साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

अनुसन्धानात्मक लेख के हो र कसरी लेखिन्छ ?

Chovar Blues Mobile Size

१. विषय प्रवेश
सामान्यतः लेखनलाई औपचारिक लेखन र अनौपचारिक लेखन गरी दुई वर्गमा विभाजन गरी हेर्ने गरिन्छ । अनौपचारिक लेखनमा वैयक्तिक अनुभूति, कल्पना र भावनाको समेत विशिष्ट उपस्थिति हुने हुनाले सिर्जनात्मक लेखनअन्तर्गत पर्ने सम्पूर्ण विधागत सिर्जनालाई यसअन्तर्गत राख्ने गरिन्छ । औपचारिक लेखन बौद्धिक एवम् प्राज्ञिक लेखन हो । यसलाई पनि साधारण लेखन र अनुसन्धानात्मक लेखन गरी दुई वर्गमा राखेर हेर्ने गरिन्छ । बौद्धिक, वस्तुपरक, सूचनामूलक वा विश्लेषणात्मक नै भए पनि अनुसन्धानको प्रविधिभित्र नसमेटिएको लेखन साधारण लेखनअन्तर्गत पर्दछ । अनुसन्धानात्मक लेखन भनेको निश्चित सिद्धान्त र प्रविधिमा आधारित भएर कुनै पनि नयाँ कुराको प्राप्तिका लागि गरिने खोज वा अन्वेषण हो । यसलाई अत्यन्त प्राविधिक र वैज्ञानिक अनुसन्धान मान्ने गरिन्छ । अनुसन्धानात्मक लेखन एउटा विषयमा लेखिने र विज्ञसमीक्षित पत्रिकामा छापिने लेखदेखि लिएर एउटा सिङ्गो शोधपत्रमा समेत आवश्यक पर्ने गर्दछ त्यसैले यो बौद्धिक, प्राज्ञिक र औपचारिक लेखन हो । यस लेखमा ‘प्रज्ञा’ (पूर्णाङ्क ११८) मा प्रकाशित ताराकान्त पाण्डेयको ‘अनुसन्धानमूलक लेखको संरचना’ शीर्षकको लेखलाई प्रमुख रूपमा र अन्य केही सामग्रीहरूलाई सहयोगीका रूपमा प्रयोग गरी अनुसन्धानात्मक लेख कसरी लेखिन्छ भन्ने बारेमा केही सैद्धान्तिक र केही व्यावहारिक जानकारी प्रस्तुत गरिएको छ ।

२. अनुसन्धान भनेको के हो ?
‘सम्+धा+ल्युट् (अन)’ निर्माण प्रक्रियाबाट बनेको ‘सन्धान’ शब्दको अर्थ जोड्नु, मिलाउनु आदि हुने गर्दछ । यही ‘सन्धान’ शब्दमा ‘अनु’ उपसर्ग लागेर बनेको ‘अनुसन्धान’ शब्दको अर्थचाहिँ खोज, अन्वेषण, गवेषण आदि हुने गर्दछ । यसको विशेष प्रयोग नयाँ कुराको खोजी गर्ने, नयाँ कुराको आविष्कार गर्ने वा नयाँ ज्ञान पत्ता लगाउने भन्ने सन्दर्भमा गरिन्छ । अनुसन्धानलाई अङ्ग्रेजीमा ‘रि–सर्च’ (Research) भनिन्छ । यो शब्द पनि (Re+search) बाट बनेको हो । यसमा रहेको Re को अर्थ फेरि, पुनः, पटक पटक वा बार बार भन्ने हुन्छ भने Search को अर्थ खोजी गर्नु, पत्ता लगाउनु भन्ने हुन्छ । समग्रमा ‘रि–सर्च’ (Research) भनेको पटक पटकको प्रयासबाट गरिने नयाँ ज्ञानको प्राप्ति हो भन्न सकिन्छ ।

अनुसन्धानलाई चिनाउने क्रममा एलभी रेडम्यान र एभिएच मोरीले अनुसन्धान नयाँ ज्ञान प्राप्तिका लागि गरिने व्यवस्थित प्रयास हो भनेका छन् भने जोन डब्लु बेस्टले बढी औपचारिक, ज्यादै व्यवस्थित र गहन विश्लेषणको वैज्ञानिक विधि अँगालिने प्रक्रियालाई अनुसन्धान भनिन्छ । यसमा व्यवस्थित छानबिन गरी निष्कर्ष निकालिन्छ र यसको प्रतिवेदन तयार गरिन्छ भनी चिनाएका छन् । यसरी नै मोहनराज शर्मा र खगेन्द्र लुइटेलले अनुसन्धान व्यवस्थित रूपमा गरिने ज्ञानको खोजी हो ।

