ओशोको आत्मकथाः  स्वर्णिम बालापन

दोस्रो सत्र: कि सात वर्षमा मर्छ, कि त बुद्ध बन्छ

अहिले भर्खरै मलाई ज्यादै सुन्दर, सुनौलो अनुभव भयो । एउटा शिष्यले आफ्ना गुरुको शरीरलाई कति प्रेमपूर्वक सम्हाल्छ, त्यसको अनुभव भयो । म पनि अवाक् भएँ । यही कुराले मलाई मेरो स्वर्णिम बालापनलाई पनि सम्झना दिलायो ।

सबै जना त आफ्नो सुनौलो बालापन सम्झन्छन्, त्यसका बारेमा कुरा गर्छन् तर कहिलेकाहीँ मात्र गरिएका कुरा सत्य हुन्छन् । अधिकांशतः ती झूटा नै हुन्छन् । तर जब धेरैजसो मानिस एउटै झूटो कुरा दोहोर्याइरहन्छन् भने कसैलाई त्यो झूटो हो कि होइन भन्ने थाहा हुँदेन । कविहरू पनि आफ्नो सुनौलो बालापनको गीत गाइरहेका हुन्छन्, उदाहरणका लागि विलियम वर्ड्सवर्थ । उनका कविता सुन्दर हुन्छन् तर सुनौलो बालापन भने दुर्लभ घटना हो किनभने त्यो सुनौलोपन तिमीले कहाँ पाउँछौ ?

सबैभन्दा पहिले त व्यक्तिले आफ्नो जन्म चयन गर्नुपर्छ । जुन कुरा बिल्कुलै असम्भव छ । जबसम्म तिमी ध्यानको स्थितिमा हुँदैनौ, ध्यानको अवस्थामा तिमी मर्दैनौ, तिमीले आफ्नो जन्मको छनोट गर्न सक्तनौ । यो छनोट त केवल ध्यानीले मात्र गर्न सक्छन् । ध्यानी होशपूर्वक मर्छ, त्यसैले ऊ होशपूर्वक जन्मने अधिकार पाउँछ ।

म होशपूर्वक मरेको थिएँ । खासमा म मरेको थिइनँ, मलाई मारिएको थियो । म तीन दिनपछि मर्ने भनेर बसेको थिएँ तर कोहीले प्रतीक्षा गर्न सकेनन् । तीन दिन पनि प्रतीक्षा गर्न सकेनन् । मानिसहरू कति हतारोमा थिए !

जुन व्यक्तिले मलाई मारेको थियो, यतिबेला ऊ मेरो संन्यासी छ । ऊ फेरि पनि मलाई मार्न भनेर आएको थियो, संन्यास लिन आएको थिएन । उसले मलाई मार्ने जिद्दी कसेको भए म पनि आफ्नो जिद्दीपना छाड्ने थिइनँ ।

संन्यासी भएपछिका सात वर्षपछि उसले यो कुरा स्वीकार गर्यो । उसले भन्यो, ‘प्यारो सद्गुरु, अब म बिना कुनै डर तपाईंलाई अहमदाबादमा मार्न आएको कुरा स्वीकार गर्छु ।’

मैले भनेँ, ‘हे परमात्मा, फेरि पनि ? दोहोर्याएरै ?’

उसले भन्यो, ‘दोहोर्याएर ? के भन्नुभएको ?’

मैले भनेँ, ‘त्यो अर्कै कुरा हो । तिमी आफ्नो कुरा सुनाऊ ।’

उसले भन्यो, ‘म सात वर्ष पहिले अहमदाबादमा भएको बैठकमा तपाईंलाई मार्न भनी रिवल्भर लिएर आएको थिएँ । हल यति भरिएको थियो कि कार्यक्रमका आयोजकले मलाई मञ्चमा बसालिदियो ।’

जुन मानिस मलाई रिवल्भर लिएर मार्न आएको थियो, उसलाई मेरो छेउमै बसाइयो । कति राम्रो अवसर थियो !

मैले सोधेँ, ‘तिमीले त्यो अवसर किन गुमायौ त ?’

उसले भन्यो, ‘मैले त्यस दिनभन्दा पहिले कहिल्यै तपाईंले बोलेको सुनेको थिइनँ । मैले तपाईंका बारेमा सुनेको मात्र थिएँ ।’

‘जब मैले तपाईंको आवाज सुनेँ, तत्क्षण मलाई लाग्यो, मार्नुभन्दा बरु आत्महत्या गर्नु श्रेयस्कर हुन्छ । त्यसैले मैले संन्यास लिएँ– त्यो नै मेरो आत्महत्या थियो ।’

सात सय वर्ष पहिले त्यही मानिसले मेरो हत्या गरेको थियो । उसले मलाई विष दिएको थियो । त्यो बेला पनि ऊ मेरो शिष्य नै थियो… जुडासबिना जिसस कसरी हुन्छ र ? जुडासबिना जिसस बन्न गाह्रो हुन्छ ।

