ओशोको आत्मकथाः स्वर्णिम बालापन
तेस्रो सत्र: हजुरबुवाको देहावशान
पटक पटक बिहानीको चमत्कार… सूर्य र वृक्ष । संसार हिउँको फूलजस्तै छः यसलाई तिमीले आफ्नो हातमा लिनु र यो पग्लन्छ– केही पनि बाँकी रहँदैन । मात्र हातको चिस्यान बाँकी रहन्छ । तर तिमीले हेर, हेरि मात्र रहू, त्यो बेला हिउँको फूल त्यति नै सुन्दर देखिन्छ, जति संसारका अरु फूल हुन्छन् । अनि, यो चमत्कार हरेक बिहानी हुन्छ, हरेक दिउँसो र हरेक रात, चौबीसै घण्टा, दिनरात नै भइरहन्छ… चमत्कार ! तर मानिस परमात्मालाई पूजा गर्न मन्दिर, मस्जिद र चर्चमा जान्छन् । यो संसार मूर्खहरुले भरिएको हुनुपर्छ– माफ गर, मूर्खले होइन बरु मूढहरूले– असाध्य, अति मन्दबुद्धि मानिसहरूले भरिएको हुनुपर्छ यो संसार ।
परमात्मा खोज्नका लागि मन्दिर जान जरुरी छ ? परमात्मा अहिल्यै र यहीँ छैन र ?
खोजीको विचार नै मूढतापूर्ण छ । खोजी त त्यसको गरिन्छ, जाे धेरै टाढा होस् । परमात्मा त यति नजिक छन् कि तिम्रो हृदयको ढुकढुकीभन्दा बढी नजिक छन् । जब म हरेक क्षण चमत्कार देख्छु, मलाई आश्चर्य हुन्छ, यस्तो चमत्कार कसरी सम्भव भएको होला ? यति सिर्जनात्मकता ! यो त्यतिबेला मात्र सम्भव हुन्छ, जब यहाँ कोही स्रष्टा हुँदैन । स्रष्टा भएको भए सबै सोमबार एउटैजस्तो हुन्थ्यो किनभने स्रष्टाले संसारलाई छ दिनमा बनायो र कुरा सक्कियो ।
कुनै स्रष्टा छैन, मात्र सिर्जनाको ऊर्जा छ । लाखौँ रुपहरूमा त्यो ऊर्जा प्रकट हुन्छ, पग्लन्छ, मिसिन्छ, प्रकट हुन्छ, अदृश्य हुन्छ, एकत्रित हुन्छ र फेरि छरपष्ट हुन्छ ।
त्यसैले त म पुरोहितहरू सत्यबाट धेरै टाढा छन् र कविहरु धेरै नजिक छन् भन्छु । निश्चित रुपमा नै कविहरूले पनि उनलाई पाएका छैनन् । केवल रहस्यदर्शीले नै तिनलाई ‘उपलब्ध’ गराउँछन्… उपलब्ध शब्द ठीक भएन, ऊ नै त्यही बन्न पुग्छ अथवा यसो भनूँ, उसलाई त्यो सदासर्वदा त्यही हो भन्ने थाहा हुन पुग्छ ।
मलाई सोध्छन्, ‘तपाईं ज्योतिषमा धर्ममा… यसमा, त्यसमा विशवास गर्नुहुन्छ ?’
म त केही कुरामा पनि विश्वास गर्दिनँ किनभने मलाई त्यो कुरा थाहा छ । यसो भन्दै गर्दा मलाई एउटा कथा स्मरण भयो, त्यही कथा जाे मैले तिमीहरूलाई सुनाइरहेको थिएँ…
त्यो बूढो ज्योतिषी आयो । आएको देखेर मेरा हजुरबा छक्क पर्नुभयो, विश्वासै गर्नुसक्नुभएन । त्यो ज्योतिषी यति प्रसिद्ध थियो कि ऊ कुनै राजाको महलमा गएको भए, राजा पनि आश्चर्यचकित हुन्थ्यो । ऊ मेरो बूढा हजुरबाकहाँ आयो । त्यसलाई घरै भन्नुपर्छ तर त्यहाँ खास धेरै कुरा थिएन। माटोका भित्ताले बनाइएको घर थियो, त्यसमा बेग्लै पाइखाना पनि थिएन । त, ऊ हाम्रो घर आयो र म तुरुन्तै त्यो बूढो मानिसको साथी बनेँ । उसको आँखामा हेर्दैगर्दा– हुन त म सात वर्षको मात्र थिएँ र एक शब्द पनि पढ्न सक्तिन थिएँ, उसको आँखा पढ्न सकेँ । त्यसका लागि कुनै लेखपढ गर्नु जरुरी छैन– मैले ती ज्योतिषीलाई भनेँ, ‘अनौठो भयो, तपाईं यति टाढा मेरो जन्मकुण्डली बनाउन पो आउनुभयो त !’
