साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

सामाजिक बिहे र पार्टी

अघि कोर्टमा विवाह हुँदा रेजिस्ट्रारले विवाहको महत्त्वमाथि जसरी मीठो भनाइ राखेको थियो सोहीअनुरूप त्यस मोटी आइमाईले पनि निकै बेर बोली । बोलीको अन्त्यमा सबैले थप्पडी बजाए । मैले पनि बजाएँ । मोटी आइमाईको निर्देशानुसार बेहुलाबेहुलीले एकअर्कालाई औँठी लगाइदिए र अँगालामा बाँधिए ।

Chovar Blues Mobile Size

पाँच बज्न लाग्दा हामी क्यासल पुग्यौँ । प्राकृतिक परिवेशमा बनिएको भवन निकै आकर्षक थियो । प्रवेशद्वार नै भव्य । राजा महाराजाको भवनमा प्रवेश गरेझैँ लाग्यो । सानो सरोवरको बीचमा भएको पुलबाट कार प्रवेश गऱ्यो । त्यस सरोवरमा कमलका फूलहरू ढकमक्क फुलिरहेका थिए । भित्र ठूलो आँगन । आँगनको बीचमा गोलो बगैँचा । आँगन परतिर अङ्ग्रेजी अक्षर यु आकारको तीन तले भवन । कारले हामीलाई आँगनमा ओराल्यो र ऊ बाहिर गयो । कार पार्किङ मुख्यद्वार बाहिरै थियो । मुख्य ढोका अघिको अंशलाई छोडेर भवनअघि तीनतिर उभिएर खान सकिने गरी गोलाकार टेबुलहरू राखिएका थिए । बस्नका लागि पर्याप्त कुर्सी थिएनन् । देब्रेतिर भएका ससाना रूखका छहारीमा केही कुर्सी राखिएका थिए । हामी पुगेपछि पाहुनाहरूको चहलपहल पनि बढ्न थाल्यो । विशेष प्रकारका सेता पहिरन लगाएका सेवकसेविकाहरूले पाहुनाहरूलाई सर्बत, पानी आदि उपलब्ध गराउँदै थिए । बोलाइएका अतिथिहरू र हामी बाहिर नै पर्खियौँ ।

मुक्ति बराल

बिहेको त्यस पार्टिमा नेपाली मानिसहरू थिएनन् भन्दा पनि भीम श्रेष्ठ भन्ने मानिसको परिवार र एउटा बङ्गलादेशी परिवार थियो । बङ्ग्लादेशी बुढाले दाह्री पालेको थियो अनि बुढीले आँखा नाक-मुख मात्रै देखिने गरी घुम्टो बाँधेकी थिई । सम्पूर्ण जिउ ढाकिने साधारण पहिरनमा दुईवटी तरुणी छोरीहरू पनि थिए । एउटीको नाम साब्रिना । काथीकी साथी साब्रिनालाई चाहिँ शीला दिदीले पनि छोरीजत्तिकै मान्नुहुँदो रहेछ । शीला दिदीलाई घरैमा आएर साब्रिनाले निकै सघाउपघाउ गर्दी रहिछ । बिहेमा पनि साब्रिना निकै सक्रिय थिई । बाउआमा आएका बङ्ग्लादेशबाट । छोरीहरू अस्ट्रियामा नै जन्मेका ।

अर्को परिवार थियो भीम श्रेष्ठको । भीमसित दिदीले मेरो परिचय गराइदिनुभयो सिने कलाकार भनेर । त्यसपछि उसले मेरो साथ छोड्दै छोडेन । उसले आफ्नो गफ छाँट्न थाल्यो । उसले राजेश हमालको कुरा झिक्यो । राजेश हमाल फिल्ममा काम गर्नुभन्दा अघि ठमेलमा ऊ बसेको ठाउँमा हाफपेन्ट लगाएर आउने गर्थे रे । श्रेष्ठ रहेछ धुलिखेलमा आफ्नो घरजग्गा, नातागोता सबै भएको मान्छे । धुलिखेल अस्पतालको छेउमा उसको औषधि पसल थियो अरे । उसले आफूलाई केमिस्ट हुँ भन्थ्यो । त्यस अस्पतालमा अस्ट्रियाबाट डाक्टरका रूपमा दुई-तीन वर्षका लागि खटिएर गएकी रहिछ उसकी श्रीमती । डाक्टरनीको परिचय भीमसित भएर मन परापर भएछ र उनीहरूले बिहे गरेछन् । अस्ट्रियन स्वास्नी भएकाले उसको भिसा सजिलै पाइँदो रहेछ अनि कालक्रममा नागरिकता पनि । त्यसपछि अस्ट्रियन स्वास्नीकै घरमा श्रेष्ठ बस्दो रहेछ । सत्र-अठार वर्षकी एउटी छोरी पनि थिई । त्यसलाई नेपाली भाषा सिकाको रहेनछ । जर्मन र अलि-अलि अङ्ग्रेजी बोल्ने । भिएनामा श्रेष्ठले स्वास्नीकै क्लिनिकको हेरविचार गर्दो रहेछ ।

