
‘तपाईले मलाई सम्बोधन गर्दै लेख्नुभएको ‘सुविदजी, बौधिकताको आडमा दरिद्रता न दर्शाउनुस्,’ शीर्षकको आलेख पढेँ । तर तपाईको आलेखमा मैले सार्वजनिक रूपमा सोधेका केही प्रश्नको उत्तर अपेक्षा गरेको थिएँ ।’
२०७४ असार १६ गते इनरुवाका भाइ–साथी पत्रकार इकवाल अहमदले मलाई नै सम्बोधन गर्दै लेखेको आफ्नो सम्पादन÷प्रकाशनमा रहेको ‘प्रतिक्षण’ दैनिकमा लेखेको आलेख पढेपछि मनमा उठेका तरङ्गका प्रारम्भिक हरफहरू हुन् यी ।
जबाफमा मैले पनि ‘आदरणीय’ सम्बोधन गर्दै इकवालको पत्रिकालक्षित ‘पाठक–पत्र’ लेखेको थिएँ । सुरुमा मैले यो पाठक–पत्र उनको पत्रिकाको ठेगानामा मेल गरेको थिएँ । तर त्यहाँ कार्यरत ‘कार्यकारी सम्पादक’ प्रमोद यादवलाई सोध्दा मेरो पाठक–पत्र छाप्न नसकिने जानकारी पाएँ । पाठक–पत्र वा मेरो प्रतिक्रिया प्रतिक्षणमा नछापिने निश्चित भएपछि सोही दिन साँझ इकवालसहित केही पत्रकार र केही शुभेच्छुक गरी ५१ जनालाई ट्याग गर्दै फेसबुकमार्फत ‘पाठक–पत्र’ सार्वजनिक गरेँ । जे होस् अचेल फेसबुक छ र आफ्ना कुरा चाहेको बेला साझा गर्न सजिलो पनि भएको छ ।
पाठक–पत्रमा मैले लेखेका शब्द र त्यसमार्फत् उठाएका सवालहरू कति जायज कति नाजायज छुट्याउने जिम्मा तपाईँकै । पत्रमा लेखिएका थप शब्द यस्ता छन्–
‘मैले तपाईको पत्रिकामा ‘मौन अवधिमा घोषणा–पत्रको प्रुफ रिडिङ’ र ‘नसोध्नु मेरो पहाड’ शीर्षकको लेख किन नछापिएको हो भनेर प्रश्न गरेको थिएँ । सोधेको थिएँ, तपाई यस्तो परिस्थितिमा एकल निर्णय गर्नुहुन्छ कि सामूहिक निर्णय गर्नुहुन्छ ? तपाईलाई त्यो लेख नछाप्न सल्लाह दिने को–को मान्छे हुन् ? त्यो जान्न पाउने मेरो अधिकार छ । प्रश्न गर्न पाउने मेरो अधिकार छ । यो सेरोफेरोमा मनोज मेहता, मेरा साथीहरू किरण पोखरेल र मणिराज दुलालको भनाइ के रह्यो त्यो जान्न मलाई खसखस लागेको थियो । तर तपाईले मेरा प्रश्नको जवाफ दिनुभएन । उल्टै मलाई सुझाव दिनुभयो ।’
इकवाल अहिले नेपाल पत्रकार महासङ्घको अल्पसङ्ख्यक कोटामा निर्वाचित केन्द्रीय सदस्य छन् । केही दिनअघि भएको निर्वाचनमा मैले पनि भोट हालेको थिएँ । त्यसो त व्यक्तिगत जिन्दगी र व्यावहारिकतामा इकवाललाई म तिमी नै भन्छु । तर यो पत्रमा मैले उनलाई जानीजानी ‘तपाई नै सम्बोधन गरेको छु ।
त्यो बेला उनले आलेखमार्फत मलाई दिएका सुझावहरूका लागि कृतज्ञता व्यक्त गर्दै लेखेको थिएँ– ‘तपाईको सुझावको म सम्मान गर्छु । र धन्यवाद भन्छु । तपाईले यसरी आवेशमा आएर आफ्नो मनका कुरा आफ्नो पत्रिकामा छापेर निकै राम्रो काम गर्नुभयो । तर यतिबेला म तपाईको लेखाइमा रहेका कमी–कमजोरी औँल्याउने मुडमा छैन । यसको प्रुफ पढ्ने मन पनि छैन । किनकि म एउटा व्यावसायिक पत्रकार–लेखक हुँ । लेख सम्पादन गर्ने, प्रुफ पढ्ने काम बिनापैसा गर्दिनँ ।
मेरा यी दुवै लेखहरू इटहरीबाट प्रकाशित हुने ‘पूर्वी बजार’ दैनिक पत्रिकामा छापिएका छन् । इटहरीबाट प्रकाशित हुने पत्रिकामा छाप्न हुने तर इनरुवाबाट प्रकाशित हुने तपाईको पत्रिकामा चाहिँ छाप्न नहुने किन ? ती आलेखहरूमा छाप्नै नहुने केके शब्दहरू परेका छन् ? कृपया तपाई मलाई सुझाउन सक्नुहुन्छ ?
