३ वैशाख २०७७, (१५ अप्रिल २०२०)

आज अलिक ढिला उठेँ । त्यसो ता २ः३० मै ब्यूँझेको थिएँ । यो धेरै छिटो होला, दिउँसो धेरैपल्ट झकाउनु पर्ला भन्ठानेर फेरि सुतेँ । एक घण्टाको लागि मात्र सुताऊ है भनी यो मनलाई अह्राएँ तर यसले किन टेर्थ्यो, ४:२० मा मात्र ब्यूँझायो ।

अब चिसो हटिसक्यो । एउटा शर्ट भिरेँ कटनको, कालो मफ्लर भिरेँ, माथि पढ्ने टेबल पछिल्तिर दराजमा बसी-बसी ढल्केको बेला आँखा छोप्न चाहिन्छ, नत्र बिजुलीको उज्यालो सिधै ठोकिन्छ । त्यसैले यो बिहानभरि ओढदा ठिक्क हुन्छ । मफ्लर ओढ्ने कि भिर्ने कुन शब्द पो उपयुक्त हुन्छ म भन्न सक्तिनँ । एउटा पातलो सुरुवालमाथि सेतो लुङ्गी÷कछाड भिरेँ । अब गर्मी लाग्यो । फूलप्यान छोडिदिएँ । बस्नलाई यही सजिलो हुन्छ । म सधैँ बसेर घुँडा मारेर लेख्ने पढ्ने गर्छु । अन्तर्वार्तामा आइसक्यो मेरो २०४२ सालको यो टेबल सचित्र ।
अनि पुस्तकालयमा चढ्छु । बिजुली जगमा पानी बसालेर दंतमन्जनमा निहुरिन्छु, शेभिङ गर्छु । पानी उम्लिन्छ त्यसले सानो थर्मस भर्छु अनि एउटा आधामाने टम्बलर मखमा पानी भर्छु । यो चिनियाँ मख छ, रातो समाउने ह्याण्डलसँगको मलाई बिना छोरीको उपहार, नित्य सम्झन्छु । छोरीले कति पहिले तातोपानीदेखि ल्याइदिएकी, ऋचा-सेवाले दिएका भिन्नभिन्न कपहरू छन् तर ती शोपीसझैँ सजाएर राखेको छु शोकेशमा; कुनै त बुक र्‍याकमा पनि छन् । कोरियन मित्र पार्कले दिएका छन्, विश्वविद्यालय(हरू) ले दिएका छन्, ग्रीसदेखि मन परेर ल्याएका, रुसका कृष्णप्रकाश श्रेष्ठले दिएका शोभनिर छन्, ती स्थिर सजावटका माल छन् । कप प्लेट विशेष र यस्तै सर्दाम । ती ता बैठकमा छन्, हामीले विभिन्न स्थानबाट ल्याएका कुरा ।

अनि अकिलति चियाजस्तो खोष्टे धूलो उघाएँ । आयुर्वेदिक दबाइ दोकानमा पाइन्न त्यस्तो धूलो । मेरो एक प्लाष्टिके बट्टामा सुरक्षित छ, सानो चम्चा अञ्जनाले ठीक पारिदिएको त्यो पनि साथै हुन्छ । अब एक कप भरी खन्याएर टेबलमा राख्छु । यो धूलो पनि दिव्य पेय नामको माल्दाइले दमक जाँदा दिनुभएको उपहार, छ महीना पुग्छ होला । त्यसपछि काममा बस्छु ।

आज बसेर पहिले मोबाइल चार्जमा राखेँ, सँगै चाहिन्छ यो साधन । कसरी जिरोमा झरेछ राति नै मुटुको धड्कन झरेको सम्झेँ ! अनि एउटा फोन गरेँ निकै व्यग्रतासँग हङकङका राजकुमार राईलाई । यसो हिसाब गरेँ, यसबेला ता उता ७–८ कति बजिसक्यो होला । यता माधवसर सम्पादित जगदम्बा वृहत् नेपाली साहित्यको इतिहास (जनेवृइ) को अन्तिम तयारी चल्दैछ । हङकङ खण्डको केही सामग्री त जोडेँ साथीभाइको तर यसको अपडेट बाँकी छ। राजकुमारले नेपाली साहित्यमा निकै ठूलो योगदान पुर्‍याएका छन् र अरु सहयोगको लागि बात मार्न खोजेको थिएँ । फोन उठेन । एकैछिनमा मेसेज आयो— सर नमस्कार म जबमा छु, बेलुकी ८ बजे सम्पर्क गर्नेछु ।

