साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

नोकिया युगको प्रेम पत्र

त्योबेला, जोकोहीका अघि भन्नै नहुने, तर बहुत चमत्कारी शब्दको विकास भएको थियो हाम्रा सामु – कट । विशेषतः किशोरवय तथा युवावस्थाका केटाहरूमाझ । त्यो शब्द किन पनि चमत्कारी थियो भने, त्यसलाई खुलमखुल्ला हेर्न मिल्दैन थियो ।

Chovar Blues Mobile Size

उसो त प्रेमपत्र नै नलेखेको चाहिँ होइन मैले । लेखेको थिएँ, किशोरवयको उत्तार्धतिर । मेरी पहिली प्रेमिकाको नाममा । पहिली पनि यो अर्थमा कि, मैले पत्रको साहारा लिएर पहिलोपटक आफ्नो प्रेम व्यक्त गरेको थिएँ ।

कुरो एसएलसी पछिको हो । हातमा मोबाइल थियो । त्यो मोबाइलको पनि आफ्नै कथा छ । तर अहिले पहिलो र एक मात्र प्रेमपत्रकै कुरा भन्छु ।

हातमा मोबाइल भएर पनि मसँग उसको नम्बर थिएन । ऊसँग मोबाइल थियो या थिएन ? मलाई थाहा थिएन ।

प्रेमपत्र लेख्नुको मलाई कुनै अन्दाज थिएन । अनुभव थिएन । तर स्कूलका कहिलेकहीँ कविता वाचन हुन्थ्यो । म अलिअलि कविता जस्तोचाहिँ लेख्थेँ (अहिले लाग्छ, वास्तवमा ती कविताचाहिँ थिएनन्) । प्रेमपत्र पनि कवितामै लेखेँ, करिव दुई पेज लामो ।

केही नेपाली फिल्महरू हेरेको थिएँ । तिनीहरूको नाम भेला पारेँ । र, प्रेम पत्रको पहिलो पेजमा लेखेँ, “भुल भए माफ गर” ।

sagarmani mobile size

बीचमा उही दुई पेजको कविता दन्काइदिएँ । र, कविताको अन्तिममा लेखेँ, “नाइँ नभन्नु ल !” ।

लेखेरमात्र पनि नहुने, दिनु पनि त पर्यो ! तर ममा दिने आँट थिएन । नजिकको दोस्त सन्जिब थियो । केटीसम्म पुर्याउनका लागि उसैलाई मोहरा बनाएँ ।

एक दिन, दुई दिन गर्दै सात दिन बित्यो, तर त्यो पत्र सञ्जिबकै गोजीमा रह्यो । सातौँ दिनका दिन सञ्जिबले पत्र जसका लागि लेखिएको थियो, त्यसलाई नदिएर मलाई नै फिर्ता गर्याे । कारण, दिन लायकको बचेको थिएन । पसिनाले भिजेर च्यातिएछ ।

कृष्ण ढुङ्गेल

फेरि हुवहु त्यसलाई मैले अर्काे पन्नामा उतारेँ । र, अन्तिममा अर्काे फिल्मको नाम पनि दन्किाइदिएँ, “छोडिगए पाप लाग्ला” ।

अन्ततः पहिलो र एकमात्र प्रेम पत्रको पुनर्लेखन भने सन्दिपले मेरी उबेलाकी प्रियतमासम्म पुर्यायो । केटीलाई म मन परेर हो कि कविता, उसले पत्र नै त लेखिन, तर प्रेम प्रस्ताव स्वीकार्य भएको सूचना पठाई । तर खै किन त्यसपपछि मैले कविता लेख्न बिर्सिगएँ ?

