त्यसै दिन साँझपख त्रोफिमले आफ्नो सैन्यदलका कम्याण्डरसंग यस्तो वादविवाद गर्नु पर्यो ।

“मेरी घोडी ज्यादै होशियार छे। न त दुलकी चाल चल्छे, न त पैयाँ नै छोड्छे। अलिकति दगुर्दा नै सास बढी हाल्छ। हेर्दाहेर्दै यसले त भुँडी पनि बोकिहाली …। कति हिफाजत
गरी यसले! कति होशियार रही…। सानो बछेडो पनि त राम्रै पाई यसले… खैरो रंगको! हो त नि ! ..”- त्रोफिमले आफ्नो कुरो टुंग्यायो ।

कम्याण्डरले चिया पिउने पित्तले मग आफ्नो हातले यसरी जोडले कसेर च्यापिराखेका थिए जसरी धावामा जाँदा उनले आफ्नो तरवारको मूठ समातेका हुन्थे । निद्रालु आँखाले उनले बत्तीतिर हेरे जहाँ पहेँलो दीपशिखाको वरिपरि सा-साना पुतलीहरू फुर्फुर गर्दै उडिरहेका थिए। ती पुतलीहरू खुला झ्यालबाट उडेर आउँथे, एक छिन बत्तीनेरै फुर्फुर गरेर नाच्दथे र तत्कालै रापिएको ऐनामा टक्कराएर प्राण त्याग्दथे। तर तिनको ठाउँ तुरून्तै अरू पुतलीहरूले लिइहाल्थे ।

“…खैरो होस्‌ कि कालो, के फरक परछे र ?” सैन्यदलका कम्याण्डरले भने।- “आखिर गोलीले उडाइदिनै पर्छ ! के हामी जिप्सी हौं र घोडाका बछेडाहरूलाई पनि आफू जहाँ गर्यौं त्यही नै लिएर जानलाई? कसो? अँ त, म भन्दै छु-के हामी जिप्सी हौं र? अलि विचार त गर! सेनापति नै हाम्रो सैन्यदलको निरीक्षण गर्नै आएको बेला यो बछेडो उफ्री उफ्री पुञ्छर हल्लाउँदै नाच्न थाल्यो भने के होला ? पुरै लाल सेनाको अगाडि लाज मर्नु हुनेछ। त्ोफिम, तिमीले कसरी यस कुरामा ध्यान नपुर्याएको , हँ ? अचम्म लाग्छ बा मलाइ त! गृहयुद्ध चम्किरहेको बेला यस्तो लापरवाही ! यस कुराले अलि लाज त लाग्नु पर्ने हो। घोडापालकहरूलाई घोडाका बछडाहरू अलग्गै राख्ने कडा आदेश दिनु पर्ला | ”

भोलिपल्ट बिहान त्रोफिम बन्दुक भिरेर घरबाट हिँड्यो घाम अझ झुल्किसकेको थिएन। घाँसमा शीतका थोपाहरू गुलाफी रंगमा टल्किरहेका थिए। पैदल सेनाका बुटहरूद्वारा कुल्चिइएको र ट्रेन्चका खाईहरूले गर्दा छियाछिया परेको चहुरले आँसुको थोपा सुकेको र आन्तरिक पीडाले गर्दा चाउरिएको युवतीको अनुहार सम्झाइरहेथ्यो । आगनमा चुलोनेर भान्सेहरू बिहानको चमेना तयार पार्दै थिए । ढोकाको संघारमा सैन्यदलका कम्याण्डर पसीनाले भिजेको गंजी लगाएर बसिरहेका थिए र पिस्तोलको चिसो बींड दबाउने बानी परिसकेका आफ्ना औलाहरूले उनी फुरौला झिक्ने झाँजर बुनिरहेका थिए । कुनै समयमा यो घरेलु उद्यम प्रचलित भए तापनि अब बानी छुटेको हुँदा हात राम्रोसंग चलिरहेको थिएन ।

“झाँजर बुन्न लाग्नु भो कि? ” त्रोफिमले नजीकैबाट लुसुलुसु पार हुँदै सोध्यो ।

एउटा मसीनो बेतको चोया रौंलाले बेदैँ सैन्यदलका कम्याण्डर गुनगुनाए –

“अँ, आइमाईको करकापमा परेपछि बुन्नै पर्यो…। बुन्‌ कि बुन्‌ भनेर कर गर्छन्‌ । कुनै जमानामा त यो काम गर्ने सिपालु थिएँ, तर अहिले त बिर्सियो पनि…। खै, बनि नै रहेको छैन। ”

“हैन, मलाई त राम्रै लाग्यो।” -त्रोफिमले तारीफ गर्यो ।

कम्याण्डरले आफ्नो काखमा रहेका चोयाका टुक्राहरू टक्टक्याए ।

“के बछेडोको झंझट टुंग्याउन हिँडेको ? ”- उनले सोध्रे। त्रोफिमले चूप लागेर कुम हल्लायो र तबेलातर्फ पाइला सार्यो ।

कम्याण्डर टाउको निहुराएर बसिरहे। उनी गोली चलेको आवाज सुने प्रतीक्षामा थिए। एक मिनेटपछि अर्को मिनेट गर्दै समय बित्दै गयो , तर गोली चलेको आवाज सुनिएन । त्रोफिम तबेलाको पछिल्तिरबाट फर्कर आएको देखियो। उ निकै हडबडाइरहेको थियो।

“के भो ?”

“बन्दुकको घोडा नै बिग्रेको छ क्यारे…। गोली नै चलेन। ”

“खै त, एक पल्ट हेरौं !”

त्रोफिमले अनिच्छापुर्वक बन्दुक सुम्पिदियो ।

सैन्यदलका कम्याण्डरले बन्दूकको नाल दोब्य्राएर हेरे ।

“खै, यहाँ टोटा नै छैन त! “-उनले भने।

“हुनै सक्तैन ! ..”-त्रोफिम उत्सुकतापूर्वक बोल्यो ।

“बन्दुक भरिएकै छैन, खाली छ !”

“आच्चे | मैले त भन्नै बिर्सेको! हो त नि, त्यहाँ तबेलापछाडि नै मैले टोटा फालिसके! ”

सैन्यदलका कम्याण्डरले बन्दूक भुइँमा राखे। अनि निकै बेरसम्म चूपचाप आफूले बुनेको नयाँ झाँजर हातमा खेलाउँदै रहे । हरियो चोया मुलायम र बास्नादार थियो र त्रोफिमको । नाकमा फुलेको बेतको ठस्स गन्ध पसिरहेको थियो र जोतिएको खेतको बास्ना पनि त्यसमा मिसिएको थियो जुन बास्ना युद्धको दन्किंदो ज्वालामा परेर धेरै पहिले नै बिसिंइसकिएको थियो ।

“रहन देऊ त्यसलाई ! ”_ कम्याणडरले भने । “ चुसोस त्यसले पनि आमाको दूध! केही समयको लागि नै सही । युद्ध सकिएपछि कुनै दिन त्यो काम पनि लाग्ला खेत जोत्नु पर्दा ! सेनापतिले पनि त परिस्थिति बुझिहाल्लान्‌ नि ? दूधपेयीको काम दूध चुस्नु नै त हो। हामीले पनि आमाको दूध चुसेक हौं क्यारे ! सेनापतिले समेत दूध त आखिर चुसेकै हुन्छन्‌ । यो त स्वाभाविकै कुरा हो ! ठीकै छ, रहन देऊ ! तिम्रो बन्दुक पनि सद्दे नै छ, बिग्य्रा छैन !”