‘एकला चलो रे ! एकला चलो रे ! एकला चलो रे !’ प्रसिद्ध विश्वकवि रवीन्द्रनाथ टेगोरले लेखेका छन् ।
एक्लै हिँड्ने सामर्थ्य राख्ने मानिसहरू यो दुनियाँमा धेरै कम हुन्छन् । जो हिँड्छन् ती आफ्नो लक्ष्यमा पुगिछाड्छन् । यसर्थमा एक्लै हिँड्न अति गाह्रो छ । तर कविका हकमा ऊ एक्लै हिँड्छ । हिँड्नुपर्छ । कवि सारथि आफैँ, बटुवा पनि आफैँ हो ।
यात्रामा कतै गुन्गुनाउँदा, कतै भावाभिव्यक्ति प्रकट गर्दा र कतै रोमाञ्चित हुँदा देख्नेले सशरीर यही दुनियाँको भिडमा देख्लान्, तर यथार्थमा कवि आफ्नो दुनियाँमा रमाइरहेको हुन्छ, फरक संसार सजाइरहेको हुन्छ । शब्दको लोभलाग्दो इन्द्रेनी बनाइरहेको हुन्छ । यही विशिष्टताले अरूभन्दा बेग्लै, एक्लै भइरहेको हुन्छ ।
भनिन्छ प्रतिभाशाली व्यक्ति सनकी हुन्छन् । पिकोसाका चेला एल साल्भाडोर डाली निजी केहिकोप्टरमा घाँस उमार्थे । विक्रमश्रिहरू मालिङ्गो घारीमा झुल टाँगेर ओछ्यान लगाउँछन् र राहुल सांकृत्यायनका विचारहरू पढ्न थाल्छन् । भरत गुरागाई बर्बरिकहरू परोपकार घाटको खाली चितामा कालोतन्ना ओछ्याएर जिउँदै लमतन्न पर्छन् र टिकटक बनाउँछन् ।
तर यिनीहरू सनकी किन ? यो त कला प्रदर्शन हो । समाजले मलाई सिकाउन खोज्छ । सनकीको अर्थ रिसको आवेग वा झोँकमा काम गर्ने मान्छेमात्र हुँदैन । मनको एकोहोरो ताना वा धुनमा काम गर्ने पनि सनकी नै हो । समाजले कुरा बुझ्न बाँकी छ ।
प्रतिभाशाली मानिसहरू नै प्रतिभाको प्रशंसा गर्न सक्षम हुन्छन् । अस्टिन मिचेलका शब्द सम्झिन्छुः
‘अरूभन्दा आफूलाई फरक बनाउनुको मजा बेग्लै ।
आफूखुसी छानी–छानी काँडा सजाउनुको मजा बेग्लै ।’
प्रतिभाशाली मान्छे प्रायः एक्लै देख्छु । भिडबाट अलग्गिए पछि नै उसमा निहित प्रतिभा सजिलै देखिने रहेछ ।
…
२०७८ असार १५ गते साढे नौ बजे कलाकार विक्रमश्रीले फेसबुकमा एउटा लोभलाग्दो फोटो पोस्ट गरे । एक जना सिटी सफारीचालकले सफारीको छतका माटो राखेर घाँस उमारेको, छेउछेउमा गमला राखेर फूल हुर्काएको, सफारी सार्वजनिक सवारीका रूपमा सडकमा कुदाइरहेको दृश्य थियो त्यो ।
फोटोमा विक्रमश्रीको क्याप्सन थियो– एक्लो कहाँ होइने रहेछ र ? आफूजस्तै अर्को मूर्ख भेट्दा क्या खुसी लाग्यो !
त्यसमै लेखराज ढकालको टिप्पणी थियो– मूर्ख र पागल नभएको भए अहिलेको समाजले वैज्ञानिक र कलाकार पाउँथ्यो नि ?
जब–जब म कलाकार विक्रमश्रीका समीपमा पुग्छु, हामी उभिएको जमिन, रुखपात, हावापानी, कमिला, किरा–फट्याङ्ग्रा आदि सबै–सबै उनीसँग बात मारिरहेको पाउँछु । पृष्ठभूमिमा कला, साधनाको कुरा त छँदै छ ।
एकदिन सेतो–बङ्गला लोकेसनमा विक्रमश्रीले जे. कृष्णामूर्तिको विचार समेटिएको पुस्तक पढिरहेको देखेँ ।
‘तपाईले पढिसकेपछि मलाई पनि यो पढ्ने मन थियो,’ मैले भनेँ ।
तर उनले जबाफ दिए– ‘अहिले तपाई यो नपढ्नुहोस् ।’
‘किन ?’ मैले कस्तो–कस्तो हुँदै सोधेँ । मनमनै सोचेँ– किताब दिन मूर्ख हुन्छन्, किताब फिर्ता गर्ने महामूर्ख !
