साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

बर्माको जीवित नेपाली भाषा

संस्मरण

२०५३ सालतिरको कुरो हो । त्यतिबेला नेपालको पूर्वी भागमा निकै खैलाबैला थियो । भुटानबाट नेपाल आएका भुटानीहरू छ्याप्छ्याप्ती पाइन्थे । आफ्नो देशमा भाँडभैलो भएपछि उनीहरू नेपालतिर पसेका थिए । केही दिन अगाडि बिराटनगर पुग्नुभएका मेरो गाउँले नाता पर्ने दाइसँग एकजना भुटानीको कुराकानी भएछ, उहाँ बिराटनगरबाट फर्केपछि आश्चर्य मान्दै मलाई सुनाउनु भयो ।

“भाइ ! भुटानीहरू त हामीजस्तै नेपाली प्रष्टै बोल्दा रहेछन् ।”

म केही बोलिनँ । ट्वाल्ल परेर हेरिरहेँ ।

bahulako diary small and inside post

२४ वर्षपछि यस्तै आशयको अर्को संवाद फेरि मेरो कानमा पर्‍यो । जब म २०७६ साल कार्तिकमा बर्माबाट फर्केर नेपाल आएँ, एक जना भाइले मलाई सोधे–

“दाइ ! बर्मामा बस्ने नेपालीहरूले नेपाली भाषा बुझ्छन् ?”

“किन नबुझ्ने ? राम्रोसँग बुझ्छन्, लेख्छन् अनि पढ्छन् पनि,” मैले उनलाई उत्तर दिएँ ।

वास्तवमा मैले भुटानी र बर्मेलीको कुरो केवल नेपाली भाषासँग मात्र उठाउन खोजेको होइन । उनीहरूले जीवित राखेका शब्दहरू र शब्दहरूको अर्थसँग हो । नेपालमा कुनै शब्दहरू मरिसके भने कुनै शब्दको अर्थ नै अर्को लाग्छ तर बर्मा र भुटानमा न त्यसको स्वरूप फेरिएको छ न अर्थ नै । उनीहरू त्यही पुरानो शब्द नै प्रयोग गरिरहेका छन् । बरु बर्मेली र भुटानीहरूले बोलेको ती शब्दहरू नेपालीलाई चाहिं हाँसो लाग्ला वा अनौठो लाग्ला ।

विषय प्रसङ्ग शुरु गरौं– बर्मामा जीवित रहेका नेपाली शब्दहरूबाट । २०७६ साल असोजको अन्तिम हप्ता । म नेपालबाट बर्मा जाने क्रममा बैंककमा अर्को जहाज फेर्नपर्ने हुन्छ । एयरपोर्टमा ‘सीताराम’ भाइसँग भेट हुन्छ । हुन त उनले आफ्नो नाम ‘सीथाराम’ भनेका थिए, मैले नै उनलाई ‘सीथाराम’ होइन ‘सीताराम’ हो भनेपछि पनि उनले आफ्नो नाम भविष्यमा सुधार गर्छन् जस्तो लाग्दैन किनकि उनको जिब्रो दह्रो भइसकेको छ । उनलाई भेटेपछि म जसरी उत्साहित भएको छु त्यति नै उनी पनि । उनलाई नेपालबारे धेरै चासो छ, त्योभन्दा बढी मलाई बर्मामा बस्ने नेपालीहरूबारे । जहाज उड्ने समय निकै बाँकी छ । शुरुमा हाम्रो गफ बुझ्ने यात्री त्यति छैनन् तर अहिले फाट्ट–फुट्ट थपिँदै छन् अनि उनीहरूको आँखा हामीतिर छ । म अड्कल काटिरहेको छु, तिनीहरू बर्मेली–नेपाली हुन् तर हाम्रो ध्यान तिनीहरूतिर जाँदैन ।

“थाइल्याण्डमा के गर्दै हुनुहुन्छ ?” म सीतारामलाई सोध्छु ।

“पसलमा काम गर्छु । श्रीमती र बच्चालाई छोडेर आएको । दशैँमा माता–पिताको हातको टीका लगाउनासाथ फर्किनु पर्छ । नत्र साहु रिसाउँछ,” उनी लामो उत्तर दिन्छन् ।

उनको कलिलो चेहेरा, नरम दाह्री–जुँगा अनि अपरिपक्व बोलीप्रति मेरो प्रश्न उब्जिन्छ र सोध्छु–

“बच्चा पनि छ भन्नुहुन्छ, तपाईंको उमेर कति भयो ?”