मैले प्रत्युत्तर लेखेँ— हओस् राजकुमारजी, नमस्कार छ, म प्रतीक्षा गर्नेछु ।

त्यतिबेरसम्म एक मग दबाइ पानी पिइसकेँ र अर्को भरेँ । हिजोको दैनिकी लेखिसकेँ— एउटा ठूलो डायरीमा । यो डायरी हो ३१ लाइनको ठूलो रोयल साइजको हार्ड कभरवाल एकता बुक्सको । विगत एक दशकदेखि म यसैमा (यसैमा) दैनिकी लेख्दैछु ।

छापिएको ता छैन, पछिको लागि काम लाग्ला एक इतिहास बन्ला भन्ने मनमा लाग्छ । त्यसैले मैले दमकमा एक निजी संग्रहालय बनाउने योजना गरेको छु । यो हाम्रो कुल परिवारकै गौरव स्तम्भ हुनेछ । त्यो कुरो चाहिँ सार्वजनिक भयो, काम मात्रै बाँकी छ ।

यतिखेर मलाई कोरोना व्याधिको आजको स्थिति चित्र उल्लेख गर्न मन लागेको छ । यसमा अरु कष्ट छैन, गुगलमा गै आजका कोरोनाको लाइभ अपडेट माग्ने मात्र हो । उसले जानकारी खन्याउँछ । आज सामान्य कुरा भए पनि भोलि महत्वको हुनसक्छ, त्यसैले म यस्तरी लेख्तै छु ।

यो सबै तथ्याङ्क राख्नु सम्भव छैन, न आवश्यक । प्रत्येक दिन रातको १२ बजे बदलिने कुरा तर विश्व स्वास्थ्य संगठन कति व्यापक र कत्रो भएछ अनि यसले विश्वकै जनसंख्यालाई आफ्नो जिम्मा सम्झेर कत्रो सञ्जाल फैलाई सेवा दिइरहेको रहेछ । संकटको बेला थाहा हुन्छ । यसको मूल तथ्याङ्क यस प्रकार छः

विश्वभरिका कुल बिमार केश— १९ लाख ९७ हजार
कुल मृत्यु— १ लाख १७ हजार
निको भएका — ४ लाख ७८ हजार
बिरामी— १३ लाख

त्यसमा समग्र केशलाई प्रत्येक देशअनुसार बाँडेर त्यसका अरु पक्षबाट समेत विश्लेषण गरेर प्रस्तुत गरिएको छ । मुख्य चार्टमा ता धेरै कुरा छन्— देशको नाम, कुल केश, नयाँ थपिएका केश, कुल मृत्यु, कुल निको भएका, सक्रिय केश, सिरियस केश, प्रति दशलाखमा त्यसको प्रतिशत, दश लाखमा मृत्यु प्रतिशत, कुल परीक्षण संख्या आदि ।

यो एक गम्भीर अध्येतालाई अर्थात्, विषय विज्ञलाई काम लाग्ने कुरा हो । त्यसमा पनि यो गति स्थिर भएपछिको चित्र हेर्दा सबै थाहा हुनेछ । आज यहाँ म क्रमशः प्रभावित मुलुकको नाममा केही तथ्य प्रस्तुत गर्न चाहन्छु । प्रत्येक देशमा भएका बिरामी केश कति पुगे त्यो आधारमा क्रम तोकिएको पाइन्छ । पहिलो क्रम रोल नं. १ मा छ महाशक्ति अमेरिका, जहाँ ६ लाख केश पुगेछन् । संसारका कुल १९ लाखमा एक तिहाइ अमेरिकाको भागमा परेछन् । यत्रो महाशक्तिलाई के भयो ? शासकको मुढाग्रहले भन्छन् कोही, कोही खुला प्रजातन्त्रले । यसको निर्णय समयले गर्ला ।