त्यो बेला र आज पनि, वाराणसीबाट त्यो सानो गाउँ धेरै टाढा छ । ती बूढा ज्योतिषीले भने, ‘मैले वचन दिएको थिएँ र वचन त पूरा गर्नैपर्छ नि !’
जसरी उनले ‘वचन दिएको थिएँ र त्यसलाई पूरा गर्नुपर्छ’ भने, ती शब्दले मलाई रोमाञ्चित तुल्यायो । मलाई लाग्यो– अँ, यो मानिस चैँ ज्यूँदो रहेछ ।
मैले उनलाई भनेँ, ‘तपाईं आफ्नो वचन पूरा गर्न आउनु भएको भए म तपाईंका बारेमा भविष्यवाणी गरिदिन्छु ।’
उनले भने, ‘तिमीले मेरो भविष्य बताउन सक्छौ र ?’
मैले भनेँ, ‘सक्छु नि, तपाईं पक्कै पनि बुद्ध त बन्न सक्नुहुन्न तर भिक्षु वा संन्यासी चाहिँ अवश्य बन्न सक्नुहुन्छ ।
उनी हाँसे, केहीबेरपछि भने, ‘यो त असम्भव छ ।’
मैले उक्साएँ, ‘तपाईं बाजी ठोक्नुहुन्छ त ?’
उनले भने, ‘ल ठीक छ, कतिको बाजी ठोक्ने ?’
मैले भनेँ, ‘कतिले केही फरक पर्दैन । तपाईले जतिको बाजी ठोक्न चाहनुहुन्छ, त्यतिको ठोक्नुस् किनभने मैले जितेँ भने जितिहालेँ, तर मैले हारेँ भने केही पनि हार्दिनँ किनभने मसँग केही पनि छैन । तपाईं सात वर्षको बच्चोसँग बाजीको कुरा गरिरहनु भएको छ । मसँग केही छैन भन्ने तपाईंले देखिरहनु भएको छैन ?’
तिमीलाई आश्चर्य लाग्ला, म त्यहाँ नाङ्गो थिएँ । त्यो गरिब गाउँमा यो वर्जित कुरा थिएन– कम्तीमा सात वर्षको बच्चाका लागि नाङ्गै यताउति दौडिनु वर्जित कुरा थिएन । त्यो कुनै बेलायती गाउँ थिएन !
म अहिले पनि आफूलाई त्यहाँ त्यस ज्योतिषीका सामु नाङ्गै उभिएको देख्न सक्छु । सारा गाउँ भेला भएको थियो र सारा मानिसले हामी दुई जनाबीचको कुरा सुनिरहेका थिए । बूढा ज्योतिषीले भने, ‘ठीक छ । म संन्यासी बनेँ, भिक्षु बनेँ भने…,’ त्यसपछि उनले आफ्नो हिरा जडित सुनको पकेट घडी देखाउँदै भने, ‘म तिमीलाई यो दिन्छु र तिमीले हार्यौ भने के गर्छौ नि ?’
मैले भनेँ, ‘हारेँ भने बस् हारेँ । मसँग त केही पनि छैन । तपाईंलाई दिन कुनै घडी छैन । म तपाईंलाई धन्यवाद मात्र दिनेछु ।’
ऊ हाँस्यो र हिँड्यो ।
म ज्योतिषमा विश्वास गर्दिन थिएँ । यो ९९.९ प्रतिशत बकवास कुरा हो तर ०.१ प्रतिशत चाहिँ बिल्कुल सत्य । कुनै पनि आन्तरिक पवित्रता र अन्तरदृष्टि भएको मानिसले भविष्य देख्न सक्छ किनभने भविष्य अस्तित्वविहीन हुँदैन । त्यो त हाम्रो आँखामा लुकेको हुन्छ । शायद केवल विचारको मसिनो पर्दा हुँदो हो, जसले वर्तमान र भविष्यलाई छुट्याइदिँदो हो ।
भारतमा दुलहीको घुम्टोले आफ्नो अुनहार छोपेकी हुन्छे । उसले आफ्नो साडी अनुहारतिर तान्छे र छोप्छे । मात्र एउटा घुम्टो, एउटा झिनो पर्दाले हाम्रो भविष्य हामीबाट लुकेको हुन्छ ।
म ज्योतिषीमा विश्वास गर्दिन थिएँ, मेरो भनाइको अर्थ हो ९९.९ प्रतिशतमा विश्वास गर्दिनँ । बाँकी ०.१ प्रतिशत मैले विश्वास गर्नै पर्दैन । त्यति त यो सत्य हो । मैले यसको प्रामाणिकता देखेको छु । ती बूढा ज्योतिषी पहिलो प्रमाण थिए । तर आश्चर्य, उनले मेरो भविष्य देख्न सके, भलै त्यो धमिलो थियो, अस्पष्ट थियो, अनेक सम्भावनाका साथ थियो तर उसले आफ्नो भविष्य चाहिँ देख्न सकेका थिएनन् । यति मात्र होइन, जब मैले उनलाई भिक्षु बन्नेछन् भनेको थिएँ, उनी मसँग बाजी ठोक्न तयार भएका थिए ।
चौध वर्षको उमेरमा म आफ्नो हजुरबाका साथमा वाराणसी नजिकै घुम्दै थिएँ । केही कामले उहाँ जाँदै हुनुहुन्थ्यो, म पनि उहाँसँग त्यहाँ जान जिद्दी गरिरहेको थिएँ । वाराणसी र सारनाथको बीचमा एउटा सडकमा हिँडिरहेका वृद्ध भिक्षुलाई मैले रोकेँ र भनेँ, ‘मलाई चिन्नुभयो ?’
