कुमार नगरकोटीको नवीनतम कृति कल्प-ग्रन्थ, जुन प्रकाशन हुनुभन्दा अगाडि नै चर्चामा आएको थियो । पुस्तक प्रकाशनमा गरिएको नयाँ प्रयोगका कारणले प्रकाशनपूर्व र प्रकाशनपश्चात् सकारात्मक तथा नकारात्मक दुवै रूपमा सामाजिक सञ्जालभरि टिप्पणीहरू आए । अन्य कृतिहरूको तुलनामा यो पुस्तकको आकार निकै ठुलो रहेको छ । ६८ वटा कथा समाविष्ट बृहत् कथाकालोज कल्पग्रन्थमा जम्मा ८०० पृष्ठ रहेको छ । हार्डकभरमा प्रकाशित यो पुस्तकको बाहिरी आवरण बुक ज्याकेटमा सुन्दर पौवा चित्र (थ्यान्का आर्ट) गरिएको छ । कालो पृष्ठभूमिमा सेतो रङमा कलात्मक ढङ्गबाट कुँदिएको पौभा चित्र बुक ज्याकेट लगाएत हार्ड कभरको भित्री भाग, बुकमार्कमा र पुस्तकसँगै दिइने झोलामा समेत रहेको छ ।

पुस्तक प्रकाशित हुनुभन्दा अगाडि पाठकहरूबाट अर्डर लिएर बुकिङका आधारमा सीमित सङ्ख्यामा पुस्तक प्रकाशित गरिएको थियो । गतवर्ष चैत्रमा सार्वजनिक गरी पाठकहरूसमक्ष पुऱ्याउने भनी छापिएको पुस्तक २०७८ को जेष्ठ असार महिनामा मात्र सीमित पाठकहरू माझ पुगेको थियो ।

पुस्तकको बाहिरी आवरणलाई साजसज्जा गरी कलात्मक पाराले सिँगारिएको छ । पुस्तक प्रकाशनमा निकै खर्चिएको देखिन्छ । पुस्तक हार्ड कभरमा त छँदै छ, त्यसमाथि म्याबिङ बुक बक्स भित्र राखेर, छुट्टै एउटा खरबुजा नामको अर्को कथाको बुकलेट समावेश गरेर, लेखक नगरकोटीको फोटो, हस्ताक्षर र शुभकामनाका केही लाइनसहितको पोस्टकार्डमा प्रिबुकिङ गर्ने पाठकको नाम ठेगाना लेखिएको एक थान पोस्टकार्डसहित पुस्तक डेलीभरी गरिएको थियो ।

खिम लामिछाने काजी

लेखक नगरकोटी काल्पनिक कथा उपन्यास लेख्ने लेखकका रूपमा परिचित छन् । कल्पग्रन्थमा पनि उनले आफ्नो कल्पनाशीलतालाई छताछुल्लरूपमा अक्षरको माध्यमबाट छरपस्ट परेका छन् । विभिन्न शैलीका प्रयोगात्मक कथाहरू यस ग्रन्थमा पाइन्छ । यसमा कथा मात्र होइन, नाटक, उपन्यास, कविता, निबन्ध, सुटिङ रिपोर्ट सबै विधाहरू पाउन सकिन्छ । एउटै कथा भित्र नाटक, कविता, दर्शन सबै घुलमिल गराएका छन् । रहस्यमय काल्पनिक कथाहरूले पाठकलाई पुस्तकले तानिरहन्छ । कतै-कतै पाठकलाई खित्का छोड्ने गरी हसाउँछ पनि ।

पुस्तकको सुरुकै पनामा उनले लेखेका छन्, “आइ डोन्ट राइट बुक्स, आइ कम्पोज देम ।” कल्पग्रन्थलाई उनी आफैँले परिचय दिएका छन्, “एउटा यस्तो पुस्तक जहाँ काल्पनिकता, सपना, रहस्य र नग्नता रहेको छ ।”

