जेठ महिनाको टन्टलापुर घाम । लिस्नोझैँ ठाडो खरबारी पाखो उक्लेर म विद्यालय प्राङ्गणमा पुगेँ । चिउँडो र नाकको टुप्पाबाट पसिना तपतप चुहिँदै थिए । यता ओठमुख खडेरीको बाँझो जमिनझैँ सुकेका, के गर्नु? पसिना पिउन नमिल्ने । त्यसैले जति सक्दो छिटो म स्कुल पुग्न चाहन्थेँ ।
वल्लो छेउको बलेँसीबाट भित्र पस्दै थिएँ, भुराहरूले देखिहालेछन्, ढोका-ढोकामा भुम्मिए । कालो प्यान्टमाथि सेतो सर्ट, खिस्रिक्क परेको अनुहारभरि झपक्क दारी, अनौठो मान्दै थिए सायद कानेखुसी गर्दै खितखिताउँदै थिए । म तिनीहरूतिर नहेरीकन सरासर अफिस कोठातिर गएँ । मणिराम सरले देख्नेबित्तिकै चिनिहालेछन्, कक्षाबाट फुत्त निस्के र चकले रङ्गिएको सेतो हात मतिर पसारे । दुवैले दरो गरी हात मिलायौँ अनि हामी अफिस कोठाभित्र पस्यौँ ।
दुर्गम गाउँको सानो स्कुल । त्यसको अफिस कस्तो हुन्थ्यो— एकथान टेबुल, चारवटा कुर्ची, एउटा लामो बेन्च लस्करै राखिएका । भित्री कुनामा एउटा काठको दराज थियो, दराजको टाउकामाथि एउटा पुरानो हार्मोनियम र त्यसैमाथि सानो खरी झरेको मादल थियो । त्योबाहेक स्कुलको अरू जायजेथा देखेनन् मेरा आँखाले । त्यो पनि हेड मास्टरमा सरुवा भएकाले मात्र जायजेथामा चासो राख्न पुगेँ । नत्र त सरकारी स्कुल न हो, एकसरो पढायो, चार बजायो हिँड्यो । सरकारी काम, कैले जाला घाम भन्ने उखान त्यत्तिकै चलेको होइन ।
अफिस छिर्नेबित्तिकै आँखा झ्यालमा राखेको पानीको घैँटामा परे । पानी कति थियो भगवान् जानुन् तर मेरो तिर्खा त्यो घैँटाभन्दा कम्तीमा पनि दुई गुणा धेरै थियो । मणिराम सर सन्चो बिसन्चोबाट सुरु गर्न खोज्दै थिए तर मैले “पहिला पानी पिऊँ, बाँकी विस्तारमा गरौँला नि सर” ,भनेँ ।
जाबो दुई जना शिक्षक दरबन्दी भएको सानो स्कुलमा पियन, चौकीदारको कल्पना गर्नु समयकै बर्बादी हो भन्ने मलाई थाहा थियो । आफैँ पानी सारेर पिऊँ भनी उठ्न खोज्दै थिएँ, चौधरी सर उठे र एक गिलास पानी सारेर मलाई दिए ।
मणिराम सर त चिनजानकै मान्छे थिए, चौमासिक निकासा गर्न सदरमुकाममा धेरैचोटि भेट भइसकेका तर चौधरी सर मेरा लागि बिल्कुलै नौला थिए । उमेरले मभन्दा साना देखिन्थे तर हेर्दा निकै सक्रिय । उनको लवज मैथिली, भोजपुरी जे भए पनि भाषा विनम्र थियो ।
पानी प्यास मेटिसकेपछि मैले गोजीबाट रवाना पत्र झिकेर मणिराम सरलाई दिएँ । उनले सरसरती पढे र अफिस फाइलमा उनेर राखे ।
मध्यान्तरको घण्टी बज्यो । भुराभुरी कोलाहल मच्चाउँदै कक्षाबाहिर निस्के र अफिसको ढोकामा बुजो लागे । कोही झ्यालबाट चियाउँदै थिए । ढोकामा भिड लागेका मध्ये एउटा भन्दै थियो खुसुक्क, “को मान्छे हो ?”