तर कुरो अर्कै रहेछ । जे. कृष्णामूर्तिका विचार मेले सहजताका साथ आत्मसात गर्न सक्दिनँ भन्ने चिन्ता हरेछ ।
‘यसको भार थेग्न तपाईलाई गाह्रो हुन्छ जस्तो लाग्छ,’ उनले सोझै भने ।
नभन्दै मैले त्यो किताब फेरि हेर्ने÷खोज्ने प्रयास गरेको छैन । विक्रमश्रीले भने जस्तो त्यसका लागि समय आउला, कथाले माग्ला भन्ने लागेको छ ।
विक्रमश्रीका कति कुरा म बुझ्छु, कति कुरा बुझ्ने क्षमता मभित्र पनि छैन भनेर चित्त बुझाउँछु । सारमा देशले, समाजले हामीबाट अझै थुप्रै–थुप्रै फरक सिर्जनाको अपेक्षा गरिरहेको छ, जसलाई पूरा गर्नु हाम्रो दायित्व हो । भोकै रहेर पनि, अनेक सहेर पनि ।
विक्रमश्रीको मिश्रित सिर्जना ‘श्रमिक बुद्ध’ मेरो निरन्तर प्रेरणाको स्रोत हो । जसलाई मैले नेतृत्व विकासम्बन्धी धेरैवटा तालिममा एउटा महत्त्वपूर्ण टुल्सका रूपमा प्रयोग गरेको छु । जसको शीर्षक मैले दिएको छु – मद्वारा मेरो निर्माण । यो शीर्षक तपाईंले युनिकोड गरेर गुगल सर्च गर्न पनि सक्नुहुन्छ ।
विक्रमश्रिले अचेल धरणीधर कुञ्ज परिसरमा अरू दुई फरक अलिखित कविता (वास्तु) सिर्जना गरेका छन्, जुन् त्यो सेरोफेरोमा पुग्ने जो कोहीका लागि आकर्षणको केन्द्र र सेल्फी ब्याक–ग्राउन्ड हुने गरेको छ । एउटाको शीर्षक हो– स्वच्छन्दता (वाइल्ड फ्रिडम) र अर्को हो– समय सन्तुलन ।
स्वतछन्दता शीर्षकमा छ एउटा मडेमाको कछुवा र छेउमा रमाइरहेका छन् केही भुराहरू प्राकृतिक स्वतन्त्रतासहित, बालसुलभ धरातलीय यथार्थसहित । नाङ्गागाङ्गै मार्न खोज्दै छन् डुबुल्की ।
एउटा मान्छेलाई पृथ्वी, समय, आफ्ना रहरहरू, देश, समाज र परिवारको आवश्यकताबीच सन्तुलन मिलाउनु कतिसम्म सकस हुन्छ, त्यसको ज्वलन्त उदाहरण हो, समय सन्तुलन ।
चर्चा गर्दै जाँदा एउटा महाकाव्य नै बन्छ यसमा । कला, बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई केही न केही ।
विक्रमश्रि काव्यिक चेत भरिएका कलाकार हुन् । समग्रमा एउटा आवेग, एउटा सनकको परिणाम हो जस्तो लाग्छ उनको जीवनबोध ।
एउटा असल कलाकारले रङमा, वास्तुमा, अभिनयमा कविता सिर्जना गर्छ । एउटा असल कविले शब्दमा कला सिर्जना गर्छ । जसरी भए पनि कविको नियति कविता हो, जसले असल कविताको अभिर्भाव गराउँछन् । कविता शक्तिका कारण यो संसारको सृष्टिलाई अमरत्व प्राप्त छ । चानचुने मानिसका कल्पना र कविका कल्पनामा आकास–पातालको अन्तर हुन्छ ।
…
‘ओ गड द सी इज सो ग्रेट एन्ड माई बोट इज सो स्मल !’ हे ईश्वर यो समुद्र महान् छ र मेरो डुङ्गा सानो छ ।
सानोमा एउटा पोस्टरमा पढेको, मन पराएर, किनेर घरको भित्तामा धमिरा लाग्नुअघिसम्म टाँसेको यो भनाइ कसैले विन्फ्रेड अर्नेस्ट ग्यारिसनको कविता–अंश हो भनेका छन्, कसैले जोन एफ केनेडीको भनाइ मानेका छन् । कताकति अलमल मिसिएको हुँदो रहेछ प्रेरक भनाइहरूमा पनि ।
तर कवि प्रष्ट हुन्छ । कवि जति प्रष्ट हुन्छ, उति सरल हुन्छ । जति सरल हुन्छ त्यति जटिल हुन्छ । जति जटिल हुन्छ, त्यति मन छुने हुन्छ ।
कवि सुदामा पाण्डेय धूमिल लेख्छन्–
‘एउटा मान्छे रोटी बनाउँछ
एउटा मान्छे रोटी खान्छ
एउटा तेस्रो व्यक्ति पनि छ
जो न रोटी बनाउँछ न रोटी खान्छ
ऊ केवल रोटीसँग खेल्छ
म सोधिरहेँछु–
त्यो तेस्रो व्यक्ति को हो ?