सुरुमा मैले तपाईलाई नै छाप्न आग्रह गरेको थिएँ । तर तपाईले मेरा विचारहरूलाई निषेध गर्नुभयो किन ? होला तपाई एउटा मिडिया हाउस सञ्चालक र सम्पादक–प्रकाशक । त्यो नाताले तपाईसँग निहित होलान् राज्यले दिएका केही निहित अधिकारहरू । तर मेरो पनि प्रश्न गर्न पाउने, आफ्ना विचार सार्वजनिक गर्नका लागि इच्छित मिडिया प्रयोग गर्न पाउने सार्वभौम अधिकार छ । एउटा नागरिकको यो विशेष अधिकार कसैले खोस्न पाउँदैन ।’
यहाँनेर प्रयुक्त ‘आफ्ना विचार’ र ‘इच्छित मिडिया’ परेका छन् । दोहो¥याएर पढ्दा यी अलि अमूर्तजस्ता लाग्छन् । विचार र इच्छाको कुनै सिमाना हुँदैन तर सम्पादकीय स्वतन्त्रता भने सीमाहीन हुँदैन । आफैँ पनि सम्पादक भएको नाताले मलाई थाहा, विधिको शासनविरुद्धका विचार प्रतिबन्धित विचारहरू हुन् । तर त्यो बेला म मेरा प्रश्नहरूको जबाफ खोजिरहेको थिएँ । म सोधिरहेको थिएँ– मेरो लेखाइमा कानुनद्वारा वर्जित के कुरा वा शब्द छ प्रतिक्षणले छाप्न नमिल्ने ?
‘जहाँसम्म प्रमोद यादवको प्रसङ्गको कुरा छ, त्यो ‘नरुनु छविनाथ सर, आँसु पुछ्नु !’ शीर्षकको आलेखमा परेको ‘विचरा प्रमोद भाइलाई धेरैले हकर पत्रकार भन्छन् अझै पनि ।’ भन्ने वाक्यले उहाँको स्वाभिमानमा ठेस पुगेको अनुभव गरेँ । साँझमा भेट हुँदा, प्रमोदजीले म चार–पाँच वटा मिडिया हाउससँग सम्बन्धित मान्छे हुँ । मलाई सार्वजनिक ठाउँमा सुविद गुरागाईले ‘तिमी’ भन्न पाउँदैन भन्नुभयो । सरी प्रमोदजी । म उप्रान्त तपाईलाई कहिले पनि तिमी भन्ने छैन ।’
भगवती मन्दिरअगाडि भएको भेट र यादव प्रकरणसँगै मैले प्रतिक्षणलाई सरोकारवाला निकायमा चुनौती दिने कुरासहित पत्रको बिट मारको थिएँ ।
‘र, कृपया मेरो यो प्रतिक्रिया तपाईको पत्रिकामा हुबहु छाप्नुहोला । अन्यथा तपाईले पत्रकारिताको आडमा गरिरहेको मनोमानीको प्रेस काउन्सिलमा जवाफ दिन तयार रहनुहोला । किनभने तपाईको आलेखको करिब अन्तमा एउटा निकै आपत्तिजनक पदावली परेको छ । तपाईले ‘…बौधिकताको आडमा दरिद्रताको प्रदर्शन नगर्नुस् । यसले निरन्तरता पाए … तपाईको बौधिकताले पनि एकदिन विश्राम पाउनेछ,’ भन्ने शब्दहरू लेख्नुभएको छ । यो भनेको के हो ? कतै तपाईले घुमाउरो भाषामा मलाई ज्यान मार्ने धम्की दिनु भएको त होइन ?’
