सिमोद द बोउवार, चित्रकाङ्कनः कृष्ण मर्सानी

शायद ती बालिकाको पिता मातालाई आफ्नी छोरी भविष्यकी विश्व प्रसिध्द महिला हुनेछिन् भन्ने थाहा थिएन होला, जसले बाह्र वर्षको कलिलो उमेरमै “मैले ईश्वरमा विश्वास गर्नु हुन्न’ भन्ने निर्णय गरेर आफ्नी आमाले उत्प्रेरित गरी पढाएको रोमन क्याथोलिक शिक्षाबाट अप्रभावित भई सोर्वोनमा दर्शनशास्त्र पढ्न कम्मर कसिन् । उनका अन्धविश्वासी वकिल पिताले छोरीको यस्तो निर्णयलाई कुन रुपमा लिए होलान् भन्न सकिन्न ।

ती बालिकाको नाउँ सिमोन द विभर हो, जसको जन्म ९ जनवरी १९०८ मा फ्रान्सको राजधानी पेरिसमा भएको थियो । तिनले यसरी औपचारिक शिक्षा सोर्वोनको असरकारी स्कूलमा प्राप्त गरिन् र १९२९ मा दर्शनशास्त्रको डिग्री हासिल गरिन् ।
सिमोनका पिता सानैमा उनका बारेमा भन्थे, ” सिमोनले पुरुषलेझैं सोच्छे।”

बीसौँ शताब्दीका महान् अस्तित्ववादी चिन्तक ज्याँ पाल सार्त्रकी आजीवन प्रेमिका कुमारी सिमोनको भेट उनीसँग दर्शनशास्त्रको अध्ययन क्रममा भएको थियो । त्यतिखेर सिमोन केवल एक्काइस वर्षकी थिइन् भने सार्त्र तेइस वर्षका । यसरी विद्यार्थी जीवनमै एकअर्कासँग सम्बध्द भएर सात्र र सिमोन संयुक्त रुपमा फ्रान्सिसी अस्तित्ववादी आन्दोलनका प्रखर एवं समर्पित दार्शनिकका रुपमा परिचित भए । यसै क्रममा सिमोनले सार्त्रसँग सम्बध्द भएर अस्तित्ववादसम्बन्धी पत्रिका ‘लेस टेम्पस मोर्डनस’ पनि सम्पादन गरिन् ।

सिमोनले सुरुमा सार्त्रसँगै अध्यापन गराउने योजना बनाएकी थिइन् । यसै क्रममा १९३३ देखि १९३७ सम्म मार्सिल गएर दर्शनशास्त्र अध्यापन गरिन् । १९३८ मा तिनी पेरिस फर्किन् र अर्को ५ वर्ष रुआँमा गएर अध्यापन गरिन् र १९४३ देखि अध्यापन पेशालाई सदाको लागि त्यागेर स्वतन्त्र लेखनका लागि समर्पित भइन् । त्यसै साल उनको प्रथम अस्तित्ववादी उपन्यास ‘सी केम टू स्टे’ प्रकाशित भयो । त्यसपछि त सिमोनका कलमबाट अनेक उपन्यास, नाटक एवम् अनाख्यात्मक कृतिहरू जन्मे, जसले विश्वभरि नै हलचल मचाए ।

विशेष गरी उनको लामो निबन्ध पुस्तक ‘द सेकेण्ड सेक्स’ अत्यन्तै चर्चित, ख्याति प्राप्त र विवादास्पद रह्यो । उनले ‘द सेकेण्ड सेक्स’ मा आधुनिक जगतका स्त्रीहरूको बारेमा विस्तृत रुपमा व्याख्या गरेकी थिइन् । अस्तित्ववादी दर्शनमा आधारित उक्त कृतिमा विश्वका बीसौँ शताब्दीका नारीहरूको स्वतन्त्रता, अस्तित्व र अस्मिताको विशद व्याख्या र चर्चा छ । उनको विचारमा ‘विवाह आइमाईको लागि खतरनाक हुन्छ । एउटी स्त्रीको लागि बिहा गर्नुपर्ने कारण कैयौं हुनसक्छन् तर धेरैजसो त्यसबाट आइमाईको अस्मिताको अन्त्य हुन्छ ।’ उनले अर्थ्याइन्–“स्त्रीहरूको जन्म पुरुषको भन्दा कम होइन, त्यसैले श्रेष्ठतर पनि होइन ।”

