गरिन्छ जीवनमा धेरै काम । सम्झने हुँदैनन् सबै । बाँचे पनि उमेरले जति । हुन्छ थोरै बाँच्ने काम । गहना मात्र हुन् लाउँदा देखिने । पद, पदक, पैसा जे भने पनि ।  भयो त्यस्तै पूर्णप्रसाद ब्राह्मणमा पनि । हुनुहुन्थ्यो धेरै ठाउँमा । गर्नुभो धेरै काम । पाउनुभो पद पनि पुरस्कार पनि । गर्नुभो आन्दोलन धेरै । नबिर्सने भएको छ जयतु संस्कृतम् । लेख्नुभो धेरै किताब साहित्यमा । विशेष भएको छ लघुकथामा ।

भरिपूर्ण हुनुहुन्छ पूर्णप्रसाद परिचयले । थरले दवाडी । ब्रह्मणबाट पाउनुभो प्रसिद्धि । व्यक्तित्व छन् अनेक । विद्वान् अध्यात्म र दर्शनका । अभियन्ता जयतु संस्कृतम्‌का । विद्रोही राणा शासनका । हिमायती प्रजातन्त्रका । लेखक दुई दर्जन जति पुस्तकका ।

हुनुहुन्छ कवि, कथाकार, उपन्यासकार । अभिलेख बनेको छ लघुकथामा विशेष । तीन कृति लेख्नुभो सात सालमा । संस्कृतमा काव्य र महाकाव्य । छोटाकथा नेपालीमा ‘झिल्को’ । बन्यो लघुकथाको पहिलो सङ्ग्रह नेपाली साहित्यमा । प्रकाशित सात सालमा । कताबाट निस्क्यो पहिलो र दोस्रो संस्करण ? तेस्रो निस्किएको थियो रत्न पुस्तक भण्डारबाट । छापिएको थियो बनारसबाट । वर्ष थियो एक्काइस । मूल्य थियो एक रुपियाँ । छापिएको थियो एक हजार प्रति ।

राखिएको छ मङ्गलाचरण पहिलो पृष्ठमा ।

शुक्र गङ्गा दशरथ धर्मलाई छ वन्दना

हाँस्तै स्वदेशका लागि मरे जो धर्मयुद्धमा

 ‘झिल्का’मा छन् तेइस थान लघुकथा । अन्तिम तीनको शीर्षकमाथि लेखिएको छ –आन्तरिक सरकार खडा भएपछि ।

लेख्नुभाछ ‘दुई शब्द’ श्री सिद्धिचरणले । हुनुपर्छ युगकवि सिद्धिचरण नै ।

पूर्णप्रसाद ब्राह्मण

‘दुई वर्षअघि नै श्री पूर्णप्रसादजीले यी झिल्का लेख्नुभएको थियो, लुकीछिपी हामी सुन्थ्यौँ ।’

अर्थात् लेखिसकेको पाँच सालमा नै हो ।

लेख्नुभा छ – ‘विकासको बाटालाई छेकेर तानाशाहीले अगाडि बढ्न नदिएकामा एउटा प्रगतिशील व्यक्तिको रन्थन र बिलौना यसमा अङ्कित छ । विकासको दुस्मनउपर घृणा, द्वेष र विद्रोहका साक्षात् आकार यी झिल्कामा छन् । जनताघाती बन्धनउपर यिनमा जुन विद्रोह छ, त्यो अहिलेसम्मको हाम्रा साहित्यमा अन्यत्र पाइँदैन । असुर र देवको द्वन्द्व जहिले पनि चलिरहने हुनाले विद्रोही कथाकारका यी झिल्का अमर छन् ।

ब्राह्मण आफैँले पनि लेख्नुभाको छ –

‘….यो केका निम्ति ? यसको जबाफ, समाजको अन्धधर्म, अन्धविश्वास र अन्धश्रद्धाको जगद्वारा महल जलाउन । मानवताको वेदीमा जनता–नृसिंहद्वारा हिरण्यतन्त्र शासनको चरु होम्न । नाङ्गा र भोकाहरूका हातबाटै उनीहरूका युगदुस्मन, दासता र विषमताका कारणहरूको पूर्णाहुति गर्न । देशमा मानवीय अधिकारको सच्चा सक्रिय प्रदर्शन गर्न ।

