
देश र जनता, शासक र संस्कृति, विकृति र विसङ्गति, प्रकृति र मान्छे, भावमय र हृदय संवेद्य गद्य कविताको नदीमा बग्दै आफ्नो बेग्लै पहिचानमा प्रस्तुुत हुने कवि क्षितिज अहिले शब्दका भावमा छचल्किदै एक्लो महारथी कवितासङ्ग्रहको सारथी हुनु भएकोमा बधाई तथा शुभकामना दिन चाहन्छु । यस कविता सङ्ग्रहमा कविका जीवनानुभूतिहरू कविताका माध्यमबाट आस्वादन गर्न पाएकी छु । उनका कविता स्वतन्त्र र स्वच्छन्द रूपमा प्रवाहित हुँदै प्रगतिशील गन्तव्यतिर उन्मुख छन् । समयको परिवर्तनसँगै समाज पनि अनेक ढङ्गले परिवर्तन हुँदै गइरहेको छ । समाजमा प्रभुत्वशाली लिङ्गको शक्ति प्रदर्शन र अधिनस्थ लिङ्गका उत्पीडिनलाई प्रस्तुत गर्न महेश कार्की क्षितिजको अनुभूति भण्डार घनिभूत भएको देखिन्छ ।
समाजमा देखिएका विकृति र विसङ्गतिले समाज रुमलिएको अवस्थामा क्षितिजभरि कविताका झिल्कोले उज्यालो प्रकाश छर्न र भविष्यको पथ विस्तार गर्न उत्सुक छन् । उनको एक्लो महारथी कवितासङ्ग्रहमा सङ्गृहित कविता खुशीको क्षेत्रफल र आशाको क्षेत्रफल मापन गर्न शब्द र भावका नदीमा पौडिन सफल भएका छन्:
‘उनीहरूको छाती पहाड जस्तै छ ।’
बल्न नसकेको चुलो वरिपरि बसेर
भोका केटाकेटी
गरिरहेका छन् आगोको प्रतिक्षा
हेरिरहेका छन् म फर्किने बाटो
खाली भाँडाहरू तयार पार्दैछन्
बसाउन चुलोमा ।
वर्तमान अवस्थामा समयको परिवर्तनसँगै चेतनाको क्षेत्रफल मापन गर्न कवि क्षितिजले समाजको यथार्थ चित्रण प्रस्तुत गरेका छन् । उनले समाजमा बालबालिकाहरूले निस्फिक्री खाने पिउने र खेल्ने समयमा भयभीत आँखाभित्र कहाली लाग्दा दृश्यहरू समेटेर जिउनु परेको अवस्थालाई कवितामा चित्रण गरेका छन् । कुनै निश्चित आकारविना नै बग्ने नदी जस्तै कवि मन प्रश्न गर्न पुगेका छन्:
यो कठिन समयमा
आफन्तले किन एक्लै छाडे त बा तपाईलाई ?
बा निराश भएनन्
हाँस्दै भने फेरि,
‘यो कठिन परिस्थितिसँग लड्ने
मेरो क्षमता थाहा पाएर छोडेका हुन् ।’

अनिता पुन
यहाँ कवि मन कत्ति विचलित नभइकन मानिसलाई जस्तोसुकै परिस्थितिमा पनि जिउनु सक्नुपर्छ र साना साना कुरामा खुसी हुनुपर्छ भन्दै प्रकृति तथा दैवीकप्रकोपलाई मानिसले नकार्न सक्दैन । आँधी हुरीले तहसनहस गरेको बस्तीमा परिवारविहिन एक्लो मान्छेको खुसीको क्षेत्रफल मापन गर्न नसकिने भावलाई प्रस्तुत गर्नुका साथै यस कथा सङ्ग्रहको नामकरण एक्लो महारथीको सङ्केत गरेको देखिन्छ । कविले प्रकृति र मान्छे कवितामा पनि भुइँचालोले आफ्नै सहपाठी माटो भएछ भन्ने प्रसङ्गमा प्रकति प्रकोपको अघि मानिसले हार स्वीकार गरिएको छ । वर्तमान समयमा हाम्रो समाजमा देखिएका विकृति र विङ्गतिलाई प्रस्तुत गर्न कविले वृद्धाश्रमको यात्रा कवितामा वंश चलाउनका लागि छोरा जन्माउनु पर्छ भन्ने मानसिकता हटाउन सन्देश दिएका छन् । एउटी आमाले आफ्ना सन्तानका लागि निस्वार्थ प्रेम बर्साएकी हुन्छिन् ।