यसको प्रस्तुति औपचारिक प्रतिवेदनका रूपमा गरिन्छ भनी अनुसन्धानलाई चिनाएका छन् भने रमेश भट्टराईले अनुसन्धान ज्ञान प्राप्ति मात्र नभएर ज्ञानको आविष्कार गर्ने सिर्जनात्मक कला भएको विचार राख्दै यसले सिकाइ कलाका चार पक्षहरू केही जान्न (ज्ञानयोग), केही गर्न (कर्मयोग), सहकार्य गर्न (सामूहिकता) र परिवर्तित हुन (रूपान्तरण) सिकाउँछ भन्ने विचार व्यक्त गरेका छन् । उल्लिखित सन्दर्भहरूलाई हेर्दा अनुसन्धान जुनसुकै विषयमा गरिने वैज्ञानिक खोज वा अन्वेषण हो भन्ने बुझिन्छ तर यसलाई प्रायः स्नातक तहमा गरिने लघुशोध, स्नातकोत्तर तहमा गरिने शोध र विद्यावारिधि उपाधि प्राप्तिका लागि गरिने विशिष्ट शोधका रूपमा बुझ्ने गरिन्छ । अनुसन्धान तह पार गर्न वा उपाधि हासिल गर्नका लागि मात्र नभएर विभिन्न परियोजना कार्य सम्पन्न गर्न तथा नयाँ आविष्कारका लागि पनि गरिन्छ ।

३. अनुसन्धानात्मक लेख भनेको के हो ?
अनुसन्धानात्मक लेख विस्तृत अनुसन्धान कार्यकै शैलीमा लेखिने छोटो तर पूर्ण लेख हो । यसलाई शोध लेख, अनुसन्धानात्मक लेख, रिसर्च आर्टिकल आदि विविध नामले चिन्ने गरिन्छ । यो प्राज्ञिक लेखन नै हो । ताराकान्त पाण्डेयले अनुसन्धानात्मक लेखलाई सानो आकारको प्राज्ञिक लेखन र शोधप्रबन्धलाई लामो आकारको प्राज्ञिक लेखन भनेका छन् । यसका आधारमा हेर्दा यसले एउटा सानो क्षेत्रको व्यवस्थित, वैज्ञानिक, वस्तुपरक र प्रामाणिक खोजी गरी निष्कर्ष निकाल्ने काम गर्दछ भन्न सकिन्छ । यो तीनचार हजार शब्दमा पूरा भए पनि यसमा अनुसन्धानका लागि आवश्यक सबै विधि, पद्धति र प्रक्रियाहरूको पालना हुने गर्दछ । यसमा विषयको जानकारी, समस्यादेखि लिएर निष्कर्षसम्मका लागि आवश्यक सबै प्रक्रियाहरू पूरा गरिन्छ र शोधप्रतिवेदनको एउटा सानो स्वरूप नै प्रस्तुत गरिन्छ ।

sagarmani mobile size

४. अनुसन्धानात्मक लेखका अङ्गहरू
अनुसन्धानात्मक लेख विशिष्ट प्राविधिक एवम् प्राज्ञिक लेख हो । यसको एउटा पनि अङ्ग पूर्ण भएन भने त्यसलाई अनुसन्धानात्मक लेखअन्तर्गत राखिँदैन । यो प्रविधिका केन्द्रीयतामा रहेर लेखिने लेख हो । यसका निम्नलिखित सातओटा अङ्गहरू हुन्छन् जसको प्रयोग अनुसन्धानका लागि अनिवार्य मानिन्छ—

(क) शीर्षक
अनुसन्धानात्मक लेखको सबैभन्दा माथि शीर्षक राखिन्छ । यसको शीर्षक अनुसन्धेय विषयलाई सङ्केत गर्ने खालको हुने गर्दछ । यसले नै लेख कत्तिको प्राज्ञिक छ भन्ने कुराको जानकारी दिने क्षमता राख्दछ । यसको शीर्षक बढीमा १५ शब्दसम्मको हुनुपर्ने, शीर्षकले नै तर्क र दाबीलाई सङ्केत गर्नुपर्ने तथा अमूर्त र अस्पष्ट शीर्षक राखिनु नहुने मान्यता ताराकान्त पाण्डेयको रहेको छ भने शीर्षक सरल, सङ्क्षिप्त र आकर्षक हुनुपर्ने, शब्दद्वारा शोधलाई व्यक्त गर्ने खालको हुनुपर्ने र शीर्षकमा सङ्क्षिप्त शब्द र अङ्कको प्रयोग गर्नु नहुने तर्क रमेशप्रसाद भट्टराईको रहेको छ । यसरी नै नेत्र एटमले शीर्षकमा मूल विषय, विषय र सिद्धान्त तथा विषयको सीमितता अभिव्यञ्जित भएको हुनुपर्ने र एक अध्ययन, एक विवेचना, सिद्धान्तको आलोकमा, रेखाङ्कन जस्ता पद वा पदावलीको प्रयोग गर्नु नहुने मान्यतामा जोड दिएका छन् । यसका आधारमा हेर्दा अनुसन्धानात्मक लेखको होस् वा शोधप्रबन्धको होस् शीर्षक अनुसन्धेय विषयप्रति लक्षित तथा शोधसमस्यालाई प्रतिविम्बित गर्ने प्रकारको छोटो र स्पष्ट हुनुपर्छ भन्ने बुझिन्छ । शोधको शीर्षकमा सर्वेक्षण, अवलोकन, विश्लेषण, विवेचना जस्ता शब्दहरू राखियो भने त्यसले सतही लेखनलाई सङ्केत गर्ने हुनाले के गर्न लागिएको हो त्यसको स्पष्ट सङ्केत र शोधको मूल समस्या के हो त्यसको स्पष्ट दिशानिर्देश शीर्षकमा हुनुपर्छ ।