बिहे भवनको भित्रको कार्यक्रम सुरु हुनुभन्दा अघि बाहिर आँगनमा जुस, वाइन आदि खाएर अतिथिहरू गफ गरिरहेका थिए । म बसेर वाइन खाँदै थिएँ । जुसको ग्लास लिएर श्रेष्ठ मेरो छेउमा आएर गफ गर्न थाल्यो । एउटी सेविका जुस र वाइन बाँड्दै हामीतिर आई । त्यस श्रेष्ठले भन्यो – मेरा लागि एउटा वाइन तपाईँले लिइदिनुहोस् प्लिज!  उसैले लिँदा पनि त हुने थियो मलाई किन लिन लगाएको होला भनी सोच्दै सेविकाको ट्रेबाट वाइनको एउटा ग्लास मैले लिएँ । मेरो हातमा एउटा वाइन ग्लास पहिलेदेखि नै थियो । त्यसैले त्यो ग्लास उसलाई दिन अघि बढाएँ तर उसले समाएन । दुई जनाको बीचमा राख्न लगाएर भन्यो – मेरी स्वास्नीले वाइन खाएको देख भने मलाई गाली गर्छे । ऊ आएर सोधी भने यो तपाईँको ग्लास भन्न है – उसले भन्यो । यताउति हेर्दै उसले सुरुप्प एक घुट्की खायो र ग्लास दुई जनाकै बीचमा राख्यो । नभन्दै उसकी स्वास्नी र छोरी उसलाई खोज्दै टुप्लुक्क त्यहाँ आइपुगे । जर्मन भाषामा डाक्टर्नीले आफ्नो बुढालाई के-के भनी मैले केही बुझिनँ । बुढाले पनि ग्लास देखाएर केही भन्यो । बुढीले मलाई सोधी – के यो उसको पहिलो ग्लास हो ?  श्रेष्ठ र डाक्टर्नीको आचरण देखेर मलाई पनि रमाइलो गर्न मन लाग्यो । हुन त मेरो छेउमा आउँदा उहाँको हातमा पहिलेदेखि नै एउटा ग्लास थियो । त्यो खाइसकेर उहाँले यो अर्को माग्नुभएको हो, त्यसअघि उहाँले कति खानुभयो मलाई थाहा छैन – मैले भनेँ । डाक्टरनीले – हो र !!  भनेर ठूलठूला आँखा पार्दै लोग्नेलाई ि भन्दै छोरीलाई लिएर फुइँकिँदै त्यहाँबाट गई । स्वास्नी गएपछि श्रेष्ठ भावविभोर भएर मलाई भन्यो – यत्तिको मायाँ गर्ने स्वास्नी त कसैका पनि हुँदैनन् होला । तपाईँले देखिहाल्नुभयो । मेरी स्वास्नीले साह्रै मायाँ गर्छे मलाई । मैले पनि उसैको कुरामा सही थाप्दै भनेँ – हो, मैले देखेँ । तपाईँकी श्रीमतीका ती ठूलठूला आँखामा तपाईँप्रति अथाह मायाँको सागर देखेँ । श्रेष्ठ त्यस ठाउँमा धेरै वर्षदेखि स्वास्नी र छोरीसित सँगै बसेको रहेछ । धन्न छुटानाम भएको थिएन । जे जस्तै होस् श्रेष्ठ रमेको छ, खुसी छ । जीवनमा खुसी हुनु र रमाउन सक्नु पनि मानिसको एउटा ठूलै उपलब्धि हो ।

