आज
नरेश हिँडेको पनि पाँच दिन भएछ । सँगै बाटो काटेको बटुवाले जति पनि औपचारिकता निभाएन निष्ठुरीले ! कम से कम जान्छु त भन्नुपर्थ्यो ! त्यतिसम्म पनि नभनी हिँड्यो !
बाहिर टन्टलापुर घाम चर्किएको छ । हावा जोड-जोडले चलिरहेको छ । ठाउँ-ठाउँमा सोली पर्दै धुलोहरू पनि अकासिँदै छन् । टिनको छानो तातेर कोठाभित्र गर्मीले बसी नसक्नु छ । बाहिर अकासिँदै गरेका ती धुलोहरूजस्तै सोचाइहरू पनि बतासिँदै छन् । जिन्दगीले ताल, सुर, लय सबै गुमाएको छ र म बेसुरो अलापजस्तै भएकी छु । झ्यालबाट यसो बाहिर हेर्छु, आकाशमा एक हुल चराहरू उडिरहेको छन्, लाग्छ कि ती पनि बिरक्तिएर आफ्ना पुराना गुँडहरूबाट कतै बसाइँ सर्दैछन् !
बाहिर चकमन्न छ तर म गहिरो मानसिक अन्तर्द्वन्द्वमा छु । एक्कासि जिन्दगी अत्यन्त जटिल मोडमा पुगेको छ । अघि बढ्ने बाटाहरू सबै टुङ्गिएका छन् । फर्केर जाने कुनै ठाउँ बाँकी छैन । जिन्दगीलाई भार सम्झेर यतै बिसाइदिऊँ कि, यो समाजभित्रका कुरूप प्रवृत्तिलाई उदाङ्गो पार्न सङ्घर्ष गरूँ ? म यति बेला जिन्दगीको एउटा कठिन परीक्षामा छु ।
सुदूर अतीतमा बिलाउँदै गएका स्मृतिहरू छताछुल्ल भएका छन् । जर्जर दरिद्रतामा पिल्सिएर गुजारेका निरीह बाल्यकाल र किशोरावस्थाका कठिन दिनहरू फेरि नमिठो पीडा लिएर आएका छन् । चरम उत्पीडन, यौनशोषण र मानसिक तनावले धेरैपटक मृत्युको नजिक पुगेर फर्किएका संवेगहरू अझै पनि उसैगरी आक्रान्त छन् । सोचेर पनि अचम्म लाग्छ, कि कुन मसीले कोरियो होला मेरो भाग्यरेखा पनि खोइ !
सम्झना आयो, आमा र बुबा दुवै जना दमका रोगी, उहाँहरूको औषधि, भाइको पढाइ खर्च र दैनिक गुजारा जुटाउनुपर्ने बाध्यतामा बेस्सरी थिचिएको बाल्यकाल र किशोरावस्था ! के बिर्सिइन्थ्यो र ? सहज जीवनको आशामा आफूले हिँडेका भिर, पाखा र पखेराहरूमा उठ्दै फुटेका पैतालाका ठेलाहरू अनि ज्याला बनिबुतो गर्दै बचेको समयमा पढेर सरकारी स्कुलबाट एसएलसीसम्म पास गरेको दिन तर यति बेला जीवनयात्राका सारा भ्रमहरू टुटेका छन् ! नजिकै पुगेपछि परबाट क्षितिजमा देखिएको आकाश र जमिनको मिलनको भ्रम टुटेजस्तै !