(ख) लेखसार
अनुसन्धानात्मक लेखमा शीर्षकभन्दा मुनि लेखसार दिनुपर्छ । यो यसको अनिवार्य अङ्ग हो । यसमा आफूले अनुसन्धान गर्न लागेको विषयदेखि त्यस अनुसन्धानबाट निस्किएको निष्कर्षसम्मका सम्पूर्ण कुरा खँदिलो एक अनुच्छेदमा लेखिन्छ । यसमा कुनै सिद्धान्तको व्याख्या गरिँदैन तर अनुसन्धानको मुख्य समस्या, तर्क, जिज्ञासा, अध्ययनविधि, निष्कर्ष वा प्राप्तिसँग सम्बन्धित सबै कुराहरू सूत्रात्मक रूपमा आउने गर्दछन् । ताराकान्त पाण्डेय लेखसार १५० देखि २५० शब्दसम्मको हुनुपर्ने, यसमा के (अध्ययन) गरिएको हो ? किन गरिएको हो ? कसरी गरिएको हो र के निष्कर्ष प्राप्त भएको छ ? स्पष्ट उल्लेख हुनुपर्ने मान्यता राख्छन् । रमेश भट्टराईले लेखसार वर्णनात्मक र सूचनात्मक दुई प्रकारको हुने, वर्णनात्मकमा अनुसन्धानको मूल पाठ, समस्या, उद्देश्य र विधिका बारेमा र सूचनात्मकमा अनुसन्धानको विषय, समस्या, उद्देश्य, विधि, परिणाम र निष्कर्ष लेखिने स्पष्ट विचार प्रस्तुत गरेका छन् । त्यसैले लेखसार सम्पूर्ण लेखको निचोड हो र यसलाई पढ्दा प्रस्तुत लेखको समग्रताको अनुमान लगाउन सक्ने अवस्था यसमा हुनुपर्छ । लेखसार अन्य अनुच्छेदभन्दा फरक हुन्छ । यसलाई एक फन्ट सानो आकारमा वा तिर्यक् आकृति (इटालिक) मा राख्नुपर्छ ।

(ग) शब्दकुञ्जी
अनुसन्धानात्मक लेखमा लेखसारपछि शब्दकुञ्जी दिनुपर्छ । यो अनुसन्धानमा प्रयोग भएका मुख्य शब्दहरूको सूचक हो । यसमा प्रस्तुत लेखमा प्रयोग भएका अति प्रचलित वा सबैले बुझ्ने खालका शब्द नभएर कम प्रयोगमा आउने, तुलनात्मक रूपमा जटिल मानिएका, पारिभाषिक वा प्राविधिक शब्दहरू राख्नुपर्छ । यसले पाठकको ध्यान अनुसन्धेय विषयतिर आकर्षित गर्ने गर्दछ । शब्दकुञ्जीमा राखिएका शब्दहरू प्रायः पदकै तहमा हुन्छन्, कुनै कुनै पदावलीका तहमा भए पनि फरक पर्दैन । शब्दकुञ्जीमा पाँचओटादेखि बढीमा सातओटासम्म शब्दहरू राख्ने गरिन्छ ।

(घ) विषयपरिचय वा विषयप्रवेश
अनुसन्धानात्मक लेखमा शब्दकुञ्जीपछि अनुसन्धेय विषयमा औपचारिक प्रवेश गरिन्छ । अनुसन्धानात्मक लेखमा यसलाई निकै महत्त्वका साथ हेरिन्छ । यसमा शीर्षकले सङ्केत गर्ने शोध्यविषय, अनुसन्धानको उद्देश्य वा औचित्य, विवेच्यसन्दर्भ, विवेच्य प्रक्रिया, शोधसँग सम्बन्धित मुख्य दाबी, विषयप्रतिको शोधार्थीको तर्क आदि जस्ता कुराहरू साङ्केतिक रूपमा प्रस्तुत गरिन्छन् । यसमा लेखको शीर्षकमा रहेका ‘चर’ (भेरिएबल) को परिचय दिइन्छ अनि यस अध्ययनको औचित्य, महत्त्व र उपयोगिता प्रस्तुतिका लागि पूर्वअध्ययनको सङ्केत गरिन्छ । साथै यस विषयप्रतिको आफ्नो दाबी के हो ? विषयको पुष्टिका लागि तर्क के छ ? यसको अध्ययनमा कुन विधिको प्रयोग भएको छ ? आदि जस्ता कुराहरूप्रति लेखकीय अभिमत यहाँ व्यक्त गरिन्छ । ठुलो शोधकार्य हो भने शोधका समस्या र उद्देश्यहरू अलग अलग राखिन्छन् तर छोटो अनुसन्धानात्मक लेखमा शोधसमस्या र उद्देश्यलाई पनि विषयपरिचयमा नै समेटेर लेख्ने गरिन्छ । शब्दसङ्ख्याका दृष्टि यो ४०० शब्ददेखि ६०० शब्दसम्मको अर्थात् सम्पूर्ण लेखको १० प्रतिशत शब्दसङ्ख्यामा पूर्ण हुने गर्दछ ।

