कवि परिचय

प्रा. नर्मदेश्वर प्रधान कवि, कथाकार तथा समालोचकको रूपमा चिनिन्छन् । उनले गद्य कवितामा नै निरन्तरता दिएको भए तापनि उनले पद्यमा पनि उत्तिकै परिष्कारको साथ हात चलाएका छन् । साहित्यिक सिर्जनामा मात्र सीमित नभई उनले साहित्यिक सिद्धान्त र दर्शनमा पनि उत्तिकै कलम चलाएका छन् । श्रेष्ठ सिरपा पुरस्कार (ने. सं. ११०५), नःलि प्रधान सिरपा (ने. सं. ११२७) र भाषाथुवाः उपाधि (ने. सं. ११२८) बाट विभूषित प्रधानका विभिन्न विधामा नौवटा पुस्तक प्रकाशित छन् ।

अनुवादक: आर. मानन्धर

कवि गोपालप्रसाद रिमाल भई बौलाएको छ मेरो कविता

  • नर्मदेश्वर प्रधान

नर्मदेश्वर प्रधान

कवि गोपालप्रसाद रिमाल भई
मेरो कविता आज
बहुलाउँछ …

००
कवि गोपालप्रसाद रिमालको खुकुरी भई
मेरो कविताका अक्षरहरू आज
आँखा चिम्लेर नाच्छन् …

००

मेरो कविताको बेहोस नै
होस भइदिन्छ आज
होस नै बेहोस
कवि गोपालप्रसाद रिमालको पागलपन भएर …

००

आफ्नो ब्याग हल्लाई हल्लाई
कवि गोपालप्रसाद रिमाल यताउति भौंतारिएझैं
खै, के के अर्थ कोचेर
मेरो कविता आफ्ना हरफहरू हल्लाई हल्लाई
एउटा मनबाट अर्को मनमा
यताउता गर्छ, यताउता गरिरहन्छ … ।

स्रोतः जिमिगु भुतू ख्वाउँसे ख्वाउँसे तिनि (ने. सं. ११२८)

मूल नेपालभाषामा