म होशपूर्वक मरेँ । त्यसैले मैले होशपूर्वक जन्मने अवसर पाएँ । मैले आफ्ना मातापिता चयन गरेँ ।

पृथ्वीमा हजारौँ मूर्खहरू प्रतिक्षण सम्भोग गरिरहेका छन् र लाखौँ अजन्मी आत्माहरू कुनै न कुनै गर्भमा प्रवेश गर्न तयार छन् । मैले उपयुक्त क्षणको प्रतीक्षामा सात सय वर्ष प्रतीक्षा गरेँ । र, अस्तित्वलाई धन्यवाद दिन्छु, त्यो क्षण मैले पाएँ । लाखौँ वर्षहरूको तुलनामा सात सय वर्ष त केही पनि होइन । मात्र सात सय वर्ष ! हो– मात्र !

र, मैले एक ज्यादै गरिब तर बहुतै अन्तरंग दम्पतिलाई चयन गरेँ ।

मेरा पिताको हृदयमा मेरी आमाका लागि यति प्रेम थियो कि मेरा बुवाले शायदै कुनै अर्की स्त्रीलाई त्यस दृष्टिले हेरेका होलान् भन्ने सोच्छु । मेरी आमाले सपनामा पनि कुनै अर्को पुरुषका बारेमा सोचिन् होला ! मैले दुवैलाई चिनेको छु । उनीहरू यति घनिष्ठ थिए ! एकअर्काका प्रति यति प्रेमपूर्ण ! यति सन्तुष्ट ! हुन त उनीहरू गरिब थिए, गरिब भएर पनि उनीहरू धनी थिए । त्यो घनिष्ठता र परस्पर प्रेमका कारण नै गरिबीमा पनि उनीहरू समृद्ध थिए ।

सौभाग्यले मैले आफ्ना मातापिता कहिल्यै झगडा गरेको देखिनँ । सौभाग्यले किन भन्छु भने यस्ता पतिपत्नी खोज्नु ज्यादै गाह्रो छ, जो कहिल्यै झगडा नगरेका होऊन्, नगरुन् । सधैँ झगडा गरिरहनेहरूसँग प्रेमका लागि समय कुन बेला हुन्छ ? प्रेम गर्ने समय तिनीहरूसँग कुन बेला होला, त्यो परमात्मालाई मात्र थाहा होला । शायद उसलाई पनि थाहा नहोला । उसले पनि त आफ्नी पत्नीको चिन्ता गर्नुपर्छ नि, खासगरी हिन्दु परमात्माले । कम्तीमा ईसाई परमात्मा बढी सुखी हुँदो हो, उसकी कुनै पत्नी छैन । पत्नी त के, कुनै स्त्री नै छैन । किनभने स्त्री पत्नीभन्दा पनि खतरनाक हुन्छे । पत्नीलाई त तिमी उपेक्षा गर्न सक्छौ तर स्त्रीलाई ? … तिमी फेरि मुर्ख बन्यौ । तिमी स्त्रीलाई उपेक्षा गर्न सक्दैनौ, उसले तिमीलाई ‘आकर्षित’ गर्छे, पत्नीले तिमीलाई ‘विकर्षित’ गर्छे ।

मेरो अंग्रेजी त हेर ! यसलाई ‘इन्भर्टेड कमाहरू’मा लेख ताकि कसैले मलाई गलत रुपमा नबुझून् । हुन त तिमीलाई जे मन लाग्छ, त्यही गर । जे गरे पनि मान्छेले मलाई गलत रुपमा नै बुझ्छन् तर प्रयास चाहिँ गर, उद्धरण चिह्नमा लेखः पत्नीले ‘विकर्षित’ गर्छे र स्त्रीले ‘आकर्षित’ गर्छे ।

मैले आफ्ना आमाबुवालाई कहिल्यै झगडा गरेको देखिनँ । एकअर्कालाई दुःख दिएको पनि देखिनँ । मानिसहरू चमत्कारको कुरा गर्छन् । मैले एउटा चमत्कार देखेको छुः मेरी आमाले मेरा बुवालाई कहिल्यै दुःख दिएको देखिनँ । यो चमत्कार नै हो किनभने सदियौँदेखि पुरुषले स्त्रीलाई यति थिचेर राखे कि उसले परोक्ष बाटो खोजे, उनीहरूले पतिको दिमाग खाइदिन्छन् । मगज खानु खासमा लुकेको हिंसा हो ।