…
पाठक–पत्र भने पनि खुला–पत्र भने पनि सार्वजनिकीकरणपछि विभिन्न शुभेछुकहरूबाट विभिन्न प्रतिक्रियाहरू आए । जसमध्ये केही प्रतिनिधि यहाँ कपी–पेस्ट गर्नु उचित होला ।
शरद काफ्ले– जोसँग जे कुरा जुन मात्रामा हुन्छ, त्यसबाट त्योभन्दा बढी पाउन सकिन्न । उसको आफ्नो क्षमता, स्वभाव र सोचभन्दा असल र उच्च स्तरको व्यवहारको आशा गर्नु अतिशयोक्ति हुन्छ कि ?
विराट अनुपम– यसपाल चुनावमा इनरुवाका काङ्ग्रेस उम्मेदवारभन्दा धेर चुनावी चटारो सुविद दाजुमा आएको देखियो । राजन मेहता हारेमा के हुन्छ ? र घोषणा–पत्रको प्रुफ–रिडिङ’ आर्टिकल पढेर त्यो अनुमान गरिन्छ । तर, धम्की खाने र हदै आलोचना गर्ने स्तरकै आलेख चाहिँ थिएनन् दाइका ।
प्रमोद यादव – शब्दको जन्जालमा अशब्दको व्यापार गर्नेहरू होसियार ! इनरुवाको पत्रकारितामा क्षेत्रमा बदनाम हो सुविद गुरागाई । इनरुवाको पत्रकारितालाई यही सुविद गुरागाईले १० वर्षअघि बेचेर पलायन भएका थिए । न त सुविदलाई इनरुवाको पत्रकारिताको माया छ न त इनरुवाबासीकै । सुविद गुरागाई न त पत्रकार हो, न त पत्रकारितालाई माया गर्ने मान्छे । न त ऊमा इनरुवाको माया छ । सुविद गुरागाईको अलिकति छैन जस्तो छ ।
इकवाल अहमद – तपाईलाई लेख छाप्न पटक–पटक एउटा पत्रकारलाई दबाब दिँदा के हुन्छ थाहा छ ? छैन भने थाहा पाउन तयार रहनुहोस् । तपाईका सारा कुरा हामी जनतासामु प्रष्ट पार्न तयार छाँैँ । मेरो अधिकार खोस्ने हैसियत तपाईमा छैन ।
गेहेन्द्रचन्द्र ढुङ्गेल – मैले पनि पाठकको हैसियतले लेख हेरेँ । निकै तल्लो स्तरमा उत्रेर लेखेको जस्तो लाग्यो । कि सुविदजीलाई इनरूवा आउनबाट रोक्न खोजेको हो ?
रामकृष्ण कर्माचार्य – बीचमा पर्न चाहन्न तर विवादको स्तर देख्दा व्यक्तिगत जुगुप्साजस्तो लाग्यो । यदि त्यसो हो भने भन्न चाहन्छु विवाद व्यक्तिगत रूपमा सभ्य तरिकाले समाधान गर्नुहोस् । आफ्नो कुण्ठा सार्वजनिक गरेर मान्छे हँसाउने काममा तपाइहरूजस्तो प्रबुद्धबर्गको संलग्नता असभ्य हुने मेरो व्यक्तिगत ठहर हो ।
…
प्रतिक्रियाहरू पढिसकेपछि मैले फेरि लेखेँ– ‘यहाँनेर एउटा निकै गम्भीर प्रश्न पनि मेरा मनमा आएको छ ।
यो देशमा एउटा पत्रिकाको सम्पादकलाई यो कुरा छाप र यो कुरा नछाप भनेर उसका साथी, गुरु, मिडिया मालिक वा अरू कसैले दबाब दिन मिल्छ कि मिल्दैन ? मिल्दैन भने किन मिल्दैन ? मिल्छ भने के–के विषय वा शब्दमा दबाब दिन मिल्छ, के–केमा दिन मिल्दैन ? कसैले भेटेरै भनिदेओस् मलाई । मेरो फेसबुकमा कमेन्ट वा इन–बक्स गर्दा हुन्छ । विष्णुप्रसाद डट बिजी एटदरेट जिमेलमा लेखे पनि हुन्छ । मलाई ९८४२०२३२०५ मा फोन गरेर भन्न सक्नुहुन्छ । वा स्वतन्त्र कुनै लेख लेखेर मलाई ट्याग गरे पनि हुन्छ । मेरो ब्लग पनि छ, महाप्रभा, एउटा फरक साहित्यिक प्रस्तुति । अङ्ग्रेजी वा युनिकोडमा फन्टुस फिक्सन लेखेर गुगल सर्च गर्दा पनि म सजिलै भेटिन्छु ।’
