नेपाली साहित्य र पत्रकारिता क्षेत्रमा रेशम विरहीको नाम नसुन्ने सायदै होलान् । रेशमराज घिमिरे वास्तविक नाम हो तथापि साहित्यमा उपनाम राख्ने लहडले उनलाई ‘विरही’ बनायो । गोर्खा जिल्लामा जन्मिए पनि चितवन, नेपालगन्ज, काठमाडौँमा लगायत क्षेत्रमा यायावरीय जीवन बिताएको कुरा हामीले उहाँका लेखहरूमा पाउन सक्छौँ । अविराम पत्रकारिता, साहित्यको क्षेत्रमा लागेका विरही निर्भीक साहित्यकार हुन् । स्वयंलाई चाप्लुसी मन नपर्ने विरहीका लेखमा विसङ्गतिलाई दह्रो झटारो हानेर मर्ममा प्रहार गर्दछन् । उनका रचनामा समाज बोलेको हुन्छ । समाजका जीवन्त पात्रहरूलाई प्रयोग गरी आख्यानप्रधान साहित्य रचना गर्नु उनको विशेषता हो । उनको कविता तथा निबन्धमा पनि आख्यान तत्त्व प्रचुर मात्रमा रहेको हुन्छ । विशेषता नेपाली राजनीतिलाई नजिकबाट नियालेर त्यहाँभित्रको वास्तविकतालाई बाहिर प्रकट गर्ने आलोचनात्मक यथार्थवादी साहित्यकार हुन् । क्यान्सरसँगको पैठजोरीमा समेत जित हासिल गरेका विरहीका ‘देब्रे आँखा’ (२०७२) र ‘सत्ता र स्वप्नदोष’ (२०७७) दुई उत्कृष्ट निबन्धसङ्ग्रहहरू हुन् । ‘देब्रे आँखा’ (२०७२) निबन्धसङ्ग्रह र ‘प्रेमदासको डायरी’ (उपन्यास) मा प्रस्तुत विषयवस्तुमाथि अझ स्पष्ट पार्ने काम ‘सत्ता र स्वप्नदोष’ निबन्धसङ्ग्रहले गरेको छ । यहाँ यिनै निबन्धसङ्ग्रहको अतिसङ्क्षिप्त चर्चा गर्ने जमर्को गरिएको छ ।

गणेश तामाङ

‘सत्ता र स्वप्नदोष’ निबन्धसङ्ग्रहमा मुख्य दुई भागहरू (भाव र प्रभाव) रहेका छन् । पहिलो खण्ड ‘भाव’ शीर्षक अन्तर्गत १९ र दोस्रो खण्ड ‘प्रभाव’ अन्तर्गत ६ गरी जम्मा २५ वटा निबन्धहरू सङ्ग्रहित छन् । “मेरा कटु आलोचकहरूलाई” भनी समर्पण गरिएको यस निबन्धसङ्ग्रह आत्मपरक शैलीमा लेखिएको छ । प्रस्तुत निबन्धमा आफ्नो जीवनमा भोगेका आतीतका घटनाहरूलाई संस्मरणत्मक रूपमा उल्लेख गरिएको छ । स्रष्टाको खारिएको कलमले बाल्यजीवनको संस्मरण, आध्यात्मिक विषय, दर्शन तथा जीवनका सुख, दुःखका कुइनेटालाई पनि समेटेको पाइन्छ । प्रस्तुत उपन्यासमा आख्यान तत्त्व भरमार पाइने हुनाले कथा पढेको अनुभव हुन्छ ।

निबन्धसङ्ग्रहको पहिलो खण्ड ‘भाव’ अन्तर्गत १९ वटा निबन्धहरू समेटिएका छन् । यस खण्डको पहिलो निबन्ध ‘प्रेमको पर्याय प्रेम’ मा  बाल्यकाल तथा विद्यार्थी जीवनका रमाइला पलहरूको सम्झना गरिएको छ । यस समयमा आफ्नो स्वभाव कस्तो थियो ? भन्ने विषयदेखि विभिन्न वाद तथा दर्शनसँगको सामीप्य र युवावयको स्मरण गरिएको छ । आफूले सबै कुराहरूलाई प्रेम गरेको तर ती अब कहानी भएको र यथार्थबाट हराउँदै गएको र स्मृतिका पानाहरू पल्टदै गएको बताइएको छ । जीवनमा आफूले प्रेम गरेको र अझै प्रेम बाँकी रहेको कुरा निम्न साक्ष्यबाट स्पष्ट हुन्छ –

