बर्माको राजधानी सहर रङ्गुन । रङ्गुनको अति व्यस्त टोल “भो–टठाउँ” भोट ठाउँ । रङ्गुन बसाइँका क्रममा एक दिन म त्यहाँ पुग्छु, साहित्यकार खीम कौशिकको साथ लागेर । दुःखको कुरो खीम कौशिकजी आज यो संसारमा हुनुहुन्न । बर्मेली भाषामा “भो” भन्नाले सैनिक र “टठाउँ” भन्नाले एक हजार अर्थ लगाएर यो शब्द बनेको हो । इतिहासकारअनुसार गौतम बुद्धका शिष्यहरू पहिलोपटक बर्मा पसेका बेला बर्माका राजाले आफ्ना एक हजार सैनिक लगाएर त्यो टोलमा स्वागत गरेका थिए । त्यही बेलादेखि नै त्यो टोलको नाम “भो टठाउँ” रहन गयो । एक हजार सैनिक ।
संयोग नै त्यस्तो परेको छ कि अहिले पनि रङ्गुनको भो टठाउँमा नेपालीहरूको सङ्ख्या उल्लेख्य छ । नेपालीको पसल, नेपालीको होटेल, नेपाली खाना अनि नेपाली संस्कृति । अझ सडकबाटै देखिने एउटा विशाल गेस्ट हाउस । त्यो गेस्ट हाउसलाई देख्नेबित्तिकै म खीम कौशिकजीतिर हेर्दै सोध्छु–
“यो गेस्ट हाउस पनि नेपालीको हो ?”
“नेपालीको मात्र होइन”, उहाँ अरू जोड गरेर उत्तर दिनुहुन्छ– “यो तपाईँकै आफ्नै भाइ–बन्धुको हो । न्यौपानेको हो ।”
म अलि नजिकै गएर टाउको ठाडो पारेर हेर्छु । त्यो भवनको बीचमा लामो पारेर ठूला अक्षरमा लेखिएको “…………………….. धर्मशाला” (“…………… गेस्ट हाउस”) ।
ओहो ! न्यौपानेहरू यहाँ पनि आइपुगेका छन् ? न्यौपानेको उपस्थित बर्मामा समेत भएछ । मलाई केही गर्व लाग्छ अनि अनौठो पनि तर नेपालबाट बसाइँ सर्ने क्रममा कुन जात, थर, उपजात बर्मा आएन र ? कुन पेसा र वर्गलाई बर्माले तानेन र ? तर आफ्नो थर रङ्गुन सहरको मुख्य भागमा देखिनु गौरव लाग्नु स्वाभाविक हो । म मनमनै सोच्छु– ‘कहाँबाट कहाँ आएर यस्तो प्रगति गरेका छन् हगि न्यौपानेहरूले ! मेरो मानसिकता न्यौपाने वंशावलीतिर जान्छ । के नेपालको न्यौपाने र बर्माका न्यौपाने एउटै वंशजका हुन त ? उनीहरूको जरो एउटै हो त ? त्यति मात्र होइन मेरो दिमाग न्यौपाने थरको उत्पत्तितिर जान्छ । मेरो पिताजीले आफ्नो नामको पछाडि न्यौपाने लेख्नुभयो, त्यसैले मैले पनि मेरो नामको पछाडि न्यौपाने लेखेँ । त्यस्तै मेरो हजुरबुबाले आफ्नो नामको पछाडि न्यौपाने लेख्नुभएकाले मेरो पिताजीले पनि न्यौपाने लेख्नुभएको हो । मेरो हजुरबुबाले उहाँको पिताको सिको गर्दै आफ्नो नामको पछाडि न्यौपाने लेख्नुभयो । एवं रीतले न्यौपाने थर हस्तान्तरण हुँदै आयो तर सबैभन्दा पहिलो व्यक्ति को त ? सबैभन्दा पहिला न्यौपाने लेख्ने कहाँबाट र कसरी सुरु भयो ? तर अहिले त्यो इतिहास खोतल्न सक्ने अवस्था छैन । त्यसको विमोचन गर्न सम्भव छैन । केवल सम्भव छ– जनकलाल शर्माको किताब – “हाम्रो समाज – एक अध्ययन ।”
