विषयप्रवेश: 

‘स्पष्टीकरण’ हरिभक्त कटुवालद्वारा रचित कथासङ्ग्रहको पुस्तक हो । यो पुस्तक रत्न पुस्तक भण्डार प्रकाशनले प्रकाशन गरेको हो । यो पुस्तकको पहिलो संस्करण वि.सं. २०३० मा र दोस्रो संस्करण वि.सं. २०६६ मा प्रकाशित भएको थियो ।  हरिभक्त कटुवालको भनाइमा कथा लेख्नु उनका लागि रहर मात्र हो तर के सुर परेर उनले दुई दर्जन कथा लेखे ! उनको यो पुस्तकमा आठवटा कथाहरू सङ्ग्रहित छन् । ती कथाहरूमा : ‘मनु दिदी’, ‘सन्तुले छकाई’, ‘शङ्का’, ‘नरमाया’, ‘सूर्यमुखी’, ‘हत्या’, ‘मनःस्थिति’ र ‘स्पष्टीकरण’ रहेका छन् ।

कथावस्तु :

पहिलो कथा ‘मनु दिदी’ मा म पात्र बसिरहेका हुन्छन्, बाहिर पानी परेको आवाज सुनेर म पात्र भन्छन्, “छि ! यो पानी कति परेको ? दिनदिनै भइसक्यो, आँखा उघारेको छैन । साँच्चै, मनु दिदी पनि कस्ती ? व्यक्तित्व नभएजस्ती ! निजस्व मरेकी जस्ती ! जसले जे भन्यो उही सुन्यो । जसले जता भन्यो उतै-उतै ढल्कियो । विचारशक्ति ठ्याम्मै नभएजस्ती ।” पानी परेको सुनेर, म पात्रले सोच्छ, “यो पानी कहाँबाट बर्सिँदो होला यसरी ? लामाले मन्त्र फुकेर जम्मै असिना एउटै भकारीमा पार्छन् अरे । त्यसरी नै पानी पनि एकै ठाउँमा पारिदिए त यो टन्टै नै हुने थिएन । न ओत लाग्ने छाता नै चाहिन्थ्यो, न वाटरप्रुफ जुत्ता नै । धत्तेरी ! यो पानीले के आँटेको छ कुन्नि ? लाउने कपडासम्म पनि धुन पाइएन । भएभरका जम्मै लुगा मैलिइसकेका छन् । आज पनि धुन पाइएन भने त भोलिदेखि बाहिर निस्कनसम्म पनि नसकिएला ! कहिलेकाहीँ परिदिए हुँदो हो भन्दा पनि एक भर पर्दैन । नचाहिएका बेलामा चाहिँ आँखा उघार्दैन । अझ साउन त सिङ्गै छँदै छ । खै पढ्न जान्छु, किताब पनि के पढ्ने ? एउटै किताब दोहोर्‍याउने धैर्य छैन । क्लियोपेट्राबाहेक नयाँ किताब अन्य केही छैन । यो क्लियोपेट्रा चाहिँ फेरि पढ्नै सक्दिनँ । यसो पढ्न लाग्यो कि मनु दिदी आँखाअघि नाच्न लागिहाल्छिन् । क्या हो क्या हो, जति क्लियोपेट्रा पढ्दै जान्छु उति मनु दिदी सङ्ग्लिँदै जान्छिन् । यी मनु दिदीले पनि मारिन् । न पढ्न दिन्छिन् न बढ्न दिन्छिन् । लौ १० पनि बजिसकेछ । ११ मा पाठशाला पुग्नुपर्ने । अहिलेसम्म नुहाइधुवाइ गरिएको छैन । दाउरा भिजेका थिए, भात पो पाक्यो कि पाकेन ! समयमा पाठशाला नपुगे फेरि प्रधानाध्यापक कुरा सुन्नुपर्छ । गर्नु गऱ्यो यो पानीले । मनु दिदीको भाइले हिजो छाता लगेको, त्यो पनि उतै छ ।”  छ्यापाल्ङछुप्लुङ आवाज आउँछ, यसो हेर्दा मनु दिदी पो हुन्छिन् । मनु दिदीलाई भान्साकोठामा गएको देखेर म पात्र, “भयो, भातसात भरे विश्रामको घण्टीमा भ्याएछु भने आएर खाउँला । नभए बरु उतै गोविन्देको पसलबाट चिया र सिङ्गडा मगाएर खानुपर्ला । पानी भने पर्दै छ । छाता छैन । नहोस् । भिज्दै पनि पुग्छु । भिजेका कपडा देखाएर प्रधानाध्यापकसँग बरु एक घण्टीको छुट्टी मागेर घरमा आएर फेर्नुपर्ला !” भन्दै छ्यापाल् छुप्लुङ गर्दै म पात्र स्कुलतर्फ जान्छन् ।

