साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

भूमिका लेखन के हो र कसरी लेखिन्छ ?

Chovar Blues Mobile Size

१. विषय प्रवेश
साहित्यका विभिन्न रूपहरूमध्येमा भूमिका लेखनको पनि विशेष स्थान रहेको पाइन्छ । प्रायः किताबहरूमा भूमिका हुने गर्दछ तर भूमिकालाई साहित्यको कुन विधाअन्तर्गत राख्ने भन्ने बारेमा आजसम्म पनि निक्र्योल भएको छैन । सामान्यतः भूमिका आख्यानेतर गद्यअन्तर्गत पर्दछ तर कुनै कुनै कृतिमा पद्यात्मक भूमिकाहरू पनि पाइन्छन् । भूमिकामा लेखकीय दृष्टिकोणसहितको आत्मपरक वा वस्तुपरक प्रस्तुति हुने गर्दछ त्यसैले यो निबन्ध विधाको नजिक छ जस्तो लाग्छ । यसमा स्रष्टाको व्यक्तित्व र कृतित्वको उद्घाटन हुने र सम्बन्धित कृतिको विश्लेषण पनि हुने हुनाले थोरै जीवनी र धेरै समालोचनासँग नजिक भएको देखिन्छ । कुनै कुनै भूमिकामा सम्बन्धित कृतिको विषयगत सूचनामा जोड दिइएको देख्दा यो प्रतिवेदनात्मक भए झैँ लाग्दछ भने कुनैमा विषयवस्तुप्रतिको तार्किक विचार, विश्लेषण र मार्गनिर्देश पनि हुनाले यो टिप्पणीको नजिक रहे झैँ पनि लाग्दछ । भूमिका लेखनले निबन्ध, प्रबन्ध, जीवनी, समालोचना, प्रतिवेदन, टिप्पणी आदिबाट आंशिक रूपमा स्वरूप र शैली ग्रहण गरे पनि यो ती सबैभन्दा नितान्त फरक उद्देश्य, फरक सन्दर्भ र फरक शैलीमा लेखिने रचना हो भन्न सकिन्छ । कुनै कुनै कृतिमा बाहेक प्रायः सबै कृतिमा भूमिका लेख्ने वा लेखाउने गरिन्छ त्यसैले यसको लेखन कृति जत्ति नै भएको पाइन्छ । स्रष्टाको रोजाइका दृष्टिले यो अति नै महत्त्वपूर्ण मानिन्छ तर पाठकीय रोजाइ वा महत्त्वका दृष्टिले चाहिँ यो दोस्रो दर्जामा मात्र पर्दछ । यस लेखमा पुस्तक प्रकाशन हुनुभन्दा अगाडि नै कुनै विशिष्ट व्यक्तित्वबाट त्यस कृतिका बारेमा गरिने भूमिका लेखनका बारेमा केही सैद्धान्तिक र केही व्यावहारिक जानकारी प्रस्तुत गरिएको छ ।

२. भूमिका लेखनको सैद्धान्तिक स्वरूप
‘भूमि+कै+क+टाप्’ निर्माण प्रक्रियाबाट बनेको स्त्रीलिङ्गबोधक ‘भूमिका’ शब्दको सोझो अर्थ पृथ्वी, जमिन, माटो आदि हुने गर्दछ तर साहित्यका सन्दर्भमा भने ‘भूमिका’ भनेको कुनै किताबको प्रस्तावना वा परिचय हो । त्यही ‘भूमिका’ शब्दमा ‘लिख्+ल्युट्(अन)’ निर्माण प्रक्रियाबाट बनेको ‘लेखन’ शब्द सान्दर्भिक भएर आउँदा ‘भूमिका लेखन’ हुने गर्दछ । सामान्यतः भूमिका भन्नाले कृतिको अग्रकथन भन्ने बुझ्नुपर्दछ र भूमिका लेखन भन्नाले कृतिका बारेमा पाठकलाई दिइने पूर्वजानकारी भन्ने बुझ्नुपर्दछ । अङ्ग्रेजीमा भूमिका लेखनलाई बुझाउने ‘प्रिफेस’ (Preface), ‘फर्वार्ड’ (Foreward) आदि शब्दहरू पाइन्छन् । यिनले पनि कृतिको पूर्वपरिचयलाई नै सङ्केत गरेका छन् । उल्लिखित संस्कृत वा अङ्ग्रेजी दुवै शब्द निर्माण प्रक्रिया र प्रयोगगत सन्दर्भलाई हेर्दा यिनले कृतिलाई चिनाउनका लागि अथवा पठनका लागि पाठकवर्गमा सकारात्मक उत्प्रेरणा जगाउनका लागि लेखिने प्राज्ञिक भूमिकालाई लक्षित गरेको देखिन्छ ।