पास भएलगत्तै म गाउँकै हेल्थपोस्टमा काम गर्ने कुमार श्रेष्ठ दाजुलाई भेट्न गएकी थिएँ । उहाँ हाम्रो दयनीय पारिवारिक अवस्थासँग परिचित हुनुहुन्थ्यो र हामीलाई सहानुभूति पनि राख्नुहुन्थ्यो । त्यस दिन उहाँले मलाई जागिर दिलाउन सकेको सहयोग गर्ने वचन दिनुभएको थियो । त्यो आश्वासनले म फुरुङ्ग पर्दै घर आएर सबैकुरा आमाबाबालाई पनि सुनाएकी थिएँ । सुनेर बुबाआमा पनि पनि एकदमै खुसी हुनुभएको थियो । केही दिनपछि नै कुमार दाइ घरमै आउनुभयो । उहाँले आमाबुबा दुवै जनालाई सँगै राखेर भन्नुभएको थियो, “निर्मलाका लागि मैले सहरमा जागिरको कुरा गरेको थिएँ । अन्तर्वार्ताका लागि लिएर आउनू भनेर खबर आएको छ । के गर्ने साइँला बा ? ”
कुरा सुन्नेबित्तिक्कै बुबाले भन्नुभयो, “के गर्ने नि, अब जाने । यस्तो दुःखमा जागिर पाउने भएपछि अरू के सोचिरहनुपऱ्यो र ?”
“अनि साइँला बा पास भइन् भने त निर्मला उतै बस्नुपर्छ नि ! यसो कहिलेकाहीँ मात्र घरमा आउन पाइन्छ । के विचार छ साइँली आमाको ? ”
आमाले भन्नुभयो, “खोइ हुर्केकी छोरी, बिहे गरेर पठाउनुपर्ने बेलामा जागिर खुवाउन पठाउने कुरा आयो । फेरि उतै बस्नुपर्छ भन्छौ । जोरीपारी हाँस्ने पो हुन् कि !”
“आ… साइँली आमा त्यस्तो सोचेर पनि हुन्छ ? छोरीले जागिर खान्छे, कोठा खोजेर बस्छे । बेला-बेलामा घरमा पैसा पठाइहाल्छे । केको चिन्ता लिनुहुन्छ ?” कुमार दाइको कुराले हामी सबैको चित्त बुझेको थियो र भोलिपल्ट सदरमुकाम जाने सल्लाहमा छुट्टिएका थियौँ ।
भोलिपल्ट बिहान कुमार दाइ मोटर साइकल लिएर आइपुग्नुभयो । त्यसपछि म माथि कोठामा गएर कुर्ता सुरुवाल लगाएँ र भएको १,२ जोर कपडा झोलामा हालेर निस्किएँ । आमा आँगनमा पूजाको थाली लिएर बस्नुभएको रहेछ । उहाँले मलाई टीका लगाइदिँदै आशिष् दिनुभयो, “मनले आँटेको पुगोस् छोरी !”
बोल्दाबोल्दै आमाका आँखा पनि टिलपिलाएका थिए । त्यो देखेर मेरो मन पनि एक्कासि भारी भएर आएको थियो । घरबाट हिँड्ने बेलामा एक किसिमको खिन्नताको महसुस भएको थियो । त्यसमाथि अन्तर्वार्ता कसरी दिने हो ? पास हुने हो कि होइन ! पास भए पनि काम के गर्नुपर्ने हो ? सकिने हो कि होइन भन्ने चिन्ताले सताइरहेको थियो । बाटामा खाजा खाने बेलामा दाइले भन्नुभएथ्यो, “निर्मला हेर तिमीले सबै बुझेकी छौ । अहिले हामी जुन ठाउँमा अन्तर्वार्ता दिन जाँदै छौँ त्यहाँको हाकिम साब एकदम असल हुनुहुन्छ । तिम्रो बोली व्यवहार मन पराउनुभयो भने त जागिर आजै पक्का हुन्छ ।”
मैले पनि “हुन्छ दाइ, जानेबुझेसम्म गर्छु ” भनेँ । त्यहाँ हल्का चियानास्ता गरेपछि हामी बाटो लागेका थियौँ र करिब ४ बजेतिर उहाँले भनेको कार्यालय पुगेका थियौँ ।
कार्यालयमा हामीले त्यहाँका हाकिम विष्णुहरि थापालाई भेटेका थियौँ । कुमार दाइ र उहाँबीचमा केही औपचारिक कुराकानी भएपछि उहाँले भन्नुभएको थियो, “कुमारजी, अहिले तपाईँहरू थाक्नुभएको होला । उहाँलाई पनि यहीँको महिला होस्टलमा बस्ने व्यवस्था मिलाइदिनुस्, भोलि म उहाँको अन्तर्वार्ता लिन्छु ।”
“हुन्छ सर, यिनले सारै दुःख पाएकी छन्, जागिरचाहिँ जसरी पनि दिनुपऱ्यो,” कुमार दाइले विनयशील भावमा भन्नुभएको थियो ।
भोलिपल्ट अन्तर्वार्ता दिनका लागि केही डर र सङ्कोचका साथ म हाकिमको कोठामा पसेकी थिएँ । उहाँले मलाई निकै गहिरिएर हेरेपछि सोध्नुभएको थियो- “तपाईँको नाम हो ? कति पढ्नुभएको छ ? कस्तो काम गर्न सक्नुहुन्छ ?” आदिआदि मैले उहाँले सोधेका सबै कुरा बताइदिएँ । अन्त्यमा उहाँले भन्नुभयो, “ल ठीक छ । तपाईँले काम पाउनुहुन्छ तर यो स्वास्थ्य केन्द्र हो । रातबिरात पनि काममा आउनुपर्छ नि !”
