रिचर्ड रोबिन्सन जुनियर र इओल लचेस

अमेरिकी प्रकाशन समूह स्कोलास्टिकका मालिक रिचर्ड रोबिन्सन जुनियरले १.२ बिलियन डलरको कम्पनीको मालिक आफ्ना कुनै सन्तानलाई नबनाई कम्पनीकी मुख्य रणनीतिक अधिकारी (चिफ स्ट्राटेजी अफिसर) इओल लचेसलाई बनाएका छन् ।

उमेरको उत्तराद्र्धमा रोमान्समा रमाएका रिचर्डले प्रेमिका लचेसलाई सो कम्पनीको जिम्मेवारी सुम्पिएका हुन् । अमेरिकामा स्कुल तथा बालबालिकाका साहित्य प्रकाशन गर्ने स्कोलास्टिकले ह्यारी पोटर शृंखला प्रकाशन गरेपछि भने अकुत सम्पत्ति कमाएको थियो ।

रिचर्डले प्रेमिकालाई आफ्नो कम्पनी मात्र होइन, सरसम्पत्तिसमेत जिम्मा लगाउने निधो सन् २०१८ मा नै गरेको खुलासा भएपछि उनकी पूर्वपत्नी तथा दुई छोराहरु यतिखेर कानुनी उपचारमा के गर्न सकिन्छ भनी दौडधुप गरिरहेका छन् ।

सन् २०२० मा महामारीपछि आफ्ना दुई सन्तान तथा पूर्वपत्नीसँग रिचर्डले सम्बन्ध सुधारको प्रयास गरिरहेका थिए । उनको गएको जुन महिनामा ८४ वर्षको उमेरमा अचानक निधन भएको थियो ।

स्कोलास्टिकलाई रिचर्ड रोबिन्सनका बुवाले एक सय वर्षअघि स्थापना गरेका थिए । उनका बुवाले शिक्षक तथा बालबालिकाका लागि भनेर पत्रपत्रिका निकाल्थे । स्कोलास्टिकले निकालेका केही बाल उपन्यासहरु सर्वाधिक सफल मानिएका थिए । झन् उनले अमेरिकाका लागि ह्यारी पोटर शृंखला निकालेपछि त कम्पनीको सफलता अझ चुलिएको थियो ।

रिचर्डका २५ वर्षे कान्छा छोरा फिल्ममेकर पनि हुन् । उनले आफ्ना बुवाको मरणोपरान्त इच्छा परिवारका लागि अनपेक्षित र धक्का लाग्ने किसिमको भएको प्रतिक्रिया दिएका छन् । यसको सबैभन्दा सरल उपाय खोज्न आफूहरु लागिपरेको उनको टिप्पणी थियो ।

जेठा छोरा जोन ३४ वर्षका छन् । उनी काठमिल चलाउँछन् । उनले पनि बुवाको इच्छा अनपेक्षित रहेको टिप्पणी गरेका छन् । पछिल्लो समय त बुवाआमाको पारपाचुके भए पनि सम्बन्ध सुध्रदै गएको अवस्थामा यो खुलासाले आफूहरु चकित परेको प्रतिक्रिया दिएका छन् ।

सन् १९७४ मा स्कोलास्टिक कम्पनीमा भेट भएकी युवती हेलेन बेनहामसँग रिचर्ड प्रभावित मात्र भएनन्, १९८० मा विवाह समेत गरेका थिए । सन् २००३ मा भने उनीहरु छुट्टिएका थिए ।

उनको मृत्युको ठीकअघि पूर्वपत्नी तथा कान्छा छोरासँग बिदा मनाइरहेका थिए ।

पछिल्लो समय कम्पनी नै हत्याएको आरोप लागेकी लचिसले आफ्नो करियर स्कोलास्टिकको क्यानडा शाखाबाट शुरु गरेकी थिइन् । सन् १९९१ मा कम्पनीमा सहसम्पादकका रुपमा छिरेलगत्तै उनको चाँडोचाँडो प्रगति भएको थियो । सन् २०१४ मा उनी मुख्य रणनीतिक अधिकारीका रुपमा बढुवा भएसँगै न्युयोर्क मुख्य कार्यालयमा पुगेकी थिइन् ।

रोबिनका भाइ विलियम र बहिनी मेरी सु रबिन्सन मोरिल दुवैले यो नयाँ काण्डले कम्पनीको हितमा कुनै असर नपार्ने र आफूहरुले कम्पनी सञ्चालनमा कुनै हस्तक्षेप नगर्ने टिप्पणी गरेका छन् ।