कवि पूनम अरोडाको परिचय
कवि पूनम अरोडाको जन्म २६ नवम्बर १९७९ मा हरियाणाको फरीदाबादमा भएको हो । उनले इतिहास र मास कम्युनिकेसन तथा हिन्दी विषयमा स्नातकोत्तर उपाधि हासिल गरेकी छिन् । उनका दुई कथा सङ्ग्रह ‘आदि संगीत’ र ‘एक नूर से सब जग उपजे’ लाई हरियाणा साहित्य अकादमीको युवा लेखन पुरस्कार प्रदान गरिएको छ । २०१६ मा प्रकाशित ‘नवम्बर की नीली रातें’ पनि उनको पुरस्कृत कृति हो । पूनमले कथा, कवितालाई सङ्गीतबद्ध गरेर आफ्नै आवाजमा केही रेडियो कार्यक्रमहरू पनि बनाएकी छिन् । उनका कविता, कथा र आलेखहरूको प्रकाशन समास, अकार, हंस, नया ज्ञानोदय, पूर्वग्रह, कथादेश, पाखी, कथाक्रम, अहा ज़िंदगी, परिकथा आदि पत्रिकाहरूमा भइसकेका छन् । रजा फाउन्डेसन तथा वाणी प्रकाशनबाट उनका काव्य सङ्ग्रहहरू प्रकाशनाधीन छन् । मिहीन मानवीय अनुभूतिहरूलाई उच्च काव्यिक कलाका साथ प्रस्तुत गर्ने पूनमका कवितामा कथ्य र कलाको सुन्दरतम नमुना पाउन सकिन्छ । उनका कविताहरू सरलता र जटिलताको दोसाँधमा लेखिए जस्ता देखिन्छन् । भाषान्तर कविताको ५१ औँ शृङ्खलामा कवि पूनम अरोडाका १५ कविताहरूको अनुवाद प्रस्तुत गरिएको छ ।
१. झरी पर्नुको अर्थ
(बारिश होने का अर्थ)
पूनम अरोडा
तृष्णा सधैँ अपरिभाषित रह्यो तिम्रा लागि
मानौँ तिमी आफै एक अनन्त तृष्णा हौ
अनि जब जब तिमीले भन्यौ “एउटा झरी हो तृष्णा”
ठिक त्यसै बेला अबोध भए मेरा आँखाहरू
नितान्त निरीह
म स्त्री हुनुको सतहमा
तिम्रा कैयौँ खण्डित आकृतिहरू सपना जसरी छरिएका छन्
तिनलाई मानवीय बन्नै दिँदैनन् मेरा छटपटीहरू
र तीक्ष्ण अनुभूतिहरू परिहास गर्छन् तिनीहरूमाथि
म सङ्केतहरूमा आफ्नो उमेरको उपस्थितिको पुनर्रचना गर्दै छु
बचाउँदै हुनु र नहुनुको सौम्यतालाई
र तिमी आफ्नो प्रतिष्ठामा
कुनै प्राचीन ऐनाको रुन्चे आवाज हौ
शान्त
परित्यक्त
र उपेक्षित
हाम्रो मौनताको निद्राले कैयौँ मध्याह्नहरू
असरल्ल हुनुको सीमान्त भएर बिताएका छन्
बिना कुनै व्यवधान
आफ्नै दोहोरो कायाका नवजात शिशुहरूलाई एक साथ पालनपोषण गर्यौँ हामीले
त्यसै दोहोरो कायाबाट
आफ्ना सूक्ष्म छायाहरू निर्माण गर्यौँ हामीले