मैले त्यसमा आफूलाई कुनै आपत्ति नरहेको कुरा बताएपछि उहाँले भोलिपल्टदेखि नै जागिरमा आउनू भन्नुभयो । त्यसपछि खुसीको सिमाना नै रहेन । आमालाई टेलिफोनबाट जागिर पक्का भएको कुरा बताएँ । कुमार दाइले एक जना उहाँकै साथीको घरमा कोठा पनि मिलाइदिनुभयो । त्यसपछि पुनः कुमार दाइकै मोटर साइकलमा आफ्ना सरसामानहरू ल्याउन घर फर्किएँ ।
घरमा पुग्दा आमाले घडामा पानी थापेर पर्खिरहनुभएको थियो । मलाई माला लगाइदिएपछि गहभरि आँसु पार्दै भन्नुभयो, “जसको कोही हुँदैन, उसको सहारा भगवान् हुन्छन् भनेको सत्य रहेछ छोरी ।”
बुबा नजिकै हुनुहुन्थ्यो । उहाँका आँखा पनि हर्षका आँसुले रसाएका थिए । ती सबै देखेर म पनि अत्यन्त भावुक भएँ । भोलिपल्ट पनि हिँड्ने बेलामा आमाले फरियाको सप्कामा गाँठो पारी राखेको पुराना ५०० को नोट दिनुभएको र दहीको सगुन खुवाउएर रुँदै बिदा गर्नुभयो । त्यसपछि म दृष्टिबाट ओझेल नपरुन्जेलसम्म दुवै जना पर्खालमा बसेर मलाई हेरिरहनुभएको थियो । त्यो देखेर मलाई ज्यादै विरक्त लाग्यो ।
मैले करारमा अफिसको सरसफाइको काम पाएकी थिएँ । म बस्ने कोठा पनि अफिसबाट नजिकै थियो । हाकिम साहब अभिभावकजस्तै, सुखदुःख र खाए नखाएको पनि सोध्ने ! अरूलाई भन्दा पनि बढी मलाई मायाँ गरेजस्तै लाग्थ्यो । काठमाडौँतिर गएर आउँदा कहिलेकाहीँ कपडा ल्याइदिनुहुन्थ्यो । यसरी सहज तरिकाले समय बित्दै गयो । घरमा पनि पैसा पठाउँदै गएँ । त्यति बेला लाग्न थालेको थियो, अब भने जीवनले एउटा लय समाएको छ । बिस्तारै जीवन सुखमय हुँदै जानेछ ।
एक दिन सरले अफिसटाइमपछि कार्यकक्षमा बोलाउनुभयो । अरू कर्मचारीहरू सबै घरतिर गइसकेका थिए । म भित्र गएँ । त्यसपछि उहाँले भन्नुभयो, “तिमी सारै सुन्दर छ्यौ निर्मला ।” त्यो समयमा एक्लै बोलाएर मेरो रूपको प्रशंसा गरेको कुरा मलाई स्वाभाविक लागेको थिएन तर पनि म फिस्स हाँसेँ । त्यसपछि उहाँ बसेको कुर्सीबाट उठेर मरो नजिकै सोफमा आएर बस्दै अकस्मात मेरो कुम र मेरो हात समाउनुभएको थियो । मेरो मनमा चिसो पस्यो र म आफू बसेको ठाउँबाट थोरै पर सरेँ । सायद त्यो देखेर उहाँ निरुत्साहित हुनुभएको थियो ।