भूमिकाको एउटा स्पष्ट विधा पहिचान र त्यसको मानक बनोटका बारेमा पनि अस्पष्टता नै रहेको हुनाले यसको सैद्धान्तिक चर्चा पनि अत्यन्त कम मात्र भएको पाइन्छ । यति धेरै प्रयोगमा आउने रचनाको कुनै निश्चित सिद्धान्त नहुनु आफैँमा आश्चर्य लाग्दो कुरा हो । नेपाली साहित्य परम्परामा भूमिकाका बारेमा ठाउँ ठाउँमा चर्चा भएको र केही फुटकर लेखहरू लेखिएको पाइए पनि कृतिगत रूपमा चाहिँ समालोचक ज्ञाननिष्ठ ज्ञवालीको ‘भूमिका सिद्धान्त र ज्ञवालीका भूमिका’ (२०६३) नामक एक मात्र कृति फेला परेको छ । यसका बारेमा विभिन्न शब्दकोश र व्यक्तित्वहरूले आआफ्नै तरिकाले परिभाषाचाहिँ गरेका छन् । ‘नेपाली बृहत् शब्दकोश’मा भूमिका शब्दको अर्थ कुनै ग्रन्थका सम्बन्धमा ज्ञातव्य कुरा लेखिएको, त्यसै ग्रन्थका आरम्भको वक्तव्य, प्रस्तावना, प्राक्कथन, आमुख, उपोद्घात, मुखबन्ध आदि लेखिएको छ । कमल दीक्षितले पाठकका लागि सजिलो पर्ने गरी सङ्क्षेपमा किताबलाई चिनाउनु भूमिका हो भनेका छन् भने कृष्णप्रसाद पराजुलीले कृतिलाई राम्ररी बुझ्न सक्ने गरी लेखिएको छोटो लेखलाई भूमिका भनिन्छ भनी परिभाषित गरेका छन् । यसरी नै घनश्याम कँडेलले कृतिमा दिन खोजिएको कुरा थोरै शब्दमा मिठो तरिकाले भनेर पाठकलाई प्रभावित पार्ने रचनालाई, चूडामणि बन्धुले ग्रन्थको सङ्क्षिप्त परिचय, पृष्ठभूमि, इतिहास, विषयवस्तु र उद्देश्य बोकेको लेखनलाई र नेत्र एटमले कृतिका लेखक र भूमिका लेखकका बिचको आत्मीययतापूर्ण अन्तरक्रियालाई भूमिका मानेका छन् । साथै रामप्रसाद ज्ञवालीले सम्बन्धित कृतिप्रति सकारात्मक जिज्ञासा जगाई पाठकहरूमा त्यो कृति पढ्ने अभिरुचि उत्पन्न गर्नु, कृतिकारप्रति सद्भावपूर्ण रही कृतिका प्रमुख विशेषताहरूको सङ्केत गर्नु, कृति र कृतिकारको मूल्याङ्कन सापेक्षतामा गर्दै कृतिकारका सिर्जनाकर्म र सकारात्मक प्रवृत्तिहरूलाई प्रोत्साहित गर्नु एवम् कृतिकार सिकारु वा नवप्रतिभा हो भने उचित मार्गदर्शनसमेत गराउनु भूमिका लेखनको उद्देश्य रहेको बताएका छन् भने ज्ञाननिष्ठ ज्ञवालीले भूमिका कृतिभित्र पस्न सघाउने पाठकको प्रवेशद्वार हो भन्दै विधागत विशिष्टताका आधारमा कृतिको सङ्क्षिप्त मूल्याङ्कन, सम्प्रेषणयुक्त भाषाशैली, मार्मिक एवम् गहन विचारको सान्दर्भिक प्रस्तुति र कृतिलेखकका महत्त्वपूर्ण ऐतिहासिक तथ्यहरूको समेत सूत्रात्मक जानकारी प्रस्तुत गरी लेखिएको सटीक एवम् सारपूर्ण भूमिका नै उत्कृष्ट भूमिका हो भनी चिनाएका छन् । यी परिभाषाहरूका आधारमा हेर्दा सम्बन्धित विषयक्षेत्रको एउटा विशिष्ट व्यक्तिले नयाँ कृतिका बारेमा प्रस्तुत गर्ने परिचयात्मक, उत्प्रेरणामूलक र विश्लेषणात्मक लेखनलाई भूमिका लेखन भन्न सकिन्छ जसले सर्जकलाई थप सिर्जनाका लागि र पाठकलाई सम्बन्धित कृति पठनका लागि एकै पटक उत्प्रेरित गर्ने काम गर्दछ चन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