हुनसक्छ यही दर्शनको प्रभावले उनी भावुक आदर्शवादको शिकार भइनन् र सार्त्रसँग समर्पण पनि गरिनन् । एकपल्ट सार्त्रले बिहे प्रस्ताव राखेका थिए तर उनी सहमत भइनन् । हुन त ‘ न्यू सेन्च्यूरी अफ इन्साइल्कोपेडियानेम्स’ मा उनलाई सार्त्रकी श्रीमती नै भनिएको छ, तर वास्तवमा उनी आजीवन अविवाहित नै रहिन् । यसै सन्दर्भमा एउटा यो तथ्य पनि महत्त्वपूर्ण छ कि १९७० मा सुप्रसिध्द ३४३ महिलाहरूसँगै एउटा अखबारमा पत्र लेखेर उनले पनि निकै अपमानजनक तरिकाले गर्भपात गराउनु परेको कुरा स्वीकार गरिन् । यसपछि महिलाले गर्भपात गराउन पाउनुपर्छ भन्ने उनको स्वर अझ चर्को भयो र ४००० महिलाहरूले भाग लिएको एउटा महिलावादी प्रदर्शनमा उनले पनि भाग लिइन् ।

सिमोनलाई बुझ्न उनका पाँच खण्डमा प्रकाशित आत्मकथाका पुस्तकहरू अध्ययन गर्न आवश्यक छ । ती पुस्तकले उनका समयमा उनीसँग सम्बद्ध व्यक्ति, समय र चरित्रहरूको समेत अध्ययनमा ठोस योगदान गर्छन् । यस किसिमले ती पुस्तकले ऐतिहासिक महत्त्व राख्छन् । प्रथम खण्ड ‘मेम्वायर्स अफ द ड्यूटिफूल डटर’ (१९५८) मा उनको यौवनावस्था एवं प्रारम्भिक शिक्षा कुराहरू छन् । दोस्रो खण्ड ‘प्राइम अफ लाइफ’ (१९६०) मा दोस्रो विश्वयुध्दको समय १९३९ देखि १८४५ बीचको फ्रान्सको स्थितिको चर्चा छ । त्यस्तै तेस्रो खण्ड ‘फोर्स अफ सरकमस्टयान्सेस’ (१९६३) मा १९५४ सम्मको युद्धोत्तर फ्रान्सको परिवेशको चित्रण छ । चौथो खण्ड ‘अल सेड एण्ड डन’ (१९७४) मा १९६२ देखि १९६६ सम्मको आफ्नो जीवनको इतिवृत्त लिपिबध्द गरेकी छन् भने पाँचौं खण्डमा त्यसपछिको समयलाई लिइएको छ ।

उनको प्रथम उपन्यास ‘सी केम टू स्टे’ एउटै घरमा रहेका जोडीहरूको अर्की युवतीको त्यसै घरमा भएको उपस्थितिले ल्याएको सम्बन्धको कटाक्षलाई लिएको छ । उनको अर्को उपन्यास ‘द ब्लड अफ अदर्स’ ले स्वतन्त्रताको र उत्तरदायित्वको समस्याको प्रस्तुति गर्दछ । नायक अरुको रगतमा आफ्नो आदर्शको प्रत्यारोपण गर्न असफल हुन्छ । कतिपय विद्वानको विचारमा यो उपन्यासबाटै उनको औपन्यासिक ख्यातिको प्रारम्भ भयो । तर ‘अल मेन आर मोरल’ भने धेरै आलोचकहरूको भनाइमा उपन्यास भन्दा अस्तित्ववादी दर्शनको व्याख्या बढी छ । यसमा अस्तित्ववादी दर्शनमाथि मृत्युले ल्याउने अर्थ एवं मानवीय स्थितिको चित्रण छ ।

सिमोनले ‘द मन्डारिन्स’ (१९५४) का लागि प्रतिष्ठित ‘प्रिक्स गनकोर्ट’ पुरस्कार पाइन् । यो उपन्यासले दोस्रो विश्व युध्दोत्तरका बौद्धिक जमातले मण्डारिन अर्थात् शिक्षित जीवन छाडेर कसरी राजनैतिक क्रियाकलापमा लाग्न बाध्य हुनपर्यो त्यसको आकर्षक व्याख्या छ ।

उनले १९७५ मा जेरुसेलम पुरस्कार र १९७८ मा ‘अष्ट्रियन स्टेट पुरस्कार’ पनि प्राप्त गरेको थिइन् ।

सिमोनले नाटक पनि लेखेकी थिइन्–‘युजलेस माउथ’ । यो यस्तो नाटक हो जुन नाटक के कुनै व्यक्ति सामूहिक स्वार्थको लागि बलिदान हुनसक्छ ? भन्ने आदर्शमा आधारित छ । यसमा चरित्रगत अस्तित्ववादी दर्शनको माध्यमबाट अनावश्यक मुखहरूको बारेमा तीक्ष्ण व्यङ्ग्य छ अर्थात् तिनले अस्तित्वको जगेर्नाका लागि क्यै गर्न सक्दैन भन्ने तर्क छ ।