आमाको छाती हो
मनमा छोराप्रति हरि राखेर
उसैको उज्यालो भविष्यको कामना गर्दै
आफूजस्तै छाडिएकाहरूको नियति पढ्न
जादै थिइन् मलामी हिँडाइमा
टेक्दैटेक्दै उमेरको लौरो
भेट्नलाई सायद सन्तानको माया
खानलाई सायद अन्तिम भोज
कुर्नलाई सायद मृत्युको मिति ।
समाजमा छोराछोरीले आफ्नो बाबु–आमालाई गर्नुपर्ने दायित्व र कर्तव्यप्रति गैरजिम्मेवार बन्दै परिप्रेक्षमा आफ्नै छोराले बाबु–आमालाई वृद्धाश्रममा लगेर छोडिदिने प्रवृत्तिप्रति खेद प्रकट गरेका छन् । वृद्धाश्रम पुगेकी आमाले छोराको उज्यालो भविष्यको कामना गर्छिन् । धेरैका बाबु–आमाको इच्छा पनि छोराछोरी नै बुढेसकालका सहारा हुन् भन्ने हुन्छ । तर छोराबुहारीले आफ्नो कामको व्यस्तता देखाउने र बुढाबुढीको स्याहारसुसार गर्नुपर्छ भन्ने बोझ पन्छाउनका लागि वृद्धाश्रममा लगेर छोडिदिने विकृति फैलिएको पाइन्छ । समाजमा जन्मदिने बाबु–आमाप्रति गरिएको अमानवीय व्यवहारले समाजमा नकारात्मक असर परेको छ । यसकाकारण वृद्धा बाबु–आमाले वृद्धाश्रममा नै अन्तिम स्वास फेर्न बाध्य छन् । त्यसैले समाजमा देखिएको सामाजिक समस्याको समाधान लागि हरेक मानिसले आफ्नो काम र कर्तव्यको दायित्व पालना गर्नुपर्छ भन्ने सन्देश दिएका छन् ।
यस कवितासङ्ग्रहमा सङ्ग्रहित रेगिस्तान कवितामा एउटा नेपालीले रोजगारका क्रममा अरूको देशमा अङ्गभङ्ग हुँदाको पीडालाई प्रस्तुत गरेका छन् । यस कविताको छैंठौ हरफमा परदेशबाट स्वदेश फर्किएको एउटा पुरुषले आफ्नी श्रीमतीका चाहना पूरा गर्न नसक्ने कुरालाई कविले ‘तीन घुम्ती’ उपन्यासकी नारीपात्र र ‘पुतलीको घर’ नाटककी नारीपात्रलाई उपस्थित गराएका छन् ।
तिम्रा चाहनाका सिमानासम्म पुग्न सकिनँ म
तिमी “तीनघुम्ती” की इन्द्रमाया पढेकी मान्छे
“पुतलीको घर” की नोरा बुझेकी मान्छे
गुलाबका अगाडि म उन्यू तगारो बन्दिनँ
कुन्ती र उनले आह्वान गरेका देवताहरूको
बाटो रोकेर पाण्डुकै नियति लिएर भन्न सक्छु
तिम्रो गर्भमा आऊन् पञ्चपाण्डव ।
यस कवितामा रेगिस्तानमा दुर्घटनामा परेर पुरुषले पुरुषत्व गुमाएको छ । यसर्थ कविले तीन घुम्ती उपन्यास र पुतलीको घर नाटक नपढेका पाठकलाई कविताको भाव बुझ्न जटिल बनाइदिएको देखिन्छ र यस कविताको शब्दका भावले समाजलाई चुनौती दिएको छ । मानिसलाई तिर्खा लागेका बेलामा जुन खोलीको पानी पिउँदा हुन्छ भने जस्तै यौनको प्यास मेटाउनका लागि परपुरुषसँग सम्बन्ध राख्दा कुनै पनि आपत्तिजनक नभएका कुरा व्यक्त गरेका छन् । समाजमा मानिसले स्वतन्त्र र