साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

संसारका अद्भुत चित्रकला ४६

Chovar Blues Mobile Size

कहिलेकाहीँ कलाकार समाजको नजरमा असुहाउँदिला हुन्छन् । पचासको उकालो उमेरमा चढेका बेला पल गोगिनले १५ वर्षकी एउटी किशोरीमाथि आफ्नो हृदय यसरी खन्याए कि उनले आफ्नी पत्नी र पाँच सन्तानको के हाल होला भन्ने सोचेनन् । तर इतिहासले उनलाई त्यसरी मूल्यांकन गर्दैन । उनले आफ्नो जीवनकालमा कस्ता कृति संसारलाई छाडेर गए भन्ने मात्र दर्ज गर्छ । अँ, यो अलग कुरा हो कि फुटनोटमा उनको ‘लोलिता सिन्ड्रोम’का बारेमा वर्तमान समयले उनलाई टिप्पणी गरिरहेको हुन्छ ।

आज हामी पल गोगिनको मास्टरपिसका बारेमा चर्चा गर्नेछौँ । यो उनको सबैभन्दा महत्तवाकांक्षी चित्रकलामध्येको एउटा पनि हो । उनले जीवनको अन्तिम समय जहाँ बिताएका थिए, त्यहीँको जीवनशैलीलाई उनले एउटा पेन्टिङमा उतारे । उनका अन्य पेन्टिङले जस्तै यो पेन्टिङले पनि खास कथा बताउने गर्छ । यसका लागि हामीले देब्रेबाट पढ्न थाल्नुपर्छ । अनि मात्र उनले के भन्न खोजेका रहेछन् भन्ने स्पष्ट झलक पाउँछौँ ।

सबैभन्दा रोचक त यो पेन्टिङको शीर्षक छ, ह्वेयर डु वि कम फ्रम ? ह्वाट आर वी ? ह्वेयर आर वि गोइङ ?

सम्वतः यो पेन्टिङको नाम लामा शीर्षक राखिएका पेन्टिङमध्येको एक हुनुपर्छ ।

हामी कहाँबाट आयौँ ? हामी के हौँ ? हामी कहाँ गइरहेका छौँ ? भन्ने यो शीर्षकले नै जीवनको खोज यस पेन्टिङमार्फत गरिरहेको हामीलाई बुझ्न कठिन हुँदैन ।

sagarmani mobile size

पेन्टिङमा शरीरको बोल्ड प्रस्तुति गरिएको र जापानी प्रिन्टबाट यसका रङहरु प्रभावित भएको केही विज्ञ बताउँछन् । यसमा प्रयुक्त रङहरु प्राकृतिक देखिँदैनन् । अद्र्धनग्न शरीर यसको मुख्य केन्द्रमा छ ।

पल गोगिनले यस चित्रमा मिथक र संकेतको भरपूर प्रयोग गरेको बताएका छन् । यो चित्र उनको एक्सप्रेसनिस्ट र एब्स्ट्राक्ट आर्टको नमुना भएको केहीको भनाइ छ ।

को हुन् पल गोगिन ?
इम्प्रेसनिज्मका विरुद्ध अघि बढेका पल गोगिनले त्यो बेला आफ्नै शैली र रंगहरुको संयोजन गरे । उनका चित्र हेर्दामा जति असंगत देखिन्छन्, उनको जीवन पनि त्यत्ति नै असंगत मालुम हुन्छ ।

पेरिसमा जन्मिएका पलको हुर्काइ पेरुमा भयो । उनकी आमा आधा पेरु थिइन् । त्यो समयमा उनी सेयर बजारको धन्दा गर्थे र उनले त्यसबाट राम्रै रकम कमाएका थिए । तर, फुर्सदमा पेन्टिङको काम पनि गरिरहेका थिए ।

इम्प्रेसनिज्मका प्रशंसक रहेका उनले त्यो बेलाका कयौँ राम्रा चित्रकलाहरु किनेर संग्रहसमेत गरेका थिए । तिनको प्रदर्शनी पनि लगाउने गर्थे ।

सन् १८८३ देखि भने उनले सेयर बजारको धन्दा छाडेर उनी पेन्टिङमा रमाउन थाले । जब उनले भिजन अफ द सेरमन चित्र बनाए, त्यसबाट उनले आफ्नो अलग्गै शैली सिर्जना गरे । उनले सबैभन्दा रुचाएको इम्प्रेसनिज्मलाई नै त्यागिदिए ।

यात्रा गर्नु उनको सोख थियो । उनले पनामा र मार्टिनिकको भ्रमण गरेपछि उनी पेरिस फर्किए । भ्यान गगलाई भेटे । त्यहाँ उनले भ्यान गगसँगै चर्को झगडा गरे र उनलाई कुनै पनि किसिमको पेन्टिङ बनाउन नआउने भनी दुत्कारे ।