वृद्ध भिक्षुले भने, ‘मैले तिमीलाई कहिल्यै देखेको छैन त कसरी चिन्नु ?’
मैले भनेँ, ‘तपाईंलाई मेरो सम्झना छैन तर मलाई त छ । त्यो हिरा जडित सुनको घडी कहाँ छ ? म त्यही बालक हुँ, जसले तपाईंसँग बाजी टिकेको थियो । तपाईंलाई सोधूँ र सोध्नका लागि यो उपयुक्त समय हो । मैले तपाईं भिक्षु हुनुहुनेछ भनी भविष्यवाणी गरेको थिएँ र तपाईं त्यो हुनुभयो । अब मलाई तपाईंको घडी दिनुहोस् ।’
ती वृद्ध हाँसे र आफ्नो खल्तीबाट त्यो सुन्दर घडी निकाले अनि मेरो हातमा राखिदिए । त्यो बेला उनको आँखामा आँशु थियो । तिमीहरूलाई विश्वास नलाग्ला, उनले मेरो गोडामा ढोगे । मैले भनेँ, ‘नाइँ नाइँ, तपाईं भिक्षु हो, संन्यासी हो । तपाईंले मेरो गोडा ढोग्नु हुन्न ।’
उनले भने, ‘तिमी मभन्दा ठूलो ज्योतिषी सिद्ध भयौ । मलाई गोडा ढोग्न देऊ ।’
मैले त्यो घडी मेरो पहिलो संन्यासिनीलाई दिएँ । मेरो पहिलो संन्यासिनीको नाम मा आनन्द मधु हो । प्रथम संन्यासिनी एउटी स्त्री ? हो, एउटी स्त्री किनभने म त्यही चाहन्थेँ । जसरी मैले स्त्रीहरूलाई संन्यास दिएँ, कसैले पनि कहिल्यै दिएका थिएनन् । यति मात्र होइन, म आफ्नो पहिलो संन्यास दीक्षा सन्तुलनका लागि कुनै स्त्रीलाई नै दिन चाहन्थेँ ।
स्त्रीलाई संन्यास दिने कुरामा बुद्धसमेत हिच्किचाए… बुद्ध पनि ! उनको जीवनको यही एउटा कुरा मलाई काँडाले घोचेजस्तो दुखाइरहन्थ्यो, अरु केही कुराले मलाई दुखाएन । बुद्धले पनि अप्ठेरो माने… किन ? किनभने स्त्री संन्यासिनीहरूले उनका भिक्षुलाई डामाडोल पारिदेलान् भन्ने उनलाई डर थियो । कति वाहियात कुरा ! बुद्ध र डर ! यदि ती मूर्ख भिक्षुहरुको ध्यान भङ्ग हुन्थ्यो त होस् न ! हुन दिएको भए हुन्थ्यो ।
महावीरले भने, ‘स्त्रीको शरीरबाट कसैले पनि निर्वाण, परम मुक्ति पाउन सक्तैनन् । मलाई ती सबै पुरुषहरूका लागि प्रायश्चित गर्नु थियो । मोहम्मदले कहिल्यै कुनै स्त्रीलाई मस्जिदमा छिर्ने अनुमति दिएनन् । अहिले पनि स्त्रीहरूलाई मस्जिद छिर्ने स्वीकृति दिइँदैन । सिनागग (यहुदीहरुको प्रार्थना गृह) मा पनि स्त्रीहरू ग्यालरीमा बेग्लै बस्छन्, पुरुषका साथमा बस्दैनन् ।
इन्दिरा गान्धीले एक पटक मलाई भनेकी थिइन्, इजरायलको भ्रमणका बेला उनी जेरुसलेम गइन् । इजरायलका प्रधानमन्त्री र उनी दुई जना बाल्कोनीमा बसेका थिए र अन्य सारा पुरुष तल मुख्य हलमा बसेका थिए । उनी स्त्री भएका कारण सिनागागमा छिर्न पाइनन् । उनले माथि बाल्कोनीबाट मात्र हेर्न सक्थिन् ।
यो आदरपूर्ण होइन, अपमानजनक कुरा हो ।