(ङ) अध्ययन विधि
अनुसन्धानात्मक लेखमा विषयपरिचयपछि उक्त अनुसन्धान कार्यलाई कुन अध्ययन विधिमा केन्द्रित भएर पूर्णता दिने हो त्यसको स्पष्ट उल्लेख हुनुपर्छ । यो अध्ययनका लागि प्रारूप हो । अर्थात् यसमा अध्ययन र विश्लेषणको सैद्धान्तिक ढाँचा प्रस्तुत गरिन्छ । यसमा अनुसन्धान कार्यमा प्रयुक्त सामग्रीको चयन र सङ्कलन कसरी गरियो ? कुन आधारक्षेत्रबाट विषयको अर्थापन गरियो ? र विषयको विश्लेषण गर्ने सैद्धान्तिक आधार वा ढाँचा केलाई बनाइयो ? यी तीनओटा कुराको स्पष्ट उल्लेख हुनुपर्छ । यिनलाई अलग अलग उपशीर्षक र अनुच्छेदमा वा आवश्यकताअनुसार एक वा दुई उपशीर्षक वा अनुच्छेदमा राख्न पनि सकिन्छ । यो अनुसन्धान यात्रा गरी निष्कर्षात्मक गन्तव्यमा पुग्ने सुरक्षित बाटो हो, यसमा अलमल भयो भने अनुसन्धान कार्य सुव्यवस्थित हुन सक्दैन ।

(च) विषयको अर्थापन वा व्याख्या विश्लेषण
अनुसन्धानात्मक लेखमा अब मात्र मूल विषयको व्याख्या विश्लेषण गर्ने ठाउँमा पुगिन्छ । त्यसैले यसलाई लेखको मूल खण्ड मानिन्छ । यहाँ भावनात्मक सन्दर्भ र अनुमानका आधारमा नभएर पूर्वसूचित समस्या, उद्देश्य, सङ्कलित सामग्री र निर्धारित अध्ययन विधिका आधारमा विषयवस्तुको तर्कपूर्ण तरिकाले व्याख्या र विश्लेषण गरिन्छ । अनुसन्धानात्मक लेखमा कतै पनि अनुसन्धाताका निजी विचारहरूको प्रवेश हुनु हुँदैन । जे लेखिन्छ, त्यो तथ्यका आधारमा लेखिन्छ र जे बोलिन्छ त्यो पूर्वसन्दर्भका आधारमा बोलिन्छ । अनुमान लगाउन सकिन्छ, आभास हुन्छ, प्रतीत हुन्छ, मानौँ यो हो आदि जस्ता पदावली र वाक्यहरू अनुसन्धानात्मक लेखमा पूर्णतः निस्तेज नै गरिन्छन् । त्यसैले यहाँ विभिन्न उद्धरण, दृष्टान्त, प्रमाण, तर्क र तथ्यहरू प्रस्तुत हुने गर्दछन् । यहाँ कुनै पनि कुराको स्थापना गर्नुभन्दा अगाडि त्यससँग सम्बन्धित पूर्वसन्दर्भहरू साक्ष्यका रूपमा प्रस्तुत गरिन्छन् । सन्दर्भ सामग्रीको अत्यधिक प्रयोग यस चरणमा हुने गर्दछ । सामग्रीको अर्थापन गर्दा ‘उनीहरू भन्छन्, म भन्छु’ (दे से, आइ से) विधिको प्रयोग हुनुपर्छ भन्ने मान्यता राखिन्छ ।

मूल विषयको व्याख्या वा विश्लेषण गर्दा वर्णन, व्याख्या, खण्डन, मण्डन, तुलना, अन्वय र व्यक्तिरेक आदिको प्रयोग हुने गर्दछ । विषयप्रतिको विमति खण्डन हो, सहमति मण्डन हो । समान धर्मका सामग्रीबिचमा समानता र भिन्नता देखाउनका लागि तुलना आवश्यक पर्दछ । अन्वयले अनुकूल सामग्रीहरूलाई सङ्केत गर्दछ भने व्यतिरेकले प्रतिकूल सामग्रीहरूलाई सङ्केत गर्दछ । समस्या र सामग्रीका बिचमा कार्य–कारण सम्बन्ध हुने गर्दछ । साथै तालिकीकरण, दृश्यमूलक सूचना आदिका साथमा विषयवस्तुको परिभाषीकरण गर्ने काम यस खण्डमा गरिन्छ । त्यसैले यस खण्डलाई आवश्यकताअनुसार विभिन्न उपशीर्षकहरूमा विभाजन गरेर लेख्न सकिन्छ ।