“बीस तीन ।”

“कति हो ‘बीस तीन’ भनेको ?”

”‘तेइस’ हो,” उनी अनकनाउँदै उत्तर दिन्छन् ।

म अड्कल काट्छु, उनलाई तेइस भन्न निकै गाह्रो भएको छ । उनीप्रति मेरो जिज्ञासा बढ्दै जान्छ । तेइस भन्न धेरै गह्रौँ भएको छ । म उनलाई प्रश्न सोध्दै जान्छु । उनी पनि रमाई–रमाई उत्तर दिइरहेका छन् ।

“थाइल्याण्डमा केको पसलमा काम गर्नुहुन्छ ?” म सोध्छु ।

“फनाको ।”

“के हो ‘फना’ भनेको ?”

“चप्पल हो । थरीथरीका चप्पल, जुत्ता पाइन्छ ।”

“कतिको चल्छ फनाको पसल थाइल्याण्डमा ?” म फेरि सोध्छु ।

“‘लादी’ चल्छ हो ! सिजनमा त ग्राहक तह नलगाई हुन्छ, टिना–टिन ।”

“बर्मामा काम नभएर त होला नि ! थाइल्याण्ड आउनु परेको कामको लागि,” म अर्कोतिर प्रसंग जोड्छु ।

“मिलीटरीले ‘समातेर’ हो बर्मा त्यस्तो भएको । नत्र त थाइल्याण्डभन्दा विकास हुन्थ्यो । अब त आङ्गसाङ्ग सूची दिदी ‘चढेकी’ छन् । बर्मामा पनि विकास होला ।”

म उनको शब्दले मुसुमुसु हाँस्छु तर केही बोल्दिनँ ।

“तपाईंलाई नेपाल जान मन छैन ?” म सोध्छु ।

“किन नहुनु ! जान मन छ नि ! मेरो हजुरबाले पनि धेरै पहिले नेपाल फर्कने भनेर ‘चढाउनु’ भएको थियो अरे फेरि ‘निकाल्नु’ भएछ । अब गएर के गर्नु ? कोही चिनेको छैन ।”

त्यतिबेलै जहाजभित्र पस्न समय हुन्छ । हामीहरू दुवै जना लाइन उभिन पुग्छौं ।
+ + +

म रंगुन विमानस्थलमा ओर्लन्छु र अध्यागमनको काम सकेर बाहिर निस्किन्छु । बाहिर ट्याक्सी ड्राइभरहरू मलाई घेरा हाल्न आइपुग्छन् । उनीहरूको प्याट्टपुट्ट अंग्रेजी बोलीले मलाई भाषाको समस्या पर्दैन । एउटा ट्याक्सी ड्राइभरले मलाई सोध्छ–

“मेरो ट्याक्सी खाली छ, सर कहाँ पुग्ने हो ?”

तर मलाई थाहा छैन, म कहाँ पुग्ने ! मलाई त्यो पनि थाहा छैन, कति भाडा लाग्छ र कति समय । म तत्काल, पहिलेको सल्लाह अनुसार शंकरजीलाई फोन लगाउँछु र आफू एयरपोर्टमा झरिसकेको कुरो अवगत गराउँछु । मलाई शंकरजीले आफ्नो घरको ठेगाना त बताउनु हुन्छ तर ट्याक्सी ड्राइभरलाई मैले बताउन नसक्ने भएर होला शंकरजी र ट्याक्सी ड्राइभरबीच पनि सोझै कुराकानी हुन्छ । म ट्याक्सीमा चढ्छु । हाम्रो ट्याक्सी रंगुन शहरभित्र खस्छ । सफा बाटो । बिहानका पातलो ट्राफिक– केहीबेरमा नै ट्याक्सी ड्राइभरले आफ्नो ट्याक्सी सडकको छेउमा रोक्छ र मलाई भन्छ–

“ल सर ! तपाईंको साथीको घर यही हो । तपाईं यही ओर्लनुहोस् ।”

म १० हजार च्याट बुझाएर ट्याक्सीबाट बाहिर निस्किन्छु र सडक छेउ ठिङ्ग उभिन्छु । केहीबेरपछि सेतो–कोठे लुङ्गी लगाएका एउटा युवक पल्याक–पुलुक हेर्दै मेरो नजिक देखा पर्दछन् । उनी कहिले मलाई हेर्छन् कहिले मेरो झोलालाई । म उनलाई अन्दाजको भरमा प्रश्न गर्छु ।

“भाइ नेपाली हो ?”

