
२०४६ वैसाख ४ गते
यता आहार–विहार व्यायामसमेत नियन्त्रित जस्तो व्यवस्थित छ । सबै सेवा छोरीको योजनाअनुसार अन्नपात घटाएर सागसब्जी सूप यस्ता हल्कामा छ जीवन । खानेकुरा नियमित छ— बिहान आठ बजे, दिनमा एघार, सन्ध्या पाँचमा । दिनभरिमा तीनपल्ट आराम लिन्छु पाँच–दश मिनेट सुतेर–निधाएर । चिया दुईपल्ट, अलिकति समय गफमा जान्छ, तीनजना (अञ्जना, सेवा र म) आइसोलेसनबाट छुटेर भेला हुन्छौँ । कहिले भान्सामा, कतिबेला कौसीको घाममा अनि भेट नभए आआफ्ना कथ्य टिप्पणी फोन वार्ता विनिमय गर्छौं । यस्तो खबर आयो, यस्तो सूचना, यस्तो जानकारी, फलानाबाट फोन यस्तो आदि आदि ।
मलाई राम भाइले फोन गरे यसरी व्यवस्थापन गर्दैछु दाजु; लक्ष्मणले फोन गरी भने —त्यो संग्रहमा दाजुले आफैँ दाजुले भूमिका लेखिदिनु होला, म केही सिर्जनाको प्रयत्नमा छु । घरबाट खगेन्द्रको फोन आयो, तल गंगा दिदीको बाथरुम बन्दैछ हेरेर आएँ । माल्दाइको फोन आयो— यी नानीहरूले मलाई छोड्दैनन् । जयको फोन आयो— खगेन्द्र काका र म भेला भएर अध्ययन र सिर्जनाको वार्तामा छौँ काका । ईश्वरीको फोन आयो— ठूली माइजूले अलिकति माड खानुभो । ऋचासँग सबैजना बोल्यौँ । ठुल्दाजुलाई न्यूजिल्याण्डका भूटानी पुनर्स्थापित गोपाल पौड्यालले खोजे, मेले जोडाइदिएँ ।
हरि भाइलाई सोधेँ— के छ भाइ ? उही झोक्राए, नमः स्वाहा दाजु । अनितालाई सोधेँ— यताका निबन्धहरू आउन लोड भयो बैनी ? छैन नि सर त्याँडी पठाएको हेर्न मौका परेको छैन । मध्य दिनमा आसामका छत्र सुब्बाको आयो यी प्रेमले भरिएको । श्रद्धासँग उनी बोले— कसरी नयाँ कुरा सरबाट सिकौँला भन्छु । सिक्तैछु, नयाँ चेतना यतातिर पनि शेयर गर्दैछु । नयाँ जुगको आँखा देख्तैछु । हिजो सुनाएको कविता मैले फेरि सुधार गरेँ । सर एकपल्ट दृष्टि लगाइदिनु होला- उनले थपे, मेसेञ्जरमा पठाएको छु ।
हुन्छ भाइ, पठाउनोस् ।
त्यसपछि बेला बेला आउँछन्, अरु पनि वार्ता हुन्छन् । मिलन पौडेल आन्टीले घरैमा वाइफाइ जडान गर्नुभएकाले म भेटिएका टुक्राहरू, भिडियो क्लिप, कविता, कोरोना विषयक उतै पठाउँछु, टाइप गरेर पठाउनु हुन्छ, सजिलो भएको छ । सामाजिक दूरी कायम गर्दै काम पनि चल्दैछ । हिजो जयप्रसाद पाण्डे (विराटनगरको) कोरोना कविता टाइप भयो, आजे मेरो अनुवाद त्यसैगरी ।
त्यसपछि ता धेरै भएन। अमेरिकी प्रा. दुर्गा दाहालको आयो । छोटो बात ग¥यौँ । तपाईंको अंग्रेजी कविता पढेँ राम्रो छ भनी सुनाएँ । दिउँसो मुक्ति दाइले पठाएको लिलबहादुर क्षत्रीको बसाइँको अडियो क्यासेट आएको थियो ।
मैले दुई तीनपल्ट सुनिसकेको छु । पाँच वर्ष अघि म यसको विमोचनमा नै उपस्थित भएको थिएँ । त्यसबारेको लेख मेरो शीघ्र प्रकाश्य शिलाङ तेजपुर गुवाहाटी (यात्रा संस्मरण) मा प्रस्तुत गरेको छु । शृङ्खलामा आउँदैछ ।