भूमिका लेखनको सैद्धान्तिक चर्चा र प्रयोगगत परम्पराको उल्लेख पनि कम मात्र भएको पाइन्छ । यो पूर्वीय जगत् र पाश्चात्य जगत् दुवैतिर अत्यन्त लोकप्रिय मानिएको छ तापनि अन्य विधाको जस्तो लामो ऐतिहासिक योगदान यसको देखिँदैन । पूर्वीय जगत्मा वेद, पुराण, इतिहास, धर्मशास्त्र आदिका बारेमा अनेकौँ टीकाकार एवम् भाष्यकारहरू देखापरेका छन् । तिनले पूर्ववर्ती विभिन्न कृतिका बारेमा भूमिका लेखी तिनको टीकासहित नयाँ संस्करणका रूपमा प्रकाशन गरेको पाइन्छ तर पहिलो भूमिका यही हो भनी किटान गर्न सकिँदैन । पाश्चात्य जगत्मा सत्रौँ शताब्दीको मध्यतिर युरोपमा अनूदित कृतिको ऐतिहासिक, भाषिक र साहित्यिक महत्ता देखाउने क्रममा भूमिका लेखन प्रारम्भ भएको तर त्यतिबेला भूमिकालाई भाषाशास्त्र भन्ने गरेको ऐतिहासिक तथ्य फेला पर्दछ । अठारौँ शताब्दीमा वर्डस्वर्थ (सन् १७७०—१८५०) ले ‘प्रेफिस टु लिटेरेरी ब्यालेट्स’ शीर्षकमा आफ्नै कृतिमाथि भूमिका लेखेको पाइन्छ । यसपछि ड्राइडेन, मिल्टन आदि स्रष्टा एवम् द्रष्टाहरूले पनि भूमिका लेखनलाई निरन्तरता दिएको पाइन्छ । नेपाली साहित्यपरम्परामा भूमिका लेखनको थालनी मोतीराम भट्टबाट भएको हो । रामायणका अन्वेषक भट्टले वि.सं. १९४४ पुस १५ गते लेखेको ‘भानुभक्तकृत भाषारामायण’ कृतिको भूमिकालाई नेपालीमा लेखिएको पहिलो भूमिका मान्ने गरिन्छ । यस कुराको स्पष्ट उल्लेख शिव रेग्मीद्वारा सम्पादित ‘नेपाली कविताको भूमिकैभूमिका’ (२०५९) कृतिमा गरिएको छ । यसपछि भूमिका लेखनले नेपाली साहित्यमा निकै लोकप्रियता पाएको देखिन्छ । केही माध्यमिक कालीन स्रष्टाहरूले यसलाई निरन्तरता दिए भने आधुनिक कालमा ईश्वर बराल, कमल दीक्षित, कृष्णप्रसाद पराजुली, शङ्कर लामिछाने, वासुदेव त्रिपाठी, तारानाथ शर्मा आदि लेखकहरूका भूमिकाहरूको विशेष चर्चा हुने गरेको पाइन्छ । अहिले आएर भूमिका लेखन कृतिको एउटा अभिन्न अङ्गकै रूपमा विकास हुँदै गएको छ ।

३. भूमिकाका प्रकारहरू
कृतिकारको प्रमुख उद्देश्य आफ्नो कृतिका बारेमा आफूले विश्वास गरेको व्यक्तिबाट भूमिका लेखाउनु नै हो तर भूमिका लेखकको लेखनशैली, त्यसको आकारप्रकार, प्रस्तुति आदिलाई हेर्दा भूमिका लेखनमा एकरूपता पाइँदैन । भूमिका लेखनका विभिन्न स्वरूपहरूलाई हेरेर समालोचक ज्ञाननिष्ठ ज्ञवालीलले (क) विषयका आधारमा (परिचयात्मक, प्रशंसात्मक, समीक्षात्मक, संज्ञानात्मक र शुभेच्छात्मक), (ख) शैलीका आधारमा (आत्मपरक र वस्तुपरक), (ग) लेखनको केन्द्रका आधारमा (लेखकीय, प्रकाशकीय, सम्पादकीय र अन्य व्यक्तिद्वारा लिखित भूमिका) र (घ) भाषिक आधारमा (गद्य र पद्य) गरी चारओटा आधारक्षेत्रमा विभिन्न भेदको सङ्केत गरेका छन् भने नेत्र एटमले १. आशीर्वादका रूपमा, २. प्रशंसापत्रका रूपमा र ३. समालोचनाका रूपमा गरी तीनओटा प्रकारको सङ्केत गरेका छन् । उल्लिखित साक्ष्यहरू र नेपाली कृतिहरूमा लेखिने गरेका भूमिकाहरूलाई बाह्य रूपमा हेर्दा भूमिकाका निम्नलिखित तीनओटा प्रकार स्पष्ट रूपमा देखिन्छन्—
(क) शुभकामनामूलक भूमिका
(ख) परिचयात्मक भूमिका
(ग) समालोचनात्मक भूमिका
यिनको लेखनमा पाइने बाह्य तथा आन्तरिक भिन्नतालाई यसरी स्पष्ट पार्न सकिन्छ—

sagarmani mobile size

(क) शुभकामनामूलक भूमिका
यसमा कृतिकारले उच्चपदस्थ व्यक्तित्वबाट अथवा श्रद्धेय अग्रजहरूबाट आशीर्वाद मात्र प्राप्त गर्ने उद्देश्य राखेको हुन्छ र भूमिका लेखकले पनि कृतिभित्र प्रवेश नै नगरीकन स्रष्टालाई हौसला प्रदान गर्ने उद्देश्यले भूमिका लेखेको हुन्छ । यसमा कृतिकारका विशेषता, कृतिगत विश्लेषण वा रचनाको गुण–दोष आदिको मूल्याङ्कन गरिँदैन । यसमा एक अनुच्छेद अथवा एकदुई पृष्ठमा स्रष्टाको आगामी लेखनका लागि शुभाशिष्, शुभेच्छा, आशीर्वाद वा शुभकामना व्यक्त गर्ने गरिन्छ । यस प्रकारको भूमिका संस्थागत जिम्मेवारी वहन गरिरहेको व्यक्तित्वबाट हो भने सम्बन्धित संस्थाको लेटर प्याडमा र स्वतन्त्र व्यक्तित्वबाट हो भने खाली पानामा पनि लेख्ने गरिन्छ ।

