दीपेन्द्रमान बनेपाली युवापुस्ताका चर्चित कलाकार हुन् । २०३२ साल भक्तपुरमा जन्मेका बनेपालीले चित्रकला विषयमा एमएफए गरेका छन् साथै कला विषयमै विद्यावारिधि गर्ने तरखरमा छन् । हालसम्म उनले एक पटक एकल प्रदर्शनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा दर्जनौँ सामूहिक कला प्रदर्शनी तथा कलाका कार्यशाालामा भाग लिइसकेका छन् ।
यसका अलावा उनी कलाका अभियन्ता पनि हुन्। कलाका थुप्रै संघसंस्थामा आबद्ध भएर नेपाली कलाविकासका लागि दिनरात काम गरिरहेका छन्।

बनेपाली सानैदेखि चित्रकलामा रुचि राख्थे । किताबका रेखाचित्रहरू हुबहु कापीमा उतार्थे।
कक्षा ६ मा पढ्दा उनले कोरेको चित्र “रुखमा फलेको सुन्तला” अत्यन्तै चर्चित बनेको थियो ।
साथीभाइहरूको आग्रहमा उनले उक्त चित्र दर्जनौँ पटक बनाए । उनी भन्छन् “यही समयदेखि मैले भविष्यमा कलाकार बन्ने सपना देखिको थिएँ ।”

उतिबेला भक्तपुरमा कलाका थुप्रै कार्यक्रम हुन्थे । चित्रकला प्रदर्शनी र चित्रकला प्रतियोगिता बाक्लै हुन्थे । उनका अग्रज र सहपाठीहरू पनि कलामा निकै चाख दिन्थे। अग्रजहरूमध्ये छिमेकमा थिए, रामशरण प्रजापति जो चित्रकलाका गुरु थिए । उनी महिनाको १० रुपैयाँ लिएर चित्र बनाउन सिकाउँथे । बनेपाली पनि उनीसँग चित्रकला सिक्न चाहन्थे तर पैसाको अभावले चित्रकला सिक्न पाएनन्। यद्यपि उनले आफ्नै मेहनतमा चित्रकलामा राम्रो गर्दै गए। पछि कलाकार राजेन्द्र याकामी र असुराम खाइजुसँगको चिनजान र हिमचिमले कलाकारितालाई थप निखार्ने मौका पाए ।

एसएलसी पास गर्दानगर्दै उनले आफ्नै घरमा वेविश आर्ट सन्चालन गरिसकेका थिए।

एसलसी सकेपछि उनी ललितकला क्यम्पसमा कला विषय पढ्न चाहन्थे तर विविध कारणले पढ्न पाएनन् र पढे आइकम । भक्तपुर क्याम्पसमा आइकम सकेर बसेका बनेपाली एकदिन अचानक भोटाहिटीमा रहेको ललितकला क्याम्पसमा इन्ट्रान्स दिन पुगे। सानैदेखि उत्कृष्ट चित्र बनाउन सिपालु बनेपालीलाई ललितकला विषय पढ्न नाम निकाल्न कुनै समस्या भएन र सुरु भयो उनको औपचारिक कला अध्ययन।

औपचारिक कला अध्ययन गर्नुपूर्व नै अब्बल कलाकारिता शुरु गरिसकेका बनेपालीलाई कला विषय अध्ययन गर्न गाह्रो भएन । क्याम्पसमा अध्ययनको अलावा स्थलगत कार्यशाला होस् वा कलाका प्रतियोगिता, ती सबैमा उनी सधैँ उत्कृष्ट रहन्थे।

तिनताका कलेजमा विद्यार्थी राजनीति खुब चल्थ्यो। तिनै माहोलमा बनेपाली पनि राजनीति गर्थे। स्ववियु चुनावमा मत आकर्षित गर्न कलालाई नै उपयोग गर्थे उनी। कलेजमा नयाँ विद्यार्थी होस् वा पुराना, सबैलाई बटुलेर विभिन्न प्रकारका कलाका कार्यक्रम आयोजना गरी विद्यार्थीको मन जित्ने काम गर्थे। उनको सक्रियता देखेर विरोधीहरू चुनावमा हारिएला भनेर खुब डराउँथे।

विद्यार्थी राजनीतिमा अरुलाई सजिलै प्रभावमा पारी आफूतिर तान्न सक्ने खुबी भएका दीपेन्द्र आफू भने राजनीतिमा सधैँ पर्दा पछाडि रहेर काम गरे । कलेजमा रहुन्जेल उनले आफ्ना नजिकका साथीभाइसँग असल सहयोगीका रुपमा काम गरिरहे ।

सृजनात्मक आधुनिक कला मूल विषयमा एमएफए गरेका बनेपाली आधुनिक विषय र कलाशैलीमै चित्रकला सृजना गर्छन्। उनले बनाएका अर्धअमूर्त शैलीका चित्रहरूले वर्तमान समयको चित्रण गर्छन्।
यसका अतिरिक्त बनेपाली प्रकृतिप्रधान चित्र र काठमाडौँ उपत्यकाका ऐतिहासिक मठमन्दिरका चित्र कोर्छन्। खुला प्रकृतिमा गएर स्थलगत चित्र कोर्न सक्ने गज्जबको क्षमता छ, उनीसँग। उनी आफ्नो आँखाले देखेको वस्तुलाई हुबहु त उतार्छन् नै त्योभन्दा बढी भावनात्मक पक्ष, रङहरूको भाषा र मनोविज्ञानलाई खुब ध्यान दिन्छन्। यसले गर्दा उनको चित्र अरुभन्दा सबल र मौलिक देखिन्छन्। पछिल्लो समय उनले “बर्डआई भ्यु “ सिरिजमा रहेर चित्रकला सृजना गरिरहेका छन्। चित्रकलाबाहेक उनी राम्रो फोटोग्राफर पनि हुन्।

आऔँ, केही छिन कलाकार दीपेन्द्रमान बनेपालीका केही चित्रहरू अवलोकन गरौँः