१. विषय प्रवेश
शोधप्रस्ताव वा अनुसन्धान–प्रस्ताव लेखन शोधकार्यका लागि गरिने पहिलो काम हो । शोध भनेको अनुसन्धान नै हो । कुनै एउटा निश्चित विषयमा विशेष खोज, गहिरो अध्ययन र तार्किक विश्लेषण गरी निष्कर्ष निकालिने कार्यलाई शोधकार्य भनिन्छ । अनुसन्धान वा शोध पनि औपचारिक लेखनअन्तर्गत नै पर्दछ । एक जना शोधार्थीले औपचारिक रूपमा शोधकार्यको थालनी गर्नुभन्दा अगाडि उक्त शोधकार्यको खाका कस्तो हुने छ भन्ने बारेमा बाह्य तथा आन्तरिक सङ्गठनका बारेमा समेत स्पष्ट जानकारी प्रस्तुत गरी शोधकार्य गर्ने अनुमति प्राप्त गर्न प्रस्तुत गर्ने प्रस्ताव नै शोधप्रस्ताव हो । अनुसन्धान तह पूरा गर्ने, उपाधि हासिल गर्ने, परियोजना पूरा गर्ने वा व्यावसायिक वृद्धि गर्ने आदि विभिन्न उद्देश्यले गरिने हुनाले ती पनि विभिन्न प्रकृतिका हुन्छन् । स्नातक तहमा ५० पूर्णाङ्कका लागि गरिने लघुअनुसन्धान, स्नातकोत्तर तहमा १०० पूर्णाङ्कका लागि गरिने अनुसन्धान र विद्यावारिधि उपाधि प्राप्त गर्नका लागि गरिने विशेष अनुसन्धान आदि र नेपाल प्रज्ञा–प्रतिष्ठान जस्ता प्राज्ञिक निकायहरूले विशेष परियोजनाअन्तर्गत रहेर गराउने अनुसन्धान वा कुनै औद्योगिक क्षेत्रको स्तरोन्नति आदिका लागि गराउने अनुसन्धान आदि सबैका लागि शोधप्रस्ताव वा अनुसन्धान–प्रस्तावको आवश्यकता पर्दछ । यिनमा अनुसन्धानको प्रकृति र विषयक्षेत्रका आधारमा आन्तरिक वा बाह्य रूपमा केही भिन्नताहरू देखिन सक्छन् तापनि प्रस्तावको ढाँचामा चाहिँ त्यत्ति अन्तर हुँदैन । यो अनुसन्धानात्मक क्षमता भएको व्यक्तिले गर्ने प्राज्ञिक कार्य हो । यसको थालनीबाट नै केही प्राविधिक कुराहरूको ज्ञान हुनु आवश्यक छ त्यसैले यस लेखमा प्रा. मोहनराज शर्मा र प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलद्वारा लिखित ‘शोधविधि’ किताबलाई प्रमुख रूपमा र अन्य केही सामग्रीहरूलाई सहयोगीका रूपमा प्रयोग गरी शोधप्रस्ताव कसरी लेखिन्छ भन्ने बारेमा केही सैद्धान्तिक र केही व्यावहारिक जानकारी प्रस्तुत गरिएको छ ।

२. शोधप्रस्ताव भनेको के हो ?
शोध वा अनुसन्धान के हो भन्ने सन्दर्भमा अघिल्लो भागमा नै विस्तृत चर्चा गरिएको छ । नेपाली तत्सम शब्द ‘शोध’ वा ‘अनुसन्धान’ र अङ्ग्रेजी शब्द ‘रि–सर्च’ (Research) सबैले खोज, अन्वेषण, गवेषण, नयाँ कुराको खोजी गर्नु, नयाँ कुराको आविष्कार गर्नु वा नयाँ ज्ञान पत्ता लगाउनु अथवा पटक पटकको प्रयासबाट गरिने नयाँ ज्ञानको प्राप्ति आदि अर्थ दिने गर्दछन् । त्यस्तो विशेष अनुसन्धान कार्य सामान्य तयारीबाट मात्र पूर्ण हुन सक्दैन त्यसैले अनुसन्धान कार्यको थालनी हुनुभन्दा अगाडि नै अनुसन्धान कार्य गराउने संस्थासँगको आधिकारिक सम्झौताका लागि र अनुसन्धाताको मार्गनिर्माणका लागि शोधप्रस्तावको आवश्यकता पर्दछ । शोधकार्य गर्नका लागि गरिने प्रस्ताव नै शोधप्रस्ताव हो । शर्मा र लुइटेलले कुनै योजना वा परियोजना चलाएर शोध गराउने संस्थाको प्रारम्भिक जानकारीका लागि, शोधकर्ता स्वयम्को प्रथप्रदर्शनका लागि तथा शैक्षिक सङ्घसंस्थाअन्तर्गत शोधकार्यका लागि तयार गरिने शोधको कार्ययोजना वा प्रारम्भिक रूपरेखालाई शोधप्रस्ताव भनिन्छ भनी परिभाषित गरेका छन् ।

