अलि अस्ति छोरीको फेसबुक स्टाटसमा यस्तो लेखिएको थियो, “मेरो घरमा म महिनावारी हुँदा बार्नु पर्दैन, यो सामान्य कुरा हो तर यही बार्नु नपरेकै कारण म आफूलाई संसारकै सबैभन्दा भाग्यमानी सम्झन बाध्य छु ।” छोरीको भाग्यप्रतिको दृष्टिकोणले मेरो मथिङ्गल हल्लायो ।
एउटा सेमिनारमा भेट भएकी एक जना साथीले एक दिन यसो भन्दै थिइन्, “तँलाई पढ्न दिएको छु, सभासेमिनार जहाँ पनि जान दिएको छु, खानलाउन जे लाए पनि जे खाए पनि छुट दिएको छु, मजस्तो श्रीमान् पाउन तेरो भाग्यमा लेखेकै रहेछ धन्न भन्दै मेरो भाग्यको बखान गर्नुहुन्छ मेरा श्रीमान् ।” ती साथीको कुरा सुनिरहँदा लाग्यो कि उनका यी सबै कुरा श्रीमान्का निगाह हुन् । म सोचिरहन्थेँ कि राष्ट्रका प्रत्येक नागरिकले जीवनका आधारभूत यी र यस्ता कुरा गर्न स्वतः पाउनुपर्ने हो कि कसैको खटनमा हात थापेर बस्नुपर्ने? व्यक्तिको व्यक्तित्व निर्माणका लागि गरिने यी सामान्य कुरामा पनि खटन गर्ने त्यो अर्को व्यक्ति को हो? मालिक? दाता? भगवान्? या को हो? निकैबेर दिमाग तातिरह्यो । कति छन् होला यस्तै खटनमा भाग्य थाप्न हात फैलाइरहेका भाग्यमानी श्रीमतीहरू हाम्रो समाजमा भन्ने जिज्ञासा सलबलाइरह्यो ।
वर्तमान समयमा सहरमा रहेका कामकाजी या समाजसेवी महिलाहरू अत्यन्तै भाग्यमानी भएको आवरण अनेक देख्न पाइन्छ । उपल्लो वर्गमा रहेका केही प्रतिशत महिलाहरू आवरणमा मात्र नभएर गुदीमै भाग्यमानी होलान् जो आलिसान सुखसुविधाको पेरिफेरिमा बाँचेका हुन्छ्न् । ती नगण्य सङ्ख्याका महिलाको जीवनस्तर हेरेर आम महिलाको अवस्था मूल्याङ्कन गर्दा न्याय हुँदैन । सहरमा रहेका धेरैजसो जागिरे, समाजसेवी र राजनीतिज्ञजस्ता सेवामा समर्पित कहलिएका समाजका अग्रपङ्क्तिका महिलाहरूको अवस्था कस्तो छ भन्ने जान्नलाई चोकको चियापसलदेखि भौतिक उपस्थितिको सभासम्मेलनमा हुने भाषण सुनेर मात्र पुग्दैन, त्यसको सक्कली अनुहार देख्न अहिलेको प्रविधिमैत्री भर्चुअल सभा, सम्मेलन, बैठक वा वेभिनार जे भए पनि नियाल्दा पुग्छ । केही प्रतिनिधि असली रूप त्यहाँ प्रदर्शन भइरहेको देखिन्छ ।