सौहार्द वज्राचार्य

‘सन्तुले छकाई’ भन्ने कथामा जसवीर आफ्नी छोरी सन्तुका बारेमा सोचिरहेको हुन्छ । पाँच वर्षको उमेर छँदा नै जसवीरले श्रीमती गुमाएको हुन्छ र सन्तु उसको एक मात्र छोरी हुन्छे । उता वीरे १० कक्षासम्म पढेर म्याट्रिकमा उक्लन नसकी घरै बसेर यताउतिका केटाकेटीलाई पढाउने गर्थ्यो । उसका आमाबाबु, दाजुभाइ, दिदीबहिनी सबै थिए । घरको अवस्था पनि साह्रै नराम्रो पनि थिएन । उसका दाजु र बाबु तेल कम्पनीमा काम गर्थे । आफैँले पनि केटाकेटीलाई पढाएर ६०/ ७० रुपियाँसम्म कमाउँथ्यो । नपुग्दो केही थिएन र थियो मगरको छोरो । त्यसैले नै जसवीरको मन खुम्चिन्थ्यो । उसमा आफ्नो घरको अभिमान थियो । आफू क्षेत्री भएर मगरलाई ज्वाइँ भन्न ऊ मरे सक्दैनथ्यो । त्यसैले ऊ वीरेदेखि डराउँथ्यो तर सन्तु वीरे दाइ भनेपछि हुरुक्क हुन्थी । पाठ सोध्ने निहुँले प्रायः वीरेको घरमा जान्थी । त्यसरी नै उनीहरूमा घनिष्ठता छिप्पिएको थियो ।  सन्तुको म्याट्रिक परीक्षा नजिक आइपुगेको थियो तर त्यसको पनि ख्यालै नराखी वीरेसँग जीवनमरणको सम्बन्ध जोड्न तीन दिनअघि बूढो जसवीरलाई छकाएर भाग्छे । बिचरो जसवीरले त्यो तीन दिन उसैको खोजीमा बिताउँछ । अघि-अघि छ नबज्दै बिहानै ऊ काममा पुग्थ्यो तर तीन दिनदेखि ऊ काममा पनि गएको हुँदैन । पकाएर खाने जाँगरसम्म आएको थिएन । अघिल्लो राति रतन बङ्गालीको पसलबाट चिउरा ल्याएर चपाएथ्यो । त्यसदिन भने ऊ भोकै छ । खान मन लागेरै पनि उसले पकाएको थिएन । उसलाई मन भोक लाग्दा पनि पकाएर खाएन । चिउरा लिन जाँदा उसको मुखमा हेरेर रतन मुसुक्क हाँसेको उसले लक्ष्य गरेको थियो त्यसैले आज लिन जान उसलाई लाज लाग्छ । भोकै पुसको मध्यरातमा ऊ आगो तापेर बसिरहन्छ आफ्नी एक्ली छोरी सन्तुलाई सम्झिएर ।

तेस्रो कथा ‘शङ्का’ भन्ने कथामा म पात्र र कन्दर्पका बिच घनिष्ठता छ । मोतीमान उनीहरू दुवैका दाजु थिए । हुन त कन्दर्पकै माध्यमबाट मोतीमान दाजुसँग म पात्रको परिचय भएको थियो तापनि आफ्ना अन्य कुनै दाजुजत्तिकै ठान्दथे म पात्रले । मोतीमानकी श्रीमती (कन्दर्प र म पात्रकी भाउजू) थिइन् । म पात्र र कन्दर्प भाउजूका घरमा गए । घरमा पुग्नासाथ नै मोतीमान दाइचाहिँ बाहिर जानुभयो । “किन, हामी आउनासाथ दाजु हिँड्नुभयो नि त ?” म पात्रले सोधे । “खै कुन्नि ? दुई महिनाजति भयो, मसित पनि राम्ररी बोल्दैनन्” , भाउजूले भन्नुभयो । भाउजू र मोतीमानको छोरा पनि थियो । भाउजू कोठाभित्र छिर्नुभयो । कन्दर्प पनि भाउजूको पछि-पछि गयो । भित्र भाउजूले भन्नुभयो, “आजसम्म जे-जति भयो ती सबै बिर्सिदेऊ कन्दर्प ! तिमी अबदेखि यहाँ नआऊ ! भत्किन लागेको हाम्रो यो घरमा तिमी आगो नलगाऊ !” घुक्क-घुक्क रोएको शब्द फेरि कानमा आएर ठोक्कियो । म पात्र असमञ्जसमा परे, म पात्र सोच्न थाले, “भाउजू र दाइको छोराको मुख कन्दर्पजस्तै देखिन्छ, कहीँ भाउजू र दाइको भनिएको छोरा कन्दर्पको त होइन ?”