(च) निष्कर्ष लेखन
अनुसन्धानात्मक लेखमा उल्लिखित प्रक्रियाबाट विषयवस्तुमाथिको प्राज्ञिक विमर्श सम्पन्न गरिसकेपछि उपयुक्त निष्कर्ष निकाल्नुपर्छ । यो समग्र लेखको उपसंहार खण्ड हो । यसमा अनुसन्धाताले पूर्वसाक्ष्यका आधारमा आफ्नो तार्किक मूल्याङ्कन प्रस्तुत गर्नुपर्छ । शोधप्रबन्धमा यो अन्तिम परिच्छेदका रूपमा रहन्छ भने अनुसन्धानात्मक लेखमा अर्थापनपछि रहन्छ । निष्कर्ष अनुसन्धानको समस्याकेन्द्रित हुनुपर्छ । सुरुमा कुन समस्याको समाधान खोज्ने उद्देश्य राखिएको थियो, अन्त्यमा त्यसैको प्राप्ति के कसरी भयो वा भएन ? निष्कर्षमा लेख्नुपर्छ । त्यसैले निष्कर्ष प्राज्ञिक प्रश्नभन्दा बाहिर जानु हुँदैन । यो मापनीय हुनुपर्छ र अर्थापनका सन्दर्भमा प्रस्तुत सामग्रीहरूकै आधारमा अनुसन्धाताले आत्ममूल्याङ्कन प्रस्तुत गर्नुपर्छ । यो अत्यन्त सङ्क्षिप्त, स्पष्ट, मूर्त र सामान्यीकरण गर्न सकिने खालको हुनुपर्छ ।

(छ) सन्दर्भ सामग्रीको उल्लेख
अनुसन्धानात्मक लेख प्राज्ञिक लेखन भएको हुनाले यसमा सन्दर्भ सामग्रीको प्रयोग नभई हुँदैन । सम्बन्धित विषयमा भएका पूर्वकार्यहरू, पूर्वसन्दर्भहरू र प्रयुक्त तथ्यहरूको उल्लेख अनुसन्धानात्मक लेखको अन्त्यमा हुनै पर्दछ । यो शोधार्थीको इमानदारी परीक्षणको स्थान पनि हो । त्यसैले यसमा आफूले अनुसन्धानका क्रममा प्रयोग गरेका कृति, लेख, शोधप्रबन्ध आदि सबैको स्पष्ट उल्लेख गर्नुपर्छ । सन्दर्भ सामग्री रखाइमा मूलतः एपीए र एमएलए पद्धतिको प्रयोग गर्ने गरिन्छ । यसको सम्बन्ध विश्लेषणका क्रममा प्रयोग गरिएका उद्धरणहरूसँग हुने गर्दछ । अनुसन्धानात्मक लेखमा चाहिँ समग्र सामग्रीहरूको भन्दा पनि उद्धृत सामग्रीहरूको सन्दर्भसूची दिने गरिन्छ । सन्दर्भ सामग्रीको उल्लेख गर्दा लेखकको थरको वर्णानुक्रमलाई ध्यान दिइन्छ र लेखकको नामअगाडि प्रा.डा. जस्ता पद वा उपाधि सङ्केतक पदहरू राखिँदैन । यसको उल्लेख गर्दा यस (थर, नाम, मिति, कृति, स्थान: प्रकाशक, पूर्णविराम) क्रममा राख्नुपर्छ । कृतिलाई तिर्यक् आकार (इटालिक) मा राखिन्छ भने लेखको शीर्षकलाई उद्धरण चिह्नभित्र राखिन्छ ।

यसका साथै बृहत् अनुसन्धान कार्य गर्दा प्रयोग भएका लेखकका अन्य विवरण, तालिका, नक्सा, पाण्डुलिपि, अन्तर्वार्ता आदि जस्ता अतिरिक्त सामग्रीहरूलाई राख्नुपर्ने भयो भने सन्दर्भ सामग्रीभन्दा अगाडि नै राख्ने गरिन्छ ।

५. अनुसन्धानात्मक लेख लेख्दा विशेष ध्यान दिनुपर्ने कुराहरू
अनुसन्धानात्मक लेख लेख्दा उल्लिखित सातओटा अङ्गका आधारमा सम्पूर्ण प्रक्रिया पूरा गरेर मात्र हुँदैन । त्यसलाई अझै वस्तुपरक, वैज्ञानिक र प्रामाणिक बनाउनका लागि निम्नलिखित थप कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ—

