रूमी

रूमी अर्थात् मौलाना मोहम्मद जलालुद्दीनको जन्म ३० सेप्टेम्बर सन् १२०७ मा फारस सम्राज्य ( वर्तमानमा अफगानिस्तान) मा भएको थियो । न्यायवादी, इस्लामी विद्वान, धर्मविज्ञानी, सुफी सन्त र कविका रुपमा उनको परिचय स्थापित छ । उनले सुफी परम्परामा नर्तक साधुहरु (गिर्दानी दरवेसहरू) को परम्परालाई सम्वर्धन गरे । रूमी रात-दिन मानिसलाई उपदेश दिएर समय बिताउँथे । यसै क्रममा उनको भेट विख्यात सन्त “शम्स तबरेज”सँग भयो । रुमीलाई उनै तरबेजले अध्यात्म-विद्याको शिक्षा दिए । उनीसँगको भेटपछि रूमी आत्मचिन्तन र साधनामा समय बिताउन थाले । शम्स तबरेजसँगको संगतपछि रूमीले उपदेश दिने, घोषणा गर्ने र पढने-पढाउने काम बन्द गरे । रूमीका समर्थकले शम्स तबरेजले गर्दा रुमीको यो हालत भएको भनेर शम्सको हत्या गरिदिए । यस घटनाले रूमीको जीवनमा निकै गहिरो प्रभाव पार्‍यो । यसपछि उनी विरक्तिए र एकान्तबास रोज्न थाले ।

उनको लेखनमा ईश्वर र प्रेमको सुगन्ध हुन्छ । उनका रचनाले सात सय वर्ष कटाइसकेका भए पनि हिजोआज खोजीखोजी पढिन्छ । उनले कविता मात्र होइन, हाल नेपालमा लेखिने लघुकथा शैलीका धेरै कथा लेखेका छन् । उनका कथामा कुनै पनि आध्यात्मिक चेतनालाई सटिक कलाले लेपन गरिएको हुन्छ । उनका केही कथाहरूलाई नेपालीमा अनुवाद गरेर शृङ्खलाबद्ध रूपमा साहित्यपोस्टमा प्रकाशन गरिँदैछ ।

ईश्वरको खोज

इब्राहिम मध्यरातमा आफ्नो महलमा सुतिरहेको थियो । सिपाही सुरक्षार्थ खटिएका थिए ।
सिपाहीको सहायताले दुष्ट र चोरबाट बचूँ भन्ने सम्राटको उद्देश्य कदापि थिएन किनभने सम्राटलाई के कुराको राम्रो अवगत थियो भने जो सम्राट न्यायप्रेमी छ, उसलाई विपत्ति आउनै सक्दैन ।

सम्राटको उद्देश्य त ईश्वरसँग साक्षात्कार गर्ने थियो, चोर र दुष्टहरूसँग होइन ।

एक दिन सम्राट सिंहासनमा सुतिरहेका बेला खलबली मच्चियो । जो कोही हतारमा थिए ।

खलबली सुनेर उनले आफैसँग संवाद गर्न थाले- कसको हिम्मत होला ? जसले महलमा चढेर यस्तो किसिमको धमाका मच्यायो ?

सम्राटले झ्यालबाट हप्काउँदै भने, `को हो हँ ?’

माथिबाट केही मान्छेले शिर झुकाएर भने, `यो रातमा हामी केही खोज्न निक्लेका हौँ । हाम्रो ऊँट खोज्न हिँडेका हौँ ।’

बादशाले भने, `मूर्खहरू, यतिका माथि कसरी आउँछ ऊँट ?’

तिनीहरूले भने, `यदि यो सिंहासनमा बसेर ईश्वरसँग साक्षात्कार हुने सपना देख्न सकिन्छ भने हामीहरूले पनि ऊँट पक्कै भेट्ने छौँ ।’

यो जवाफले सम्राटलाई अवाक् बनायो । त्यसयता जनताले सम्राटलाई कहिल्यै महलमा देखेनन् । उनी सबैको नजरबाट गायब भए ।

मूल कथा : रूमी
भावानुवाद : जनक कार्की