ठ्याक्कै पाँच बजेपछि सबैलाई माथि बोलाइयो । आयताकार ठूलो कोठामा प्रवेश गऱ्यौँ । लहरै कुर्सी ओछ्याइएका थिए । सबैभन्दा उघि एउटा लामो टेबुल थियो, त्यस टेबुलपछि एउटा कुर्सी अनि अगाडि चारवटा कुर्सी अघि म्यारेज ब्युरोमा झैँ राखिएका थिए । टेबुलपछि एउटी मोटी हँसिली आइमाई उभिएकी थिई । त्यस कोठाको भित्ता र छानामा विभिन्न प्रकारका सुन्दर चित्रहरू अङ्कित थिए ।

सबै अतिथि बसिसकेपछि सङ्गीतको धुन बज्न लाग्यो । त्यस धुनसँगै बेहुलाबेहुली प्रवेश गरे । एउटी सानी केटीले फूल तथा झिलिमिली कागजका टुक्राहरू बेहुलाबेहुली आउने बाटामा छर्दै उनीहरूलाई स्वागत गरी । बेहुलाबेहुली आएर लामो टेबुलअघि उभिए । उनीहरूको स्वागतमा सबै अतिथिहरू पनि उभिए । सङ्गीतको धुन समाप्त भएपछि त्यस मोटी आइमाईले सबैलाई बस्ने अनुरोध गरी अनि त्यस आइमाईले मृदु मुस्कान छर्दै जर्मन भाषामा उपदेश फलाक्न थाली । योचाहिँ मलाई त्यहाँ हुने सामाजिक बिहेजस्तो लाग्यो । शीला दिदी र छोरी काथीले इसाई धर्म ग्रहण नगरेका हुनाले चर्चमा बिहे नगरेको कुरा दिदीले मसित गर्नुभएको थियो । नेपालबाट लामो खाले तिलहरी ल्याइएको थियो । सिन्दुर र सिन्दुरे लुगा मलाई ल्याउनु भनेकै थिए । यस सामाजिक अनुष्ठानमा बेहुलीले बुट्टा भरेको अति आकर्षक भारतीय लेहेङ्गा लगाएकी थिइन् ।

अघि कोर्टमा विवाह हुँदा रेजिस्ट्रारले विवाहको महत्त्वमाथि जसरी मीठो भनाइ राखेको थियो सोहीअनुरूप त्यस मोटी आइमाईले पनि निकै बेर बोली । बोलीको अन्त्यमा सबैले थप्पडी बजाए । मैले पनि बजाएँ । मोटी आइमाईको निर्देशानुसार बेहुलाबेहुलीले एकअर्कालाई औँठी लगाइदिए र अँगालामा बाँधिए । सँगसँगै फुपूकी कान्छी बुहारी मेलीले जर्मन भाषामा एउटा गीत गाइन् । सायद त्यो शुभकामना गीत थियो ।

गीतपछि कुर्सीमा नै बेहुलीलाई बसाएर रूनीले बेहुलीको निधार छोपिने गरी सेतो लुगा समाइन् अनि दिदीको निर्देशानुसार ग्रेयर्ग अर्थात् बेहुलाले काथीको सिउँदोमा सिन्दुर लगाइदियो । यो प्रथा सायद त्यहाँ उपस्थित भएका अस्ट्रियन अतिथिहरूलाई साह्रै रमाइलो लागेछ । सबैलाई मन पऱ्यो । हिन्दू प्रथामा गरिने बिहेको त्यो एउटा महत्त्वपूर्ण अङ्ग हो भन्ने कुरा दिदीले जर्मन भाषामा सबैलाई जानकारी गराउनुभयो । त्यसपछि मेलीले फेरि एउटा गीत सुनाइन् । गीतको भाषा मैले त के बुझ्नु र ? गीत समाप्त भएपछि गडगडाएर थप्पडी बज्यो । त्यतिमा त्यहाँको कार्यक्रम समाप्त भएछ । त्यस हलबाट सबै बाहिर तल आँगनमा ओर्लिए । आँगनमा पुगेपछि निम्त्याइका अतिथिहरूले बेहुलाबेहुलीलाई उपहार दिने र फोटो खिच्ने कार्यक्रम सुरु भयो । निकै बेर चल्यो । काथीका केही साथीहरूले गुडाउने ट्रलीमा आ-आफ्ना नानीहरू ल्याएका थिए । एउटा जोडीले तीन-चार महिनाका जम्ले नानी पनि ल्याएका थिए । दुई जना जम्ले नानी एकैसाथ राखेर गुडाउन सकिने बच्चागाडी मैले पहिलो पल्ट देखेँ । तरिका मिलेको राम्रो ट्रली थियो त्यो । एकल परिवारमा रहने त्यताको चलनले गर्दा त्यस प्रकारको परिस्थितिको सृजना हुनु स्वाभाविक थियो । बाउआमा दुवै मिलेर ती नानीहरूको स्याहार गर्दै गरेको दृश्यले मलाई आकर्षित गऱ्यो । पहिले उनीहरू दुवै मिलेर ती नानीहरूको डाइपर फेरिदिए र त्यसपछि दुईवटा बोतलमा दूध बनाएर खुवाउन थाले । उनीहरूको आपसी सहयोग सराहनीय लाग्यो ।