मैले आफ्ना आमाबुवालाई कहिल्यै पनि झगडा गरेको देखिनँ ।

मेरा पिताको मृत्यु हुँदा मेरी आमाका बारेमा म चिन्तित थिएँ । उहाँ बुवाबिना बाँच्नु होला भन्ने मैले सोचेको पनि थिइनँ । उनीहरू दुई जना बीच एकअर्काप्रति यति प्रेम थियो कि लगभग एक हुनु भएको थियो । उहाँ बाँच्नुभयो किनभने आमाले मलाई पनि उत्तिनै प्रेम गर्नुहुन्छ ।

उहाँका बारेमा म सधैँ चिन्तित हुने गर्छु । म उहाँलाई आफूसँगै राख्न चाहन्थेँ ताकि उहाँको मृत्यु परम सन्तुष्टिमा हुन सकोस् । यतिबेला मैले जान्दछु, मैले उहाँलाई देखेको छु, मैले उहाँको अन्तस भित्र देखेको छु र त्यसैले म तिमीलाई भन्न सक्छु– र, तिमीमार्फत एक दिन सारा संसारलाई थाहा हुनेछ कि उहाँले बुद्धत्व प्राप्त गर्नुभयो । म उहाँको अन्तिम मोह थिएँ । उहाँका लागि अब कुनै मोह बाँकी थिएन । उहाँ एक सम्बुद्ध महिला हो, अशिक्षित, सरल, उहाँलाई त बुद्धत्व के हो भन्ने पनि थाहा छैन । यही त सौन्दर्य हो ! बुद्धत्व के हो भन्ने थाहा नपाई पनि कोही बुद्ध हुनसक्छ । यसको ठीक उल्टो पनि हुनसक्छः कसैलाई बुद्धत्वका बारेमा सबैथोक थाहा हुनसक्छ र पनि अबुद्ध रहिरहन सक्छ ।

मैले यो दम्पतिलाई चुनेँ– सिधासादा सरल ग्रामीण । म राजा र रानीलाई पनि छान्न सक्थेँ । यो मेरो हातमा थियो । मेरालागि सबै किसिमका गर्भ तयार थिए । तर म बहुतै सरल र सादा रुचिको व्यक्ति हुँ, म सधैँ सर्वोत्तमबाट सन्तुष्ट हुन्छु । यो दम्पति गरिब थियो, ज्यादै गरिब । तिमीहरू बुझ्न नसकौला, उनीहरूसँग जम्मा सात सय रुपैयाँ थियो ! यही उहाँहरूको कुल सम्पत्ति थियो । र, पनि मैले उनलाई मेरो पिता चयन गरेँ । उनीहरूसँग एउटा सम्पन्नता थियो, त्यो सम्पत्तिलाई आँखाले देख्न सक्तैन । एउटा अभिजात्य थियो, नदेखिने अभिजात्य !

तिमीहरूमध्ये धेरैले उहाँलाई देखेका छौ र निश्चित रुपमा उहाँको सौन्दर्यलाई अनुभव गरेका हौला । उहाँ सिधा, बहुत सिधा र सरल हुनुहुन्थ्यो । तिमी उहाँलाई ग्रामीण भन्न सक्छौ तर उहाँ ज्यादै समृद्ध हुनुहुन्थ्यो, सांसारिक अर्थमा होइन, एक किसिमको पारलौकिक अर्थमा…

सात सय रुपैयाँ, यही उहाँको जम्मा पुँजी थियो । यो कुरा मलाई थाहा हुन्थेन । मलाई यो कुरा त्यो बेला थाहा भयो, जब उहाँको व्यापार सुक्यो र कंगाल हुनुभयो । कङ्गालकीका बेला उहाँ ज्यादै प्रशन्न हुनुहुन्थ्यो । मैले उहाँलाई सोधेँ, ‘दद्दा !’ म उहाँलाई दद्दा भन्थेँ, दद्दाको अर्थ होः पिता– ‘दद्दा ! तपाईं चाँडै कंगाल हुँदै हुनुहुन्छ र पनि खुसी हुनुहुन्छ ? बजार हल्ला गलत त होइन ?’

उहाँले भन्नुभयो, ‘होइन । हल्ला बिल्कुल सही हो । कङ्गाल हुँदैछौँ तर म खुसी छु किनभने व्यापारको कङ्गालीका बाबजुद मैले सात सय रुपैयाँ बचाएँ । यसैबाट मैले शुरु गरेको थिएँ र म तँलाई त्यो ठाउँ देखाउनेछु…।’

त्यसपछि जहाँ सात सय रुपैयाँ लुकाएर राख्नु भएको थियो उहाँले त्यो ठाउँ मलाई देखाउनुभयो । अनि भन्नुभयो, ‘चिन्ता नगर् । मैले सात सय रुपैयाँबाट नै शुरुवात गरेको थिएँ । बाँकी केही पनि हाम्रो होइन । ती सबै खाल्डामा जाकियोस् । जुन हाम्रो हो, त्यो मैले यहाँ लुकाएको छु । मैले तँलाई यो बताइदिएँ किनभने तँ नै मेरो सबैभन्दा जेठो छोरो होस् । यो ठाउँलाई याद राखेस् ।’