(ख) परिचयात्मक भूमिका
यस प्रकारको भूमिका सम्बन्धित विषयको जानकार व्यक्तिबाट नै लेखिन्छ । अर्थात् स्रष्टाले राजेको व्यक्ति नै यसको लेखक हो । यसमा कृतिकार र कृतिको सोझो परिचय प्रस्तुत गरिन्छ । यसको उद्देश्य स्रष्टा र सिर्जनाको सपाट चित्राङ्कन हो । यसले विधागत सौन्दर्य, सैद्धान्तिक स्वरूप र कृतिगत वैशिष्ट्य आदिका बारेमा केही पनि नबोली कृतिमा के छ त्यसको मात्र जानकारी दिने गर्दछ । कृतिकार को हो ? कृति कुन विधाको हो ? कृति कुन आकारप्रकारको छ ? त्यस कृतिभित्र के के छन् ? आदि सबै कुराको शब्दचित्र उतार्ने काम मात्र यस प्रकारको भूमिकामा हुने गर्दछ । त्योभन्दा अलिकति माथि उठेर भूमिका लेखकले कृतिकारको बढाइचढाइ वा प्रशंसापुष्प वर्षाको काम पनि यसमा गर्ने गर्दछ । यो प्रायः सूचनामूलक र गुणपरक भूमिका लेखन हो ।

(ग) समालोचनात्मक भूमिका
यो प्राज्ञिक एवम् बौद्धिक व्यक्तित्वबाट लेखिने भूमिका हो । यसको भूमिका लेखक सम्बन्धित विषयको विशिष्ट ज्ञाता, विधागत सौन्दर्यवेत्ता वा समालोचनाको मर्मलाई साम्ररी बुझेको हुने गर्दछ । यसमा स्रष्टालाई प्रशंसाको चुलीमा पु¥याउने काम गरिँदैन, कृतिगत वैशिष्ट्यका आधारमा गुणदोषको तार्किक विश्लेषण गरी आगामी यात्राका लागि लाक्षणिक रूपमा मार्गनिर्देश गरिन्छ । यसमा लेखकीय प्रवृत्ति वा कृतिगत प्रवृत्तिको सैद्धान्तिक विश्लेषण पनि गरिन्छ त्यसैले यसलाई प्रवृत्तिविश्लेषणमूलक भूमिका पनि भन्ने गरिन्छ । यसमा विधासौन्दर्य, विधातत्त्व, पूर्ववर्ती प्रभाव, वर्तमानको उपलब्धि, ऐतिहासिक प्राप्ति, कृतिगत वैशिष्ट्य, नवीन योगदान, भविष्यका लागि सङ्केत र स्रष्टाको आगामी दायित्व आदिका बारेमा पनि बौद्धिक विमर्श गरिएको हुन्छ । यसबाट स्रष्टा स्वयंले आत्ममूल्याङ्कन गर्न पनि पाउँछ र पाठकलाई पनि सम्बन्धित क्षेत्रका बारेमा महत्त्वपूर्ण ज्ञान प्राप्त हुने गर्दछ ।

यिनका अतिरिक्त कृतिमा बढीभन्दा बढी अग्रज व्यक्तित्वहरू वा विज्ञहरूलाई समावेश गराउने उद्देश्यले कृतिको भित्री कुनै पृष्ठमा अथवा पछाडिपट्टिको बाहिरी गातामा राख्ने गरी दुई हरफ, चार हरफ वा एक अनुच्छेदका प्रतिक्रियामूलक सामग्रीहरू राख्ने पनि प्रचलन छ । यसलाई भूमिकाभन्दा पनि कृतिप्रतिको प्रतिक्रिया वा सङ्क्षिप्त टिप्पणी वा लेखकीय उपस्थिति भन्न सकिन्छ ।

४. भूमिकाको महत्त्व
भूमिका कृतिको पूर्वचिनारी हो भने भूमिका लेखक कृतिको पहिलो गम्भीर पाठक हो । त्यस कृतिलाई लेखक स्वयंले पहिलो पटक पढेको हुन्छ अथवा कसैले परिवारका सदस्य, मित्रजन, गुरुजन आदिसँग परामर्श लिएको हुन सक्छ तर आलोचनात्मक दृष्टिकोणसहितको पहिलो र गम्भीर पाठकचाहिँ भूमिका लेखक नै हुने गर्दछ । भूमिका लेखकका कोणबाट हेर्दा पहिलो स्रष्टाले पत्याउनु र दोस्रो उक्त कृतिको पहिलो पाठक बन्न पाउनु खुसीको कुरा हो भने कृतिकारका कोणबाट हेर्दा पहिलो आफ्नो अभिमतलाई विज्ञजनले कसरी हेर्दा रहेछन् भन्ने थाहा पाउनु र दोस्रो आफ्नोे कृतिको सम्भावित लोकप्रियताका बारेमा अनुमान लगाउन पाउनु थप उपलब्धि हो ।