त्यस कार्यक्रममा बेहुलो ग्रेयर्गकी आमा खैरे रङ्गको धुलौटे मिनिस्कर्ट लगाएर आएकी थिई । छोराको बिहे भनेर लगाउनुपर्ने खासै पहिरन थिएन त्यो । छोरोजस्तै निकै अग्ली थिई ऊ तर बेहुलीकी आमा शीला दिदी भने सौम्य, सुन्दर र आकर्षक पहिरनमा हुनुहुन्थ्यो । फुपूले चिनाउनुभयो साथै फुपूकी आफ्नी सासू पनि नातिनीको बिहेमा आएकी थिई । सानो जिउकी होची थिई ऊ । दिदीकी सासूचाहिँ निकै बोलैया र फुर्तिली जस्तो लाग्यो ।

बिस्तारै अँध्यारो हुन थाल्यो । एउटा बोर्ड ल्याएर आँगनमा राखियो । त्यस बोर्डमा केही लेखिएका दशवटा वृत्ताकार कार्ड टाँसिएका थिए । सबै अतिथिहरू बोर्डअगाडि गएर झुम्मिए । भीड अलिक खुकुलो भएपछि म पनि के रहेछ भनेर हेर्न गएँ । भित्र डिनर रुममा खाने टेबुलमा को को कुन कुन टेबुलमा बस्ने भनेर नम्बरअनुसार अतिथिहरूको नाम लेखिएको सूची रहेछ त्यो । एउटा टेबुलमा सात जना गरी बस्नुपर्ने । सत्तरी जनालाई दशवटा टेबुल । त्यो सूची हेरेर अतिथिहरू खाने भवनतिर जान थाले । बोर्डमा टाँसिएको क्रमानुसार नै भित्र पनि सोहीअनुरूप टेबुल राखिएका थिए । हाम्रो टेबुलमा मलगायत महेन्द्र दाजु, सेरोल भाउजू, भास्कर, दिवाकर, मेली र फुपू हामी सबै आफन्त मात्रै परेका थियौँ । सायद फुपूले पहिलेनै भन्नुभएको थियो होला । मूल ढोकाको दाहिनेतिरको कुनामा हाम्रो टेबुल राखिएको थियो । हामी हाम्रो टेबुलतिर गयौँ । गोलो टेबुलको सातैवटा कुर्सीका अघि सुन्दर अङ्गेजी अक्षरमा प्रत्येक अतिथिको नाम लेखिएको हुँदो रहेछ । मेरो नाम हेरेर म बसेँ । सोहीअनुरूप सबै बसे । मेरो दाहिनेतिरको कुर्सीमा सेरोल भाउजू र देब्रेतिर फुपूका जेठा छोरा भास्कर परेका थिए । ठूलो गोलो टेबुलका बीचमा राखिएको फूलदालीमा राम्रा फूलहरू सजाएर राखिएका थिए । प्रत्येकका अघि सानाठूला प्लेट, काँटा-चम्चा, छुरी, नेप्किन पेपर, खाँदा काखमा राख्ने ठूलै तौलिया, पारदर्शी प्लास्टिकमा सुन्दर पाराले अङ्ग्रेजी अक्षरले के (K)ि (G) लेखिएको केक, नुन र विभिन्न मरमसालाका साना-साना बट्टा राखिएका थिए । त्यसबाहेक वाइन ग्लास, ह्विस्की ग्लास, रेड र ह्वाइट वाइन तथा ह्विस्कीका बोतलहरूकै साथमा एउटा ठूलो श्याम्पेनको बोतल पनि सजाएर राखिएको थियो । पानीका बोतलहरू पनि थिए । त्यस प्रकारको टेबुल र त्यसको सजावट मैले पहिले देखेको थिइनँ ।

