साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

रूमीका कथाः शृङ्खला ६ : बाज र सम्राट

Chovar Blues Mobile Size
रूमी

रूमी अर्थात् मौलाना मोहम्मद जलालुद्दीनको जन्म ३० सेप्टेम्बर सन् १२०७ मा फारस सम्राज्य ( वर्तमानमा अफगानिस्तान) मा भएको थियो । न्यायवादी, इस्लामी विद्वान, धर्मविज्ञानी, सुफी सन्त र कविका रुपमा उनको परिचय स्थापित छ । उनले सुफी परम्परामा नर्तक साधुहरु (गिर्दानी दरवेसहरू) को परम्परालाई सम्वर्धन गरे । रूमी रात-दिन मानिसलाई उपदेश दिएर समय बिताउँथे । यसै क्रममा उनको भेट विख्यात सन्त “शम्स तबरेज”सँग भयो । रुमीलाई उनै तरबेजले अध्यात्म-विद्याको शिक्षा दिए । उनीसँगको भेटपछि रूमी आत्मचिन्तन र साधनामा समय बिताउन थाले । शम्स तबरेजसँगको संगतपछि रूमीले उपदेश दिने, घोषणा गर्ने र पढने-पढाउने काम बन्द गरे । रूमीका समर्थकले शम्स तबरेजले गर्दा रुमीको यो हालत भएको भनेर शम्सको हत्या गरिदिए । यस घटनाले रूमीको जीवनमा निकै गहिरो प्रभाव पार्‍यो । यसपछि उनी विरक्तिए र एकान्तबास रोज्न थाले ।

उनको लेखनमा ईश्वर र प्रेमको सुगन्ध हुन्छ । उनका रचनाले सात सय वर्ष कटाइसकेका भए पनि हिजोआज खोजीखोजी पढिन्छ । उनले कविता मात्र होइन, हाल नेपालमा लेखिने लघुकथा शैलीका धेरै कथा लेखेका छन् । उनका कथामा कुनै पनि आध्यात्मिक चेतनालाई सटिक कलाले लेपन गरिएको हुन्छ । उनका केही कथाहरूलाई नेपालीमा अनुवाद गरेर शृङ्खलाबद्ध रूपमा साहित्यपोस्टमा प्रकाशन गरिँदैछ ।

 

बाज र सम्राट

एक जना सम्राटले बाज पालेका थिए । उनी बाजलाई निकै प्रेम गर्थे । कुनै कष्ट हुन दिन्थेनन् । एकदिन बाजले के सोचेर हो कुन्नी, सम्राटलाई छोडेर गयो ।
सुरुसुरुमा त सम्राटलाई निकै पीर पर्‍यो तर केही दिनमा सम्राटले बाजलाई बिर्सिदिए । बाजलाई एउटा यस्तो मूर्खले भेट्टायो कि जसले त्यसको प्वाँख काटिदियो, नङ तासिदियो र डोरीले बाँधेर घाँस खुवाउन राखिदियो ।

मूर्ख मनुष्यले भन्यो , `तेरो पहिलाको मालिक कस्तो मूर्ख, नङ पनि सफा नगरिदिने, उल्टै बढ्न दिएर राखेको । हेर् आज मैले तेरो बढेको कपाल पनि काटिदिएँ अनि नङ पनि तासेर सफा बनाइदिएँ । कति सेवा गरिरहेको छु तेरो ! तँ दुर्भाग्यले त्यस्तो अनपढ मालिकको हातमा परेको थिइस् । अब तँ यहीँ बस्नेछस्, तँलाई घाँस चराएर हुष्टपुष्ट बनाउने छु ।´

sagarmani mobile size

केही दिनपछि सम्राटलाई बाजको याद आयो । धेरैलाई बाजको खोजीमा लगाए । त्यसपछि सम्राट स्वयं बाजको खोजतलासमा लागे । खोज्दाखोज्दै एक दिन उनी बाज भएको स्थानमा पुगे । जहाँ बाज बाँधिएको अवस्थामा घाँसमा मुख जोड्दै थियो । बाजको यो दशा देखेर सम्राट दुःखी भए र बाजलाई आफूसँगै लिएर आए । यात्रामा सम्राटले बारम्बार आफैँलाई प्रश्न सोधिरहे, `तँ स्वर्गबाट निक्लिएर नर्कमा किन गएको थिइस् हँ ?´

मूल कथा : रूमी
अनुवाद : जनक कार्की

लेखक परिचय
जनक कार्की
प्रतिक्रिया
Loading...