्ड हुन्छन् । तिनमा निम्नलिखित कुराहरू समावेश गरिन्छन्—
(क) परिचय (पहिलो परिच्छेद)
यो शोधप्रबन्धको पहिलो परिच्छेद हो । यसलाई शोधपरिचय भनिन्छ । यसमा सुरुमा प्रस्तुत गरिएको शोधप्रस्तावको संशोधित रूप राखिन्छ । यसको १.१ मा विषय परिचय हुन्छ र त्यसमा अनुसन्धेय विषयका बारेमा समग्र जानकारी सङ्क्षेपमा प्रस्तुत गरिन्छ । यसपछि क्रमशः शोधप्रस्तावका शीर्षकहरूमा उल्लेख भएका कुराहरूलाई परिमार्जन गरेर राखिन्छ । शोधप्रस्तावमा रहेका ‘हुने छ, गरिने छ’ जस्ता भविष्यत् कालबोधक क्रियापदलाई ‘भएको छ, गरिएको छ’ जस्ता पूर्ण वर्तमान बोधक क्रियापदमा परिवर्तन गरी यहाँ राखिन्छ । यस परिच्छेदमा १.१ विषय परिचय, १.२ समस्या कथन, १.३ शोधको उद्देश्य, १.४ पूर्वकार्यको समीक्षा, १.५ शोधको औचित्य, महत्त्व र उपयोगिता, १.६ प्राक्कल्पना (आवश्यक भए मात्र), १.७ अध्ययनको सीमाङ्कन, १.८ सैद्धान्तिक ढाँचा र शोधविधि, १.८.१ सामग्री सङ्कलन विधि, १.८.१ विश्लेषण विधि र १.९ शोधको रूपरेखा आदि क्रमशः राखिन्छन् । यिनको लेखनसम्बन्धी विस्तृत चर्चा भाग ३१ मा नै गरिएको छ ।
(ख) अध्यायहरू ः (दोस्रो, तेस्रो, चौथो…. परिच्छेद)
यो शोधप्रबन्धको मूल विश्लेषण खण्ड हो । शोधसमस्याका बारेमा जत्ति पनि व्याख्या विश्लेषण गरिन्छ ती सबै यही खण्डमा आउँछन् । सैद्धान्तिक चर्चा, विकास प्रक्रिया, मूल विश्लेषण आदि सबै कुरा यही खण्डमा आउने हुनाले पूर्व सङ्कलित सम्पूर्ण सामग्रीहरूको सदुपयोग गर्ने ठाउँ यही हो । त्यसैले यसलाई विभिन्न अध्यायहरूमा विभाजन गरेर लेखिन्छ । जस्तैः
दोस्रो परिच्छेद:
यो व्यक्ति, सिद्धान्त, विकास र विश्लेषणको ढाँचासँग सम्बन्धित परिच्छेद हो । यसमा आफ्नो शोधकार्यको विषयसँग सम्बन्धित व्यक्ति, शोधका लागि आवश्यक पूर्वस्थापित सिद्धान्त, विधागत विकासक्रम र शोध्य विषयको विश्लेषणका लागि छनोट गरिएको सैद्धान्तिक आधार एवम् विश्लेषणको ढाँचालाई सङ्क्षेपमा प्रस्तुत गरिन्छ । यसलाई मूल विश्लेषणमा प्रवेश गर्नका लागि गरिएको पूर्वतयारी अथवा गन्तव्यसम्म पुग्नका लागि बनाइएको सिद्धान्तमार्गका रूपमा हेर्ने गरिन्छ । यो अनुसन्धानको अपरिहार्य भाग होइन त्यसैले व्यक्ति, सिद्धान्त र विकासक्रम जस्ता कुराहरू आवश्यक भए मात्र यहाँ चर्चा गर्नुपर्छ नत्र भने विश्लेषणको सैद्धान्तिक आधार वा ढाँचा प्रस्तुत गरेर सोझै समस्यामा प्रवेश गर्न पनि सकिन्छ । यस परिच्छेदको सुरुमा विषय परिचय, बिचमा सैद्धान्तिक चर्चा र अन्त्यमा निष्कर्ष लेखिन्छ ।
तेस्रो परिच्छेद:
यहाँदेखि मूल विषयको विश्लेषण कार्य सुरु हुन्छ । तेस्रो परिच्छेद पहिलो समस्या वा उद्देश्यमा आधारित भएर निर्माण गर्नु राम्रो मानिन्छ । पूर्वनिर्धारित समस्याहरूमध्येमा पहिलो समस्याका बारेमा जति पनि व्याख्या विश्लेषण गर्नुपर्ने छ, ती सबैलाई यही परिच्छेदमा समेट्नुपर्छ । तिनका लागि आवश्यक पूर्वसङ्कलित सामग्रीहरूलाई सन्दर्भ खुलाएर यहाँ राखिन्छ र तिनकै आधारमा सम्बन्धित विषयको विश्लेषण गरिन्छ । यस परिच्छेदमा पनि सुरुमा विषय परिचय, बिचमा विश्लेषण र अन्त्यमा निष्कर्ष लेखिन्छ ।
चौथो परिच्छेद:
यो परिच्छेद पनि मूल विषयको विश्लेषणसँगै सम्बन्धित हुन्छ । चौथो परिच्छेद दोस्रो समस्या वा उद्देश्यमा आधारित भएर निर्माण गर्नु राम्रो मानिन्छ । तेस्रो परिच्छेदमा जस्तै यसमा पनि पूर्वनिर्धारित दोस्रो समस्याको समाधानका लागि आवश्यक सन्दर्भसामग्रीहरूको प्रयोग गरी तिनकै आधारमा सम्बन्धित विषयको विश्लेषण गरिन्छ । यस परिच्छेदमा पनि सुरुमा विषय परिचय, बिचमा विश्लेषण र अन्त्यमा निष्कर्ष लेखिन्छ ।
पाँचौँ परिच्छेद:
पाँचौँ परिच्छेद पनि मूल विषयको विश्लेषणसँगै सम्बन्धित हुन्छ । यो परिच्छेद तेस्रो समस्या वा उद्देश्यमा आधारित भएर निर्माण गर्नु राम्रो मानिन्छ । तेस्रो र चौथो परिच्छेदमा जस्तै यसमा पनि पूर्वनिर्धारित तेस्रो समस्याको समाधानका लागि आवश्यक सन्दर्भसामग्रीहरूको प्रयोग गरी तिनकै आधारमा सम्बन्धित विषयको विश्लेषण गरिन्छ । यस परिच्छेदमा पनि सुरुमा विषय परिचय, बिचमा विश्लेषण र अन्त्यमा निष्कर्ष लेखिन्छ ।
अध्यायहरूको सङ्ख्या विषय क्षेत्र र समस्याको सङ्ख्याका आधारमा फरक फरक हुने गर्दछ । तीनओटा शोधसमस्याहरू छन् भने निष्कर्षभन्दा अगाडि नै पाँचओटा परिच्छेदहरू निर्माण भइसकेका हुन्छन् । चार वा पाँचओटा समस्या छन् भने त्यहीअनुसार अध्यायहरू बढ्दै जान्छन् । विषयगत प्रकृति मिल्ने कुनै कुनै समस्यालाई मिसाएर एउटै परिच्छेदमा राख्न पनि सकिन्छ । सुरुमा परिच्छेद विभाजन गर्दा नै शोधको समस्या र उद्देश्यमा ध्यान केन्द्रित गरियो भने शोधकार्य छरिने, अव्यवस्थित हुने, भावनात्मक हुने, सन्दर्भसामग्री र विश्लेषणका बिचमा तालमेल नमिल्ने र निष्कर्ष निकाल्ने बेलामा शोधार्थी नै अन्योलमा पर्ने समस्याबाट मुक्ति मिल्ने हुनाले यस कुराको गम्भीर पालना शोधार्थीका लागि फलदायी हुने देखिन्छ ।
(ग) सारांश वा निष्कर्ष (अन्तिम परिच्छेद)