शोधप्रस्तावमा पछि गरिने शोधकार्यका बारेमा समग्र पूर्वजानकारी प्रस्तुत गरिन्छ । यसमा के गर्न लागिएको हो ? किन गर्न लागिएको हो ? कसरी गर्न लागिएको हो ? र त्यसभित्र के कामहरू सम्पन्न हुने छन् भन्ने बारेमा स्पष्ट स्वरूप प्रस्तुत गरिन्छ । यसका साथै अगाडि सम्पन्न कार्यहरूको समीक्षात्मक जानकारी प्रस्तुत गरी यस अनुसन्धानको औचित्य र सीमाङ्कन पनि यही प्रस्तुत गरिन्छ । यसरी नै सम्बन्धित समस्याको समाधानका लागि सामग्री सङ्कलन कसरी गरिन्छ ? सामग्रीको विश्लेषण गर्दा कुन कुन विधिको प्रयोग गरिन्छ र समग्र शोधकार्य कति अध्याय, खण्ड वा परिच्छेदमा विभाजन गरेर सम्पन्न गरिन्छ भन्ने कुराको समेत स्पष्ट चित्र प्रस्तुत गरिने हुनाले यसले शोधार्थी शोधकार्यका लागि कसरी अगाडि बढ्ने भन्ने बारेमा स्पष्ट दिशानिर्देश गर्ने काम गर्दछ । त्यसैले शोधप्रस्ताव शोधकार्यका लागि गरिने प्रारम्भिक कार्य हो तर यसको प्रभाव र सहयोग शोधकार्यको अन्तिम चरणसम्म पनि उत्तिकै रहन्छ ।

३. शोधप्रस्ताव लेख्नुभन्दा अगाडि के के गरिन्छ ?
के विषयमा वा केका बारेमा शोधकार्य गर्ने हो ? त्यसका बारेमा शोधार्थी स्पष्ट नभएसम्म शोधप्रस्ताव लेखनको थालनी नै सम्भव छैन त्यसैले शोधक्षेत्रको छनोट वा शोधविषयको निर्धारण यसको पहिलो कार्य हो । शोधको क्षेत्र जुनसुकै हुन सक्छ । अनुसन्धानको क्षेत्र र अनुसन्धेय विषयका आधारमा अनुसन्धानको प्रकृति र प्राप्तिमा समेत अन्तर हुने गर्दछ । त्यसैले अनुसन्धाताले सर्वप्रथम अनुसन्धान क्षेत्र वा विषयको चयन गर्नु अनिवार्य मानिन्छ ।

अनुसन्धान क्षेत्रको छनोट स्वतन्त्र र निर्देशित दुवै हुने गर्दछ । विश्वविद्यालयीय तह पूरा गर्नका लागि गरिने अनुसन्धानमा सम्बन्धित निकायले सुरुमा नै शीर्षकहरू सार्वजनिक गरेको हुन सक्छ । अनुसन्धान परियोजना सम्पन्न गराउने निकायहरूले पनि सुरुमा शीर्षक नै निश्चित नगरिदिए पनि विषयक्षेत्रको सीमाङ्कन गरिदिने गर्दछन् । यसप्रकारका निर्धारित विषय वा शीर्षकमा गरिने अनुसन्धानहरू निर्देशित हुन्छन् । यिनको समय, स्रोत, साधन आदि सबै कुराको सीमाङ्कन हुने गर्दछ तर कुनै स्वतन्त्र अनुसन्धाताले कुनै नयाँ कुरा पत्ता लगाउनका लागि, नयाँ आविष्कार गर्नका लागि अथवा नयाँ सिद्धान्तको प्रवर्तनका लागि गर्ने अनुसन्धानचाहिँ स्वतन्त्र प्रकृतिको हुन्छ । यसको समय, स्रोत, साधन, श्रम आदि जस्ता कुराको मापन हुँदैन र यसमा कसैको दबाब र निर्देशन पनि हुँदैन । त्यसैले यी दुवै अनुसन्धानका लागि शोधक्षेत्र वा शोध्यविषयको चयन गर्नु अनिवार्य मानिने गर्दछ । त्यसमा पनि विशेष गरी निर्देशित अनुसन्धानका लागि त शोधप्रस्ताव तयार गर्नुभन्दा अगाडि नै यस कुराको औपचारिक टुङ्गो लागेको हुनुपर्छ । यसका लागि शोधार्थी निम्नलिखित तीनओटा कुरामा स्पष्ट हुनुपर्छ—

(क) प्रस्तुत विषय अनुसन्धानका लागि कत्तिको उपयुक्त छ ?

(ख) प्रस्तुत अनुसन्धान कार्यका लागि सामग्रीको अनुकूलता र उपलब्धता के कस्तो रहेको छ ?

(ग) प्रस्तुत अनुसन्धान कार्य शोधकर्ताको रुचि, योग्यता र क्षमताअनुकूल छ कि छैन ?

उल्लिखित तीनओटा कुरामध्येमा एउटामा पनि कमी देखाप¥यो भने अनुसन्धान कार्य सम्पन्न हुन सक्दैन त्यसैले सम्बन्धित क्षेत्रका लागि आवश्यक र उपयुक्त विषय छनोट हुनुपर्छ, अनुसन्धान गर्दा आवश्यक पर्ने सामग्रीहरू सहज रूपमा प्राप्त हुनुपर्छ र त्यो अनुसन्धान शोधार्थीको रुचि, योग्यता र क्षमतासँग मेल खाने खालको हुनुपर्छ ।