(क) सुगठित अनुच्छेद रचना
अनुसन्धानात्मक लेखमा अनुच्छेद गठनको विशिष्ट भूमिका हुने गर्दछ । प्रत्येक अनुच्छेदभित्रका वाक्यहरू आदि, मध्य र अन्त्यको सिक्रीमा बाँधिएका हुन्छन् । शीर्षक केन्द्रित परिचयात्मक वाक्यबाट सुरु भएर बिचमा विषयवस्तुको तार्किक प्रस्तुतीकरणपछि अन्त्यमा निष्कर्षात्मक वाक्यरचनाका साथ टुङ्ग्याउनु अनुच्छेद रचनाको प्रमुख ढाँचा हो । यसमा परस्पर सम्बन्धित वाक्यहरूको क्रमबद्ध व्यवस्थापन हुने गर्दछ । यसमा एउटा वाक्यले अर्को वाक्यलाई जन्माउँछ तर ती सबै आन्तरिक रूपमा संसक्तियुक्त हुने गर्दछन् । तिनलाई जोड्नका लागि यसरी, यस कारण, यस क्रममा जस्ता पदावलीको प्रयोग गर्न पनि सकिन्छ । प्राज्ञिक लेखनमा असम्बन्धित एउटा पनि वाक्यले प्रवेश पाउनु हुँदैन । प्रत्येक अनुच्छेद एउटा कथनका लागि आफैँमा पूर्ण हुनुपर्छ । समग्र लेखलाई विषयपरिचय, विषय विश्लेषण र निष्कर्षले बाँधेजस्तै प्रत्येक अनुच्छेद विषयवस्तुको परिचयात्मक उठान, विश्लेषण र निष्कर्षमा बाँधिएको हुनुपर्छ । कुनै पनि अनुच्छेद लेखनको थालनी अङ्कबाट हुनु हुँदैन । साथै यसरी, यस कारण, यो भनाइ जस्ता पद वा पदावलीबाट पनि अनुच्छेदको थालनी हुनु हुँदैन । प्रत्येक अनुच्छेद सुगठित भयो भने सिङ्गो लेख नै सुगठित हुने गर्दछ ।

(ख) उद्धरणको प्रयोगमा सचेतता
अनुसन्धानात्मक लेखमा सान्दर्भिक उद्धरणको प्रयोग अनिवार्य मानिन्छ । उद्धरणको प्रयोगले एकातिर अग्रजहरूका पूर्वकार्यलाई सम्मान प्रदान गर्दछ भने अर्कातिर अनुसन्धाताको अध्ययन र ज्ञानको सीमालाई फराकिलो बनाउने गर्दछ । अनुसन्धान कार्य सामूहिक विचारको मन्थन पनि हो । त्यसैले यसमा ‘उनीहरू भन्छन्, म भन्छु’को विधि प्रमुख रूपमा आउने गर्दछ । सान्दर्भिक उद्धरणहरूका आधारमा प्राप्तिगत अवधारणा र तथ्यपरक निष्कर्ष निर्माण हुने हुनाले यसको विशेष महत्त्व हुने गर्दछ । अनुसन्धानमा उद्धरणको प्रयोग प्रत्यक्ष कथन र अप्रत्यक्ष कथन गरी दुई प्रकारले गरिन्छ ।
प्रत्यक्ष कथनको उद्धरणमा छोटो कथन अंशलाई युगल उद्धरण (“ ”) चिह्नभित्र राखिन्छ । तीन हरफ वा ४० शब्दसम्मको उद्धरणलाई छोटो उद्धरण भन्ने गरिन्छ । यसलाई यसरी राखिन्छ—

प्रत्यक्ष कथनको प्रयोगका सम्बन्धमा पाण्डेय (२०७६) भन्छन्— “उद्धरण प्रस्तुत गर्दा त्यसको आयाम तीन पङ्क्तिसम्मको भए (वा चालिस शब्दसम्म) त्यसलाई मूल पाठको पेटभित्रै दोहोरो उद्धरण चिह्नभित्र राखिन्छ (पृ.९) ।”

उद्धरण तीन पङ्क्तिभन्दा माथिको वा चालिस शब्दभन्दा माथिको छ भने त्यसलाई अलग अनुच्छेदमा राखिन्छ । यो अन्य अनुच्छेदभन्दा ०.५ भित्र राख्ने गरिन्छ । यसरी राखिएको उद्धरणलाई उद्धरण चिह्नभित्र राख्नु पर्दैन ।

अप्रत्यक्ष कथनमा पनि उद्धरण राख्न सकिन्छ । यसरी राख्दा सन्दर्भ सामग्रीको मूल सारलाई खिचेर अनुसन्धानकर्ताले आफ्नो शैलीमा प्रस्तुत गर्ने गर्दछ । यसलाई पनि स्पष्ट सन्दर्भ दिएर नै उल्लेख गर्नुपर्छ । अन्य भाषाका उद्धरणहरू नेपाली भाषामा ल्याउँदा अप्रत्यक्ष कथनको प्रयोग राम्रो मानिन्छ तर यसमा गरिने भावानुवादमा लेखकीय आशय मर्नु हुँदैन ।