चीनबाट आरम्भ भएको कष्टको ठूलो भार आज अमेरिकामा परेको देखिन्छ भने ४०७ वटा अरु देश क्रमशः इटालीदेखि फ्रान्स, जर्मनी, बेलायत , चाइना, इरान, टर्की, बेल्जियम, निदरल्याण्ड, क्यानडा, स्विटजर्लेण्ड, ब्राजिल, रसिया, पोर्तुगल अष्ट्रिया, इजरायल, इण्डिया, आयरलेन्ड, स्वीडेन, दक्षिण कोरिया, पेरु, चिली, जापान, इक्वेडर, पोल्याड, रोमानिया, नर्वे, डेन्मार्क, अष्ट्रेलिया, चेकिया, पाकिस्तान, साउदी अरब, फिलिपिन्स, मेक्सिको, मलेसिया, युएइ, इण्डोनेशिया, सर्विया, पानामा, कतार, युक्रेन, लग्जम्बर्ग, डोमिनिकन रिपब्लिक, बेलारुस, सिङ्गापुर, फिन्ल्याण्ड, कोलम्बिया, थाइल्यण्ड, साउथ अफ्रिका, इजिप्ट, अर्जेन्टिना, ग्रीस, अल्जेरिया, मल्दोभा, मोरक्को, आइसल्याण्ड, क्रोएसिया, बहराइन, हङ्गेरी, इरान, एण्टोनिया, न्यूजिल्याण्ड, कुवेत, पाकिस्तान, श्लोभेनिया, अजरबैजान, उज्बेकिस्तान, बोस्निया एण्ड हर्जगोविना, लिथुआनिया, आर्मेनिया, हङकङ, बंगलादेश, नर्थ मेसिडोनिया, क्यामरोन, स्लोभाकिया, ओमन, क्युवा, ट्युनिसिया, अफगानिस्तान, बल्गेरीया, डाइमण्ड प्रिन्सेस, साइप्रस, एण्डोरा, लातभिया, लेबनोन, आइभोरी कोष्ट, घाना, कोष्टारिका, नाइजर पुर्किना फासो, उरुग्वे, अल्बानिया, च्यानेल आइल्याण्डस, किर्गिस्तान, होण्डुरस, जोर्डन, ताइवान, माल्टा रियुनिअन, नाइजेरिया, सा मारिनो, जिबुती, गिनी, बोलिभिया, मरिसस, प्यालेष्टाइन, जोर्डिया, सेनेगल, भिएतनाम, आइल अव् म्यान, श्रीलङ्का, मेयोत, केन्या, भेनेजुएला, फ्यारो फ्रान्स आइल्याण्डस्, ग्वाटेमाला, पारागुए, मन्टिनिग्रो, एल साल्भाडोर, ग्लाडेलोप माली, बु्रनेइ, रुवाण्डा, जिब्राल्टर क्याम्बोडिया, त्रिनिदाड एण्ड ट्रोबागो, म्याडगास्कर, जमैका, मोकाको, अरुबा, गिनिया, इथियोपिया, टोबो, कङ्गो, बार्बाडोस, म्यान्मार, सोमालिया, लाइबेरिया, बर्मुडा, गेबन, फ्रेन्च पोलिनेसिया, युगान्डा, केमन आइल्याण्डस् तान्जानिया, सिन्ट महार्टेन, बाहामाज, गुयाना, जाम्बिया, मकाना, गिनी बिसाऊ, इक्वेटोरियल गिनी, हाइटी, बुनिन, लिबिया इरिट्रिया, सुडान, सेन्ट मार्टिन, मंगोलिया, रिया, मोजाम्बिक, आन्टिगुआ एण्ड बर्बुडा, चाउ, माल्दिभ्स, अंगोला, लाओस्, बेलिज, न्यू क्यालोडोनिया, जिम्बावे, मलावी, नेपाल, डोमिनिक, फिजी, नाम्बिया, सेन्ट लुसिया, एस्वातिनी, ग्रिनाडा, सेन्ट किटस् एण्ड नभिस बोत्स्वाना, सेन्ट भिन्सेन्ट क्रानाडाइन्ज्, क्याबो भर्डे, फाकल्याण्ड आइल्याण्ड, ग्रीनल्याण्ड मन्तेसेरात, सिकेलास, सेरा लिओन, सुरिनाम , टक्र्स एण्ड काइकोस, गाम्विया, निकारागुआ, भ्याटिकन सिटी, मोरिट्यानिया, सेन्ट बाथ, टिमोर–लेष्टे, पश्चिमी सहारा, बुरुण्डी, भुटान, साओटोम एण्ड प्रिन्सिपे अङ्गिला, ब्रिटिश भर्जिन आइल्यण्डस्, क्यारिविअन निदरल्याण्डस्, पपुआ न्यू गिनी, सेन्ट पियरे मिक्वेलोन, येमन सम्मका छन् ।