अतिथिहरू बसिसकेपछि प्रत्येक टेबुलमा प्रायः सबैले एकैचोटि स्याम्पेन खोल्दा रहेछन् । हाम्रो टेबुलको स्याम्पेन मेलीले खोलिन् र सबैको ग्लासमा हाल्दै गइन् । सबै अतिथिहरूले स्याम्पेन हालिएको ग्लास माथि उचालेर जर्मन भाषामा केही भन्दै सुरुप्प एक घुट्की खाए । बेहुलाबेहुलीलाई शुभकामना व्यक्त गरेझैँ लाग्यो ।

मैले मेरा अगाडि राखिएको खानेकुराको सूची (मेन्यु) हेरेँ । अक्षर त अङ्ग्रेजी नै हो तर भाषा जर्मन । अक्षर मात्रै बुझेर केही काम लागेन । मैले खानेकुराको परिकार बुझ्न सकिनँ । म बसुन्जेल शीला दिदीले गाईको मासु खाएको देखिनँ । शीला दिदीबाहेक मेरो टेबुलमा बस्ने कसैलाई पनि खानेकुरामा दिगमिग भएको देखिनँ । मोले दाइ, सेरोल, दिवाकर र मेली सबैले खाने कुराको बुफे सजाएको कोठामा गएर गाईको मासुको स्लाइस प्लेटमा हालेर ल्याए । उनीहरू आएपछि म र भास्कर बुफे सजाइएको कोठामा गयौँ । भास्कर सोझै मासु सजाएर राखेको टेबुलअघि गए । गाईको, भेडाको र सुङ्गुरको ठूलठूला फिला लहरै राखिएका थिए । सायद ती मासुहरू बफाएर पकाएका थिए होलान् । भास्करले गाईको मासु मागे । त्यहाँ बसेको मानिसले धारिलो हतियारले गाईको फिलाबाट सलक्क मजाको स्लाइस काटेर एउटा प्लेटमा हाल्यो र त्यसमा धनिया पत्ता, सस, चटनी आदि मासुको चारैतिर मिलाएर राख्यो र भास्करलाई दियो । कुखुरा पनि सिङ्गासिङ्गै तन्दुर गरेर राखिएका थिए । मैले भास्करलाई कुखुराको मासु मागिदेऊ भनेँ । उनले पनि त्यस मानिससित जर्मन भाषामा कुखुराको मासु मागिदिए । अघि गाईको मासु काटेकै हतियारले त्यस मानिसले कुखुराको मासु काट्न लागेको देखेँ र मैले तुरुन्तै भयो म मासु खान्न भनेँ । त्यसपछि के-के खानेकुरा राखेको छ भनेर सबै टेबुलतिर गएर हेर्न थालेँ । मासुका परिकार अरू पनि थिए तर त्यता मैले फर्किएर पनि हेरिनँ । एउटा टेबुलमा निकै ठूलो माछाका स्लाइसहरू बनाएर राखेको देखेँ । प्लेटमा माछाको स्लाइस एउटा आफैँ हालेँ साथमा छेउमा राखेको सलाद र चटनी पनि हालेँ र आफ्नो टेबुलमा आएँ । माछाको स्लाइस देखेर सेरोलले अङ्ग्रेजीमा सोधिन् – मुक्ति ! तिमीले खै त मासु ल्याएको ? मैले भनेँ – म गाईको मासु खान्नँ । साथसाथै मोले दाइले भन्नुभयो – भारतमा हाम्रो परिवारले गाई र सुङ्गुरको मासु खाने चलन छैन । सेरोलले भनिन् – हो र ! तर मुक्ति यो मासु साह्रै स्वादिलो बनेको छ । ट्राइ गर्ने हो भने मासु खाने मान्छेले खाँदा हुन्छ । मैले भनेँ – धन्यवाद भाउजू ! म खान्नँ     