मैले त्यो ठाउँका बारेमा कसैलाई कहिल्यै केही पनि बताइनँ र बताउँदिन पनि । भलै उहाँले आफ्नो उदारताका कारण आफ्नो रहस्य मलाई बताउनु भएको होस् तर न त म उहाँको छोरो हुँ न त उहाँ मेरा पिता नै । उहाँ उहाँ हो र म म हुँ । ‘पिता र पुत्र’को त मात्र शिष्टाचार हो । त्यो सात सय रुपैयाँ अहिले पनि जमिनमुनि गाडिएको गाढियै छ र त्यो त्यहीँ गाढिइरहने छ, जबसम्म संयोगवश कसैले त्यसलाई फेला नपार्ला । मैले उहाँलाई त्यतिबेला नै भनेको थिएँ, ‘हुन त तपाईंले मलाई त्यो ठाउँ देखाउनुभयो तर मैले देखेको छैन ।’

उहाँले भन्नुभयो, ‘भन्न खोजेको के ?’

मैले भनेँ, ‘कुरा सिधासिधा छ । मैले देखिनँ र म त्यो ठाउँ देख्न पनि चाहन्नँ । म कसैको विरासतको अंश होइन । चाहे त्यो ठूलो होस् या सानो, धनी होस् या गरिब ।’

तर उहाँका तर्फबाट बहुतै प्रेम गर्ने व्यक्ति हुनुहुन्थ्यो । मेरो कोणबाट चाहिँ म उहाँलाई त्यति प्रेम गर्ने छोरा होइन– मलाई माफ गरियोस् ।

उहाँ ज्यादै प्यारा पिता हुनुहुन्थ्यो । जब मैले विश्वविद्यालयको जागिर छोडेँ, कोही पनि मेराबारे चिन्तित थिएन, उहाँ मात्र चिन्तित हुनुहुन्थ्यो । मेरा कोही साथी चिन्तित थिएनन् । कसले पो मेराबारे फिक्री गरोस् ? सत्य त के भने मेरा धेरैजसो साथीहरूलाई मैले कुर्सी खाली गरिदिएकामा खुसी नै लाग्यो । अब उनीहरुले त्यो कुर्सी पाउन सक्थे । उनीहरू त्यही प्राप्त गर्न दौडिए । मेरा पिता मात्र चिन्तित थिए । उहाँलाई मैले भनेँ, ‘चिन्ता नगर्नुस् ।’

तर मैले भनेर उहाँलाई केही प्रभाव परेन । उहाँले मलाई नभनीकनै एउटा जग्गा खरिद गर्नुभयो किनभने उहाँलाई राम्रोसँग थाहा थियो, उहाँले मलाई पहिले नै भन्नुभएको थियो भने उहाँसँग म नराम्रोसँग रिसाउँथेँ । उहाँले मेरालागि एउटा सुन्दर घर बनाउनुभयो, मलाई जस्तो मन पर्थ्यो ठीक त्यस्तै । तिमीहरूलाई आश्चर्य लाग्ला, त्यसमा ती सबै आधुनिक सुविधा थिए । कतिसम्म भने उहाँले एयरकन्डिसन्ड घर बनाइदिनुभएको थियो ।

त्यो घर मेरो गाउँको नदी किनारा बनाइएको घर थियो । त्यसमा एउटा बगैँचा पनि थियो । नदीमा जानका लागि सिँढी बनाइएको थियो ताकि म त्यहाँ बिहान नुहाउन र पौडन जान सकूँ । पुराना रुख थिए । कयौँ किलोमिटरसम्म अरु केही थिएन । सन्नाटा र शान्ति थियो तर उहाँले मलाई यसबारेमा भन्नु भएन ।

मेरा पिता यतिबेला हुनुहुन्न राम्रै भयो, नत्र त म उहाँलाई दिक्क लगाउँथेँ तर उहाँको हृदयमा यो आवारा छोराका प्रति यति प्रेम थियो, यति करुणा थियो !

म त आवारा नै हुँ । मैले आफ्नो परिवारका लागि कहिल्यै केही पनि गरिनँ । कुनै पनि प्रकारले उहाँहरू मप्रति ऋणी हुनुहुन्न । उहाँहरूले नै मेरालागि सबथोक गर्नुभयो ।

मैले यो दम्पतिको चयन विशेष कारणले नै गरेको थिएँ, उहाँहरूको प्रेम, उहाँहरूको घनिष्ठता, उहाँहरूको अन्तरंगताका कारण । उहाँहरू दुई भए पनि एकै हुनुहुन्थ्यो । यस प्रकार सात सय वर्षपछि मैले पुनः शरीरमा प्रवेश गरेँ ।