भूमिका कृतिका लागि नभई नहुने तत्त्वचाहिँ होइन तापनि यसको लोकप्रियता अहिले निकै चुलिँदै गएको छ । ऐतिहासिक सन्दर्भलाई हेर्ने हो भने भूमिकाका कारण कृति चिनिएका, चर्चित भएका र मूल कृतिभन्दा भूमिका शक्तिशाली भएका साक्ष्यहरू पनि प्रशस्त पाइन्छन् । कुमारबहादुर जोशीद्वारा लिखित ‘महाकवि देवकोटा र उनका महाकाव्य’ (२०३१) समालोचनात्मक कृति आफैँमा महत्त्वपूर्ण छ तापनि त्यस कृतिमा डा. वासुदेव त्रिपाठीद्वारा लिखित ‘महाकवि देवकोटा र उनका महाकाव्यका सम्बन्धमा’ शीर्षकको ८८ पृष्ठको भूमिकाले त्यस कृतिलाई नै छायामा पारिदिएको र उक्त भूमिकालाई चाहिँ त्रिविको नेपाली स्नातकोत्तरको पाठ्यसामग्रीमा समावेश गरिएको कुराले निकै चर्चा पाउने गरेको छ । त्यसैले यदि भूमिका लेखक योग्य, दक्ष, विज्ञ र वस्तुपरक विश्लेषक हुने हो भने त्यसबाट स्रष्टा र सिर्जनालाई पनि न्याय हुन्छ अनि पाठक र अनुसन्धातालाई पनि अपेक्षित लाभ हुने गर्दछ । यही कुराले भूमिका लेखनको महत्त्वलाई पनि स्थापित गर्दछ ।

५. भूमिका लेखनका लागि के के चाहिन्छ ?
भूमिका लेखन कसैले सिर्जना गरेको कृतिमाथि समालोचकीय दृष्टिकोण राख्ने ठाउँ हो । यसका लागि सबैभन्दा पहिले भूमिका लेखक द्रष्टाचेतना भएको हुनुपर्छ । त्यस कृतिको लेखकलाई कुनै न कुनै रूपमा चिनेको हुनुपर्छ । कृतिकार र भूमिका लेखकको अन्तःसम्बन्ध व्यावहारिक रूपमा, सिर्जनात्मक रूपमा वा पूर्वकार्यगत चिनारीका रूपमा नजिक भइसकेको हुनुपर्छ । यी तीनओटै कुरा नभएको स्रष्टाको कृतिका बारेमा भूमिका लेख्नुप¥यो भने पनि लेखकले भूमिका लेख्नुभन्दा अगाडि नै उसको व्यक्तिगत विवरणको माग गरी अध्ययन गरेर एक प्रकारको पूर्वपरिचयवत् आत्मधारणा निर्माण गर्नुपर्छ । यसका साथै सम्बन्धित कृतिको विधाक्षेत्र, विषयक्षेत्र, शैलीक्षेत्र आदिका बारेमा पनि अध्ययन गरी लेखकीय स्पष्ट धारणा निर्माण गर्नुपर्छ । समालोचक नेत्र एटमले भूमिका लेखनका लागि लेखकीय व्यक्तित्वको उद्घाटन, अभिव्यक्तिको तार्किकता एवम् पुष्टि र कृतिप्रतिको मौलिक टिप्पणी र दृष्टिकोण तीनओटा महत्त्वपूर्ण तत्त्वको आवश्यकता देखाएका छन् तर उल्लिखित सबै खाले भूमिकामा यी कुराहरूको पालना भएको हुँदैन । समालोचनात्मक भूमिकाका सन्दर्भमा चाहिँ यी कुराहरू अत्यावश्यक मानिन्छन् । उल्लिखित सन्दर्भहरूलाई समेत आधार मानेर भन्दा जुन भूमिका लेखक कुनै कृतिको भूमिका लेख्नका लागि बस्दछ उसले निम्नलिखित अङ्गहरूमा ध्यान दिनु जरुरी हुन्छ—

(क) व्यक्तित्वको उद्घाटन
भूमिका लेख्दा सम्बन्धित कृतिको लेखकका बारेमा कुनै न कुनै प्रकारको जानकारीका साथ लेखकको व्यक्तित्व उद्घाटन आवश्यक हुन्छ । यसमा व्यक्तिको जीवनी, व्यक्तित्व र कृतित्वका उल्लेखनीय पक्षहरूको संश्लिष्ट स्वरूप प्रस्तुत गर्नु राम्रो मानिन्छ । यसका लागि आत्मपरक र वस्तुपरक दुवै शैलीको प्रयोग गर्न सकिन्छ । यसको उद्देश्य सम्बन्धित कृतिको लेखकका बारेमा पाठकलाई जानकारी दिएर कृतिभित्र पस्न अभिप्रेरित गर्नु हो ।

(ख) कृतिको वस्तुगत एवम् तार्किक विश्लेषण
भूमिका लेख्दा कृतिकारलाई कृतिको मूल्याङ्कन नै नगरी प्रशंसाको शिखरमा चढाउनु राम्रो मानिँदैन । यसका साथै सकारात्मक कुराको चर्चा नै नगरी दोषको मात्र रौँचिरा खोजी गर्नु पनि हुँदैन । विधागत सिद्धान्त, प्रयोगगत यथार्थ, युगीन आवश्यकता, पाठकीय अपेक्षा र नवीन प्राप्ति जस्ता कुरालाई ध्यानमा राखेर वस्तुता, सत्यता र तर्कमा आधारित विश्लेषण गरियो भने त्यो भूमिका निष्पक्ष, पारदर्शी र अभीष्ट प्राप्तिका लागि सहयोगी बन्ने गर्दछ ।