अलि अस्ति एउटा भर्चुअल वेभिनारको सहभागी म पनि थिएँ । वेभिनारको विषय थियो “स्थानीय निकायदेखि राष्ट्रियस्तरसम्म लैङ्गिक समानता, आजको आवश्यकता ।” पुरुष बुलन्द आवाजहरू पालैपालो कुर्लिरहेका थिए । “तेत्तीस प्रतिशतको कुरा पुरानो भइसक्यो, अब राज्यको विकासको हरेक तह र तप्कामा समान सहभागिता हुनुपर्छ अनि मात्र देशको विकास सम्भव हुन्छ । आधा आकाश निष्क्रिय राखेर कसरी विकास सम्भव हुन्छ र!…….” सहभागीले प्रयोग गरेका डिभाइसका भित्ताहरूमा भने फरक दृष्य देखिन्थे । महिलाले प्रयोग गरेका डिभाइसको भित्तोमा भान्साकोठाको सामासर्दाम असरल्ल पसारो पसारिन्थे भने कतिपय महिलाको साइडमा केटाकेटी झुन्डिरहेका हुन्थे । झुक्किएर माइक अनम्युट भयो भने नजिकै त्यतै अर्को आवाज सुनिन्थ्यो- “होइन कति बेला सकिने हो कार्यक्रम? भोक लागिसक्यो ।” कसै-कसैकोमा प्रेसरकुकरको सिठ्ठी बजेको आवाजले मेरै डिभाइस चर्केलाजस्तो गर्थ्यो । कतिपय महिलाहरू भिडियो म्युट गरेर नै आफ्ना तर्क राख्थे । थाहा छैन त्यो भिडियो अनम्युट गर्दा कस्तो दृष्य देखिन्थ्यो । त्यसैगरी प्राय धेरैजसो पुरुष सहभागीहरूले प्रयोग गरेको डिभाइसको भित्तामा भने महँगा सोफासेट, सम्मानपत्रले सजाइएका कर्नर र्याक , टेबलमा चियाकप साथमा कुकिज अनि फलफूलका टुक्राले भरिएको सानो रिकापी पनि । सायद ती बडेमानका सम्मानपत्र लैङ्गिक समानताको बहसमा भाषण गर्दागर्दैको सम्मानमा प्राप्त भएका होलान् मेरो अनुमान । उनीहरूको डिभाइसमा अनम्युट हुँदा सुनिने आवाज भने अलि फरक हुन्थ्यो- “ए सुन त; तातोपानी ल्याऊ न एक गिलास, फलफूल काटिनौ? एक कप कफी पिऊँ न है?”……यस्तै-यस्तै । अनि पटक-पटक यस्तै परिकार सर्भ गर्दै गरेकी श्रीमतीको तस्वीर स्क्रिनमा सलबलाइरहन्थ्यो । ती नै पुरुष कुर्लिरहेका सुनिन्थे- “हामीले हाम्रा परिवारभित्रका महिलाहरूलाई चुलो र चौकामा मात्रै थुन्नु हुँदैन, कुनै पनि अवसरबाट वञ्चित गराउनु हुँदैन, सँसार हेर्न ऊर्जा दिनुपर्छ, एउटी महिला सक्षम हुनु भनेको घर परिवार हुँदै सिङ्गो राष्ट्र सक्षम हुनु हो ……..” यस्तै-यस्तै । म अलमलिन्थेँ ; मैले कानले सुन्दै गरेका उनका बोली पत्याऊँ कि आँखाले देख्दै गरेका ती दृष्य विश्वास गरूँ? खै के मा भर परूँ?
