बुट्टाकै कारण पनि कसैले चर्चा कमाउन सक्छ । यो कलाका पारखी पनि हुन सक्छन् । यो कुरा फोटोग्राफर थान्डिवे मुर्युले गरेर देखाएकी छन् ।

फोटोग्राफीमा नाम कमाउने लोभका कारण थान्डिवेले अरुभन्दा पृथक् काम रोजिन् र यही पृथक् कामले उनलाई उनी हुनुको परिचय दिलाउन थालेको छ ।

केन्याकी यी युवा फोटोग्राफरको फोटोवर्क एउटा काम मात्र होइन, यो त उनी हुनुको गहिरो अर्थ हो ।

बिबिसीसँगको कुराकानीमा उनी भन्छिन्, मलाई फेसन फोटोग्राफी साह्रै मन पर्छ । म नथाकीकन घण्टौँ काम गर्न सक्छु । फेसन फाटोग्राफीले नै तपाईं को हो र कस्तो पृष्ठभूमिबाट आउनुभयो भन्ने देखाउँछ । यही सोचले मैले केमो शृंखला शुरु गरेकी थिएँ ।

केमो शृंखला अर्थात् रंगबिरंगी कपडा, बेग्लै किसिमका कपालका शैली, आँखामा देखिरहेका विचित्र प्रकारका चश्माले ३० वर्षअघिको चल्तीमा रहेका कुरा देखाउने अनौठो शैली हो ।

यो शृंखलाले उनले आफ्नो पृष्ठभूमि र संस्कृतिलाई उजागर गरिरहेको उनको भनाइ छ ।

थान्डिवे मुर्युले फोटोग्राफीको कला युट्युबमा हेरेर सिकेकी थिइन् । औपचारिक रुपमा कुनै डिग्री नलिई आफैँले सिकेर यो काममा हात हालिन् ।

सबैभन्दा ठूलो कुरा चाहिँ उनको परिवारले उनको रुचिलाई साथ दियो । उनका पिताले उनलाई हौस्याए ।

उनको परिवारमा भाइ छैनन्, मात्र तीन दिदीबहिनी छन् । त्यसैले पिताले उनीहरुलाई छोराझैँ हुर्काए । आफ्ना छोरीहरुलाई सधैँ प्राक्टिकल कुरा सिकाए । कारको टायर फेर्ने, बार्बिक्यु गर्ने, क्यामेरा प्रयोग गर्नेजस्ता कुराहरु केन्यामा पुरुषहरुको भागमा पर्ने गर्छ तर उनलाई उनका बुवाले यी सबै कुरा सिकाए । फोटोग्राफीमा उनको रहर देखेर उनका बुवाले उनलाई हौस्याए ।

फोटोग्राफी थान्डिवेका लागि विज्ञान र कलाको मिश्रण हो । अफ्रिकी मुलुकहरुमा फोटोग्राफी पुरुषहरुको पेशा हो तर उनलाई यही गर्नुथियो । एक जना फोटोग्राफर साथीले उनलाई यो शैलीमा तस्बिर खिच्न प्रेरित गरेका थिए ।

त्यसपछि उनले २०१५ बाट केमो शृंखला शुरु गरेकी थिइन् । उनी भन्छिन्, शुरुमा यी कलात्मक कपडालाई क्यामेराभित्र छिराउने काम मात्र थियो । यसका लागि मैले काला अनुहारका महिलालाई छानेँ । पहिलो जुन युवती मैले छानेकी थिएँ, ती महिलाको दाँतको बीचमा खाली ठाउँ थियो । स्थानीय संस्कृतिमा त्यसलाई सुन्दरताको प्रतीक मानिन्छ । यस्ता यस्ता कुराहरु छान्दै काम गर्दै जाँदा म यसैमा रमाउन थालेँ ।

अफ्रिकाको नयाँ पिँढी पुरानो प्रिन्ट रुचाउँछन् तर पुरानै ढंगका होइन, त्यसलाई नयाँ ढंगमा ढालेर लगाउन रुचाउँछन् । मैले उनीहरुको सोही रुचिलाई समातेकी छु ।

उनी आफ्नो संस्कृतिमा चल्तीमा रहेका हरेक कुराहरुलाई यो शैलीमा नयाँपनका साथ पस्किन चाहन्छिन् । यस्तै कुराले उनलाई अफ्रिकाभरि चिनाएको छ । आज उनैका तस्बिरकला हेरौँः