पाचौँ कथा ‘सूर्यमुखी’ मा रमा नाम गरेकी महिला जसलाई म पात्रले सूर्यमुखी भनेर बोलाउँछन्, उनीहरूको पहिलो भेट नाट्यशालामा भएको थियो । सूर्यमुखी र म पात्रको पहिलो नाटक ‘राम वनवास’ थियो, जसमा म पात्र राम थिए र सूर्यमुखी सीता थिइन् । म पात्र अझै पनि त्यही नाट्यशालामा काम गर्छन् तर सूर्यमुखीलाई नाट्यशालाबाट निकालिएको थियो र सूर्यमुखीलाई नाट्यशालाबाट निकाल्नुमा म पात्रको ठुलो हात थियो । म पात्रले सूर्यमुखीलाई नाट्यशालाबाट निकालेपछि सूर्यमुखीले सडक नाटक गर्न थालिन् ।

छैटौँ कथा ‘हत्या’ मा शीला नाम गरेकी एक गर्भवती आइमाई छे । शीलालाई अगिल्लो दिन राति १० बजे अस्पतालमा भर्ना गरिएको थियो । भर्खर बेथाले छोएको थियो उसलाई, त्यस बेला र रातभरि प्रसववेदनाले, ऊ छटपटाइरही । दुईवटी नर्स, दुईवटी धाई र म पात्र व्यस्त थिए, उसैका लागि । जति जति पीडा बढ्दै जान्थ्यो त्यति त्यति ऊ बडबडाउँथी, गाली गर्थी आफ्नो लोग्नेलाई । सतीश उसको लोग्ने नै थियो, त्यसैले ऊ त्यही नाम लिँदै फोहोर गाली निकाल्थी मुखबाट । उसको गाली सुनेर नर्सहरू शिर ठाडो पारेर पाखुराहरूमा टाउको लुकाएर बेडको चारैतिर उभिएका थिए शीलालाई समातेर बसिरहेका थिए । म पात्र केही निष्कर्षमा पुग्न सकेकन् तर उनले सम्झे इमर्जेन्सीमा डा. श्रेष्ठ  छन् भन्ने कुरा र उनको सल्लाह लिने विचारले नर्सहरूलाई झट्ट फर्किन्छु भन्ने सूचना दिएर सरासर इमर्जेन्सी वार्डतिर हानिए । नभन्दै डा. श्रेष्ठ फुर्सदकै अवस्थामा फेला परे । म पात्रले सम्पूर्ण इतिहास उहाँलाई सुनाए र हामी के गर्ने भन्ने विचारमा मात्र लागेका थिए एउटी नर्स हतारिँदै म पात्रलाई बोलाउन आइपुगिन् । शीलाले अझै धेरै बच्चालाई आफ्नो पेटमा राख्न सक्दिनथी र म पात्र र डा. श्रेष्ठले बच्चा निकाले । म पात्र हात धुन गएका थिए त्यति बेला एक नर्स भागेर म पात्रका आइन् र भनिन्, ‘अनर्थ भयो सर! तपाईँ चाँडै हिँड्नोस् । उसले नानीको घाँटी च्यापेर मारिदिई!’ म पात्र छक्क परेँ र कुदेर गएँ । सबै जनाले शीलालाई सोधे, किन माऱ्यौ आफ्नो बच्चालाई? उसले भनी, “डाक्टर साहेब, यो पाप मैले नौ महिनासम्म पालेँ, अब पाल्न सक्दिनथेँ, त्यसैले मारिदिएँ । यसको बाबु सतीश थियो, जो सात महिनादेखि बेपत्ता छ । म सँगसँगै यसलाई पनि कलङ्कित र हेय बनाएर राख्न चाहन्नँ । के दरकार त्यसले एउटा घृणित जिन्दगी बाँच्न ?” डा. श्रेष्ठ आए र भने, “यो त हत्याको मामला हो, हामीले प्रहरीलाई भन्नुपर्छ ।”