मैले माछा र स्याम्पेन खान थालेँ । त्यो माछा धुवाँ गह्नाएको माछा रहेछ । जसलाई स्मोकी फिस भनिन्छ । छोराले मलाई दिल्लीमा एकपल्ट स्मोकी चिकन ख्वाएको थियो । पहिले मैले स्मोकी चिकन नखाएको भए सायद त्यो स्मोकी माछा पनि खाने थिइनँ होला । स्मोकी माछा मैले पहिलोपल्ट चाखेँ । स्वादिलो थियो । नुन, तेल मसला आदि केही नभएको त्यो स्मोकी माछाको स्वाद मलाई मन पऱ्यो । स्याम्पेन खाइसकेर मैले मेरो ग्लासमा रातो वाइन हालेँ । स्याम्पेनको स्वाद मलाई मन पर्दैन । त्यहाँ एकपल्ट पस्किएको खानैपऱ्यो । माछाको पिस ठूलै थियो । त्यो सक्न निकै बेर लाग्यो । माछा खाइसकेर म फेरि बुफे कोठामा गएँ । भात, सब्जी र रोटी पनि थियो । सधैँ खाएको कुरा के खानु जस्तो लाग्यो । एक ठाउँमा मसरुम देखेँ । अलि-अलि झोलमा डुबाएको मसरुमको सुपजस्तो । त्यही मसरुम चाख्नुपऱ्यो भनेर एउटा बटुकामा हालेँर आफ्नो ठाउँमा ल्याएँ । सेरोल मतिर हेरेर हाँस्दै थिइन् । सबैले आआफ्नै स्वादअनुसारका खानेकुरा ल्याएर खाए भने मैले आफ्नै पाराका मन पर्ने खानेकुरा खाएँ । अन्त्यमा मैले ब्रेडको स्लाइस लिएँ साथमा मक्खन र चीज पनि । त्यति खाइसकेर फेरि म बुफे कोठामा गएर त्यहाँ राखिएका परिकारहरू हेर्न थालेँ । धेरै थरीका आइसक्रिम र मिठाई पनि राखिएका थिए । म गुलियो त्यति मन नपराउने मान्छे तर पनि त्यहाँको आइसक्रिम चाख्ने सुर चढेर एउटा आइसक्रिम ल्याएर खाएँ । त्यसरी मेरो खाने कार्यक्रम सकेर म त्यहाँको रमिता हेर्न थालेँ । सबै पाहुनाहरू खाँदै गफ गर्दै रमाइलो गर्दै थिए । बेहुलाबेहुलीको छेउमा गएर एकछिन गफ गरेँ अनि रूनी र फ्रिदरिखका छेउमा गएँ । त्यति बेलै बेहुलाबेहुलीका दुई-तीन जना साथीहरू उभिएर के-के भनेर प्रहसन गर्न थाले । बुझ्न त मैले केही बुझिनँ तर सबै हाँस्दा म पनि हाँसिदिएर बुझ पचाएँ ।

झन्डै सात बजेतिर सुरु भएको सो पार्टी दश बजेतिर सिद्धियो होला । सबै तल ओर्लिन थाले । पार्टी सकिएर घर-घर जाने होला भनेको त तल फेरि अर्को आयोजन पो रहेछ । तल ओर्लिनासाथ सोफाहरू राखिएको एउटा ठूलो कोठा रहेछ । रूनी, फ्रिदरिख, मोले दाइ, सेरेल भाउजू, शीला दिदी अनि अन्यहरू सबै सोफामा बसे । म पनि बसेँ । एकछिन हामी गफमा अलमलियौँ । त्यसकै छेउमा अर्को एउटा ठूलै कोठामा म्युजिक सिस्टमको तयारी हुँदै गरेको देखेँ । नृत्य-गीतको कार्यक्रम हुने रहेछ हाम्रो यताको जस्तै । अचेल हाम्रो यता डिजे भन्ने म्युजिक सिस्टम अति चर्को स्वरमा बजाएर नाचेन भने बिहे अपुरो हुन्छ जस्तो पो भएको छ । मलाई फेरि त्यस प्रकारको चर्को स्वर मन पर्दैन । चर्को स्वरले ढ्वाङढ्वाङ गरी बेस बज्दा मेरो त छाती चर्किएला जस्तो हुन्छ । त्यसो हुँदा म त्यसबाट अलग्गै बस्ने गर्छु वा त्यो ठाउँ नै परित्याग गर्छु । हाम्रातिर बिहे भएको स्थानको छेउछाउमा घर हुनेहरूको रातिको त्यो चर्को ध्वनिले के हाल हुन्छ होला । झन् बुढाबुढी र बिरामी छन् भने त उनीहरूको बिजोग नै हुन्छ । ध्वनि प्रदूषणले मानिसलाई अपठ्यारो पार्छ भन्ने कुरा जानी-जानी पनि प्रशासनले त्यसतर्फ किन कडा कारबाही नगरेको होला । राति दश बजेपछि माइक र डिजे नबजाउनु भन्ने नियम त सरकारले बनाएको छ भन्ने पनि सुनेको छु । तर लागु किन नभएको? अचम्म छ । विभिन्न कारण होलान्, त्यसलाई कोट्याउनेतर्फ नलागौँ भन्ने लाग्यो ।