यसरी आज दिन ढल्यो । कोरोनाको घटबढ संख्यामा फेरि दृष्टि लगाउने मन छैन । जगत् यसको गहिराइपट्टि जाँदैन । सामान्य छन् सबै, अज्ञात छन्, अज्ञानी पनि । प्रकृतिको लयमा बाँचिरहेका छन् । यो विश्वग्रामीकरणले सबै डराइरहेका थर्थरी कामिरहेका । कुनै पनि विपत्ति दुर्घटना पछिल्तिर त्यसको वैज्ञानिक कारण ता कसलाई थाहा हुन्छ र ? भूकम्प, हुण्डरी, सुनामी, उल्कापात, बाढी, पहिरो वा महाव्याधि— प्रत्येकमा अज्ञातलाई सम्झिने पूजा गर्ने थर्थरी काम्नेहरु धेरै छन् । हामी सबै छौँ । आज एक धामीले पूजा गरेको देखियो । आजै एक क्वाक ९अजासु० डाक्टरले पीपलको पात झानेर नाकमा तातो तेल दल्न सिकाइरहेको थियो । यस्तै छन् विश्वास गरिदिने मानिस यिनलाई सुहाउने ठग जन्मिरहन्छन् ।
उता रामायणको सीताहरणबाट सन्देश लिएर रिमेक गरेको एउटा क्लिप ख्याल राम्रो होइन । सीतालाई छोडेर राम बाहिर निस्के । लक्ष्मण आएपछि उनलाई राम खोज्न पठाइन् । यो एरियाभित्रको लकडाउन नकाट्नू भनेर लक्ष्मणले भनेको थियो । जोगी आयो, भिक्षा दिँदा उनले काटिन् र समात्यो त्यो थियो कोरोना । हाँस उठ्दो । मान्छे कति सिर्जनशील भएका हुन् !
एक त समय व्यतीत गर्नुछ । दोस्रोमा साधन उपलब्ध छ । तेस्रोमा कोरोनासँग लड्न ऊ निरुपाय छ । डनकिजटले हावामा तरबार हानेर कल्पित शत्रूसित लडेको जस्तो मात्र हो । चौथो, साइबर संस्कृतिले गर्दा उसको मन पनि कल्पनाशील भएको छ । आजको अन्तिम पटक लक्ष्मणरेखा तोड्दा के भयो सीतालाई त्यो सम्वाद प्रस्तुत गरेर विश्राम लिन चाहन्छु । शुभरात्री ।
लक्ष्मण रेखा
अल्टर क्वेन
सीताः लछुमन ! लछुमन !! तिम्रो दाजु बजार सौदा गर्न गाको अझैसम्म आइपुगेन जाऊ जाऊ छिटो जाऊ । पुलिसले डन्डा हान्यो कि !
लक्ष्मणः मेरो दाइलाई कसैले छुन सक्दैन् आउँदै हुनुहुन्छ होला बाटोमा ।
सीताः टिभीमा भाटा हानेको देखेको थिएँ, हेरेर आऊ कतै भाटा भेट्यो कि ।
(तर लकडाउन उल्लङ्घन गर्नु पाप हो पाप)
हे भगवान् हे भगवान् !
सुन, पानी पुरी पनि ल्याइदिन्छु भन्नुभाकोथ्यो ।
मैले पनि भोला नखाको जुगौँ भयो चुरोट पनि नखाको
यदि म तेरो भाउजू हो भने मैले भनेको कुरा मान !
यस्तै भन्नुहुन्छ भने म जान्छु … हे कोरोना मैले बनाको घेरा नकाट्है ! यो लकडाउनको घेरा कट्दै नकट है । तपाईं यो लकडाउनको घेरा नकट्नु है भाउजू !
मम चाउमिन पनि लिएर आऊ है ।
भोक लाग्यो ।
फलफूल ल्याइदिएँ ।
थ्याङ्क्यू सो मच ।
म खान नपाएर माग्न आएको भिखारी होइन बुझ्यौ ।
म लकडाउन तोड्न सक्दिनँ ।
देन नो थ्याङ्स ।
ओइट ! यस्तो परिस्थितिमा कोही पनि भोकै हुनुहुँदैन ।
हु आर यु ?
आइ एम कोरोना ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