मेरो बालापन सुनौलो थियो । म यसलाई त्यसै भनिरहेको छैन । म फेरि दोहोर्याऊँ, सबै जना उनीहरूको बालापन सुनौलो थियो तर वास्तवमा त्यस्तो हुँदेन । मानिसहरू उनीहरूको बालापन सुनौलो थियो भनेर सोच्छन् मात्र तर त्यस्तो हुँदैन । किनभने उनीहरूको जवानी बेकारमा बिताएका हुन्छन्, उनीहरूका बुढ्यौली त झनै खराब हुन्छ । स्वभावतः बालापन सुनौलो हुन पुग्छ । त्यस अर्थमा मेरो बालपन सुनौलो थिएन । मेरो जवानी हिराजस्तो थियो र म बुढ्यौलीसम्म बाँचे भने त झन् प्लेटिनम हुनेछ तर मेरो बालापन निश्चितै रुपमा सुनौलो थियो, कुनै प्रतीकजस्तो होइन, साँँच्चै सुनौलो, काव्यमा जस्तो होइन, बरु शब्दशः, तथ्यगत ।

शुरुवाती वर्षमा म धेरैजसो आफ्ना हजुरबा हजुरआमाकहाँ बसेँ । ती वर्ष बिर्से पनि बिर्सन सक्तिनँ । म स्वर्गै पुगेँ भने पनि म ती वर्षलाई सम्झनेछु । एउटा सानो गाउँ, गरिब मानिस । मेरा हजुरबा ठूलो हृदयको मानिस हुनुहुन्थ्यो, अत्यन्त उदार । उहाँ गरिब हुनुहुन्थ्यो तर उदारतामा ज्यादै धनी । उहाँसँग जे पनि थियो, सबै दिनुभयो, बाँड्नुभयो । मैले पनि दिने कला उहाँबाटै सिकेँ । यति त मैले स्वीकार गर्नैपर्छ । मैले उहाँलाई कहिल्यै कुनै मगन्ते भएको देखिनँ वा कसैलाई नाईं भनेर भनेको सुनिनँ ।

म उहाँहरूलाई नाना-नानी (हजुरबा-हजुरआमा) भन्थेँ । म हजुरबालाई सोध्थेँ, ‘नाना, तपाईंले यति सुन्दर पत्नी कहाँबाट पाउनुभयो ?’

मेरी हजुरआमा भारतीय कम, युनानी बढी देखिनुहुन्थ्यो । जब म मुक्ता (संन्यासिनी/ओशोकी शिष्या)लाई हाँस्दै गरेको देख्छु, मलाई उहाँको याद आउँछ । शायद यही कारणले मुक्ताप्रति मेरो हृदयमा विशेष ठाउँ छ । म उसलाई कहिल्यै नाइँ भन्न सक्तिनँ । ऊ कहिल्यै अनुचित कुरा मागी भने पनि म उसलाई हुन्छ भनिदिन्छु । जसै म उसलाई देख्छु, मलाई हजुरआमाको याद आउँछ । शायद उहाँमा केही युनानी रगत थियो !

कुनै पनि जाति बिल्कुल शुद्ध छैन र शुद्ध हुने दाबी गर्न सक्तैन । विशेषगरी भारतीयको रगत त झनै शुद्ध हुने दाबी गर्नु हुन्न । हुण, मुगल, युनानी र अन्य जातिले कयौँ पटक भारतमाथि आक्रमण गरे, भारतलाई जिते र यसमाथि शासन गरे । उनीहरू भारतीय रगतमा घुलमिल भए । र, मेरी हजुरआमामा यो कुरा बिल्कुल स्पष्ट थियो । उहाँको बान्की भारतीय थिएन । उहाँ युनानीजस्तै देखिनु हुन्थ्यो । उहाँ ज्यादै शक्तिशाली स्त्री हुनुहुन्थ्यो, बलवान्, ज्यादै बलवान् । मेरा हजुरबा पचास वर्ष पनि नहुँदै बित्नुभयो ।  मेरी हजुरआमा भने ८० वर्षसम्म जीवित रहनुभयो र पूर्ण रुपमा स्वस्थ हुनुहुन्थ्यो । त्यो बेला पनि कसैलाई उहाँ बित्नु होला भन्ने सोचेका थिएनन् । मैले उहाँबाट एउटा वचन लिएको थिएँ, जब उहाँ मर्नुभयो भने म उहाँलाई हेर्न पुग्नेछु । र, परिवारसँग भेट गर्ने त्यो मेरो अन्तिम भेट हुनेछ । उहाँको मृत्यु सन् १९७० मा भयो । मैले आफ्नो कसम पूरा गर्नुपर्यो ।

