समय १९८६; भर्खर कृष्णमाया माध्यमिक विद्यालय (तिनताक)-बाट माध्यमिक परीक्षा सकेर दार्जीलिङ अपर्झट गएको सम्झना आलै छ । माटो र जातिका निम्ति सुवास घिसिङको चरम आन्दोलनको अवस्था । त्यही समयमा आगो लगाउने, घर झोस्ने, मान्छे अचानक हराउने, केही दिनपछि त्यही मान्छेको टाउको कि त कहीँ झुन्डिरहेको अवस्थामा पाइने कि त कुनै जङ्गल वा नदी-नालातिर लासको रूपमा पाइने अवस्था । आफू भर्खर माध्यमिक सकेको ठिटालाई यतिमात्र थाहा थियो आन्दोलन भइरहेछ माटाका निम्ति तर त्यही घरगाउँका मानिसहरूले किन एकार्कालाई सन्देहको घेरोमा राक्थे किन घरभित्रै पनि सन्देह गर्थे थाहा थिएन ।

सिलगढीमा रासोबासो भएको म दार्जीलिङ पुगेपछि अचानक दार्जीलिङमा सरकारी काम गरिरहेका बाबाको घरमा एउटा फरमान आयो- ‘आजदेखि प्रत्येक घरबाट एक जना गरेर राति ड्युटी गर्नुपर्छ ।’ केका लागि, किन अनि कसका लागि ड्युटी गर्नुपर्ने हो थाहा थिएन । आगो लगाउने र मान्छे कुट्ने कार्यक्रम भइ नै रहन्थ्यो । दिनभरि सुनसान देखिने घरहरूबाट साँझ परेपछि आफ्नै घरआँगनमा तेर्सिएको सडकमा मानिसहरूको घुइँचो लाग्दा मलाई रमाइलो लाग्न थाल्यो । रातको ८-९ बजेपछि त्यो भिड छेवैको जङ्गल, पोथ्रापोथ्री अथवा झुरुप्प परेको बुट्टामा लुकेर बसेकाहरूको गुनगुन मात्र सुनिन्थ्यो । दिउँसो पार्टी क्याडरहरूको राति सिआरपिएफको राम्रै आतङ्क फैलिएको समयमा म पनि घरबाट राति ड्युटी गर्नेमा परेको छु । पछि धेरैले कुरा गरेको सुनेको- ‘बाँच्नै गाह्रो भयो, दिउँसो कम्युनिस्टको डर राति सिएरपिएफको, यसरी त कसरी जिन्दगी चलाउनु हो ।’ आफूलाई भने राति अरूसित घुम्न पाउँदा मज्जा लागिरहेको थियो तर त्यो मज्जा दुई दिनमै स्वाहा भयो । राति सिआरपीएफको फ्ल्याग मार्चले मुटुले ठाउँ छोडिसकेको हुन्थ्यो । कता-कताबाट भाग् भाग् भनेको सुन्नुभन्दा अगावै सुइँकुच्चा ठोक्न सकिएन भने त्यहीँ घुर्लुप्प हुनुको अर्को विकल्प छँदै थिएन । त्यतिखेर कति जनाले भन्ने गर्थे- ‘साँप छोड्नु कम्युनिस्ट नछोड्नू ।’ त्यसको अर्थ धेरै पछिसम्म मैले बुझ्नै सकिनँ । कोही-कोही बेला लाग्थ्यो- ‘सबैजना सबैतिर आफ्नै आफ्नै छन् अनि किन फेरि यस्तो सन्त्रास !’ त्यो अवस्था सिलगढीमा रहन्थ्यो भने अलग कुरा हुन्थ्यो होला । यसरी आफ्नाहरूले आफ्नाहरूलाई घात गरेको, बाउले छोरालाई अनि छोराले बाउलाई आशङ्कापूर्ण अवस्थामा घुरेको आन्दोलनको परिणाम दार्जीलिङले मात्र होइन समग्र भारतमा बसोबास गर्ने नेपाली भाषीहरूले बुझिसकेका छौँ । पछिल्लो क्रमको आन्दोलनको त झन् कुरै नगरौँ । त्यो त झन् अहं र अभिमानको सङ्घर्ष थियो जातीय स्वाभिमानको त त्यो आन्दोलन छँदै थिएन ।

अर्जुन पीयूष (सिक्किम)

लेखनाथ छेत्रीको फुलाङ्गे अहिले आएर पढ्न लाग्दा त्यो समय कालखण्डका पन्नाहरू क्रमागत रूपमा पल्टिन थाले । आज लगभग चार दशकको अवस्थामा आइपुग्दा आफूलाई त्यही उमेरमा, त्यही ठाउँमा भएको अनुभव फुलाङ्गे पढ्दा हुनु भनेको उपन्यासकार लेखनाथ छेत्रीले मजस्ता धेरैको घाउ बल्झाइदिएका छन् । जातीय आर्तनादको तारलाई पुनः छोइदिएका छन् । सायद यो नै लेखनाथ छेत्रीको उपन्यासकारिताको विशेषता हो । उनले भोगेका, छामेका अनि उनलाई डामेका कुराहरू मात्र व्यक्त गरेका होइनन् लेखनाथले । त्यो आन्दोलनले कसरी जातीय एकतामा अराजकता ल्यायो, त्यो समयमा आफ्नाले आफ्नालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्यायो त्यसैको लेखाजोखा हो भन्ने लाग्छ फुलाङ्गे ।

