अमृता प्रीतम, साहिर लुधियानवी र इमरोजको त्रिकोणात्मक प्रेम आधुनिक अलिखित प्रेमकथा हो । अमृता प्रीतम र साहिर लुधियानवी एक अर्कालाई निःस्वार्थ प्रेम गरे । अमृता साहिरले धुम्रपान गरेर छोडेका ढुटा चुरोट बटुलेर पिउँथिन् भने साहिर अमृताले पिएको जुठो कफी कप सम्हालेर स्मृतिमा राखिरहन्थे । उनीहरूको प्रेममा मिलन भएन । यसै सिलसिलामा अमृतालाई बेपरवाह प्रेम गर्ने अर्को पात्र आयो, चित्रकार इमरोज । अमृता र इमरोज ४० वर्षसँगै लिभ इन टुगेदर सम्बन्धमा रहे । अमृतालाई निःस्वार्थ प्रेम गरिरहे । इमरोजले चित्र कोर्दाकोर्दै अमृताको लागि शब्द चित्र पनि कोरे । उनले लेखेका केही टुक्रा कवितालाई अमृताले आफ्नो कृति “खतोँका सफरनामा” मा संग्रहित गरिन् । आज अनुवाद साहित्यको स्तम्भमा उनै इमरोजले अमृता प्रीतमलाई दिएको शाब्दिक उपहार प्रस्तुत छः

उनी जबजब भेटिन्छिन्
उनमा एउटा अलिखित कविता देख्छु
धेरै चोटि यस कवितालाई लिखित बनाउन खोजेँ
तर अलिखित नै रहन्छ !

*****

तिमी मेरो समाज
म तिम्रो समाज
यो भन्दा पर
छैन कुनै अर्को समाज ।

****

पाइलालाई स्वतन्त्र छाडिदियौ भने
धर्ती तिम्रै हो

पखेटालाई स्वतन्त्र बनाइदियौ भने
आकाश तिम्रै हो ।

******

न कसैसँगको संवादमा कुरा मिल्यो
न सहयात्रीसँगको यात्राले गन्तव्य पुगियो
न कसैसँग साथमै निदाएर जागेँ

तर जब उनी भेटिइन्

मलाई हेरिन् उनले
थाहा छैन, के हेरिन्
मैले हेरेँ उनलाई
थाहा छैन, के हेरेँ

संवादबिना नै समझदारी बढ्यो
यात्राबिना नै गन्तव्यमा पुगियो
हामीसँगै निदाएनौँ तर सँगै जाग्यौँ ।

***
म रङहरूसँग खेल्छु
रङहरू मसँग खेल्छ्न्

रङसँग खेल्दाखेल्दै
म पनि रङ बनिदिन्छु
सिर्जित हुने नहुने चिन्ताबाट मुक्त भएर
बेप्रवाह खेल्छु ।

म रङहरूसँग खेल्छु
रङहरू मसँग खेल्छन् ।

***
कोरा कागज सफा मन जस्तै हुन्छ
जसमा लेख्न सकिन्छ
आफ्नो हंस
कसैको अंश ।

अनुवाद : जनक कार्की