मेरो देशको संसद् मौन छ ।’
बुझ्नेका लागि कविता धेरै शब्द चाहिँदैन । रोटीभन्दा ठुलो ईश्वर, रोटीभन्दा ठुलो विज्ञान, रोटीभन्दा ठुलो गणित, रोटीभन्दा ठुलो दर्शन, रोटीभन्दा ठुलो ग्रन्थ सायद छैन कहीँ ।
कविता रूपमा जति लघु, त्यति सघन हुने गुण हुन्छ । जति सामान्य, उति सशक्त हुो रहेछ । संसार र नेपाली साहित्यमा पनि अमरत्व प्राप्त गर्ने कविताका रूप पक्षलाई नियाल्ने हो भने त्यो कुरा ज्ञात हुन्छ ।
‘के हो ठुलो जगतमा ? पसिना विवेक !
उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक ।’
एलपिडी । लक्ष्मीप्रसाद देवकोटा । घर भत्काइएका महाकवि । परिदृश्यमा सर्वाधिक उद्धरण प्रयोग हुने पहिलो नेपाली । एलपिडीले उडेर चन्द्रमा पुग्ने कल्पना गरेको धेरै वर्षपछि पहिलो मानव पाइलो चन्द्रमामा परेको दाबी गरिएको थियो ।
तर उनै एलपिडी पागल कहलिए । राँची लगिए । ‘म एक दिन आँधीसित गीत गाउँदै थिएँ, बुज्रुकहरूले मलाई राँची भेजिदिए,’ न हाँस्नु न रुनुहुन्छ मन यस्ता कुरा पढ्दा ।
ऊबेला महाकवि देवकोटाले जुन सकस भोगे समाजमा आज पनि उस्तै देख्छ । ब्रजुकहरू उस्तै छन् । लेखक कवि हुनुको अनुभूति पनि हुबहु छ । हिजो बुज्रुकहरूले देवकोटालाई राँची लगे, आज देवकोटाको कविकुञ्ज भत्काइदिए ।
पछिल्लो समय देवकोटाका नाममा जे हुँदै छ, बहस जसरी सतहमा आएको छ, त्यो देख्दा लाग्छ हामी सबै पागल हौँ । कवि, प्रेमी र पागल एउटै हुनेर दुनियाँले स्वीकारिसके पछि मैले थप केही भनिरहनै परेन, यो विषयमा ।
एलपिडीलाई थाहा थियो इतिहास रच्ने कुरा लेख्न धेरै शब्द खर्च गर्नै पर्दैन । त्यसैले त उनी मुनामदनबाहेक मेरा सबै कृतिहरू जलाइदिए हुन्छ भन्थे ।
शब्द खेलाउन जानेको, शब्दको शक्ति चिनेको एउटा कविले आफ्ना केही थान रचनाबाटै संसारमा विजयश्री माला पहिरिरहेका हुन्छन् ।
कविका रचनाहरूले जीवनबोध गराउँछन् । जीवन, भविष्य र समयप्रति आशावादी हुन प्रेरित गर्छन् । कविको विद्रोही, कहिले नहार्ने भावना आममानिसका लागि अथक सङ्घर्षको कारक बन्छन् ।
अभीशप्त समय र जिन्दगीको यात्रामा कविका लागि हिरासत एउटा यस्तो ढुङ्गे बिम्ब बनेर आउँछ, जहाँ ठोक्किएर न्याय–प्रणाली छताछुल्ल पोखिन्छ र त्यसले समाजलाई लछ«प्प भिजाउँछ । कवि यही प्रस्थान–बिन्दुबाट अनन्त यात्रामा हिँडेका हुन्छन्, सत्य र न्यायको खोजीमा ।
…