“हो ! म हजुरलाई लिन आएको । मामा (शंकरजी) बाहिर जानु भएको छ । माथि जाऔं,” भन्दै उनी अगाडि अगाडि हिँड्छन् म उनको पछाडि पछाडि झोला झुण्ड्याउँदै अगाडि बढ्छु । र, उनीसँगै लिफ्ट चढेर घरको नवौँ तलामा पुग्छु । ती युवक मलाई घरभित्र हुलेर आफ्नो कोठातिर जान्छन् म एक्लै बैठक कोठामा झोला झुण्ड्याएर उभिइरहन्छु । अलिकति त्यहाँ भाषा कुरो नमिलेको हुनसक्छ वा ती युवक अलिकति लजालु स्वाभावका पनि थिए । म धेरैवेर नै उभिइरहन्छु । त्यो उनलाई थाहा हुन्छ । उनी हत्तपत्त म नजिक आएर बोल्छन् ।

“झोला त्यही ‘खसाल्नुहोस्’ र तपाईंमा सोफामा बस्दै गर्नुहोस् म अहिले भित्र लगेर राखिदिन्छु ।”

म मनभनै प्रश्न गर्छु– झोला “खसाल्ने” हो कि “राख्ने ?”
+ + +

बर्माको लोखुमा रहेको शारदा संस्कृत विश्वविद्यालय वरिपरि थुप्रै नेपालीहरूको गाउँ छन् त्यही गाउँहरुमध्ये एउटा गाउँ हो– धारापानी । म संस्कृत विद्यालयका सहसचिव मनबहादुर खनालसँग मोटरसाइकलमा धारापानी पुग्छु र दिनभरि त्यतै बिताउँछु । साँझ परेपछि हामी दुवै जना त्यहाँबाट मोटरसाइकलमा नै फर्किन्छौं । फर्किंदै गर्दा बाटोमा अर्का नेपाली शुकदेवसँग हाम्रो भेट हुन्छ । केहीबेरको छलफलपछि म मनबहादुर खनालजीसँग नभई शुकदेवको मोटरसाइकल फर्कन पर्ने हुन्छ । म उनको मोटर साइकलमा चढ्छु । सुनसान सडक, दायाँ–बायाँ बाक्लो मकैको बारी हामी अगाडि बढिरहेको बेला एक्कासि शुकदेवजी वा फोनको घण्टी बज्छ । शुकदेवजीलाई मोटरसाइकल हाँकिरहेको बेला फोनमा कुरा गर्ने बानी छैन । उहाँ हत्तपत्त मोटरसाइकललाई सडकछेउ रोक्नुहुन्छ र कुरा गर्न थाल्नुहुन्छ । म पनि मोटर साइकलको आड लागेर उभिन्छु । मैले नचाहेर पनि शुकदेवको फोनको गफ मेरो कानमा पर्न बाध्य छ । म सुनिरहेको हुन्छ–

“हो ! हो ! मैले तिमीलाई फोन गरेको थिएँ,” शुकदेव बोल्न थाल्नुभयो ।

“किन ?” उताको प्रश्न ।

“मैले छोरीलाई फोन ‘हानेँ’ उनले फोन ‘समातिनन्’ । मलाई रामचन्द्रको फोन नम्बर चाहिएको छ, त्यो नम्बर मलाई ‘हाली’ दिनु है ! समय मिल्यो भने म अहिले तिम्रो घर ‘घुस्छु’ तिमीलाई मौका ‘लाग्छ’ भने मेरै घरतिर ‘घुसे’ पनि हुन्छ । अहिले मेरो फोनको ‘ताकत’ सकिन लागेको छ, पछि गफ गरौंला ।”

मनमनै सोच्छु– “अहो ! कस्तो अठ्मिल्दो भाषा हो यो ! नेपालीलाई नेपाली बुझ्नै गाह्रो !”