यी फिलिङ्गा अब सल्कँदै जान्छन् । नेपाली वनका सुकेका स्याउलाहरू यिनको स्वागत गर्छन् । यिनका निम्ति त्यो दिन उत्सव छ । विश्रान्ति छ जुन दिन देशका धार्मिक, नैतिक, सामाजिक, आर्थिक पुराना संस्कार जति खाक हुन्छन् र हावामा मिल्नका लागि खरानीको पहाड बन्छ ।’

उदाहरण हुन् विद्रोह र आक्रोशका । किन लेखियो लघुकथा भन्ने सम्बन्धमा । स्वर एकै छन् कवि सिद्धिचरणको र लघुकथाकार ब्रह्मणको ।

विरोधी हुनुहुन्थ्यो कट्टर । अन्याय र अत्याचारको । लाग्नुभो विरुद्धमा क्रूरता र अनाचारको । भत्काउन खोजे सङ्कीर्णता र अन्धविश्वासको । बन्नुभो क्रान्तिकारी । राख्नुभो विश्वदृष्टि । भक्त हुनुहुन्थ्यो हिन्दूधर्मको । भक्त दर्शन र आदर्शको पनि ।

कामना गर्नुहुन्थ्यो विश्वशान्ति, विश्वबन्धुत्व र विश्वभातृत्वको । चाहना राख्नुहुन्थ्यो मानव-मानवबीचको कलह र द्वेषअन्त्यको । परिकल्पना गर्नुहुन्थ्यो नेपालमा प्रजातन्त्रको । विश्वमा एकता र शान्तिको ।

कान्तिकारी बन्नुभो अन्याय अत्याचारविरुद्ध । घोषणा सार्वजनिक गर्नुभो समानान्तर राष्ट्रिय पञ्चायत निर्माणको । आवश्यकताअनुसार मन्त्रिपरिषद्‌समेत गठनको ।

संस्कृत मात्र पढ्न पाउने जनताका छोराले । आधुनिक शिक्षा पढ्ने भाइभारदारका सन्तान । माग राखियो जनताका छोराले पनि आधुनिक शिक्षा पाउनुपर्ने । आन्दोलन भयो तीनधारा पाठशालामा । बदलामा गरियो पक्राउ छात्रहरूलाई । दिइयो यातना । कटाइयो डाँडा पनि । विरोध भयो आन्दोलनको । नाम दिइयो जयतु संस्कृतम् । अगुवाइ गर्नुभो पूर्णप्रसाद ब्रह्मणले । बन्यो प्रजातन्त्र स्थापनाको सङ्घर्षको आधार पनि । अहिले पनि छ अमेरिकामा जयतु संस्कृतम् इन्क नामले । चलाइरहनुभएको छ सुपुत्र रमेश शर्माले ।

‘एक्काइस कथा ’ पहिलो कथाकृति हो ब्रह्मणको । प्रकाशन भयो तीन सालमा । शासन थियो राणाको । जागिरे हुनुहुन्थ्यो नेपाली भाषा प्रकाशन समितिमा । चित्रण थियो सामान्य समाजको मात्र ।

सात सालको ‘झिल्का’मा विद्रोह नै गर्नुभो समाजको । शासनको अन्याय, विसङ्गतिप्रति लेखिएको थियो उपन्यास ‘एक कथा ’। लगायो प्रतिबन्ध नै पञ्चायती शासकले ।

प्रकाशित छन् हालसम्म सोह्र पुस्तक नेपालीमा । सात पुस्तक संस्कृत भाषामा । कथाहरूमा ‘एक्काइस कथा–२००३, झिल्का –२००७, म लोग्ने हुँ–२००८, एकतीस कथा –२०४२, एघार कथा –२०४३ ।

कवितासङ्ग्रहमा अगुल्टो–२००८,कुन्तीको समाचार–खण्डकाव्य–२०४४, सम्झौता–लघुकाव्य –२०४७, पूर्णप्रसाद ब्रह्मणका फुटकर कविता–२०६२ । उपन्यासमा एक कथा– २०४२, अध्यक्ष उमा–२०४४ लगायत प्रकाशित छन् ।