र अनेक रङमा एकअर्काका नग्न कायाहरूलाई चुम्यौँ
मानौँ चुम्नु पनि आकाश हो
मानौँ चुम्नु पनि सन्त हुनु हो
मानौँ चुम्नु पनि निद्राको मृत्यु हो
मेरो निलो रङमा
अझै पनि एउटा मयूरको प्वाँख अपरिचित छ तिम्रो तृष्णादेखि
अझै थाहा छैन उसलाई झरी पर्नुको अर्थ ।
SSS
२. चरित्र
पूनम अरोड़ा
डराउने गर्छु यो सोचेर-
तिमी चिरयौवन रहने छौ प्रेममा
वा तिम्रा सर्प जस्ता कविताहरू
चिरपरिचित तीनओटा रेखाहरूभन्दा पर
देखिन्छ जब एउटा अर्को स्वयम्भू रेखा तिम्रो निधारमा
त्यसै निधारमा जसमा चुमेका होलान् तिम्रा कैयौँ प्रेमिकाहरूले
कहिले प्रेममा
स्वीकृत अनुरोधमा
अथवा केवल मेटाउन आइतबारको बिदाको थकाइ
त्यस बेला तिमीले अवश्य चिम्ल्यौ होला आफ्ना तारामण्डल आँखा
र रच्यौ होला त्यसमा कैयौँ अभिमानी असम्भव कथाहरू
एउटा पात्र बनाइदियौ होला तिमीले
आफ्ना हरेक प्रेमिकालाई कवितामा
तिनका उन्नत वक्षस्थलमा लेख्यौ होला आफ्नो संविधान
कुनै कथासूत्र बाँधेर उनीहरूका कमजोर औँलाहरूमा
निर्वासित गर्यौ होला तिनलाई स्थापन गर्नुअघि नै
तिमी बिम्ब रचना गर्छौ आफैले कल्पना गरेका चरित्रमा
अनि कठोर प्रहार गर्छौ तिनीहरूमाथि आफ्नो सृजनले
यति न घोट्छौ उसलाई
एक दिन त्यो गाडिन्छ तिम्रै आँखामा
के यसलाई तिम्रो अल्लारे मृत्यु भनियोस्
वा मात्र एक ध्वनि मेरो कल्पनाको
यसरी
तिमी पनि एउटा चरित्र बन्न गयौ मेरो कवितामा
र अब म रचना गर्छु एउटा षड्यन्त्र
हुने छ इतिहास त्यसको साक्षी ।
SSS
३. अर्थहीन कल्पनाहरूको मोह
(अर्थहीन कल्पनाओं के मोह)
पूनम अरोड़ा
नभएपछि मसँग अदृश्य हावालाई रोक्ने कुनै उपाय
मैले भनेँ त्यसलाई-
आऊ
हावा
हेर मेरो पिङ
र मेरो मुण्डन गर्दा काटिएको कपाल त्यहीँ राखिएको छ कुनामा
बाँधेर पानका पातहरूमा
म निरन्तरता दिन्थेँ आफ्नो संवादलाई
त्यसअघि नै
तीव्र हावाको एउटा झोक्काले उडाई लग्यो मेरो डराएको आत्मा
मेरा ओठहरूमा
पछिल्लो संवादको मसिनो तरङ्ग भर्खरै बन्दै थियो
मोक्षको निराशाले ठिक त्यसै बेला
मेरो शरीरका तप्त वक्षहरूलाई हत्केलाले समात्यो
काल्पनिक नृत्यको कुनै गूढ प्रश्नमा अल्झिएको
हावाको सुन्दर हातमा जोडी ढुकुर जस्ता मेरा वक्ष