अन्त्यको येमनमा एकजना मात्र यस बिमारले छोएको व्यक्ति भेटिएको रहेछ ।

तर आसन्न त्रास सर्वत्र व्याप्त छ । धेरैले यो त्रास भोगिसकेका, त्यसको बीचैमा परेकाहरू पनि छन कति ! साहित्यले कसरी हेर्दैछ ती संवेदनाका कुरालाई भन्ने लाग्यो र खोज्दै गएँ । एउटा साइट फेला पर्‍यो, पोएट्री इन टाइम अफ कोरोना (कोरोनाको समयमा कविता) तर यो नाम यसै राखिएको होइन रहेछ; यो गाब्रिअल गार्सिया मार्केजको एउटा विश्वप्रसिद्ध उपन्यास निस्केको थियो लभ इन द टाइम अफ कलेरा (हैजाको महामारीमा प्रेम) । पहिले यो स्पेनी भाषामा प्रकाशित भयो सन् १९८५ मा; तीन वर्षपछि त अंग्रेजी अनुवाद आयो, सन् १९८८ मा तत्कालै सन् २००७ मा त्यसको मूभी पनि बन्यो । (यो उपन्यास ता मैले अघि सन् २००८ मा बेलायतमै किनेर पढदै घर फिरेको थिएँ) । यो एक असफल प्रेम–कथाको उपन्यास हो । कलेरासित धेरै सम्बन्ध छैन ।

यसरी म त्यो साइट खोलेर पढ्दै थिएँ । त्यसमा यस्ता संकट र कविता बीचको गहिरो सम्बन्ध देखाउने एउटा लेख पढेँ । यसले पाठकको मनमा यो कुरा बुझाएको छः यस्तो बढिरहेको भयातङ्क र अनिश्चितता अकासिएको बेला रोगनिवारक रुपकको रुपमा प्रयोग गरिने अनि मनलाई सुदृढ पार्ने शक्तिको लागि कविताबाहेक अरु कुनै शक्ति (दबाइ) नखोज्नुहोस् । कविता नै जीवन बचाउने औषधी गोली हो जसलाई एक्लै आइसोलेशनमा ग्रहण गर्नाले उपचारको निदानात्मक शक्ति प्राप्त हुन्छ ।

संकटले नै कविता जन्माउँछ । माथिको दृष्टान्तमा हेर्दा हुन्छ । अहिलेका सारा साइबर संजालहरू लकडाउन कविताले भरिएका छन् । यस्तो समयमा कविबाट सिर्जनात्मक निशान (चिन्ह) को अपेक्षा गरिन्छ । जसले वेदनाबाट मर्महरू उत्पादन गर्दछन्, उनीहरू बाँध भत्काएर बग्ने नदी हुन् । यो एकान्तको क्वारान्टाइनले यस्ता कविताको बाढी खोलिदिएको छ ।

यसै क्रममा अलेक्सले रचेको पवित्र समाधि शीर्षक कवितामा सामयिक शक्ति देखेर त्यसको अनुवाद गर्न बसेँ । कविता छोटो छ तर यसमा हालै एक अनाम देशको पर्वतफेदी, नहर जस्तो खोली बनाएर त्यसमा शव खन्याउँदै पुर्र्दै गरेको दृश्यको सम्झना सन्दर्भ आउँछ ।

पवित्र समाधि (Hallowed Graves)

—अलेक्स

म यतिखेर समाधिस्थलमा आइपुगेको छु
सिङ्गमर्मरले निर्मित एउटा आँगन
छुँदा नि ढुङ्गा एउटा शिसिरको
कुनै रात झैँ चिसा छन्
जसमा खोपिएका नामहरु प्रभातको
कुइरोसरि धुमिल छन्
जसले सारा सत्यलाई
अपरिचित आँखाबाट लुकाइदिन्छ
मेरा वरिपरि पातहरू फन्फनी उड्दैछन् ।

कुनै नृत्यको एक सङ्गीत दोहो¥याइएझैँ
म यो शान्ति बीच कतै हराउँछु
कहिल्यै स्वागत नगरिएको, कहिल्यै भुल्न नसकिएको
यहीँ भित्र एक स्मृति र एक प्रतिज्ञा छन्
एक प्रतिज्ञा जसलाई म पूरा गर्ने छु
कहिल्यै साथ नछोडी
त्यो दिन पनि आज जस्तै चिसो होला ?
भर्खर खनिएको चिहानझैँ रिक्त होला ?
तिमीहरूलाई कसले पुर्ला ?