अब प्रेमिकाहरूका कुरा छोडौँ । प्रेमिकाहरूकै कुरा लेख्न थालेँ भने अर्काे महाकाव्य बन्न जान्छ ।

अँ, पत्रमित्रता र प्रेमपत्र लेख्ने–लेखिने कुराहरू पुराना भए । मभन्दा अघिल्लो पुस्ताले आफ्नो किशोरवयको पहिलो संवेदनशीलता र प्रेमलाई यसकै सनिध्यतामा खर्चियो । खर्चियोभन्दा पनि पत्रमित्रता र प्रेमपत्रलाई नै अभिव्यक्तिको माध्यम बनायो । त्योभन्दा अघिल्लो पुस्ताले आफ्नो जवानी र प्रेमागमको माध्यम नै यसलाई बनायो । तर मेरो पुस्ता भने बीचमा थिचियो । न मैले किशोरवयकी प्रमिकाको यादमा डुबुल्किमार्दै प्रेमपत्र लेख्न पाएँ, न त रेडियो सुनेर दूर–दूरसम्म पत्रमित्रताका माध्यमबाट साथीत्व कायम गर्न नै । मेरो पुस्ता मोबाइलको चपेटामा पर्याे । अझ भनौँ, प्रविधिको प्रस्फुटनले मेरो पुस्ताले केही संवेदनशील भाववेशहरू गुमाउन पुग्यो ।

अहिले जस्तो प्रविधिको उच्चतम विकास नभइसकेकाले न यसको प्रचुरमात्रमा फाइदा लिन सक्यो, न त अघिल्लो पुस्ताले झैँ प्रेमपत्र र पत्रमित्रताकै । हो, मेरो किशोरवयले एकातिर मनका भाववेश कलमका साहाराले सेता पन्नामा उत्रार्नबाट बञ्चित हुनुपर्याे भने अर्कातिर मोबाइलको प्रवेशसँगै त्यसको उच्चतम प्रयोगभन्दा पनि उपद्येयतामै अल्झिनुपर्याे ।

हामी वर्षौँ चढेको साइकल पनि पुरानो भएपछि रद्दीको दाममा बेचिदिन्छौँ । तर खै किन नयाँलाई अपनाउन सधैँ गाह्रो हुन्छ ? मलाई थाहा छैन ।

कुरो प्रेमीका र प्रेमपत्रका भए । तर म मोबाइलको कुरा गर्न खोजिरहेको थिएँ । आउनुहोस्, मोबाइलकै कुरा गरौँ । एक मात्र होइन, मेरो जीवनको पहिलो मोबाइलको ।

दश कक्षाको सुरूवाती दिनहरूमै हुनुपर्छ, एकाएक ममा भूत चढ्यो । भयङ्कर भूत । त्यो भूतको नाम थियो मोबाइल ।
म दशमा पुग्दा पनि हामीमाझ मोबाइलको सहज पहुँच थिएन । भर्खर भर्खर एनसेलले सस्तो र सहज तरिकाले सिम दिन थालेको थियो । मोबाइल बोक्ने हातहरू बढेका थिए । तर मोबाइल बोक्ने हातहरूमा बाहुल्यता सादा मोबाइलकै थियो । नोकियाको एघार सय दश मोडल ।

विदेश जाने रन्कोमा गाउँ हिँडेको समय थियो । त्यसबेलासम्म विदेशिनुलाई ठूलै सफलताको रूपमा हेरिन्थ्यो । हेरिन त अहिले पनि सफलताकै रूपमा हेरिन्छ, भलै त्यो सफलता पश्चिमा देशतिर सोझिएको किन नहोस् ।

लगभग एकपटक विदेश पुगेर फर्किएकाहरूका घरमा सादा नै भए पनि एक सेट मोबाइल हुन्थ्यो । विदेशबाट आउनेले आफ्नो लागि एक सेट रङ्गीन मोबाइल त ल्याउँथे ल्याउँथे । जसमा टीभीमा झैँ फिल्म तथा भिडियो हेर्न मिल्थ्यो ।

रेडियोमा झैँ गीत सुन्न पनि मिल्थ्यो । कस्तो अचम्मको भाँडो ? त्यो समय रेडियो र टीभी दुवैलाई बोकिहिँड्ने त्यो सानो भाडो हाम्रो लागि चमत्कारै थियो । मभन्दा दश वर्षपछि जन्मिएको पुस्तालाई त्यो कहानी चमत्कार नलाग्न सक्छ ।