४. शोधप्रस्तावका अङ्गहरू
शोधप्रस्ताव लेखन एउटा विशिष्ट प्राविधिक कार्य हो । यसका निश्चित अङ्गहरू हुन्छन् । तिनै अङ्गहरूका आधारमा शोधप्रस्तावको एउटा विशिष्ट ढाँचा तयार गरिन्छ । तीमध्येमा एउटा पनि अङ्ग पूर्ण भएन भने त्यो शोधप्रस्ताव अपूर्ण मानिन्छ । यसका निम्नलिखित अङ्गहरू हुन्छन् जसको जानकारी र प्रयोग यस प्रकार रहेको छ—

१. शोधशीर्षक
शोधशीर्षक यसको पहिलो अङ्ग हो । शोधप्रस्तावको सुरुमा शोधको शीर्षक के हो ? त्यसका बारेमा जानकारी दिइन्छ । यसलाई शोधप्रस्तावको बाहिरी कभरमा नै राखियो भने यहाँ उल्लेख गर्नु पर्दैन । यहाँ उल्लेख गरियो भने सामान्य भविष्यत् कालको क्रियापदका साथ उल्लेख गरिन्छ । जस्तैः
(क) यस शोधपत्रको शीर्षक ‘मुनामदन खण्डकाव्यमा अलङ्कार विधान’ हुने छ ।

यसलाई बाहिरी कभरमा राख्दाचाहिँ यसरी शीर्षक मात्र राखिन्छ—
मुनामदन खण्डकाव्यमा अलङ्कार विधान

शीर्षक चयन गर्दा लामो, भद्दा, अमूर्त खालको र स्पष्ट निष्कर्ष निकाल्न गाह्रो हुने खालको हुनु हुँदैन । अनुसन्धानात्मक लेखको शीर्षक चयनका सन्दर्भमा भनिएका सबै कुराहरू यसमा पनि लागु हुन्छन् । त्यसैले शोधपत्रको शीर्षक तर्क र दाबी प्रस्तुत गर्ने खालको हुनुपर्छ । शीर्षक सरल, सङ्क्षिप्त, आकर्षक, मूर्त, स्पष्ट, मूल समस्या वा मूल विषयलक्षित र निष्कर्षापेक्षी हुनुपर्छ । शोधपत्रको शीर्षकमा एक अध्ययन, एक विवेचना, सिद्धान्तको आलोकमा, रेखाङ्कन, सर्वेक्षण, अवलोकन, विश्लेषण, विवेचना जस्ता पद वा पदावलीहरू सकेसम्म नराख्दा राम्रो मानिन्छ । सकेसम्म शीर्षकमा नै अनुसन्धेय विषयक्षेत्र र मूल समस्या अभिव्यञ्जित भयो भने त्यसलाई उत्तम शीर्षक मानिन्छ ।

२. शोधप्रयोजन
प्रस्तुत अनुसन्धान कार्य केका लागि गरिएको हो त्यसको स्पष्ट उल्लेख यहाँ हुनुपर्छ । यसलाई पनि शोधप्रस्तावको बाहिरी कभरमा शीर्षकभन्दा तल्तिर राख्ने गरिन्छ । यदि त्यसरी राखियो भने यसलाई पनि यहाँ उल्लेख गर्नु पर्दैन । यहाँ उल्लेख गरियो भने यसरी गरिन्छ । जस्तैः

(क) यो शोधपत्र त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा विद्यावारिधि उपाधि हासिल गर्ने प्रयोजनका लागि प्रस्तुत गरिने छ ।
(ख) यो अनुसन्धान कार्य नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य (बालसाहित्य र लोकवार्ता) विभागको अनुसन्धान परियोजना पूरा गर्ने प्रयोजनका लागि प्रस्तुत गरिने छ ।

यसलाई बाहिरी कभरमा राख्दा चाहिँ यसरी प्रयोजन मात्र राखिन्छ—
त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा विद्यावारिधि उपाधि हासिल गर्ने
प्रयोजनका लागि प्रस्तुत
अथवा
नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (बालसाहित्य र लोकवार्ता) विभागको अनुसन्धान परियोजना
पूरा गर्ने प्रयोजनका लागि प्रस्तुत

प्रयोजन उल्लेख गर्दा तह पूरा गर्ने हो कि ? उपाधि प्राप्त गर्ने हो कि ? कुनै परियोजना पूरा गर्नका लागि हो कि ? स्पष्ट उल्लेख गर्नुपर्छ ।

शोधशीर्षक र शोधप्रयोजनको उल्लेख बाहिरी कभरमा भएको छ भने शोधप्रस्तावको थालनी ‘विषय परिचय’बाट गर्नुपर्छ । यसमा आफूले अनुसन्धान गर्न लागेको विषयका बारेमा २०० देखि ३०० शब्दसम्ममा पूर्ण जानकारी प्रस्तुत गर्नुपर्छ । १ नम्बरमा विषय परिचय राखिसकेपछि २ नम्बरमा समस्याकथन राख्नुपर्छ र क्रमशः अन्य अङ्गहरू लेख्दै जानुपर्छ ।

३. समस्याकथन
समस्याकथन शोधकार्यका लागि महत्त्वपूर्ण अङ्ग हो । शोधका सन्दर्भमा समस्या भनेको शोधार्थीको वैयक्तिक, पारिवारिक, आर्थिक वा अन्य कुनै प्रकारको समस्या होइन, शोधको मूल विषयक्षेत्र वा अनुसन्धेय पक्ष नै मूल समस्या हो । शोधप्रस्तावमा समस्याको उल्लेख प्रश्नात्मक ढाँचामा गर्नुपर्छ । ‘मुनामदन खण्डकाव्यमा अलङ्कार विधान’ शीर्षकको अनुसन्धानका लागि शोधप्रश्नहरू यसरी लेखिन्छन् । जस्तैः
प्रस्तुत अनुसन्धान कार्यका लागि प्रमुख शोधसमस्याहरू निम्नलिखित रहने छन्—