लगत्तै प्रतिक्रिया र प्रतिक्रियाको प्रतिक्रिया क्रमशः जोडिए ।
धनकुटे कान्छा – भरिसक्य नगरेको राम्रो । यहाँ यो सन्दर्भलाई पत्रकारको योग्यता, पत्रिकाको स्तर र लगानीकर्ता वा पत्रिकाको उद्देश्यसँग जोडेर हेर्न सकिन्छ । खासमा एउटा स्तर कायम भएको पत्रिका र पत्रकारकालागि यो प्रश्न बाहियात हो । दबाब दिनै सक्दैन वा मिल्दैन ।
म – अनि यो राज्यले गर्नुपर्छ भनेको सकारात्मक विभेद के हो ? एनजिओहरूले पैसा दिँदै सफलताका कथा लेखाउँदै गरेको के हो ? केही जाति वा वर्गको अग्राधिकार के हो ? मिडिया मालिकहरूले पत्रकारहरूलाई त्यस्तो दबाब दिएका छन् कि छैनन् ? पत्रकारहरूका मनमा बसेको विज्ञापन रोकिने वा नपाइने हो कि भन्ने डर के हो ?
नारायण तिवारी – एउटा सम्पादकलाई दबाब ? कसैले पनि दबाब त दिनै मिल्दैन नि । दबाब भनेपछि त गलत काम गराउन भन्ने बुझिन्छ, होइन र ? कि, सुझाव भन्नु प¥यो, जो दिन सकिन्छ र लिन पनि सकिन्छ । यो मित्र, गुरु वा शुभचिन्तकहरूका हकमा ।
मिडिया मालिकले पनि सम्पादकलाई आफ्नो नीति, नियम र लिइएको पत्रिकाको लाइनअनुसार काम गर्न निर्देशन दिने हो, दबाब होइन । हो, सम्पादक ‘स्वाँठ’ छ भने त बेग्लै कुरा । दबाबमात्रै होइन, सम्पादककै जिम्मेवारीबाट पनि मुक्त गर्न मालिकलाई कुन आइतबारले रोक्ला र ! तर यस्तो स्वाँठ भए त ऊ सम्पादकमा नियुक्त नै हुँदैनथ्यो होला नि !
म – पक्कै पनि दाजुको कुरामा सतप्रतिशत सहमत । तर राज्य नै सकारात्मक विभेद गर्नुपर्छ भन्छ । राम्रो काम यदि कतै भइरहेको छैन भने गर्नलाई दबाबै दिनुपर्छ भनिन्छ । गोविन्द केसीको आमरण अनसन के हो ? कुनै छापिनैपर्ने विचार छ तर कुनै सम्पादकले छाप्न मानेन भने के गर्ने ?
रामकृष्ण कर्माचार्य – स्वाभाविक हो सबैले आफ्नो कुरामात्र सबैले सुनोस् भन्ने चाहना राख्नु । त्यसैले उसले सम्पादकमात्र हैन जोसुकैलाई प्रभावमा लिने प्रयास गर्छ । तर अब सम्पादकले आफ्नो विवेक प्रयोग गरी कतिसम्मको दवाब थेग्न सक्छ, त्यसैमा उसको गरिमा र पतनको परिभाषा परिभाषित हुन्छ ।
म – अति मन छुने प्रतिक्रिया । मेरो मनले चाहे जस्तो । पढिसकेपछि प्रतिवाद गर्न मन नलाग्ने ।
…



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