कुनै समयको सामान्य कुरा पनि कुनै कालखण्डमा कसरी चमत्कारको विषय बन्छ होला ? मलाई थाहा छैन ।

घर घरमा बिजुली बल्न थालेको थियो । तर गाउँले बिजुलीको उपभोगमा हस्तक्षेप राखेसँगै लोडसेटिङ पनि ह्वातै बढेर गयो । दिनमा १८ घण्टासम्म लोडसेटिङ हुने समय थियो त्यो । अहिले त कुलमान आए र हामीलाई उज्यालोको स्वाद चखाइदिए । जीवनमा कुन समयमा उज्यालो बोकेर को आइपुग्छ भन्ने पनि पत्तै नहुने है ?

बिजुली बत्तीको पहुँच पुगे पनि बाइफाई भन्ने शब्द मेरो जिब्रोलाई थाहा थिएन । अझ, मेरो गाउँको कानले सुनेको थिएन । अहिले जस्तो जतिबेला मन लाग्यो त्यतिबेला युट्युब र गुगल गरेर चाहेको चिज हेर्ने र सुन्ने सुविधा पनि थिएन । सुविधाको त के कुरो, मोबाइल चमत्कार लाग्ने आँखालाई त्यसको अस्तित्वको बारेमा थाहासम्म थिएन ।

एनसेलले डाटा त दिन्थ्यो । त्यो पनि ज्यादै महँगो । धन्न, स्मार्ट फोनको विकास गाउँसम्म पुगिसकेको थिएन । नोकियाका किप्याटवाला मोबाइलहरूको खान्की सानो थियो ।

उसो त, त्यो युग नोकियाको थियो भन्दा पनि हुन्छ । अझ अहिले त नोकियाले पनि स्मार्ट फोनहरू प्रसस्त ल्याइसकेको छ ।

खैर जेहोस्, रङ्गीन होस् या सादा, त्यो समय त किप्याटवाला नोकियाको थियो । समयको शक्ति ! अहिले हजार प्रयास गर्दा पनि नोकिया गुमनाम छ । अनकेथरीका स्मार्ट फोनहरू शिखरमा ओहोर र दोहार गरिरहेका छन् । तर म अझै पनि बेस क्याम्पसम्म पुग्न सकेको छैन । मैले शिखर चुम्न के गर्नुपर्छ होला ?

अँ, गाउँलाई बाइफाइको अर्थ थाहा थिएन । मोबाइलमा गीत तथा भिडियोहरू सिडी पसलमा गएर भर्नु पथ्र्याे, पैसा तिरेर । फेरि मोबाइलको पनि त क्षमता हुन्छ, युट्युब तथा गुगले झैँ सबै कुरा कहाँ अटाउन सक्छ ? जस्तो मेरो पनि आफ्नै क्षमता छ, यो लेखिरहेको किस्सा तपाईँलाई बकवास पनि त लाग्न सक्छ !

अँ, बारबार सिडी पसलमा गएर मोबाइलको मेमोरीको याददासलाई ताजा गराइरहनु पथ्र्याे । अक्सर मान्छे थोरै पखेँटा पलाएपछि आफ्नो धरातल नै बिर्सिदिन्छ । मलाई अहिले चिन्ता लागिरहेको छ – अहिले ती सिडी पसलहरूको जीवन कसरी चलिरहेको होला ?

शब्दको आविष्कार अलग कुरा हो । आविष्कार आफैँमा गाह्रो कुरो हो । तर अर्थको भने आविष्कार सजिलै हुँदो रहेछ । हुनसक्छ, त्यो प्रविधिले गरेको होस् वा स्थान विशेषले ।

त्योबेला, जोकोहीका अघि भन्नै नहुने, तर बहुत चमत्कारी शब्दको विकास भएको थियो हाम्रा सामु – कट । विशेषतः किशोरवय तथा युवावस्थाका केटाहरूमाझ । त्यो शब्द किन पनि चमत्कारी थियो भने, त्यसलाई खुलमखुल्ला हेर्न मिल्दैन थियो । नाङ्गा केटा र केटीहरूको यौनिक रासलीला सबैको अगाडि कसरी पो हेर्न सकिन्छ र ?