(क) मुनामदन खण्डकाव्यमा शब्दालङ्कारको के कस्तो प्रयोग पाइन्छ ?
(ख) मुनामदन खण्डकाव्यमा अर्थालङ्कारको प्रयोग के कसरी गरिएको छ ?
(ग) मुनामदन खण्डकाव्यमा अलङ्कार प्रयोगसम्बन्धी विशेषताहरू के के हुन् ?

शोधमा समस्याकथन यसरी प्रश्नात्मक ढाँचामा लेखिन्छ । शोधसमस्याको छनोट गर्दा निम्नलिखित कुरामा ध्यान दिनुपर्छ—
— समस्याको सङ्ख्या धेरै हुनु राम्रो मानिँदैन । यसको सङ्ख्या दुई, तीन वा बढीमा पाँचसम्म हुन सक्छ तर तीनओटा भित्रै समेटिनु राम्रो मानिन्छ ।
— जीवनी, व्यक्तित्व र कृतित्वसँग सम्बन्धित शोधकार्यमा तदनुकूल समस्याहरू हुन सक्छन् तर कृतिपरक वा सैद्धान्तिक अनुसन्धानमा जीवनी, व्यक्तित्व र कृतित्वकेन्द्रित समस्या राख्नु हुँदैन ।
— नयाँ सिद्धान्त निर्माणका लागि गरिने अनुसन्धानमा सिद्धान्तकेन्द्रित समस्या हुन सक्छन् तर ‘मुनामदन खण्डकाव्यमा अलङ्कार विधान’ जस्तो अनुसन्धानमा ‘अलङ्कार भनेको के हो वा अलङ्कारहरू कति प्रकारका छन् ?’ जस्ता सिद्धान्तकेन्द्रित समस्याहरू राख्नु हुँदैन ।
— सकेसम्म एउटा समस्याबाट एउटा परिच्छेद निर्माण हुनु राम्रो मानिन्छ त्यसैले परिचयको पहिलो परिच्छेद, सिद्धान्तको दोस्रो परिच्छेद (आवश्यक भएमा मात्र) र निष्कर्षको अन्तिम परिच्छेददेखि बाहेक बिचमा आउने जति पनि परिच्छेदहरू छन् ती प्रत्येक समस्यामा केन्द्रित हुनु राम्रो मानिन्छ ।
— समस्या शोधकार्यलाई गन्तव्यमा पु¥याउने बाटो हो, बाटो स्पष्ट भयो भने गन्तव्यमा पुग्न गाह्रो हुँदैन त्यसैले शोधसमस्या वस्तुपरक हुनु जरुरी छ ।

४. शोधको उद्देश्य
उद्देश्य शोधकार्यका लागि अर्को महत्त्वपूर्ण अङ्ग हो । यसमा प्रस्तुत शोधकार्य किन गर्न लागिएको हो भन्ने कुराको स्पष्ट जानकारी हुनुपर्छ । शोधको उद्देश्य शोधसमस्यासँगै सम्बन्धित हुने गर्दछ । शोधप्रस्तावमा उद्देश्यको उल्लेख असमापक क्रियापदीय ढाँचामा गर्नुपर्छ । ‘मुनामदन खण्डकाव्यमा अलङ्कार विधान’ शीर्षकको अनुसन्धानका लागि शोधको उद्देश्यको उल्लेख यसरी गरिन्छ । जस्तैः
प्रस्तुत शोधकार्यका उद्देश्यहरू निम्नलिखित रहने छन्—

(क) मुनामदन खण्डकाव्यमा प्रयुक्त शब्दालङ्कारहरूको खोजी गर्ने,
(ख) मुनामदन खण्डकाव्यमा प्रयुक्त अर्थालङ्कारहरूको खोजी गर्ने,
(ग) मुनामदन खण्डकाव्यमा पाइने अलङ्कार विधानसम्बन्धी विशेषताहरू केलाउने ।

शोधमा उद्देश्यको उल्लेख यसरी अपूर्ण वाक्यात्मक ढाँचामा गरिन्छ । शोधको उद्देश्यको उल्लेख गर्दा निम्नलिखित कुरामा ध्यान दिनुपर्छ—
— समस्याको सङ्ख्या जति छ, उद्देश्यको सङ्ख्या पनि त्यति नै हुनु राम्रो मानिन्छ ।
— उद्देश्यहरू समस्याकेन्द्रित भएपछि परिच्छेद विभाजन र निष्कर्षणका लागि पनि तिनले सहयोग पु¥याउँछन् ।
— शोधको उद्देश्य वस्तुपरक निष्कर्ष निस्किने खालको हुनुपर्छ, भावनात्मक वा अमूर्त प्रकृतिको उद्देश्य भएमा लक्ष्यप्राप्तिमा बाधा उत्पन्न हुन्छ ।