पुस्तकको पहिलो कथा नै निकै अनौठो रहेको छ । जहाँ लेखक नगरकोटी स्वयंले लेखेको कथा आफैँले सम्पादन गरेर सम्पादित गरिएको अंश सहितको ओरिजिनल कपीलाई नै पुस्तकमा समावेश गरिएको छ । जुन उनको यो नयाँ शैली हो । शब्दहरू काटिएको, कोरिएको, थपिएको, गोलो मार्क लगाइएको पुस्तकको पहिलो कथा पढ्न सुरु गर्दा पाठकलाई आफ्नो हातमा कुनै समीक्षक वा सम्पादकले पढ्दै गरेको पुस्तक गल्तीले आफ्नो हातमा आयो भन्ने लाग्न सक्छ तर नियालेर हेर्दा यो सबै छापाखानामा नै प्रिन्ट भएको थाहा हुन्छ र पाठकलाई नयाँ प्रयोगबारे जनाकारी हुन्छ । कथाको हरेक पेजमा, हरेक वाक्यंशमा सच्याइएको काटिएको देखाइएको छ । यो अत्यन्त नौलो र अचम्मलाग्दो प्रयोग हो ।

कल्पग्रन्थमा थुप्रै प्रकारका कथाहरूलाई छुट्टाछुट्टै च्याप्टरमा छुट्याइएको छ । जस्तै- कन्सेच्युअल स्टोरी, इन्स्टलेसन स्टोरिज, परास्टोरिज, पोस्टकार्ड स्टोरिज, ग्रे- स्टोरिज, स्क्रिन प्ले स्टोरिज, ट्रान्सक्रिएडेड स्टोरिज, टाइपोग्राफिक स्टोरिज आदि ।

पुस्तकमा नाटकको स्क्रिप्ट, सिनेमाको सुटिङ रिपोर्ट जस्ता टेक्निकल कुराहरूलाई कथामा समावेश गरेका छन् । उनका कथाहरू रहस्यले भरिएका त हुन्छन् नै यस ग्रन्थमा भने ठट्यौली समेतको प्रयोग गरेका छन् । जसले पाठकलाई बिच-बिचमा हँसाइरहन्छ ।

हुन त नगरकोटीका कृतिहरूमा अङ्ग्रेजी शब्दको प्रयोग त भइ नै हाल्छ, अझ यसमा हिन्दी र संस्कृत शब्दहरूको समेत प्रयोग गरिएको छ । नगरकोटीलाई प्रायः लाग्ने गरेको आरोप हो, नग्नता र यौनको बढी प्रयोग । यो कुराको सहर्ष स्वीकार गर्दै यसमा पनि लेखकले नग्नता र सेक्सलाई व्यापक रूपमा समावेश गरी यसलाई नगरकोटियन शैली भनेर बताएका छन् ।

इन्स्टलेसन स्टोरिज अन्तर्गतको “कलब्रेकर्स” कथामा उनले यस्ता पात्रहरूको प्रयोग गरेका छन्, जसलाई पढ्दा हाँसो र अचम्म दुवै एकैसाथ लाग्दछ । तासको एक खेल हो कलब्रेक, जसमा चार जना खेलाडी हुनुपर्दछ । उनले ती चार खेलाडीहरूमा कृषिमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र शिक्षामन्त्रीलाई राखेका छन् । उनले कथाका माध्यमबाट नाटकीय ढङ्गले नेपालका भ्रष्ट मन्त्रीहरूको नालायकीपनलाई उजागार गरेका छन् ।

इन्स्टलेसन स्टोरिज अन्तगर्तको एउटा अर्को कथा “अनटाइटल्ड” मा लेखकले श्री स्वस्थानी व्रतकथाको पुस्तकजसरी कथालाई न्यारेसन  गरेका छन् । यो कथा पढिरहँदा श्री स्वस्थानी व्रतकथाको रिमिक्स भर्जन पढेजस्तो महसुस हुन्छ ।

कतिपय कथाहरू लेखकको जस्तो पाठको दिमाग कल्पनाशील हुन नसकेर हो कि बुझ्नै धौधौ पर्दछ । थुप्रै कथामा लेखक नगरकोटी आफैँ कथामा पात्र बनेर प्रस्तुत भएका छन् । वाक्य संरचनालाई रबरझैँ तन्काएर बिच-बिचमा अनौठा शब्दहरू घुसाउने उनको त्यो कलाले पाठकलाई थप मनोरन्जन दिएको छ ।

ग्रन्थमा नेपाली चर्चित साहित्यकारहरूको नामलाई समेत विभिन्न कथाहरूमा पात्र बनाइएको छ । समाजमा साहित्यकारहरू जसरी चिनिएका छ सोही अनुरूपको कथामा समेटिएको छ । साथै उनीहरूले बोल्ने शैलीसमेत हुबहु त्यस्तै बनाउने प्रयास गरिएको छ ।