उहाँका अनुसार “कान्य कुब्ज” अन्तर्गत पर्ने न्यौपाने ब्राह्मणहरू अन्य ब्राह्मणसरह धेरै वर्ष नै हिमाली भेकमा बसे । यिनीहरूको मुख्य बसोबास केन्द्र कालीकोट (अहिले जुम्ला राज्य) नै रह्यो । कालीकोटको “नयाँ पानी” बस्तीका बासिन्दा भएकाले यी ब्राह्मणलाई न्यौपाने भनिन थालियो । जसरी अन्य ब्राह्मणहरू कालीकोटबाट बसाइँ सर्दै पूर्वतिर आए, त्यसरी नै न्यौपाने ब्राह्मणहरू पनि आए । आजाको भौगोलिक नक्सालाई लिने हो भने कान्य कुब्ज (कनौज) भारतको उत्तर प्रदेशको “फरुखावाद” जिल्लाअन्तर्गत पर्न आउँछ । परन्तु मेची तरेर न्यौपानेहरू बर्मासम्म पुग्नुलाई मैले गौरव गर्नुपर्ने हुन्छ । त्यति मात्र कहाँ हो र ! बर्माको रङ्गुनजस्तो महँगो ठाउँमा एउटा भव्य गेस्ट हाउस बनाउनु अर्को गौरव हो । न्यौपानेका मात्र नभई नेपाल राष्ट्रकै सान हो ।
म धेरै बेरसम्म टोलाएर गेस्ट हाउसमा नजर गाडेको देखेपछि खीम कौशिकजी मेरो नजिकै आउनुहुन्छ र सोध्नुहुन्छ–
“छतमा जाने ? छतबाट पूरै रङ्गुन सहर देखिन्छ । हिँड्नुहोस् ।”
हामीहरू दुवै जना लिफ्ट चढेर गेस्ट हाउसको १० औँ तलामा पुग्छौँ । ढलान गरेको त्यो भव्य छत ! अनि छतको बीच भागमा ठिक्क मिलेको प्यागोडा शैलीको सानो मन्दिर अनि अर्को गौरवको कुरा, मन्दिरको ढोकैमा लेखिएको छ– “न्यौपाने कुलदेवता” ।
एकातिर त्यो विशाल गेस्ट हाउस अर्कोतिर आफ्नै कुलदेवता । म आफूलाई खुसी राख्ने ठाउँ पाउँदिनँ । म चङ्गासरी उड्न थाल्छु । रङ्गुनको त्यो तातो गर्मीमा पनि शीतल अनुभव गर्छु । म शान्त हुन्छु । कौशिकजी र म छतमा पुग्नुभन्दा पहिला नै दुई–तीन जना व्यक्तिहरू उभिरहेका छन् । उनीहरू छतमा बसेर गफ गर्दै छन् । हामीलाई देख्नासाथ हामीतिर आउँछन् । कौशिकजी ती व्यक्तिहरूसँग मेरो परिचय गराउनुहुन्छ–
“उहाँ नेपालबाट आउनुभएको ।”
म नमस्कार गर्दै आफ्नो परिचय दिन पाएको हुन्न तर मेरो थर सुन्नेबित्तिकै उनीहरूबाट अनगिन्ती प्रश्न ओइरन थाल्छन् । उनीहरूमा भ्रमको जन्म भइसकेको हुन्छ । उनीहरू मसँग सतर्क हुन्छन् । सोध्न थाल्छन्–
“तपाईँ उहाँको (गेस्ट हाउसको मालिक) भाइ ?”
“तपाईँको के नाता पर्छ ?”
“उहाँलाई भेट्न आउनुभएको हो ?”
अरू, अरू !