सातौँ कथा ‘मनःस्थिति’ मा “एउटा मृत्युले समस्याहरूको समाधान हुँदैन भन्ने कुरा सोचेपछि उसमा केही उत्साह देखियो ।” उसले आफ्नो हातमा भएको चक्कु नभ्याउने ठाउँमा राखिदियो र झ्यालतिर हेर्न मन लाग्दालाग्दै पनि हेरेन । त्यहाँ झ्यालबाट देखिने बकैनाको ठूलो रूखको सट्टामा नसपाती अथवा आरुबखडाको बोट झ्यालको छेउमा सुहाउने हुँदो हो जस्तो सोच्न लाग्दालाग्दै ऊ झट्टै डेरा सरिहाल्ने कुरा पनि सोच्न लाग्यो हो, उसले डेरा सरेकै बेस हुन्छ भन्ने कुरामा टुङ्गो लाग्न पुगेपछि भने उसलाई वातावरण केही मिठो लागेर आउँछ । उसलाई त्यो कोठा मन नै पर्दैन थियो । सधैँ झुन्ड्याएको ठाउँमा कोट झुन्डिएको उसलाई मन पर्दैन थियो । अर्को ठाउँमा किला ठोक्नुपर्ने भनेर सोच्दै थियो ऊ तर अब किला ठोक्नुको सट्टामा नयाँ डेरा खोज्नुपर्ला भन्ने सोच्दै थियो ऊ । उसको भरपर्दो भाइ राममानसँग तल जान्छ । “होइन भाइ, मलाई त यो उमेरसम्म कुनै केटीले पनि पत्याएनन्; अब त केटी होइन, केटो पो बिहे गरूँजस्तो लाग्न थाल्यो, कसो होला ?” ऊ राममानलाई जिस्क्याउँछ । राममान पनि “केटा नै बिहे गर्ने भए म छँदै छु नि दाजुका लागि” भनेर फर्क्याउँछ । “ए, अस्ति मात्र पालुवा फेर्दै थियो बकैनाले, अहिले गेडा पनि पाकिसकेछ । बकैना के काममा लाग्छ दाजु ? खान त हुँदैन होला हगि ?” राममान भन्छ । “हुँदैन ! भाइ, कतै राम्रो डेरा पाए म सर्ने थिएँ । पाइएला कतै ?” राममानलाई खोतल्छ- “भाइलाई त फुर्सद छ, खोजिदिए पनि त हुने !” उसले भन्छ । “दाजुका लागि म खोजुँला नि त ! होइन, झट्टै सरिहाल्ने भए मेरै डेरामा सरौँ न । तर दाजु त अफिसर मान्छे, हामीसित ?” ,राममान जम्मै भन्न अनकनाउँछ । अब राममानसित नयाँ कुरा अरू केही गर्न मन लाग्दैन उसलाई र बिस्तारै भन्छ, “हतार छैन, फुर्सदमा खोजे हुन्छ ।”