“ल भोलि भेटेर कुरा गरौँला” ,भन्दै उहाँ बाहिर निस्किनुभएको थियो ।
अफिसमा हाकिमको त्यो अप्रत्यासित दुर्व्यवहारले हतास हुँदै कोठामा पुगेकी मात्रै थिएँ, आमाको फोन आयो । आमाले आत्तिँदै भन्नुभएको थियो, “नानी, तेरो बुबा अस्पतालमा अन्तिम अवस्थामा हुनुहुन्छ । भएको जति सबै पैसा सकियो । अस्पतालले थप डिपोजिट राख्न नसके बिरामी घर लैजानू भनेको छ रे ! त्यो अवस्थाको बुबालाई घर ल्याएर कसरी अपहत्ते हेर्नु ?”
बोल्दाबोल्दै आमाको आवाज अवरुद्ध भएको थियो र म पनि मर्माहत भएकी थिएँ । तैपनि सम्हालिएर आमालाई भनेकी थिए, “आमा तपाईँ चिन्ता नगर्नुस् म अफिसबाट लिएर चाहिए जति पैसा पठाउँछु । बुबालाई केही हुँदैन .”
बुबाको जीर्ण अनुहार सम्झेँ, पूरै जिउ गलेर आयो र ओछ्यानमा डङ्ग्रङ्ग पल्टिएँ । किन जिन्दगीले यति भद्दा मजाक गरेको होला ? सोचेर विस्मित भएँ ।
भर्खरैको भोगेको हाकिमको दुर्व्यवहार अनि बुबाको जीवन र मृत्युको प्रश्नले म गहिरो स,कटमा परेँ । कल्पनाबाहिरका ती दुवै परिस्थितिको सामना गर्ने कुनै उपाय भेट्न सकेकी थिइनँ र लाचार भएर फेरि उही हाकिमलाई नै फोन गरेँ । उहाँले तत्कालै कोठामा ५० हजार रुपैयाँ पठाइदिनुभएको थियो र मैले त्यो रकम बिहानै आमाको हात पर्ने गरी घर पठाइदिएँ । यसैबीच बुबाको उपचार खर्च दिनदिनै बढ्दै गयो र मैले हाकिमसँग पैसा माग्न बाध्य हुँदै गएँ । ऋणको भार यति बढ्यो कि म आफैँ बन्धकीजस्तै भएँ ।
एक दिन साँझ उहाँ मदिराले लठ्ठिँदै मेरो कोठमा आएर भन्नुभयो, “हेर निर्मला, खर्चको कारणले केही स्टाफहरू हटाउनैपर्ने भो !”
उहाँको कुरा यति अप्रत्यासित थियो कि त्यो सुनेर म झसङ्ग भएँ । तुरुन्तै मृत्यशय्यामा रहेका बुबाको उपचार, आमालाई अक्सिजनको खर्च र भाइको लाचार अनुहार सम्झिएर आहत भएँ । मलाई मौन देखेर उहाँले फेरि सोध्नुभयो, “सुनिनौ निर्मला ?” मेरो तन्द्रा भङ्ग भयो र सम्हालिएर बोलेँ, “सुनेँ सर …तर .”