मलाई मोहम्मद, मोजेस, महावीर, बुद्धका त्यस्ता कृत्यप्रति माफी माग्नु छ । र, जिससका लागि पनि किनभने उनले आफ्ना खास बाह्र जना शिष्यहरूमध्ये एक जना पनि स्त्रीलाई शिष्याका रुपमा चुनेनन् । र, जब उनलाई सूलीमा चढाइयो, त्यो बेला उनका बाह्र मूर्ख शिष्य त्यहाँ थिएनन् । मात्र तीन जना स्त्रीहरू उनी नजिक थिए, मेग्डलिन, मेरी र मेग्डलिनकी बहिनी । तर यी तीन स्त्रीलाई पनि जिससले छानेका थिएनन्, उनीहरू खास चुनिएका शिष्यमध्येका थिएनन् । चुनिएका खास शिष्य त भागे । उनीहरू आफ्नो ज्यान जोगाउने प्रयासमा थिए । जिससको जीवनको खतराका बेलामा नजिक हुने तीन जना स्त्री मात्र थिए ।
ती सबैका लागि मैले भविष्यसँग क्षमा माग्नु छ र मेरो पहिलो माफी मगाई नै कुनै स्त्रीलाई संन्यास दिनु थियो । त्यो पूरा कथा थाहा पाउँदा तिमीहरू पनि खुसी नै होऔला ।
आनन्द मधुका पति सबैभन्दा पहिलो दीक्षा आफूलाई दिइयोस् भन्ने चाहन्थे । यो दीक्षा हिमालयमा भएको थियो । म मनालीमा ध्यान शिविरमा थिएँ । मैले मधुका पतिलाई भनेँ, ‘तिमी द्वितीय संन्यासी हुन सकौला, प्रथम त हुन सक्तैनौ ।’ उनी यति रिसाए कि त्यसै क्षण शिविरबाट निस्किए । त्यति मात्र होइन, उनी मेरो दुस्मनै भए र मोरारजी देसाईको चेला भए ।
पछि जब मोरारजी देसाई प्रधानमन्त्री भए, ती मानिसले मलाई जेल हाल्नु पर्यो भनेर देसाईलाई मनाउन सक्दो प्रयास गरे । तर मोरारजी देसाईमा त्यति साहस थिएन । आफ्नो पिसाब पिउने व्यक्तिमा त्यति साहस हुन पनि सक्दैनथ्यो । ऊ त महामूर्ख नै हो– फेरि पनि माफ गर– महामूढ हो । मूर्ख शब्द त मैले देवगीतका लागि छुट्याएर राखेको छु, त्यो शब्दमाथि उसको विशेषाधिकार छ ।
आनन्द मधु अहिले पनि संन्यासिनी छे । ऊ हिमालयमा बस्छे, मौन, चुपचाप । त्यो बेलादेखि सधैँ स्त्रीहरूलाई जति बढी सकिन्छ, उति अगाडि बढाउने मेरो प्रयास छ । शायद कहिलेकाहीँ म पुरुषहरूका प्रति अन्यायी पनि देखिऊँला । म त्यस्तो छैन, म त बिग्रेका कुरालाई सपार्दैछु । सदियौँदेखि पुरुषहरूले स्त्रीहरूमाथि जुन शोषण गरेका छन्, त्यो देख्दा यो त्यति सजिलो काम भने छैन ।
मैले बहुतै मन पराएकी महिला मेरी सासू थिइन् । तिमीहरुलाई आश्चर्य होला, म विवाहित छु र ? छैन नि ! ती स्त्री गुडियाकी आमा थिइन्, तर म ठट्टामा उनलाई मेरी सासू भन्ने गर्थें । यत्तिका वर्षपछि मैले उनलाई फेरि सम्झिएँ । म उनलाई सासू भन्थेँ किनभने म उनकी छोरीसँग प्रेम गर्थें । त्यो गुडियाको पूर्वजन्म थियो, अघिल्लो जीवन थियो । ती स्त्री पनि मेरी हजुरआमाजस्तै अद्भुत शक्तिशाली थिइन् ।