“नयाँ मास्टर ।” अर्को सासले बोल्दै थियो ।
अझै ठेलमठेल गर्दै थिए, मणिराम सरले हकारेपछि बल्ल उनीहरू चौरतिर कुदे र त्यतै खेल्न थाले । एकदुई जना अझै झ्यालबाट चियाउँदै थिए ।
मणिराम सर विद्यार्थी सङ्ख्या, शैक्षिक सामग्री, खेलकुद सामग्री आदि विषयमा कुरा गर्दै थिए, एक जना अर्धबैँसे मान्छे खुसुक्क अफिसमा छिरे । कम्मरमुनि सेतो कछाड, जिउमा मैलो टिसर्ट र टाउकामा कालो टोपी । निधार र आँखी भौँमा पसिनाका मसिना थोपा । हातमा सिप्काने लौरी पनि । बारी जोत्दाजोत्दै हलगोरु छाडेर आएजस्ता देखिन्थे उनी ।
उनलाई देखेर मणिराम सर र चौधरी सरले नमस्कार गरे । उमेरले पनि पाका, गाउँका भलाद्मी नै होलान् भन्ठानेर परिचय नगरीकनै नमस्कार ठोकेँ मैले पनि ।
“वहाँ को ?” उनले मणिराम सरमार्फत मेरो परिचय मागे ।
“वहाँ वीरसिंह सर । सरुवा भै आउनुभको ।” मणिराम सरले मतिर हेर्दै भने ।
“ए ! पिलाडी बाँठा छोरा हो ?” उनले ठुलै कुरा सम्झेझैँ लेघ्रो ताने । भन्दै थिए, “देख्न त पारि बबियारतिर आउँदै गऱ्या देख्या थिएँ । यै हो भनी चिन्न सग्यँन । अँ, अैल कँ, पिलाडीयाट आइस् त, भाइ ?”
पहिलो गाँसमै ढुङ्गा लाग्यो । मान पाउँला भन्थेँ, भुक्तमान पाएँ भन्ने भानुभक्तको युक्ति झल्याँस्स याद आयो । यद्यपि त्यति ठूलो आश त गरेको थिइनँ मैले । तैपनि ‘तिमी’ सम्मको त कस्सो नपाइएला भन्ठानेको त्यो पनि नपाउँदा फोहोरकै आहालमा डुबेको अनुभूति भयो । शरीरमा भएजति जम्मै रगत अनुहारमा थुप्रियो । कन्चटका नसा टनटनी दुख्न थाले । अधिक तनाव भएर होला उनको प्रश्नको जबाफ दिने मेसो पनि पाइनछु मैले । मणिराम सर र चौधरी सरले मुखामुख गर्दै नजर भुईँतिर झारे । उता ती मान्छे मेरा नजिकका आफन्त भएजसरी कुरा गर्दै थिए । भन्दै थिए , “तेरा बालाई तेरा मामालाई, काकालाई, सप्पैलाई राम्रै चिन्छु ।”
जतिचोटि मलाई सम्बोधन गरे उनले, ‘तँ’ भनेरै सम्बोधन गरे, एक इन्चमाथि उक्लेनन् । तब मलाई लाग्यो यो ठाउँमा मास्टर भई बस्नुभन्दा त आफ्नै बाको हलो जोत्नु वेश तर त्यो भनेजस्तो सजिलो थिएन । परिवार बसाइँ सरेर बाँके जिल्लाको खजुरा गइसकेको थियो । पिलाडीमा त रित्तो घर र बाँझो जग्गाबाहेक अरू केही थिएन ।
दुईचार दिन पिलाडीबाटै धाएँ, साध्य लागेन । त्यसपछि हनेटा भवानी दाइकोमा बसेँ र त्यहीँबाट स्कुल धाउन थालेँ ।
त्यसको झन्डै दुई हप्तापछि म स्कुल जान भनी मर्खेखोलाको उकालो चढ्दै थिएँ, उनीसँग बाटामै भेट भयो तर मैले उनलाई नमस्कार गरिनँ । मनमा श्रद्धा नै पलाएन, बरु हीनताबोध पलायो ।