त्यहाँ उभिने हरेकको प्रश्न छ, हरेकको जिज्ञासा छ । उनीहरू मबाट धेरे कुराहरूको आशा गरेका छन् तर मसँग न उत्तर छ न व्याख्या गर्ने वस्तु नै । केवल छ– अन्योल अनि अनौठोपन । बरु ममाथि वर्षेका प्रश्नले म आफैँ जिज्ञासु बन्छु । म आफूले आफैँलाई प्रश्न गर्छु– गेस्ट हाउसका मालिक र मेरो बीच के नाता ? के म तिनलाई भेट्न आएको हुँ ? झुटो बेलेर भए पनि केही बेरको ठूलो मान्छे बनूँ गमक्क फुलूँ जस्तो कहाँ नलागेको हो र ! तर म त्यो बाटातिर लाग्दिन र उत्तर दिन्छु–
“केही नाता पर्दैन । केवल हाम्रो थर एउटै हो ।”
केही बेरको अवलोकनपछि म र कौशिकजी त्यहाँबाट फर्कन्छौँ । त्यसको भोलिपल्ट साँझतिर कौशिकजीको फोनको घण्टी बज्छ । उहाँले फोन उठाउनुहुन्छ तर त्यो फोन उहाँको लागि नभई मेरा लागि रहेछ । म कुरा गर्न थाल्छु–
“हिजो तपाईँहरू………. गेस्ट हाउसमा आउनुभएको रहेछ । त्यति बेला उहाँ (गेस्ट हाउस धनी)सँग भेट हुन सकेन । अहिले उहाँले भेट्न खोज्नुभएको छ । एकैछिनका लागि तपाईँहरू गेस्ट हाउस आउनुहोस् न !”
यो फोनबाट म थाहा पाउछु कि मप्रति गेस्ट हाउस मालिकको चासो निकै बाक्लिएछ । उनी मप्रति सजग भएछन् तर गेस्ट हाउस गइहाल्न सक्ने मेरो अवस्था छैन । एकातिर हामीहरू खाना तयारी अवस्थामा छौँ भने अर्कातिर मेरो मानसिकता तयार भएको छैन । अझ रात पर्न ठिक परेको छ र म उत्तर दिन्छु–
“हामीहरू खाना खाने तयारीमा छौँ । अहिले ढिला भइसक्यो । बरु भोलि आउँला अहिले आउन गाह्रो छ ।”
तर उताबाट आएको फोन मान्ने पक्षमा देखिँदैन ।
“खाना खान कति बेर लाग्छ र ? खाना खाएपछि आउनु भए पनि हुन्छ । हामीहरू पर्खेर बसौँला ।”
म उनको जिद्दीलाई त्यत्तिकै टार्न सक्दिन । बरु हामीहरू हतार–हतार गर्दै खाना खाएर गेस्ट हाउसतिर जान्छौँ तर हामीहरू त्यहाँ पुग्दा गेस्ट हाउसको अवस्था अनौठो वातावरणमा परिणत भइसकेको छ । एउटा सानो कोठा भाषण गर्नका लागि तयार पारिएको छ । कोठाका बीच भागमा लामो आकारको टेबुल, टेबुलको वरिपरि दश–बाह्रवटा कुर्सीहरू अनि टेबुलको ठिक्क अगाडि सभापतिका लागि अग्लो कुर्सी । कोठाको वातावरण देख्दा मेरो मनमा थुप्रै जिज्ञासाहरू सलबलाउन थाल्छन् । म निकै होसियार हुन्छु । त्यहाँ कुनै साहित्यिक कार्यक्रम हुँदै छ कि ! कुनै नेताले भाषण गर्दैछन् कि ! अघिग्लो दिन न्यौपानेको वंशावलीको गफको सिलसिलामा थुप्रै साहित्यिक गफहरू पनि चलेका थिए । त्यही साहित्यिक गफले अहिले साहित्यिक कार्यक्रम हुन लागेको त होइन ?