मेरो कुरा नटुङ्गिदै उहाँले भन्नुभयो, “तिमीले पटक-पटक गरेर लगेको रकम पनि दुई लाखभन्दा पनि बढी नै भइसकेछ ।” म लाचार भएर सुनिरहेँ ।
“तिमीले मेरा लागि पनि केही गऱ्यौ भने म तिमीलाई हटाउँदिन !’ बिस्तारै भूमिका बनाउँदै प्रकट हुँदै गरेका उनको निकृष्ट मनसाय मैले बुझिसकेकी थिएँ तर म जिम्मेवारीको अजङ्गको पहाडले थिचिएकी थिएँ, निःसहाय थिएँ र लाचार थिएँ । म मौन रहेँ र त्यसलाई सायद स्वीकृति समझ्यो र ऊ अचानक मेरो बेडमै आयो । अनि निमेषभरमै र म उसको वासनाको भुङ्ग्रामा खसेको पुतलीजस्तै जलेर खरानी भएँ ।
त्यसपछिका दिनहरूमा पनि उसले मौका पाउनासाथ मलाई निर्ममतापूर्वक बलात्कार गर्दै गयो र म आँसुका घुट्काहरू पिउँदै बलात्कृत भइरहेँ । म शारीरिक र मानसिक रूपले पनि ज्यादै कमजोर भइसकेकी थिएँ र एक्लै बस्दा पनि डराउँथेँ । म हेर्दाहेर्दै उसको रखेलजस्तै भइसकेकी थिएँ । धेरैपटक आत्महत्या गर्न पासो पनि लगाएँ तर बुबाआमालाई सम्झेर फिर्ता भएँ । दुःखको कुरा, मेरो त्यत्रो त्याग र प्रार्थनाका बाबजुद पनि बुबालाई बचाउन सकिएन र त्यसपछि ममा झन् धेरै विक्षिप्तता बढ्दै गयो । आफैँले आफैँलाई हेरेँ । आफैँलाई आश्चर्य लाग्यो, विचित्र लाग्यो, घृणा पनि लाग्यो र मायाँ पनि लाग्यो ।
मन सधैँ उदास रहन्थ्यो । शरीर जहिले पनि थकित । बाँच्ने इच्छा पटक्कै हुँदैनथ्यो । बुबाको मृत्युपछि पनि अन्य पारिवारिक जिम्मेवारी र ऋणको बोझले गर्दा जागिर छोड्न सकिनँ, मरेतुल्य भएर झुन्डिरहेँ । अत्यन्त कष्टकर ढङ्गले दिनहरू बित्दै थिए । यसैबीच एक दिन सहकर्मी नरेशले सोध्यो, “निर्मलाजी के भएको छ तपाईँलाई ? अनुहार पनि मलिनो छ । राम्ररी बोल्दा पनि बोल्नु हुन्न ? केही समस्या भए भन्नुस् है ! म पनि तपाईँको साथी नै हुँ !”
मेरा प्रताडित भावनाहरू त्यति सहानुभूतिका त्यति शब्दहरूमै छचल्किए तर यति बेलासम्ममा मलाई सबै लोग्ने मान्छेहरू मेरा हाकिमजस्तै निकृष्ट लाग्न थालिसकेको थियो । त्यसैले नरेशप्रति पनि उदासीन रहेँ । उसले छुट्टिने बेलामा भन्यो, “निर्मलाजी आफूलाई एक्लो नठान्नू है !”
उसका ती शब्दहरू साँच्चिकै सद्भावका थिए कि कुनै अर्को घृणित स्वार्थका पासाहरू थिए, बाटाभरि सोच्दै कोठामा पुगेँ ।
भोलिपल्ट बेलुकी अफिसपछि मलाई नरेशले टुँडिखेलतिर घुम्न जाने आग्रह गऱ्यो । केही समयदेखि नरेश म मसँग नजिकिन खोजेजस्तो लागिरहेको थियो । खोइ मप्रति कुन भावना थियो उसको ? सहानुभूति, आकर्षण वा प्रेम ! मैले छुट्याउन सकेकी थिइनँ । तैपनि त्यति बेला मैले उसको अनुरोधलाई टार्न सकिनँ र हामी टुँडिखेलतिर लाग्यौँ । हिँड्दै गर्दा उसले सोध्यो, “निर्मलाजी, कस्तो रमाइलो ठाउँ छ है यो ?”