(ग) आत्मदृष्टि, मूल्यदृष्टि र मौलिक टिप्पणी
भूमिका लेखकमा ज्ञानमा आधारित आत्मदृष्टि हुनुपर्छ, प्रभावमा आधारित होइन । त्यो ज्ञान सम्बन्धित कृतिको विश्लेषण गरी निष्कर्ष निकाल्नका लागि सहयोगी हुनुपर्छ । यति भयो भने सम्बन्धित कृतिको सिर्जनात्मक नवीनता के हो ? युगीन मूल्य के हो ? र मौलिकता के हो भन्ने कुराका बारेमा प्राज्ञिक एवम् बौद्धिक विमर्शसहितको लेखकीय टिप्पणी भूमिकामा देखा पर्दछ । यसले स्रष्टालाई आत्ममूल्याङ्कनका साथमा आगामी यात्राका लागि दिशानिर्देश गर्दछ भने पाठकलाई पनि अपेक्षित लाभ प्राप्त हुन्छ ।

(घ) उत्प्रेरणामूलक निष्कर्ष
भूमिका प्रभावपरक लेखन नै हो । यसमा कुनै न कुनै रूपमा कृतिकारसँगको सम्बन्ध, सिर्जनात्मक प्रभाव र आत्मपरकताको प्रवेश भइ नै हाल्छ । त्यसैले अगाडि गुणदोषको समग्र सङ्केत भए पनि निष्कर्ष उत्प्रेरणामूलक हुने गर्दछ । भूमिकाको अन्त्यमा पुग्दा ‘यति हुँदाहुँदै पनि’ जस्ता पदावलीको प्रयोग गरेर भूमिका लेखकले कृतिको लेखकलाई कृति लेखन र प्रकाशनका लागि बधाई ज्ञापन गरेर अगामी यात्राका लागि शुभकामना दिनुपर्ने हुन्छ । यसले कृतिकार र भूमिका लेखकबिचको आत्मीयतालाई उचाइमा पु¥याउने काम गर्दछ ।

यिनका अतिरिक्त आकर्षक शीर्षकीकरण पनि भूमिकाको एउटा महत्त्वपूर्ण पाटो हो । शीर्षकीकरणमा सकेसम्म कृतिभित्रको वैशिष्ट्यको प्रतिविम्बन हुन सक्यो भने त्यसलाई राम्रो मानिन्छ । ‘फलानो कृति पढेपछि’, ‘फलानो कृति पढ्दा’, ‘फलानो कृतिमा आँखा लगाउँदा’, ‘फलानो कृतिमा विचरण गर्दा’, ‘फलानो कृतिप्रति विहङ्गम दृष्टि’, ‘फलानो कृतिप्रतिको मन्तव्य’ जस्ता शीर्षकहरूचाहिँ भूमिका लेखनका लागि पुरापन प्रकृतिका र भद्दा लाग्ने गर्दछन् । त्यसैले शीर्षक छनोटमा पनि एक प्रकारको आकर्षण हुने गर्दछ जसले पाठकलाई कृति पढ्न बाध्य बनाउँछ । यसका साथै मनोरञ्जक प्रस्तुतीकरण, उत्प्रेरणामूलक उदाहरण र समुचित मार्गनिर्देश जस्ता कुराले पनि भूमिका लेखनमा निकै ठुलो प्रभाव पार्ने गर्दछन् ।

६. भूमिका कसरी लेखिन्छ ?
उल्लिखित सन्दर्भ र तत्त्वहरूका बारेमा स्पष्ट भइसकेपछि भूमिका लेख्न कुनै गाह्रो हुँदैन । सामान्य रूपमा भूमिकाका तीनओटा खण्डहरू हुने गर्दछन् । यिनलाई आदि, मध्य र अन्त्य खण्ड पनि भन्न सकिन्छ । यी खण्डमा लेखकीय व्यवस्थापन निम्नानुसार हुनु राम्रो मानिन्छ—

पहिलो खण्ड ः आदि भाग (स्रष्टा र सिर्जनाको परिचय)
यो भूमिकाको थालनी हो । यस खण्डमा सबैभन्दा माथि आकर्षक शीर्षक राखेर त्यसभन्दा मुनि क्रमशः मूल लेखक र भूमिका लेखकबिचको अन्तःसम्बन्धको चर्चा गर्ने गरिन्छ । यो अनौपचारिक ढाँचामा प्रारम्भ हुन्छ र यसमा लेखकसँगको व्यक्तिगत सन्दर्भको समेत चर्चा हुन सक्छ । पाठकलाई स्रष्टा र सिर्जनाका बारेमा परिचय दिएर कृति पढ्नका लागि उत्प्रेरणा जगाउनु भूमिकाको आदि भागको काम हो । यो एक वा दुई अनुच्छेदमा लेखिन्छ ।