“मैले जीवनमा प्रेमबाहेक केही गरिनँ तर सम्पूर्ण प्रेमका किस्साहरू सकिए पनि प्रेम नै बाँकी हुँदो रहेछ । अहिले पनि मसँग केही प्रेम बाँकी छ । कहिलेकाहीँ सोच्छु– ‘मैले प्रेम गरेँ तर प्रेम गर्न जानिनँ । तथापि मेरो जीवनको यति फराकिलो आँगनमा केही सत्य बचेको छ भने त्यो प्रेम नै हो । त्यसैले प्रेमको पर्याय प्रेम नै रहेछ ।” (पृ. ६)

‘भाव’ खण्डअन्तर्गत रहेका निबन्धहरूमा बाल्यकाल, विद्यार्थी जीवन, युवाअवस्था, क्यान्सरसँग लड्दै गरेको अवस्था, विभिन्न व्यक्तिहरूसँगको सङ्गत तथा उनीहरूसँगको सामीप्य उल्लेख गरिएको छ । यस खण्डका निबन्धहरूमा धर्म, दर्शन, जीवन भोगाइका आरोह, अवरोहलाई अत्यन्त सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ । यस खण्डमा जीवन यायावरीय रहेको र आफू पद, प्रतिष्ठा र पैसाका निम्ति कहिल्यै पनि मरिहत्ते नगरेको विभिन्न शीर्षकभित्रका निबन्धहरूमा पाइन्छ । निबन्धहरू पढ्दै जाँदा ‘प्रेमदासको डायरी’ उपन्यास पढेका पाठकहरूलाई कतै प्रेमदास लेखक त होइनन् ? भन्ने भान पर्न जान्छ ।

जीवनमा आफूले कमाउन नसकेको र निबन्धकार शङ्कर लामिछानेजस्तै यायावर भएर जीवन बिताएको कुरा पनि बताएका छन् । आफू क्यान्सरग्रस्त भएको समयमा हिम्मत जुटाएको तर पलपलमा रोएको स्मरण पढ्दै जाँदा जोकेही पनि भावुक बन्न पुग्दछ । साथीहरूको ऊर्जाले अलिकति हाँसिददिने गरेको कुरा निम्न साक्ष्यले बताएको छ- “रातभरि रोएर निद्रा सकिन्थ्यो दिनभरि भेट्न आउने साथी र इष्टमित्रहरूको ऊर्जाले अलिकति हाँसिदिन्थेँ ।” (पृ. ६१) यसपछि आफूले क्यान्सर जितेको र आत्मबल नघटेको उल्लेख पाइन्छ ।

निबन्धमा आध्यात्मिक चिन्तन र गायत्री महाविज्ञानका महत्त्वपूर्ण विचारलाई ‘क्षीणे पुण्ये मर्त्यलोकं विशन्ति’ र ‘धरती र प्राणीको समयोग’ दुई निबन्धमा समेट्न खोजिएको छ । यसमा धर्मलाई दर्शन र मानवजीवनसँग जोडेर हेरिएको छ । मानवको देखावटी चरित्रलाई ‘पण्डित चतुर्देवको भूमिगत प्रेमलीला’ नामक निबन्धमा समेटिएको छ । मानवको देखावटी चरित्रलाई दह्रो झटारो हानिएको यस निबन्धमा चतुरदेवहरूजस्ताले अध्यात्मलाई ‘बाँदरको हातमा नरिवल’ बनाएको र समाज पतनोन्मुख रहेको प्रसङ्ग उल्लेख गरिएको छ । जसको साक्ष्य निम्न रहेको छ –

“ …. हाम्रो समाजमा चतुरदेवहरूमा अज्ञानताले आध्यात्मिकलाई ‘बाँदरको हातमा नरिवल’ बनाएका छन् । जसले गर्दा समाज निर्बल हुँदै गएको छ, आशक्ति बढेको छ र अभावग्रस्त देखिँदै छ । वर्तमान समाज गुणीय सहचरित्रको अभाव, सदाचार र सद्विचारको अभावमा पतनोन्मुख छ । विश्वमा प्रकट विभिन्न जैविक रोगव्याधिले पनि यसतर्फ सङ्केत गरिरहेको छ ।” (पृ. ९२)

‘खगेन्द्र सङग्रौलालाई पत्र’ शीर्षकमा खगेन्द्र सङ्ग्रोलासँगको सामीप्य र सम्बन्धबारे चर्चा गर्दै ‘देब्रे आँखा’ निबन्धसङ्ग्रहको टिप्पणीबारे विचार अभिव्यक्त गरिएको पाइन्छ । निबन्धङ्ग्रहको शीर्षक राखिएको प्रतिनिधि निबन्ध ‘सत्ता र स्वप्नदोष’ राजनैतिक व्यङ्ग्यको दह्रो चड्कन हो । यसलाई निबन्धकारले भने बेअर्थको शीर्षक मानेका छन् जसलाई निम्न साक्ष्यले प्रस्ट पारिएको छ –

