रङको संगति, रङले दिने टोन र टेक्स्चर ती सबै कुराले चित्रलाई अद्भुत बनाउँछ । अर्द्धवृत्त पुल, पोखरी, पोखरीमा तैरिरहेका वाटर लिलीका फूलहरू र बगैँचाको सुन्दर सम्मिश्रणले मानिसलाई मुग्ध बनाउँछ ।
यो चित्र हो, क्लाउड मोनेटको । उनले आफ्नै गाउँ गिभेर्नीमा रहेको बगैँचालाई सुन्दर चित्रमा उतारेर अमर बनाइदिए । यो ठाउँ फ्रान्सको राजधानी पेरिसको उत्तरपश्चिमी भेगमा पर्छ ।
मोनेट इम्प्रेसनिस्ट कलाकार हुन् । उनी फ्रान्सेली इम्प्रेसनिस्ट समूहको सहसंस्थापक पनि थिए ।
यो चित्रमा उनले छोटो, तीव्र ब्रस स्ट्रोक प्रयोग गरेका छन् । यस किसिमको बुट्टाले त्यहाँ एक किसिमको हार्मोनी देखिएको छ ।
मोनेटले आफ्नो गाउँ गिभर्नीमा दुई वटा बेग्लाबेग्लै बगैँचा बनाएका थिए र एउटा चाहिँ जापानी प्रभावको वाटर गार्डेन बनाएका थिए ।
उनले वाटर लिली पोन्डको विविध शृंखला बनाएका छन् । उनले भिन्न समयमा भिन्न तरिकाका पेन्टिङ बनाएका छन् । उनले यी चित्र शृंखलालाई सन् १९०० ताका प्रदर्शनीमा राखेका थिए ।
को हुन् क्लाउड मोनेट ?
सन् १८४० मा फ्रान्समा जन्मिएका क्लाउड मोनेट रेडिकल इम्प्रेसनिस्ट कलाकारका रूपमा चिनिन्छन् ।
उनका बुवा व्यापारी थिए । हुर्कंदै गर्दा उनले त्यो बेला ल्यान्डस्केप पेन्टर युजिन बोडिनलाई फेला पारे । उनैले खुला ठाउँमा चित्र बनाउनुको स्वाद चखाइदिए । यही कुराले उनलाई जिन्दगीभर छाप पारिरह्यो ।
पछि मोनेटले पेरिसको स्वतन्त्र कला स्कुल, एकेडेमी सुसीमा भर्ना लिए । पछि उनले चार्ल्स ग्लेरको स्टुडियोमा केही सिक्न भनी छिरे । त्यहीा उनले अर्का इम्प्रेसनिस्ट चित्रकार रेनिअरसँग भेट भयो । यिनको दोस्ती मज्जाले जम्यो ।
सन् १८७१ मा उनी पेरिस नजिकको अर्जेन्टेउलमा बसाइँ सरे । त्यहीँ उनले सन् १८७३ ताका वाइल्ड पपिज नामक चर्चित चित्र बनाए ।
उनको पहिलो इम्प्रेसनवादी चित्रहरूको प्रदर्शनी सन् १८७४ मा लगाए । पछि इम्प्रेसनवादीहरूसँग उनको दोस्ती टुट्यो तर जीवनभर इम्प्रेसनवादलाई उनले छाडेनन् ।
सन् १८८३ पछि चाहिँ गिभर्नीमा स्थायी रूपमा बसोबास गर्न थाले । त्यहीँ जीवनका उम्दा सिर्जनाहरू उनले समाजलाई दिए ।
सन् १९२६ ताका उनको मृत्यु हुँदा धनी चित्रहरूमध्ये एकको परिचय बनाएका थिए ।
आउनुस्, उनको यो चित्रको अद्भुतपना नियालौँः
[embedyt] https://www.youtube.com/watch?v=fd-Me3EBGYY[/embedyt]
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।