ठाउँ रमाइलो हुन पनि मन रमाइलो हुनुपर्छ होइन र नरेशजी ? भनेर सोधूँ जस्तो लागेको थियो तर सोधिनँ । यत्तिकैमा अकस्मात् एउटा हावाको तीव्र झोक्का आयो र बाटाको धुलो उडाएर आँखाभरि पऱ्यो र दृष्टि धमिलो भयो । हामी दुवै आँखा मिच्दै अगाडि बढ्यौँ ।
एक छिन मौन भएर टुँडिखेलको चौरमा बस्यौँ । मैले सोचेको थिएँ, नरेशले केही बोल्ला तर ऊ बोलेन । सायद उपयुक्त शब्द खोज्दै थियो होला ऊ । त्यसपछि मैले नै त्यो मौनता तोड्दै परको डाँडा देखाएर भने, “हेर्नुस् त नरेशजी, दुई हप्ता जति अघिसम्म लालिगुराँस फुलेर त्यो पूरै डाँडा कति मनमोहक देखिन्थ्यो । अहिले त सबै झरेछन् ! कस्तो उजाड देखिएको है ?”
प्रतिक्रियामा उसको फिक्का हाँसो मात्र थियो । केही बेरका औपचारिक कुराकानीपछि हामी त्यहाँबाट छुट्टिएका थियौँ ।
आज धेरै दिनसम्म लागेको बादल भर्खरै हटेको थियो र घामको न्यानो स्पर्शले आनन्दानुभूति हुँदै थियो । शरीरमा पनि आज केही स्फूर्ति पनि आएजस्तो लागेको थियो तर मेरो त्यो सुखदानुभूति कोठाभित्र पस्नासाथै गायब भयो । कोठामा हाकिम मदिराले लठ्ठ भएर बसिरहेको थियो । म उसका अगाडि हुच्चिलको छाया परेको बिरालोजस्तै भएँ । उसले आज पनि मलाई निर्मम ढङ्गले बलात्कार गऱ्यो, म शिथिल भएँ । जाने बेलामा उसले भन्यो, “म सरुवा भएर भोलि नै जाँदै छु तर म जहाँ गए पनि तिम्रो र मेरो हिसाबकिताब यसैगरी चलिरहन्छ ।”
ऊ सरुवा भएर जाने कुराले म किञ्चित् खुसी त भएँ तर फेरि हाम्रो हिसाबकिताब चलिरहन्छ भन्ने उसका शब्दले मलाई झनै बढी मर्माहत बनायो ।
नभन्दै ऊ सरुवा भएर त गयो तर पनि उसले पटक-पटक मलाई शोषण गर्न भने छोडेन । ऊ ७,१० दिनको अन्तरमा मलाई टेलिफोन गर्दथ्यो । विभिन्न ठाउँमा बोलाउँथ्यो । कारणवश, पुग्न सकिनँ भने जागिर खुस्काइदिन्छु भन्थ्यो । सापटी दिएको रकम फिर्ता ले भन्थ्यो र सामाजिक बेइज्जत गरिदिन्छु पनि भन्थ्यो । म बाध्य भएर विभिन्न बहानामा उसले भनेको ठाउँमा पुगिरहेँ र आफ्नो तमासा आफैँले हेरिरहेँ । यो अन्त्यहीन प्रताडनाको सीमा खोज्थेँ तर कतै भेटिँदैनथ्यो । रातभरि निद्रा लाग्दैनथ्यो । त्यसैले धेरैजसो आधारातमा उठेर बाहिर बगैँचामा जान्थेँ । हरेक मध्यरातमा झर्ने ती पारिजातका फूलहरूसँग निकै बेर बहकिन्थेँ ।