परास्टोरिज अन्तर्गतको कथा मार्को बोन्फान्तीले निर्देशन गरेको “द म्यान विदाउट ग्राभिटी” लाई नेपाली भाषामा रूपान्तरण गरेर “चङ्गाजस्तो मन आकाशगङ्गातिर उडिजान्छ” शीर्षकमा इतल्वी भाषामा म्याजिक रियालिज्म अन्तर्गत राखेर उक्त सिनेमाको पटकथा संवादलाई सुटिङ दृश्यको रूपमा समेटेका छन् । उनले कथामार्फत भनेका छन्, “चल्ने चित्र भएकाले फिल्म, पिक्चर, मुभीलाई नेपाली भाषामा चलचित्र भनिएको छ । संसारका  साराका सारा सिर्जनाहरू रचनाहरू  इलुजन अर्थात् छल भएझैँ चलचित्र पनि एक सुन्दर छल नै हो, तसर्थ चलचित्रलाई “छलचित्र” पो भनिनुपर्ने हो ।”

ग्रन्थमा नेपालका राजनीतिक पार्टीहरूसमेतलाई व्यङ्ग्य गर्न भ्याएका छन् । उनले लेखेका छन्, “मान्छेहरू एमालेलाई नेकपा अर्थात् नेपाल कम्युनिस्ट पार्टी भन्दा रै’छन् । छक्क पर्छु । जुन पार्टीमा एनजिओ, स्टकब्रोकर्स एवम् नवबुर्जुवाको हालीमुहाली छ, त्यो पार्टी कम्युनिस्ट पार्टी ? ” त्यसै गरी, “नेपाली काङ्ग्रेसनामक लोपोन्मुख पार्टी सिनियर सिटिजन्स क्लब भएकोमा छक्क पर्छु ।”

पूर्वराजालाई समेत उनले आफ्नो ग्रन्थमा छिराएका छन् । “एकरात पूर्वराजालाई हठात् डान्स गर्न मन लागेछ । नाइट क्लब गई नृत्य गरेछन् । भोलिपल्ट टिभी एवम् अखबारमा राष्ट्रिय नेताहरू गर्जिहाले, यो डान्स निकै डेड्ली एन्ड डेन्जरस छ ! यो नृत्यमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र ढाल्ने घनघोर षड्यन्त्र  छ  ।”

उनले कथामा विदेशी सिनेमाको समीक्षा गरी ओस्कार पाउने नपाउनेबारे विश्लेषणसमेत गरेका छन् । कथाको परिदृश्यलाई प्ले, पउज, फास्ट फर्वार्ड, रिवाइन्ड, स्टपका सङ्केतहरूसहित शब्दहरूको रूपमा प्रयोग गरेका छन् । कथामा केही वर्षअगाडि पोखराको लिट्रेचर फेस्टिभलमा लेखक नयनराज पाण्डेले भनेका कुरालाई समेत उल्लेख गरेर त्यसमाथि विचारविमर्श गरेका छन् । सोसियल रियालिस्टिक कथाकारका रूपमा चिनिने पाण्डेका कृतिहरूको सामान्य जानकारीसमेत गराएका छन् ।

पोस्टकार्ड स्टोरिज अन्तर्गत ३५ वटा छोटा तर अर्थपूर्ण कथाहरू समावेश गरिएको छ । कुनै-कुनै कथाहरू पढ्दै गर्दा कविता पढेजस्तो महसुस हुन्छ । चप्पल, घडी, सेलफोन, कात्रो, रेनकोट लगाएर थुप्रै कथाहरूले शीर्षकअनुसारकै कथासार बोकेका छन् । अनौठो कुरा के छ भने, कुनै-कुनै कथाहरू दुई-चार लाइनमै टुङ्गिएका छन् । पोस्टकार्डमा चिट्ठी लेखेर पठाउने पुरानो चलनलाई यी कथाहरूले याद दिलाइदिन्छन । पोस्टकार्डमा प्रापक र प्रेषक हुन्छ । प्रेषकतर्फ कथा छापिएको छ भने प्रापकतर्फ पाठकको नाम र ठेगाना लेखिएको छ । साथै हुलाक टिकट टासेर त्यसमाथि स्ट्याम्प पनि ठोकिएको छ । पोस्टकार्डकै झल्को दिने गरी लेआउट तयार पारिएको छ । यो पनि नेपाली साहित्यमा विल्कुल नयाँ प्रयोग हो ।