शुरुवाती दिनमा म हजुरआमालाई नै आफ्नी आमा ठान्थेँ । म बिस्तारै हुर्कंदै थिएँ । त्यो बेला म हजुरआमासँग थिएँ । मेरी आमा जब हजुरआमाकहाँ आउनुभयो, त्यो बेला म अलि ठूलो भइसकेको थिएँ र एक खास किसिमको बानीमा ढलिसकेको थिएँ । मेरी हजुरआमाले मलाई धेरै सहयोग गर्नुभयो । मेरा हजुरबा मलाई ज्यादै प्रेम गर्नुहुन्थ्यो तर मलाई त्यति सहयोग गर्न सक्नुहुन्न थियो । प्रेम त बहुतै गर्नुहुन्थ्यो तर सहयोग गर्नका लागि अरु पनि केही चिज चाहिन्छ, एक विशेष किसिमको आन्तरिक शक्ति चाहिन्छ । उहाँ सधैँ हजुरआमासँग डराउनुहुन्थ्यो । एक अर्थमा उहाँ ‘जोरुको गुलाम’ हुनुहुन्थ्यो । जब सत्य कुरा आउँछ, म सधैँ सत्य नै बोल्छु । उहाँ मलाई ज्यादै प्रेम गर्नुहुन्थ्यो तर जब कोही हजुरआमासँग डराउनु हुन्थ्यो त त्यो भन्नै पर्यो, यसमा म के गर्न सक्छु र ? ९९.९ प्रतिशत पति स्वास्नीका दास नै हुन्छन् ! त्यसैले ठीक छ ।

मलाई एउटा घटना याद आयो । यसअघि मैले कहिल्यै भनेको थिइनँ । एउटा अँधेरी रात, झमझमी वर्षा भइरहेको थियो । एउटा चोर हाम्रो घरमा छिर्यो । स्वभावतः मेरा हजुरबा डराउनुभयो । सबै देखिरहनु भएको थियो तर उहाँ डराउनुभयो । तर उहाँ नडराएको देखाउने पूरापूर प्रयास गरिरहनु भएको थियो । चोर हाम्रो सानो घरको एउटा कुनामा सख्खरको बोरापछाडि लुकेको थियो ।

मेरा हजुरबुवा पान खाइरहनुहुन्थ्यो । जसरी कोही लगातार चुरोट पिउँछ, त्यसैगरी उहाँको लत पान खानुमा थियो । सारा दिन उहाँ पान बनाउनु हुन्थ्यो, पान खानुहुन्थ्यो । यसपछि उहाँले पान खान थाल्नुभयो र बिचरो चोर लुकेको ठाउँमा पिच्च थुक्न थाल्नुभयो । त्यो बेला म हजुरआमासँग सुत्थेँ । मैले यो फोहोरी दृशय देखेँ र हजुरआमासँग भनेँ, ‘यस्तो त राम्रो भएन । हुन त चोर हो त्यो र पनि त्यसमाथि यसरी थुक्नु त हुँदैन । हामीले उसमाथि सज्जनतापूर्वक व्यवहार गर्नुपर्छ । थुक्नु त बिल्कुलै हुँदैन । कि त उससँग भिड्नु पर्यो या थुक्न बन्द गर्नुपर्यो ।’

हजुरआमाले मलाई सोध्नुभयो, ‘तिमीलाई के गर्न मन छ भन त ?’

मैले भनेँ, ‘उसलाई थप्पड हान्न मन छ ।’ त्यो बेला म नौ वर्षको पनि थिइनँ ।

मेरी हजुरआमाले हाँसेर भन्नुभयो, ‘ठीक छ । म तिमीसँग आउँछु प्यारे । तिमीलाई मेरो सहयोग चाहिन सक्छ ।’

उहाँ अग्लो कदकी हुनुहुन्थ्यो । उहाँ मेरी आमाजस्ती हुनुहुन्नथ्यो । न त शारीरिक सौन्दर्यमा, न त आन्तरिक साहसका सन्दर्भमा । मेरी आमा त सिधासादा, मेरी हजुरआमा चाहिँ साहसी । उहाँ मसँगै आउनुभयो ।

म त हैरान भएँ । पत्याउनै सकिनँ, देखेँ, चोर अरु कोही होइन । मलाई पढाउने मान्छे रहेछ, मेरो शिक्षक । मैले जोडले थप्पड हानेँ । शायद शिक्षक भएकै कारण मैले उसलाई त्यसरी बेस्कन हानेँ । मैले उसलाई भनेँ, ‘तिमी चोर मात्रै हुन्थ्यौ भने त मैले माफी दिन्थेँ तर तिमी त ठूलाठूला कुरा सिकाउने र रातमा यस्तो हर्कत गर्ने रहेछौ ! जति चाँडो भाग्न सक्छस् भाग् । हाम्री हजुरआमाले पक्डनुअघि नै भाग्, नत्र त तँलाई भुर्ता बनाइदेलिन् !’ (भुर्ता– बैगुन (भान्टा)को भुटुवा तरकारी !)