मैले त्यहाँ ठूलो डिजे होइन तर साधारण म्युजिक सिस्टम देखेँ । मेरो मन ढुक्क भयो । नृत्यको आयोजन गरिएको लामो कोठाको एकातिर गतिलो बार सजाइएको थियो । सङ्गीत सँगसँगै नृत्यको कार्यक्रम सुरु भयो । रातिको त्यस नृत्यको कार्यक्रममा बेहुला र बेहुलीका साथीहरू र आफन्तहरू मात्रै थिए । अन्य पाहुनाहरू गइसकेका थिए । नृत्यको सुरुवात गर्नेहरूमा बेहुला र बेहुलीका साथीहरूको अग्रणी भूमिका थियो । उता बारमा जसले जे खान्छ सबै उपलब्ध थियो । विभिन्न परिकारका ककटेल आदिदेखि लिएर वाइन, बियर सबै । बारमा राखिएका परिकारहरूको पनि सूची थियो । त्यस सूचीमा एउटा ककटेलको नाम काथी (बेहुली) स्पेसल भन्ने पनि थियो । बार काउन्टरकै एक छेउमा ताततातो हल्का प्रकारका विभिन्न खानेकुराको व्यवस्था पनि थियो । मलाई भास्करले पहिले नै – ती खानेकुरा तपाईँले खानेलायकको छैन भिनाजु भनेर सतर्क गराएपछि म त्यसको छेउ पनि परिनँ ।

सङ्गीत र नृत्य सँगै रमझम पनि चुलिन थाल्यो । बुढाबुढी, तन्नेरी सबै नाचे । ससाना नानीहरू लिएर आएका परिवारलाई त्यस नृत्यको कार्यक्रममा देखिनँ । नानीहरूलाई स्याहार पुग्दैन वा उनीहरू निदाउँछन्, विश्राम गर्नुपर्छ भन्ने विचारले घर फर्किनु भनेको उचित निर्णय लाग्यो । जे होस्, शीला दिदीकी छयासी वर्ष पुगेकी सासू पनि तरुणी नाचेझैँ नाचेको देखेर मेरो मन गद्गद भयो । त्यहाँ उपस्थित भएकाहरूमा ननाची बस्ने कोही थिएनन् । बेहुलीको परिवारका सदस्यहरू मात्रै नाच्ने कार्यक्रम पनि थियो । त्यसमा म, रूनी, शीला दिदी, काथी, सेरोल, मोलेदाइ, ग्रेयर्ग, भास्कर, दिवाकर, मेली आदि पऱ्यौँ । त्यसरी नै बेहुला र बेहुली मात्रै पनि नाचे अनि उनीहरूका साथीहरूले छिमल-छिमल गरी प्रस्तुत गरेको नृत्य कार्यक्रमको विचित्रता अलग्गै थियो । एकछिन नाच्यो, थाक्यो, आयो, बस्यो अनि ककटेल सुरुप्प पाऱ्यो । गजबको दृश्य थियो त्यो । रमाइलो गर्न जानेका हुन् । मातेर कोही हुत्तिएको वा लडेको देखिनँ । मेन्युमा भएका दश-बाह्र थरीका ककटेल चाख्ने मेरो फेरि अर्कै सुर थियो । मेन्युअनुसारका ककटेलको परिकार बनाइदिने बारमा विशेष दुई-तीन जना मानिस खटेका थिए । मैले ककटेलको मेन्यु एउटा खल्तीमा राखेँ । सोहीअनुसार मेन्यु देखाउँदै ककटेल मागेर खाने गरेँ । मेन्युको परिकारअनुसार बारको मानिसले विभिन्न बोतलबाट अलि-अलि रक्सी एउटा सानो खाले ग्लासमा मिसाएर ककटेल तयार गरिसकेर बरफ हाल्यो । त्यसरी ककटेलको मिश्रण बनाइसकेर बारको मानिसले काँचको पाइपजस्तो एउटा सुइरो निकालेर ग्लासमा चोब्यो र पहिले ऊ आफैँले चाख्यो अनि त्यो सुइरो डस्टबिनमा हाल्यो । उसको चित्त बुझेन भने कुन परिकार त्यस ककटेलमा पुगेन सो अलि अलि फेरि मिसायो अनि फेरि पहिलेझैँ चाख्यो र उसको चित्त बुझेपछि त्यस ककटेलमा डाँक्ला समेतको तुलसीका पातजस्ता केही पात माथिबाट राखेर बारको मानिसले हामीलाई दिने गर्दथ्यो । ककटेलमा हालेको पात देख्दा तुलसीजस्तै थिए तर मैले हाम्रातिर देखेका पातभन्दा केही ठूला थिए । तुलसी नै हो के भनेर मैले पात मात्रै अलग्गै चबाएर खाएँ । ती तुलसीकै पात हुन् भन्ने कुराको कुनै शङ्का रहेन । तुलसीमा भएको गुणहरूको कुरा अहिले हाम्रो यता पनि थाहा पाइसकेका छन् तर पहिले तुलसीको प्रयोगमा आध्यात्मिक भावना मात्रै रहेको कुरा यहाँ उल्लेख गरिरहनु नपर्ला भन्छु । ककटेलको ग्लासमा हालेका तुलसीका पात मैले चबाएर खाएको मोले दाइ र भास्करले हेरिरहेका रहेछन् । मोले दाइले मौका पाएको त हो । मलाई छड्के हानिहल्नुभयो – ल है मुक्ति ! यो ककटेल त अति नै पवित्र पो रहेछ हो कि ? तुलसीका पात हालेको । त्यसो भए यो खाँदा धर्मभ्रष्ट हुँदैन होला । बल गर है गर । साँच्चै नै त्यो बडो मीठो जिस्काइ थियो । भास्कर पनि किन पछि पर्थे र  । उनले पनि छड्के हानिहाले – ककटेल चखुवा भिनाजु भनेर जिस्काउँदै पनि थिए उनी ।