५. पूर्वकार्यको समीक्षा
सम्बन्धित विषयमा यसभन्दा अगाडि के के कामहरू भएका छन् ? त्यसको खोजी गर्ने कार्यलाई पूर्वकार्यको समीक्षा भनिन्छ । पूर्वकार्यहरू पूर्णसहयोगी, आंशिक सहयोगी र साङ्केतिक विभिन्न प्रकृतिका हुन सक्छन् । पूर्वकार्यको समीक्षाले आजभन्दा अगाडि भएका कामको स्पष्ट चित्र खिच्ने काम गर्दछ अनि शोधार्थीलाई त्यसभन्दा अगाडि बढ्न सजिलो हुन्छ । ‘मुनामदन खण्डकाव्यमा अलङ्कार विधान’ शीर्षकको अनुसन्धानका लागि पूर्वकार्यको खोजी गर्दा निम्नलिखित तीनओटा क्षेत्रबाट खोज्न सकिन्छ— (क) कविकेन्द्रित, (ख) अलङ्कार सिद्धान्तकेन्द्रित र (ग) मुनामदन कृतिकेन्द्रित ।

पूर्वकार्यको खोजी गर्ने उल्लिखित तीनओटा क्षेत्रहरू देखिए पनि तिनको टिपोट गर्दा निम्नलिखित कुरामा ध्यान दिनुपर्छ—
— कृतिमा अलङ्कार विधानको खोजी गर्नुपर्ने छ भने देवकोटाको व्यक्तित्व र कृतित्वको चर्चा भएका सन्दर्भहरू आवश्यक हुँदैनन् तर अलङ्कार प्रयोगका सन्दर्भका सामग्रीहरूचाहिँ आवश्यक मानिन्छन् । यसरी नै कृतिसँग असम्बन्धित सिद्धान्तको चर्चा पनि आवश्यक छैन ।
— पूर्वकार्यहरू अनुसन्धानका समस्यामा केन्द्रित हुनुपर्छ, त्यसभन्दा बाहिरका अनावश्यक कुराहरूको उल्लेख पूर्वकार्यको समीक्षामा गर्नु हुँदैन ।
— पूर्वकार्यको टिपोट गर्दा कृति प्रकाशनको कालक्रममा ध्यान दिनुपर्छ । सबैभन्दा पुरानो कृतिबाट क्रमशः नयाँ कृतितिर समीक्षात्मक उल्लेख गर्दै आउनुपर्छ ।
— पूर्वकार्यको समीक्षा गर्दा सान्दर्भिक उद्धरणको प्रयोग अनिवार्य मानिन्छ । यसमा अघिल्लो भागमा चर्चा गरेजस्तै प्रत्यक्ष कथन र अप्रत्यक्ष कथन जुनसुकै तरिकाले टिपोट गर्न सकिन्छ ।
— प्रत्यक्ष कथनमा उद्धरणहरू राख्दा छोटो कथनलाई युगल उद्धरण (“ ”) चिह्नभित्र राखिन्छ भने तीन पङ्क्तिभन्दा माथिको वा चालिस शब्दभन्दा माथिको उद्धरण छ भने त्यसलाई ०.५ भित्र पर्ने गरी अलग अनुच्छेदमा राखिन्छ ।
— अप्रत्यक्ष कथनको उद्धरणमा सन्दर्भ सामग्रीको मूल सारलाई खिचेर अनुसन्धानकर्ताले आफ्नो शैलीमा प्रस्तुत गर्नुपर्छ तर यसलाई पनि स्पष्ट सन्दर्भ दिनुपर्छ । अन्य भाषाका उद्धरणहरू नेपाली भाषामा ल्याउँदा अप्रत्यक्ष कथनको प्रयोग राम्रो मानिन्छ ।
— उद्धरण टिपोट गर्दा कोष्ठकभित्र (लेखकको थर, मिति र पृष्ठ) मात्र प्रयोग गरिन्छ, अन्य सबै विवरण सन्दर्भ सामग्री सूचीमा दिइन्छ ।
— यहाँ पूर्वकार्यको टिपोट मात्र नगरेर त्यसको छोटो समीक्षा पनि आवश्यक हुन्छ । त्यसमा प्रस्तुत सामग्रीले कुन कुरालाई सङ्केत गरेको छ र यो सामग्री प्रस्तुत शोधकार्यका लागि कुन सन्दर्भमा सहयोगी हुन सक्छ ? त्यसको समीक्षा पनि गर्नुपर्छ ।

६. अध्ययनको औचित्य, महत्त्व र उपयोगिता
सम्बन्धित विषयमा भएका पूर्वकार्यहरूको समीक्षा भइसकेपछि यस विषयमा यसभन्दा अगाडि के के कामहरू भएका रहेछन् भन्ने थाहा हुन्छ । यसपछि यो अनुसन्धान कार्य गर्नुको औचित्य आफैँ स्पष्ट हुन्छ । अध्ययनको औचित्य, महत्त्व र उपयोगिताको उल्लेख गर्दा निम्नलिखित कुरामा ध्यान दिनुपर्छ—
— सम्बन्धित अनुसन्धानका बारेमा यसभन्दा अगाडि के भएछ र अब के हुन बाँकी रहेछ ? अनि त्यो बाँकी रहेको अनुसन्धान कार्यलाई यस अनुसन्धानले पूर्णता दिन्छ कि दिँदैन ?
— विगतमा नभएको काम गर्न लागिएको हुनाले औचित्यपूर्ण छ । अनुसन्धान कार्य सम्पन्न गरेपछि यसबाट वर्तमानमा यी यी उपलब्धिहरू हासिल हुने हुनाले यसको महत्त्व छ र यसको सम्पन्नतापछि यसले भविष्यको अनुसन्धानका लागि यी यी पक्षमा ढोका खोलिदिने हुनाले यसको उपयोगिता स्पष्ट छ ।
— यस शीर्षकमा विगत के थियो ? वर्तमानमा के हुन्छ र भविष्यमा यसबाट हुने उपलब्धि के हो भन्ने बारेमा स्पष्ट उल्लेख गरिदिनुपर्छ ।