फोन गरेपछि शुकदेवले फोन पट्याउनु हुन्छ अनि मोटरसाइकल चलाउन थाल्नुहुन्छ । म संस्कृत विश्वविद्यालयको छात्रावाससम्म मोटरसाइकलमा आउँछ ।
+ + +

बर्माको राजधानी रंगुनबाट लोखु पुग्नुभन्दा अगाडि एउटा सानो बजार आउँछ– तौंजे । त्यो बजारमा मैले आधा दिन जति बिताएको छु । चोकैमा एउटा ठूलो घर छ– खनाल बाजेको । खनाल बाजेको छोरा–नातीहरूको मकैको थोक व्यापार छ । स्थानीय किसानबाट मकै संकलन गर्ने र चीनसम्म पुर्‍याउने उहाँका पेशा हो । खनाल बाजेसँग मैले लामै छलफल गरेको छु । छलफलको क्रममा उहाँलाई म सोध्छु–

“तपाईंका पुर्खा नेपालको कुन ठाउँबाट, कहिले आएका रहेछन् <”

“खै ! बाबु कता हो ? बुटबलबाट ४ दिन लाग्थ्यो अरे– गुल्मी जिल्ला । म गएको छैन । हजुरबा आउनु भएको । पहाडको ठाउँ, खान र लाउनको समस्या । अरूको साथ लागेर बर्मा घुस्नु भएछ । विवाह भएको अर्को वर्ष । बर्मामा पनि टिक्न सक्नु भएनछ । चोरी–डकैती लागेछन् । दुई–तीन वर्षपछि नेपाल नै फर्किनु भएछ । तर घर नपुग्दै बाटैमा थाहा भएछ, श्रीमतीले खुट्टा छोडिन् ।”

“के हो यो ‘खुट्टा छोडिन’ भनेको” म बीचै सोध्छु–

“पोइल हिँडिछन् ।”

म मनभनै सोच्छु– “कस्तो कहिल्यै नसुनेको शब्द !”

खनाल बाजे आफ्नो कुरा बोलिरहेका हुन्छन्– “श्रीमतीले खुट्टा छोडेको सुनेपछि बूढा फेरि बर्मा नै फर्केछन् । यो सृष्टि सबै उहाँकै हो ।”

म उहाँलाई फेरि अर्को प्रश्न सोध्छु– “तपाईं त बर्मामा नै जन्मनु भयो, हुर्कनुभयो । कस्तो लाग्छ पहिला र अहिलेको नेपाली समाज” ?

उनका मुखबाट निराश शब्दहरू निस्किन्छन्– “कस्तो लाग्छ भन्नु ! पहिले धोती–पाटो नफेरी भान्सामा जान पाइँदैनथ्यो । सासु–बुहारी पनि चोलो ‘छोडाएर’ नै भोजन गर्थे । आज कहाँ त्यस्तो छ र ? सबैका घरमा टेबुल–कुर्सी छन् । सबैको हातमा मोबाइल छ ।”

म मनमनै प्रश्न गर्छु– “चोलो छोडाएर कि चोलो फुकाएर !”
+ + +

बर्माको अर्को शहर नाउँछोमा म तीन दिन बस्छु । नेपालीको स्वामित्वमा रहेको धर्मशालामा नै मेरो रात बितेको हुन्छ भने दिनभरि नेपालीकै घर–आँगन घुमिरहेको हुन्छु । मेरो साथमा थुप्रै नेपालीहरू छन् तर पनि धेरैजसो मसँग इन्द्रबहादुर पाण्डे नै हुनुहुन्छ । अग्लो कद, हँसिलो अनुहार अनि स्थानीय संस्कृत विश्वविद्यालयको सचिव । सायद उहाँको मित्रतापूर्ण वातावरणले नै होला मैले कहिल्यै नियास्रो मानिनँ । कहिल्यै एक्लोपन भएन । धेरैजसो उहाँले आफ्नो मोटरमा घुमाए पनि म आफैँ पनि एक्लै शहर घुमिरहेको हुन्छु । नाउछो शहरमा थुप्रै नेपालीहरूको व्यवसाय छ । कपडाको दोकान, फेन्सी पसल, साइकल मर्मत, चिया पसल नेपालीको स्वामित्वमा छ । अर्को गौरवको कुरा शहरको निकै पायक पर्ने ठाउँमा देवी पाञ्चायनको मन्दिर छ । अनि देवी पाञ्चायन मन्दिरको अर्को छेउमा नेपालीको आफ्नो कार्यालय समेत छ । आश्चर्य त मलाई लाग्छ कि ! देवी पाञ्चायनको मन्दिर सडक थिचिएर बनेको पाउँछु । अन्य घरहरूभन्दा देवी मन्दिर सडकतिर च्यापिएर बनेको हुन्छ । सँगै हिँड्नुभएका इन्द्रबहादुरजीलाई म सोध्छु ।