ग्रे-स्टोरिज अन्तर्गत १५ वटा कथाहरू समावेश गरिएको छ । बुख्याचा कथामा अपराधी, भ्रष्ट, बलात्करी, चोर, फटाहा, ज्यानमाराहरूलाई  सरकारले दण्ड जरिमाना सजाय दिन नसक्ने तर यो सबै टुलुटुलु हेरेर बस्ने भएकाले सरकारलाई बुख्याचाको रूपमा प्रतिविम्बित गरिएको छ । सरकारचाहिँ बुख्याचा, बरु खेतमा ठड्याइएका बुख्याचाहरू जागेर अपराधीहरूलाई सजाय दिन थालेका कथामार्फत सरकारको दण्डहीनतामाथि व्यङ्ग्य गरिएको छ ।

अर्को कथा “अब्दुल कादिरको बेडरुममा एउटा नदी बगिरहन्थ्यो” मा लेखकले १२ महिना प्रत्येकको सम्झनामा शतबीजहरू: एक वार्षिक प्रतिवेदन शीर्षकअन्तर्गत कविताहरू समावेश गरेका छन् । वैशाखमा नयाँ वर्ष, जेष्ठ लामो महिना, असार बजेट पास गर्ने अन्तशुल्क कर तिर्ने, त्यसैगरी साउन-भदौ मुसधारे पानीसँग सम्बन्धित रहेर हरेक महिनाको कविता लेखेका छन् । सबै महिनामा हुने गरिने सामाजिक सांस्कृतिक र प्राकृतिक गुणहरूलाई आधार मानेर कविता कोरिएको छ ।

सोही कथामा समावेश गरिएको कविता “खर्पनमा बोकी हिँड्छु अचेल तिम्रो यादका सामेलहरू” लाई “खर्पन” बोलको  गीत बनाएर रेकर्ड गरी म्युजिक भिडियोसमेत तयार गरिएको छ । लेखक कुमार नगरकोटीको शब्द, हरि लम्सालको सङ्गीत, सुगम पोख्रेलको स्वरमा रहेको यो गीतमा लेखक नगरकोटी आफैँले अभिनयसमेत गरेका छन् ।

हुन त योभन्दा अगाडि “सुट आउट एट झम्सीखेल” कथालाई लेखकले आफैँले कथाको न्यारेसन गरेर युट्युबमा अपलोड गरिसकेका छन् जहाँ लेखकले पाठकलाई एक थ्रिलर स्टोरीको प्रमुखपात्र अर्थात् प्रोटागोनिस्ट बनाउँदै कथा अगाडि बढाइएको छ । कथा रहस्यले भरिपूर्ण छ ।

अर्को एउटा कथा छ “खरबुजा” जुन सानो बुकलेटको रूपमा छुट्टै पाठकलाई कल्पग्रन्थसँगै दिइएको छ । खरबुजाको वरिपरि कथालाई बेरिएको छ ।

“पिकनिक” नामको कथामा नेपालका युवा नेता भनेर चिनिने स्व. रवीन्द्र अधिकारी र गगन थापाको बाल्यकाललाई पात्रका रूपमा चित्रित गरिएको छ । कथामा प्रधानमन्त्री भइसकेका नेताहरूलाई भन्दा नयाँ नेतालाई क्याप्टेन चुन्ने भनी देशको पारिवेशमा प्रतिविम्बित गरिएको छ । जहाँ माधव नेपाल, पुष्पकमल प्रचण्ड, झलनाथ खनाल, केपी ओली, शेरबहादुर देउवा, बाबुराम भट्टराइहरू जो बहुदलीय प्रजातान्त्रिक, लोकतान्त्रिक, गणतान्त्रिक शासनव्यवस्था आएपछि देशको प्रधानमन्त्री भएका थिए, यिनीहरू सबै आफ्नो क्याप्सेन्टीमा असफल भएकाले अब पुनः क्याप्टेन हुन नपाउने शिक्षिकाको कुराले देशको राजनीतिक अस्थिरता र विकास हुन नसकेको कुरा प्रस्ट्याउँछ । त्यसैगरी ज्ञानेन्द्र शाहले क्याप्टेन हुने इच्छा जाहेर गर्दा,  शिक्षिकाले उनलाई “तिमीले शेरबहादुर देउबाको टिफिन खोसेर खाइदिएका थियौ, त्यसैले तिमी क्याप्टेन बन्न लाएक छैनौ” भन्छिन् ।  यसरी देशको वस्तुस्थितिलाई सोझै बालबालिका पात्र बनाएर राजनीतिक झटारो हानेका छन् । कलम थापा, कृष्णबहादुर महरा, सुवास नेम्वाङ लगाएत थुप्रै नेपाली राजनीतिज्ञहरूलाई उनीहरूका विगतका व्यवहारका आधारमा आफ्नो कथामा प्रस्तुत गरेका छन् । कथाको अन्तमा हेलिकप्टर दुर्घटनामा रवीन्द्र अधिकारीको दुःखद निधनलाई जोडिदिएका छन् ।