ककटेलको आनन्द लिँदै सङ्गीतमा झुम्दै नृत्यमा सबै रमाइरहेका थिए । रूनी, सेरोल, शीला दिदी सबै नै ककटेलको चुस्की लिँदै नृत्यमा रमिरहेका थिए । तुलसीको पात हालेको विभिन्न स्वाद भएका त्यति धेरै थरीका ककटेल जिन्दगीमा मैले पहिलो पल्ट चाखेँ । ककटेलको स्वाद अचम्मकै थियो । कुनै कुनै ककटेलको स्वाद त एउटै घुट्की पनि घाँटीमुनि नछिर्ने खालका थिए । नामै त ककटेल, कति प्रकारका रक्सीहरूको सम्मिश्रण हो त्यो । त्यसको जानकारी लिनेतर्फ लागिनँ । अन्त्यमा क्याथारिना स्पेसल ककटेल पनि चाखेँ । त्यो बेहुली स्पेसल ककटेल देख्दा केही गुलाबी रङ्गको थियो । टर्रो अनि सँगसँगै गुलियो स्वाद पनि थियो । अङ्ग्रेजी वा जर्मन गीत बजाएर नाच्नु भनेको त त्यहाँकै चलनअनुसारकै थियो होला तर त्यहाँ हिन्दी गीतमा नृत्य गरिँदा मलाई अचम्म लाग्नु स्वाभाविक थियो । सङ्गीतले भाषाको बन्धन तोडेर मनको भाषामा बोल्छ भन्थे, सही रहेछ । यसरी समय बितेको थाहा नै पाइएन । न त अल्छी लाग्यो न निद्राले नै छोप्यो । दुई बजेर गइसकेछ ।

त्यहाँ उपहारमा राम्रा राम्रा फूलका गुच्छा आएका थिए । शीला दिदी फूल भनेपछि हुरुक्कै हुने मान्छे । शीला दिदीका घरमा ठाउँ नभए तापनि विभिन्न फूलका गमलाले भरिएको छ । दिदीको घरमा भान्साघर, झ्याल, सुत्ने कोठो, बैठक कोठो र कुनाकाप्चा सबैतिर फूलैफूलका गमला सजिएका पाइन्छन् । साथमा ती फूलको उचित स्याहार पनि उहाँले पुऱ्याउनुहुन्छ । त्यसैले दिदीका घरमा भएका फूल सजीव छन् । राम्रा-राम्रा र सलक्क परेका फूलहरू एउटा ट्याक्सीमा भरेर हामी दुई जना घर फर्कियौँ । आआफ्नो कार वा ट्याक्सीमा सबै नै आआफ्नो गन्तव्यस्थालतिर लागे । भास्कर हामीसित आएनन् । कुनै साथीका घरतिर गए होलान् । घर आएर थान्कोमुन्को गरेर सुत्दा झन्डै उज्यालो हुन आँटेको थियो ।

प्रतिक्रिया
Loading...