अब रुनुपर्छ तिमीले
भन्यो हावाले मसित
र काटिदियो मेरो कोमल कपाल
हाँसिदिएँ म
मैले सोचेँ सायद म बच्न सक्छु आगोबाट
तर त्यहाँ पनि त थियो तिम्रो स्मृति
र मेरो हाँसो पनि
आगोको त्यसै ज्वालामा
कति माथिसम्म पुग्थ्यो मेरो हाँसो
अनगिन्ती र अर्थहीन कल्पनाहरूको मोहमा आफैलाई तिरस्कार गर्दै गएँ म
किनकि थाहा थियो मलाई-
वास्तविक कला एक मृत्यु हो
प्रेमको त्यो कुमारी आभा जस्तै
जसलाई सपनामा छुनु समेत घृणित छ
यो सबै एउटा पागलपन जस्तै हो
र अन्धकारको उपस्थिति मेरा लागि
ब्ल्याक होल बन्दै गइरहेछ
म यो अँध्यारोमा
उमर खैयामको मोहभङ्ग ओढन चाहन्छु
र बन्न चाहन्छु- एउटा गजल ।
SSS
४. बीज
पूनम अरोड़ा
तिमी भन्छौ मैले तिमीलाई मांसाहारी बनाएँ ।
मलाई लाग्यो- मैले त मात्र आफैलाई सुम्पिदिएकी हुँ तिमीसमक्ष ।
तिमी जिब्रोले भोगेको आनन्द थियौ ।
म सन्तुलनको तर्पणको पानी ।
हामी आफ्नै सपनाका बीज थियौँ ।
SSS
५. स्वस्तिक चिह्न
पूनम अरोड़ा
तिमीलाई विचित्र एकान्तमा चुम्नु थियो आफ्ना पुर्खाका आँखाहरू
तिमीले चुम्यौ मेरो पिठ्युँको कोठी
मलाई यो तिम्रो असभ्य क्रूरता लाग्यो
तिमीले आफ्नो अस्तित्वभन्दा बाहिरको लडाइँमा दृष्टि दिनु थियो कुनै दृष्टिहीनलाई
तिमीले घोर निराशाले ग्रस्त
आफ्नो प्रेम दिनका लागि मलाई रोज्यौ
शरीरहीन सभ्यतामा तिम्रो नाम एउटा ठट्टा हो
निरोका गल्तीहरूले लोभ्याइरहे तिमीलाई
इतिहास पढ्ने होडबाजीमा
निमीले निरन्तर आफ्ना पैतालामुनि कुल्चिरह्यौ प्रेम कविताहरू
शरद् ऋतुको आरम्भमा तिम्रो मुखबाट निस्केको रगत
युगौँदेखि बोल्दै आइरहको छ तानासाहको भाषा
स्वच्छन्द सुनामी जसरी तिमी
कति थोक समेट्न चाहन्छौ आफूमा
अझै जीवित राखेको छ तिम्रो कलङ्कलाई
स्वस्तिक चिह्नले
मृत संसार हो यो
र चर्चका घन्टीहरू सधैँ बजिरहन्छन् हावाका लहरहरूमा
तिमीलाई चाहिएको छ सान्त्वना
र म विभाजन गर्न चाहन्छु तिमीलाई दुई टुक्रामा ।
SSS
६. फूल
पूनम अरोड़ा
स्पर्श
चुम्बन
आलिङ्गन
दैहिक समागम
यस्तो केही पाउने छौनौ तिमीले मेरो प्रेममा
बरु दिन सक्छु एउटा फूल
बुद्धको चेतनाबाट लिएकी थिएँ एक दिन
के लिन सक्छौ तिमी ?