दोस्रो खण्ड ः मध्य भाग (कृतिको मूल चिनारी)
यो भूमिकाको मूल भाग हो । यसलाई विश्लेषण खण्ड पनि भन्न सकिन्छ । यस खण्डमा कृतिको अन्तर्वस्तु वा सारतत्त्व, गुणात्मक महत्त्व, नवीन मूल्य, मूलभूत वैशिष्ट्य, युगीन प्राप्ति आदिका बारेमा वस्तुपरक जानकारी प्रस्तुत गरिन्छ । विधासौन्दर्य, विधातत्त्व र रचनाविधानको सैद्धान्तिक सन्दर्भसँग जोडेर कृतिप्रतिको आलोचनात्मक दृष्टिकोणको स्थापना गरिने हुनाले भूमिकाका लागि यो खण्ड महत्त्वपूर्ण मानिन्छ । यस खण्डमा स्रष्टा र सिर्जनाको प्रवृत्तिगत विश्लेषण पनि हुने हुनाले विभिन्न उपशीर्षक दिएर कृतिभित्रबाट सान्दर्भिक उदाहरणहरू प्रस्तुत गर्न पनि सकिन्छ । यो खण्ड विषयवस्तुको मागअनुसार जति पनि अनुच्छेदमा लेख्न सकिन्छ ।

तेस्रो खण्ड ः अन्त्य भाग (उपयोगी निष्कर्ष)
यो भूमिकाको अन्तिम भाग हो । यसलाई भूमिकाको निचोड वा निष्कर्ष खण्ड पनि भनिन्छ । यस खण्डमा भूमिका लेखकले आफ्नो दृष्टिकोणको स्थापना पनि गर्न सक्छ । यसमा कृतिको औचित्य स्थापनाका साथ उत्प्रेरणामूलक निष्कर्ष प्रस्तुत गरिन्छ । यहाँ आएर फेरि एकपटक लेखकसँगको अन्तःसम्बन्धको उद्घाटन हुन्छ र आत्मपरक शैलीमा बधाई तथा शुभकामनाका सन्दर्भहरूको पनि उल्लेख हुन्छ । साथै अन्त्यमा आगामी सिर्जनाका लागि सकारात्मक हौसलाका साथ समापन गरिन्छ । यो खण्ड पनि आवश्यकताअनुसार एक वा दुई अनुच्छेदमा लेखिन्छ र भूमिका लेखन सकिएपछि तल्लो भागमा लेखकको नाम, ठेगाना र मिति पनि लेखिन्छ । भूमिकाको शीर्षकसँगै नाम राखिएको छ भने तलचाहिँ ठेगाना र मिति मात्र लेखिन्छ ।

७. भूमिका लेखनका लागि आवश्यक चरणहरू
चरण १ ः पाण्डुलिपि पठन (यस चरणमा लेखकले प्राप्त पाण्डुलिपि गम्भीर रूपमा पढ्नुपर्छ ।)
चरण २ ः मूल कुराको पहिचान र रेखाङ्कन (यस चरणमा कृतिको मूल आशय वा केन्द्रीय कथ्यको पहिचान गरी तिनमा रेखाङ्कन गर्नुपर्छ ।)
चरण ३ ः लेखकसम्बन्धी सूचनाको खोजी (यस चरणमा प्रस्तुत कृतिको लेखकको परिचय र योगदानका बारेमा आवश्यक सूचनाको खोजी गर्नुपर्छ ।)
चरण ४ ः आवश्यक बुँदाटिपोट र व्यवस्थापन (यस चरणमा पाण्डुलिपिको रेखाङ्कित स्थानहरूबाट र प्राप्त लेखकीय सूचनाबाट आवश्यक बुँदाटिपोट गरी तिनलाई आदि, मध्य र अन्त्यमा व्यवस्थापन गर्नुपर्छ ।)
चरण ५ ः भूमिका लेखनको थालनी (यस चरणमा स्रष्टा परिचय खण्ड र कृतिविश्लेषण खण्ड विभाजन हुने गरी निर्धारित बुँदाका आधारमा भूमिका लेख्न थाल्नुपर्छ ।)
चरण ६ ः मूल्याङ्कन तथा निष्कर्ष लेखन (यस चरणमा व्यक्ति र कृतिको विश्लेषणका आधारमा कृतिको औचित्य पुष्टि हुने गरी उपयुक्त निष्कर्षका साथ भूमिकाको खेस्रा रूप तयार गर्नुपर्छ ।)
चरण ७ ः पठन, परीक्षण, आवश्यक संशोधनसहित साफी लेखन (यस चरणमा खेस्रा रूपमा तयार भएको भूमिकालाई आफैँले पढेर, सत्य परीक्षण गरी केही दोषहरू भएमा संशोधन र परिमार्जन गरेर अन्तिम रूप दिनुपर्छ ।)
चरण ८ ः हस्तान्तरण, कृतिमा समावेशन र प्रकाशन (यस चरणमा पुगेपछि सुगठित र सुव्यवस्थित भूमिका सम्बन्धित स्रष्टालाई हस्तान्तरण गरिन्छ र स्रष्टाले उक्त भूमिकालाई आफ्नो कृतिमा समावेश गरी प्रकाशन गर्ने काम गर्दछ ।)