स्क्रिन प्ले स्टोरिजअन्तर्गतको “स्वप्न गन्धा” कथामा सिनेमा दृष्य, पटकथा र कथालाई पत्रकार एवम् लेखकका आफ्नै श्रीमती मिसेज नगरकोटीको संवादलाई फिल्मी शैलीमा राख्दै कथा अगाडि बढाइएको छ । लेखक नगरकोटीको अत्यधिक फिल्महरू हेर्ने बानीका कारणले होला कल्पग्रन्थमा सिनेमा शैली र सिनेमाका कुराहरूको थुप्रै ठाउँमा समावेश गरिएको पाइन्छ ।

संवाद र दृष्य दुवैको वर्णन गर्दै भ्वाइस ओभर र अफस्क्रिन गर्दै कथालाई निरन्तरता दिइएको छ । त्यसैगरी “अ कप अफ ड्रिम्स” उही फिल्मी शैलीमा ट्याटुआर्टिस्ट र पोयट्रीको संवादलाई कथामा जोडिएको छ । पाठकलाई फिल्म सुटिङको रिपोर्ट पढेजस्तो लाग्न सक्छ ।

ट्रान्सक्रिएटेड स्टोरिज कथाअन्तर्गत “गुलजार, माइकेलेन्जलोको एन्ड अ स्लिम युवती कथामा गुलजार, माइकेलेन्जलो, फर्नान्डो सोरेन्टिनो आदिलाई कथाको पात्रका रूपमा राखिएको छ । जसमा बर्गेस, चेखोब, ओ हेनरी, मोपासा, हसन, मन्टो जस्ता लेखकहरूको ह्याङओभर नेपाली पाठक र लेखकहरूबिच रहेको उल्लेख गरेका छन् । लु सुन, टैगोर, गोर्की एवम् मार्खेजका छोटा कथाहरूले यहाँका सबै प्रकारका पाठक र श्रष्टाहरूलाई मोहनी लगाएको बताएका छन् ।

टाइपोग्राफिक स्टोरीअन्तर्गत “खग्रास” कथामा निकै नौलो र नवीनतम प्रयोग गरिएको छ । ठुलासाना विभिन्न प्रकारका फरक-फरक प्रकारका अक्षर र फन्टहरू प्रयोग गरी दुई-तीन लाइनमै पूरै पन्ना भरिएको छ । कुनै एउटा वाक्य वा वाक्यंश लेख्न पुस्तकको दुवैपट्टिको पन्नालाई प्रयोग गरिएको छ । झ्याप्प हेर्दा पागलपन हो कि झैँ पनि लाग्छ तर पढ्दै जाँदा अनौठो लाग्छ । कतै कमेडी कतै पिरव्यथा सबै प्रकारका संवेदनाहरूलाई टाइपोग्राफिक स्टोरी अन्तर्गतका कथामा समावेश गरिएको छ ।

टाइपोग्राफिक स्टोरी दुईवटा कथालाई सँगसँगै एकपछि अर्को गरी लेखिएको छ । एउटा कथालाई सेतो पृष्ठभूमिमा कालो अक्षरले लेखिएको छ भने अर्को कथामा सेतो पृष्ठभूमिमा कालो अक्षर लेखिएको छ । अक्षरहरू उल्टोपाल्टो, बाङ्गोटिङ्गो, सिधा-तेर्सो-ठाडो, तलमाथि, कतै हाइलाइट गरिएको, कुनै अङ्ग्रेजीमा कुनै साना कुनै ठुला विभिन्न प्रकारले लेखिएको छ । त्यसै पनि पुस्तकको आकार ठुलै हो झन् टाइपोग्राफिक स्टोरीले आकार बढाएको छ ।