(ग) सन्दर्भ स्रोतको प्रयोगमा इमानदारी र भावहरणप्रति सचेतता
प्राज्ञिक लेखनमा अरूका सामग्रीहरूको प्रयोग गर्न पाइन्छ तर अरूको भनाइलाई आफ्नो बनाएर प्रस्तुत गर्न पाइँदैन । सन्दर्भ स्रोतको प्रयोगमा इमानदारी भएन भने त्यसलाई बौद्धिक चोरी भन्ने गरिन्छ । अनुसन्धानका सन्दर्भमा त्यस प्रकृतिको कार्यलाई भावहरण भनिन्छ । चूडामणि बन्धुले कसैका विचारलाई आफ्नो बनाएर प्रस्तुत गर्नु वा प्रयोग गर्नुलाई भावहरण (प्लेजियारिज्म) भनिन्छ भनी स्पष्ट उल्लेख गरेका छन् । त्यसैले पादटिप्पणीका रूपमा होस् वा गर्भे टिप्पणीका रूपमा होस् सन्दर्भसामग्रीको स्रोत खुलाएकै हुनुपर्छ । सन्दर्भ सामग्रीलाई उद्धरण गर्ने विभिन्न पद्धतिहरू छन् । वर्तमानमा APA (American Psychological Association) पद्धति र MLA (Modern Languge Association) पद्धति गरी दुईओटा पद्धतिहरू बढी प्रचलित छन् । यी दुवैमा उद्धरण प्रयोग भएकै ठाउँमा सन्दर्भ दिइन्छ । साहित्यको अनुसन्धानमा चाहिँ एमएलए (लेखक, मिति) पद्धतिको प्रयोगलाई राम्रो मानिन्छ । जुन पद्धतिको प्रयोग गरे पनि मूल लेखकको भावहरण नहोस् भन्ने कुरामा अनुसन्धाता सदैव सचेत रहनुपर्छ ।

(ङ) वस्तुपरक भाषाको प्रयोग
अनुसन्धानात्मक लेखको भाषा वस्तुपरक हुनुपर्छ । एउटै विषयप्रतिको अभिव्यक्ति सिर्जनात्मक लेखनमा, स्वतन्त्र समालोचनामा र अनुसन्धानमा फरक फरक हुने गर्दछ । सिर्जनात्मक लेखनको भाषा आलङ्कारिक हुन्छ, समालोचनाको भाषामा लेखकीय अभिमतले थोरै प्रवेश पाउन सक्छ तर अनुसन्धानको भाषा वस्तुता, सत्यता र प्रमाणमा आधारित हुन्छ । जस्तैः

आलङ्कारिक भाषा
सगरमाथा मेरो गौरव हो, स्वाभिमानी शिर हो अनि हो सर्वोच्च आस्थाको केन्द्र । यसको न हुन सक्छ मूल्याङ्कन, न त हुन सक्छ मापन नै ।

समालोचनात्मक भाषा
सगरमाथा विश्वको सबैभन्दा अग्लो हिमाल हो । यसलाई संसारले महत्त्वका साथ हेरेको छ । यसको उचाइ ८८४८.८६ मिटर रहेको छ ।

अनुसन्धानको भाषा
विश्वको सर्वोच्च शिखरलाई सगरमाथा भन्नुपर्छ (आचार्य, २०४९: पृष्ठ १५) । विश्वमा यसभन्दा अग्ला हिमालहरू अरू नहुनाले यो नेपालको गौरव मानिएको हो । अहिले सगरमाथाको उचाइ ८८४८.८६ रहेको छ (सेढाईं, २०७७: पृष्ठ ८) ।

प्रस्तुत साक्ष्यहरूलाई हेर्दा अनुसन्धानको भाषा तथ्यमा आधारित हुनुपर्ने निष्कर्ष निस्कन्छ । यसको भाषिक प्रयोग मानक र पदक्रम व्याकरणिक हुनुपर्छ । वाक्यहरू निश्चयार्थक हुनुपर्छ, प्रश्नार्थक वा इच्छार्थक हुनु हुँदैन । आत्मपरक लेखन अनुसन्धानका लागि घातक हुने गर्दछ । तटस्थ विश्लेषण र वस्तुतामा आधारित निष्कर्षण अनुसन्धानको भाषिक विशेषता हो । यसमा स्रष्टाका लागि उच्च आदरार्थी क्रियापदको प्रयोग नगरी मध्यम आदरार्थी क्रियापदको प्रयोग गर्नुपर्छ । साथै व्यक्तिका पद, उपाधि वा विशेषण (प्रा., डा., पण्डित, विशिष्ट साहित्यकार, प्रसिद्ध लेखक, प्रखर समालोचक आदि) को प्रयोग अनुसन्धानको भाषामा गरिँदैन । यसका साथै पुनरुक्ति, घुमाउरो भाषा, लामा वाक्य, आलङ्कारिक पदक्रम, आक्रोश वा लाञ्छनापूर्ण कथन आदिलाई अनुसन्धानको भाषामा प्रवेश हुन दिनु हुँदैन ।