संस्कृत भाषामा सत्यहरि हरिश्चन्द्रम् (महाकाव्य)२००७, विश्वेदेवा (लघिष्ट काव्यसङ्ग्रह) २००७, तदर्थमेव (उसैका लागिको अनुवाद)२०२६, ईशावाश्यवृत्ति (दर्शन) २०२७, राजतन्त्रं सदा जीव्यात् (राजदर्शन)२०४२, रामराज्यम् (खण्डकाव्य)२०४९, श्रीकृष्णसुदामा चरितादर्श (उपन्यास)२०५०, राजा पुरञ्जन (पौराणिक उपन्यास)२०७५ प्रकाशित छन् ।

संस्कृतका विद्वान्, लेखक, चिन्तक हुनुहुन्थ्यो नै । सेनानी पनि हुनुहुन्थ्यो प्रजातान्त्रिक आन्दोलनको । विचार राख्नुहुन्थ्यो प्रगतिशील । राष्ट्रवादी र हुनुहुन्थ्यो राजभक्त पनि ।

जन्मनुभो दवाडी भएर पूर्णप्रसाद । काफलडाँडा गोरखामा । दिन थियो हरिशयनी एकादशीको । असार थियो उनासी सालको । त्याग्नुभो शरीर छयालीस सालमा । बत्तीस गते थियो जेठको ।

गर्नुभाथ्यो जागिर गोरखापत्र र नेपाली भाषा प्रकाशनी समितिमा । बन्नुभो अध्यक्ष राष्ट्रिय जनराज्य परिषद्‌ पार्टीको । दिनुभो उम्मेदवारी गोरखाबाट पन्ध सालको चुनावमा । हुनुभो राजाबाट मनोनित बीस सालमा । दरबारअन्तर्गतको राष्ट्रिय निर्देशन परिषद्‌को सचिवमा । शक्तिशाली थियो परिषद्‌ राजापछिको । हुनुभो मनोनित राजसभामा पनि । बन्नुभो प्रमुख निर्वाचन आयुक्त पनि । बेजोड बन्नुभो प्रशासक । कायम राख्नुभो इमानदारी र नीति पनि । लाउनुहुन्थ्यो दौरा, सुरुवाल र खादीको कोट सधैँ । आदर्श पोशाक । आदर्श व्यवहार । आदर्श नै सिर्जना ।

पहिलो हुनुभो प्रतियोगितामा । कविता महोत्सव ०२६ को । पाउनुभो उच्च पद र उच्च पदकहरू पनि । अर्डर अफ मेरिट पाउनुभो जर्मन सरकारबाट । रोयल भिक्टोरिया अर्डर पाउनुभो बेलायतबाट  ।

झुक्नुभएन जनजागरणमा । चुक्नुभएन जनचेतना । छोड्नुभएन जनसेवामा । रोक्नुभएन राष्ट्रवादी स्वर । समर्पित हुनुभो देश र संस्कृतिका लागि । उपासक हुनुभो संस्कृत र नेपाली वाङ्मयको ।

कीर्तिमान कायम गरेको छ ‘झिल्का’ले । बनेको छ आधुनिक नेपाली लघुकथाको पहिलो कृति । भनिएको भए पनि छोटाकथा । धेरै छन् लघुकथा नै । इतिहास बनेको ‘झिल्का’मा प्रखर भएको छ राणाशासनको विरोध । प्रखर भएको छ आध्यात्मिक चेतना । उठाइएको छ मानवतावादी स्वर । गरिएको छ अपेक्षा समाज सुधारको ।

फेरेर थर दवाडी । गर्नुभो विद्रोह ब्रह्मणले । परिचय छन् अनेक । प्रतिष्ठा पनि, पद पनि । सम्झनुपर्ने छन् क्षेत्र धेरै । होलान् सम्झनेहरू पनि त्यसरी नै । बालेको झिल्का भइसक्यो धेरै । नाघिसक्यो सात दशक । निभेको छैन झिल्का अझै । फेरिए वर्षहरू । व्यवस्थाहरू । शाषकहरू । परिवर्तन नभएजस्तै देश । भएका छैनन् प्रवृत्ति । मागिरहेको छ विद्रोह अझै । अन्यायको, असमानताको । बलिरहेको छ झिल्का त्यसैले । झिल्का हो सात सालदेखिकै । निभ्ने बेला भएको छैन अझै । बलिरहनुपर्छ अझै निरन्तर ।

भए पनि लघुकथाको ‘झिल्का’ । भए पनि पूर्णप्रसादको ‘झिल्का ’। बनिरहेछ मनमनको ‘झिल्का’ । नेपालीको र नेपालकै ‘झिल्का’।