शोधप्रबन्धको अन्तिम परिच्छेद सिङ्गो शोधकार्यको निष्कर्ष वा प्राप्तिसँग सम्बन्धित हुन्छ । यस परिच्छेदमा शोध्य विषयको सारांश प्रस्तुत गरेपछि त्यसका बारेमा उपयुक्त मूल्याङ्कन गरी निष्कर्ष निकाल्ने गरिन्छ । यस परिच्छेदमा समग्र शोधप्रबन्धको परिच्छेदगत सारांश, मूल्याङ्कन र प्राप्तिका बारेमा चर्चा गरिन्छ र अन्त्यमा शोधसमस्यामा केन्द्रित भएर अनुसन्धानको मूल निष्कर्ष प्रस्तुत गरिन्छ । यस क्रममा पहिलो शोधसमस्या के थियो र त्यसको निष्कर्ष के निस्कियो ?, दोस्रो शोधसमस्या के थियो र त्यसको निष्कर्ष के निस्कियो ? अनि तेस्रो समस्या के थियो र त्यसको निष्कर्ष के निस्कियो ? स्पष्टसँग उल्लेख भयो भने शोधकार्य र त्यसको प्राप्ति वा निचोडका बारेमा शोधार्थी अलमलमा पर्नु पर्दैन । यस खाले शैली र प्रविधिको ज्ञान नहुँदा धेरैजसो शोधार्थीहरू अन्तिम परिच्छेदमा पुगेपछि अन्योलमा पर्ने गरेको पाइन्छ ।
समग्र शोधकार्यको निष्कर्ष प्रस्तुत गरिसकेपछि यही परिच्छेदको अन्त्यमा सम्बन्धित विषयवस्तुसँग मिल्दाजुल्दा वा अनुसन्धान गर्न सकिने केही शीर्षकहरू भावी शोधकार्यका लागि प्रस्तावित गर्ने गरिन्छ । ‘भावी शोधकार्यका लागि सुझाव’ उपशीर्षकमा दिइने ती प्रस्तावित शीर्षकहरू सम्बन्धित विषयवस्तुभन्दा टाढाका वा सन्दर्भ नै नमिल्ने खालका चाहिँ हुनु हुँदैन ।
३. सन्दर्भसामग्री भाग
यहाँसम्म आइपुग्दा शोधकार्यका प्रमुख कामहरू सम्पन्न भइसकेका हुन्छन् । यो शोधकार्य गर्दा प्रयोग गरिएका सामग्रीहरू र त्यसभित्र रहेका सहयोगी सन्दर्भ र शब्दहरूको सूची प्रस्तुत गर्ने ठाउँ हो । यस खण्डमा निम्नलिखित तीनओटा कुराहरू पर्दछन्—
(क) सन्दर्भसामग्री सूची
शोधकार्य गर्दा प्रयोग गरिएका सामग्रीहरूलाई सन्दर्भसामग्री भनिन्छ । ती पुस्तक, पत्रपत्रिका, शोधप्रबन्ध, कार्यपत्र, अन्तर्वार्ता, इन्टरनेर आदि जेसुकै हुन सक्छन् । यहाँ भने आफूले शोधकार्य गर्दा प्रयोग गरेका ती सबै सन्दर्भ वा सहयोगी सामग्रीहरूको इमानदारीपूर्वक विवरण प्रस्तुत गर्नुपर्छ । यसको रखाइ लेखकको थरको वर्णानुक्रमअनुसार हुन्छ । सन्दर्भ सामग्री राख्दा ए.पी.ए. पद्धति (थर, नाम, मिति, कृति, स्थान, प्रकाशक ।) वा एम.एल.ए. पद्धति (थर, नाम, कृति, स्थान, प्रकाशक, मिति ।) मध्ये कुनै एउटालाई आधार मान्नुपर्छ । भित्री विश्लेषणका क्रममा जुन विधिको प्रयोग गरिएको छ, सन्दर्भसामग्रीको उल्लेखमा पनि त्यही विधिको प्रयोग हुनुपर्छ । यसमा पुस्तक, पत्रपत्रिका, शोधपत्र, नेपाली, हिन्दी, अङ्ग्रेजी आदि भनेर छुट्याइरहनु पर्दैन, देवनागरी लिपिका सन्दर्भसामग्रीहरूलाई एक ठाउँमा, रोमन लिपिका सन्दर्भसामग्रीहरूलाई एक ठाउँमा र इन्टरनेट प्रयोग गरिएका सामग्रीको लिङ्क एक ठाउँमा राख्नुपर्छ । यसको नमुना भाग–३१ मा नै दिइसकिएको छ ।
(ख) परिशिष्ट
शोधकार्य गर्दा सम्बन्धित विषयसँग मिल्ने कुनै सामग्रीलाई प्रमाण स्वरूप प्रस्तुत गर्नुपरेमा परिशिष्टमा राख्ने गरिन्छ । यो शोधप्रबन्धका लागि नभई नहुने कुरा होइन, आवश्यक भएमा मात्र राख्नुपर्छ ।