व्यक्तिगत रूपमा मेरो लेखनाख छेत्री भाइसित कुनै नजिकको सम्बन्ध छैन तर उनका लेखहरूले, उनका मर्महरूले, उनीभित्रको मानवीय चेतनाले भने मलाई सधैँ नजिक्याएको हो । रचनाले नजिक्याउनु भनेको अझ दह्रिलो सम्बन्ध हो । त्यो सम्बन्ध भने मेरो उनीसित छ ।

हामीले भावनाका, कल्पनाका, आकाशको नीलोपन, फूलको सुगन्ध-सौन्दर्य, झरनाको कलकल आवाजका कथाहरू, कविताहरू, उपन्यासहरू धेरै लेख्यौँ, धेरै पढ्यौँ अब त्यहाँबाट माथि उठेर राजनीतिक चेतनालाई पात्र बनाएर आलेख, उपन्यास आदि आउनुपर्छ भन्ने चुनौती पनि हो फुलाङ्गे । उपन्यास फुलाङ्गेको कथा वस्तु यहाँ प्रस्तुत गर्नु छैन किनभने यो उपन्यास आजको युवा पिँढी मात्र होइन मेरो तथा मभन्दा विगतको पिँढीले पनि पढ्नैपर्ने पुस्तक हो ।

आज दार्जीलिङको अवस्थालाई आफ्नै आँखाहरूले स्पष्ट रूपमा हेरिरहेकाले पनि केही त सोच्नैपर्ने हो । एकातिर दासत्वको कुरा गर्ने अनि अर्कोतिर दासत्वविरुद्ध आवाज उठाउन हिचकिचाउनेहरूका निम्ति फुलाङ्गे एउटा खबरदारी पनि हो । उपन्यासको जमाना गयो भन्नेहरूका निम्ति एउटा साहसको परिचय पनि हो भन्ने लाग्छ ।

फेसबुकमा सायद रवि रोदन हुनुपर्छ; उहाँका कुराहरू मैले पढिरहेको थिएँ समालोचना, समीक्षा आदि सम्बन्धमा । यहाँ म स्पष्ट भन्न चाहन्छु पुरानो पिँढीले नयाँ पिँढीलाई उठाउन चाहँदैन भने पुरानो पिँढीको पनि अस्तित्व समाप्त भएको घोषणा हुनेछ कुनै दिन । त्यो दिन पनि टाढा छैन । गुटबाजी, चेपुवा प्रवृत्ति, यथास्थितिवादीहरूबाट अब आशा गर्न पनि सकिँदैन । सुनियो फुलाङ्गे नेपालीको प्रतिष्ठित मदन पुरस्कार गुठीको चयनमा पनि पऱ्यो । नवचेतनाका कुराहरूले ढिलो होला तर स्थान पाउँछ नै पाउँछ । उपन्यास पुरस्कृत हुनु वा नहुनु त्यो आफ्नो ठाउँमा छ तर त्यसको पृष्ठभूमि, वातावरण, समय सन्दर्भ आदिलाई रचनाले कतिको बोक्न सकिरहेको छ वा छैन त्यो मूल तत्त्व हो । लेखनाथ छेत्रीहरूले लेखिरहेका छन् भने कसका निम्ति लेखिरहेका छन्? केका लागि लेखिरहेका छन्? यो ठूलो प्रश्न हो । मलाई लाग्छ लेखनाथले लेख्नकै निम्ति लेखेका होइनन् । आक्रान्त भएर स्थितिको दायित्वबोध गर्दै उनी फुलाङ्गे लेख्न बाध्य भए । आज सिक्किम-दार्जीलिङ लगायत आसाम एवं अन्य भारतका विभिन्न स्थानहरूमा बसोबास गर्नेहरूका निम्ति एउटा नौलो आवाजको आवश्यकता पर्न गएको छ । पवित्र नेतृत्व, निर्मल विचारको अभावकै कारण जातीय चिनारीभन्दा पनि अन्ध जातिवादले घेरिरहेको स्थिति हो आजको समय ।

जे होस् नवीन विचारले अभिप्रेरित बन्दै आएको फुलाङ्गे उपन्यासका निम्ति उपन्यासकार लेखनाथ छेत्रीलाई हार्दिक बधाई तथा शुभकामना तर यसलाई अन्तिम विरामको रूपमा नलिनुहोला भन्ने पनि आग्रह गर्न चाहन्छु । तपाईँबाट दार्जीलिङले मात्र होइन समग्र भारतीयहरूले अझ अग्रगामी विचारका पुस्तकहरू पाउने प्रतीक्षा साँचिरहेकै छन् ।