६. अनुसन्धानात्मक लेखनका लागि आवश्यक चरणहरू
चरण १: अनुसन्धेय विषय र शीर्षक छनोट (यस चरणमा लेखकले अनुसन्धेय विषयवस्तुको छनोट गरी एउटा प्रभावकारी शीर्षक चयन गर्नुपर्छ ।)

चरण २: आवश्यक सामग्रीको सङ्कलन र व्यवस्थापन (यस चरणमा अनुसन्धेय विषयका लागि आवश्यक मूल सामग्री र सन्दर्भ सामग्रीको सङ्कलन गरी व्यवस्थापन गर्नुपर्छ ।)

चरण ३: गम्भीर पठन र टिपोट (यस चरणमा लेखकले मूल सामग्री र सन्दर्भ सामग्रीको गम्भीर पठन गरी बुँदागत रूपमा टिपोट गर्नुपर्छ ।)

चरण ४: सैद्धान्तिक अध्ययन र प्रविधि संयोजन (यस चरणमा टिपिएका बुँदाहरूलाई निर्धारित सिद्धान्त र अनुसन्धान प्रविधिअनुकूल बनाएर व्यवस्थापन गर्नुपर्छ ।)

चरण ५: अनुसन्धानात्मक लेखनको थालनी (यस चरणमा लेखकले सङ्कलित र व्यवस्थित सामग्रीका आधारमा निर्धारित ढाँचामा लेखनको थालनी गर्नुपर्छ ।)

चरण ६: सबै अङ्गको पूर्णतासहित खेस्रा लेखन (यस चरणमा लेखकले तोकिएको ढाँचामा अनुसन्धानात्मक लेखको खेस्रा रूप तयार गर्नुपर्छ ।)

चरण ७: पठन, परीक्षण, आवश्यक संशोधनसहित साफी लेखन (यस चरणमा खेस्रा रूपमा तयार भएको लेखलाई आफैँले पढेर, सत्य परीक्षण गरी केही दोषहरू भएमा संशोधन र परिमार्जन गरेर अन्तिम रूप दिनुपर्छ ।)

चरण ८: विज्ञसमीक्षित पत्रिकामा प्रकाशन (यस चरणमा पुगेपछि सुगठित र सुव्यवस्थित अनुसन्धानात्मक लेखलाई विज्ञसमीक्षित पत्रिकामा प्रकाशनका लागि पठाइन्छ ।)

७. निष्कर्ष
अनुसन्धानात्मक लेखन प्राविधिक, बौद्धिक एवम् प्राज्ञिक लेखन हो । यसका लागि स्रोत, साधन, समय र श्रम सबैको प्रयोग हुने गर्दछ । एउटा साधारण लेख लेख्नका लागि एक बसाइ काफी हुन्छ, एउटा स्वतन्त्र समालोचना गर्नका लागि एक हप्ताको समयले पुग्छ तर एउटा अनुसन्धानात्मक लेख लेख्नका लागि महिनौँ लाग्ने गर्दछ । अनुसन्धानको विश्वइतिहासलाई हेर्दा कतिपय विश्वप्रसिद्ध लेखक तथा अनुसन्धाताहरूको एउटा पनि कृति प्रकाशन भएको हुँदैन तर ती प्रसिद्ध विज्ञसमीक्षित पत्रिका पियर रिभ्यु जर्नल) हरूमा आफ्ना लेखहरू प्रकाशन गरेर विश्वसामु चिनिएका हुन्छन् । अनुसन्धानका क्षेत्रमा किताबलाई भन्दा अनुसन्धानात्मक लेखलाई महत्त्वका साथ हेर्ने गरिन्छ । विश्वमा कतिपय पत्रिकाहरू त्यस्ता पनि छन् जसमा एउटा अनुसन्धानात्मक लेख छपाउने सपना लेखकहरूको हुने गर्दछ । त्यसैले अनुसन्धानात्मक लेख सामान्य कुरा होइन । नेपाली परिवेशमा चाहिँ उल्लिखित सातओटा शीर्षकको साँचोमा हालिदिएपछि त्यो अनुसन्धानात्मक लेख भइहाल्छ भन्ने मनोविज्ञान विकसित हुँदै गएको देखिन्छ । यो अनुसन्धान क्षेत्रकै लागि सबैभन्दा ठुलो समस्या हो । यसले नेपाली अनुसन्धानमाथि नै प्रश्नचिह्न खडा गर्ने सम्भावना रहेको देखिन्छ । यस प्रकारका दोषबाट मुक्त गराउने हो भने नेपाली अनुसन्धानको क्षेत्र पनि निकै फराकिलो र गहिरो पनि बन्दै गएको देखिन्छ ।

क्रमशः अर्को हप्ता…

 

 

 

 

 

 

 

 

 

लेखक परिचय
प्रतिक्रिया
Loading...