सिमोनले विश्वका विभिन्न मुलुकको भ्रमण गरेकी थिइन् जसमा ग्रीस, इटली, मध्य युरोप, अफ्रिका, अमेरिका, चीन र ल्याटिन अमेरिका मुख्य छन् । उनले १९४७ मा गरेको अमेरिकाको राष्ट्रव्यापी भ्रमणको त ‘अमेरिका डे वाई डे’ नामक यात्रा पुस्तक नै लेखिन् । तर यो पुस्तक निकै विवादास्पद रह्यो । यसबारे अमेरिकामा निकै चर्चा र टीकाटिप्पणी भए । पार्टिसन रिभ्यूका विलियम फिलिप्सले त यसलाई ‘अमेरिका विरुध्दको सार्त्रको विचार बढी लादिएको सस्तो विनाशकारी पुस्तक’ भने । कमन विलले टिप्पणी गरे– ‘यस पुस्तकले अमेरिकाको बारेमा भन्दा लेखिकाको बारेमा बढी भन्छ ।’ तै पनि फिलिप्सले उनलाई यसरी प्रसंशा गर्न चुकेनन्– एउटी तन्दुरुस्त, फक्रेको गुलाफको झैँ अनुहार, आकर्षक आँखा भएकी व्यवहारमा विश्वस्त युवतीको कृति भनेर ।

उनले सार्त्रसँग संयुक्त रुपमा भियतनाम र फ्रान्सकै उपनिवेश र अल्जेरियाको स्वतन्त्रताको माग गरिन् ।

१९८० मा जब सार्त्रको मृत्यु भयो, सिमोनले भनिन्–“उनको मृत्युले मलाई उसबाट पृथक गराउँदैन । मेरो मृत्युले हामीलाई सँगै बनाउँदैन पनि ।”

सिमोन र सार्त्र सन् १९२९ देखि पार्टनर (अविवाहित भए पनि पति पत्नी झैं सँगै बस्ने पश्चिमा संस्कृति) भएका थिए र ५१ वर्षसम्म यो कायम रह्यो ।

तर सन् १९४७ मा अमेरिका भ्रमणमा गएपछि शिकागोमा उनले अमेरिकाका प्रथम नेशनल बुक एवार्ड विजेता नेल्सन अल्ग्रेनसँग उनको भेट भयो र त्यो भेट प्रेममा बदलियो मात्र होइन, उनले आफूलाई नेल्सनसमक्ष सशरीर सुम्पिदिइन् । यो प्रेमलीला केही वर्ष निकै गहिराईका साथ निरन्तर रह्यो । सिमोनले नेल्सनलाई लेखेका चिट्ठीहरूको पुस्तक नै प्रकाशित भयो, पछि । ती चिट्ठीहरुमा उनले “प्यारो लोग्ने” भनेर कैयन्पल्ट सम्बोधन गरेकी थिइन् ।

नेल्सनले सिमोनसँग बिहा गर्न चाहेका थिए तर सिमोनले पेरिस र सार्त्र छाड्न सक्दिनँ भनेपछि यो सम्बन्ध टुङ्गिएको थियो ।
सिमोनले आफ्नो उपन्यास “द मण्डारिन्स” मा नेल्सनलाई “लुइस ब्रोगान” को चरित्रमा आरोपित गरेकी थिइन् । यसले नेल्सन रुष्ट भए र जीवनको अन्तिम बेलासम्म त्यसबारे गुनासो गर्दै रहे । सो उपन्यासमा नेल्सनलाई “अमेरिकन घोडा” भनिएको थियो ।

त्यसो त सिमोन बहुपुरुष र बहुस्त्री गामिनी स्वभावकी थिइन् । सन् १९३९ मा उनले आफ्नी छात्रालाई यौन हिंसा गरेको आरोपमा उनको शिक्षण लाइसेन्स नै रद्द गरिएको थियो र पछि लाइसेन्स फिर्ता भएको थियो ।

सिमोनले सार्त्रको मृत्युको ६ वर्षपछि निमोनियाका कारण १४ अप्रिल सन् १९८६ मा ७८ वर्षको उमेरमा यो दुनियाँबाट बिदा लिइन् । उनको मृत्यु हुँदा उनको हातमा नेल्सन अल्ग्रेनले लगाइदिएको चाँदीको औंठी थियो, जसलाई उनले प्रेमसम्बन्धको अन्त्य भए पनि कहिल्यै खोलेकी थिइनन् ।

सिमोनलाई पनि सार्त्रको चिहानसँगै पेरिसको मोण्टपार्नासेको चिहानमा समाधिस्थ गरियो ।