स्वच्छन्द रूपमा प्रेम गर्न पाउनु पर्छ तर समाजमा एउटी विवाहित नारीले आफ्नो पतिको कमजोरीका कारण परपुरुषसँगको सम्बन्धलाई स्वीकार गरेर गर्भाधारण गरेकी छ भने समाजले स्वीकार गर्दैन । प्रकृतिले काँडाबिच फुल्ने गुलाब र फुल्दै नफुल्ने उन्यूको पनि आ–आफ्नै विशेषता दिएको छ । पुरुषप्रधान समाजमा सीमान्तकृत नारीको चित्कार, रोदन र क्रन्दनको विषय उठान गरेर नारीलाई न्यायालयका ढोकामा उपस्थित गराउन सफल देखिन्छन् । यस कविता सङ्ग्रहमा सङ्गृहित फिरादपत्र कविताका केही अंश तल प्रस्तुत गरिएको छ ।
मेरो घर रहेन
मेरो शरीर पनि नरहेपछि
व्याधाले खेदाएकी बाघिनी बनेर
माइली नेपाली यो न्यायालयमा
श्रीमानसित फिराद गर्न आएकी छु
मलाई गोली नहान्नुस् एकैछिन ।
पुरुषप्रधान समाजमा प्रभुत्वशाली वर्गले अधिनस्थ वर्गमाथि गरेको दमन तथा शोषणका विरुद्ध प्रतिरोध गर्नका लागि बुलन्द आवाज उठाएका छन् । ०६२÷०६३ सालको जनआन्दोलनमा सोझा सिधा जनतालाई राज्य पक्षबाट विद्रोही माओवादी हो भनी बेपत्ता पारिएका मानिस अझै पनि अज्ञात छन् । तिनै बेपत्ता पारिएका मानिसका श्रीमतीसहित परिवार मानसिक तथा शारीरिक हिंसामा परेका छन् । समाजमा उत्पीडित नारीको प्रतिनिधित्व गर्न फिरादपत्रसहित माइली नेपालीलाई प्रस्तुत गर्न सफल देखिन्छन् । यस कविताको अन्तिम पङ्क्तिमा कविले नारीलाई न्याय नपाएको खण्डमा युद्धमा होमिन पनि तयार छन् भन्ने कुरा सङ्केत गरेका छन् । जीवनका आयामसँगै समाजमा घटेका घटना परिघटनामाथि कवि क्षितिजद्वारा समय सापेक्ष कविताहरूको सङ्कलन हो– एक्लो महारथी
यहाँ महेश कार्की क्षितिजका सबै कविताहरूको समीक्षा गरिएको छैन । यस कविता सङ्ग्रहभित्रका केही कविताहरू समीक्षा गरिएको । साहित्यिक क्षेत्रमा गद्यकविताको सागरसम्म पुग्नका लागि क्षितिज निरन्तर नदीका रूपमा बगिरहेका छन् । उनका प्रकृति र मान्छे, र ढुङ्गा कवितामा कवि मन खहरे खोलाजस्तै बगेको देखिन्छ । उनका कविता प्रगतिशील भावधारामा संरचित भएकाले समाजका विविध मानवीय समस्याहरू समेट्न सफल छन् र वर्तमान अवस्थामा व्याप्त विकृति र विसङ्गतिले समाजमा पारेका कुप्रभावलाई लैङ्गिक शक्तिसम्बन्धका आधारमा हेर्दा फिरादपत्र कविताकी माइली नेपालीलाई शक्तिकेन्द्रमा पु¥याएका छन् ।
अन्तमा महेश कार्की क्षितिजका कविताहरूको उचाई थपिदै जावस् । उनका कविताअझै बढी उर्जाशील बनून् । पाठक वर्गका मन मस्तिष्कलाई चुम्बलले जसरी तान्न सकून् र नेपाली साहित्य जगत्मा क्षितिजका रचनाहरूले निरन्तरता प्राप्त गरोस् ।
विधा : कविता
मूल्य : २५०
कविः महेश कार्की क्षितिज
प्रकाशकः शिखा बुक्स



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