तर मैले सोचेको जस्तो त्यहाँ त कुनै साहित्यिक कार्यक्रम नै हुँदै छ न कुनै समारोह नै । म त्यहाँ नयाँ प्रकारको वातावरण पाउँछु, जुन वातावरण मैले कहिल्यै सोचेको नै छु । एक जना व्यक्ति आफ्नो दलबलसहित त्यहाँ देखा पर्छन् अनि दायाँ–बायाँ कतै नहेरी सिधै सभापतिको कुर्सीमा बस्छन् र भाषण गर्न सुरु गरिहाल्छन् । हामीहरू चाहेर होस् वा नचाहेर – उनको भाषण सुन्न बाध्य हुन्छौँ । सुरुमा म केही अन्दाज लगाउनै सक्दिनँ । उनी पार्टीका नेता नै हुन् ? के बारेमा बोल्दै छन् तर भाषणको अन्तिमतिर मात्र थाहा हुन्छ उनी त त्यो गेस्ट हाउसका मालिक पो रहेछन् । कुनै फनि व्यक्तिको व्यक्तित्व उसको भनाइ सुनेपछि मात्र थाहा हुन्छ । उसको बोलीले बताउँछ । ती व्यक्तिको भाषण सुनेपछि मलाई ज्ञान हुन्छ– जीवनमा मैले पहिलोपटक अहङ्कारी व्यक्तिको शिकार भएको छु । मलाई कमजोर मानसिकता भएका व्यक्तिले उपयोग गरिरहेका छन् । म उनको अमिलो बोली सुन्न बाध्य भएको छु । मलाई भतभती पोल्न थाल्छ । एक प्रकारको हीनता र पीडाले घोच्न थाल्छ । उनको मुखबाट सम्पत्तिको रवाफ जुन प्रकारको बाहिर आएको छ म त्यसलाई सहन गर्न सक्दिन । उनले धेरै कुवाक्य बोलेका हुन्छन् तर यी वाक्यहरूमध्ये एउटा भने मेरो दिमागमा रहिरहन्छ –
“बर्मा सरकारले पत्याएको मान्छे म ! तपाईँहरू पनि नेपालमा केही गरेर देखाउनुहोस् । सधैँ मागेर हिँड्ने ? के काम लिएर बर्मा आउनुभयो ?”
म उनका यी शब्दहरू सुन्न आवश्यक ठान्दिन । मेरो सरोकारको विषय होइन ।
उनले गरेको मेहनत र परिश्रमबाट उत्पादन भएको वैभवमा सबैको चासो जानु स्वाभाविक नै हो । अन्य गोरखालीका तुलनामा उनी सम्पत्तिमा अनि बलिया छन् । बर्मा मुलुकमा उनले गरेको पुरुषार्थप्रति सबैले गौरव गर्नुपर्ने हुन्छ तर त्यसमा मलाई न कुनै लालचा छ न इच्छा नै । मलाई उनको पुरुषार्थ र मान थाहा पाउन जसरी पनि छैन । उनको भाषण सुन्न आवश्यक पनि छैन । उनको बोझ बन्न म बर्मा पसेको पनि होइन । म चन्दा माग्न बर्मा पुगेको थिइनँ । त्यति मात्र कहाँ हो र ? उनले बर्मामा गरेको सान–सौकतको समाचार मैले नेपालमा सुनाउनुपर्छ अरे । उनको पुरुषार्थलाई नेपालमा म प्रदर्शन गर्नुपर्ने अरे । उनले मलाई निजी पत्रकार नै बनाइदिनुमा म झन् क्लान्त बन्छु ।
उनको भाषण सुनेपछि लाग्छ– आगामी दिनमा यस्ता व्यक्तिसँग मेरो सम्पर्क नहोस् । खीम कौशिकजीलाई पो कहाँ भाषणमा चाख र ? उनी पहिलादेखि नै दिक्क छन् । उनको अमिलो अनुहार र कोप्रो हेराइले नै मलाई थाहा भइसकेको छ , उनलाई त्यहाँबाट उठेर कहिले बाहिर निस्कूँ जस्तो भएको छ तर हामी मर्यादा नाघ्न चाहँदैनौ । उनको भाषण अन्त्यसम्म नै सुन्छौँ तर सकिनासाथ कोठाबाट बाहिर निस्किहाल्छौँ । अपमान सहनु पनि अपराध हो ।
अहङ्कारको औषधि भनेको ऊसँग संवाद नै नगर्नु । मलाई चित्त बुझाउन कर लाग्छ कि– जहाँका मानव पनि कहाँ मानव हुन् र ? यदि सबैमा मानवता भेटिँदो हो त समाजमा किन अपराध हुन्थ्यो ? किन हत्या–बलात्कार जस्ता अमानवीय समाचार सुन्नुपर्थ्यो ? किन अहङ्कारी व्यक्तिको बोलबाला हुन्थ्यो ? त्यसैले सबै सेतो वस्तुलाई दूध देख्नु मेरो गल्ती थियो । सबै न्यौपानेमा मानवको गुण खोज्न र बन्धुत्व अनुभव गर्नु मेरो कमजोरी थियो । हैसियत नभएका व्यक्तिसँग हैसियतको अपेक्षा गर्नु, बर्मामा मैले गरेको गल्ती थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।