SSS
७. ऊँट
(ऊंट)
पूनम अरोड़ा
हिजो राति मारियो त्यो कलिलो ऊँट
जो बाचुन्जेल
कसैले सुन्न पाएनन् त्यसको घुँगुरा जस्तो कोमल आवाज
ऊ जोगिएको थियो
ती नाराहरूको दन्कँदो आगोबाट
जसको बलौटे प्रशंसा प्रकाशहीन थियो
जुन जिब्राहरू उसको कन्दमूल जस्तो मासु
आफ्ना संवेदी तन्द्रामा
चाख्न पाउने बाटो खोजिरहेका थिए
त्यो एउटा सहज आनन्द त कदापि थिएन
त्यहाँ महिलाहरूको भिडमा
आफ्नो पुर्ख्यौली जाँतोको छेउमा
रुँदै थिएँ म सबैभन्दा पछाडि उभिएर
यसकारण हैन- अब उत्सव हुने छ एउटा आनन्दको
यसकारण पनि हैन-
जब खस्रा दाउराहरूले डढेर
त्यागिरहेका हुने छन् आफ्नो अस्तित्व
मानिसहरू मादक नृत्य गरिरहेका हुने छन् उसका चारैतिर
टेबुलहरूमा ओच्छिने छन् हातले बुनिएका टेबुलपोस
र सजाइने छ व्यञ्जनहरूसँगै जौको रक्सी
बरु यसकारण किनकि बढिरहेको प्रकाशमा
कसैले देखेको थिएन त्यस दिन पोथी ऊँट संसर्गरत रहेको
न त देख्यो कसैले
उसको तातो शरीरको गर्भभित्र एउटा तारा छरिएको छ ।
SSS
८. चमेलीको अबोध सुगन्ध
(यासमीन की अबोध ख़ुशबू)
पूनम अरोड़ा
पूरै सहर भरिएको छ
चमेलीको अबोध सुगन्धले
केटीका खुट्टा शुभेच्छाको ठिहिर्याउने ज्वालालाई
बिस्तारै राखेर आउँछन् एक कुनामा
यो कुना संसार विघटनको हात पनि हो
जहाँबाट लिन सकिन्छ सहमति
आफैलाई समेट्ने
केटी आफ्नो कुनै एउटा इच्छालाई
त्यसै कुनामा राखिएको पानीमा उमारेर आउँछे
मृतात्माहरू आएर सर्वप्रथम
त्यसै पानीमा छोडेर जान्छन्
आफ्ना उदास आँखाको छाया
र लाटोकोसेराहरू अबेरसम्म हेरचाहा गर्छन्
प्रार्थनाहरू एक स्वरमा
असङ्ख्य भँमराहरू झैँ गुन्गुनाउँदै
यति विराट् बन्दै छन् कि तिनको स्रोत नै हराउँदै छ
रसाइरहेका प्रार्थनाहरूमा
कामनाको एउटा बालक जन्म लिन्छ सायद
दिन बितिसकेपछि
रात आफ्ना योजनाका सेता शब्दहरूमा
केटीका पिठ्युँमा धर्साहरू बनाइरहन्छ
सुतिरहेकी ऊ चमेलीका फूलको सपना देख्छे
कोल्टे फर्किन्छे
यो उपक्रम हो उसको श्वासप्रश्वासको
कुनै दृश्य होइन ।
SSS
९. हरियो मौनता
(हरी मौन)
पूनम अरोड़ा
उनीहरू संवाद चाहँदैनन्
भिक्षा पनि हैन
न आफूलाई समावेश गर्छन् कुनै जोड-घटाउमा
यो ठिक त्यही समय हो
जब पीडाहरूबाट ओर्लेर आउँछ एउटा सेतो सीमाहीन ढोका निधारमा
यो त्यो समय पनि हो
जब पठाएका थियौ तिमीले रवीन्द्र सङ्गीत खामभित्र प्रेमपत्र जसरी
अलच्छिनी कागहरू विस्मय गर्दैनन्
न गहिरिँदै आवेगको आगोमा रापिएका कोइलीहरू शोक मनाउँछन्
हेर, कति शीतल छ सबै
द्वेष छैन न त शाप
पानीका विकारहरू जमेका छन् आफ्नै सतहमा
मौन माटोले ढाकेको छ चिसो याममा उदास प्रेमीहरूलाई
तित्राहरू त्यसै बेला फर्कन्छन् घर जङ्गलबाट
कुनै गोरेटो ठिक त्यसै बेला स्थिर हुन्छ परेलाहरूमा
ओझेल पर्न आतुर छ सूर्यबिम्ब
पुलतीहरू निधारमा नृत्य गर्दछन्
आखेट हो सबै
कसले कसलाई कति हिंसापूर्वक प्रेम गर्छ
यो थाहा पाउनु छ भने माछा बन्नुपर्छ एउटा धैर्यको
धारण गर्नुपर्छ एक दृढ सङ्कल्प
यो केवल प्रेमीहरूको कुरा हैन
ज्वरो र प्रकाशको कुरा हो
जसमा हिँड्दै गर्दा मान्छेहरू देख्छन् मूर्च्छामा प्रार्थना गरिरहेका पूर्वजहरू
उनीहरू सुतेका छन्
आक्षेप र मर्यादाका बिच
त्यागिदिएका छन् तिनले आफ्नो भार
प्रश्नहरूको छेउ
हरियो मौनतामा ।
SSS
१०. स्वप्न लीला
पूनम अरोड़ा
मासु र हाडभित्रको मासीमा
बिस्तारै पौडन्छ एउटा पुतली
केही बेर विश्राम गर्छ तिघ्राको बलियो स्वाधिष्ठान चक्रमा
औँलाका जोर्नीहरूले सोसेर लिन्छन् सम्पूर्ण जीवन
विषको सत्यापनलाई कसरी अस्वीकार गर्न सक्छौ तिमी पुतली ?