“देवी मन्दिरले सडक मिचेको त छैन ? सडकतिर आएको जस्तो लाग्छ ।”

उहाँको सामान्य बोलीमा उत्तर आउँछ– “हो सर ! सडकलाई यो मन्दिरको पालीले च्यापेको छ । सडक बढाएको खण्डमा भत्काउने ‘कायलनामा’ गरेर नै यो मन्दिरको बाली थपेका हौँ ।”
म मनमने सोच्छु– “कायलनामा कि कबुलियतनामा ।”
+ + +

बर्माको पूर्वी पहाडी भागमा रहेको अर्को शहर हो– टाउजी । पहाडै पहाडमा अवस्थित भएर यसको नाम टाउजी रहेको हो । बर्मेली भाषामा टाउसीको अर्थ हुन्छ– ठूलो पहाड । यहाँ पनि नेपालीको आवादी बाक्लो छ । शहरको बीचैमा बडेमानको मन्दिर छ । यो मन्दिर परिसरमा साना–तिना कार्यक्रमहरू दैनिकजसो हुन्छन् । यो शहरमा नेपालीका साना–तिना पसलदेखि थुप्रै थोक व्यापार पनि छन् । एकदिन दुई–तीन घण्टा जति एउटा नेपालीको एउटा हार्डवेयर दोकानमा समय बिताउँछु । त्यो हार्डवेयर दोकानमा साहुबाहेक अन्य एकजना कर्मचारी पनि छन् जो नेपाली नै हुन् । भाषा एउटै, चालचलन एउटै अनि पूर्वज पनि एउटै भएर होला साधारणतयाः नेपालीले नेपाली नै कर्मचारी राखेकोमा आफूलाई सुरक्षित महसुस गर्छन् । विशेषतः मेरो गफ तिनै नेपाली कर्मचारीसँग हुन्छ । गफको क्रम जोड्दै म उनलाई सोध्छु–

“यहाँ, व्यापार गरेर बस्ने नेपालीहरू थुप्रै छन् हगि !”

“छन् सर !”

“के केको व्यापार छ नेपालीको ?”

“सबै थोकको छ । फोनको व्यापार छ । हार्डवेयरको छ । खाद्यान्नको छ, माटोको खरीद–बिक्रीको छ ।”

“के हो यो माटोको खरीद–बिक्री भनेको ?” उनीले मेरो प्रश्नको उत्तर दिन नसकेर होला बोल्दै जान्छन् ।

“आजकल माटोको खरीद–बिक्री अलि ठण्डा छ ।”

म आफैँ बुझ्ने कोशिश गर्छु– “आजकल जग्गाको खरीद–बिक्री अलि सुस्त छ ।”

त्यसो त बर्मामा मेरो बसाई जति लम्बिदै जान्छ, त्यति नै म डराउन थाल्छु । भाषाले मलाई तर्साउन थाल्छ । जसरी म बर्मेलीले बोलेको नेपाली भाषा सुनेर हाँसेको छु । मलाई नौलो लागेको छ, कहिले रमाइलो पनि लागेको छ तर कतै मेरो बोली सुनेर उनीहरू हाँसेका त छैनन् ! मलाई उनीहरूले खिस्सी गरेका त छैनन् ! पक्कै मेरो भाषा पनि उनीहरूलाई अनौठो लागेको होला !

प्रतिक्रिया
Loading...