(ग) अनुक्रमणिका वा शब्दसूची
शोधकार्य गर्दा अनुसन्धेय विषयसँग सम्बन्धित वा शोधप्रबन्धमा प्रयोग भएका पारिभाषिक शब्दहरूका बारेमा थप जानकारी दिनुपर्ने भएमा तिनलाई यस खण्डमा राख्ने गरिन्छ । अनुक्रमणिकामा दिइने शब्दहरूको सूची नेपाली वर्णानुक्रमअनुसार राखिन्छ । यो पनि सबै शोधप्रबन्धका लागि अनिवार्य छैन, आवश्यक भए मात्र राख्नुपर्छ ।
यति भएपछि एउटा शोधप्रबन्ध पूर्ण हुन्छ । शोधकार्य प्राज्ञिक मात्र नभएर प्राविधिक विषय पनि हो । शोधार्थीमा विषयप्रतिको ज्ञान र विश्लेषण क्षमता जतिसुकै भए पनि प्रविधि मिलेको छैन भने त्यो शोधकार्य व्यर्थको बौद्धिक विमर्श मात्र बन्ने गर्दछ त्यसैले शोधार्थीमा विषय विश्लेषण क्षमता र शोध प्रतिवेदनको सङ्गठन वा ढाँचाको ज्ञान दुवै हुनु अनिवार्य छ ।
५. आन्तरिक सङ्गठनसँग सम्बन्धित केही थप कुरा
माथि चर्चा गरिएका सन्दर्भहरूबाहेक अरू पनि केही पक्षहरू छन् । तिनलाई यसरी हेर्न सकिन्छ—
(क) शोधप्रबन्धमा शीर्षक तथा उपशीर्षकहरूको रखाइको पनि नियम हुन्छ । परिच्छेद वा अध्यायको मूलशीर्षक अध्याय शीर्षक हो । त्यसको चिनारी परिच्छेद अङ्क नै हो तर अङ्क उल्लेख नगरी माथि नै शीर्षक राखिन्छ । अन्य शीर्षक, उपशीर्षक, उप उपशीर्षक हुँदै जान्छ । यसको रखाइ यस्तो हुन्छ—
१. अध्याय शीर्षक
१.१ शीर्षक
१.१.१. उपशीर्षक
१.१.१.१ उप उपशीर्षक
यसरी शीर्षकीकरणमा चार अङ्कसम्म दिइन्छ तर त्यसका पनि प्रकारहरू आए भने क, ख वा अ, आले सङ्केत गर्ने गरिन्छ । शोधप्रबन्धभित्रका शीर्षकहरू कुनै न कुनै शीर्षक वा उपशीर्षकसँग जोडिनै पर्छ, तिनलाई अनाथ बनाउनु हुँदैन भन्ने एउटा मान्यता पाइन्छ भने अहिलेचाहिँ चार अङ्कभन्दा पछिका हाँगा शीर्षक वा टुक्रा शीर्षकहरूलाई कुनै सङ्केतविना गाढा अक्षरमा मात्र राख्ने चलन पनि छ ।
(ख) शोधप्रबन्धभित्रका अक्षरको आकार, पृष्ठसंयोजन तथा अनुच्छेद आदिको स्थानाङ्कन वा स्थान व्यवस्थापनका सम्बन्धमा पनि निश्चित नियमहरू छन् । नेपाली शोधप्रबन्धमा प्रीति फन्टको १५÷१६ आकारको प्रयोग गर्ने प्रचलन छ । शीर्षक वा उपशीर्षकहरूमा फन्टको आकार फरक पार्नु पर्दैन, केवल गाढा अक्षरमा राखे हुन्छ । त्यसको हरेक हरफलाई १.५ को समदूरीमा राख्नुपर्छ र हरेक अनुच्छेदहरूलाई त्यसरी नै राख्दै जानुपर्छ ।
(ग) शोधप्रबन्धका भित्री पृष्ठको बायाँपट्टि १.५ इन्च र अरू तीनपट्टि १ इन्ज ठाउँ छोड्नुपर्छ र पृष्ठको तल्लो भागको बिचमा पृष्ठसङ्ख्या दिनुपर्छ । पृष्ठसङ्ख्या परिच्छेद एक सुरु भएपछि मात्र दिइन्छ, त्योभन्दा अगाडि क, ख, ग दिनुपर्छ ।