एउटा रुखले सधैं आँखामा पानी लुकाएको हुन्छ
त्यसको मिठो फलसँग त्यस्तै व्यवहार गर
जसरी एउटा पोथी माछाले गर्छ पानीका तरङ्गहरूसँग
जसरी उज्ज्वल लाभाहरू तितरबितर हुन्छन्
सागरमा आफू ठोस भएको प्रमाण खोज्न
रोकिदेऊ हावालाई
उतापट्टिबाट
र यतापट्टिबाट पनि
कहाँ छ तिम्रो हृदय तिमीभित्र
कहाँ छन् त्यसका भग्न टुक्राटाक्री
तीव्र पीडा छ सङ्कल्पमा
पीडामा पहेँला थोपाहरू छन् करुणाका
के गरूँ घुँडासम्म आएका यी केशराशिलाई
प्रतीक्षाका साक्षी होइनन् यी
चिन्दैनन् यिनले त्यो निश्वासलाई
जसको सीमा नाघेर जान्छ मेरा दुखहरूलाई
पुतली
मसँगै बस्ने गर
मेरो अनन्त निकै सानो टुक्रा हो समयको
यतै बस हृदयमा आफ्नो हलुकोपनका साथ
जसरी बाँडिन्छन् हृदयका सात रङ प्रेमीहरूमा
जसरी बन्छ कुनै सङ्कल्प हाम्रो स्वप्न लीलामा
त्यसै गरी
पर्खिने गर केही बेर
यो उपस्थितिलाई मैले लिएकी छु- तिमी हुनुको अर्थमा ।
SSS
११. दराज
(अलमारी)
पूनम अरोड़ा
हामीले हाम्रै कोठामा जन्मायौँ बिस्तारै बिर्सने बानीलाई
र त्यसलाई त्यहीँ छोडिदियौँ
त्यही वर्ष हामीले रुन पनि सुरु गर्यौँ
मानौँ- रुनु एक भाग्यसूचक त्यान्द्रो थियो
जसले आश्वस्त बनाएको थियो हामीलाई धेरै वर्षसम्म रुँदै साथ लैजाने
एउटा किताब थियो त्यसै कोठामा
जसमा लेखिएका थिए हाम्रा पारिवारिक रहस्य अङ्कका भाषामा
एउटा दराज थियो हामीबिच
दराज जुन ओल्गा* को कथाको दराजसँग मेल खान्थ्यो
एउटा पर्दा थियो झ्यालमा
गला अवरुद्ध हुँदा त्यो यसरी हल्लिन्थ्यो हावामा चुपचाप
मानौँ- त्यसका हात निस्केर आउने छन् अचानक
त्यसै बेला हामीले सुनेका थियौँ जादुका बारेमा-
राख्नुपर्छ रातो रुमाल कालो बिरालाले बाटो काटेमा
र एक दिन
हामी सुत्यौँ एकअर्काका हत्केलामा जीवन लेख्दै
निद्राबाट ब्युँझेपछि हामीले इमानदारी साथ झिकेर राखिदियौँ ती आँखाहरू टेबुलमा
त्यहाँ आएका थिए केही मानिसहरू जोसँग भएका सम्झौता सम्झनु थिएन हामीलाई ।
SSS
* ओल्गा तोकारचुर्क पोल्यान्डकी लेखिका हुन् र ‘दराज’ उनले लेखेको एक प्रसिद्ध कथा हो ।
१२. मुक्ति
(रिहाई)
पूनम अरोड़ा
हामी फूलहरू लाई भन्ने छौँ – हाँस
हामी बच्चाहरूलाई भन्ने छौँ – हाँस
हामी आफैँलाई पनि भन्ने छौँ – हाँस
कति ठुलो मुक्ति चाहन्छौँ हामी !