नरेशसँग कुराकानी हुन थालेदेखि मेरो शून्यपनमा अलि कमी आएको थियो । हाम्रो कुराकानी र भेटघाट बाक्लिँदै गयो । ऊ हरेक दिन मलाई अफिसमा खोज्ने र मेरो हरेक कुरामा चासो राख्ने गर्न थाल्यो । समयले हामी बीचमा सामीप्य पनि बढाउँदै लग्यो । उसको प्रेमका भावहरू व्यक्त वा अव्यक्त रूपमा प्रकट हुन थाले तर अफसोस, मैले आफूलाई उसको प्रेमको उचाइभन्दा धेरै तल पाउँथेँ । त्यसैले म सधैँ उसको त्यो प्रेमिल भावनाप्रति उदासीन रहेँ । उसले मेरो त्यो उदासीनतासँग कहिले पनि हार मानेन ।
त्यसपछि मलाई खण्डहर भैसकेको मेरो जीवनमा बिस्तारै एउटा सृजनाको बीज उम्रिन खोजेको अनुभूति भयो ।
चैत्र महिनाको उखरमाउलो गर्मी थियो । हामी गर्मी छल्न अलिपर डाँडामा गएर वरको रूखको छहारीमा गफ गर्दै बसेका थियौँ । डाँडाभरि नयाँ पालुवा चढ्दै गरेको हरिया रूखका पातहरू हावाको झोक्कासँगै झुलिरहेका थिए । ती पालुवाहरूलाई छोएर आएका शीतल बतासले हामीलाई पनि स्पर्श गर्थे । घरिघरि मलाई नरेश एकहोरो हेरिरहन्थ्यो र म पटक-पटक ती आँखामा प्रेमको कलिला पालुवाहरू देख्थेँ तर मेरो बिटुलिएको भावनामा तिनलाई स्पर्श गर्ने हिम्मत हुँदैनथ्यो ।
हामी त्यही शीतल छहारीमा बसेर भावनामा डुबुल्की मार्दै थियौँ । त्यति बेला मेरो मोबाइलमा म्यासेजको घण्टी बज्यो । मैले हत्तपत्त मोबाइल उठाएर हेरेँ, म्यासेज हाकिमकै थियो । त्यसमा लेखिएको थियो, “अस्तिको जस्तै यो शनिबार पनि सँगै रात बस्ने गरी काठमाडौँ आएर फोन गर्नू ।”
म्यासेजको साथमा मेरो एउटा आपत्तिजनक फोटो पनि थियो । म्यासेज हेर्दाहेर्दै म हताश भएँ । यसैबीच नरेशले त्यो म्यासेज हेऱ्यो । त्यसपछि उसको शान्त र शालीन मुहार एकाएक रातो भयो र विस्मित भावले भन्यो, “मैले यतिसम्म सोचेको थिइनँ निर्मला ।” त्यसपछि ऊ जुरुक्क उठेर हिँड्यो ।
मैले फेरि एकपटक संवेदनाहीन भएर चुपचाप आफ्नै जिन्दगीको अर्को एउटा तमासा हेरेँ ।
त्यस दिनको भेटले मेरो जलिरहेको मनमा झन् घिउ थपेजस्तो भयो र म भित्रदेखि जलेर खरानी भएँ । कोठामा आएर धोको पुग्ने गरी रोएँ । केही बेरपछि आमालाई फोन गरेँ तर फोन भाइले रिसिभ गऱ्यो । मैले केही भन्न नपाई उसले आक्रोशित आवाजमा सोध्यो, “तँलाई फोन गर्न लाज लागेन ? किन फोन गरेकी ?”
म आश्चर्यमा परेँ, सोधे, “के गरेँ र मैले ? किन त्यसो भनेको बाबु ?”
ऊ अझै चर्कियो, “अझ तँलाई लाज छैन ? हाकिमकी रखेल ? सात गाउँमा कतै मुख देखाउन नहुने पारिस् । तँ मरिस् हाम्रा लागि । अब कहिले आउँदा पनि नआउनू र फोन पनि नगर्नू !”