हजुरआमा, अग्ली, सशक्त र सुन्दर स्त्री हुनुहुन्थ्यो । मेरा हजुरबा होचा र साधारण हुनुहुन्थ्यो तर दुवैको जोडी राम्रो थियो । हजुरबाले हजुरआमासँग कहिल्यै झगडा गर्नु भएन । गर्न पनि सक्नु हुन्थेन । त्यसैले कहिल्यै केही समस्या भएन ।

मलाई त्यो शिक्षक याद छ, गाउँको पण्डित, ऊ मलाई कहिलेकाहीँ पढाउन भनेर आउँथ्यो । ऊ गाउँको मन्दिरको पुजारी थियो । उसले भन्यो, ‘तेरा हजुरबाले मलाई थुके, थुकिरहे । मेरो कपडाको कस्तो हालत भयो ! उहाँले मेरो कपडाको सत्यानाश गरिदिनुभयो ।’

मेरी हजुरआमा हाँस्नुभयो र भन्नुभयो, ‘भोलि आउनू । म तिमीलाई नयाँ कपडा दिउँला ।’ र, उहाँले उसलाई साँच्ची नै नयाँ कपडा दिनुभयो । ऊ आउन त आएन, आउने हिम्मत पनि थिएन तर हजुरआमा चोरको घर जानुभयो । मलाई पनि सँगै लिएर जानुभयो । मैले त्यो चोरलाई नयाँ कपडा दिँदै भन्नुभयो, ‘मेरा पतिले तिम्रो कपडा बिगारेर भद्दा काम गर्नुभयो । त्यो ठीक भएन । जहिले पनि कपडा आवश्यक परे, मलाई सिधै भन्नू ।’

त्यो मास्टर फेरि मलाई पढाउन आएन… कसैले उसलाई नआऊ भनेर होइन तर उसलाई आउने हिम्मतै भएन । मलाई पढाउन नआउने मात्र होइन, हामी बस्ने घरको बाटो नै आउन बन्द गर्यो तर म सधैँ नियमित रुपमा उसको घर जाने गर्थें, मानौँ एउटा नियमजस्तै । उसको घर जान्थेँ र उसको अघिल्तिर थुक्थेँ, ताकि उसलाई स्मरण रहोस् । म उसलाई ठूलो स्वरमा भन्थेँ, ‘तिम्ले त्यो रात बिर्सियौ ? तिमी त सधैँ इमान्दार हुने र सत्य बोल्ने उपदेश दिन्थ्यौ त, अनि आफू चाहिँ बकवास काम  गर्थ्यौ हैन ?’

अहिले पनि म देख्न सक्छु, ऊ टाउको निहुर्याएर उभिएको छ । मलाई केही भन्न सकिरहेको छैन ।

मेरा हजुरबा भारतका ठूला ठूला ज्योतिषीले मेरो चिना बनाऊन् भन्ने चाहनुहुन्थ्यो । हुन त उहाँ ज्यादै धनी हुनुहुन्थेन, धनी नै हुनुहुन्थेन, ज्यादै धनीको त कुरै भएन– तर त्यो गाउँमा उहाँ नै सबैभन्दा धनी चाहिँ हुनुहुन्थ्यो । मेरो चिना बनाउनका लागि उहाँ जस्तोसुकै मूल्य दिन पनि तयार हुनुहुन्थ्यो । उहाँ लामो यात्रा गरेर वाराणसी जानुभयो र त्यहाँका प्रसिद्ध ज्योतिषीहरूलाई भेट्नुभयो । हजुरबुवाले दिनुभएको तिथिमिति र जन्मस्थान आदि विचार गरिसकेपछि त्यहाँका सबैभन्दा ठूला ज्योतिषीले भने, ‘म यो जन्मकुण्डली सात वर्षपछि मात्र बनाउन सक्छु । यदि यो बालक बाँचीबर्ती रह्यो भने म सित्तैमा बनाइदिन्छु तर यो बाँच्लाजस्तो मलाई लाग्दैन । बाँच्यो भने यो चमत्कार नै हुनेछ किनभने यसमा बुद्ध हुने सम्भावना छ ।’

मेरा हजुरबा रुँदै घर आउनुभयो । मैले उहाँको आँखामा कहिल्यै आँशु देखेको थिइनँ । मैले सोधेँ, ‘के भयो ?’

उहाँले भन्नुभयो, ‘तिमी सात वर्षको हुञ्जेलसम्म मैले पर्खनुपर्ने भयो । सात वर्षसम्म बाँच्छु कि नाइँ ? त्यो ज्योतिषी पनि बाँच्ला कि नाइँ कसलाई थाहा ? मलाई तिम्रो चिन्ता लागेर आएको छ ।’

मैले भनेँ, ‘यसमा चिन्ताको के कुरा ?’