” ‘सत्ता र स्वप्नदोष’ म यो बेअर्थको शीर्षकमा अल्झेको छु । मलाई पनि शङ्कर लामिछानेकै वाक्य प्रशिक्षित भएर सत्य लेख्नु छ । तीतो लेख्नु छ । …. तर ‘सत्ता र स्वप्नदोष’ दुवै सन्दर्भ आउने स्थिति देखिराख्या छैन । हुन त मसँग कुनै थिम र क्यारेक्टर दुवै छैन । कल्पना गर्ने कल्पनाशक्ति पनि अहिले छैन ।” (पृ. १२१)

नेपाली राजनीतिमा देखिएको सत्ता उन्मादलाई मिसाइल प्रहार गरिएको यस निबन्धमा सत्ता एकैछिनको उन्माद भएको र यो स्खलित हुने बताइएको छ । राजनीतिमा विचारको स्खलन आएको कुरालाई निबन्धकारले कडा व्यङ्ग्य प्रहार गरेका छन् । नेपाली राजनीतिक परिवर्तनका हरेक सत्ताका उन्मादहरू स्खलित भएर सकिएको प्रसङ्ग निबन्धमा उल्लेख छ । नेपाली रजनीतिमा देखिएको विसङ्गति र सत्ताप्राप्तिको लालसालाई यस शीर्षकमा अत्यन्तै गम्भीर रूपमा उठाएको देखिन्छ । यिनै विचारहरूलाई प्रस्तुत गर्दै सपना उनेर बनाएको सत्ताबाट सपना र उत्तेजना मात्र भोग्ने हो, सत्य खोज्ने होइन । हामीले भोगिरहेको समयको सत्य पनि यत्ति हो । (पृ. १२६) यिनै विचार राख्दै प्रस्तुत शीर्षक अन्त्य गरिएको छ । यसपछि भने ‘नेपालगन्जको रमणीकाल’ शीर्षकको निबन्धमा आफूले देखेको दुःस्वप्नबाट निबन्ध उठान गरिएको छ । साथै नेपालगन्जका अविस्मरणीय पलहरूलाई प्रस्तुत गरिएको छ । उनले नेपालगन्जलाई मित्रबन्धुहरूको सहर (पृ.१३२) ठानेका छन् । यस निबन्धमा जीवनको परिभाषालाई पनि अत्यन्त सुन्दर ढङ्गले प्रस्तुत गरिएको साक्ष्य यस प्रकार रहेको छ –

“जीवन भोग्नुको कठोर यन्त्रशाला हो । जीवन कसैका लागि कहिलेकाहीँ फैलिदिनुपर्ने रङ्गशाला पो रहेछ । जीवन आस्था, विचार र आदर्शको उत्पादनशीलता पनि हो । मैले जीवनलाई यी तीनवटै तत्त्व भएर भोगेँ तर भोगाइको अन्तिम सत्य प्रयोगशाला भयो र सिद्धियो तर म भने बाँचिरहेको छु, नेपालगन्ज बाँचिरहेको छ . . . . ।” (पृ. १३२ )

यस शीर्षकमा नेपालगन्जको रमणीयपल सम्झदै गम्भीर रूपमा जीवन दर्शनतर्फ डुबेको देखिन्छ । ‘भाव’ खण्डको अन्तिम निबन्ध सम्बन्धका आयामहरू – चिप्लो भाषाको महाजाल रहेको छ । यस निबन्धमा सम्बन्धहरू अनेक प्रकारका हुने विषयबाट उठान गरिएको छ । जीवनको साँढे छ दशकको दौडाइमा भेटिएका र सम्बन्ध बनेका बिग्रेका साथीसङ्गतिका बारेमा उल्लेख गरिएको छ । यस खण्डमा तमाम सम्बन्धहरूको चाङबाट दुईवटा सम्बन्धको स्मरण गरिएको छ । पहिलो सम्बन्धको कथामा रविकिरण निर्जीवसँगको सम्बन्ध र उपनाम राख्ने चलनको चर्चा गर्दै रविलाल रेग्मीले रविकिरण निर्जीव र त्यही लहडमा आफू विरही भएको खुलासा पनि गरेका छन् । रवि दाइससँगको सम्बन्ध उल्लेख गरी दोस्रो सम्बन्धको फराकिलो आयम – पृष्ठ चर्चाको अवयक्त कटुता शीर्षक थालनी गरिएको छ । यस खण्डमा आफूलाई चिप्लो भाषा मन नपर्ने गर्दै आफू चिप्लो भाषाको महाजालमा धेरैपटक फसेको प्रसङ्ग उल्लेख गरिएको छ । भेट्न आउँछु, फोन गर्छु भनेर बिर्सनेलाई सिम्कनाले स्वट्ट बजाएका छन् ।