मेरी सासू असाधारण महिला थिइन्, खासगरी भारतजस्तो देशको सन्दर्भमा । उनले आफ्ना पतिलाई छाडिदिइन् र पाकिस्तान गइन् । स्वयं व्राह्मण भए पनि एक जना मुस्लिमसँग विवाह गरिन् । त्यो उनको साहस थियो, उनको हिम्मत थियो । मलाई साहसको गुण सधैँ मनपर्छ किनभने तिमी जति बढी साहस गर्छौ, उति नै तिमी ‘घर’ नजिक पुग्छौ । याद राख, दुस्साहसी मानिस नै बुद्धपुरुष बन्छन् । हिसाब–किताब गर्ने मानिसले पैसा जम्मा गर्छन् तर उनीहरू बुद्धपुरुष बन्दैनन् ।
म ती वृद्धप्रति आभारी छु, जसले मेरा बारेमा सात वर्षकै उमेरमा भविष्यावाणी गरेका थिए । कति अद्भुत व्यक्ति थिए ! मेरो जन्मकुण्डली बनाउनैका लागि भनेर ऊ सात वर्ष पुगुञ्जेल प्रतीक्षा गरे– कति धैर्य ! यति मात्र होइन, उनी वाराणसीबाट त्यति टाढाको गाउँ पुगे । न सडक थियो, न रेलगाडी । मेरा लागि भनेर उनले घोडाको सवारी गर्दै त्यति लामो यात्रा तय गर्नुपर्यो ।
र, जब मैले उनलाई सारनाथ जाने बाटोमा भेटेँ, उनलाई जब मैले शर्त जितेको कुरा सुनाएँ, उनले तुरुन्त आफ्नो घडी मलाई दिए र भने, ‘म तिमीलाई सारा संसारै दिन्थेँ तर मसँग केही पनि छैन । खासमा भन्ने हो भने यो घडी पनि मसँग नहुनुपर्ने थियो तर तिम्रा कारण मैले यसलाई यत्तिका वर्षसम्म राखेँ किनभने मलाई थाहा थियो, एक न एक दिन तिमी अवश्य आउनेछौ । र, जब म भिक्षु बनेँ, मेरो चित्तमा बुद्ध थिएनन्, तिमी थियौ– एउटा सात वर्षे नाङ्गो बच्चो ! देशको सबैभन्दा ठूलो ज्योतिषीको भविष्य बताउने बच्चो ! तिमीले यो कसरी गर्यौ ?’
मैले भनेँ, ‘त्यो त मलाई थाहा छैन । मैले तपाईंको आँखामा हेरेँ र मैले त्यसमा देख्न सकेँ– संसारको कुनै पनि कुराले तपाईंलाई सन्तुष्ट बनाउन सक्दैन । मैले एउटा दिव्य असन्तोष देखेँ त्यहाँ । जब मानिसमा दिव्य असन्तोष हुन्छ, त्यतिबेला मात्र ऊ संन्यासी बन्छ ।’
मलाई थाहा थिएन, ती बूढा मानिस अझै जीवित होलान् । उनी जीवित हुनै सक्तैनथे, नत्र त उनले मेरो खोजी गर्थे होलान् र मलाई जसरी पनि भेट्थे होलान् ।
तर गाउँको जीवनमा त्यो क्षण अविष्मरणीय थियो । अहिले पनि मानिसहरू त्यो भोजको कुरा गर्छन् । केही समयअघि गाउँबाट एक जना मानिस आएको थियो । उसले भन्यो, ‘हामी अझै पनि गाउँको त्यो भोजको कुरा गर्छौं । तिम्रा हजुरबाले गाउँभरिका मानिसलाई दिएको त्यो भोजको कुरा गर्छौं । त्यस्तो न त पहिले कहिल्यै भएको थियो, न त पछि कहिल्यै भयो ।’
त्यतिका सारा मानिसहरू खुसी भएको देखेर म पनि ज्यादै खुसी थिएँ । मलाई त्यो सेतो घोडा साह्रै मन पर्यो । गुडियालाई पनि त्यो घोडा मन पर्यो । सडकमा जब घोडा हिँडिरहेको हुन्थे, उसले मलाई देखाउँथी र भन्थी, ‘हेर त, कति सुन्दर घोडा !’