७. प्राक्कल्पना
सम्बन्धित विषयका बारेमा शोधार्थीले गर्ने पूर्वकल्पना नै प्राक्कल्पना हो । यसमा शोधार्थीले शोधकार्यको थालनी गर्नुभन्दा अगाडि नै एक प्रकारको अवधारणा निर्माण गरेको हुन्छ । ‘मुनामदन खण्डकाव्यमा अलङ्कार विधान’ शीर्षकको अनुसन्धानका लागि ‘मुनामदन खण्डकाव्य अलङ्कार प्रयोगका लागि एउटा विशिष्ट प्रयोगशाला हो’ यस्तो प्राक्कल्पना हुन सक्छ । प्राक्कल्पना केवल अनुमान हो, अनुसन्धान कार्यले पूर्णता पाउँदा त्यो प्राक्कल्पना पूर्ण हुन पनि सक्छ र पूर्ण रूपमा नमिल्न पनि सक्छ । शोधप्रस्तावको अङ्गका रूपमा यसको चर्चा गरिए पनि साहित्यिक अनुसन्धानका क्षेत्रमा यसको उल्लेख आवश्यक छैन ।

८. अध्ययनको सीमाङ्कन
शोधप्रस्तावमा शोधार्थीले आफूले अनुसन्धान गर्न लागेको विषयका बारेमा कति गर्ने, कति नगर्ने भन्ने कुराको स्पष्ट उल्लेख गर्नुपर्छ । अध्ययनको सीमाङ्कन गर्दा कालक्रमिक सीमाङ्कन (यति मितिदेखि यति मितिसम्म), विधागत सीमाङ्कन (कविताको मात्र, कथाको मात्र), कृतिपरक सीमाङ्कन (यतिओटा कति मात्र), धारा वा प्रवृत्तिगत सीमाङ्कन (यो यो धारा मात्र), सैद्धान्तिक सीमाङ्कन (रसको चर्चा मात्र, अलङ्कारको चर्चा मात्र) आदिको स्पष्ट उल्लेख आवश्यक मानिन्छ । यसमा यो यो गरिने छ र यो यो गरिने छैन भनी उल्लेख गर्नुपर्छ । जस्तैः ‘मुनामदन खण्डकाव्यमा अलङ्कार विधान’ शीर्षकको अनुसन्धानका लागि सीमाङ्कन गर्नुप¥यो भने यसरी सङ्केत गर्न सकिन्छ ।
— देवकोटाको व्यक्तित्व र कृतित्वका अनेकौँ पक्षहरू भए पनि कवि व्यक्तित्वमा केन्द्रित,
— कवि देवकोटाले कविताका लघु रूपदेखि बृहत् रूपसम्मका सिर्जनाहरू प्रस्तुत गरे पनि कविताको मध्यम रूप अथवा खण्डकाव्यमा केन्द्रित,
— देवकोटा अढाइ दर्जन खण्डकाव्यहरूमध्येमा मुनामदनमा मात्र केन्द्रित,
— मुनामदनलाई रस, ध्वनि, छन्द, वक्रोक्ति, भावविधान, वैचारिक धरातल, दर्शन आदि विविध क्षेत्रबाट अध्ययन गर्ने ठाउँ हुँदाहुँदै पनि अलङ्कार विधानमा मात्र केन्द्रित,
— मुनामदनमा अलङ्कार खोज्ने क्रममा शब्दालङ्कार र अर्थालङ्कारका बारेमा सोदाहरण सैद्धान्तिक विश्लेषण गरी देवकोटाको अलङ्कार प्रयोगसम्बन्धी विशेषताहरू केलाइने तर अन्य पक्षमा ध्यान नदिइने आदि ।

यसरी अध्ययनको सीमाङ्कन गर्दा पछि यो किन भएन भन्ने प्रश्न नै नउठ्ने गरी अगाडि नै स्पष्टसँग लेखिदिनुपर्छ ।

९. शोधविधि
शोधकार्यका लागि शोधविधिको प्रयोग अत्यन्त महत्त्पूर्ण मानिन्छ । यसअन्तर्गत निम्नलिखित दुईओटा सन्दर्भमा स्पष्ट पानुपर्छ—

(क) सामग्री सङ्कलन
अनुसन्धान कार्यमा पूर्वापर सम्बन्ध जोडिन्छ । यसमा अगाडि भएका कामहरूबाट नयाँ काम सम्पन्न गरिन्छ र त्यस कामले अर्को कामलाई जन्म दिने गर्दछ त्यसैले अनुसन्धानका लागि सामग्रीहरूको सङ्कलन अनिवार्य मानिन्छ । सामग्रीहरू प्राथमिक र द्वितीयक गरी दुई प्रकारका हुन्छन् । शोधार्थीले आफैँले पहिलो पटक खोजी गरेका सामग्रीहरू प्राथमिक सामग्री हुन् भने अरू कसैले अगाडि नै खोजी र चर्चा गरेका सहयोगी सामग्रीहरू द्वितीयक सामग्री हुन् । शोधकार्यका लागि सामग्रीहरूको सङ्कलन गर्दा पुस्तकालयीय, प्रयोगशालीय, क्षेत्रीय अध्ययन र नमुना छनोट चारओटा तरिका प्रयोग गर्न सकिन्छ ।