दोस्रो खण्डको नाम ‘प्रभाव’ रहेको छ । यस खण्डमा छवटा निबन्धहरू रहेका छन् । पहिलो निबन्ध ‘हठयोगका श्वेतशार्दूल’ मा लेखक र योगी नरहरिनाथको केही सामीप्य र नवलपरासीको त्रिवेणीधाममा भएको कविगोष्ठीको स्मरण समेटिएको छ । कवि योगी नरहरिनाथको कतिपय विचारमा सहमत नभए पनि उनीभित्र निहित अपार ज्ञान, खोज र खजानाले अभिभूत भएको प्रसङ्ग उल्लेख गरिएको छ । नरहरिनाथ विश्व राजनीति, धर्म, दर्शनका ज्ञाता रहेको लेखकले बताएका छन् । त्रिवेणीधाममा भएको कविगोष्ठीमा कविहरूको व्यवहारले नरहरिनाथको उपस्थिति नभएको विषयलाई पनि उठान गरिएको छ भने नरहरिनाथ नेपाली इतिहासमा श्वेतशार्दूल रहेको अभिव्यक्ति पनि दिन खोजिएको छ ।

यसै खण्डको दोस्रो निबन्धमा नेपालका पूर्वप्रधानमन्त्री कृतिनिधि विष्टसँगको सामीप्यलाई उल्लेख गर्दै कृतिनिधि विष्टको त्रिदेशीय राजनीति विचारलाई प्रस्तुत गर्न खोजिएको छ । ‘धर्मराजको मृत्यु : एउटा निर्मम कला’ शीर्षकमा कवि तथा पत्रकार धर्मराज अर्यालको असामयिक निधन र उनको शालीन स्वचावको चर्चा गरिएको छ । पत्रिका एकदिन पनि बन्द हुन नहुने कुरा स्मरण गरिएको छ । पञ्चायतको अँध्यारो छायामा उज्यालो पक्षमा कविता लेख्ने धर्मराजले दाजुभाइबाट कुनै अंश नलिएको सन्दर्भ उल्लेख गरिएको छ । त्यसैगरी ‘वाँहाजोरी लाएको मितको अवसान’, ‘डा. डीबी सिंहको छड्के अनुहार’ र ‘रूपलालको रूपको अन्तर्य’ शीर्षकका निबन्ध पढ्नैपर्ने निबन्ध हुन् । यस निबन्धहरूमा संस्मरणका साथै राजनीतिको भित्री पाटो केलाउन खोजिएको छ । उनका अन्य कृतिहरूमा झैँ यहाँ पनि राजनीतिका कालामैलालाई छर्लङ्ग पार्न खोजिएको छ ।

‘सत्ता र स्वप्नदोष’ निबन्धसङ्ग्रह २५ वटा निबन्धले सुसज्जित उत्कृष्ट निबन्धहरूको सङ्ग्रह हो जसमा जीवनका रमाइला पल, अध्यात्म, दर्शन, राजनीति, जीवनका उत्तर चढाव, मानवीय स्वभाव लगायत कैयौँ विषय अटाउन सफल भएको छ । निबन्धमा कतै गम्भीर दार्शनिक चिन्तन पाइन्छ भने कतै राजनीति त कतै रमाइल क्षणहरू पनि । प्रस्तुत निबन्ध निबन्धका जन्मदाता मोन्तेनकै शैलीमा लेखिएको छ । मोन्तेन भन्छन्, “ म मेरो निबन्धको विषय हुँ ।” उनका निबन्धमा जताततै आफू पुगेका छन् । त्यसैगरी मोन्तेन भन्छन्, “निबन्ध भनेको संस्मरण, प्रतिबिम्बन तथा उदाहरणको लयात्मक प्रस्तुति हो ।” यिनै परिभाषाहरूलाई अध्ययन गर्दा यिनको लेखनमा प्रस्तुत परिभाषाहरूको पूर्ण परिपालना देखिन्छ । निबन्ध लेखकको वैयक्तिक विचारको शृङ्खलात्मक प्रस्तुति हो । उनको यस निबन्धमा आख्यान तत्त्वको प्राचुर्य पाइने हुँदा पढ्दै जाँदा कतै पनि ब्रेक लगाउन मन लाग्दैन ।

यस प्रकार प्रस्तुत निबन्धसङ्ग्रह ‘सत्ता र स्वप्नदोष’ बाल्यजीवनका संस्मरण, आफूसँग साक्षात्कार भएका वयक्तित्त्वहरू, विभिन्न ठाउँमा पुगेका विषय, आध्यात्मिक एवं दार्शनिक विचार, भरपुर राजनीतिक विषयवस्तु आदिलाई निबन्धले ज्यादै नजिकबाट नियालेको पाइन्छ । यसमा सङ्ग्रहित हरेक निबन्धका आफ्नै विशेषता रहेको छ ।