“कता ? स्कुल जान लागिस् ?” उनले त्यसैगरी सोधे । ‘अँ’ भन्दै म लुरुलुरु हिँडिरहेँ ।
“काँ बस्दै छस् ? घटालाका घर ?” सोधे फेरि, थाहा त रहेछ म त्यहाँ बस्दैछु भन्ने र पनि बोल्ने बहाना गरे । मैले पनि उसैगरी “अँ” भनेँ र उनीतिर हेर्दै नहेरी हिँडिरहेँ । त्यसपछि उनी हिँडे क्यारे, जुत्ता बजेको टड्कारै सुनियो । यसो हेरेको तलै पुगिसकेछन्, पुलुक्क पुलुक्क हेर्दै थिए मलाई ।
एक त बाटो उकालो त्यसमाथि अपमानको त्यत्रो भारी, अब मलाई स्कुल पुग्नै हम्मे-हम्मे पऱ्यो । त्यही भारी बोकेर अफिसमा छिरेँ, त्यही भारी बोकेर कक्षाकोठामा गएँ र त्यो बोकेरै पढाएँ । त्यो दिनमात्र होइन त्यसपछिका धेरै दिन, धेरै महिना र धेरै वर्ष अपमानको त्यो भारीले थिचिरह्यो । राजिनामा ठोकेर हिडूँ जस्तो लागेको थियो तर सोचेँ, आवेगमा निर्णय गर्नु हुँदैन । बरु अर्को स्कुलमा सरुवा माग्नुपर्छ । त्यसपछि सरुवाका लागि म सदरमुकाम दैलेख धाउन थालेँ ।
एक दिन मध्यान्तरमै उनी फेरि अफिस कोठामा छिरे । मणिराम सर सरुवा भएर डाँडागाउँ गइसकेका थिए । अफिसमा म र चौधरी सर मात्र थियौँ । सधैँझैँ चौधरी सरले उनलाई नमस्कार ठोके तर मैले वास्तै गरिनँ । बाहिर निस्केर भुराभुरीले थाङ्नाको भकुन्डो गुडाउँदै गरेको हेरिबसेँ । उनी चौधरी सरसँग बात मार्दै बसे । चौधरी सरलाई वाक्यैपिच्छे ‘सर….तपाईँ’ भन्दै गरेको उनको तीखो आवाजले मलाई ठ्याइँ कि ठ्याइँ हिर्कायो र सहन नसकी म स्कुलपछाडि गई उभिएँ र घण्टी बजेपछि मात्र अफिसमा छिरेँ, त्यतिखेर उनी त्यहाँ थिएनन् ।
एक दिन बिहानै म सरुवाको चक्करमा सदरमुकाम जान भनी डेराबाट हिँडेँ । भुसाल डाँडाको उकालो चढेर माथि चौखुडा पुग्न-पुग्न खोज्दै थिएँ एक जना मान्छे उँधो झर्दै गरेको देखेँ । कालो कोट, भेला कपडाको दौरा सुरुवाल र ढाका टोपी लाएका मान्छे चिने-चिनेजस्ता पनि लागे तर सल्लाका पोथ्राले राम्ररी ठम्याउन दिएनन् । एकाएक उनी नजिकै आएपछि मात्र चिनेँ मैले, मान्छे उनै थिए । उनलाई देख्नासाथ मुटु चिसो भयो । आँखा भुईँतिर जोतिए । तर्केर जान खोज्दै थिएँ, सोधे उनले, “कता हिन्नुभो, सर ?”
मेरा पाइला जहाँको त्यहीँ रोकिए र पुलुक्क हेरेँ उनलाई । उनी बडो हार्दिकताका साथ मुस्कुराइरहेका थिए । मेरो हृदय सम्मानले भरिएर आयो र पोखियो । “नमस्कार, दाजु !” दुई हात जोडेँ मैले र भनेँ, “म दैलेखतिर हिँडेको । हजुर चैँ काँ देखि ?”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।