कवि परिचय

सुरेश किरण कवितामा आफ्नै स्थान बनाउन सफल कवि हुन् । कविको साथसाथै उनी नाटककार पनि हुन् । पेशाले पत्रकार उनी धेरैवटा नेपालभाषाका दैनिक पत्रिकाका सम्पादक रहिसकेका छन् । हाल उनी नेपालभाषा न्हिपौका सम्पादक हुन् । उनी लेखक मात्रै होइनन्, भाषिक र जातीय अधिकारको संघर्षमा पनि उत्तिकै सक्रिय छन् ।
उनको एउटै मात्र कविता संग्रह ‘थौं घण्टाघरं जिके ई न्यनाच्वन’ (आज घण्टाघरले मसित समय सोध्दै छ) प्रकाशित छ । साथै उनले नेपालभाषा र नेपालीमा धेरै पुस्तकहरू सम्पादन गरिसकेका छन् । उनले अनेकौं पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन्, जसमा राष्ट्रिय प्रतिभा पुरस्कार, पारिजात स्मृति पुरस्कार, अस्वीकृत साहित्य पुरस्कार, मधुपर्क श्रष्टा पुरस्कार, जनमत मातृभाषा साहित्य पुरस्कार, जरिमैंया साखः सिरपाः आदि प्रमुख छन् ।

अनुवादकः आर. मानन्धर

ए, हातमा ओछ्यान थमाएर
मेरो निद्रा लिएर जाने मान्छे !

० सुरेश किरण

एक दिन म अपर्झट बिउँझें
तर जसै म बिउँझें
त्यही दिनदेखि म सुत्न सकिरहेको छैन ।
हो, अचेल मलाई रात–रातभर निद्रा लाग्दैन
शायद मेरो आँखामा बचाइराखेको निद्रा कसैले चोरेर लगेको छ ।

म सुत्ने बित्तिकै मेरो निद्रा बिलाउने गर्छ
देख्ने बित्तिकै सपना च्यातिने गर्छ ।

ओछ्यान बाँड्दैमा म सुत्न पाएँ भनी नठान्नू
सुत्नलाई त निद्रा चाहिन्छ, ओछ्यान होइन
ए, आँखाबाट निद्रा थुतेर लाने मान्छे !
मलाई मेरो निद्रा फर्काइदेऊ ।
हो, म सुतिरहेको थिएँ
तर सपना देखिरहेको थिएँ
तिमीले बिउँझाउँदा बिउँझें
तिमीले भनेकोले सुनिदिएँ—
विपनाको कथा/घामको कथा/बिहानीको कथा

तर तिमीले मलाई बिउँझाउन होइन
मेरो निद्रा थुतेर लान पो मलाई जगाएको रहेछ !
म त आज एक छिन आरामले सुत्न सकियोस् भनेरै
हिजो रात पनि नभनी जागेरै बसेको थिएँ
के म आज सुत्न नसक्ने बन्नकै लागि हिजो बिउँझेको थिएँ त ?
ए, हातमा एउटा नरम ओछ्यान थमाएर
मेरो सिंगै निद्रा आफ्नो बनाउने मान्छे,
आफू मात्र सुतेर नसक्याइदेऊ मेरो निद्रा !
आज बिउँझिँदा मात्र चाल पाएँ
अर्काको एउटा थोत्रो ओछ्यान आफूले च्यापेर
आफ्नो निद्रा अरू नै सुतिरहेको टुलुटुलु हेर्नै मात्र
हिजो म जुरमुरिंदै उठेको रहेछु !

स्रोतः चकना, अंक १४, ने. सं. ११२१

मूल नेपालभाषामा