मेरो दुखेको मन झन् टुक्रा-टुक्रा भयो । उभिएको जमिन भासिएझैँ भयो । शरीरमा कम्पन छुट्यो र भित्रदेखि नै चकनाचुर भएको महसुस भयो ।
धेरै बेरसम्म दुःखी भएँ । मनमा अनेकन् प्रश्नहरू उठिरहे, मलाई चरित्रहीन देख्ने मेरो भाइका आँखाले मेरो त्याग, तपस्या र बलिदानहरू किन देखेन ? तिनका लागि मेरो आत्मा पटकपटक कङ्कला शब्दले रोएको आवाज किन कहिल्यै सुनेन ? उसले किन भोक देखेन ? रोग देखेन ? शोषण देखेन ? किन केवल मलाई चरित्रहीन देख्यो ? किन तिनीहरूकै लागि पलपल वरण गर्दै आएको मृत्यु देखेन ?
मलाई लाग्यो, अरू धेरै भाइहरूले पनि चरम उत्पीडन र यौनशोषण सहेर जीवन र मृत्यको दोसाँधमा बाँचिरहेका आफ्ना अनगिन्ती लाचार दिदीबहिनीहरूका विवश आँसु देखका छैनन् । चेलीहरूलाई परिबन्धमा पारेर अस्मिता लुट्ने समाजका शक्तिशाली बलात्कारीहरू देखेका छैनन् । उनीहरूलाई टुक्रा-टुक्रा पार्ने अधिकारधारी अनगिन्ती जल्लाद देखेका छैनन् ।
धेरै बेरसम्म मेरा भावनाहरू आक्रोसित भइरहे । सृष्टि बदल्न दृष्टि बदलिनुपर्छ । हो, मैजस्तो चुपचाप आँसु पिएर अन्याय सहिरहने हो भने अरू धेरै दिदीबहिनीहरू चरित्रहीन र रखेल बन्दै जानेछन्, तड्पिरहनेछन् र आत्महत्या गर्ने छन् । हो, अब दृष्टि बदल्नुपर्छ र अन्यायीलाई कानुनको पन्जामा ल्याउनुपर्छ अनि मात्र अधिकारधारी बलात्कारीले शिर उठाउन सक्ने छैनन्, जल्लादहरू पनि जन्मिने छैनन् । त्यसपछि कोही पनि मजस्तै अर्थहीन, मूल्यहीन, तिरस्कृत भएर बाँच्नुपर्ने छैन ।
मन केही शान्त भयो । कोठाबाट बाहिर हेरेँ, रातो भएर सूर्य क्षितिजबाट झर्दै थियो । आकाशमा पहेँलिएका बादलका टुक्राहरू रङमङिँदै थिए । ती आकृतिमा मैले कतै मरिसकेका मेरो जीर्ण बाबुको अनुहार देखेँ, कतै मेरी आमाका आँसुका धाराहरू देखेँ, कतै मेरो भाइको मायालु अनुहार देखेँ ।
ती अमूर्त बादलहरूमा कहिले जल्लादजस्ता आकृतिहरू पनि देखिन्थे । कतै प्रेमको सपना देखाउन खोज्ने नरेशजस्ता पनि लाग्थे । म ती सबैसँग जोडिएका मेरो जीवनका अलग-अलग अनुभूतिहरूमा असरल्ल भएर फिँजिएको थिएँ ।
कति विशृङ्खल जीवनका ती अनुभूतिहरू ! सप्तरङ्गी मृगतृष्णाजस्तै, बहकिएर उर्लिन खोज्ने सागरको लहरजस्तै, किनारामै थुप्रिएको बालुवाजस्तै …पीडाको आँसुले लेखिएको खण्डकाव्यजस्तै… घडी हेरेँ । रातको १२ बजेको रहेछ । लामो सुस्केरा लिएँ । ओहो आज त पाँच दिन पो भइसकेछ, नरेश हिँडेको पनि ! वेदनाका लहरहरू उर्लिरहे र म परित्यक्त भावमा उस्तै विक्षप्त रात अँगालेर ओछ्यानमा डङ्ग्रङ्ग पल्टिएँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।