हजुरबाले भन्नुभयो, ‘चिन्ता त तिम्रो कतै मृत्यु नभइजाओस् ! चिन्ता त तिमी कतै बुद्ध नभइजाऊ !’

म हाँसेँ र उहाँ पनि आँशुका बीच पनि हाँस्न थाल्नुभयो । उहाँले फेरि थप्नुभयो, ‘आश्चर्य, मलाई तिम्रो चिन्ता लाग्यो । बुद्ध हुनुमा नराम्रो के छ र ?’

जब हजुरबाबाट मेरा पिताले ज्योतिषीका कुरा सुन्नुभयो, उहाँले मलाई वाराणासी लिएर जानुभयो । तर त्यसको चर्चा म पछि गर्नेछु ।

जब म सात वर्षको थिएँ, एक जना ज्योतिषीले मलाई खोज्दै हजुरबाको गाउँ आइपुग्यो । एउटा सुन्दर घोडा हाम्रो घरअगाडि रोकियो, हामी सबै बाहिर निस्कियौँ । घोडा ज्यादै शानदार देखिएको थियो र त्यसमा चढ्ने अरु कोही थिएन, त्यही प्रसिद्ध ज्योतिषी थियो, जसलाई मैले भेटिसकेको थिएँ वाराणासीमा । उनले मलाई भने, ‘तिमी अझै ज्यूँदै छौ ? मलाई डर लागिरहेको थियो, किनभने तिमीजस्ता मानिस धेरै समय बाँच्दैनन् । हेर, मैले तिम्रो जन्मकुण्डली बनाएको छु ।’

जन्मकुण्डलीअनुसार म बुद्ध हुने पक्का थियो र छेउछाउका गाउँका मानिसलाई भोज दिन मेरा हजुरबाले सारा गहना बेचिदिनुभयो । त्यसलाई उहाँले उत्सवझैँ मनाउनुभयो । उहाँलाई बुद्ध शब्दको अर्थ शायदै थाहा थियो होला । उहाँ जैन हुनुहुन्थ्यो र शायद उहाँले यसअघि कहिल्यै यो शब्द पनि सुन्नु भएको थिएन । तर उहाँ खुसी हुनुहुन्थ्यो, नाचिरहनु भएको थियो किनभने म बुद्ध हुनेवाला थिएँ । त्यो बेला मलाई विश्वासै लागेन कि बुद्ध शब्दले नै कोही यसरी प्रशन्न हुन सक्दोरहेछ । जब सबै जना भोज खाएर निस्किए, मैले हजुरबालाई सोधेँ, ‘बुद्धको अर्थ के हो ?’

उहाँले भन्नुभयो, ‘मलाई के थाहा ? सुन्दा राम्रो लाग्यो । म त जैन हुँ । कुनै बौद्धलाई सोधूँला नि !’

त्यो सानो गाउँमा कोही बौद्ध थिएन तर उहाँले भन्नुभयो, ‘जब कोही बौद्ध भिक्षु यो गाउँँ हुँदै आइपुग्यो भने उसैबाट यसका बारेमा बुझौँला ।’

तर उहाँ त ज्यादै प्रशन्न हुनुहुन्थ्यो किनभने ज्योतिषीले भने- ‘म बुद्ध बन्नेछु ।’ त्यसपछि उहाँले मलाई भन्नुभयो, ‘बुद्धको अर्थ ज्यादै बुद्धिमान व्यक्ति हुनुपर्छ ।’ बुद्धिको अर्थ हो, बुझाइ, त्यसैले उहाँले बुद्धको अर्थ बुद्धिमान, बुझ्ने मान्छे, समझदार भनी उहाँले ठान्नुभयो ।

उहाँको अनुमान सही नै थियो । उहाँ अर्थको निकै नजिक पुग्नुभयो । अफसोस, उहाँ जीवित हुनुहुन्न । नत्र त उहाँले बुद्ध हुनुको अर्थ के हो भनी देख्नुहुन्थ्यो । शब्दकोशको अर्थ होइन, बरु जीवित, जागृत व्यक्तिका साथ उहाँको भेट हुन्थ्यो । उहाँको नाति बुद्ध भएको देख्नुहुन्थ्यो । यस खुसीमा उहाँ पक्कै नाच्नुहुन्थ्यो, म त्यो देख्न सक्छु । उहाँ समाधिस्थ हुनका लागि यही पर्याप्त हुन्थ्यो तर उहाँको मृत्युभयो । उहाँको मृत्यु मेरालागि ज्यादै महत्त्वपूर्ण अनुभव थियो । त्यसका बारेमा पछि कुरा गरौँला ।

कति बज्यो अहिले ?

‘साढे आज बज्यो, ओशो ।’

‘अच्छा, मेरा लागि पाँच मिनेट मात्र…’

अब रोकिने, भयो भयो । तर यो बडो सुन्दर क्षण रह्यो… र, म ज्यादै आभारी छु । धन्यवाद ।