यसपछि उनी त्यस बेलाको फ्रान्सको औपनिवेशिक क्षेत्र तहिटीमा गई बस्न थाले । उनलाई यौन रोग लागेको थियो र पनि उनले त्यो बेला बनाएका पेन्टिङहरु नै सबैभन्दा सिर्जनशील मानिन्छन् । पछि उनको मृत्यु मार्किसास द्विपमा हुन पुग्यो ।

यो पेन्टिङमा के हेर्ने ?
१. सुतिरहेको बच्चा
मुस्लिमहरुको लेखनीमा पूर्वबाट पश्चिमतिर पढिन्छ । उनले सोही शैलीमा यो चित्र बनाएका छन् । यो चित्र बुझ्नका लागि पूर्वबाट क्रमशः हेर्दै आउनुपर्छ । एउटा बालक भुइँमा सुतिरहेको छ र तीन स्त्रीहरु भिन्दाभिन्दै पोजमा छेउमा बसिरहेका छन् ।

भर्खरैको बच्चाले मानिसको जीवनचक्रको पहिलो पडावका बारेमा बताइरहेको छ ।

२. सुनिरहेकी स्त्री
एक जना स्त्री केही सुनिरहेकी छ । उसको अघिल्तिर पर दुई जना स्त्री केही कुरा गरिरहेको देखिन्छ र त्यसमा उसको चासो देखिन्छ । उसको पछाडिको ढाड नग्न देखिन्छ । यो ग्रामीण स्त्रीमा सौन्दर्यको कुनै झलक उनले देखाएका छैनन् । ढाड चेप्टो पारिदिएका छन् उनले । स्त्री सुलभ सौन्दर्यको ढोका नै बन्द गरेका छन् यहाँ ।

३. फल चुँडिरहेको युवा
यो बडेमानको क्यानभास भरिको अग्लाईलाई चित्रकारले फल टिपिरहेको एक युवामार्फत् भर्न खोजेका छन् । फल टिप्नु भनेको जीवनको स्वाद, जीवनको आनन्दको संकेत यहाँ दिइएको छ । शायद यही कारणले अन्य स्त्रीहरुभन्दा यसलाई बढी ठाउँ दिइएको हो, प्रमुख पात्र बनाइएको हो । यो अनुहारले हामीलाई आदम र हब्बा (इभ)को कथा याद दिलाउँछ, जहाँ स्त्रीले स्याउ खान पुरुषलाई बाध्य बनाउँछे । शरीरको पृष्ठपोषणका लागि पहेँलोपना बढी प्रयोग गरिएको छ भने यसको छाउछाउका रङ नीलो र हरियो पारिएको छ ।

४. आँप चुसिरहेकी केटी
छेउमा बिराला देखिन्छन् र बसेर एउटी केटी आँप चुसिरहेकी छ ।

५. मूर्ति
छेउमा कुनै देवीको मूर्तिजस्तो देखिन्छ । हल्का नीलो रंगको यो मूर्तिले यो जगतको नभई पारलौकिक रहेको सन्देश दिन खोजिएको छ । यही मूर्ति डे अफ द गड नामक पेन्टिङमा पनि देखाइएको छ । खासमा आदिवासीका यस्ता मूर्ति र तिनको धर्म नष्ट गरिदिएको विरोधस्वरुप चित्रकारले यसलाई जोडतोडका साथ प्रस्तुत गरेका छन् ।

६. अक्षर
देब्रे कुनोको माथिल्लो भागमा चित्रकारले यो चित्रको शीर्षक लेखेका छन् । फ्रान्सेली भाषामा उनले हामी कहाँबाट आएका हौँ ? कहाँ गइरहेका छौँ ? कहाँ जाँदैछौँ ? भनी प्रश्न गरेका छन् । एक जना वृद्धाको मृत्युको क्षणमा उठेका प्रश्नहरु शायद यहाँ कुँदिएको हुनसक्छ ।

७. वृद्धा
चित्रको सबैभन्दा देब्रे कुनामा एक जना कालो वर्णकी महिला चिन्तित मुद्रामा देखिन्छिन् । जीवनको अन्तिम घडीमा उनी कुनै गम्भीर सोचमा रहेको देख्न सकिन्छ । छेउमा श्वेत हाँस पनि देखिन्छ । यसले मृत्युको प्रतिनिधित्व गरेको छ ।

८. टहिटीको भूमि
सबैभन्दा दाहिने भागमा माथि निलो रंगले जे देखाउन खोजिएको छ, त्यो टहिटीको भूभागको नक्सा हो । उनले यो ठाउँमा बसेर गहन चिन्तन गरेको कुरालाई यसमार्फत उजागर गरेका हुन् ।

आउनुस्, यो चित्रलाई अझ गम्भीर भएर अवलोकन गरौँः

प्रतिक्रिया
Loading...