हाइगा १०५ गोधूलि (२०१४)

हाइकुमा बादल छायो भनेर लेखिएको छ तर चित्रमा पूर्णचन्द्र देखिन्छ। हाइकुमा कतै लेख्दै नलेखिएको तर चित्रमा चराका झुन्डहरू लहरै देखिन्छन्, बिजुलीको तारमा। चित्रमा केही चराहरू उडिरहेका पनि छन्। अनि एउटा चरो भिडमा नबसी अलग्गै तारको छेउमा छ। हाइकुको अन्तिम पंक्तिमा लेखिएको “भिडमा एक्लो” लेखिएझैँ… एक उराठलाग्दो रङले उदासी देखिन्छ, तर हाइकुमा लेखिएन। ऋतुबोधक शव्दः बादल (वर्षा)

एक स्पर्शात्मक हाइगाः चित्र र कविताले न एउटै कुरो दर्शाउँछ, न त एकदमै अलग चिज दर्शाउँछ- शब्द र रङको एक स्पर्श मात्रको सम्बन्ध।

 

हाइगा १०५ गोधूलि (२०१४)

यस हाइकुमा पानी पर्या छ लेखिएको छ तर चित्रमा त्यो देखिँदैन। चित्रमा कुमारीको रथ देखिन्छ। दर्शनार्थीहरूको भिड देवलमा बसेर रथलाई हेरिरहेको देखिन्छ, बस्। कुमारी जात्राको दिन होला कविले यो हाइकु लेख्दा। कुमारी जात्रामा प्रायः सिमसिम पानी परिरहेको नै हुन्छ। “मान्छेले मान्छेलाई पुजेर तान्दैछ” भन्ने शब्दहरू यो हाइकुको मुख्य अंश हो। यो पनि चित्रमा देखिँदैन। चित्रको रङले उमङ्ग देखिन्छ। पर्वको बेला रमाइलो नै हो। तर, हाइगाकारलाई मान्छेले मान्छेलाई तान्दै पुज्दै गरेको देख्दा कसो कसो लागेर होला हाइगाकारले यो हाइगा तयार पारेको। ऋतुबोधक शब्दः पुजेर तान्दै (शरद) ।

एक स्पर्शात्मक हाइगाः चित्र र कविताले न एउटै कुरो दर्शाउँछ न त एकदमै अलग चिज दर्शाउँछ- शब्द र रङको एक स्पर्श मात्रको सम्बन्ध।

 

हाइगा १०५ गोधूलि (२०१४)

चित्रमा तुवाँलो देखिँदैन तर कपालको घेरामा कोही बन्दी बनेको जस्तो देखिन्छ। कविताको शब्द र चित्रमा यसो पहिलो चोटी नियाल्दा केही सामञ्जस्यता देखिँदैन, तर फेरि दोहर्याउँदा देखिन्छ। हाइकुमा कविले जस्तो विम्ब देख्यो त्यही लेख्यो। उसले लेख्यो मात्र। पहाडको टुप्पामा अवस्थित स्वयंभू तुवाँलोले छोप्दा देखिने विम्ब हाइकुमा लेख्यो। हाइगाकारले हाइकुको स्वयम्भूलाई प्रतीकात्मक रूपमा स्वतः शान्ति बुझ्यो अनि कतै पनि शान्ति नभेट्टाउँदा तुवाँलोले मात्र छोपेको हो घाम लागेपछि त भेट्टिहाल्छ नि भनेर एक युवतीको कपालले छोपेको अनुहार कल्पना गरेर दर्शाउन चित्र कोर्यो। एक हाइगा बन्यो। चित्रको रङ र युवतीको आँखालाई हेर्दा भविष्यको उत्सुकता देखिन्छ। ऋतुबोधक शब्दः तुवाँलोभित्र (शिशिर)

एक स्पर्शात्मक हाइगाः चित्र र कविताले न एउटै कुरो दर्शाउँछ न त एकदमै अलग चिज दर्शाउँछ- शब्द र रङको एक स्पर्श मात्रको सम्बन्ध।