आठौँ अर्थात् अन्तिम कथा ‘स्पष्टीकरण’ मा म पात्र भन्छन्, “हो राधा ! एउटा सिङ्गो युगको हिँडाइपछि म यस्तो ठाउँमा आइपुगेर उभिएको छु जहाँबाट अब एक पाइलो अघि बढ्ने जाँगर मभित्र छैन । अनायास मेरा खुट्टामा अनन्त थकाइ आएर थुप्रिएका छन् र यहाँ म जडवत् उभिएको छु । तिमी कति अपराधी राधा ! सम्पूर्ण युगभरि मेरै हाराहारी हिँडेर पनि मलाई थाहा दिइनौ र आज नयाँ दिशातिर गति लियौ । सायद तिमी अतालियौ मेरो हाराहारी हिँड्नबाट तिम्रो विश्वास हट्यो । त्यति लामो यात्रामा एकपल्ट त तिम्रो उपस्थितिको आभास, तिम्रो उद्देश्य मलाई थाहा दिन सक्थ्यौ । केवल मेरै चेतनालाई पछ्याउँदै हिँडिरह्यौ र आत्तिएर आज तिमी हिँडेको गोरेटामा एउटा घुम्ती बनाउँदै नयाँ दिशा रोज्न बाध्य भयौ । तर राधा ! आज तिम्रो दुर्बलता थाहा पाएपछि एकतमासले म निरासिएँ । अब फेरि उही बाटाबाट फर्किन लागेको छु आफैँले छोडेर आएको गोरेटो मेट्दै-मेट्दै । पुनर्जन्ममा मलाई विश्वास थिएन र छैन पनि तर तिनैका लागि राधा, एउटा जुनी पर्खिएर अर्को जुनीमा फेरि तिमीसँग हातेमालो गर्दै यो यात्रा था भन्ने रहर मभित्र टुसाएको छ । तिमीलाई छोड्ने छैनन् । तिमीले टेकिरहेको डिलमा जब तिमीले नै ब्युँझाएका लहरहरू ठोक्किन्छन् त्यस बेला तिमी फेरि आँत्तिन्छ्यौ । मैले तिमीलाई मभन्दा बेग्लै कहिले ठानेँ र ? तिमीभित्र पनि ममा जस्तै मानसिक दुर्बलताहरू हुनु अस्वाभाविक के थियो र ? मजस्तै चुपचाप तिमी पनि हरेक अपराधलाई आफैँभरि सीमित राख्दै अनन्ततिर बढिरहेकी भए के हुन्थ्यो? तर तिमी तिम्रो संस्कारबाट मुक्त हुन सकिनौ, मैले दुःख मान्नु त्यत्ति छ । गयौ, ठीकै छ तर मैले उचालेको पाइतालाको अघिल्तिर अनन्त लहरहरू ब्युँझाइदिएर गयौ, यहीँ तिमी हाऱ्यौ! लौ, म गोरेटो मेट्दै फर्किँदै छु । सायद मेरो फर्कनुको गतिमा अर्को एउटा गोरेटो जन्मिन्छ तर त्यो पश्चमुखी गोरेटो कसैको काम लाग्ने छैन । तिम्रा लागि जुन गोरेटो एक युगभरि बन्यो त्यसलाई मेटिदिएर मात्र फेरि बिसाउँछु । अवश्य, यो पनि हुन सक्छ, मभित्रको पुरुषले मलाई घचघच्याइरहन्छ र म अनायास एउटा गोरेटो मेटिसकेर अर्को गोरेटो बनाउँदै गइरहनेछु उही चरम बिन्दुतिर ।

परिवेश: 

          कथासङ्ग्रहमा सङ्ग्रहित आठवटा कथाहरूमा भारतको दार्जीलिङ आसपासको परिवेशलाई कथाहरूमा स्थलगत परिवेशका रूपमा समेटिएको छ । ‘सन्तुले छकाई’ भन्ने कथामा रजत बङ्गालीको पसल, ‘मनु दिदी’ भन्ने कथामा म पात्रले पढाउने स्कुल, बस्ने ठाउँलगायतका कुराहरू कथामा स्थलगत परिवेशका उदाहरण मान्न सकिन्छ । अधिकांश कथाहरू सामाजिक विषयवस्तुलाई आधार बनाएर लेखिएका छन् । धेरैजसो कथाहरूमा लेखक स्वयम् म पात्रको भूमिकामा देखिएका पनि छन् । कथा भन्दै शैलीमा कतै एकालापको शैली पनि अपनाइएको छ । लगभग आजभन्दा ५०/६० वर्ष अगाडिको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, धार्मिकलगायत पक्षहरू कथामा समेटिएका छन् । कथाभित्रको कालगत परिवेशका कुरा गर्दा ठ्याक्कै सबै कथामा एउटै समयमा घटेका घटनाहरू त छैनन् ।

निष्कर्ष:

हरिभक्त कटुवालद्वारा लिखित ‘स्पष्टीकरण’ कथासङ्ग्रह एक लघु आकारको कथासङ्ग्रहको पुस्तक हो । यसका कथाहरू सानो भए पनि कथाहरू निकै दार्शनिक छन् । कथाहरूमा हरिभक्त कटुवालले हाम्रो समाजमा भइरहेका कुराहरू लेखेका छन् । उनका सबै कथा, विशेष गरी ‘शङ्का’, ‘हत्या’ र ‘मनःस्थिति’ आजको समाजमा पनि हामी देख्न सक्छौँ । हरिभक्त कटुवाल एक सशक्त कवि भएका कारणले पनि होला कथाको भाषा पनि कवितात्मक नै लाग्छ । केही कथाहरूको भाषा एकालाप शैलीका कारण बोधमा जटिलता भए पनि कथाको भाव बुझ्न पाठकलाई सजिलो नै छ । समग्रमा, कथाहरू अध्ययनपछि एक किसिमको तरङ्ग पैदा गर्ने खालका छन् ।

पुनश्च श्रावण महिनामा हामीले यो पुस्तक पाठ्यसामग्रीको रूपमा अध्ययन गरेका थियौँ । त्यसैले पनि मलाई लेख्ने सामग्रीका रूपमा यो विषय उपलब्ध भयो ।

नाम: सौहार्द बज्राचार्य

कक्षा: ८

डियरवाक सिफल स्कुल