शोधार्थीले यस ठाउँमा यस अनुसन्धान कार्यका लागि प्राथमिक वा द्वितीयक कुन कुन सामग्रीको छनोट गरिएको छ र तिनको सङ्कलन कार्यमा माथि उल्लेख गरिएका चारओटा तरिकामध्येमा कुनको प्रयोग गरिएको छ ? त्यसको स्पष्ट उल्लेख गरेको हुनुपर्छ । सैद्धान्तिक अनुसन्धानमा प्राथमिक सामग्रीहरू आवश्यक हुन्छन् भने प्रायोगिक अनुसन्धानमा द्वितीयक सामग्रीहरू चाहिन्छन् । साहित्यिक अनुसन्धानका लागि आवश्यक सामग्रीहरूको सङ्कलनमा पुस्तकालयको विशेष भूमिका हुने गर्दछ, विज्ञान वा स्वास्थ्यको अनुसन्धानमा प्रयोगशाला, भूगोल, भाषा वा समाजशास्त्रीय अध्ययनमा क्षेत्रीय अध्ययन र आवश्यकताअनुसार जुनसुकै अनुसन्धानमा नमुना छनोट सहयोगी हुन सक्छन् ।

(ख) सैद्धान्तिक ढाँचा र विश्लेषण विधि
सङ्कलित सामग्रीहरूको विश्लेषण गर्ने सैद्धान्तिक आधार नै विश्लेषण विधि हो । सामग्री विश्लेषणका लागि परम्परित र वैज्ञानिक गरी दुईओटा पद्धति छन् । एरिस्टोटलदेखि चलिआएको निगमनात्मक र बेकनदेखि सुरु भएको आगमनात्मक पद्धतिलाई अनुसन्धानका क्षेत्रमा परम्परित पद्धति भनिन्छ भने चाल्र्स डार्बिनबाट सुरु भएका तथ्यमा आधारित विश्लेषण पद्धतिलाई महत्त्व दिने ऐतिहासिक, वर्णनात्मक, तुलनात्मक, प्रयोगात्मक, विश्लेषणात्मक र अन्तरविषयात्मक पद्धतिहरूलाई वैज्ञानिक पद्धति भनिन्छ ।

यस ठाउँमा शोधार्थीले आफूले अनुसन्धान गर्न लागेको विषयको विश्लेषण गर्ने सैद्धान्तिक विधि कुन हो ? त्यसको सैद्धान्तिक आधार के हो ? यस कार्यका लागि प्रमुख रूपमा कुन विधि र सहायक रूपमा कुन विधिको प्रयोग गरिएको छ, त्यसका बारेमा स्पष्ट उल्लेख गर्नुपर्छ ।

१०. शोधपत्रको रूपरेखा
प्रस्तुत शोधकार्य सम्पन्न हुँदा त्यसको स्वरूप कस्तो हुने छ भन्ने कुराको प्रारम्भिक रूपरेखालाई शोधप्रस्तावमा नै प्रस्तुत गर्नुपर्छ । यसमा सामान्य हेरफेर हुन सक्छ तर यसैका आधारमा अनुसन्धान कार्यले पूर्णता पाउने गर्दछ । शोधपत्रको रूपरेखा निर्माण गर्दा निम्नलिखित कुरामा ध्यान दिनुपर्छ—
— शोधपत्रको पहिलो परिच्छेद अनुसन्धान परिचयमा आधारित हुन्छ । यसमा पूर्वनिर्मित शोधप्रस्तावको संशोधित रूप राखिन्छ । शोधप्रस्तावमा रहेका ‘गरिने छ’ जस्ता भविष्यत् कालबोधक क्रियापदहरूलाई ‘गरिएको छ’ जस्ता क्रियापदमा रूपान्तरण गरेर यहाँ राखिन्छ ।
— शोधपत्रको दोस्रो परिच्छेद सिद्धान्त र विश्लेषणको ढाँचा निर्माणमा आधारित हुन्छ । यसमा सम्बन्धित विषयसँग सम्बन्धी सिद्धान्तको छोटो चर्चा, आवश्यक परेमा व्यक्ति, विधा, विकासक्रम, विश्लेषणको ढाँचा आदिका बारेमा जानकारी प्रस्तुत गरिन्छ ।
— शोधपत्रको तेस्रो परिच्छेद पहिलो समस्यामा आधारित हुन्छ । यसमा पहिलो समस्याले उठान गरेको विषयक्षेत्रलाई परिच्छेदको मूल शीर्षक बनाइन्छ ।
— शोधपत्रको चौथो परिच्छेद दोस्रो समस्यामा आधारित हुन्छ । यसमा दोस्रो समस्याले उठान गरेको विषयक्षेत्रलाई परिच्छेदको मूल शीर्षक बनाइन्छ ।
— शोधपत्रको पाँचौँ परिच्छेद तेस्रो समस्यामा आधारित हुन्छ । यसमा तेस्रो समस्याले उठान गरेको विषयक्षेत्रलाई परिच्छेदको मूल शीर्षक बनाइन्छ । यसरी नै जति समस्याहरू छन् त्यति नै परिच्छेदहरू पनि बन्दै जान्छन् । कुनै कुनै समस्यालाई खप्ट्याएर परिच्छेद निर्माण गर्न पनि सकिन्छ ।
— शोधपत्रको अन्तिम परिच्छेद निष्कर्षमा आधारित हुन्छ । यसमा परिच्छेदगत निष्कर्ष प्रस्तुत गरिसकेपछि समग्र मूल्याङ्कनसहितको निष्कर्ष प्रस्तुत गरिन्छ । यहाँ समस्याकेन्द्रित निष्कर्ष प्रस्तुत गरी समग्र शोधको प्राप्ति प्रस्तुत गर्नु राम्रो मानिन्छ । यसैमा भावी शोधकार्यका लागि केही शीर्षकहरू समेत प्रस्ताव गरिन्छन् ।
‘मुनामदन खण्डकाव्यमा अलङ्कार विधान’ शीर्षकको अनुसन्धान कार्यका लागि शोधपत्रको रूपरेखा प्रस्तुत गर्नुप¥यो भने यसरी गर्न सकिन्छ—
पहिलो परिच्छेदः अनुसन्धान परिचय
दोस्रो परिच्छेदः अलङ्कारको सैद्धान्तिक स्वरूप र कृतिविश्लेषणको ढाँचा
तेस्रो परिच्छेदः मुनामदन खण्डकाव्यमा शब्दालङ्कारको प्रयोग
चौथो परिच्छेदः मुनामदन खण्डकाव्यमा अर्थालङ्कारको प्रयोग
पाँचौँ परिच्छेदः मुनामदन खण्डकाव्यमा अलङ्कार प्रयोगसम्बन्धी विशेषताहरू
छैटौँ परिच्छेदः उपसंहार, मूल्याङ्कन तथा निष्कर्ष
परिशिष्ट
सन्दर्भ सामग्री