च्यानडाँडा, मरेका मान्छेलाई गाड्नुको अलवा हाम्रो गाउँको रंगशाला पनि हो । जहाँ साँझको समय फुटबल खेल्नका लागि मात्र नभएर रमिता हेर्नका लागि पनि केटाहरूको गतिलै जमघट हुन्थ्यो । अहिले पनि हुँदो हो, सायद ।

एक समय आयो, उता फुटबल खेल्नेहरू पसिनाले भिज्थे । यता रमितेहरू त्यही यौनिक रासलीला हेरेर भिज्न थाले । दाइहरूको लहलहैमा एकाध पटक हेर्न मैले पनि छुटाइनँ । हेरिरहँदा किशोरवयमा डुबुल्की मारिरहेको ममा पनि बेग्लै आन्नदको महसुस हुन्थ्यो । शरीर एक्कासि तातिएर आउँथ्यो । कालो अनुहार रगतै चुहिएला झैँ रातोमा बद्लिन्थ्यो । चिट्चिट् पसिना पनि आउने हुन्थ्यो । तर त्यही भाव दाइहरूको अनुहारमा चढेको म पाउँदिन थिएँ ।

तर आठ कक्षामा पुगेसँगै च्यानडाँडा कुद्ने सिलसिला बन्द भयो । सँगै “कट”को लाग्दै गरेको लत पनि कहीँ छुटिगयो ।
म धेरै टाढा पुगिगएँ । अँ, म दश कक्षाको कुरा गर्दै थिएँ, जुनबेला ममा गीत बज्ने तथा भिडियो हेर्न मिल्ने मोबाइलको भूत सवारी थियो ।

मेरो मिल्नेमध्येको एक साथी प्रकाश, जोसँग रङ्गीन मोबाइल थियो । प्रकाशको ममी परदेशी, परदेशबाट पहिलोपटक देश फर्किदा ल्याइदिनुभएको । उसो त दश कक्षामा प्रकाशलाई साउथ पोइन्ट ट्युसन सेन्टरको भर थियो । स्कूल त्यति नआउने । तर स्कूल आएपछि माहोल नै गरम बनाइदिने ।

चौथो पिरियड सकिएपछि एक घण्टाको ब्रेक हुन्थ्यो । त्यो ब्रेकमा प्रकाश आएको दिन हामी स्कूलभन्दा ५०० मिटरमाथि (उत्तरपट्टि, तराईमा माथि भनेको उत्तर हो ।) रहेको सिसउ तथा बाँसघारीमा पुग्थ्यौँ । त्यो ब्रेकको समयलाई रङ्गीन बनाउन प्रकाशले आफ्नो मोबाइलमा अनेक अनेक श्रव्य तथा दृष्य सामाग्री लिएर आएको हुन्थ्यो । कहिले डबल मिनिङवाला गजल तथा कहिले भल्गर कार्टुन । कहिले हर्टेस्ट हिन्दी भिडियो त कहिले “कट” ।

एक दिन, ब्रेकको मनोरञ्जनमा प्रकाशले “कट” लिएर आएको रहेछ । ठूला सिमलको कापमा गुजुल्टिएर हामी हेर्नमा मस्त थियौँ । सबै केटाहरूको एकाग्रता यस्तो थियो कि मानौँ, उनीहरूले मोबाइलबाट एकपलमात्र आँखा हटाए वा झिमिक्कमात्र गरे भने पनि भुइँचालो जान्छ । हालत मेरो पनि उस्तै थियो । तर प्रकाश मोरो भने हाम्रो हाउभाउमा रमिरहेको रहेछ । उसले आफ्नो चोरी औँलाले मेरो जिपमा प्याट्ट पार्याे । म त झसङ्गै । रासलीलामा रातोपिरो भइरहेको म एकाएक लाजले रातो भएँ । पिरो एकाएक तीतोमा बदलियो । मैले त प्यान्टको जिप नै पो लाएको रहेन छु ।
त्योबेला लाज माने पनि आज पचाएर भनिदिन्छु, मेरो त भाइ नै रिसाएर बाहिरै चिहाइरहेको रहेछ ।

“पेन्टी लाउँदैनस् क्या ओ ?” प्रकाशले हाँस्दै सोध्यो । अरू केटाहरूको आँखा पनि मतिर मोडियो । माहोल एकाएक परिवर्तन भयो । मेरो लाजको सीमा सायद त्यही सिमलको फेदलाई मात्र थाहा भयो होला !