(घ) शोधप्रबन्धमा ४० शब्दभित्रको उद्धरणलाई अनुच्छेदभित्रै उद्धरण चिह्न दिएर राख्नुपर्छ र ४० शब्दभन्दा माथिको उद्धरण भएमा ०.५ इन्च भित्र बेग्लै अनुच्छेद बनाएर राख्नुपर्छ ।
(ङ) शोधप्रबन्धभित्र सन्दर्भ दिँदा ए.पी.ए वा एम.एल.ए पद्धतिअनुसारको गर्भेटिप्पणी राख्नुपर्छ । यदि पादटिप्पणी राख्नुपरेमा त्यही पृष्ठको तल्लो भागमा नियमानुसार राख्नुपर्छ । यहाँ राखिएका कुनै पनि सन्दर्भसामग्रीहरू पछिल्लो सन्दर्भसामग्री सूचीमा राखेकै हुनुपर्छ, छुट्नु हुँदैन ।
(च) शोधप्रबन्धका प्रत्येक अनुच्छेद र प्रत्येक परिच्छेद आदि, मध्य र अन्त्यको सिक्रीले बाँधिएका हुनुपर्छ । हरेक अनुच्छेद विषयसँग सम्बन्धित शीर्षवाक्य, विषयको विश्लेषण र निष्कर्ष वाक्यको ढाँचामा र हरेक परिच्छेद विषय प्रवेश, विषयको विश्लेषण र निष्कर्षको ढाँचामा आबद्ध हुनुपर्छ । परिच्छेदको विषय प्रवेशमा त्यस परिच्छेदमा समेटिने विषय के हो र यहाँ के के गर्न लागिएको छ ? सङ्केत गर्नुपर्छ, विषयको विश्लेषणमा तोकिएको सैद्धान्तिक ढाँचामा विषयको विश्लेषण गर्नुपर्छ र निष्कर्षमा सम्बन्धित परिच्छेदमा विश्लेषित सामग्रीको निष्कर्ष के निस्कियो ? प्रस्तुत गरेर परिच्छेद टुङ्ग्याउनुपर्छ ।
६. निष्कर्ष
शोध, अनुसन्धान वा रिसर्च निकै प्राज्ञिक एवम् बौद्धिक कार्य हो । यो स्नातक वा स्नातकोत्तर तह पूरा गरुन्जेलका लागि आंशिक रूपमा बाध्यात्मक हुने गर्दछ । त्यसको पनि विकल्प हुने हुनाले त्यसलाई आंशिक भनिएको हो । विद्यावारिधि, महाविद्यावारिधि उपाधिका लागि गरिने अनुसन्धान कार्य, कुनै परियोजना सम्पन्न गर्नका लागि वा व्यावसायिक प्रवद्र्धनका लागि गरिने अनुसन्धान कार्य बाध्यात्मक होइनन् त्यसैले त्यससँग सम्बन्धित योग्यता, क्षमता र रुचि नभएसम्म त्यसमा हात हाल्नै पर्छ भन्ने कुनै बाध्यता छैन । त्यसमा पनि भन्ने गरिन्छ, “अनुसन्धाताले त्यतिसम्मको मात्र उपाधि प्राप्त गरोस् जुन उपाधिले उसलाई थिचेर निस्सासिनु नपरोस् ।” यसको अर्थ हरेक व्यक्तिले प्राप्त गरेको योग्यता वा उपाधिलाई उसको व्यक्तित्वले थिचेर अगाडि बढेको हुनुपर्छ भन्ने हो । यसका लागि योग्यता, क्षमता र रुचिअनुकूल विषय र समस्याको छनोट, समस्याको उचित समाधान र अभीष्ट प्राप्तिसहितको शोधकार्य, अनुसन्धान प्रविधिअनुकूल शोध प्रतिवेदन लेखन र अनुसन्धानको पूर्णतापछि पनि सम्बन्धित विषयप्रतिको विशेषज्ञता जस्ता कुराहरू सधैँका लागि अपेक्षित रहन्छन् । यिनै कुराहरू अनुसन्धान कार्यका विशिष्ट प्राप्ति हुन् ।
क्रमशः अर्को हप्ता…
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।