११. समयावधि र लागत
प्रस्तुत शोधकार्य सम्पन्न गर्नका लागि कति समय लाग्छ र त्यसका लागि कति आर्थिक व्यय हुने अनुमान गरिएको छ ? त्यसको उल्लेख यहाँ गर्नुपर्दछ । तह पूरा गर्ने वा उपाधि प्राप्त गर्ने अनुसन्धानका लागि यो खण्ड आवश्यक छैन । कुनै परियोजना पूरा गर्ने अनुसन्धानका लागि हो भने यस ठाउँमा यो कार्य सम्पन्न गर्न यति समय लाग्छ र यसका लागि अनुमानित लागत यति देखिन्छ भनी स्पष्ट उल्लेख गर्नुपर्छ ।

१२. सन्दर्भ सामग्री
शोधप्रस्तावको अन्त्यमा सन्दर्भ सामग्रीको उल्लेख अनिवार्य मानिन्छ । यहाँ शोधप्रस्ताव तयार हुँदासम्म प्रयोग गरिएका सबै सामग्रीहरूको उल्लेख गर्नुपर्छ । यसमा धेरै नभए पनि पूर्वकार्यको समीक्षामा प्रयोग भएका र अन्य सहयोगी सामग्रीहरूको इमानदारीपूर्वक उल्लेख गर्नुपर्छ । यसको उल्लेख गर्ने नियम वा एपिए र एमएलए पद्धतिका बारेमा अघिल्लो भागमा नै चर्चा गरिएको छ । सन्दर्भ कृतिको उल्लेख गर्दा यसरी गर्नुपर्छ । जस्तैः थर, नाम, मिति, कृति, संस्करण, स्थान ः प्रकाशक, पूर्णविराम ।

— देवकोटा, लक्ष्मीप्रसाद, २०६०, मुनामदन, बाइसौँ सं., ललितपुर ः साझा प्रकाशन ।

६. निष्कर्ष
शोधप्रस्ताव अनुसन्धान कार्य गर्नका लागि प्रवेशद्वार मानिन्छ । यसले स्वीकृति प्राप्त गरिसकेपछि अनुसन्धानका लागि ढोका खुल्दछ । यो अनुसन्धानका लागि प्रवेशद्वार मात्र नभएर गन्तव्यमा पुग्ने आधार पनि हो । यसैमा तय गरिएको बाटोमा हिँड्दै गएपछि अनुसन्धानको अन्तिम निष्कर्षमा पुगिन्छ त्यसैले यो शोधार्थी हिँड्ने बाटो, शोधार्थीलाई विचलित हुन नदिने अनुशासनको घेरा र पूर्वनिर्धारित व्यवस्थित योजना पनि हो । यसमा केही परिवर्तन भए पनि समग्र शोधकार्यमा यही आधारभूमि हुने गर्दछ त्यसैले निज शोधार्थीको शोधकार्य गर्ने क्षमता कुन स्तरको छ, भविष्यमा शोधकार्य कुन प्रकृतिको हुनेवाला छ र त्यसले कसरी सम्पन्नता प्राप्त गर्दै छ भन्ने कुराको स्पष्ट चित्र शोधप्रस्तावमा नै देखिने हुनाले अनुसन्धानका क्षेत्रमा यसको विशेष महत्त्व रहेको देखिन्छ ।

क्रमशः अर्को हप्ता…