“लाउदिनँ चाहिँ होला ! अलि लुज भएको छ ।” मैले आफ्नो भाइलाई भित्र ठेल्न भ्याइसकेको थिएँ । च्यान तान्दै बोलेँ ।

सबै केटाहरू गल्ल… हासेँ । मैले पनि जबरजस्ती हाँसो मिसाइदिएँ । तर प्रकाश, साँच्ची त्यो दिन तैँले प्रश्न हैन, उत्तर दिएको थिइस् । मैले अन्डरवेअर लाएकै थिइनँ ।

अँ, कुरो मेरो पहिलो मोबाइलको गर्दै थिएँ म ।

ममा रङ्गीन मोबाइलको भूत यसरी चढ्यो कि मैले आफैँलाई बिर्सिएँ । हाँस्न, पढ्न र घरमा राम्रोसँग कुरा गर्न पनि बिर्सिएँ । खै अरू के के बिर्सिएँ ?

बस्, मेरो मगजमा एउटै मात्र कुराले डेरा जमाएर बसेको थियो, रङ्गीन मोबाइल । पढाइ त धुलिट्याम भई नै गयो । म मोबाइलकै बारेमा मात्र सोचेर एकोहोरिन पनि थालेछु । सायद बाबालाई लाग्यो – “यसको घिड्घिडो नमेटिए बौलाउँछ । पढाइ बिगार्छ । अहिलेसम्म यसरी केही कुरामा जिद् गरेको थिएन् । सायद अब उमेर पुग्दै गएर होला ! मरोस् त अब, एउटा ५ हजारको सेट रिनै गरेर भए पनि ल्याइदिन्छु ।”

हो, ड्याडीले पाँच हजार रिनै गरेर मेरो हातमा थमाइदिनुभयो र भोलिपल्ट बिर्तामोड गएर चाहिएको मोबाइल ल्याउन भन्नुभयो ।

त्योबेला नोकियाको सादा मोबाइल नै पनि तीन हजार घटीमा आउँदैन थियो । रङ्गीन पाँच हजारमा आउने कुरै भएन । तर चाइनिज भने आउँथ्यो । मोहनलाई साथमा लिएर गएँ, र मैले ४२ सयको चाइनिज मोबाइल किनेँ । खाजा र सिम किन्दा पाँचै हजार झर्याम् । धन्न मेमोरी भने मोबाइलमै दियो । अर्काे पाँच सय बच्यो ।

चाइनिज मोबाइलमा गीत तथा भिडियो घन्किन थालेपछि भने मैले फेरि आफैँलाई सम्झिन थालेँ । बिस्तारै पहिलेकै अवस्थामा फर्किएँ । साथीमाझ शानका लागि केही महिना गोजीमा मोबाइल हालेर स्कूल पनि गएँ । साथीहरूका लागि केही समय मेरो मोबाइल खुब चासोको विषय बन्यो पनि । तर एकै कुरो सधैँ चासोको विषय बनिरहन सक्दो रहेनछ । न आफ्नो लागि, न त अरूको लागि नै ।

बर्खापछि म पढाइतिर तानिएँ । मोबाइललाई बिर्सिँदै गएँ । अन्ततः त्यो चाइनिज मोबाइल एक वर्षसम्म मेनुकाले चलाई । सायद, मोबाइल किन्दाको पाँच हजार रिन जिउँका तिउँ थियो, मोबाइल बिग्रियो ।

खै किन सामान बिग्रिदा मन नासिन्छ, तर रिन बिग्रिदा धन ? मलाई थाहा छैन ।

प्रतिक्रिया
Loading...