मैले धेरै घोडा देखेको छु तर त्यो बूढो ज्योतिषीसँग भएको घोडाजस्तो देखेको थिइनँ । मैले सुन्दरभन्दा सुन्दर घोडा देखेको छु तर अहिले पनि म उसको घोडालाई सबैभन्दा सुन्दर घोडाका रुपमा सम्झन्छु । शायद यसको कारण मेरो बालापन नै थियो, शायद त्यो बेला तुलनाका लागि मसँग अरु केही पनि थिएन । तर म भलै बच्चा थिएँ होला, तिमी पत्याऊ– त्यो घोडा बहुतै सुन्दर थियो । त्यो ज्यादै शक्तिशाली थियो । पक्कै आठ हर्सपावरको हुनुपर्छ !
ती कति सुनौला दिन थिए ! ती वर्षहरूमा जे भए, ती सबै म एउटा फिल्मजस्तै दोहोर्याएर हेर्न सक्छु । यसरी दोहोर्याएर हेर्न म उत्सुक भइरहेको छु, यो बडो अविश्वसनीय कुरा हो…
आशु घडी हेरिरहेकी छ…नहेर । अहिले घडी हेर्नु अलि छिटो भयो । क्यानडा ड्रायजस्तो नबन– आरामले बस । यति रुखो नबन । तिमीले आफ्नो घडी यस्तो बेलामा हेर्यौ, र तिमीले के कुरा बिगारिदियौ थाहा पनि पाइनौ । यो कुनै ‘छपाक्’ होइन ।
अँ, म के भन्दै थिएँ ? … ती दिन सुनौला थिए । ती नौ वर्षमा जे भए, म एउटा फिल्मझैँ आफ्नो सामु सबै चलिरहेको देख्न सक्छु ।
राम्रै भयो, आशु र उसको घडीको व्यवधानका बाबजुद फिल्म फर्किएर त्यहीँ आइपुग्यो ।
अँ, त्यो सुनौलो दिन थियो । खासमा भन्ने हो भने सुनौलोभन्दा पनि बढी सुन्दर । किनभने मेरा हजुरबा मसँग प्रेम मात्र गर्नुहुन्नथ्यो, बरु म जे गर्थें, तिनलाई पनि उहाँ प्रेम गर्नुहुन्थ्यो । र, मैले ती सबै काम गरेँ, जसलाई तिमीले उपद्रव भन्न सक्छौ ।
म बहुतै शैतान थिएँ । लगातार उपद्रव गरिरहन्थेँ । उहाँलाई सारा दिन मेराबारेमा गाउँलेहरूको गुनासो आइरहन्थ्यो, ती गुनासा सुनेर उहाँलाई बडो मज्जा आउँथ्यो । हजुरबाको एउटा गज्जबको विशेषता थियो । उहाँले मलाई कहिल्यै पनि केही कुराका लागि दण्ड दिनुभएन । उहाँले मलाई कहिल्यै पनि यो गर र त्यो नगर भन्नु भएन । उहाँले मलाई मजस्तै भइरहन पूरापूर छूट दिनुभएको थियो । यसरी, मलाई नथाहा नभइकन पनि मैले ताओको स्वाद पाएँ ।
लाओत्सु भन्छन्, ‘ताओ पानीको प्रवाह–मार्ग हो । पानी ओरालोतिर बग्छ । जहाँ ठाउँ पायो, त्यहीँ बगिहाल्छ ।’
ती शुरुवाती वर्ष यस्तै थिए । मलाई पूरा छूट थियो । मेरो विचारमा हरेक बालबालिकाले त्यस्तै समय पाउन जरुरी छ । संसारमा हरेक बालबालिकालाई हामी त्यस्तो समय दिन सक्यौँ भने हामीले एउटा सुनौलो संसार बनाउन सक्छौँ ।
ती दिनमा म एक क्षण पनि खाली बस्तिनथिएँ । कहिले के हुन्थ्यो, कहिले के । कहिल्यै फुर्सद हुन्थेन । यति कुरा, यति घटना, मैले ती सारा कुरा कहिल्यै कसैलाई सुनाइनँ…
म पोखरीमा नुहाउँथेँ । स्वाभावतः मेरा हजुरबालाई डर लागिरहन्थ्यो । उहाँले मेरो सुरक्षाका लागि एउटा अद्भुत मानिसलाई नाउमा तम्तयार राख्नुहुन्थ्यो । त्यो पुरानो गाउँमा तिमी सोच्न पनि सक्तैनौ कि नाउँको अर्थ के हो ? नाउलाई त त्यहाँ डोंगी भन्छन् । यो अरु केही होइन, रुखको खोक्रो वस्तु हो । यो सामान्य नाउजस्तो हुँदैन, गोलो हुन्छ । र, यसको खतरा यही हो, यसमा पोख्त नभई कसैले पनि चलाउन सक्तैन । जुनसुकै बेला पनि यो पल्टिन सक्छ । केही सानो सनतुलन बिग्रियो भने पनि तिमी डुब्यौ । त्यो ज्यादै खतरनाक हुन्छ ।