सोचिरहेँ “साँझ बिहान भर्चुअल वेभिनारमा सहभागी हुने महिला भनेको कामकाजी महिला हुन् । प्रायजसो कामकाजी महिलाको वर्तमान अवस्था यस्तै छ । भौतिक उपस्थितिमा भएको सभा सम्मेलनमा होस् या डिभाइसमा हुने भर्चुअल वेभिनारमा होस प्राय सबै महिलाको आफ्नै शरीरभन्दा गह्रौँ जिम्मेदारीको मानसिक भारी सँगै टाँसिएको हुन्छ । यी बोल्दै गरेका भाषणका समानता र भोग्दै गरेका व्यवहारका समानता जोख्ने पक्षपाती तुलो देखेर उदेक लाग्छ । श्रीमान् घरबाहिर निस्किँदा आफूमात्र निस्किन्छन् तर श्रीमती निस्किँदा सिङ्गै घर, छोराछोरी, वृद्ववृद्वादेखि दिउँसाको खाजा पानी, दबाइमुलोसहित मस्तिष्कमा लिएर निस्किनुपर्छ । यसरी सिङ्गो घरपरिवार दिमागमा बोकेर कार्यलयको काम सम्हाल्नुपर्दाको बोझ बोक्नेलाई मात्र थाहा हुन्छ । कार्यालयबाट फर्किँदा फेरि भरे बेलुकादेखि भोलि बिहानसम्मको भान्सा बोकेर फर्किनुपर्छ । अफिसको थकाइ अनि भोकप्यासको सोधीखोजी परै राखौँ कपडै नफेरी चियापान गराउन पहिला खडा हुनुपर्छ । यस्तो लाग्छ कि घरको जिम्मेदारी महिलाको नामको अंश हो या दाइजो । शारीरिक र मानसिक थकान भन्ने चिज पनि कति पक्षपाती जो पुरुषलाई मात्रै लाग्छन्, महिलालाई लाग्दै लाग्दैनन् या लाग्नै पाउँदैनन् । यस्तो सुन्दा केही सुखसुविधाको दरबारभित्र रमाइरहेका महिलाहरू आफ्नो दरबार र आफ्नो परिवारभन्दा पर अर्को कुनै महिला छैन भन्नेहरूसमेत यो हुनै सक्तैन भनेर जुरुक्कै होलान् तर यथार्थ बुझ्न दरबारीया विलासिता छोडेर जनताको झुपडीमा टेक्नुपर्छ भन्ने आग्रह गर्छु उहाँहरूलाई ।
ग्रामीण भेगमा पिछडिएका महिलाका हक सवालको कुरै छोडौँ । सहरकै कैयौँ आधुनिक महलभित्र असमानताको धरहरा टसमस नगरी ठडिएकै छ जो भत्काउन निकै ठूलो भुईँचालो आउनुपर्छ । यहाँ अझै यस्तासम्म महिला बाँचिरहेका छन् जो सामाजिक, साहित्यिक, राजनीतिक, सभासम्मेलनमा गएर आफ्नो प्रतिभा पोख्नबाट वञ्चित गराइएको छ । व्यक्तिगत स्वतन्त्रताको कुरा कुन चराको नाम हो अझै पत्तो छैन । लाखौँ प्रतिभावान् वा क्षमतावान् महिलाहरू आफ्नो क्षमतालाई तिलाञ्जलि दिएर श्रीमान्, सासूससुरा, छोराछोरी, पाहुनापाछा, स्याहारसुसार अनि सरसफाइमा नै बाँधिइरहेका छन् । अनुशासितको पगरी गुथाएर अलमलाइराखिएको छ यो जमातलाई । कतिलाई आफू पशुसरह बाँचेको पत्तै छैन भने कतिलाई यो विभेदको पराकाष्ठा हो भन्ने बोध भएर पनि आवाज उठाउन डरले डेरा जमाएको छ । समानताको सवाल उठायो भने सम्बन्ध विच्छेदको डर हुन्छ । सम्बन्ध विच्छेद भयो भने आफूलाई जन्मदिने वृद्ध आमाबाबा अनि आफूले जन्माएका लालाबाला सम्झन्छन् अनि खुम्चिन बाध्य हुन्छन् कन्क्रिटको चारदिवारभित्र कक्रक्क परेर ।
समान शैक्षिक, आर्थिक, सामाजिक हैसियत भएका, समान कार्यक्षमता एवम् कार्यदक्षता भएका एउटै तहका महिला पुरुष न घरमा समान स्टाटसमा बस्न पाएका छन् न कार्यालयमा समान अवसर अनि सम्मान छ । यी विविध कारणले न घरमा सुख छ न अफिसमा शान्ति छ । मात्रै जताततै समानताको मुखुन्डो लाएर गफ चुटिरहने झुन्ड छ जसले द्वैध चरित्रको चित्रमा उभिएर विरोधाभाषपूर्ण भाषण खोक्दै त्यस्तै कारोवार गरिरहन्छन् । अर्ग्यानिक प्रमाणका लागि अहिलेका भर्चुअल कार्यक्रममा प्रयोग भएका प्रविधिमैत्री डिभाइसका भित्ताहरूमा बग्रेल्ती देखिइरहेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।