SSS
१३. गुलाब
पूनम अरोड़ा
यस्तो गुलाबले मात्र संसारलाई अदृश्य रूपमा हेर्ने दृष्टि दिन सक्छ
जसले गुमाइसकेको छ आफ्नो रङ
मुक्त छ आकारबाट
र त्यागिसकेको छ आफ्नो सामर्थ्य
जो आफूभित्र बाँकी
सङ्गीतका मसिना धर्साहरूमा हिँड्न सक्छ
जो आफ्नो जन्मको पुष्टि स्वयम् गर्न सक्छ ।
SSS
१४. भ्रम
पूनम अरोड़ा
नदी थियो एउटा
जो चाहन्थ्यो नृत्य गर्न
त्यो हरेक रात मेरी आमाबाट निसृत हुन्थ्यो
जब उनी जून हेर्थिन् झ्यालबाट
आमा कहिल्यै बुढी भइनन्
किनकि सूर्यको रापले
निरन्तर प्रेम गरिरह्यो उनको पट्यारलाग्दो उमेरसँग
जादु सिकाइरह्यो उसले
र सिकिरहिन् आमाले पनि
भ्रमहरू टुटिरहे र म पटक पटक जन्मिरहेँ ।
SSS
५. प्रारम्भको प्रत्येक भाषा स्पर्श हो
(प्रारम्भ की हर भाषा स्पर्श है)
पूनम अरोड़ा
प्रेममा बुद्ध बन्नु थियो तिमीले !
यस्तै सन्देश त सुनेका थियौ तिमीले ।
विसर्जित शरीरको धनुबाट निस्केका बाण जस्तै ।
हो, घोचेका थिए मलाई ।
के देखेका थियौ तिमीले पारिजातमा चढेको कुहिरो ?
के सुनेका थियौ तिमीले रतिकालका मादक
पक्षीहरूको सूक्ष्म ध्वनि ?
र तिनको आलिङ्गनमा निद्रालीन एउटा नव भ्रूण ?
कसरी सुन्थ्यौ ?
किनकि तिमी प्रेममा बुद्ध बन्न चाहन्थ्यौ ।
म चाहन्थेँ तिमी पाप गर ।
र आफ्नो विस्मृत स्मृतिबाट गर ।
म चाहन्थेँ तिमी जीवित गर कुनै प्रेमको अवशेष ।
म चाहन्थेँ तिमी बन एउटा मृतप्रायः ईश्वर ।
जहाँ थाहा पाउने थिएँ म- अन्तिम केही पनि हुँदैन ।
प्रारम्भको हरेक भाषा स्पर्श हो ।
प्रत्येक अन्त्यले आफ्नो तेस्रो जन्मपछिको स्मृतिमा आफैलाई खोज्छ ।
त्यसै गरी खोज्छ-
जसरी म तिमीलाई खोज्नका लागि श्रापित छु ।
बुद्ध !
यो एक मात्र घटना घटेको थियो तिमी गइसकेपछि ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।