डोंगी (नाउ) खियाएर नै मैले सन्तुलन बनाउन सिकेँ । सन्तुलन बनाउनजस्तो सहयोगीक ुरा अरु केही हुन सक्तैन । मैले मध्यमार्ग सिकेँ । किनभने यसका लागि तिमी ठीक मध्यमा हुनुपर्छ । थोरै पनि यताउति भयो भने तिमी डुब्यौ । तिमीले यसका लागि श्वास पनि सन्तुलनमा लिनुपर्छ । बिलकुल चुपचाप बस्नुपर्छ । अनि मात्र तिमीले डोंगी (नाउ) खियाउन सक्छौ ।
जो व्यक्तिलाई मेरो सुरक्षाका लागि तैनाथ गरिएको थियो, उसलाई मैले अद्भुत भनेँ । किन ? किनभने उसको नाउँ भूरा थियो । यसको अर्थ, गोरो मानिस । हाम्रो गाउँमा ऊ मात्रै एउटा गोरो मानिस थियो । ऊ युरोपेली थिएन । संयोगले ऊ भारतीयजस्तो देखिदैनथ्यो । ऊ युरोपेलीजस्तो बढी देखिन्थ्यो तर युरोपेली थिएन । शायद उसकी आमा ब्रिटिस फौजको कुनै छाउतीमा काम गर्थी र ऊ त्यहीँ गर्भवती भई । त्यसैले उसको वास्तविक नाम कसैलाई थाहा थिएन । सबै उसलाई भूरा भन्थे । भूरा मतलब गोरो मानिस । यो कुनै नामै होइन तर उसको यही नाम भइदियो । ऊ राम्रो शरीरको मानिस थियो । बालापनदेखि नै मेरो हजुरबाकहाँ काम गर्न आएको थियो । ऊ नोकर भए पनि उसलाई परिवारको सदस्यजस्तै व्यवहार गरिन्थ्यो ।
मैले उसलाई अद्भुत यस कारणले पनि भनेँ, मैले यो संसारमा अनेक किसिमका मानिस देखेँ तर पनि भूराजस्तो कोही देखिनँ । यस्तो मानिस थियो ऊ, जसमाथि विश्वास र भरोसा गर्न सकिन्थ्यो । उसलाई जे पनि सुनाउन सकिन्थ्यो । त्यसलार्य उसले सधैँ गोप्य नै राख्थ्यो । यो कुरा मेरो परिवारलाई तयो बेला थाहा भयो जब मेरा हजुरबाको मृतयुभयो । मेरा हजुरबाको घरको सबै चाबी, घरका सबै काम र जमिनको रेखदे भूरालाई नै जिम्मा दिइएको थियो । हामी जब गाडरवारा पुग्यौँ, मेरो परिवारका मानिसहरुले मेरा हजुरबाका ती स्वामीभक्त नोकरसँग सोधे, ‘चाबी कहाँ छ ?’
भूराले भन्यो, मेरो मालिकले मलाईबाहेक अरु कसैलाई पनि चाबी नदिनु भन्नुभएको छ । माफ गर्नुस्, जबसम्म उहाँ स्वयंले मलाई त्यो चाबी कल्लाई दिने भन्नुहुन्न, म कसैलाई दिन सक्तिनँ ।’
र, उसले कहिल्यै कसैलाई चाबी दिएन । त्यसैले चाबी कहाँ लुकाइएको छ, हामीलाई थाहा थिएन ।
धेरै वर्षपछि जब म बम्बईमा बस्न थालेँ, भूराको छोरो मकहाँ आयो र चाबी मलार्य दियो । भन्यो, हामी तपाईं आउने प्रतीक्षा गरिरह्यौँ । प्रतीक्षा गरिरह्यौँ तर कोही आएन । हामीले जमिन र बालीलाई राम्रोसँग रेखदेख गर्यौँ । त्यसको आम्दानी बेग्लै हिसाब किताब गरेर राखेका छौँ ।
मैले ती चाबी उसलाई नै फिर्ता दिएँ र भनेँ, ‘अब ती सारा कुरा तिम्रो भयो । घर, बाली र पैसा ती सबै । मलाई पहिल्यै यी कुरा थाहा नभएकोमा दुःख लागेको छ । हामीमध्ये कोही पनि त्यहाँ गएर पुराना स्मृतिका कारण दुःखी हुन चाहँदैनौँ ।’