कालान्तरमा महात्मा उपनामले परिचित मोहनदास करमचन्द गान्धीका अनुसार चरित्रविहीन शिक्षा, सिद्धान्न्तविहीन राजनीति, श्रमविहीन सम्पत्ति, विवेकविहीन भोग–विलास, नैतिकताविहीन व्यापार, मानवीयताविहीन विज्ञान र त्यागविहीन पूजा गरी सात पापहरू छन् ।
भनिन्छ उपदेश अरूका लागि हुन् । महात्मा भनिए पनि गान्धीका अनेकौँ कमजोरी थिए । चेलीबेटीका समीपमा नाङ्गै बस्ने गान्धीले परस्त्रीगमनका अनेकन अप्ठेरा कमजोरी स्वीकारेका छन् ।
नाथुराम गोड्सेले त्यो बेला उनलाई नमारेको भए महात्मा र राज्यशक्तिको आवरणमा गान्धीबाट अझ धेरै गल्तीहरू हुने थिए, जसले सनातन हिन्दु धर्म–संस्कृतिलाई थप क्षति हुने थियो । कथित धर्म निरपेक्ष शब्दका पक्षपाती गान्धी हामी सनातनी हिन्दुहरूले मन्दिरमै सजाएर आदर÷पूजा गर्नुपर्ने स्तरका व्यक्ति हुन् भन्ने मलाई लाग्दैन ।
तथापि राम्रो विचार–व्यवहार भक्त–भगवान्, हिन्दु–गैरहिन्दु, विद्वान–मूर्ख, साधु–हत्यारा, साक्षर–निरक्षर आदि जसको भए पनि लिनुपर्छ, जीवनमा निरन्तर आत्मसात गर्ने प्रयास गर्नुपर्छ ।
त्यही मेसोमा गान्धीले सर्वाधिक प्रयोग गर्ने तीन बाँदर प्रतीकसँग नयाँ वृन्दावनमा साक्षात्कार हुने अवसर मिल्यो । नराम्रो नहेर, नराम्रो नबोल, नराम्रो नसुन ।
पृष्ठभूमिमा अनेक अप्ठेराहरू बेहोरेर महामण्डलेश्वर दीनबन्धु शास्त्रीको संरक्षकत्व र राधेश्याम सेवा ट्रस्टको ब्यानरमा बूढीखोला किनारमा विभिन्न क्रियाकलाप सनातन हिन्दु धर्म–संस्कृति उचाइमा पु¥याउने अभियानसँग जोडिएका छन् ।
नयाँ वृन्दावन परिसरमा फरक र विश्वकै ध्यानाकर्षण गर्न सकिने सिर्जनाहरू हुर्किरहेको देख्दा मन आनन्दित हुन्छ । शास्त्रीजीको परिकल्पनामा आधारित भक्ति मन्दिरको चार–दिशा हेर्दा हिन्दु, मुस्लिम, इसाई र बौद्ध धर्मका असल गुणहरू एउटै संरचनामा प्रतिबिम्बत भइरहेको सहज अनुभूत हुन्छ ।
सदैव जय होस्, असल कममा सघाउने हातहरूको । भनिन्छ भजन गर्ने ओठभन्दा सेवा गर्ने हातहरू पवित्र हुन्छन् ।
थाहा पाएसम्म सुविद गुरागाई दुनियाँमा जहाँसुकै भए पनि राम्रा अभ्यासहरूको निरन्तर प्रशंसक हो । बाँकी आफैँ मिलाएर बुझ्नुहोला । सत्य सनातन हिन्दु राष्ट्र नेपालको जय जय होस् !
दुनियाँमा जे जति कर्म छन् ती सबै आलोचनारहित हुनुपर्छ भनी सोच्ने मजस्तो फन्टुसको पनि जय होस् !
===



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