८. निष्कर्ष
विशिष्ट भूमिका लेखन समालोचनाकै एउटा रूप हो । यो कृतिका लागि महत्त्वपूर्ण हुँदाहुँदै पनि साहित्यिक सन्दर्भमा भने त्यत्ति महत्त्वपूर्ण मानिँदैन । यसलाई प्रायः कृतिको लेखक र भूमिका लेखकबिचको आपसी सम्बन्धको उपजका रूपमा हेर्ने गरिन्छ । त्यसैले यसलाई सकारात्मक र नकारात्मक दुवै तरिकाले व्याख्या गरिन्छ । यसलाई एकातिर सिर्जनात्मक गुणमापनका दृष्टिले हेर्ने गरिन्छ भने अर्कातिर भूमिका लेखकको श्रममूल्यसँग जोडेर पनि हेर्ने गरिन्छ । स्रष्टाका आफ्नै खालका अपेक्षाहरू छन् र भूमिका लेखकका पनि आफ्नै खालका अव्यक्त पीडाहरू छन् त्यसैले भूमिका लेखक प्रशंसा र आलोचना दुवैको पात्र हुन सक्छ । सर्जकले आफ्नो अपेक्षाअनुकूलको भूमिका नपाएमा भूमिका लेखकको खोइरो खन्दै हिँडेको पनि देखिन्छ र प्रशंसाको शिखरमा पु¥याइदिएको छ भने त्यो किताब बोकेर आफैँले त्यो भूमिका पढेर सुनाउँदै हिँडेको पनि देखिन्छ । सुरुमा भूमिका लेखनका लागि अपहत्ते र प्राप्त भइसकेपछि अपेक्षाअनुकूल नहुँदाको सत्तोसरापको मारमा सदैव पिल्सिनुपर्ने गुनासो भूमिका लेखकको पाइन्छ । यस्ता कुरालाई सबैले व्यक्त गर्न सक्दैनन् तर भोगिरहेका हुन्छन् । डा. तारानाथ शर्माले ‘नसुनिएका ध्वनि’ (२०६१) निबन्धसङ्ग्रहभित्रको ‘भूमिका लेखन र भूमिका लेखक’ शीर्षकको निबन्धमा भूमिका लेखकका पीडाहरूलाई केलाउँदै पारिश्रमिकविनाको परिश्रम, छिटो गर्नुपर्ने दबाब, राम्रो लेखिदिनुपर्ने दबाब, विश्वप्रसिद्ध व्यक्तित्वहरूसँग तुलना गरिदिनुपर्ने दबाब आदि जस्ता समस्याहरूको उद्घाटन गरेका छन् भने ज्ञाननिष्ठ ज्ञवालीले मूल्यहीन रूपमा मूल्यवान् भूमिका लेख्न दबाब दिने प्रचलनप्रति शालीन विमति राखेका छन् । समग्रमा हेर्दा भूमिका लेखाउने व्यक्ति एउटा हुन्छ र उसले मेरो काम छिटो होस् भन्ने चाहन्छ तर भूमिका लेख्ने व्यक्तिकामा त्यस्ता एउटा एउटा स्रष्टा भेला हुँदाहुँदै दर्जनौँ खात लागेका हुन्छन् । उसले त्यो अव्यक्त वेदनालाई बाहिर देखाउनै सक्दैन । अझै भन्ने हो भने एउटा भूमिका सम्बन्धित लेखकको आफ्नो मौलिक सिर्जना पनि होइन र त्यसले उसलाई लेखकका रूपमा छुट्टै परिचय दिने काम पनि गर्दैन । कसैले पछि कुनै बेलामा आफ्ना भूमिकाहरूको सङ्ग्रह निकाल्यो भने पनि त्यो खोजी खोजी पढिने कृतिअन्तर्गत पर्दैन । भूमिका लेखन कार्य स्रष्टाले अग्रज वा विज्ञप्रति गरेको सम्मान हो र अग्रज वा विज्ञले सर्जकप्रति गरेको स्नेहपूर्ण त्याग हो तर यसलाई नितान्त स्रष्टाको सिर्जनामार्गका लागि उत्प्रेरणा जागृत गराउन र पाठकलाई कृति पढ्नका लागि इच्छा जगाउन लेखिने प्रचारात्मक सामग्री मात्र हो भन्ने टिप्पणी गरेको पनि सुन्न पाइन्छ । नेत्र एटमले यसलाई क्षुधावद्र्धक उत्प्रेरणा र बजारप्रवद्र्धनको एउटा उपकरण मानेका छन् ।

निष्कर्षमा भन्दा कृतिको युगीन गरिमालाई उद्घाटन गर्ने गरीको वस्तुता, सत्यता र निष्पक्षतामा आधारिक बौद्धिक एवम् प्राज्ञिक भूमिका लेखन यसको शक्ति हो भने एउटा फ्रेममा आधारित, खाली ठाउँ भराइबाट निर्मित, कृति नै नपढी अमूर्त कुराहरूले भरिपूर्ण, आत्मप्रशंसाकेन्द्रित, गन्थनले भरिभराउ र स्रष्टाको अनावश्यक बढाइचढाइप्रति लक्षित भूमिका लेखन यसको सीमा हो ।

क्रमशः अर्को हप्ता…

 

 

लेखक परिचय
प्रतिक्रिया
Loading...