वाह ! क्या मानिस थियो । त्यस्ता मानिस पनि यो धर्तिमा हुने गर्थे । ती बिस्तारै बिस्तारै लुप्त हुँदै गइरहेका छन् । त्यस्ता मानिसका ठाउँमा चतुर र धूर्त मानिसले ठाउँ ओगट्न थालेका छन् । भूराजस्ता मानिस नै यो पृथ्वीको नून हुन् । म भूरालाई अद्भुत मानिस किन भन्छु भने यो चतुर संसारमा सिधासाधा मानिस पाउनु अद्भुत कुरा हो । सिधा हुनु, यो संसारको हुनु होइन, यो संसारभन्दा परको हुनु हो ।
मेरा हजुरबासँग यति जमिन थियो कि कसैले सोच्न पनि सक्तैन । किनभने त्यो बेला भारतको त्यो ठाउँमा जमिन सित्तैमा पाइन्थ्यो । तिमीले राजधानीको सरकारी कार्यालयमा गएर जमिन लिनका लागि भने मात्र पुग्थ्यो । भने जति तिमीलार्य दिइन्थ्यो । हामीसँग चौँध सय एकड जमिन थियो र त्यहाँ गरिने खेतीको रेखदेख भूराले गथ्र्यो ।
मेरा हजुरबा बिरामी हुनुभएपछि भूराले भनेको थियो, उहाँबिना म धेरै समय बाँच्न सक्तिनँ । दुवै एकअर्काका यति नजिक थिए । जब मेरा हजुरबा मरणासन्न हुनुभयो, हामीले उहाँलार्य कुचवाडाबाट गाडरवारा पुर्यायौँ, किनभने त्यो ठाउँमा कुनै उपचारको सुविधा थिएन । मेरा हजुरबाको घर नै एक मात्र घर थियो, त्यो गाउँमा ।
जब हामीले कुचवाडा छाड्यौँ, भूराले आफ्नो छोरालाई चाबी दिएको थियो । गाडरवारा जाँदाजाँदै बाटैमा मेरा हजुरबाको मृत्युभयो । यही चोटका कारण अर्को दिन बिहान भूरा निद्राबाट उठेन । उसको राति नै देहान्त भयो । मेरी हजुरआमा, मेरा आमाबुवा कुचवाडा फर्किएर दुःखी हुन चाहनुहुन्नथ्यो । हजुरबाको सम्झनाले सताउँथ्यो । मेरा हजुरबा जयादै असल मानिस हुनुहुन्थ्यो ।
भूराको छोरो लगभग मेरै उमेरको छ । केही वर्ष पहिले मेरो भाइ निकलंक र चैतन्य भारती त्यो घर र त्यो पोखरीको तस्बिर खिच्न पुगेका थिए ।
जुन घरमा म जन्मिएको थिएँ, त्यो घरका लागि अब उनीहरु दस लाख रुपैयाँ मागिरहेका छन् । शायद मेरा कुनै शिष्य किन्न इच्छुक होलान् भन्ने लाग्यो क्यार । दस लाख ! जब मेरा हजुरबाको मृत्युभयो, त्यो बेला त्यसको मोल जम्मा तीस रुपैयाँ थियो । त्यो पनि समयअनुसारको महँगै हो । त्यति पनि कसैले दिन तयार भए त हामीलाई आश्चर्य नै हुन्थ्यो । त्यो देशको बहुतै अविकसित, पिछडिएको क्षेत्र थियो । अविकसित क्षेत्र भएकाले त्यहाँ केही थियो, अचेल सबैतिर त्यो खासपना मानिसबाट हराइसकेको छ । कम से कम कहिलेकाहीँ मानिसले असभ्य, आदिम हुनुपर्ने आवश्यकता पर्छ । उसलाई जंगल, समुद्र र ताराले भरिउको आकाश चाहिन्छ ।
मनुष्यले आफ्नो बैंक ब्यालेन्सको मात्र चिन्ता गर्नु हुँदैन । त्यो त ज्यादै क्षुद्र कुरा हो । ती कुराको चिन्ताको अर्थ हो, मानिस मरिसक्यो । त्यस्तो मानिसलाई गाड र उत्सव मनाओ ! त्यसलाई जलाइदेऊ र उसको चिता वरिपरि नाच । बैंक ब्यालेन्स नै मानिस होइन । मानिस हुनका लागि मानिसले पहाड, चट्टान, नदी र फूलहरुजस्तै नैसर्गिक हुनुपर्छ ।
मेरा हजुरबाले ती कुरा बुझाउन मात्र मलाई सघाउनु भएन । सरलता के हो, जीवन के हो भनेर बुझाउनु मात्र भएन, बरु उहाँले मृत्युलाई बुझ्न पनि सघाउनुभयो । उहाँको मृत्यु मेरो काखमा भयो । त्यसका बारेमा पछि ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।